सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूको कमजोरीले गर्दा ठक्कर नखानुहोस्

अरूको कमजोरीले गर्दा ठक्कर नखानुहोस्

“एक-अर्कालाई . . . खुला मनले क्षमा गरिरहो।”—कल. ३:१३.

गीत: १२१, ७५

१, २. यहोवाका सेवकहरूको वृद्धिबारे बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो?

यस पृथ्वीमा यहोवाका साक्षीहरू मिलेर बनेको सङ्‌गठन अरू सङ्‌गठनभन्दा फरक छ। हुन त हो, यो सङ्‌गठन पनि त्रुटिपूर्ण मानिसहरू मिलेर नै बनेको छ अनि तिनीहरूका पनि आ-आफ्नै कमीकमजोरी छन्‌। तर सारा संसारभरिका मण्डली परमेश्वरको पवित्र शक्तिले गर्दा निरन्तर वृद्धि र फल्दोफुल्दो हुँदै छ। त्यसोभए आउनुहोस्, त्रुटिपूर्ण भए तापनि इच्छुक मानिसहरूलाई चलाएर यहोवाले गरिरहनुभएको केही अद्‌भुत कुराहरू विचार गरौं।

सन्‌ १९१४ मा यस संसारको अन्तको दिन सुरु हुँदा यहोवाका सेवकहरू मुठीभर मात्र थिए। तर यहोवाले तिनीहरूको प्रचारकार्यलाई आशिष्‌ दिनुभयो। त्यसपछिको दशकहरूमा लाखौंले बाइबल सत्य सिके अनि यहोवाको साक्षी बने। यस्तो उल्लेखनीय वृद्धिलाई सङ्‌केत गर्दै यहोवाले पहिल्यै यस्तो भन्नुभएको थियो: “थोरैचाहिं हजार हुनेछ र तुच्छचाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु।” (यशै. ६०:२२) यी आखिरी दिनमा झन्‌ विस्तृत तवरमा यो भविष्यवाणी पूरा भइरहेको छ। अहिले विश्वभरिका यहोवाका साक्षीहरूको सङ्‌ख्या थुप्रै देशको कुल जनसङ्‌ख्याभन्दा पनि बढी छ।

३. यहोवाका सेवकहरूले कसरी प्रेम देखाएका छन्‌?

यहोवाले अहिले आफ्ना सेवकहरूलाई उहाँको प्रमुख गुण प्रेम अझ व्यापक रूपमा खेती गर्न पनि मदत गरिरहनुभएको छ। (१ यूह. ४:८) परमेश्वरको प्रेम देखासिकी गर्नुभएको येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरूलाई म एउटा नयाँ आज्ञा दिंदैछु, तिमीहरू आपसमा प्रेम गर . . . तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूह. १३:३४, ३५) विगतमा धेरैजसो राष्ट्रहरू भयानक युद्धमा होमिंदा येशूले दिनुभएको यो आज्ञा महत्त्वपूर्ण साबित भयो। उदाहरणको लागि, दोस्रो विश्व युद्धमा मात्र ५ करोड ५० लाख मानिसहरू मारिएका थिए। तर विश्व नै मुछिएको त्यस युद्धमा यहोवाका साक्षीहरूले भाग लिएनन्‌। (मीका ४:१,  पढ्‌नुहोस्) यसले गर्दा तिनीहरू “सबै मानिसहरूको रगतबाट . . . निर्दोष” रहन सके।—प्रेषि. २०:२६.

४. यहोवाका सेवकहरूको वृद्धि किन अचम्मलाग्दो कुरा हो?

“यस युगको ईश्वर” अर्थात्‌ सैतानले नियन्त्रण गरेको संसारले हामीलाई शत्रुजस्तो व्यवहार गर्छ। तैपनि यहोवाका सेवकहरूको निरन्तर वृद्धि भइरहेको छ। (२ कोरि. ४:४) त्यसले यस संसारको राजनैतिक कुराहरू अनि तीनथुप्रो सञ्चार माध्यमलाई आफ्नो इशारामा नचाइरहेको छ। तर सुसमाचार प्रचार गर्ने कामलाई अङ्‌कुश लगाउन भने सकेको छैन। आफ्नो समय एकदमै थोरै छ भनेर थाह भएकोले सैतानले अनेक जुक्ति लगाएर मानिसहरूलाई साँचो उपासनादेखि तर्काउन खोज्छ।—प्रका. १२:१२.

वफादारीको जाँच

५. अरूले हाम्रो चित्त दुखाउनुको कारण के हो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

ख्रीष्टियन मण्डलीले परमेश्वर र मानिसहरूलाई प्रेम गर्नुको महत्त्वलाई जोड दिन्छ। येशूले पनि यो कुरालाई विशेष जोड दिनुभयो। सबैभन्दा ठूलो आज्ञा के हो भनी सोधिंदा उहाँले यसो भन्नुभएको थियो: “‘तिमीले यहोवा तिम्रा परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।’ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो। दोस्रोचाहिं यही हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’” (मत्ती २२:३५-३९) तर हामी सबै आदमको अनाज्ञाकारिताले गर्दा जन्मजातै त्रुटिपूर्ण छौं भनी बाइबलले स्पष्ट पार्छ। (रोमी ५:१२, १९ पढ्‌नुहोस्) त्यसकारण कहिलेकाहीं मण्डलीमा कसै-कसैले भन्ने वा गर्ने कुराहरूले हाम्रो चित्त दुख्न सक्छ। यसले गर्दा यहोवा र हाम्रा दाजुभाइ दिदीबहिनीप्रतिको हाम्रो प्रेमको जाँच हुन्छ। यस्तो अवस्थामा हामी के गर्छौं? विगतमा पनि यहोवाका विश्वासी जनहरूको बोली र कामले गर्दा अरूको चित्त दुखेको थियो। तिनीहरूको विवरणबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।

एली र तिनका छोराहरूको समयमा हुनुभएको भए तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्थ्यो? (अनुच्छेद ६ हेर्नुहोस्)

६. आफ्ना छोराहरूलाई अनुशासन दिन एली असफल हुनुको कारण के थियो?

उदाहरणको लागि, प्रधान पुजारी एलीको दुई जना छोराहरूले यहोवाको आज्ञा उल्लङ्‌घन गरे। तिनीहरूबारे यस्तो लेखिएको छ: “एलीका छोराहरू दुष्ट थिए, र परमप्रभुको निम्ति तिनीहरूमा श्रद्धा थिएन।” (१ शमू. २:१२-१३क) प्रधान पुजारी एली त्यतिबेला साँचो उपासनामा नेतृत्व लिने व्यक्ति भए तापनि तिनका छोराहरूले गम्भीर पाप गरे। यो कुरा एलीलाई थाह थियो र छोराहरूलाई अनुशासन पनि दिनुपर्थ्यो तर तिनले यसलाई हल्कासित लिए। फलस्वरूप, परमेश्वरले एलीको घरानामाथि न्यायदण्ड ल्याउनुभयो। (१ शमू. ३:१०-१४) अनि पछि तिनका सन्तानहरूले प्रधान पुजारीको रूपमा सेवा गर्न पाएनन्‌। मानिलिनुहोस्, त्यतिबेला तपाईं त्यहाँ हुनुहुन्थ्यो; आफ्ना छोराहरूले गल्ती गर्दा पनि एली चुपचाप बसिरहेको देख्दा तपाईंलाई कस्तो लाग्थ्यो? ठक्कर खाएर परमेश्वरको सेवा गर्नै छोड्‌नुहुन्थ्यो कि?

७. दाऊदले कस्तो गम्भीर पाप गरे अनि परमेश्वरले के गर्नुभयो?

दाऊदलाई यहोवाले प्रेम गर्नुभयो र तिनलाई मनदेखि नै ‘रुचाउनुभयो।’ (१ शमू. १३:१३, १४; प्रेषि. १३:२२) पछि दाऊदले बेतशेबासित अवैध यौनसम्बन्ध राखे र तिनी गर्भवती भइन्‌। तिनका पति उरियाह सेना थिए। तिनी घरमा नभएको बेला दाऊदले यो गलत काम गरेका थिए। दाऊदले उरियाहलाई केही समयको लागि फिर्ता बोलाउँछन्‌ र बच्चाको बुबा उनी नै हुन्‌ भन्ने भान पार्नको लागि उनलाई आफ्नी पत्नीसित सम्बन्ध राख्न पठाउने प्रयास गर्छन्‌। तर उरियाहले त्यसो गर्न मान्दैनन्‌, त्यसैले दाऊदले उसलाई लडाइँमा मार्ने योजना बनाउँछन्‌। यस्तो कुकर्मको कारण दाऊदले ठूलो मोल चुकाउनु पऱ्यो; तिनी र तिनको घरानामाथि एकपछि अर्को दुःख आइपऱ्यो। (२ शमू. १२:९-१२) तैपनि तिनले आफ्नो जीवनको अधिकांश समय ‘इमानदार’ हुँदै बिताएकोले परमेश्वरले तिनलाई कृपा देखाउनुभयो। (१ राजा ९:४) यदि तपाईं त्यतिबेला हुनुभएको भए के गर्नुहुन्थ्यो? दाऊदको गल्तीले गर्दा ठक्कर खानुहुन्थ्यो कि?

८. (क) पत्रुस आफ्नो वाचा पूरा गर्नदेखि कसरी चुके? (ख) गल्ती गरे तापनि यहोवाले तिनलाई किन प्रयोग गरिरहनुभयो?

बाइबलमा दिइएको अर्को एउटा उदाहरण विचार गरौं, त्यो हो: प्रेषित पत्रुसको। येशूले तिनलाई प्रेषितको रूपमा छान्नुभएको थियो, तैपनि तिनी आफूले बोलेका वा गरेका कुराहरूले गर्दा पछि पछुताएका थिए। उदाहरणको लागि, एकदमै कठिन क्षणमा चेलाहरूले येशूलाई छोडेर भागे। ‘अरूहरूले छोडे तापनि मचाहिं तपाईंलाई छोड्‌दिनँ’ भनी पत्रुसले केही समयअघि मात्र भनेका थिए। (मर्कू. १४:२७-३१, ५०) तर येशूलाई पक्रँदा भने सबै चेलाहरू उहाँलाई छोडेर भागे, जसमध्ये पत्रुस पनि थिए। त्यसपछि पनि पत्रुसले बारम्बार येशूलाई चिन्नदेखि इन्कार गरे। (मर्कू. १४:५३, ५४, ६६-७२) तर पछि पत्रुसले पश्‍चात्ताप गरे र यहोवाले तिनलाई आफ्नो सेवामा प्रयोग गरिरहनुभयो। यदि तपाईं पनि चेलाहरूमध्ये एक भएको भए, पत्रुसको गल्तीले गर्दा ठक्कर खाएर यहोवाप्रति वफादार रहन छोड्‌नुहुन्थ्यो?

९. परमेश्वरले सधैं सही कदम चाल्नुहुन्छ भनेर किन भन्न सक्छौं?

आफ्नो बोली र कामद्वारा अरूको चित्त दुखाउने व्यक्तिहरूमध्ये यी त केही उदाहरण मात्र हुन्‌। यहोवाका सेवकहरूले गलत काम गरेको र अरूको चित्त दुखाएको उदाहरण विगतमा पनि थिए, अहिले पनि छन्‌। जेहोस्, महत्त्वपूर्ण कुरा भनेको त्यतिबेला हामी कस्तो प्रतिक्रिया देखाउँछौं, त्यो हो। के तपाईं चित्त दुखाएर यहोवा र उहाँका सम्पूर्ण सेवकहरू, जसमा आफ्नो मण्डलीका साथीभाइ पनि पर्छन्‌, तिनीहरूदेखि नै टाढिनुहुन्छ कि? अथवा यहोवाले ती गलत काम गर्नेहरूलाई पश्‍चात्ताप गर्न समय दिइरहनुभएको छ र उचित समय आएपछि उहाँले कदम चाल्नुहुनेछ अनि ठीक न्याय गर्नुहुनेछ भनी स्वीकार्नुहुन्छ? अर्कोतर्फ गम्भीर पाप गर्ने कुनै-कुनै व्यक्तिले यहोवाको कृपा अस्वीकार गर्दै पश्‍चात्ताप नगर्न सक्छन्‌। यस्तो अवस्थामा, के तपाईं गलत काम गर्नेहरूलाई यहोवाले उचित समयमा न्याय गर्नुहुनेछ र आवश्यक परेमा मण्डलीबाट हटाउनुहुनेछ भनेर भरोसा गर्नुहुन्छ?

वफादारी कायम राख्नुहोस्

१०. पत्रुस र यहूदा इस्करियोतले गल्ती गर्दा येशूले के गर्नुभएन?

१० आफू वरपरका मानिसहरूले गम्भीर गल्ती गरे तापनि यहोवा र उहाँका सेवकहरूप्रति वफादार रहेका व्यक्तिहरूको थुप्रै उदाहरण बाइबलमा पाइन्छ। उदाहरणका लागि, रातभरि यहोवालाई प्रार्थना गरेपछि येशूले १२ जना चेलाहरू छान्नुभयो। तिनीहरूमध्ये एक जना यहूदा इस्करियोत थिए। पछि यहूदाले धोका दिंदा येशूले उसको कारण यहोवासितको आफ्नो सम्बन्ध कमजोर हुन दिनुभएन। साथै पत्रुसले आफूलाई इन्कार गर्दाखेरि पनि उहाँले त्यसो हुन दिनुभएन। (लूका ६:१२-१६; २२:२-६, ३१, ३२) यसमा यहोवा र उहाँका बाँकी जनहरूको केही दोष छैन भनेर येशूलाई थाह थियो। आफ्नो चेलाहरूमध्ये कसै-कसैले दुःखी तुल्याए तापनि उहाँले आफ्नो कामलाई निरन्तरता दिनुभयो। फलस्वरूप, यहोवाले उहाँलाई इनाम दिनुभयो; स्वर्गीय राज्यको राजा नियुक्त गर्न उहाँलाई पुनर्जीवित गर्नुभयो।—मत्ती २८:७, १८-२०.

११. हाम्रो समयका यहोवाका सेवकहरूबारे बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो?

११ येशूले यहोवा र उहाँका सेवकहरूमाथि भरोसा गर्नुको पछाडि जायज कारण थियो र अहिले हामीसित पनि छ। हो, अहिले अन्तिम दिनमा यहोवाले आफ्नो सेवकहरूलाई चलाएर जुन काम गर्दै हुनुहुन्छ, त्यो साँच्चै अद्‌भुत छ! उहाँका सेवकहरूले बाहेक अरू कसैले पनि विश्वभरि सत्य कुरा प्रचार गर्न सकेका छैनन्‌, किनभने तिनीहरूसित परमेश्वरको डोऱ्याइअनुसार चल्ने एकताबद्ध मण्डली नै छैन। परमेश्वरका सेवकहरूले अनुभव गर्ने आध्यात्मिक वातावरणबारे यशैया ६५:१४ मा यस्तो लेखिएको छ: “हेर, मेरा दासहरू हृदयमा आनन्द भएकाले गाउनेछन्‌।”

१२. अरूले गल्ती गर्दा हामीले के गर्नुपर्छ?

१२ यहोवाका सेवकहरू उहाँको डोऱ्याइ पाएर असल काम गर्न सकेकोमा रमाउँदै छन्‌। तर यसको ठीक विपरीत, सैतानको अधीनमा परेका मानिसहरू चाहिं परिस्थिति खस्कँदै गएकोले बिलौना गर्दै छन्‌। त्यसैले परमेश्वरका केही सेवकले गरेको गल्तीको लागि यहोवा र उहाँको मण्डलीलाई दोष दिनु सरासर मूर्खता हुनेछ। हामी यहोवा र उहाँको प्रबन्धप्रति वफादार रहनुपर्छ अनि अरूको गल्तीलाई कस्तो दृष्टिकोणले हेर्ने र कस्तो प्रतिक्रिया देखाउने, त्यो पनि सिक्नुपर्छ।

गल्ती हुँदा के गर्ने?

१३, १४. (क) हामी अरूप्रति किन सहनशील हुनुपर्छ? (ख) हामी कस्तो कुरा मनमा राख्न चाहन्छौं?

१३ त्यसोभए परमेश्वरका सेवकहरूको बोली र कामले गर्दा तपाईंको चित्त दुखेमा के गर्नुपर्छ? बाइबलको यो सिद्धान्त मनमा राख्न सक्छौं: “रिस देखाउन छिटो नगर्‌, किनभने रिस मूर्खको मनमा हुन्छ।” (उप. ७:९) अनि हामी सबैले अदनको बगैंचामा भएको त्रुटिरहित अवस्था गुमाएको लगभग ६,००० वर्ष बितिसक्यो। त्रुटिपूर्ण मानिसहरूसित गल्ती गर्ने झुकाव हुन्छ। त्यसकारण हाम्रा दाजुभाइ दिदीबहिनीहरूको गल्तीले गर्दा अहिले अन्तको दिनमा परमेश्वरका सेवकहरूमाझ हुन पाउँदा जुन आनन्द पाएका छौं, त्यो गुम्न दिनुहुँदैन। अरूको गल्तीले गर्दा हामी परमेश्वरको सङ्‌गठन नै छोड्‌छौं भने त्यो अझै ठूलो गल्ती हुनेछ। यसो गऱ्यौं भने परमेश्वरको इच्छाअनुसार चल्ने सुअवसर मात्र नभई नयाँ संसारमा जीवन पाउने आशा समेत गुमाउनेछौं।

१४ हाम्रो भित्री आनन्द र आशालाई बलियो बनाइराख्नको लागि यहोवाले गर्नुभएको यो सान्त्वनादायी कुरा मनमा ताजा राख्नुपर्छ: “हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।” (यशै. ६५:१७; २ पत्रु. ३:१३) अरूको गल्तीले गर्दा तपाईंले पाउने आशिष्‌को ढोका बन्द हुन नपाओस्।

१५. अरूले गल्ती गर्दा हामीले के गर्नुपर्छ भनेर येशूले बताउनुभयो?

१५ हामी अहिले नयाँ संसारमा पुगिसकेका छैनौं। त्यसकारण कसैले चित्त दुखाउने कुरा भन्दा वा गर्दा यहोवाको तौरतरिका मनमा राख्नु बेस हो। जस्तै: येशूले भन्नुभएको यो सिद्धान्त हामीले मनमा राख्न सक्छौं: “यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गऱ्यौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।” अर्को कुरा पनि सम्झनुहोस्, पत्रुसले “सात पटकसम्म” क्षमा गर्नुपर्छ भन्दा येशूले यसो भन्नुभएको थियो: “म भन्छु, सात पटक होइन, सतहत्तर पटकसम्म।” कुरा स्पष्ट छ, येशूले हामी सधैं नै क्षमा दिन तयार हुनुपर्छ भन्न खोज्दै हुनुहुन्थ्यो। हामीले सिक्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यही नै हो।—मत्ती ६:१४, १५; १८:२१, २२.

१६. यूसुफले कस्तो राम्रो उदाहरण बसाले?

१६ याकूबकी श्रीमती राहेलले जन्माएका दुई छोरामध्ये जेठो छोरा यूसुफले बसालेको उदाहरण विचार गरौं। अरूले गल्ती गर्दा के गर्ने, त्यस विषयमा तिनले राम्रो उदाहरण बसालेका छन्‌। बुबाले तिनलाई धेरै माया गरेको कारण सौतेलो दाइहरूले डाह गर्न थाले। अनि तिनलाई दासको रूपमा बेचिदिए। तिनले गरेको असल कामले गर्दा पछि तिनी मिश्र देशमा दोस्रो ओहदाको महान्‌ शासक बन्न सके। अनिकाल सुरु भएपछि यूसुफका दाइहरू मिश्र देशमा अन्न किन्न जाँदा तिनीहरूले यूसुफलाई चिनेनन्‌। यूसुफले चाहेको भए दाइहरूले पहिला आफूसित नराम्रो व्यवहार गरेको कारण आफ्नो अख्तियार प्रयोग गरेर तिनीहरूसित बदला लिन सक्थे। तर तिनले त्यसो गरेनन्‌, बरु दाइहरूको मनोवृत्ति परिवर्तन भयो कि भएन थाह पाउन जाँच गरे। आफ्ना दाइहरूको स्वभाव परिवर्तन भएको देखेपछि तिनले ‘म यूसुफ हुँ’ भनी चिनाए र यसो भने: “नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चासमेत म पालन-पोषण गर्नेछु।” बाइबल विवरण अझ यसो भन्छ: “यसरी तिनले तिनीहरूलाई ढाडस र सान्त्वना दिए।”—उत्प. ५०:२१.

१७. अरूले गल्ती गर्दा तपाईं के गर्न चाहनुहुन्छ?

१७ हामी सबै जना गल्ती गर्छौं र पटक-पटक अरूको चित्त दुखाउँछौं भन्ने कुरा मनमा राख्नु बुद्धिमानी हुन्छ। यदि हामीले कसैको चित्त दुखाएका छौं भने त्यस व्यक्तिसित कुरा गरेर समाधन गर्नुपर्छ भनी बाइबलले निर्देशन दिन्छ। (मत्ती ५:२३, २४ पढ्‌नुहोस्) अरूले हाम्रो गल्ती बिर्सिदिंदा हामीलाई खुसी लाग्छ, त्यसैले हामीले पनि अरूको गल्ती मनमा लिइराख्नु हुँदैन। कलस्सी ३:१३ मा हामीलाई यस्तो आग्रह गरेको पाउँछौं: “यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवाले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर।” ख्रीष्टियन प्रेमले “खराबीको हिसाब राख्दैन” भनी १ कोरिन्थी १३:५ मा लेखिएको छ। यदि हामीले अरूलाई क्षमा दियौं भने यहोवाले पनि हामीलाई क्षमा दिनुहुनेछ। हो, हामीले गल्ती गर्दा कृपालु बुबा यहोवाले जस्तो व्यवहार गर्नुहुन्छ, अरूले गल्ती गर्दा हामीले पनि त्यस्तै व्यवहार गर्नुपर्छ। यो नै ख्रीष्टियन मार्ग हो।भजन १०३:१२-१४. पढ्‌नुहोस्।