सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २९

के तपाईँ महासङ्‌कष्टको लागि तयार हुनुहुन्छ?

के तपाईँ महासङ्‌कष्टको लागि तयार हुनुहुन्छ?

“तिमीहरू पनि तयार रहो।”—मत्ति २४:४४.

गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!

परिचय a

१. विपत्तिको लागि तयार रहनु किन बुद्धिमानी कुरा हो?

 पूर्वतयारीले ज्यान जोगाउँछ। जस्तै: विपत्तिको लागि पहिल्यै तयार रहेकाहरूको ज्यान जोगिने सम्भावना धेरै हुन्छ र तिनीहरू अरूलाई पनि मदत गर्ने अवस्थामा हुन्छन्‌। युरोपको एउटा मानवीय सहायता सङ्‌गठनले यसो भन्यो: “राम्रो तयारीले जीवन बचाउन सक्छ।”

२. हामी किन महासङ्‌कष्टको लागि तयार रहनुपर्छ? (मत्ति २४:४४)

“महासङ्‌कष्ट” अचानक आउनेछ। (मत्ति २४:२१) तर त्यो अरू विपत्तिभन्दा फरक हुनेछ किनकि हामीलाई त्यो आउँदै छ भनेर थाह छ। झन्डै २,००० वर्षअघि येसुले आफ्ना अनुयायीहरूलाई त्यस दिनको लागि तयार रहन भन्‍नुभयो। (मत्ति २४:४४ पढ्‌नुहोस्‌।) तयार छौँ भने हामीलाई त्यो कठिन समय पार गर्न तुलनात्मक रूपमा सजिलो हुनेछ र अरूलाई पनि मदत गर्न सक्नेछौँ।—लुका २१:३६.

३. महासङ्‌कष्टको लागि तयार रहन सहनशीलता, कोमल करुणा र प्रेमले कसरी मदत गर्नेछ?

अब हामी महासङ्‌कष्टको लागि तयार रहन मदत गर्ने तीन वटा गुणबारे विचार गरौँ। हामीलाई न्यायको कडा सन्देश सुनाउन भनियो र शत्रुहरूले हाम्रो विरोध गरे भने हामी के गर्नेछौँ? (प्रका. १६:२१) यहोवाले जोगाउनुहुनेछ भन्‍ने कुरामा भरोसा गर्दै उहाँको आज्ञा पालन गर्न हामीलाई सहनशीलता चाहिनेछ। हाम्रा भाइबहिनीले केही वा भएभरको सरसम्पत्ति गुमाए भने हामी के गर्नेछौँ? (हब. ३:१७, १८) तिनीहरूप्रतिको कोमल करुणाले गर्दा हामी तिनीहरूलाई सहायता गर्न उत्प्रेरित हुन्छौँ। राष्ट्रहरूको गठबन्धनको आक्रमणले गर्दा अरू थुप्रै भाइबहिनीसँगै एकै ठाउँमा बस्नुपऱ्‍यो भने हामी के गर्नेछौँ? (इज. ३८:१०-१२) यस कठिन समयको सामना गर्न हामीलाई तिनीहरूप्रतिको गहिरो प्रेमले मदत गर्नेछ।

४. सहनशीलता, कोमल करुणा र प्रेम विकास गरिरहने सन्दर्भमा बाइबलमा के बताइएको छ?

बाइबलले हामीलाई सहनशीलता, कोमल करुणा र प्रेम विकास गरिरहन प्रोत्साहन दिएको छ। लुका २१:१९ यसो भन्छ: “तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।” कलस्सी ३:१२ यसो भन्छ: “कोमल करुणा . . . धारण गर।” पहिलो थिस्सलोनिकी ४:९, १० यसो भन्छ: “आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्‍वरबाटै तिमीहरू सिकाइएका छौ। . . . तर हे भाइहरू हो, हामी तिमीहरूलाई यो आग्रह गर्छौँ कि तिमीहरू झन्‌ धेरै त्यसो गर्दै जाओ।” याद गर्नुहोस्‌, यी पदहरू सहनशीलता, कोमल करुणा र प्रेम देखाइरहेका चेलाहरूको लागि लेखिएको थियो। तैपनि तिनीहरूले यी गुणहरू विकास गरिरहनुपर्थ्यो। हामीले पनि त्यसै गर्नुपर्छ। प्रथम शताब्दीका ख्रिष्टियनहरूले यी गुणहरू कसरी देखाए भनेर हामी छलफल गर्नेछौँ। साथै हामी ती चेलाहरूको कसरी अनुकरण गर्न सक्छौँ र महासङ्‌कष्टको लागि तयार रहेको देखाउन सक्छौँ भनेर पनि विचार गर्नेछौँ।

अझ सहनशील हुन सिक्नुहोस्‌

५. प्रथम शताब्दीका ख्रिष्टियनहरूले कसरी परीक्षाहरू सहे?

प्रथम शताब्दीका ख्रिष्टियनहरू सहनशील हुनु आवश्‍यक थियो। (हिब्रू १०:३६) सामान्यतया मानिसहरूले भोग्ने समस्याहरूबाहेक तिनीहरूले थप परीक्षा भोगे। तिनीहरूले यहुदी धर्मगुरुहरू र रोमी अख्तियारवालाहरूबाट मात्र होइन, आफ्नै परिवारका सदस्यहरूबाट पनि खेदो भोगे। (मत्ति १०:२१) अनि मण्डलीभित्र टेढोमेढो कुरा गरेर फुट गराउन खोज्ने धर्मत्यागीहरू पनि थिए। (प्रेषि. २०:२९, ३०) यस्तो अवस्थाको बाबजुद ती ख्रिष्टियनहरू सहनशील भइरहे। (प्रका. २:३) कसरी? तिनीहरूले अय्युबजस्ता सहनशीलता देखाएका बाइबल पात्रहरूबारे मनन गरे। (याकु. ५:१०, ११) बलको लागि प्रार्थना गरे। (प्रेषि. ४:२९-३१) अनि सहनशील हुँदा पाइने इनाममा ध्यान केन्द्रित गरे।—प्रेषि. ५:४१.

६. विरोध सहने सन्दर्भमा मेरिटाबाट तपाईँले के सिक्नुभयो?

हामीले बाइबल र हाम्रा प्रकाशनहरूमा सहनशीलता देखाएका व्यक्‍तिहरूको उदाहरण पढ्‌ने र मनन गर्ने गऱ्‍यौँ भने हामी पनि सहनशील हुन सक्छौँ। अल्बेनियाकी बहिनी मेरिटाको अनुभव विचार गरौँ। तिनको परिवारले तिनी ख्रिष्टियन भएकोले कुटपिटसमेत गरे। तिनी यसो भन्छिन्‌: “अय्युबको विवरणले मेरो मन छोयो। उनले धेरै दुःख भोग्नुपऱ्‍यो अनि उनलाई त्यसको पछाडि कसको हात छ भनेर थाह थिएन। तैपनि उनले ‘म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ’ भने। (अय्यु. २७:५) अय्युबले भोगेका परीक्षाहरूको अगाडि मेरा परीक्षाहरू त केही पनि होइनन्‌ जस्तो लाग्यो। मलाई कमसेकम मेरा परीक्षाहरूको पछाडि कसको हात छ भनेर त थाह छ।”

७. अहिले कुनै कठिन परीक्षा भोग्नुपरेको छैन भने पनि हामीले अहिलेदेखि नै के गर्न सिक्नुपर्छ?

यहोवालाई नियमित रूपमा मनैदेखि प्रार्थना गर्दा हामी अझै सहनशील हुन सक्छौँ। (फिलि. ४:६; १ थिस्स. ५:१७) सायद तपाईँले अहिले कुनै कठिन परीक्षा भोग्नुपरेको छैन होला। तैपनि निराश हुँदा, अलमलमा पर्दा वा दोधारमा पर्दा के तपाईँ यहोवाको डोऱ्‍याइ खोज्नुहुन्छ? तपाईँ अहिले सानातिना चुनौतीहरू आइपर्दा यहोवाको मदत खोज्ने गर्नुहुन्छ भने भविष्यमा अझै ठूला चुनौतीहरू आइपर्दा तपाईँले विनाहिचकिचाहट उहाँलाई पुकार्नुहुनेछ। अनि तपाईँलाई कहिले र कसरी मदत गर्ने भनेर यहोवा जान्‍नुहुन्छ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुनुहुनेछ।—भज. २७:१, ३.

सहनशीलता

प्रत्येक चोटि परीक्षा सहँदा त्यसले अर्को परीक्षा सहन बल दिन सक्छ (अनुच्छेद ८ हेर्नुहोस्‌)

८. अहिले परीक्षाहरू सहँदा त्यसले अर्को परीक्षा सहन मदत गर्छ भनेर मीराको उदाहरणले कसरी देखाउँछ? (याकुब १:२-४) (तस्बिर पनि हेर्नुहोस्‌।)

हामीले अहिले वफादार भई परीक्षाहरू सह्‍यौँ भने महासङ्‌कष्टमा पनि सहनशील हुने सक्ने सम्भावना धेरै हुनेछ। (रोमी ५:३) हामी किन यसो भन्‍न सक्छौँ? थुप्रै भाइबहिनीले प्रत्येक चोटि विश्‍वासको परीक्षा सहँदा त्यसले अर्को चुनौती सहन मदत गरेको अनुभव गरेका छन्‌। सहनशीलताले तिनीहरूलाई खारिन मदत गरेको छ। यहोवा मदत गर्न तयार र इच्छुक हुनुहुन्छ भन्‍ने कुरामा तिनीहरूको विश्‍वास अझ बलियो भएको छ। अनि यस्तो विश्‍वासले अर्को परीक्षा सहन मदत गरेको छ। (याकुब १:२-४ पढ्‌नुहोस्‌।) अल्बेनियाका अग्रगामी बहिनी मीरालाई आफूले विगतमा सहेका परीक्षाहरूले अहिले आइपरेका चुनौतीहरू सहन मदत गरेको छ। तर कहिलेकाहीँ आफूले मात्र तीनथुप्रो समस्या भोग्नुपरेको जस्तो लाग्छ भनेर तिनी मानिलिन्छिन्‌। यस्तो बेला तिनी विगत २० वर्षदेखि यहोवाले तिनलाई कसरी सम्हाल्दै आउनुभएको छ भन्‍ने कुरा सम्झिन्छिन्‌ र आफैलाई यसो भन्छिन्‌: ‘वफादार रहो। यहोवाको मदत पाएर यत्ति लामो समयदेखि आफूले हासिल गरेका जितहरूलाई खेर जान नदेऊ।’ तपाईँ पनि यहोवाले तपाईँलाई कसरी सहनशील हुन मदत गर्नुभयो भन्‍ने कुरामा मनन गर्नुहोस्‌। उहाँ तपाईँले सहनुभएको हरेक परीक्षा याद गर्नुहुन्छ र इनाम दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। (मत्ति ५:१०-१२) तपाईँले अहिल्यै परीक्षाहरू सहन सिकिसक्नुभएकोले महासङ्‌कष्ट सुरु हुँदा सहनशील भइरहने तपाईँको सङ्‌कल्प बलियो हुनेछ।

कोमल करुणा देखाउनुहोस्‌

९. एन्टिओकका भाइबहिनीले कसरी कोमल करुणा देखाए?

यहुदियामा ठूलो अनिकाल पर्दा के भएको थियो, विचार गरौँ। त्यस अनिकालबारे सुनेपछि एन्टिओकका भाइबहिनी यहुदियाका भाइबहिनीको लागि कोमल करुणाले भरिए। तिनीहरूले महसुस गरेको करुणा व्यवहारमा पनि देखाए। तिनीहरूले “आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे।” (प्रेषि. ११:२७-३०) अनिकालबाट प्रभावित भाइबहिनी धेरै टाढा बस्ने भए पनि एन्टिओकका ख्रिष्टियनहरू तिनीहरूलाई मदत गर्न अघि सरे।—१ युह. ३:१७, १८.

कोमल करुणा

प्राकृतिक प्रकोप आइपर्दा अरूलाई कोमल करुणा देखाउने मौका पाउँछौँ (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. भाइबहिनीहरू कुनै प्रकोपमा पर्दा हामी कसरी कोमल करुणा देखाउन सक्छौँ? (तस्बिर पनि हेर्नुहोस्‌।)

१० भाइबहिनीहरू कुनै प्रकोपमा परेको थाह पाएपछि हामी पनि कोमल करुणा देखाउन सक्छौँ। त्यस्तो खबर सुन्‍नेबित्तिकै हामीले कुनै तरिकामा मदत गर्न सकिन्छ कि भनेर एल्डरहरूलाई सोध्न सक्छौँ, विश्‍वव्यापी कार्यको लागि अनुदान दिन सक्छौँ र प्रभावित भाइबहिनीको लागि प्रार्थना गर्न सक्छौँ। b (हितो. १७:१७) जस्तै: सन्‌ २०२० मा कोभिड-१९ महामारीबाट प्रभावित भाइबहिनीको ख्याल राख्न संसारभरि ९५० वटाभन्दा धेरै प्रकोप राहत समिति गठन गरिए। राहत समितिमा सेवा गर्ने भाइहरू हाम्रो प्रशंसाको योग्य छन्‌। भाइबहिनीप्रतिको कोमल करुणाले उत्प्रेरित भएर तिनीहरूले राहत सामग्री वितरण गरे, आध्यात्मिक स्वास्थ्यको ख्याल राखे र आवश्‍यकताअनुसार घरहरू अनि उपासनास्थलहरूको पुनर्निर्माण र मर्मतसम्भार गरे।—२ कोरिन्थी ८:१-४ तुलना गर्नुहोस्‌।

११. हामीले कोमल करुणा देखाउँदा कसरी यहोवाको महिमा हुन्छ?

११ हामीले प्रकोपमा परेकाहरूलाई कोमल करुणा देखाउँदा अरूले त्यो कुरा याद गर्छन्‌। जस्तै: सन्‌ २०१९ मा डोरियन आँधीले बहामासको एउटा सभाभवनलाई क्षतिग्रस्त बनायो। हाम्रा भाइहरूले त्यो भवन पुनर्निर्माण गर्ने क्रममा एक जना ठेकेदारलाई निर्माणसम्बन्धी कुनै-कुनै काम पूरा गर्न कति खर्च लाग्छ भनेर सोधे। ती ठेकेदारले यसो भने: ‘म तपाईँहरूलाई सित्तैँमा मेसिन प्रयोग गर्न दिन्छु। साथै कामदार र आवश्‍यक सामग्रीहरू पनि सहयोगस्वरूप दिन्छु। म यो तपाईँहरूको सङ्‌गठनको लागि गर्न चाहन्छु। तपाईँहरूले आफ्ना साथीहरूको लागि गर्नुभएको मदत देखेर मेरो मन छोएको छ।’ संसारका थुप्रै मानिसले यहोवालाई चिन्दैनन्‌। तर यहोवाका साक्षीहरूले अरू मानिसहरूलाई मदत गरेको चाहिँ याद गरेका छन्‌। साँच्चै, हामीले अरूलाई कोमल करुणा देखाउँदा तिनीहरू “कृपाका धनी परमेश्‍वर”-लाई चिन्‍न उत्प्रेरित हुन सक्छन्‌।—एफि. २:४.

१२. हामीले अहिल्यैदेखि कोमल करुणा देखाएका छौँ भने त्यसले हामीलाई महासङ्‌कष्टको लागि कसरी तयार बनाउँछ? (प्रकाश १३:१६, १७)

१२ महासङ्‌कष्टको बेला हामीलाई किन कोमल करुणा चाहिनेछ? राजनीतिलाई समर्थन नगर्नेहरूले अहिले अनि महासङ्‌कष्टमा चुनौतीहरूको सामना गर्नुपर्नेछ भनेर बाइबलमा सङ्‌केत गरिएको छ। (प्रकाश १३:१६, १७ पढ्‌नुहोस्‌।) त्यतिबेला हाम्रा भाइबहिनीलाई आधारभूत आवश्‍यकताहरू पूरा गर्न मदत चाहिन सक्छ। हाम्रा राजा येसु ख्रिष्ट न्याय गर्न आउनुहुने समयमा हामीले कोमल करुणा देखाइरहेको पाउनुभयो भने उहाँले हामीलाई “राज्य अधिकार” गर्न निम्तो दिनुहुनेछ।—मत्ति २५:३४-४०.

आफ्नो प्रेम बढाउँदै लैजानुहोस्‌

१३. रोमी १५:७ मा बताइएअनुसार प्रथम शताब्दीका ख्रिष्टियनहरूले कसरी आपसी प्रेमलाई बलियो बनाए?

१३ प्रथम शताब्दीका ख्रिष्टियनहरू एकअर्कालाई प्रेम गर्छन्‌ भनेर धेरैलाई थाह थियो। तर तिनीहरूलाई त्यसरी प्रेम देखाउन पक्कै सजिलो थिएन। रोमको मण्डलीका भाइबहिनीबीच भएको विविधताबारे विचार गरौँ। त्यहाँ यहुदीहरू थिए, जसलाई मोसाको व्यवस्था पालन गर्न सिकाइएको थियो। साथै अन्यजातिहरू पनि थिए, जो एकदमै फरक संस्कृतिमा हुर्केका थिए। केही ख्रिष्टियन दास थिए भने केहीचाहिँ स्वतन्त्र थिए र हुन सक्छ, तिनीहरूमध्ये कोही दासहरूका मालिक थिए। ती ख्रिष्टियनहरूले यस्तो विविधताको बाबजुद कसरी आपसी प्रेमलाई बढाउन सके? प्रेषित पावलले तिनीहरूलाई ‘एकअर्कालाई स्वागत गर्न’ आग्रह गरे। (रोमी १५:७, फुटनोट पढ्‌नुहोस्‌।) तिनी के भन्‍न खोज्दै थिए? ‘स्वागत गर’ भनेर अनुवाद गरिएको वाक्यांशले कसैलाई आफ्नो घरमा वा आफ्ना साथीहरूको समूहमा मायालुपूर्वक स्वागत गर्नु वा अतिथिसत्कार गर्नुलाई बुझाउँछ। जस्तै: पावलले फिलेमोनलाई घर छोडेर भागेका दास ओनेसिमसलाई “मायालुपूर्वक स्वागत गर” भने। (फिले. १७) अपोल्लसलाई ख्रिष्टियन धर्मबारे प्रिस्किला र अक्विलालाई जत्तिको थाह थिएन तैपनि उनीहरूले अपोल्लसलाई ‘आफूकहाँ लगेर’ स्वागत गरे। (प्रेषि. १८:२६) तिनीहरूले आफूहरूबीचको यस्तो विविधतालाई फुटको कारण बन्‍न दिएनन्‌ बरु एकअर्कालाई स्वागत गरे।

प्रेम

हामीलाई सबै भाइबहिनीको प्रेम चाहिन्छ (अनुच्छेद १५ हेर्नुहोस्‌)

१४. आना र तिनको पतिले प्रेम गरेको कसरी देखाए?

१४ हामी पनि भाइबहिनीलाई आफ्ना साथीहरूको समूहमा स्वागत गरेर प्रेम गरेको देखाउन सक्छौँ। यसो गर्दा तिनीहरू पनि हामीलाई प्रेम देखाउन उत्प्रेरित हुन सक्छन्‌। (२ कोरि. ६:११-१३) एक मिसनरी दम्पती आना र तिनको पतिको उदाहरण विचार गरौँ। तिनीहरू पश्‍चिम अफ्रिकामा सरेको केही समयपछि नै कोभिड-१९ महामारी सुरु भयो। त्यसैले तिनीहरूले मण्डलीका भाइबहिनीलाई भेट्‌न सकेनन्‌। यस्तो अवस्थामा तिनीहरूले भाइबहिनीलाई प्रेम गरेको कसरी देखाउन सक्थे? तिनीहरूले भिडियो कन्फरेन्समार्फत भाइबहिनीलाई भेटे र उनीहरूलाई अझ राम्ररी चिन्‍न एकदमै उत्सुक भएको कुरा बताए। त्यस कुराले मण्डलीका भाइबहिनीको मन छोयो र उनीहरूले त्यस दम्पतीलाई फोन अनि मेसेज गर्न थाले। तिनीहरू भाइबहिनीलाई चिन्‍न अग्रसर भएको कारणबारे आना यसो भन्छिन्‌: “भाइबहिनीले म अनि मेरो परिवारलाई सुखदुःखमा देखाएको प्रेम म कहिल्यै बिर्सन सक्दिनँ। त्यही प्रेम गर्दा म अरूलाई प्रेम देखाउन उत्प्रेरित भएँ।”

१५. सबै भाइबहिनीलाई प्रेम गर्ने सन्दर्भमा भनिसाबाट तपाईँले के सिक्नुभयो? (तस्बिर पनि हेर्नुहोस्‌।)

१५ हामीमध्ये थुप्रैको मण्डलीमा फरक-फरक पृष्ठभूमि र व्यक्‍तित्वका भाइबहिनी छन्‌। हामी तिनीहरूको असल गुणहरूमा ध्यान दिएर आपसी प्रेमलाई बलियो बनाउन सक्छौँ। न्युजिल्यान्डमा सेवा गर्ने भनिसालाई विचार गरौँ। मण्डलीका कोही-कोहीसित तिनको सम्बन्ध राम्रो थिएन। तर आफूलाई मन नपर्ने व्यक्‍तिहरूदेखि टाढिनुको साटो तिनले उनीहरूसित अझ धेरै समय बिताउने कोसिस गरिन्‌। यसो गर्दा यहोवाले उनीहरूमा कस्ता असल गुणहरू देख्नुभयो भनेर तिनले बुझ्न सकिन्‌। तिनी भन्छिन्‌: “मेरो श्रीमान्‌ क्षेत्रीय निरीक्षक हुनुभएकोले हामी विभिन्‍न भाइबहिनीसित धेरै समय बिताउँछौँ। अहिले मलाई भाइबहिनीसित घुलमिल हुन सजिलो लाग्छ र मलाई उहाँहरूबीचको विविधता मन पर्छ। यहोवालाई पनि यस्तो विविधता मन पर्छ किनकि उहाँले नै फरक-फरक पृष्ठभूमिका मानिसहरूलाई आफूतर्फ खिच्नुभएको हो।” हामीले भाइबहिनीलाई यहोवाको नजरबाट हेर्न सिक्यौँ भने हामी तिनीहरूलाई प्रेम गर्छौँ भन्‍ने प्रमाण दिइरहेका हुन्छौँ।—२ कोरि. ८:२४.

महासङ्‌कष्टको बेला भाइबहिनीसँग एकतामा रहेर यहोवाको सेवा गरिरह्‍यौँ भने प्रतिज्ञा गरिएको सुरक्षा पाउनेछौँ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. महासङ्‌कष्टको बेला हामीलाई किन प्रेम नभई हुँदैन? (तस्बिर पनि हेर्नुहोस्‌।)

१६ महासङ्‌कष्टको बेला हामीलाई नभई नहुने गुण प्रेम हो। महासङ्‌कष्ट सुरु हुँदा हामीले कहाँ सुरक्षा पाउनेछौँ? प्राचीन बेबिलोनमाथि आक्रमण भएपछि के गर्ने भनेर यहोवाले आफ्ना मानिसहरूलाई निर्देशन दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “हे मेरा मानिसहरू हो, जाओ! आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर। मेरो क्रोध शान्त नहोउन्जेल केहीबेर लुकेर बस।” (यसै. २६:२०) यो निर्देशन महासङ्‌कष्टको बेला हामीलाई पनि लागू हुन्छ जस्तो देखिन्छ। “भित्री कोठा”-ले मण्डलीहरूलाई बुझाएको हुन सक्छ। महासङ्‌कष्टको बेला हामी भाइबहिनीसँगै एकतामा रहेर उहाँको सेवा गरिरह्‍यौँ भने उहाँले प्रतिज्ञा गर्नुभएको सुरक्षा पाउनेछौँ। त्यसैले हामीले भाइबहिनीलाई सहन मात्र होइन, तिनीहरूलाई प्रेम गर्न पनि धेरै प्रयास गर्नुपर्छ। यस्तो प्रयासमा हाम्रो जीवन निर्भर हुन सक्छ!

अहिल्यैदेखि तयार रहनुहोस्‌

१७. हामी अहिल्यैदेखि तयार छौँ भने महासङ्‌कष्टमा के गर्न सक्नेछौँ?

१७ “यहोवाको महान्‌ दिन”-मा मानिसजातिले कठिनाइहरू भोग्नुपर्नेछ। (सप. १:१४, १५) यहोवाका मानिसहरूले पनि कठिनाइहरू भोग्नेछन्‌। तर हामी अहिल्यैदेखि तयार छौँ भने शान्त रहन र अरूलाई मदत गर्न सक्नेछौँ। अनि जस्तोसुकै चुनौती आइपरे तापनि सहनशील हुन सक्नेछौँ। दुःखमा परेका भाइबहिनीलाई कोमल करुणा देखाउन र तिनीहरूलाई आवश्‍यक मदत दिन हामी आफ्नो तर्फबाट सक्दो कोसिस गर्नेछौँ। अनि हामीले भाइबहिनीलाई अहिल्यैदेखि प्रेम गर्न सिक्यौँ भने भविष्यमा पनि त्यसरी नै प्रेम देखाउन सक्नेछौँ। यी गुणहरू देखाउन सक्दो कोसिस गऱ्‍यौँ भने यहोवाले हामीलाई कुनै प्रकोप र कठिनाइहरू नहुने संसारमा इनामस्वरूप अनन्त जीवन दिनुहुनेछ।—यसै. ६५:१७.

गीत १४४ इनाममा दृष्टि राखौँ!

a अब चाँडै महासङ्‌कष्ट सुरु हुनेछ। मानिसजातिले कहिल्यै नभोगेको एकदमै कठिन समयको लागि तयार रहन हामीलाई सहनशीलता, कोमल करुणा र प्रेमले मदत गर्नेछ। प्रथम शताब्दीका ख्रिष्टियनहरूले यी गुणहरू कसरी देखाए, आज हामी कसरी यी गुणहरू देखाउन सक्छौँ र यी गुणहरूले हामीलाई महासङ्‌कष्टको लागि कसरी तयार पार्नेछ, यस लेखमा छलफल गर्नेछौँ।

b प्रकोप राहत परियोजनामा मदत गर्न चाहनेहरूले स्थानीय डिजाइन/निर्माण स्वयम्‌सेवा आवेदन फाराम (DC-50) वा स्वयम्‌सेवा कार्यक्रमको आवेदन फाराम (A-19) भर्नुपर्छ र निम्तो नपाउन्जेल पर्खनुपर्छ।