सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्वरीय गुण—हिराभन्दा पनि किम्मती!

ईश्वरीय गुण—हिराभन्दा पनि किम्मती!

हिरालाई एकदमै अनमोल रत्नको रूपमा लिइन्छ। कुनै-कुनै हिराको मूल्य त लाखौं-करोडौं पर्छ। तर के यहोवाको नजरमा हिरा-मोती, जुहारभन्दा पनि अनमोल कुरा अरू केही छ?

आर्मेनियामा बस्ने बप्तिस्मा अप्राप्त बहिनी हागानुसको उदाहरण विचार गरौं। तिनले आफ्नो घर नजिकै एउटा पासपोर्ट भेट्टाइन्‌। पासपोर्टभित्र केही क्रेडिट कार्ड अनि मोटो रकम थियो। तिनले आफ्नो श्रीमान्‌लाई सबै कुरा बताइन्‌। तिनका श्रीमान्‌ पनि तिनीजस्तै बप्तिस्मा अप्राप्त प्रकाशक थिए।

यी दम्पतीले निकै ठूलो आर्थिक समस्या झेलिरहनुपरेको थियो; तिर्नुपर्ने ऋण पनि थियो। तैपनि तिनीहरूले पासपोर्टमा भएको ठेगाना हेरेर पैसा फिर्ता गर्ने विचार गरे। आफ्नो सामान फिर्ता पाउँदा त्यो पासपोर्ट धनी र तिनको परिवार तीनछक परे। आफूहरूले बाइबल पढेको कारण नै त्यस्तो इमानदारी देखाउन सकेको हो भनेर हागानुस र तिनका श्रीमान्‌ले बताए। यी दम्पतीले इमानदार हुनुको महत्त्व बुझे अनि यो घटनालाई यहोवाका साक्षीहरूबारे बताउने अनि केही पत्रिका छोड्‌ने मौकाको रूपमा लिए।

त्यस परिवारले हागानुसलाई पुरस्कारको रूपमा केही रकम दिने विचार गरे तर हागानुसले लिन मानिनन्‌। भोलिपल्ट पासपोर्ट धनीकी श्रीमती त्यस दम्पतीको घरमा गइन्‌ र धन्यवाद-ज्ञापनस्वरूप हिराको औंठी लिन हागानुसलाई कर गरिन्‌।

हागानुस र तिनका श्रीमान्‌को इमानदारी देखेर त्यो परिवार मात्र होइन तर अरू थुप्रै पनि छक्क पर्छन्‌। के यहोवा पनि त्यसरी नै छक्क मान्नुहुन्छ? तिनीहरूले देखाएको इमानदारीलाई उहाँ कस्तो रूपमा लिनुहुन्छ? तिनीहरूले त्यसरी इमानदारी देखाउँदा के लाभ भयो?

भौतिक सम्पत्तिभन्दा अनमोल गुण

माथिका प्रश्नहरूको जवाफ पाउन गाह्रो छैन। किनभने यहोवाका गुणहरू झल्काउने कुरा हिरा-मोती, जुहारभन्दा पनि अनमोल कुरा हो भनेर परमेश्वरका सेवकहरूले बुझेका छन्‌। कुन कुरा अनमोल छ र कुन छैन भनेर हेर्ने परमेश्वरको दृष्टिकोण प्रायजसो मानिसको भन्दा फरक छ। (यशै. ५५:८, ९) अनि उहाँका सेवकहरूको लागि उहाँका गुणहरू शतप्रतिशत झल्काउनु जीवनकै सबैभन्दा ठूलो उपलब्धि हो।

बाइबलमा समझ र बुद्धिबारे बताएको विवरणबाट हामी यो कुरा बुझ्न सक्छौं। हितोपदेश ३:१३-१५ यसो भन्छ: “बुद्धि पाउने र समझशक्ति प्राप्त गर्ने मानिस सुखी रहन्छ। किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ र त्यसबाट हुने फाइदा सुनभन्दा बढी हुन्छ। त्यो मुगा-मोतीभन्दा पनि बहुमूल्य हुन्छ र तेरा सबै रत्नहरू त्यसको बराबरी हुनै सक्दैन।” कुरा स्पष्ट छ, यहोवाले अरू कुनै पनि भौतिक कुरालाई भन्दा असल गुणहरूलाई बहुमूल्य ठान्नुहुन्छ।

त्यसोभए इमानदारी भन्ने गुणबारे के भन्न सकिन्छ?

वास्तवमा भन्ने हो भने, यहोवा आफै इमानदार परमेश्वर हुनुहुन्छ; उहाँ ‘कहिल्यै झूट बोल्नुहुन्न।’ (ती. १:२) अनि उहाँले प्रथम शताब्दीका हिब्रू ख्रीष्टियनहरूलाई यस्तो कुरा लेख्न प्रेषित पावललाई उत्प्रेरित गर्नुभयो: “हामीसित सफा अन्तस्करण छ भनेर हामी विश्वस्त छौं, किनकि हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं। त्यसैले हाम्रो निम्ति प्रार्थना गरिरहो।”—हिब्रू १३:१८.

इमानदार हुने सन्दर्भमा येशू ख्रीष्टले राम्रो उदाहरण बसाल्नुभएको छ। प्रधान पुजारी कैयाफाले “जीवित परमेश्वरको नाममा कसम खाएर हामीलाई सत्य कुरा भन्‌” भन्दा उहाँले इमानदार हुँदै त्यसको जवाफ दिनुभयो। आफूले सत्य बोल्दा न्याय परिषद्‌ले दोषी ठहराउन सक्छ र मृत्युदण्ड दिन सक्छ भन्ने कुरा थाह हुँदाहुँदै पनि उहाँ सत्य बोल्न पछि हट्‌नुभएन।—मत्ती २६:६३-६७.

हामीबारे के भन्न सकिन्छ? के हामी आधाउधि सत्य बोलेर वा टेढोमेढो कुरा गरेर आर्थिक लाभ उठाउन चाहन्छौं?

इमानदार हुनु—एउटा चुनौती

अहिले हामी आखिरी दिनमा बाँचिरहेका छौं अनि यो संसार “आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने” मानिसहरूले भरिभराउ छ। (२ तिमो. ३:२) त्यसैले अहिलेको संसारमा इमानदार भएर बाँच्नु साँच्चै गाह्रो छ। आर्थिक समस्याले गर्दा अनि जागिरको ठेगान नभएकोले गर्दा इमानदारी भन्ने गुण लोप हुने अवस्थामा पुगिसकेको छ। धेरैजसोले अहिले चोर्ने, ठग्ने वा अरू बेइमानी कामकुरालाई सामान्य रूपमा लिइसकेका छन्‌। पैसा पाउने मामिला हो भने त ‘इमानदार हुने कुरै आउँदैन’ भनेर धेरैले भन्ने गर्छन्‌। यहाँसम्म कि, कोही-कोही ख्रीष्टियन समेत यस्तो निष्कर्षमा पुगेका छन्‌; “बेइमानीद्वारा केही पाउने लोभ” गरेको कारण तिनीहरू मण्डलीमा राम्रो उदाहरण बसाल्नदेखि चुकेका छन्‌।—१ तिमो. ३:८; ती. १:७.

तर खुसीको कुरा, धेरैजसो ख्रीष्टियनले येशूको उदाहरण पछ्याएका छन्‌। अरू कुनै पनि सम्पत्ति वा लाभभन्दा ईश्वरीय गुणहरू देखाउनु महत्त्वपूर्ण छ भनेर तिनीहरूले बुझेका छन्‌। त्यसैले जवान ख्रीष्टियनहरू जाँचमा राम्रो अङ्‌क ल्याउन चिट चोर्दैनन्‌। (हितो. २०:२३) हुन त हो, इमानदार हुँदा सधैं नै हागानुसले जस्तै इनाम पाउने आशा गर्न सकिंदैन। तर नबिर्सनुहोस्, इमानदार हुनु भनेको यहोवाको नजरमा बहुमूल्य कुरा हो र यसले हामीलाई सफा अन्तस्करण राख्न मदत गर्छ। अनि यस्तो अन्तस्करण पाउनु भनेको साँच्चै अनमोल कुरा हो।

गागीकको उदाहरणले यो कुरालाई छर्लङ्‌गै पार्छ। तिनी भन्छन्‌: “साक्षी हुनुअघि म एउटा ठूलो कम्पनीमा काम गर्थें। त्यस कम्पनीको मालिकले कम नाफा देखाएर कर छल्ने गर्नुहुन्थ्यो। त्यहाँको प्रबन्ध निर्देशक भएकोले मैले कर असुल्ने व्यक्तिलाई घुस दिएर कम्पनीको कालोधन्दा लुकाउनुपर्थ्यो। दुनियाँको नजरमा बेइमान भनेर चिनिएको थिएँ। तर बाइबलको कुरा सिकिसकेपछि मैले राम्रो तलब पाइरहेको त्यो जागिर छोड्‌ने विचार गरें। त्यो काम छोडेपछि मैले आफ्नै व्यापार-व्यवसाय चलाउन थालें। काम थालेको पहिलो दिनमै मैले आफ्नो कम्पनीलाई कानुनी रूपमा दर्ता गरें र सबै कर तिरें।”—२ कोरि. ८:२१.

गागीक भन्छन्‌: “अहिले मेरो कमाइ पहिलाभन्दा आधा जति नै कम छ; त्यसैले परिवारको देखभाल गर्न गाह्रो हुन्छ। तर म पहिलाभन्दा खुसी छु। किनभने अहिले मेरो अन्तस्करण यहोवाको नजरमा सफा छ। मैले आफ्ना दुई छोराहरूलाई पनि राम्रो छाप पार्न सकेको छु; मण्डलीमा पनि जिम्मेवारी पाउन सकेको छु। अनि कामको सिलसिलामा भेटघाट हुने कर लेखा परीक्षक र अरूको नजरमा मैले राम्रो नाम कमाएको छु; म इमानदार भनेर चिनिएको छु।”

मदतको स्रोत यहोवा

यहोवा आफ्नो अनमोल गुणहरू खेती गरेर उहाँको शिक्षाको शोभा बढाउनेहरूलाई माया गर्नुहुन्छ। ती गुणहरूमध्ये एउटा इमानदारी पनि हो। (ती. २:१०) उहाँले राजा दाऊदलाई यस्तो कुरा लेख्न उत्प्रेरित गर्नुभयो: “जवान थिएँ र म अहिले बूढो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।”—भज. ३७:२५.

वफादार रूथको उदाहरणले यो कुरालाई स्पष्ट पार्छ। रूथले आफ्नो वृद्ध सासू नाओमीको साथ छोडिनन्‌। तिनी नाओमीसँगै इस्राएलमा गइन्‌, जहाँ तिनले साँचो परमेश्वरको उपासना गर्न सक्थिन्‌। (रूथ १:१६, १७) इस्राएलमा छँदा तिनले इमानदार र मेहनती भनेर नाम कमाइन्‌। व्यवस्थाले तोकेअनुसार सिलाबाला बटुल्ने काममा खटेको कारण नै तिनले यस्तो नाम कमाउन सकेकी हुन्‌। दाऊदले बताएजस्तै यहोवाले रूथ र नाओमीलाई त्याग्नुभएन। (रूथ २:२-१८) रोचक कुरा के छ भने, यहोवाले रूथलाई भौतिक कुराहरू मात्र होइन तर राजा दाऊद र प्रतिज्ञा गरिएको मसीहको पुर्खा बन्ने सुअवसर समेत दिनुभयो।—रूथ ४:१३-१७; मत्ती १:५, १६.

यहोवाका कुनै-कुनै सेवकलाई हातमुख जोड्‌न पनि धौ-धौ छ। तैपनि तिनीहरू चोरबाटो रोज्दैनन्‌, बरु दस नङ्‌ग्रा खियाउँदै इमानदारीसाथ काम गर्छन्‌। यसरी तिनीहरू यहोवाका गुणहरू, जसमा इमानदारी पनि पर्छ, त्यो अरू कुनै पनि कुराभन्दा कता हो कता बहुमूल्य छ भनेर देखाउँछन्‌।—हितो. १२:२४; एफि. ४:२८.

यहोवाले मदतको हात अघि बढाउनुहुन्छ भनेर रूथजस्तै संसारभरिका ख्रीष्टियनहरू विश्वस्त छन्‌। उहाँले भन्नुभएको यो प्रतिज्ञामा पूरापूर भरोसा गरेको तिनीहरू देखाउँछन्‌: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।” (हिब्रू १३:५) पाइला-पाइलामा इमानदारी देखाउनेहरूलाई यहोवाले साथ दिन सक्नुहुन्छ र दिनु पनि हुन्छ भनेर थुप्रै उदाहरणले देखाउँछ। उहाँ वचनको पक्का हुनुहुन्छ; ‘जीवनमा आवश्यक पर्ने कुराहरू पूरा गरिदिनेछु’ भनेर उहाँले गर्नुभएको प्रतिज्ञा सधैं पूरा भएको छ।—मत्ती ६:३३.

इमानदारी देखाउँदा मानिसले खुसी भएर हिरा वा अरू बहुमूल्य कुरा पुरस्कार स्वरूप देलान्‌। तर हाम्रो मायालु बुबा यहोवाको नजरमा इमानदारी वा अरू असल गुण देखाउनु हिरा-मोती, जुहारभन्दा पनि अनमोल छ।

इमानदार हुँदा हाम्रो अन्तस्करण सफा हुन्छ र प्रचारमा निर्धक्क भएर बोल्न सक्छौं