सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३०

यहोवा र अरूप्रतिको प्रेमलाई बढाउँदै लैजानुहोस्‌

यहोवा र अरूप्रतिको प्रेमलाई बढाउँदै लैजानुहोस्‌

“हामी प्रेमद्वारा सबै कुरामा बढ्‌दै जाऔँ।”—एफि. ४:१५.

गीत २ यहोवा तिम्रो नाम

परिचय a

१. तपाईँले बाइबल अध्ययन गर्दा कस्तो कुरा सिक्नुभएको थियो?

 के तपाईँलाई बाइबल अध्ययन गर्दा सिकेका कुराहरू याद छ? परमेश्‍वरको नाम छ भनेर थाह पाउँदा तपाईँ छक्कै पर्नुभयो होला। परमेश्‍वरले मानिसहरूलाई नरकमा सास्ती दिनुहुन्‍न भनेर सिक्दा तपाईँ ढुक्क हुनुभयो होला। अनि मरिसकेका प्रियजनहरूलाई फेरि भेट्‌ने र तिनीहरूसँगै पृथ्वीमा सधैँभरि बाँच्ने आशा छ भनेर थाह पाउँदा खुसी हुनुभयो होला।

२. बाइबल सत्य सिक्दै जाँदा तपाईँले थप कस्तो प्रगति गर्नुभयो? (एफिसी ५:१, २)

तपाईँले परमेश्‍वरको वचन जत्ति धेरै अध्ययन गर्नुभयो, त्यत्ति नै यहोवाप्रतिको प्रेम बढ्‌दै गयो। त्यही प्रेमले तपाईँलाई आफूले सिकेको कुरा लागू गर्न उत्प्रेरित गऱ्‍यो। तपाईँले बाइबल सिद्धान्तहरू बुझेपछि अझै बुद्धिमानी निर्णयहरू गर्न सक्नुभयो। परमेश्‍वरलाई खुसी बनाउने इच्छाले गर्दा आफ्नो मनोवृत्ति र आनीबानीलाई सुधार्नुभयो। जसरी बच्चाले आफ्नो मायालु आमाबुबाको देखासिकी गर्छ, त्यसरी नै तपाईँले स्वर्गमा बस्नुहुने बुबाको देखासिकी गर्दै जानुभयो।—एफिसी ५:१, २ पढ्‌नुहोस्‌।

३. हामी आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौँ?

हामीले आफैलाई सोध्न सक्छौँ: ‘के बप्तिस्मा गरेदेखि यहोवाप्रतिको मेरो प्रेम अझ बलियो भएको छ? विशेषगरि भाइबहिनीलाई प्रेम देखाउने सन्दर्भमा मेरो सोचाइ र व्यवहार यहोवाको जस्तै हुँदै छ?’ यदि तपाईँसित “पहिले जुन प्रेम थियो,” त्यो अहिले सेलाएको छ भने निराश नहुनुहोस्‌। प्रथम शताब्दीका ख्रिष्टियनहरूको प्रेम पनि सेलाएको थियो। तर येसुले तिनीहरूलाई त्याग्नुभएन र हामीलाई पनि त्याग्नुहुनेछैन। (प्रका. २:४, ७) हामी आफ्नो पहिलेको प्रेमलाई फेरि जगाउन सक्छौँ भनेर उहाँलाई थाह छ।

४. हामी यस लेखमा के छलफल गर्नेछौँ?

यस लेखमा हामी यहोवा र अरूप्रतिको प्रेमलाई कसरी बढाउँदै लैजान सक्छौँ भन्‍नेबारे छलफल गर्नेछौँ। यहोवा र अरूप्रतिको प्रेमलाई बलियो बनाउँदा हामीले कस्ता आशिष्‌हरू पाउनेछौँ भन्‍नेबारे पनि सिक्नेछौँ।

यहोवाप्रतिको प्रेम बढाउँदै लैजानुहोस्‌

५-६. पावलले कस्ता चुनौतीहरूको सामना गरे तर कुन कुराले तिनलाई यहोवाको सेवामा लागिरहन मदत गऱ्‍यो?

प्रेषित पावल यहोवाको सेवामा आनन्दित थिए तर तिनले थुप्रै चुनौतीको सामना गर्नुपरेको थियो। पावल अक्सर लामो यात्राहरू गर्थे। त्यतिबेला यात्रा गर्न सजिलो थिएन। यात्राको दौडान पावल कहिले “नदीहरूको खतरामा” त कहिले “डाँकुहरूको खतरामा” परे। तिनले थुप्रै पटक विरोधीहरूको कुटाइ पनि खाए। (२ कोरि. ११:२३-२७) तिनले भाइबहिनीको लागि धेरै मेहनत गरे तर तिनीहरूले सधैँ कृतज्ञता भने देखाएनन्‌।—२ कोरि. १०:१०; फिलि. ४:१५.

यहोवाको सेवामा लागिरहन पावललाई केले मदत गऱ्‍यो? तिनले यहोवाको व्यक्‍तित्वबारे धर्मशास्त्रबाट र उहाँको सेवामा बटुलेका अनुभवहरूबाट थुप्रै कुरा सिके। यहोवा तिनलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा तिनी विश्‍वस्त भए। (रोमी ८:३८, ३९; एफि. २:४, ५) अनि यहोवाप्रतिको तिनको प्रेम बढ्‌दै गयो। पावलले ‘पवित्र जनहरूको सेवा गरेर’ र त्यसलाई ‘निरन्तरता’ दिएर यहोवालाई प्रेम गरेको देखाए।—हिब्रू ६:१०.

७. यहोवाप्रतिको प्रेम बढाउँदै लैजाने एउटा तरिका के हो?

लगनशील भई परमेश्‍वरको वचनको अध्ययन गरेर हामी उहाँप्रतिको प्रेम बढाउन सक्छौँ। कुनै बाइबल विवरण पढ्‌दा यहोवाबारे के सिक्न सकिन्छ भनेर विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘यस विवरणबाट यहोवा मलाई प्रेम गर्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छु? यस विवरणमा यहोवालाई प्रेम गर्नुपर्ने कस्ता कारणहरू पाइन्छन्‌?’

८. प्रार्थनाले परमेश्‍वरप्रतिको प्रेमलाई बढाउँदै लैजान कसरी मदत गर्छ?

यहोवाप्रतिको प्रेम बढाउँदै लैजाने अर्को तरिका हरेक दिन प्रार्थना गरेर उहाँलाई आफ्नो मनको कुरा बताउनु हो। (भज. २५:४, ५) अनि यहोवा हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ। (१ युह. ३:२१, २२) एसियाकी खाआन बहिनी यसो भन्छिन्‌: “सुरु-सुरुमा यहोवाप्रतिको मेरो प्रेम ज्ञानमा आधारित थियो तर उहाँले मेरा प्रार्थनाहरूको जवाफ दिनुभएको महसुस गरेपछि उहाँप्रतिको प्रेम बलियो हुँदै गयो। यस्तो प्रेमले उहाँलाई खुसी बनाउने कामहरू गर्न उत्प्रेरित गरेको छ।” b

अरूप्रतिको प्रेम बढाउँदै लैजानुहोस्‌

९. तिमोथिले प्रेम देखाउने सन्दर्भमा प्रगति गरिरहेको कसरी देखाए?

आफू ख्रिष्टियन बनेको केही वर्षपछि पावलले जवान तिमोथिलाई भेटे। तिमोथि यहोवा र भाइबहिनीलाई प्रेम गर्थे। केही वर्षपछि पावलले फिलिप्पीका भाइबहिनीलाई यसो भने: “तिमीहरूको साँचो चासो राख्ने [तिमोथिको] जस्तो मनोभाव भएका अरू मानिस मसित छैन।” (फिलि. २:२०) यहाँ तिनले तिमोथिको व्यवस्थापन गर्ने र जनसमक्ष भाषण दिने क्षमताबारे बताएनन्‌ बरु भाइबहिनीप्रतिको तिमोथिको प्रेमबारे बताए। तिमोथिले सेवा गरेका मण्डलीहरूका भाइबहिनी पक्कै पनि उनको भ्रमणको तीव्र प्रतीक्षामा थिए।—१ कोरि. ४:१७.

१०. आना र तिनको पतिले भाइबहिनीलाई प्रेम गरेको कसरी देखाए?

१० हामी पनि भाइबहिनीलाई मदत दिने तरिकाहरू खोज्छौँ। (हिब्रू १३:१६) अघिल्लो लेखमा उल्लेख गरिएकी आना बहिनीको अनुभव विचार गरौँ। ठूलो आँधी आएपछि तिनी र तिनको पति एक साक्षी परिवारलाई भेट्‌न गए। त्यस परिवारको घरको छाना पूरै क्षतिग्रस्त भएको थियो। त्यसैले उनीहरूसित सफा लुगा थिएन। आना भन्छिन्‌: “हामीले उहाँहरूको लुगा धोइदियौँ, आइरन लगाइदियौँ अनि पट्याएर दियौँ। हुनत हामीले सानो मदत मात्र गरेका थियौँ तर त्यसले गर्दा हामी राम्रो साथी बन्‍न सकेका छौँ।” आना र तिनको पतिलाई भाइबहिनीप्रतिको प्रेमले व्यावहारिक मदत दिन उत्प्रेरित गऱ्‍यो।—१ युह. ३:१७, १८.

११. (क) हामीले अरूलाई दयालु व्यवहार गर्दा तिनीहरूले कस्तो महसुस गर्न सक्छन्‌? (ख) हितोपदेश १९:१७ अनुसार हामीले अरूलाई प्रेम गरेको देखाउँदा यहोवा कस्तो महसुस गर्नुहुन्छ?

११ हामीले अरूसित मायालु र दयालु व्यवहार गर्दा हामीले यहोवाको देखासिकी गर्ने कोसिस गरिरहेको तिनीहरूले अक्सर याद गर्छन्‌। अनि तिनीहरूले हामीले सोच्दै नसोचेको तरिकामा कृतज्ञता देखाउन सक्छन्‌। सुरुमा उल्लेख गरिएकी खाआन बहिनी आफूलाई सानो छँदा मदत गर्ने भाइबहिनीलाई कहिल्यै बिर्सन सक्दिनन्‌। तिनी भन्छिन्‌: “मलाई क्षेत्र सेवामा लैजाने सबै मायालु बहिनीहरूप्रति म निकै कृतज्ञ छु। उहाँहरू मलाई लिन आउनुहुन्थ्यो, खाजा वा खाना खान बोलाउनुहुन्थ्यो र घर पनि पुऱ्‍याइदिनुहुन्थ्यो। उहाँहरूले मेरो लागि कत्ति दुःख गर्नुभएको थियो भनेर म अहिले सम्झन्छु। उहाँहरूले यो सब प्रेमले उत्प्रेरित भएर गर्नुभएको थियो।” हुनत सबै जना कृतज्ञ हुन्छन्‌ भन्‍ने छैन। आफूलाई मदत गर्नेहरूबारे खाआन यसो भन्छिन्‌: “म पनि उहाँहरूको लागि केही गर्न चाहन्छु तर उहाँहरू अहिले कहाँ बस्नुहुन्छ, मलाई थाह छैन। तर यहोवालाई भने पक्कै थाह छ। म प्रार्थना गर्छु, यहोवाले उहाँहरूलाई मेरो तर्फबाट सापटी तिरिदिनुहुनेछ।” खाआन बहिनीको कुरा सही हो। यहोवा हामीले गरेको सानोभन्दा सानो काम पनि याद गर्नुहुन्छ। उहाँले त्यसलाई बहुमूल्य बलिदान र सापटीको रूपमा हेर्नुहुन्छ, जुन उहाँले पछि तिर्नुहुन्छ।—हितोपदेश १९:१७ पढ्‌नुहोस्‌।

आध्यात्मिक प्रगति गरिरहेको व्यक्‍तिले अरूलाई मदत दिने तरिकाहरू खोज्छन्‌ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. भाइहरूले मण्डलीका भाइबहिनीलाई प्रेम गरेको कसरी देखाउन सक्छन्‌? (तस्बिर पनि हेर्नुहोस्‌।)

१२ यदि तपाईँ भाइ हुनुहुन्छ भने तपाईँ कसरी अरूलाई प्रेम गर्न र मदत गर्न सक्नुहुन्छ? जवान भाइ जोर्डनले मण्डलीमा मदत गर्न अझ के गर्न सकिन्छ भनेर एक जना एल्डरलाई सोधे। ती एल्डरले तिनले गरेको प्रगतिको प्रशंसा गरे र तिनले अझ के गर्न सक्छन्‌ भनेर केही सुझाव दिए। जस्तै: तिनले जोर्डनलाई सभाभवनमा छिटो आएर अरूलाई स्वागत गर्न, सभाहरूमा टिप्पणी दिन अनि नियमित रूपमा आफ्नो क्षेत्र सेवा समूहसित भाग लिन र अरूलाई मदत दिन सक्ने तरिकाहरूबारे सोच्न सुझाव दिए। यो सल्लाह लागू गर्दा जोर्डनले विभिन्‍न जिम्मेवारी सम्हाल्न सिक्नुका साथै भाइबहिनीप्रतिको तिनको प्रेम पनि बढ्‌दै गयो। कुनै भाइले सहायक सेवक भएपछि अरूलाई मदत दिन सुरु गर्ने होइन बरु उनले सहायक सेवक हुनुभन्दा अघिदेखि नै अरूलाई मदत दिने काम गरिरहेको हुनुपर्छ भनेर जोर्डनले सिके।—१ तिमो. ३:८-१०, १३.

१३. एल्डरको रूपमा फेरि सेवा गर्न क्रिस्टियन भाइलाई प्रेमले कसरी उत्प्रेरित गऱ्‍यो?

१३ के तपाईँ पहिला सहायक सेवक वा एल्डरको रूपमा सेवा गर्नुहुन्थ्यो? तपाईँले विगतमा प्रेमले उत्प्रेरित भएर गर्नुभएको काम यहोवा सम्झनुहुन्छ। (१ कोरि. १५:५८) अनि तपाईँले अहिले देखाइरहनुभएको प्रेम पनि उहाँ याद गर्नुहुन्छ। क्रिस्टियन भाइलाई एल्डरको सेवाबाट हटाइँदा तिनी निराश भए। तिनी यसो भन्छन्‌: “म यहोवालाई धेरै प्रेम गर्छु। एल्डर भए पनि वा नभए पनि यहोवाको सेवामा आफ्नो तर्फबाट सक्दो गर्ने निर्णय गरेँ।” तिनी फेरि एल्डर नियुक्‍त भए। क्रिस्टियन यसो भन्छन्‌: “फेरि एल्डरको रूपमा सेवा गर्न मलाई अलि डर लागेको थियो। तर कृपालु परमेश्‍वर यहोवाले नै मैले फेरि एल्डरको रूपमा सेवा गरेको चाहनुभएकोले मैले त्यो स्विकार्ने निर्णय गरेँ। म उहाँलाई अनि भाइबहिनीलाई धेरै प्रेम गर्छु।”

१४. जर्जियाकी बहिनीबाट तपाईँले के सिक्नुभयो?

१४ यहोवाका सेवकहरू आफ्ना छिमेकीहरूलाई पनि प्रेम गर्छन्‌। (मत्ति २२:३७-३९) जस्तै, जर्जियाकी एलेना यसो भन्छिन्‌: “सुरुमा त यहोवाप्रतिको प्रेमले गर्दा मात्र साक्षीकार्यमा भाग लिन उत्प्रेरित भएकी थिएँ। तर यहोवा बुबाप्रतिको प्रेम बढ्‌दै गएपछि मानिसहरूप्रतिको प्रेम पनि बढ्‌दै गयो। मानिसहरूले के-कस्ता समस्याहरूको सामना गर्दै छन्‌ अनि कस्तो कुराले तिनीहरूको मन छुन सक्छ भनेर सोच्ने प्रयास गरेँ। यसरी मैले तिनीहरूबारे जत्ति धेरै सोच्न थालेँ, त्यत्ति नै तिनीहरूलाई मदत गर्ने इच्छा पनि बढ्‌न थाल्यो।”—रोमी १०:१३-१५.

अरूलाई प्रेम देखाउँदा पाइने आशिष्‌हरू

एक जना व्यक्‍तिको दयालु व्यवहारबाट अरू थुप्रैले लाभ उठाउन सक्छन्‌ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)

१५-१६. तस्बिरमा देखाइएझैँ अरूलाई प्रेम देखाउँदा कस्ता आशिष्‌हरू पाइन्छन्‌?

१५ हामीले भाइबहिनीलाई प्रेम देखाउँदा अरूले पनि यसबाट लाभ उठाउन सक्छन्‌। कोभिड-१९ महामारी सुरु भएपछि पाउलो र तिनकी पत्नीले उमेर ढल्केका थुप्रै बहिनीलाई इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेर साक्षी दिन सिकाए। एक वृद्ध बहिनीलाई सुरुमा इलेकट्रोनिक डिभाइस चलाउन निकै गाह्रो भयो तर पछि तिनले चलाउन सिकिन्‌। तिनले त्यही डिभाइस प्रयोग गरेर आफन्तहरूलाई स्मरणार्थको निम्तो दिइन्‌। तिनीहरूमध्ये ६० जना भिडियो कन्फरेन्समार्फत उपस्थित भए। पाउलो र तिनकी पत्नीको मदतले गर्दा ती वृद्ध बहिनी र तिनका आफन्तहरूले लाभ उठाउन सके। पछि ती वृद्ध बहिनीले पाउलोलाई यस्तो लेखिन्‌: “हामी वृद्धहरूलाई सिकाउनुभएकोमा धेरै धन्यवाद। यहोवाले हामीलाई देखाउनुभएको चासो र तपाईँहरूले गर्नुभएको कडा मेहनत म कहिल्यै बिर्सन सक्दिनँ।”

१६ यस्ता अनुभवहरूबाट पाउलोले एउटा महत्त्वपूर्ण पाठ सिके। त्यो हो, ज्ञान वा खुबीभन्दा प्रेम धेरै महत्त्वपूर्ण छ। तिनी भन्छन्‌: “म पहिला क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्थेँ। त्यतिबेला मैले दिएका भाषणहरू भाइबहिनीले बिर्सिसके होलान्‌ तर मैले तिनीहरूलाई दिएको मदतबारे तिनीहरू अहिले पनि कुरा गर्छन्‌।”

१७. हामीले प्रेम देखाउँदा अरू कसले पनि लाभ उठाउन सक्छन्‌?

१७ अरूलाई प्रेम देखाउँदा हामीले पनि सोच्दै नसोचेको तरिकामा लाभ उठाउन सक्छौँ। न्युजिल्यान्डका जोनाथनले पनि यस्तै अनुभव गरे। एक शनिबार टन्टलापुर घाममा एक जना अग्रगामीले सडकमा साक्षी दिँदै गरेको तिनले देखे। जोनाथनले आउँदो शनिबारदेखि दिउँसो-दिउँसो ती अग्रगामीसँगै साक्षीकार्यमा भाग लिने निर्णय गरे। यसरी अरूलाई मदत गर्दा आफैलाई पनि कस्तो लाभ हुन्छ भनेर तिनले सोचेकै थिएनन्‌। तिनी भन्छन्‌: “त्यो समयतिर मलाई साक्षीकार्य रमाइलो लाग्दैन थियो। तर ती अग्रगामीको सिकाउने तरिका सुन्दा र तिनको साक्षीकार्य फलदायी भएको देख्दा मलाई साक्षीकार्य मन पर्न थाल्यो। साथै मैले एक जना मायालु साथी पनि पाएँ, जसले मलाई आध्यात्मिक रूपमा उन्‍नति गर्न, साक्षीकार्यमा रमाउन र यहोवासित अझ नजिक हुन मदत गरे।”

१८. यहोवा हामीले के गरेको चाहनुहुन्छ?

१८ यहोवा हामी सबैले उहाँ र अरूप्रतिको प्रेमलाई बढाउँदै लगेको चाहनुहुन्छ। हामीले सिकेजस्तै यहोवाको वचन दिनहुँ पढेर, त्यसमा मनन गरेर अनि प्रार्थना गरेर उहाँप्रतिको प्रेम बढाउन सक्छौँ। भाइबहिनीलाई विभिन्‍न तरिकामा मदत गरेर हामी तिनीहरूप्रतिको प्रेम बढाउन सक्छौँ। यसरी हाम्रो प्रेम बढ्‌दै जाँदा यहोवा र हाम्रो आध्यात्मिक परिवारसित हामी अझै घनिष्ठ हुनेछौँ। यस्तो मित्रता सधैँभरि रहनेछ!

गीत १०९ प्रगाढ प्रेम

a हामी सबैले आध्यात्मिक रूपमा प्रगति गरिरहनुपर्छ, चाहे हामी सत्यमा नयाँ होऔँ वा पुरानो। यसो गर्न मदत गर्ने एउटा महत्त्वपूर्ण तरिका हो: यहोवा र अरूप्रतिको प्रेमलाई बढाउँदै लगेर। यसबारे हामी यस लेखमा छलफल गर्नेछौँ। यस लेखमा मनन गर्दा तपाईँले कस्तो प्रगति गरिसक्नुभएको छ र कसरी थप प्रगति गर्न सक्नुहुन्छ भनेर विचार गर्नुहोस्‌।

b केही नाम परिवर्तन गरिएका छन्‌।