सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३१

“अटल र स्थिर होओ”

“अटल र स्थिर होओ”

“हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ।”—१ कोरि. १५:५८.

गीत १२२ स्थिर र अटल बस!

परिचय a

१-२. ख्रिष्टियनहरूलाई किन गगनचुम्बी भवनसित तुलना गर्न सकिन्छ? (१ कोरिन्थी १५:५८)

 सन्‌ १९७८ मा जापानको टोकियोमा एउटा ६० तल्ले भवन निर्माण गरियो। टोकियोमा भूकम्प गइरहने भएकोले मानिसहरूलाई त्यो भवन ढल्छ जस्तो लागेको थियो। तर त्यस गगनचुम्बी भवनलाई भूकम्पले खासै असर गरेन। किन? इन्जिनियरहरूले त्यो भवन भूकम्पका धक्काहरूलाई थेग्न सक्नेगरि डिजाइन गरेका थिए। त्यो भवन मजबुत हुनुका साथै लचकदार पनि थियो। ख्रिष्टियनहरू पनि त्यो गगनचुम्बी भवनजस्तै हुन्‌। कुन अर्थमा?

ख्रिष्टियनहरूले अटल हुनु र लचिलो हुनुबीच सन्तुलन कायम राख्नुपर्छ। यहोवाको नीतिनियम र स्तर पालन गर्ने सन्दर्भमा तिनीहरू बलियो र स्थिर हुनुपर्छ। (१ कोरिन्थी १५:५८ पढ्‌नुहोस्‌।) तिनीहरू “आज्ञाकारी” हुन्छन्‌ र कुनै सम्झौता गर्दैनन्‌। अर्कोतर्फ, कुनै अवस्थामा सम्भव छ भने तिनीहरू “व्यावहारिक” अर्थात्‌ लचिलो हुनुपर्छ अथवा कहिलेकाहीँ लचिलो हुनै पर्ने पनि हुन सक्छ। (याकु. ३:१७) सन्तुलित हुन सिकेका ख्रिष्टियनले यस्तै हुनुपर्छ भनेर कडिकडाउ गर्दैनन्‌ वा जे गरे पनि हुन्छ भन्‍ने हल्का सोचाइ राख्दैनन्‌। यस लेखमा हामी कसरी अटल रहन सक्छौँ भनेर विचार गर्नेछौँ। साथै अटल हुने हाम्रो सङ्‌कल्पलाई कमजोर पार्न सैतानले प्रयोग गर्ने पाँच तरिकाबारे बुझ्नेछौँ। हामी त्यसको कसरी प्रतिरोध गर्न सक्छौँ भनेर पनि विचार गर्नेछौँ।

हामी कसरी अटल रहन सक्छौँ?

३. प्रेषित १५:२८, २९ मा सर्वोच्च कानुनदाताले दिनुभएका कस्ता नियमहरू पाइन्छन्‌?

यहोवा सर्वोच्च कानुनदाता हुनुहुन्छ। (यसै. ३३:२२) उहाँले आफ्ना मानिसहरूलाई सधैँ स्पष्ट नियमहरू दिनुभएको छ। जस्तै: प्रथम शताब्दीको परिचालक निकायले ख्रिष्टियनहरू दृढ रहनुपर्ने यी तीन वटा कुराबारे बताए: (१) मूर्तिपूजादेखि अलग रहने र यहोवाको मात्र उपासना गर्ने, (२) रगतसम्बन्धी यहोवाको नियम पालन गर्ने र (३) बाइबलको उच्च नैतिक स्तर पालन गर्ने। (प्रेषित १५:२८, २९ पढ्‌नुहोस्‌।) आज ख्रिष्टियनहरूले यी तीन कुरामा दृढ रहेको कसरी देखाउन सक्छन्‌?

४. हामी कसरी यहोवाको मात्र भक्‍ति गरेको देखाउँछौँ? (प्रकाश ४:११)

हामी मूर्तिपूजादेखि अलग रहन्छौँ र यहोवाको मात्र उपासना गर्छौँ। यहोवाले इस्राएलीहरूलाई उहाँको मात्र भक्‍ति गर्न आज्ञा दिनुभयो। (व्यव. ५:६-१०) दियाबलले येसुलाई प्रलोभन देखाउँदा मानिसले यहोवाको मात्र उपासना गर्नुपर्छ भनेर येसुले स्पष्टै बताउनुभयो। (मत्ति ४:८-१०) त्यसैले हामी मूर्तिहरूको उपासना गर्दैनौँ न त मानिसहरूको उपासना गर्छौँ। जस्तै: हामी धर्मगुरु, राजनीतिज्ञ वा खेल र मनोरञ्जनजगत्‌का हस्तीहरूलाई आफ्नो आदर्श ठान्दैनौँ। हामी ‘सबै थोक सृष्टि गर्नुहुने’ परमेश्‍वरको मात्र उपासना गर्छौँ र उहाँको पक्षमा खडा हुन्छौँ।—प्रकाश ४:११ पढ्‌नुहोस्‌।

५. हामी किन जीवन र रगतको पवित्रतासम्बन्धी यहोवाको नियम पालन गर्छौँ?

हामी जीवन र रगतको पवित्रतासम्बन्धी यहोवाको नियम पालन गर्छौँ। किन? किनभने यहोवाले जीवन त्यसको रगतमा हुन्छ भन्‍नुभयो र जीवन उहाँले हामीलाई दिनुभएको अनमोल उपहार हो। (लेवी १७:१४) उहाँले पहिलो चोटि मानिसहरूलाई मासु खान अनुमति दिनुहुँदा रगतचाहिँ नखानू भनेर निर्देशन दिनुभयो। (उत्प. ९:४) उहाँले यो आज्ञा मोसाको व्यवस्थामा फेरि दोहोऱ्‍याउनुभयो। (लेवी १७:१०) अनि उहाँले प्रथम शताब्दीको परिचालक निकायमार्फत सबै ख्रिष्टियनलाई ‘रगतबाट सधैँ अलग रहनु’ भन्‍ने निर्देशन दिनुभयो। (प्रेषि. १५:२८, २९) उपचारसम्बन्धी निर्णयहरू गर्दा हामी यस आज्ञामा सम्झौता गर्दैनौँ। b

६. यहोवाको उच्च नैतिक स्तर पालन गर्न हामी कस्तो प्रयास गर्छौँ?

हामी गम्भीरतासाथ यहोवाको उच्च नैतिक स्तर पालन गर्छौँ। (हिब्रू १३:४) प्रेषित पावलले हामीलाई शरीरका अङ्‌गहरूलाई ‘मार्न’ सल्लाह दिए। यसको मतलब, कुइच्छाहरूलाई हटाउन हामीले ठोस कदम चाल्नुपर्छ। हामी अवैध यौनसम्बन्ध राख्न सक्ने हदसम्म पुऱ्‍याउने कुनै कुरा हेर्दैनौँ वा त्यस्तो काम गर्दैनौँ। (कल. ३:५; अय्यु. ३१:१) हामी यहोवासितको मित्रतालाई बिगार्न चाहँदैनौँ। त्यसैले हामी कुनै गलत काम गर्ने प्रलोभन आइपर्दा वा त्यसो गर्ने सोचाइ आउँदा त्यसलाई तुरुन्तै तिरस्कार गर्छौँ।

७. हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ र किन?

यहोवा हामी “मनैदेखि आज्ञाकारी” भएको चाहनुहुन्छ। (रोमी ६:१७) हामीले उहाँको नीतिनियममध्ये कुन पालन गर्ने वा कुन नगर्ने भनेर रोज्न सक्दैनौँ। बरु हामीले बिर्सन नहुने कुरा भनेको उहाँले दिनुहुने डोऱ्‍याइले सधैँ हाम्रै भलाइ हुन्छ। (यसै. ४८:१७, १८; १ कोरि. ६:९, १०) हामी उहाँलाई खुसी पार्ने प्रयास गर्छौँ र भजनरचयिताको जस्तै मनोभाव राख्छौँ। तिनले यसो भने: “मैले तपाईँको नीतिनियम पालन गर्ने सङ्‌कल्प गरेको छु। म जीवनभर त्यसो गरिरहनेछु, अन्तिम क्षणसम्मै।” (भज. ११९:११२) तर सैतान हाम्रो सङ्‌कल्पलाई कमजोर बनाउन खोज्छ। कसरी?

सैतानले हाम्रो सङ्‌कल्पलाई कसरी कमजोर बनाउन खोज्छ?

८. हाम्रो सङ्‌कल्पलाई कमजोर बनाउन सैतानले खेदोलाई कसरी प्रयोग गर्छ?

प्रत्यक्ष आक्रमण। दियाबलले हाम्रो सङ्‌कल्पलाई कमजोर बनाउन हिंसा र दबाब प्रयोग गर्छ। त्यो हामीलाई ‘निल्न’ अर्थात्‌ यहोवासितको हाम्रो सम्बन्धलाई तहसनहस पार्न चाहन्छ। (१ पत्रु. ५:८) प्रथम शताब्दीका ख्रिष्टियनहरू आफ्नो विश्‍वासमा अटल रहेकोले तिनीहरूलाई धम्काइयो, कुटियो र मारियो। (प्रेषि. ५:२७, २८, ४०; ७:५४-६०) सैतानले आज पनि परमेश्‍वरका मानिसहरूको खेदो गर्न छोडेको छैन। यो कुरा रूस र अन्य देशका दाजुभाइ दिदीबहिनीमाथि गरिएको क्रूर व्यवहारबाट स्पष्ट हुन्छ। साथै अरू भाइबहिनीले कुनै न कुनै तरिकामा खेदो भोगिरहेका छन्‌।

९. हामी किन अप्रत्यक्ष आक्रमणदेखि सचेत रहनुपर्छ, एउटा उदाहरण बताउनुहोस्‌।

अप्रत्यक्ष आक्रमण। सैतानले प्रत्यक्ष आक्रमणको अलावा “दाउपेचहरू” पनि चलाउँछ। (एफि. ६:११) बब भाइको अनुभव विचार गरौँ। तिनी एउटा ठूलो शल्यक्रियाको लागि अस्पतालमा भर्ना भए। तिनले आफ्ना डाक्टरहरूलाई कुनै पनि हालतमा रगत नस्विकार्ने कुरा बताए। शल्यचिकित्सकले तिनको निर्णयको कदर गरे। तर तिनको शल्यक्रियाको अघिल्लो रात बबको पूरै परिवार घर फर्केपछि अर्का एक डाक्टर (एनेस्थेसियोलोजिस्ट) तिनलाई भेट्‌न आए। उनले बबलाई रगत त दिनु नपर्ला तर आकस्मिक अवस्थाको लागि रगत तयार राखिनेछ भनेर बताए। सायद ती डाक्टरले परिवार नभएको बेला बबले आफ्नो मन परिवर्तन गर्लान्‌ भनेर सोचेका थिए। तर बब आफ्नो निर्णयमा अडिग रहे र आफूलाई कुनै हालतमा रगत नदिन भने।

१०. मानिसको सोचाइ किन एउटा पासो हो? (१ कोरिन्थी ३:१९, २०)

१० मानिसको सोचाइ। यदि हामीले कुनै मामिलामा मानिसको जस्तै सोचाइ राख्यौँ भने यहोवा र उहाँका स्तरहरूलाई बेवास्ता गर्ने हदसम्म पुग्न सक्छौँ। (१ कोरिन्थी ३:१९, २० पढ्‌नुहोस्‌।) “संसारको बुद्धि”-ले हामीलाई अक्सर यहोवाको नियम उल्लङ्‌घन गर्न उक्साउँछ। पर्गामम र थिआटिरा मण्डलीका केही ख्रिष्टियनले मूर्तिपूजा र अवैध यौनसम्बन्धप्रति त्यस सहरका मानिसहरूको जस्तै सोचाइ राखेका थिए। अवैध यौनसम्बन्ध राख्नुलाई हल्कासित लिएकोले येसुले दुइटै मण्डलीलाई कडा सल्लाह दिनुभयो। (प्रका. २:१४, २०) आज पनि मानिसहरूले हामीलाई गलत धारणा राख्न दबाब दिन सक्छन्‌। परिवारका सदस्यहरू र साथीभाइले यहोवाका नीतिनियमहरू एकदमै कडा छन्‌ र ती पालन गर्नुपर्दैन भनेर विश्‍वास दिलाउन खोज्छन। तिनीहरूले बाइबलका नैतिक स्तरहरू पुरानो भइसके र नैतिक तवरमा स्वच्छ रहनुपर्दैन भनेर बताउन सक्छन्‌।

११. विश्‍वासमा दृढ रहिरहन हामी के गर्नदेखि होसियार हुनुपर्छ?

११ कहिलेकाहीँ हामीलाई यहोवाले दिनुभएको निर्देशन स्पष्ट छैन जस्तो लाग्न सक्छ। हामी “लेखिएका कुराहरूभन्दा बढ्‌ता गर्ने” पासोमा पर्न सक्छौँ। (१ कोरि. ४:६) येसुको समयका धर्मगुरुहरूले त्यसै गरे। तिनीहरूले परमेश्‍वरको व्यवस्थामा मानिसहरूले बनाएका तीनथुप्रो नियमहरू थपे र मानिसहरूको काँधमा बोझिला नियमहरूको भारी राखिदिए। (मत्ति २३:४) यहोवा हामीलाई आफ्नो वचन र सङ्‌गठनमार्फत स्पष्ट निर्देशनहरू दिनुहुन्छ। हामीले त्यसमा कुनै थपथाप गरिराख्नु आवश्‍यक छैन। (हितो. ३:५-७) त्यसैले हामी बाइबलमा लेखिएका कुराहरूभन्दा बढ्‌ता गर्दैनौँ न त व्यक्‍तिगत छनौटका कुराहरूमा नियमहरू बनाउँछौँ।

१२. सैतानले कसरी “खोक्रो अनि छली विचारधाराहरू” प्रयोग गर्छ?

१२ छली विचारधाराहरू। सैतानले मानिसहरूलाई बहकाउन र विभाजित पार्न “खोक्रो अनि छली विचारधाराहरू” र “संसारका आधारभूत कुराहरू” प्रयोग गर्छ। (कल. २:८) प्रथम शताब्दीको कुरा गर्नुपर्दा सैतानले मानव दर्शनहरू प्रयोग गऱ्‍यो, जुन मानव तर्कहरू, गैर-धर्मशास्त्रीय यहुदी शिक्षाहरू र ख्रिष्टियनहरूले मोसाको व्यवस्था पालन गर्नै पर्छ भन्‍ने शिक्षामा आधारित थिए। यी छली विचारधाराहरू थिए किनभने यसले मानिसहरूको ध्यान साँचो बुद्धिका स्रोत यहोवाबाट अन्तै मोड्यो। आज सैतानले राजनैतिक नेताहरूले बढावा दिने झूटा खबरहरू र अफवाहहरू फैलाउन सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोग गर्छ। यस्ता अनेक अफवाहहरू कोभिड-१९ महामारीको बेला फैलिएका थिए। c यस्ता गलत समाचारहरूको पछि लाग्ने मानिसहरू अचाक्ली चिन्तित भएका थिए। तर हाम्रो सङ्‌गठनबाट प्राप्त निर्देशनहरू पालन गर्ने साक्षीहरू भने यस्ता अनावश्‍यक चिन्ताबाट मुक्‍त थिए।—मत्ति २४:४५.

१३. हामी अलमल्याउने कुराहरूदेखि किन होसियार हुनुपर्छ?

१३ अलमल्याउने कुराहरू। हामीले “अझ महत्त्वपूर्ण कुराहरू”-मा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ। (फिलि. १:९, १०) अलमल्याउने कुराहरूले हाम्रो धेरै समय र शक्‍ति खान सक्छ। खानपिन, मनोरञ्जन र कामजस्ता जीवनका सामान्य कुराहरूलाई हामीले धेरै महत्त्व दियौँ भने यी कुराहरू नै हाम्रो लागि पासो हुन सक्छन्‌। (लुका २१:३४, ३५) साथै हामी हरेक दिनजसो विभिन्‍न विरोध कार्यक्रमहरू र राजनैतिक विवादका समाचारहरू सुनिरहेका हुन्छौँ। हामी यस्ता विवादहरूमा अलमलिनदेखि होसियार हुनुपर्छ। नत्र हामीले मनमनै कसैको पक्ष लिइरहेका हुन सक्छौँ। सैतानले माथिका सबै तरिका प्रयोग गरेर सही काम गर्ने हाम्रो सङ्‌कल्पलाई कमजोर बनाउन खोज्छ। अब आउनुहोस्‌, हामी कसरी त्यसको प्रतिरोध गर्न सक्छौँ र अटल रहन सक्छौँ, विचार गरौँ।

हामी कसरी अटल रहन सक्छौँ?

अटल रहिरहन समर्पण र बप्तिस्माबारे सोच्नुहोस्‌, परमेश्‍वरको वचन अध्ययन र मनन गर्नुहोस्‌, हृदय स्थिर बनाउनुहोस्‌ अनि यहोवामा भरोसा राख्नुहोस्‌ (अनुच्छेद १४-१८ हेर्नुहोस्‌)

१४. यहोवाको पक्षमा खडा हुन मदत गर्ने एउटा कुरा के हो?

१४ आफ्नो समर्पण र बप्तिस्माबारे सोच्नुहोस्‌। यहोवाको पक्षमा खडा हुन चाहनुभएकोले तपाईँले यी कदमहरू चाल्नुभयो। तपाईँ कुन कुराले गर्दा सत्य यही हो भनेर पक्का हुनुभएको थियो, त्यसबारे सोच्नुहोस्‌। तपाईँले यहोवाबारे सही ज्ञान लिनुभयो र बुबाको रूपमा उहाँलाई आदर र प्रेम गर्न थाल्नुभयो। विश्‍वास बढ्‌दै गएपछि तपाईँ पश्‍चात्ताप गर्न उत्प्रेरित हुनुभयो। यहोवाले घृणा गर्नुहुने कुराहरूलाई त्याग्नुभयो र उहाँको इच्छाअनुसार जीवन बिताउन थाल्नुभयो। उहाँबाट क्षमा पाएको महसुस गर्दा तपाईँ ढुक्क हुनुभयो। (भज. ३२:१, २) तपाईँ सभाहरूमा उपस्थित हुनुभयो र आफूले सिकेका कुराहरू अरूलाई पनि सुनाउन थाल्नुभयो। समर्पण र बप्तिस्मा गरेपछि तपाईँ जीवनको बाटोमा हिँड्‌दै हुनुहुन्छ र यही बाटोमा हिँडिरहन दृढ हुनुहुन्छ।—मत्ति ७:१३, १४.

१५. अध्ययन र मनन गर्दा कस्ता लाभहरू उठाउन सक्छौँ?

१५ परमेश्‍वरको वचन अध्ययन र मनन गर्नुहोस्‌। गहिरो जरा गाडेको रूख जसरी बलियो हुन्छ, त्यसरी नै हाम्रो विश्‍वास परमेश्‍वरको वचनमा आधारित छ भने हामी अटल रहिरहन सक्छौँ। रूख बढ्‌दै गएपछि यसको जरा पनि गहिराइसम्म फैलिँदै जान्छ। हामीले परमेश्‍वरको वचन अध्ययन र मनन गर्दा हाम्रो विश्‍वास अझ बलियो हुन्छ र परमेश्‍वरको तौरतरिका नै सबैभन्दा उत्तम हो भनेर हामी अझ विश्‍वस्त हुन सक्छौँ। (कल. २:६, ७) यहोवाको निर्देशन, डोऱ्‍याइ र सुरक्षाले विगतमा उहाँका सेवकहरूलाई कसरी मदत गऱ्‍यो, त्यसबारे मनन गर्नुहोस्‌। जस्तै: इजकिएलले दर्शनमा एक जना स्वर्गदूतले यहोवाको मन्दिरको विस्तृत रूपमा नाप लिएको देखे। यस दर्शनले इजकिएललाई बलियो बनायो र यसबाट हामीले यहोवाका स्तरहरू पालन गर्ने सन्दर्भमा व्यावहारिक पाठहरू सिक्न सक्छौँ। d (इज. ४०:१-४; ४३:१०-१२) समय लगाएर परमेश्‍वरको वचनका गहिरा कुराहरू अध्ययन र मनन गऱ्‍यौँ भने हामीले पनि लाभ उठाउन सक्छौँ।

१६. स्थिर हृदयले बबलाई कसरी मदत गऱ्‍यो? (भजन ११२:७)

१६ आफ्नो मनलाई बलियो बनाउनुहोस्‌। राजा दाउदले यहोवाप्रतिको अटल प्रेमबारे यसो भने: “मेरो हृदय स्थिर छ, हे परमेश्‍वर।” (भज. ५७:७) यहोवामाथि पूर्ण भरोसा राखेका छौँ भने हामीले पनि आफ्नो हृदयलाई स्थिर बनाउन सक्छौँ। (भजन ११२:७ पढ्‌नुहोस्‌।) सुरुमा पनि उल्लेख गरिएको बबलाई यस कुराले कसरी मदत गऱ्‍यो, विचार गरौँ। डाक्टरले तिनलाई आकस्मिक अवस्थाको लागि रगत तयार राखिने कुरा बताउँदा तिनले आफूलाई रगत दिइने सम्भावना एक प्रतिशत मात्र छ भने पनि तुरुन्तै अस्पताल छोडेर जाने कुरा बताए। पछि बबले यसो भने: “के गर्नुपर्छ भन्‍ने कुरामा मलाई कुनै शङ्‌का थिएन न त पछि के होला भन्‍ने कुराको चिन्ता नै थियो।”

हाम्रो आध्यात्मिक जग बलियो छ भने जस्तोसुकै परीक्षाको सामना गर्नुपरे तापनि स्थिर रहन सक्नेछौँ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. बबको अनुभवबाट हामी के सिक्न सक्छौँ? (तस्बिर पनि हेर्नुहोस्‌।)

१७ बब स्थिर रहन सके किनभने तिनले अस्पतालमा भर्ना हुनुभन्दा अघि नै विश्‍वासमा दह्रो रहने निर्णय गरिसकेका थिए। तिनलाई तीन वटा कुराले स्थिर रहन मदत गऱ्‍यो। पहिलो, तिनी यहोवालाई खुसी बनाउन चाहन्थे। दोस्रो, तिनले बाइबल र बाइबलआधारित प्रकाशनहरूमा जीवन र रगतको पवित्रताबारे गहिरिएर अध्ययन गरे। तेस्रो, यहोवाका निर्देशनहरूअनुसार चल्दा इनाम पाइन्छ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए। जस्तोसुकै परीक्षा आइपरे तापनि हामीले पनि आफ्नो हृदयलाई स्थिर राखिराख्न सक्छौँ।

बाराक र तिनका मानिसहरूले साहसी हुँदै सिसराको सेनालाई खेदे (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८. यहोवामा भरोसा राख्ने सन्दर्भमा हामी बाराकबाट के सिक्न सक्छौँ? (आवरण चित्र हेर्नुहोस्‌।)

१८ यहोवामा भरोसा राख्नुहोस्‌। यहोवाको निर्देशनमा भरोसा गर्दा बाराक कसरी सफल भए, विचार गरौँ। युद्ध लड्‌न इस्राएलीहरूसित न ढाल न त भाला नै थियो। तैपनि यहोवाले तिनीहरूलाई हातहतियारले सुसज्जित कनानी सेनापति सिसराविरुद्ध युद्ध लड्‌न भन्‍नुभयो। (न्याय. ५:८) भविष्यवक्‍ता दबोराले बाराकलाई तल बेँसीमा गएर ९०० रथसहित आएका सिसरासित लड्‌न भने। बेँसीमा रथहरू तीव्र गतिमा कुद्‌न सक्ने भएकोले इस्राएलीहरूलाई तिनीहरूसित लड्‌न निकै गाह्रो हुने थियो। तैपनि बाराकले दबोराको कुरा माने। सिसराको सेना तबोर डाँडाबाट तल ओर्लँदा यहोवाले ठूलो पानी पारिदिनुभयो र सिसराका रथहरू हिलोमा गाडिए अनि यहोवाले बाराकलाई विजयी तुल्याउनुभयो। (न्याय. ४:१-७, १०, १३-१६) हामीले पनि यहोवामा भरोसा राख्यौँ र उहाँले आफ्ना प्रतिनिधिहरूमार्फत दिनुहुने निर्देशनअनुसार चल्यौँ भने उहाँले हामीलाई विजयी तुल्याउनुहुनेछ।—व्यव. ३१:६.

अटल रहिरहने सङ्‌कल्प गर्नुहोस्‌

१९. तपाईँ किन स्थिर रहन चाहनुहुन्छ?

१९ यस युगको अन्त नभएसम्म स्थिर रहन हामीले सङ्‌घर्ष गरिरहनुपर्नेछ। (१ तिमो. ६:११, १२; २ पत्रु. ३:१७) खेदो, अप्रत्यक्ष आक्रमण, मानिसहरूको सोचाइ, छली विचारधाराहरू र अलमल्याउने कुराहरूबाट यताउता हुर्रिनदेखि होसियार होऔँ। (एफि. ४:१४) यहोवाको उपासना र उहाँको आज्ञापालन गर्ने सन्दर्भमा स्थिर र अटल रहिरहौँ। साथै हामी व्यावहारिक पनि हुनुपर्छ। अर्को लेखमा व्यावहारिक हुने सन्दर्भमा यहोवा र येसु किन उत्कृष्ट उदाहरण हुनुहुन्छ भन्‍नेबारे विचार गर्नेछौँ।

गीत १२९ हामी सहिरहन्छौँ!

a सैतानले आदम र हव्वाको समयदेखि नै मानिसले आफ्नो लागि आफैले के सही र के गलत भनेर निर्णय गर्नुपर्छ भन्‍ने धारणालाई बढावा दिँदै आएको छ। हामीले पनि यहोवाको नीतिनियम र सङ्‌गठनले दिने निर्देशनहरूप्रति त्यस्तै मनोभाव राखेको त्यो चाहन्छ। यस लेखले हामीलाई सैतानको संसारको आफूखुसी गर्ने मनोभावदेखि होसियार रहन र यहोवाको पक्षमा खडा हुने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउन मदत गर्नेछ।

b ख्रिष्टियनहरूले रगतप्रति परमेश्‍वरको दृष्टिकोणलाई कसरी समर्थन गर्न सक्छन्‌ भन्‍नेबारे जान्‍न सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ३९ हेर्नुहोस्‌।

c jw.org मा “गलत जानकारीहरूबाट आफूलाई जोगाउनुहोस्‌” भन्‍ने भिडियो हेर्नुहोस्‌।