सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३१

प्रार्थना गर्ने सुअवसरको मोल गर्नुहोस्‌

प्रार्थना गर्ने सुअवसरको मोल गर्नुहोस्‌

“मेरो प्रार्थना तपाईँसामु तयार पारिएको धूपजस्तै होस्‌।”—भज. १४१:२.

गीत ४७ यहोवालाई हरदिन पुकारौँ!

परिचय *

१. प्रार्थना गर्ने सुअवसरलाई हामीले कस्तो ठान्‍नुपर्छ?

 हामीले प्रार्थनामार्फत स्वर्ग र पृथ्वीका सृष्टिकर्तासामु जाने ठूलो सुअवसर पाएका छौँ। एकछिन सोच्नुहोस्‌ त, हामीले यहोवालाई प्रार्थना गर्न पालो कुरिराख्नुपर्दैन; हामी जुनसुकै समयमा र जुनसुकै भाषामा उहाँलाई आफ्नो मनको बह पोख्न सक्छौँ। हामी चाहे अस्पतालको बेडमा होऔँ वा झ्यालखानामा, उहाँले हाम्रा प्रार्थनाहरू सुन्‍नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क छौँ। हामी प्रार्थना गर्ने सुअवसरको धेरै मोल गर्छौँ।

२. राजा दाउदले प्रार्थना गर्ने सुअवसरको मोल गरेको कसरी देखाए?

राजा दाउद प्रार्थना गर्ने सुअवसरको मोल गर्थे। तिनले यस्तो भजन गाए: “मेरो प्रार्थना तपाईँसामु तयार पारिएको धूपजस्तै होस्‌।” (भज. १४१:१, २) दाउदको समयमा शुद्ध उपासनामा प्रयोग गरिने धूप होसियारीपूर्वक तयार पारिन्थ्यो। (प्रस्थ. ३०:३४, ३५) दाउदले आफ्नो प्रार्थनालाई धूपसित तुलना गरेको कुराबाट तिनी प्रार्थनामा के भन्‍ने भनेर पहिल्यै राम्ररी सोचविचार गर्थे भन्‍ने देखिन्छ। हामी पनि त्यसै गर्न चाहन्छौँ। हाम्रा प्रार्थनाहरूले यहोवालाई खुसी बनाएको हामी चाहन्छौँ।

३. हामीले कस्तो मनोभावसहित प्रार्थना गर्नुपर्छ र किन?

यहोवालाई प्रार्थना गर्दा हामी बढ्‌तै अनौपचारिक हुनु हुँदैन। बरु गहिरो आदरभावसाथ प्रार्थना गर्नुपर्छ। यसैया, इजकिएल, दानिएल र युहन्‍नाले देखेका दर्शनहरूबारे एकछिन विचार गर्नुहोस्‌। ती दर्शनहरू फरक-फरक भए तापनि एउटा कुरा भने समान छ। ती सबै दर्शनमा यहोवालाई वैभवशाली राजाको रूपमा वर्णन गरिएको छ। यसैयाले यहोवा “उच्च र महिमायुक्‍त सिंहासनमा विराजमान हुनुभएको” देखे। (यसै. ६:१-३) इजकिएलले यहोवा विशाल रथमा सवार हुनुभएको देखे, जसको “चारैतिर चहकिलो ज्योति थियो। त्यो ज्योति . . . इन्द्रेनीजस्तै थियो।” (इज. १:२६-२८) दानिएलले दर्शनमा हिउँजस्तै सेतो लुगा लगाएको “अतिप्राचीन” व्यक्‍तिलाई देखे, जसको सिंहासन बलिरहेको आगोको ज्वाला थियो। (दानि. ७:९, १०) अनि युहन्‍नाले यहोवा सिंहासनमा विराजमान हुनुभएको देखे, जसको चारैतिर पन्‍नाजस्तो देखिने इन्द्रेनी थियो। (प्रका. ४:२-४) यहोवाको यस्तो अतुलनीय महिमाबारे विचार गर्दा प्रार्थनामा उहाँसामु जान पाउनु ठूलो सम्मानको कुरा हो र हामीले श्रद्धाभावसहित प्रार्थना गर्नुपर्छ भन्‍ने कुरा महसुस गर्छौँ। तर हामी के-कस्ता कुराको लागि प्रार्थना गर्न सक्छौँ?

“तिमीहरूले यसरी प्रार्थना गर्नू”

४. येसुले नमुना प्रार्थनाको सुरुमा उल्लेख गर्नुभएका कुराहरूबाट हामी के सिक्न सक्छौँ? (मत्ति ६:९, १०)

मत्ति ६:९, १० पढ्‌नुहोस्‌। डाँडाको उपदेशमा येसुले चेलाहरूलाई परमेश्‍वरलाई मन पर्ने तरिकामा प्रार्थना गर्न सिकाउनुभयो। “तिमीहरूले यसरी प्रार्थना गर्नू” भन्‍नुभएपछि येसुले प्रार्थनाको सुरुमा परमेश्‍वरको उद्देश्‍यसित सम्बन्धित यी महत्त्वपूर्ण विषयहरू उल्लेख गर्नुभयो: यहोवाको नामको पवित्रीकरण; उहाँको राज्य, जसले उहाँका सबै विरोधीलाई नामेट पार्नेछ अनि पृथ्वी र मानिसजातिको लागि उहाँले साँचेर राख्नुभएका आशिष्‌हरू। हामीले प्रार्थनामा यस्ता विषयहरू समावेश गर्दा परमेश्‍वरको इच्छा हाम्रो लागि महत्त्वपूर्ण छ भन्‍ने कुरा देखाइरहेका हुन्छौँ।

५. के हामीले व्यक्‍तिगत कुराहरूको लागि प्रार्थना गर्नु उचित हो?

येसुले नमुना प्रार्थनाको बाँकी भागमा व्यक्‍तिगत कुराहरूको लागि प्रार्थना गर्नु पनि उचित छ भनेर देखाउनुभयो। हामी यहोवालाई दिनभरिको भोजन दिन, हाम्रा पापहरू क्षमा गरिदिन, प्रलोभनबाट जोगाउन र हामीलाई दुष्ट सैतानबाट छुटाउन बिन्ती गर्न सक्छौँ। (मत्ति ६:११-१३) यहोवालाई यी कुराहरूको लागि बिन्ती गर्दा हामीलाई उहाँको मदत चाहिन्छ भन्‍ने कुरा स्विकारिरहेका हुन्छौँ र उहाँको अनुमोदन पाउने इच्छा पनि व्यक्‍त गरिरहेका हुन्छौँ।

पत्नीसँगै प्रार्थना गर्दा पतिले के-कस्ता कुराहरूको लागि बिन्ती गर्न सक्छन्‌? (अनुच्छेद ६ हेर्नुहोस्‌) *

६. हामी नमुना प्रार्थनामा बताइएको बाहेक अरू कस्ता विषयहरूमा प्रार्थना गर्न सक्छौँ?

येसु आफ्ना चेलाहरूले नमुना प्रार्थनाको एक-एक शब्द कण्ठ पारेको चाहनुहुन्‍नथ्यो। उहाँका अरू प्रार्थनाहरू विचार गर्ने हो भने उहाँले आफूलाई चिन्ता लागेका थुप्रै विषयबारे प्रार्थना गर्नुभएको पाउँछौँ। (मत्ति २६:३९, ४२; युह. १७:१-२६) त्यसैगरि हामी पनि आफूलाई चिन्ता लागेको जुनसुकै विषयमा प्रार्थना गर्न सक्छौँ। जस्तै, निर्णय गर्नुपर्दा हामी बुद्धि र समझको लागि प्रार्थना गर्न सक्छौँ। (भज. ११९:३३, ३४) अथवा कुनै गहन जिम्मेवारी पूरा गर्नुपर्दा अन्तर्दृष्टि र समझशक्‍तिको लागि प्रार्थना गर्न सक्छौँ। (हितो. २:६) आमाबुबाले छोराछोरीको लागि अनि छोराछोरीले आमाबुबाको लागि प्रार्थना गर्न सक्छन्‌। अनि हामी सबैले आफ्ना बाइबल विद्यार्थीहरू र साक्षीकार्यमा भेट्‌ने मानिसहरूको लागि प्रार्थना गर्न सक्छौँ र त्यसो गर्नु पनि पर्छ। तर हामीले यहोवासित केही माग्न मात्र प्रार्थना गर्नु उचित होइन।

हामी प्रार्थनामा के-कस्ता कुराहरूको लागि यहोवाको प्रशंसा गर्न र धन्यवाद दिन सक्छौँ? (अनुच्छेद ७-९ हेर्नुहोस्‌) *

७. हामीले किन प्रार्थनामा यहोवाको प्रशंसा गर्नुपर्छ?

हामीले प्रार्थनामा यहोवाको प्रशंसा गर्न पनि बिर्सनु हुँदैन। हाम्रो प्रशंसा पाउन उहाँजत्तिको लायक अरू कोही छैन। उहाँ “असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।” उहाँ “कृपालु र दयालु परमेश्‍वर हुनुहुन्छ, . . . हतपती रिसाउनुहुन्‍न अनि अटल प्रेम र वफादारीले भरिपूर्ण हुनुहुन्छ।” (भज. ८६:५, १५) यहोवाका गुणहरू र कामहरूबारे विचार गर्दा हामीले उहाँको प्रशंसा गर्नुपर्ने प्रशस्तै कारण पाउन सक्छौँ।

८. हामी यहोवालाई के-कस्ता कुराहरूको लागि धन्यवाद दिन सक्छौँ? (भजन १०४:१२-१५, २४)

हामीले प्रार्थनामा यहोवाको प्रशंसा गर्नुका साथै उहाँले दिनुभएका असल कुराहरूको लागि धन्यवाद पनि दिनुपर्छ। उदाहरणको लागि, मनै लोभ्याउने रङ्‌गीबिरङ्‌गी फूलहरू, थरीथरीका स्वादिष्ठ खानेकुराहरू र माया गर्ने साथीहरू दिनुभएकोमा हामी यहोवालाई धन्यवाद दिन सक्छौँ। हाम्रा मायालु बुबाले हाम्रो आनन्दको लागि यी तथा अन्य थुप्रै कुरा दिनुभएको छ। (भजन १०४:१२-१५, २४ पढ्‌नुहोस्‌।) यहोवाले प्रशस्त आध्यात्मिक भोजन र भविष्यको लागि सुन्दर आशा दिनुभएकोमा पनि उहाँलाई धन्यवाद दिन बिर्सनु हुँदैन।

९. यहोवालाई धन्यवाद दिन नबिर्सन हामी के गर्न सक्छौँ? (१ थिस्सलोनिकी ५:१७, १८)

तर कहिलेकाहीँ हामीले यहोवालाई धन्यवाद दिन बिर्सन सक्छौँ। त्यसोभए तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँले यहोवालाई कुनै विषयमा तोकेरै प्रार्थना गर्नुभएको थियो भने त्यो लेखेर राख्नुहोस्‌ र उहाँले त्यसको जवाफ कसरी दिनुभयो भनेर बेलाबेलामा जाँच्नुहोस्‌। अनि यहोवाले मदत दिनुभएकोमा धन्यवाद दिनुहोस्‌। (१ थिस्सलोनिकी ५:१७, १८ पढ्‌नुहोस्‌।) कसैले तपाईँप्रति कृतज्ञता व्यक्‍त गर्दा तपाईँलाई खुसी लाग्छ र माया पाएको महसुस गर्नुहुन्छ नि, होइन र? त्यसैगरि प्रार्थनाको जवाफ दिनुभएकोमा यहोवालाई धन्यवाद दिँदा उहाँलाई पनि खुसी लाग्छ। (कल. ३:१५) तर हामीले उहाँलाई धन्यवाद दिनुपर्ने अर्को महत्त्वपूर्ण कारण पनि छ।

प्यारो छोरा पठाउनुभएकोमा यहोवालाई धन्यवाद दिनुहोस्‌

१०. यहोवाले येसुलाई पृथ्वीमा पठाउनुभएकोमा हामीले किन उहाँलाई धन्यवाद दिनुपर्छ? (१ पत्रुस २:२१)

१० पहिलो पत्रुस २:२१ पढ्‌नुहोस्‌। हामीलाई सिकाउन यहोवाले आफ्नो प्यारो छोरा पृथ्वीमा पठाउनुभएकोमा उहाँलाई धन्यवाद दिनुपर्छ। हामीले येसुको जीवनी राम्रोसँग अध्ययन गऱ्‍यौँ भने यहोवाबारे र उहाँलाई खुसी बनाउने तरिकाबारे थुप्रै कुरा सिक्न सक्छौँ। साथै येसुको बलिदानमा विश्‍वास गर्छौँ भने हामी यहोवासित न्यानो, घनिष्ठ र शान्तिमय सम्बन्ध विकास गर्न सक्छौँ।—रोमी ५:१.

११. हामी किन येसुको नाममा प्रार्थना गर्छौँ?

११ हामीले येसुमार्फत यहोवालाई प्रार्थना गर्ने सुअवसर पाएकोमा पनि उहाँलाई धन्यवाद दिनुपर्छ। हाम्रो बिन्ती पूरा गरिदिन यहोवा येसुलाई चलाउनुहुन्छ। हामीले येसुको नाममा गरेको प्रार्थना यहोवा सुन्‍नुहुन्छ र त्यसको जवाफ पनि दिनुहुन्छ। येसुले यसो भन्‍नुभयो: “तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि म त्यो गर्नेछु ताकि छोराद्वारा बुबाको महिमा होस्‌।”—युह. १४:१३, १४.

१२. हामीले यहोवालाई धन्यवाद दिनुपर्ने अर्को कारण के हो?

१२ यहोवाले येसुको फिरौतीको बलिदानको आधारमा हाम्रा पापहरूको क्षमा दिनुहुन्छ। बाइबलमा येसुलाई “प्रधानपुजारी” भनिएको छ, जो “स्वर्गमा परमेश्‍वरको सिंहासनको दाहिने हाततिर बस्नुभएको छ।” (हिब्रू ८:१) येसु हाम्रो “मदतगार” पनि हुनुहुन्छ। (१ युह. २:१) हाम्रा कमीकमजोरी बुझ्नुहुने र यहोवासित “हाम्रो निम्ति बिन्ती” गर्नुहुने यस्तो सहानुभूतिशील प्रधानपुजारी दिनुभएकोमा हामी यहोवालाई धन्यवाद दिन्छौँ। (रोमी ८:३४; हिब्रू ४:१५) हामी त्रुटिपूर्ण भएकोले येसुको बलिदानविना प्रार्थनामार्फत यहोवासामु जान सक्ने थिएनौँ। यहोवाले उपहारस्वरूप आफ्नो प्यारो छोरा दिनुभएकोमा उहाँलाई जत्ति धन्यवाद दिए पनि अपुग नै हुन्छ।

भाइबहिनीको निम्ति प्रार्थना गर्नुहोस्‌

१३. आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले चेलाहरूलाई प्रेम गरेको कसरी देखाउनुभयो?

१३ आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले चेलाहरूको लागि लामो प्रार्थना गर्नुभयो र “त्यस दुष्टको कारण तिनीहरूको हेरचाह गरिदिनुहोस्‌” भनेर यहोवालाई बिन्ती गर्नुभयो। (युह. १७:१५) येसु चेलाहरूलाई धेरै माया गर्नुहुन्थ्यो। उहाँले चाँडै एउटा कठिन परीक्षाको सामना गर्न लाग्नुभएको थियो। तैपनि उहाँलाई आफ्नो भन्दा प्रेषितहरूको चिन्ता लागिरहेको थियो।

भाइबहिनीको निम्ति प्रार्थना गर्दा के-कस्ता कुराहरूको लागि बिन्ती गर्न सक्छौँ? (अनुच्छेद १४-१६ हेर्नुहोस्‌) *

१४. भाइबहिनीलाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ?

१४ येसुजस्तै हामी पनि आफ्नो कुरामा मात्र ध्यान दिँदैनौँ। बरु भाइबहिनीको लागि नियमित रूपमा प्रार्थना गर्छौँ। यसो गर्दा एकअर्कालाई प्रेम गर भन्‍ने येसुको आज्ञा पालन गरिरहेका हुन्छौँ अनि हामी आफ्ना भाइबहिनीलाई धेरै माया गर्छौँ भनेर पनि देखाइरहेका हुन्छौँ। (युह. १३:३४) भाइबहिनीको लागि प्रार्थना गर्नु समयको बरबादी होइन किनकि परमेश्‍वरको वचन यसो भन्छ: “धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।”—याकु. ५:१६.

१५. हामीले किन भाइबहिनीको लागि प्रार्थना गर्नुपर्छ?

१५ हामीले भाइबहिनीको लागि प्रार्थना गर्नुपर्छ किनभने तिनीहरूले रोगबिमार, प्राकृतिक प्रकोप, गृहयुद्ध, खेदो वा अन्य परीक्षाहरूको सामना गरिरहेका हुन सक्छन्‌। तिनीहरूलाई त्यस्ता परीक्षाहरू सहन मदत गर्नुहोस्‌ भनेर हामी प्रार्थना गर्न सक्छौँ। साथै खाँचोमा परेकाहरूलाई मदत गर्न कडा मेहनत गरिरहेका आत्मत्यागी भाइबहिनीको लागि पनि प्रार्थना गर्न सक्छौँ। तपाईँ यस्तै परीक्षाहरूको सामना गरिरहेको कसैलाई चिन्‍नुहुन्छ भने तिनको नामै तोकेर प्रार्थना गर्नुभए कसो होला? यसरी प्रार्थना गर्दा हामीले तिनीहरूलाई निष्कपट मनले प्रेम गरेको देखाइरहेका हुन्छौँ।

१६. नेतृत्व लिइरहेका भाइहरूको लागि किन प्रार्थना गर्नुपर्छ?

१६ मण्डलीमा नेतृत्व लिइरहेका भाइहरूको लागि प्रार्थना गर्दा तिनीहरू निकै कृतज्ञ हुन्छन्‌ किनभने तिनीहरूले यस्ता प्रार्थनाहरूबाट मदत पाउँछन्‌। प्रेषित पावल पनि अरूले तिनको निम्ति प्रार्थना गरिदिएको चाहन्थे। तिनले यस्तो लेखे: “मेरो निम्ति पनि प्रार्थना गर कि मैले आफ्नो मुख खोल्दा मलाई शब्दहरू दिइयोस्‌ ताकि मैले निर्धक्क भई साहसका साथ सुसमाचारको पवित्र रहस्यबारे बताउन सकूँ।” (एफि. ६:१९) आज पनि हामीमाझ नेतृत्व लिइरहेका थुप्रै भाइहरू छन्‌। तिनीहरूको मेहनतमा आशिष्‌ दिनुहोस्‌ भनी यहोवालाई बिन्ती गरेर हामी तिनीहरूलाई प्रेम गरेको देखाउँछौँ।

प्रार्थनामा अरूको प्रतिनिधित्व गर्दा

१७-१८. हामीलाई कुन-कुन बेला अरूको लागि प्रार्थना गर्न आग्रह गरिन सक्छ र त्यतिबेला हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१७ कहिलेकाहीँ हामीलाई अरूको लागि प्रार्थना गर्न आग्रह गरिन सक्छ। उदाहरणको लागि, एक बहिनीले बाइबल अध्ययनमा सँगै लगेको बहिनीलाई प्रार्थना गरिदिन भन्‍न सक्छिन्‌। तर तिनले विद्यार्थीलाई राम्ररी नचिनेको हुन सक्छिन्‌। त्यसैले तिनलाई आफूले अन्तिम प्रार्थना गर्नु उचित लाग्न सक्छ। यसो गर्दा प्रार्थनामा विद्यार्थीको लागि के भन्‍ने भनेर तिनले आफ्नो मन तयार पार्न सक्छिन्‌।

१८ कुनै भाइलाई क्षेत्र सेवाको सभा वा मण्डलीको सभामा प्रार्थना गर्न आग्रह गरिन सक्छ। यस्तो सुअवसर पाएका भाइले सभाको उद्देश्‍य राम्रोसँग बुझ्नु आवश्‍यक छ। प्रार्थनालाई सल्लाह दिने वा घोषणा गर्ने माध्यमको रूपमा प्रयोग गर्नु हुँदैन। मण्डलीका प्रायजसो सभामा गीत र प्रार्थनाको लागि जम्मा पाँच मिनेट छुट्ट्याइएको हुन्छ। त्यसैले विशेषगरि सभाको सुरुको प्रार्थना गर्ने भाइले येसुले भन्‍नुभएझैँ प्रार्थनामा ‘धेरै बोल्नु हुँदैन।’—मत्ति ६:७.

प्रार्थनालाई आफ्नो जीवनको अभिन्‍न भाग बनाउनुहोस्‌

१९. यहोवाको न्यायको दिनको लागि तयार रहन हामीले के गर्नुपर्छ?

१९ यहोवाको न्यायको दिन नजिकै भएकोले हामीले प्रार्थनालाई आफ्नो जीवनको अभिन्‍न भाग बनाउनुपर्छ। यस सन्दर्भमा येसुले यसो भन्‍नुभयो: “टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हरघडी उत्कट बिन्ती चढाउँदै जागा रहो।” (लुका २१:३६) यसरी नियमित रूपमा प्रार्थना गर्दा हाम्रो विश्‍वास बलियो हुन्छ र हामी यहोवाको न्यायको दिनको लागि तयार रहन सक्छौँ।

२०. हाम्रो प्रार्थना यहोवाको लागि कसरी सुगन्धित धूपजस्तै हुन सक्छ?

२० यस लेखमा हामीले के छलफल गऱ्‍यौँ? हामी प्रार्थना गर्ने सुअवसरको असाध्यै मोल गर्छौँ। हामीले प्रार्थनामा राख्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण विषय भनेको परमेश्‍वरको उद्देश्‍यसित सम्बन्धित कुराहरू हुन्‌। हामी परमेश्‍वरको छोरा र उहाँको राज्यको लागि कृतज्ञता व्यक्‍त गर्न सक्छौँ। हामी भाइबहिनीको लागि पनि प्रार्थना गर्न सक्छौँ। साथै हामी आफ्नो भौतिक र आध्यात्मिक आवश्‍यकताको लागि पनि प्रार्थना गर्न सक्छौँ। प्रार्थनामा के भन्‍ने भनेर पहिल्यै होसियारीपूर्वक विचार गर्दा हामीले प्रार्थना गर्ने सुअवसरको मोल गरेको देखाइरहेका हुन्छौँ। यस्तो प्रार्थना यहोवाको लागि सुगन्धित धूपजस्तै हुन्छ र उहाँ यस्तो प्रार्थना सुन्‍न “मन पराउनुहुन्छ।”—हितो. १५:८.

गीत ४५ मेरो चिन्तन

^ हामी प्रार्थनामा यहोवासामु जाने सुअवसरको मनैदेखि कदर गर्छौँ। हामी आफ्नो प्रार्थना यहोवालाई मन पर्ने सुगन्धित धूपजस्तै भएको चाहन्छौँ। यस लेखमा हामी के-कस्ता कुराहरूको लागि प्रार्थना गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ। साथै प्रार्थनामा अरूको प्रतिनिधित्व गर्दा ध्यान दिनुपर्ने केही कुरा पनि विचार गर्नेछौँ।

^ तस्बिरको व्याख्या: एक पति पत्नीसँगै स्कुलमा आफ्नी छोरीको सुरक्षाको लागि, बिरामी बुबाको लागि र बाइबल विद्यार्थीको प्रगतिको लागि प्रार्थना गर्दै छन्‌।

^ तस्बिरको व्याख्या: एक जवान भाइ येसुको फिरौतीको बलिदान, हाम्रो सुन्दर घर पृथ्वी र पोसिलो खानेकुराको लागि यहोवालाई धन्यवाद दिँदै छन्‌।

^ तस्बिरको व्याख्या: एक बहिनी परिचालक निकायलाई पवित्र शक्‍ति दिन अनि प्राकृतिक प्रकोप र खेदोमा परेका भाइबहिनीलाई मदत गर्न यहोवालाई बिन्ती गर्दै छिन्‌।