सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २८

परमेश्‍वरको राज्यले शासन गर्दै छ!

परमेश्‍वरको राज्यले शासन गर्दै छ!

“संसारको राज्य हाम्रा परमेश्‍वरको अनि उहाँको ख्रिष्टको राज्य भएको छ।”—प्रका. ११:१५.

गीत २२ यहोवाको राज्य अब चाँडै आओस्‌!

परिचय *

१. हामी कुन कुरामा विश्‍वस्त छौँ र किन?

 संसारको अवस्था झन्‌झन्‌ बिग्रँदै गइरहेको देख्दा तपाईँलाई एकदिन अवस्था सुध्रनेछ भनेर विश्‍वास गर्न गाह्रो लाग्छ होला। किनकि परिवारका सदस्यहरूबीच पहिलाको जस्तो प्रेम छैन। मानिसहरू झन्‌झनै हिंस्रक र स्वार्थी भइरहेका छन्‌ अनि थुप्रैलाई अख्तियारमा भएका व्यक्‍तिहरूमाथि भरोसा गर्न गाह्रो लाग्छ। तर यी नै घटनाहरूले भविष्यमा संसारको अवस्था सुध्रनेछ भन्‍ने कुरामा विश्‍वास गर्न मदत गर्छ। किन? किनभने “अन्तको दिन”-मा मानिसहरूको स्वभाव यस्तै हुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (२ तिमो. ३:१-५) यो भविष्यवाणी अहिले पूरा भइरहेको छ भनेर कसैले पनि नकार्न सक्दैन। साथै यसले येसु ख्रिष्टले परमेश्‍वरको राज्यको राजाको रूपमा शासन थालिसक्नुभएको छ भन्‍ने कुराको प्रमाण दिन्छ। तर परमेश्‍वरको राज्यबारे गरिएका थुप्रै भविष्यवाणीमध्ये यो त एउटा मात्र हो। हालैका वर्षहरूमा पूरा भएका भविष्यवाणीहरूबारे फेरि एकचोटि अध्ययन गर्दा हाम्रो विश्‍वास बलियो हुन्छ।

जिग्सः पजलका टुक्राहरूलाई मिलाएर जोडेपछि एउटा सिङ्‌गो चित्र बनेजस्तै दानिएल र प्रकाशको किताबका भविष्यवाणीहरूलाई एकसाथ हेर्दा एउटा स्पष्ट चित्र बन्छ, जुन चित्रले यहोवाको समयतालिकामा हामी कहाँनेर छौँ भनेर बुझ्न मदत गर्छ (अनुच्छेद २ हेर्नुहोस्‌)

२. यस लेखमा हामी के छलफल गर्नेछौँ र किन? (आवरण चित्रको व्याख्या गर्नुहोस्‌।)

यस लेखमा (१) परमेश्‍वरको राज्य कहिले स्थापना भयो भनेर बुझ्न मदत गर्ने भविष्यवाणी, (२) येसु परमेश्‍वरको राज्यको राजा भइसक्नुभयो भनेर बुझ्न मदत गर्ने भविष्यवाणीहरू अनि (३) परमेश्‍वरको राज्यका शत्रुहरूको अन्त कसरी हुनेछ भनेर प्रकट गर्ने भविष्यवाणीहरूबारे छलफल गर्नेछौँ। ती भविष्यवाणीहरू जिग्सः पजलका टुक्राहरूजस्तै हुन्‌। ती टुक्राहरूलाई मिलाएर जोडेपछि एउटा सिङ्‌गो चित्र बन्छ र त्यस चित्रले परमेश्‍वरको समयतालिकामा हामी कहाँनेर छौँ भनेर बुझ्न मदत गर्छ।

परमेश्‍वरको राज्य स्थापना भएको समय कसरी थाह पाउन सक्छौँ?

३. दानिएल ७:१३, १४ मा पाइने भविष्यवाणीले परमेश्‍वरको राज्यको राजाबारे के बताउँछ?

दानिएल ७:१३, १४ मा पाइने भविष्यवाणीले येसु ख्रिष्ट परमेश्‍वरको राज्यको सबैभन्दा उपयुक्‍त शासक हुनुहुनेछ भनेर बताउँछ। सबै राष्ट्रका मानिसले उहाँको “सेवा” गर्नेछन्‌ र उहाँको शासन सदासर्वदा रहिरहनेछ। दानिएलको अर्को भविष्यवाणीले येसु ख्रिष्टले सात काल सकिएपछि शासन गर्ने अधिकार पाउनुहुनेछ भनेर बताउँछ। त्यो हर्षको समय कहिले आयो?

४. दानिएल ४:१०-१७ ले येसु ख्रिष्ट राजा हुनुभएको वर्ष हिसाब गर्न कसरी मदत गर्छ? (फुटनोट पनि हेर्नुहोस्‌।)

दानिएल ४:१०-१७ पढ्‌नुहोस्‌। “सात काल” २,५२० वर्षको अवधि हो। यो समयावधि ईसापूर्व ६०७ मा सुरु भयो, जब बेबिलोनीहरूले यरुसलेममा भएको यहोवाको सिंहासनबाट अन्तिम राजालाई हटाए। अनि यो समयावधि इस्वी संवत्‌ १९१४ मा अन्त भयो, जब यहोवाले उहाँको राज्यमाथि “अधिकार” भएको येसुलाई राजा नियुक्‍त गर्नुभयो। *इज. २१:२५-२७.

५. “सात काल”-सम्बन्धी भविष्यवाणीबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

यस भविष्यवाणीबाट हामी कस्तो लाभ उठाउन सक्छौँ? “सात काल”-सम्बन्धी भविष्यवाणी राम्रोसँग बुझ्यौँ भने यहोवाले आफ्ना प्रतिज्ञाहरू ठीक समयमा पूरा गर्नुहुन्छ भन्‍ने कुरामा हामी अझ विश्‍वस्त हुन सक्छौँ। उहाँले तोकिएकै समयमा राज्य स्थापना गर्नुभयो। त्यसैले बाइबलका अरू भविष्यवाणीहरू पनि उहाँले आफ्नो समयतालिकाअनुसारै पूरा गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। हो, यहोवाको दिन तोकिएकै समयमा आउनेछ, “त्यसले ढिला गर्नेछैन!”—हब. २:३.

येसु परमेश्‍वरको राज्यको राजा भइसक्नुभयो भनेर कसरी थाह पाउन सक्छौँ?

६. (क) येसुको शासन सुरु भइसक्यो भन्‍ने कुराको कस्ता प्रमाणहरू छन्‌? (ख) प्रकाश ६:२-८ ले यी प्रमाणहरूलाई कसरी थप पुष्टि गर्छ?

आफ्नो सेवाको अन्ततिर येसुले चेलाहरूलाई स्वर्गमा उहाँको शासन सुरु भएको सङ्‌केत दिने केही खास घटनाबारे बताउनुभयो। तीमध्ये केही घटना युद्ध, अनिकाल र भूकम्प हुन्‌। उहाँले “ठाउँठाउँमा” महामारी हुनेछ भनेर पनि बताउनुभयो र त्यसको एउटा उदाहरण हालैको कोभिड-१९ महामारी हो। यी घटनाहरू ख्रिष्टको उपस्थितिको “चिन्ह”-का केही पक्ष हुन्‌। (मत्ति २४:३, ७; लुका २१:७, १०, ११) आफ्नो मृत्यु भएको ६० वर्षपछि येसुले यी घटनाहरू पक्कै हुनेछन्‌ भन्‍ने कुराको थप पुष्टि गर्नुभयो। (प्रकाश ६:२-८ पढ्‌नुहोस्‌।) येसु १९१४ मा राजा हुनुभएपछि यी घटनाहरू भइरहेका छन्‌।

७. येसु राजा हुनुभएपछि पृथ्वीको अवस्था किन झनै बिग्रियो?

येसु राजा हुनुभएपछि पृथ्वीको अवस्था किन झनै बिग्रियो? प्रकाश ६:२ ले यसबारे महत्त्वपूर्ण कुरा बताएको छ। येसु राजा हुनुभएपछि उहाँले सबैभन्दा पहिला एउटा युद्ध लड्‌नुभयो। कोसित? सैतान र त्यसका प्रेतहरूसित। प्रकाश अध्याय १२ अनुसार त्यस युद्धमा सैतानको हार भयो अनि त्यो र त्यसका प्रेतहरूलाई पृथ्वीमा हुर्ऱ्याइयो। त्यसैले सैतान असाध्यै रिसाएको छ र आफ्नो रिस मानिसजातिमाथि पोखिरहेको छ। यसले गर्दा पृथ्वीको अवस्था “धिक्कार” भन्‍न लायकको भएको छ।—प्रका. १२:७-१२.

नराम्रा समाचारहरू सुन्‍नुपर्दा हामीलाई दुःख लाग्छ तर यस्ता घटनाहरू परमेश्‍वरको राज्यले शासन गर्दै छ भन्‍ने कुराको प्रमाण हो (अनुच्छेद ८ हेर्नुहोस्‌)

८. परमेश्‍वरको राज्यसम्बन्धी भविष्यवाणीहरू पूरा भएको देख्दा हामी कस्तो लाभ उठाउन सक्छौँ?

यी भविष्यवाणीहरूबाट हामी कस्तो लाभ उठाउन सक्छौँ? विश्‍व घटनाहरू र मानिसहरूको स्वभावमा आएको परिवर्तनले येसु राजा भइसक्नुभएको छ भन्‍ने कुरा बुझ्न मदत दिन्छ। त्यसैले मानिसहरू स्वार्थी अनि क्रूर भएको देख्दा निराश हुनुको सट्टा यो बाइबल भविष्यवाणी पूरा भइरहेको प्रमाण हो भनेर सम्झनुपर्छ। हो, परमेश्‍वरको राज्यले शासन गर्दै छ! (भज. ३७:१) आरमागेडोन नजिकिँदै जाँदा संसारको अवस्था झन्‌झन्‌ खराब हुँदै जानेछ भन्‍ने कुरा हामीले बुझेका छौँ। (मर्कु. १३:८; २ तिमो. ३:१३) संसारको अवस्था किन झन्‌झन्‌ बिग्रँदै गइरहेको छ भनेर बुझ्न मदत दिनुभएकोमा हामी यहोवाप्रति कृतज्ञ छौँ नि, होइन र?

परमेश्‍वरको राज्यका शत्रुहरूको अन्त कसरी हुनेछ?

९. दानिएल २:२८, ३१-३५ मा अन्तिम विश्‍वशक्‍तिबारे कस्तो भविष्यवाणी गरिएको छ र यो कहिले अस्तित्वमा आयो?

दानिएल २:२८, ३१-३५ पढ्‌नुहोस्‌। हामीले यो भविष्यवाणी पनि पूरा भइरहेको देख्दै छौँ। नबुकद्‌नेजरको सपनाले “अन्तको दिनमा” ख्रिष्टले शासन थाल्नुभएपछि के हुनेछ भनेर सङ्‌केत गर्छ। येसुका पृथ्वीमा रहेका शत्रुहरूमा बाइबलमा भविष्यवाणी गरिएको अन्तिम विश्‍वशक्‍ति पनि पर्छ, जसलाई बाइबलमा “फलाम र माटो मिसिएर बनेका पाउहरूको” रूपमा चित्रण गरिएको छ। यो विश्‍वशक्‍ति पहिलो विश्‍वयुद्धको दौडान बेलायत र अमेरिकाबीच विशेष सम्बन्ध गाँसिँदा अस्तित्वमा आयो। नबुकद्‌नेजरले सपनामा देखेको मूर्तिले यसअघिका विश्‍वशक्‍तिहरूभन्दा यो विश्‍वशक्‍ति कम्तीमा पनि दुई वटा तरिकामा भिन्‍न हुने थियो भनेर बुझ्न मदत गर्छ।

१०. (क) एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिबारे दानिएलले गरेको भविष्यवाणी आज कसरी पूरा भइरहेको छ? (ख) हामी किन होसियार हुनुपर्छ? (“ होसियार हुनुहोस्‌!” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१० पहिलो, एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई यसअघिका विश्‍वशक्‍तिहरूलाई जस्तो सुन वा चाँदीजस्ता ठोस धातुहरूद्वारा नभई फलाम र माटोको मिश्रणद्वारा चित्रण गरिएको छ। बाइबलमा माटोले “आम मानिसहरू”-लाई बुझाउँछ। (दानि. २:४३, फुटनोट) आज हामी चुनाव, मानवअधिकार अभियानहरू, ठूलठूला विरोध ऱ्‍यालीहरू र मजदुर युनियनहरूमा आम मानिसहरूको ठूलो प्रभाव देख्छौँ। यसले गर्दा एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई आफ्नो नीति कार्यान्वयन गर्न हम्मेहम्मे परेको छ।

११. एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिको शासनले हामी अन्तको दिनमा बाँचिरहेका छौँ भनेर कसरी प्रमाणित गर्छ?

११ दोस्रो, विशाल मूर्तिको खुट्टाले चित्रण गर्ने एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति नै बाइबलमा भविष्यवाणी गरिएको अन्तिम विश्‍वशक्‍ति हो। त्यसपछि अर्को कुनै विश्‍वशक्‍ति आउनेछैन बरु परमेश्‍वरको राज्यले आरमागेडोनमा यो विश्‍वशक्‍ति र अरू सबै मानव सरकारलाई चकनाचुर पार्नेछ। *प्रका. १६:१३, १४, १६; १९:१९, २०.

१२. दानिएलको भविष्यवाणीले हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने कुराको कस्तो थप प्रमाण दिन्छ?

१२ यस भविष्यवाणीबाट हामी कस्तो लाभ उठाउन सक्छौँ? दानिएलको भविष्यवाणीले हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने कुराको थप प्रमाण दिन्छ। दानिएलले बेबिलोनपछि परमेश्‍वरका मानिसहरूमाथि ठूलो प्रभाव पार्ने अरू चार वटा विश्‍वशक्‍ति आउनेछन्‌ भनेर २,५०० वर्षअघि भविष्यवाणी गरेका थिए। साथै तिनले तीमध्ये अन्तिम विश्‍वशक्‍ति एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति हुनेछ भनेर प्रकट गरे। यस कुराले हामीलाई सान्त्वना र आशा दिन्छ किनकि अब चाँडै परमेश्‍वरको राज्यले सम्पूर्ण मानव शासनको नामोनिसान मेटाउनेछ र पूरै पृथ्वीमाथि शासन गर्नेछ।—दानि. २:४४.

१३. प्रकाश १७:९-१२ मा उल्लेख गरिएको “आठौँ राजा” र “दस जना राजा”-ले केलाई चित्रण गर्छ र यो भविष्यवाणी कसरी पूरा भएको छ?

१३ प्रकाश १७:९-१२ पढ्‌नुहोस्‌। प्रथम विश्‍वयुद्धले गर्दा भएको विनाशले अन्तिम दिनबारे बाइबलमा गरिएको अर्को भविष्यवाणी पूरा गऱ्‍यो। विश्‍वशान्ति ल्याउन संसारका नेताहरूले जनवरी १९२० मा राष्ट्र सङ्‌घ गठन गऱ्‍यो र अक्टोबर १९४५ मा त्यसको ठाउँ संयुक्‍त राष्ट्र सङ्‌घले लियो। यस सङ्‌गठनलाई बाइबलमा “आठौँ राजा” भनिएको छ। तर यो विश्‍वशक्‍ति भने होइन। यो आफ्नो शक्‍तिको लागि यसलाई समर्थन गर्ने राजनैतिक शक्‍तिहरूमा निर्भर छ। बाइबलले ती राजनैतिक शक्‍तिहरूलाई “दस जना राजा” भनेको छ।

१४-१५. (क) प्रकाश १७:३-५ मा “महान्‌ बेबिलोन”-बारे गरिएको भविष्यवाणी कसरी पूरा भइरहेको छ? (ख) झूटो धर्मका समर्थकहरूबारे गरिएको भविष्यवाणी कसरी पूरा भइरहेको छ?

१४ प्रकाश १७:३-५ पढ्‌नुहोस्‌। परमेश्‍वरको प्रेरणा पाएर प्रेषित युहन्‍नाले दर्शनमा एउटी वेश्‍या अर्थात्‌ “महान्‌ बेबिलोन”-लाई देखे, जसले झूटो धर्मको विश्‍व साम्राज्यलाई चित्रण गर्छ। यो दर्शन आज कसरी पूरा भएको छ? झूटा धार्मिक सङ्‌गठनहरूले लामो समयदेखि संसारका राजनैतिक शक्‍तिहरूसँगै मिलेर काम गर्दै आएका छन्‌ र तिनीहरूलाई समर्थन गरेका छन्‌। तर अब चाँडै परमेश्‍वरले “आफ्नो सोच पूरा गर्न” राजनैतिक शक्‍तिहरूलाई प्रयोग गर्नुहुनेछ। ती राजनैतिक शक्‍तिहरू अर्थात्‌ “दस जना राजा”-ले झूटा धार्मिक सङ्‌गठनहरूमाथि आक्रमण गर्नेछ र तिनीहरूलाई नाश गर्नेछ।—प्रका. १७:१, २, १६, १७.

१५ महान्‌ बेबिलोनको विनाश नजिकै छ भनेर हामी किन भन्‍न सक्छौँ? यस प्रश्‍नको जवाफ पाउन हामीले पुरातन बेबिलोन सहरबारे एउटा कुरा सम्झनु मदतकारी हुन्छ। त्यस सहरलाई युफ्रेटिस नदीले केही हदसम्म सुरक्षा दिएको थियो। प्रकाशको किताबमा महान्‌ बेबिलोनका लाखौँ समर्थकलाई “पानीहरू”-सित तुलना गरिएको छ। (प्रका. १७:१५) तर ती पानीहरूलाई ‘सुकाइने थियो।’ (प्रका. १६:१२) यसले झूटो धर्मको विश्‍व साम्राज्यले आफ्ना थुप्रै समर्थक गुमाउने कुरालाई सङ्‌केत गर्छ। आज यो भविष्यवाणी पूरा भइरहेको छ। संसारका धेरैजसो मानिसले धर्ममा आस्था राख्न छोडेका छन्‌ र अरू नै स्रोतमा आफ्ना समस्याहरूको समाधान खोज्न थालेका छन्‌।

१६. संयुक्‍त राष्ट्र सङ्‌घ देखा पर्ने र महान्‌ बेबिलोनको विनाश हुने भविष्यवाणीहरू बुझ्दा हामीलाई कस्तो लाभ हुन्छ?

१६ यी भविष्यवाणीहरूबाट हामी कस्तो लाभ उठाउन सक्छौँ? संयुक्‍त राष्ट्र सङ्‌घ देखा परेको र झूटो धर्मले आफ्ना समर्थकहरू गुमाउँदै गएको कुराले हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने कुराको थप प्रमाण दिन्छ। महान्‌ बेबिलोनका समर्थकहरू घट्‌दै गइरहेको भए तापनि यही कारणले गर्दा झूटा धार्मिक सङ्‌गठनहरूको विनाश हुने त होइन। अगाडि पनि छलफल गरिएझैँ यहोवाले “आफ्नो सोच पूरा गर्न” संयुक्‍त राष्ट्र सङ्‌घलाई समर्थन गर्ने राजनैतिक शक्‍तिहरूलाई चलाउनुहुनेछ। ती राजनैतिक शक्‍तिहरूले झूटो धर्मको अचानक विनाश गरेको देख्दा संसार चकित हुनेछ। * (प्रका. १८:८-१०) महान्‌ बेबिलोनको पतनले संसारका मानिसहरूलाई ठूलो झट्‌का लाग्नेछ र तिनीहरूले कठिन अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ। तर त्यतिबेला परमेश्‍वरका मानिसहरू कम्तीमा पनि यी दुई वटा कारणले गर्दा रमाउन सक्नेछन्‌: यहोवासित लामो समयदेखि शत्रुता राखेको महान्‌ बेबिलोन सदाको लागि विनाश हुनेछ र हामीले सैतानको दुष्ट संसारबाट चाँडै छुटकारा पाउनेछौँ।—लुका २१:२८.

यहोवाले आफ्ना मानिसहरूलाई जोगाउनुहुनेछ

१७-१८. (क) हामी आफ्नो विश्‍वास कसरी बलियो बनाइराख्न सक्छौँ? (ख) यसपछिको लेखमा हामी के छलफल गर्नेछौँ?

१७ दानिएलले “साँचो ज्ञान प्रशस्त हुनेछ” भनेर भविष्यवाणी गरेका थिए। हुन पनि आज त्यस्तै भएको छ! हाम्रो समयबारे गरिएका भविष्यवाणीहरू हामीले अझ स्पष्टसँग बुझ्न सकेका छौँ। (दानि. १२:४, ९, १०) ती भविष्यवाणीहरू एक-एक पूरा भएको देख्दा हामी यहोवाप्रति श्रद्धाले भरिन्छौँ र उहाँको वचनप्रतिको कदर पनि अझ बढ्‌छ। (यसै. ४६:१०; ५५:११) त्यसैले लगनशील भई परमेश्‍वरको वचन अध्ययन गरेर अनि अरूलाई परमेश्‍वरसित मित्रता गाँस्न मदत गरेर आफ्नो विश्‍वास बलियो बनाइराख्नुहोस्‌। यहोवामा भर पर्नेहरूलाई उहाँले जोगाउनुहुनेछ र “तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ।”—यसै. २६:३.

१८ यसपछिको लेखमा हाम्रो समयको ख्रिष्टियन मण्डलीबारे गरिएका भविष्यवाणीहरू छलफल गर्नेछौँ। ती भविष्यवाणीहरूले पनि हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने कुराको थप प्रमाण दिन्छ। यसबाहेक हाम्रा राजा येसुले अहिले आफ्ना वफादार अनुयायीहरूलाई कसरी डोऱ्‍याइरहनुभएको छ भन्‍ने कुरा पनि बुझ्नेछौँ।

गीत ६१ अघि बढ, साक्षी हो!

^ अहिले हामी इतिहासकै सबैभन्दा रोमाञ्चकारी समयमा बाँचिरहेका छौँ। बाइबलका थुप्रै भविष्यवाणीमा बताइएझैँ परमेश्‍वरको राज्य स्थापना भइसकेको छ। यस लेखमा तीमध्ये केही भविष्यवाणीबारे छलफल गर्नेछौँ, जसले यहोवामाथिको हाम्रो विश्‍वासलाई अझ बलियो बनाउँछ अनि अहिले र आउँदा दिनहरूमा हुने घटनाहरूको कारण नआत्तिन बरु परमेश्‍वरमा भरोसा राख्न मदत गर्छ।

^ सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ३२, बुँदा ४ हेर्नुहोस्‌ र jw.org मा परमेश्‍वरको राज्यले इस्वी संवत्‌ १९१४ देखि शासन गर्न थाल्यो भिडियो हेर्नुहोस्‌।

^ दानिएलको भविष्यवाणीबारे थप जानकारीको लागि जून १५, २०१२ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ १४-१९ हेर्नुहोस्‌।

^ भविष्यमा हुने घटनाहरूबारे थप जानकारीको लागि परमेश्‍वरको राज्यले शासन गर्दै छ! किताबको अध्याय २१ हेर्नुहोस्‌।