सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३२

यहोवाको अनुकरण गर्नुहोस्‌ र व्यावहारिक हुनुहोस्‌

यहोवाको अनुकरण गर्नुहोस्‌ र व्यावहारिक हुनुहोस्‌

“तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्‌।” —फिलि. ४:५.

गीत ८९ सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!

परिचय a

तपाईँ कस्तो किसिमको रूख हुन चाहनुहुन्छ? (अनुच्छेद १ हेर्नुहोस्‌)

१. ख्रिष्टियनहरू कुन अर्थमा रूखजस्तै हुनुपर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

 “लचकदार रूखलाई हावाले भाँच्न सक्दैन।” यस उखानअनुसार कुनै रूख लचकदार छ भने बेस्सरी हावा चल्दा पनि त्यो ढल्दैन। बरु यस्तो रूख फस्टाउँदै जान्छ। त्यसैगरि ख्रिष्टियनहरू पनि लचिलो हुन तयार हुनुपर्छ। परिस्थिति परिवर्तन हुँदा छाँटकाँट गरेर अनि अरूको विचारधारा र निर्णयको कदर गरेर तिनीहरूले आफू लचिलो अर्थात्‌ व्यावहारिक भएको देखाउन सक्छन्‌। यसो गर्दा तिनीहरू आध्यात्मिक रूपमा फस्टाउँछन्‌।

२. परिस्थिति परिवर्तन हुँदा छाँटकाँट गर्न कस्ता गुणहरूले मदत गर्छ र हामी यस लेखमा के छलफल गर्नेछौँ?

हामी यहोवाका सेवकहरू व्यावहारिक हुन चाहन्छौँ। साथै नम्र र दयालु पनि हुन चाहन्छौँ। यस लेखमा यी गुणहरूले केही ख्रिष्टियनलाई परिस्थिति परिवर्तन हुँदा कसरी मदत गऱ्‍यो, बुझ्नेछौँ। अनि यी गुणहरूले हामीलाई कसरी मदत गर्छ भनेर पनि चर्चा गर्नेछौँ। तर सुरुमा यहोवा र येसुले कसरी व्यावहारिकता देखाउनुभयो, त्यसबारे छलफल गरौँ।

यहोवा र येसु व्यावहारिक हुनुहुन्छ

३. यहोवा व्यावहारिक हुनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

बाइबलमा यहोवालाई “चट्टान” भनिएको छ किनकि उहाँ स्थिर र अटल हुनुहुन्छ। (व्यव. ३२:४) तर उहाँ व्यावहारिक पनि हुनुहुन्छ। उहाँ आफ्नो उद्देश्‍य पूरा गर्न परिस्थितिअनुसार छाँटकाँट गर्नुहुन्छ। हामीसित पनि परिस्थितिअनुसार छाँटकाँट गर्ने क्षमता छ। किनभने यहोवाले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको थियो। अनि उहाँले हामीलाई जस्तोसुकै गाह्रो अवस्थामा पनि बुद्धिमानी निर्णय गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू दिनुभएको छ। यहोवा “चट्टान”-जस्तो अटल हुनुभए तापनि व्यावहारिक पनि हुनुहुन्छ भन्‍ने कुरा उहाँको आफ्नै उदाहरण र उहाँले दिनुभएका सिद्धान्तहरूबाट बुझ्न सक्छौँ।

४. यहोवा व्यावहारिक हुनुहुन्छ भनेर देखाउने एउटा उदाहरण बताउनुहोस्‌। (लेवी ५:७, ११)

यहोवाको तौरतरिकामा कुनै खोट छैन। तर उहाँ व्यावहारिक हुनुभएकोले मानिसहरूबाट अचाक्ली माग गर्नुहुन्‍न। यहोवाले इस्राएलीहरूलाई आफू व्यावहारिक भएको कसरी देखाउनुभयो, विचार गरौँ। उहाँले धनी-गरिब दुवैबाट एउटै प्रकारको भेटीको माग गर्नुभएन। इस्राएलीहरूले आफ्नो औकातअनुसार भेटी चढाउन सक्थे।—लेवी ५:७, ११ पढ्‌नुहोस्‌।

५. यहोवाले नम्रता र दया देखाउनुभएको एउटा उदाहरण बताउनुहोस्‌।

यहोवाको नम्रता र दयाले उहाँलाई व्यावहारिक हुन उत्प्रेरित गर्छ। जस्तै: उहाँले सदोमका दुष्ट मानिसहरूलाई नाश गर्ने निर्णय गरिसक्नुभएको थियो। तर उहाँले आफू नम्र भएको देखाउनुभयो। यहोवाले स्वर्गदूतहरूमार्फत धर्मी लुतलाई पहाडी इलाकातिर भाग्न भन्‍नुभयो। तर लुत त्यहाँ भाग्न डराए र तिनले आफ्नो परिवारसँगै नजिकैको सानो सहर जोअरमा भाग्न पाऊँ भनेर बिन्ती गरे। तर यहोवाले त्यस सहरलाई पनि नाश गर्ने निर्णय गरिसक्नुभएको थियो। उहाँले आफूले दिएको निर्देशन लुतले अक्षरशः पालन गर्नै पर्छ भन्‍न सक्नुहुन्थ्यो। तर उहाँले लुतलाई जोअरमा भाग्न दिनुभयो र त्यो सहर नाश गर्नुभएन। (उत्प. १९:१८-२२) त्यसको सयौँ वर्षपछि यहोवाले निनवेका मानिसहरूलाई दया देखाउनुभयो। उहाँले निनवे सहर र त्यहाँका दुष्ट मानिसहरूलाई नाश गर्ने सन्देश सुनाउन भविष्यवक्‍ता योनालाई पठाउनुभयो। तर त्यहाँका मानिसहरूले पश्‍चात्ताप गरेपछि उहाँले तिनीहरूलाई दया देखाउनुभयो र नाश गर्नुभएन।—योना ३:१, १०; ४:१०, ११.

६. येसुले कसरी यहोवाको व्यावहारिकता अनुकरण गर्नुभयो?

येसुले यहोवाको व्यावहारिकताको अनुकरण गर्नुभयो। उहाँलाई मुख्यतया ‘इस्राएलको घरानाका हराएका भेडाहरूलाई’ सुसमाचार सुनाउन पृथ्वीमा पठाइएको थियो। तर सुसमाचार सुनाउने सन्दर्भमा पनि उहाँले व्यावहारिकता देखाउनुभयो। एकचोटि एक जना गैर-इस्राएली स्त्रीले आफ्नी छोरीलाई निको पारिदिन येसुसित बिन्ती गरिन्‌। उनकी छोरीलाई “प्रेतले साह्रै सताइरहेको” थियो। येसुले दया देखाउँदै उनकी छोरीलाई निको पार्नुभयो। (मत्ति १५:२१-२८) अर्को उदाहरण विचार गरौँ। येसुले एकचोटि यसो भन्‍नुभयो: ‘जसले मलाई इन्कार गर्छ, म पनि उसलाई इन्कार गर्नेछु।’ (मत्ति १०:३३) तर के येसुले आफूलाई तीन-तीन पटक इन्कार गर्ने पत्रुसलाई इन्कार गर्नुभयो? गर्नुभएन। पत्रुसले पश्‍चात्ताप गरेका छन्‌ र तिनी वफादार छन्‌ भनेर येसुलाई थाह थियो। येसु फेरि जीवित हुनुभएपछि पत्रुसकहाँ देखा पर्नुभयो र सम्भवतः उहाँले तिनलाई क्षमा दिइसकेको अनि अझै पनि प्रेम गरिरहेको कुरा बताउनुभयो।—लुका २४:३३, ३४.

७. फिलिप्पी ४:५ अनुसार हामी कस्तो व्यक्‍तिको रूपमा चिनिन चाहन्छौँ?

हामीले यहोवा परमेश्‍वर र येसु ख्रिष्ट व्यावहारिक हुनुहुन्छ भनेर बुझ्यौँ। यहोवा हामी पनि व्यावहारिक भएको चाहनुहुन्छ। (फिलिप्पी ४:५ पढ्‌नुहोस्‌।) हामी आफ्नो आचरणबाट व्यावहारिक भएको देखाउन सक्छौँ। हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘के मलाई मानिसहरूले व्यावहारिक, लचिलो र सहनशील व्यक्‍ति भनेर चिन्छन्‌? अथवा कठोर, रुखो वा जिद्दीवाल भनेर चिन्छन्‌? के म आफूले भनेजस्तै हुनुपर्छ भनेर ढिपी गर्छु? अथवा के म अरूको कुरा ध्यान दिएर सुन्छु र सम्भव छ भने तिनीहरूले भनेको कुरा मान्छु?’ हामी जत्ति धेरै व्यावहारिक हुन्छौँ, त्यत्ति नै यहोवा र येसुको अनुकरण गरिरहेका हुन्छौँ। अब हामी व्यावहारिकता देखाउनुपर्ने दुइटा क्षेत्रबारे विचार गरौँ: आफ्नो परिस्थिति परिवर्तन हुँदा अनि अरूको विचारधारा र निर्णय आफ्नो भन्दा फरक हुँदा।

परिस्थिति परिवर्तन हुँदा व्यावहारिक हुनुहोस्‌

८. परिस्थिति परिवर्तन हुँदा व्यावहारिक हुन केले मदत गर्न सक्छ? (फुटनोट पनि हेर्नुहोस्‌।)

परिस्थिति परिवर्तन हुँदा हामी व्यावहारिक हुनुपर्छ। जीवनमा परिवर्तनहरू आउँदा सोच्दै नसोचेका कठिनाइहरू भोग्नुपर्ने हुन सक्छ। जस्तै: हामीलाई अचानक गम्भीर रोग लाग्न सक्छ। अथवा देशको अर्थतन्त्र र राजनैतिक अवस्था डामाडोल हुन सक्छ र त्यसले हाम्रो पूरै जीवन अस्तव्यस्त पार्न सक्छ। (उप. ९:११; १ कोरि. ७:३१) आफ्नो असाइनमेन्ट परिवर्तन हुँदा पनि हामीलाई गाह्रो हुन सक्छ। जस्तोसुकै चुनौती आइपरे पनि निम्न चार वटा कदम चाल्यौँ भने हामीले नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्न सक्नेछौँ: (१) वास्तविकता स्विकार्ने, (२) विगतमा होइन, भविष्यमा ध्यान दिने, (३) सकारात्मक कुरा सोच्ने र (४) अरूलाई मदत गर्ने। b यी कदमहरूले कसरी मदत गर्न सक्छ भनेर बुझ्न केही भाइबहिनीको अनुभव विचार गरौँ।

९. एउटा मिसनरी दम्पतीले सोच्दै नसोचेको परिस्थिति आइपर्दा के गऱ्‍यो?

वास्तविकता स्विकार्नुहोस्‌। इमानुएला र फ्रान्चेस्कालाई विदेशीभूमिमा मिसनरीको रूपमा खटाइयो। आफूलाई खटाइएको ठाउँमा पुगेर नयाँ भाषा सिक्न थाल्दा र नयाँ मण्डलीका भाइबहिनीसँग चिनाजानी गर्दै गर्दा कोभिड-१९ महामारी सुरु भयो। तिनीहरूले भाइबहिनीलाई भौतिक रूपमा भेट्‌न सकेनन्‌। त्यही समयतिर फ्रान्चेस्काकी आमाको अचानक मृत्यु भयो। फ्रान्चेस्का आफ्नो परिवारलाई जसरी भए पनि भेट्‌न चाहन्थिन्‌ तर महामारीले गर्दा सम्भव भएन। तिनले यस्तो निराशाजनक परिस्थितिको कसरी सामना गर्न सकिन्‌? पहिलो कुरा, इमानुएला र फ्रान्चेस्काले सँगै मिलेर हरेक दिनको सामना गर्न र अचाक्ली चिन्तित नहुन बुद्धिको लागि प्रार्थना गरे। यहोवाले ठीक समयमै आध्यात्मिक भोजन दिनुभएर तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। जस्तै: तिनीहरूले एउटा भिडियोमा एक जना भाइले भनेको यस कुराबाट प्रोत्साहन पाए: “जत्ति छिटो हामी नयाँ परिस्थितिलाई स्विकार्छौँ, त्यत्ति नै छिटो हामी फेरि आनन्दित हुन सक्नेछौँ र त्यत्ति नै छिटो हामी नयाँ परिस्थितिको सदुपयोग पनि गर्न सक्नेछौँ।” c दोस्रो, तिनीहरूले टेलिफोन साक्षी दिने सीप अझै तिखार्ने लक्ष्य राखे र एउटा बाइबल अध्ययनसमेत सुरु गरे। तेस्रो, तिनीहरूले स्थानीय भाइबहिनीको मायालु प्रोत्साहन र मदत खुसीसाथ स्विकारे। एक जना विचारशील बहिनीले तिनीहरूलाई एक दिन पनि नबिराई एक वर्षसम्म एउटा बाइबल पदसँगै छोटो नोट पठाइन्‌। हामीले पनि नयाँ परिस्थितिलाई स्विकाऱ्‍यौँ भने आफूले गर्न सकिरहेको कुरामा रमाउन सक्नेछौँ।

१०. एक बहिनीले आफ्नो जीवनमा ठूलो परिवर्तन हुँदा के गरिन्‌?

१० विगतमा होइन, भविष्यमा ध्यान दिनुहोस्‌ र सकारात्मक मनोभाव राख्नुहोस्‌। रोमानियाबाट बसाइँ सरेर जापानमा बस्दै आएकी क्रिस्टिना बहिनीको अनुभव विचार गरौँ। आफू गइरहेको अङ्‌ग्रेजी भाषाको मण्डली विघटन हुँदा तिनी निराश भइन्‌। तर तिनी विगतकै कुरामा घोरिएर बसिनन्‌। बरु तिनले जापानी भाषाको मण्डलीमा र क्षेत्र सेवामा आफ्नो तर्फबाट सक्दो कोसिस गर्ने निर्णय गरिन्‌। तिनले आफ्नो जापानी भाषा अझै उन्‍नति गर्न पहिला सँगै काम गरेको सहकर्मीसित मदत मागिन्‌। ती सहकर्मी क्रिस्टिनालाई बाइबल र सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका प्रयोग गरेर जापानी भाषा सिकाउन राजी भइन्‌। क्रिस्टिनाको जापानी भाषा अझै राम्रो भयो अनि ती महिलाले पनि बाइबल सत्यमा चासो देखाउन थालिन्‌। हामीले भविष्यमा ध्यान दियौँ र सकारात्मक मनोवृत्ति राख्यौँ भने जीवनमा जस्तोसुकै परिवर्तन आए पनि आशै नगरेका आशिष्‌हरू पाउनेछौँ।

११. एक दम्पतीले आर्थिक समस्याको कसरी सामना गऱ्‍यो?

११ अरूलाई मदत गर्नुहोस्‌। एउटा दम्पती हाम्रो काममा प्रतिबन्ध लगाइएको देशमा बस्छ। त्यस देशको अर्थतन्त्र टाट पल्टिँदा तिनीहरूको जागिर गुम्यो। तिनीहरूले कस्तो छाँटकाँट गरे? सुरुमा तिनीहरूले आफ्नो खर्च घटाउने कोसिस गरे। त्यसपछि आफ्ना समस्याहरूमा घोरिनुको साटो तिनीहरूले साक्षीकार्यमा भाग लिएर अरूलाई मदत दिने कुरामा ध्यान दिने निर्णय गरे। (प्रेषि. २०:३५) ती पतिले यसो भने: “साक्षीकार्यमा व्यस्त हुँदा हामीले यहोवाको इच्छाअनुसार गर्ने कुरामा अझ धेरै समय दिन सक्यौँ। यसो गर्दा हामीसित नकारात्मक कुराहरू सोच्ने समय नै हुँदैन थियो।” परिस्थिति परिवर्तन हुँदा विशेषगरि साक्षीकार्यमार्फत अरूलाई मदत दिनु कत्ति महत्त्वपूर्ण छ भनेर हामीले सम्झनुपर्छ।

१२. साक्षीकार्यमा व्यावहारिक हुने सन्दर्भमा प्रेषित पावलबाट के सिक्न सक्छौँ?

१२ हामी साक्षीकार्यमा व्यावहारिक हुनुपर्छ। हामी फरक-फरक धार्मिक आस्था, पृष्ठभूमि र मनोवृत्ति भएका मानिसहरू भेट्‌छौँ। व्यावहारिक हुने सन्दर्भमा हामी प्रेषित पावलको उदाहरणबाट सिक्न सक्छौँ। येसुले पावललाई “अन्यजातिहरूको प्रेषित” नियुक्‍त गर्नुभयो। (रोमी ११:१३) हुन पनि पावलले यहुदीहरू, ग्रीकहरू, बुद्धिजीवीहरू, गाउँलेहरू, सरकारी अख्तियारवालाहरू र राजाहरूलाई साक्षी दिए। यस्ता फरक-फरक मानिसहरूको मन छुन तिनी “सबै किसिमका मानिसका लागि सबै कुरा” भए। (१ कोरि. ९:१९-२३) तिनले मानिसहरूको संस्कृति, पृष्ठभूमि र धार्मिक आस्था मनमा राखेर साक्षी दिने तरिकामा छाँटकाँट गरे। हामीले पनि व्यावहारिक हुँदै प्रत्येक व्यक्‍तिको अवस्था विचार गरेर आफ्नो प्रस्तुतिमा छाँटकाँट गऱ्‍यौँ भने साक्षीकार्यमा अझ प्रभावकारी हुन सक्छौँ।

अरूको विचारको कदर गर्नुहोस्‌

व्यावहारिक छौँ भने हामी अरूको विचारधाराको कदर गर्छौँ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. अरूको विचारको कदर गर्छौँ भने १ कोरिन्थी ८:९ मा बताइएको कस्तो खतरादेखि जोगिन सक्छौँ?

१३ व्यावहारिकताले हामीलाई अरूको विचारको कदर गर्न मदत गर्छ। जस्तै: हाम्रा दिदीबहिनीमध्ये कसैलाई मेकअप गर्न मन पर्छ भने कसैलाई मन पर्दैन। केही ख्रिष्टियन ठिक्क मात्रामा रक्सी पिउन मन पराउँछन्‌ तर कोही भने पिउँदैनन्‌। सबै ख्रिष्टियन स्वस्थ हुन चाहन्छन्‌ अनि आफ्नो स्वास्थ्यको ख्याल राख्न फरक-फरक तरिका अपनाउँछन्‌। हामीलाई आफूले गर्ने छनौटहरू सधैँ सही हुन्छ जस्तो लाग्छ भने मण्डलीका भाइबहिनीलाई पनि आफूले जस्तै गर्न दबाब दिने हदसम्म पुग्न सक्छौँ। यसले गर्दा अरूलाई ठक्कर लाग्न सक्छ र मण्डलीमा फुट उत्पन्‍न हुन सक्छ। हामी पक्कै पनि त्यसो भएको चाहँदैनौँ! (१ कोरिन्थी ८:९ पढ्‌नुहोस्‌; १०:२३, २४) अब हामी बाइबल सिद्धान्त लागू गर्दा कसरी सन्तुलित हुन र मण्डलीमा शान्ति कायम गर्न सकिन्छ भनेर बुझ्न दुइटा उदाहरण विचार गरौँ।

व्यावहारिक छौँ भने हामी अरूको विचारधाराको कदर गर्छौँ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. पहिरन र कोरीबाटीको सन्दर्भमा निर्णय गर्दा कस्ता बाइबल सिद्धान्तहरू मनमा राख्नुपर्छ?

१४ पहिरन र कोरीबाटी। यहोवाले हाम्रो पहिरनको सन्दर्भमा कडा नियमहरू होइन बरु सिद्धान्तहरू दिनुभएको छ। हाम्रो पहिरनमा व्यावहारिकता, “सुझबुझ” र भद्रता झल्किनुपर्छ। (१ तिमो. २:९, १०; १ पत्रु. ३:३) यस्तो पहिरनले परमेश्‍वरको महिमा गर्छ। हामी आफ्नो पहिरनले अरूको अनावश्‍यक ध्यान खिच्न चाहँदैनौँ। बाइबल सिद्धान्तहरूले एल्डरहरूलाई पहिरन र हेयर स्टाइलबारे आफ्नै नियमहरू नबनाउन मदत गर्छ। जस्तै: एउटा मण्डलीका एल्डरहरू केही जवान भाइलाई मदत गर्न चाहन्थे। ती भाइहरूको हेयर स्टाइल छोटो तर जिङ्‌ग्रिङ्‌ग पर्ने खालको थियो। त्यो स्टाइल निकै चलिरहेको थियो। एल्डरहरूले तिनीहरूलाई कुनै नियम नबनाई कसरी मदत गर्न सक्थे? क्षेत्रीय निरीक्षकले एल्डरहरूलाई ती भाइहरूलाई यसो भन्‍न सुझाव दिए: “यदि मञ्चबाट भाषण दिँदा श्रोताहरूको ध्यान तपाईँले भनिरहेको कुरामा भन्दा तपाईँको रूपरङमा जान्छ भने तपाईँको पहिरन र कोरीबाटीमा समस्या छ भनेर बुझ्नुहोस्‌।” यसरी सरल तरिकामा बुझाउँदा ती जवान भाइहरूले के गर्नुपर्छ भनेर बुझे र एल्डरहरूले पनि कुनै नियम बनाउनुपरेन। d

व्यावहारिक छौँ भने हामी अरूको विचारधाराको कदर गर्छौँ (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. स्वास्थ्य उपचारसम्बन्धी निर्णय गर्न बाइबलका कस्ता नियम तथा सिद्धान्तहरूले मदत गर्छ? (रोमी १४:५)

१५ स्वास्थ्य उपचार। प्रत्येक ख्रिष्टियनले स्वास्थ्य उपचार रोज्ने सन्दर्भमा आफ्नो भारी आफैले बोक्नुपर्छ। (गला. ६:५) ख्रिष्टियनहरू रगत र तन्त्रमन्त्रदेखि अलग रहनुपर्छ भनेर बाइबलमा स्पष्टै बताइएको छ। त्यसैले हामी यी दुइटा कुरा मुछिएको उपचारविधि रोज्दैनौँ। (प्रेषि. १५:२०; गला. ५:१९, २०) तर यसबाहेक अरू उपचारविधि रोज्ने सन्दर्भमा ख्रिष्टियनहरूले आफै निर्णय गर्न सक्छन्‌। केही भाइबहिनी डाक्टरकहाँ उपचार गराउँछन्‌ भने केही भाइबहिनी वैकल्पिक उपचारविधि रोज्छन्‌। कुन उपचारविधि सही वा गलत भन्‍नेबारे हाम्रो कडा विचारधारा हुन सक्छ। तैपनि हामीले भाइबहिनीको स्वास्थ्यसम्बन्धी निर्णय गर्ने अधिकारको कदर गर्नुपर्छ। यस सन्दर्भमा हामीले निम्न कुराहरू मनमा राख्नुपर्छ: (१) परमेश्‍वरको राज्यमा मात्रै हामी पूर्णतया स्वस्थ हुन सक्छौँ। (यसै. ३३:२४) (२) आफ्नो लागि कुन उपचारविधि सबैभन्दा राम्रो हुन्छ भन्‍ने सन्दर्भमा प्रत्येक ख्रिष्टियन “पूर्णतया विश्‍वस्त” हुनुपर्छ। (रोमी १४:५ पढ्‌नुहोस्‌।) (३) अरूले गलत निर्णय गरे भनेर हामी दोष लगाउँदैनौँ वा तिनीहरूलाई ठेस लाग्ने कुनै काम गर्दैनौँ। (रोमी १४:१३) (४) ख्रिष्टियनहरू एकअर्कालाई प्रेम गर्छन्‌ र व्यक्‍तिगत छनौटलाई भन्दा मण्डलीको एकतालाई पहिलो स्थानमा राख्छन्‌। (रोमी १४:१५, १९, २०) यी कुराहरू मनमा राख्यौँ भने भाइबहिनीसितको हाम्रो सम्बन्ध राम्रो भइरहनेछ र मण्डलीको शान्ति कायम रहनेछ।

व्यावहारिक छौँ भने हामी अरूको विचारधाराको कदर गर्छौँ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. व्यावहारिक हुने सन्दर्भमा एल्डरहरूले कसरी असल उदाहरण बसाल्न सक्छन्‌? (तस्बिर पनि हेर्नुहोस्‌।)

१६ एल्डरहरूले व्यावहारिक हुने सन्दर्भमा असल उदाहरण बसाल्नुपर्छ। (१ तिमो. ३:२, ३) जस्तै: कुनै एल्डरले आफू जेठो वा अनुभवी भएकोले आफ्नो विचारधारा सधैँ अरू एल्डरहरूले स्विकार्नुपर्छ भन्‍ने सोचाइ राख्नु हुँदैन। बरु पवित्र शक्‍तिले कुनै पनि एल्डरलाई उत्प्रेरित गर्न सक्छ र उनले भनेको कुराले एल्डरहरूलाई बुद्धिमानी निर्णय गर्न मदत दिन सक्छ भनेर ती अनुभवी एल्डरले बुझेका हुन्छन्‌। यदि कुनै बाइबल सिद्धान्त उल्लङ्‌घन भएको छैन भने व्यावहारिक एल्डरले अरू एल्डरहरूले गरेको फरक निर्णयलाई खुसीसाथ स्विकार्छन्‌।

व्यावहारिक हुँदा पाइने आशिष्‌हरू

१७. व्यावहारिक हुँदा ख्रिष्टियनहरूले कस्ता आशिष्‌हरू पाउँछन्‌?

१७ व्यावहारिक हुँदा ख्रिष्टियनहरूले थुप्रै आशिष्‌ पाउँछन्‌। जस्तै: भाइबहिनीसितको हाम्रो सम्बन्ध अझ राम्रो हुन्छ र मण्डलीमा शान्ति छाउँछ। फरक-फरक व्यक्‍तित्व र संस्कृतिका भाइबहिनीसँगै मिलेर सेवा गर्न पाउँदा हामी आनन्दित हुन्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, व्यावहारिक परमेश्‍वर यहोवाको अनुकरण गरिरहेका छौँ भन्‍ने कुरा थाह भएकोले हामी आनन्दित हुन्छौँ।

गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!

a यहोवा र येसु व्यावहारिक हुनुहुन्छ र हामीले पनि यो गुण विकास गरेको उहाँहरू चाहनुहुन्छ। हामी व्यावहारिक छौँ भने हाम्रो स्वास्थ्य वा आर्थिक अवस्थाजस्ता कुराहरूमा परिवर्तन हुँदा छाँटकाँट गर्न सजिलो हुन्छ। साथै व्यावहारिक हुँदा मण्डलीको शान्ति र एकतामा पनि योगदान पुग्छ।

b ब्यूँझनुहोस्‌! सङ्‌ख्या ४, २०१६ मा “परिवर्तनको सामना कसरी गर्ने?” भन्‍ने लेख हेर्नुहोस्‌।

c jw.org मा भाइ डिमित्री मिखालोभसितको अन्तरवार्ता भन्‍ने भिडियो हेर्नुहोस्‌।

d पहिरन र कोरीबाटीबारे थप जानकारीको लागि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ५२ हेर्नुहोस्‌।