सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं महान्‌ कुमाले यहोवाबाट आकार पाउन तयार हुनुहुन्छ?

के तपाईं महान्‌ कुमाले यहोवाबाट आकार पाउन तयार हुनुहुन्छ?

“कुमालेको हातमा माटो भएझैं तँ पनि मेरो हातमा त्यस्तै छस्।”—यर्मि. १८:६.

गीत: ६०, २२

१, २. यहोवाले दानियललाई किन “अति प्रिय मानिस” ठान्नुभयो? अनि हामी कसरी तिनको अनुकरण गर्न सक्छौं?

यहूदीहरू कैदी भएर बेबिलोनमा जाँदा तिनीहरूले त्यहाँको पूरै सहर मूर्तिले भरिएको र मानिसहरू दुष्ट स्वर्गदूतहरूको वशमा परेको देखे। तैपनि विश्वासी यहूदीहरू, जस्तै: दानियल अनि तिनका तीन जना साथीले आफूलाई बेबिलोनी संसारको आकारमा ढालिन दिएनन्‌। (दानि. १:६, ८, १२; ३:१६-१८) तिनीहरूले यहोवालाई आफ्नो कुमालेको रूपमा स्वीकारे अनि उहाँको मात्र सेवा गर्न दृढ भए। नभन्दै तिनीहरू यसमा सफल भए। दानियलले लगभग पूरै जीवन बेबिलोनमा बिताउनुपरे तापनि परमेश्वरको स्वर्गदूतले तिनलाई “अति प्रिय मानिस” भने।—दानि. १०:११, १९.

बाइबलकालीन समयमा कुमालेले माटोलाई हातले बिस्तारै थिचेर आफूले चाहेअनुसार आकार दिन्थे। त्यसैगरि सारा मानिसजातिलाई आकार दिने अधिकार सर्वोच्च शासक यहोवासँग मात्र छ भनी अहिले परमेश्वरका साँचो उपासकहरू विश्वास गर्छन्‌। (यर्मिया १८:६ पढ्‌नुहोस्) यहोवासित समूहलाई मात्र होइन, हामी एक-एक जनालाई आकार दिने अधिकार पनि छ। त्यस्तो अधिकार भए पनि उहाँले हाम्रो इच्छाको कदर गर्नुहुन्छ र हामी आफै राजीखुसीले उहाँबाट आकार लिन उत्प्रेरित भएको चाहनुहुन्छ। त्यसोभए यहोवाको हातमा कसरी नरम माटो जस्तै बनिरहन सक्छौं, तीन वटा क्षेत्र विचार गरौं। (१) कस्ता दुर्गुणहरूले हामीलाई यहोवाको सल्लाह स्वीकार्न गाह्रो बनाउँछ? (२) आकार दिन मिल्ने नरम माटोजस्तै बनिरहन र अधीनमा बस्न हामीलाई कस्ता गुणहरूले मदत गर्छ? (३) यहोवालाई कुमालेको रूपमा स्वीकारेको कुरा ख्रीष्टियन आमाबाबुले कसरी देखाउन सक्छन्‌?

हृदयलाई कठोर बनाउने दुर्गुणहरू

३. हाम्रो हृदयलाई कस्ता दुर्गुणहरूले कठोर बनाउन सक्छ? उदाहरण दिनुहोस्।

हितोपदेश ४:२३ यसो भन्छ: “कुनै मूल्यवान्‌ वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।” त्यसोभए हामी हृदयलाई कठोर बनाउने कस्ता दुर्गुणहरूदेखि जोगिनुपर्छ? अचाक्ली घमन्ड, पाप गरिरहने बानी अनि अविश्वासजस्ता दुर्गुणहरूदेखि हामी टाढै बस्नुपर्छ। यस्ता कुराहरूले हामीलाई अनाज्ञाकारी हुन र विद्रोही मनोवृत्ति झल्काउन उक्साउँछ। (दानि. ५:१, २०; हिब्रू ३:१३, १८, १९) जस्तै: यहूदाका राजा उज्जियाहलाई विचार गरौं, तिनले घमन्डी मनोभाव देखाएका थिए। (२ इतिहास २६:३-५, १६-२१ पढ्‌नुहोस्) सुरुमा त तिनले ‘परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरेका थिए’ अनि ‘परमेश्वरको अगुवाइ खोज्नमा मन-तन लगाएका थिए।’ तर परमेश्वरबाट बल पाएको भए तापनि ‘शक्तिशाली भएपछि तिनी अहङ्‌कारी भए।’ हारूनको वंशले मात्र चढाउनुपर्ने धूप तिनी आफैले चढाउन खोजे। अनि पुजारीले सम्झाउन खोज्दा तिनी रिसले आगो भए। परिणाम के भयो? तिनले लज्जास्पद रूपमा विनाश भोग्नुपऱ्यो; तिनी कोरी भएर मर्नुपऱ्यो।—हितो. १६:१८.

४, ५. घमन्डलाई बढ्‌न दियौं भने के हुन सक्छ? उदाहरण दिनुहोस्।

घमन्डलाई बढ्‌न दियौं भने हामी पनि ‘आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्‌ता ठान्ने’ अवस्थासम्म पुग्न सक्छौं। यहाँसम्म कि, धर्मशास्त्रको सल्लाह नकार्ने हदसम्म पुग्न सक्छौं। (रोमी १२:३; हितो. २९:१) जिम नाम गरेका एल्डरलाई विचार गर्नुहोस्। मण्डलीको विषयमा छलफल हुँदा तिनलाई अरू एल्डरको कुरा चित्त बुझेको थिएन। त्यसबारे तिनी यसो भन्छन्‌: “मैले उहाँलाई ‘तपाईंहरू मायालु हुनुहुन्न’ भनें अनि त्यहाँबाट जुरुक्क उठेर हिंडें।” करिब छ महिनापछि तिनी नजिकैको अर्को मण्डलीमा सरे तर तिनी त्यहाँ एल्डर नियुक्त भएनन्‌। तिनी भन्छन्‌: “मेरो मनै भाँच्यो। मैले जे गरें, सही गरें जस्तो लाग्थ्यो; साह्रै आत्मधर्मी भइसकेको थिएँ। त्यसैले सत्यदेखि तर्किएँ।” तिनी १० वर्षसम्म निष्क्रिय भए। तिनी यो कुरा स्वीकार्छन्‌: “घमन्डी हुँदा मैले साह्रै चोट सहनुपऱ्यो। भएभरको दोष यहोवालाई थोपरें। वर्षौंसम्म भाइहरू मलाई भेट्‌न आउनुभयो र मनाउन खोज्नुभयो। तर मैले तिनीहरूको कुरामा कान थापिनँ।”

घमन्डले कसरी हामीलाई अन्धो बनाउँछ र आफूले गरेको कुरा नै ठीक हो भन्ने भान पारेर साह्रो माटोजस्तै बनाउँछ, त्यो कुरा जिमको अनुभवले देखाउँछ। (यर्मि. १७:९) जिम अझै यसो भन्छन्‌, “खालि म अरूको गल्तीमा मात्र ध्यान दिन्थें।” के तपाईंलाई पनि ख्रीष्टियन दाजुभाइ दिदीबहिनीले चित्त दुखाएको थियो अथवा कुनै जिम्मेवारी गुमाउनुपरेको थियो? त्यतिबेला तपाईंलाई कस्तो लाग्यो? घमन्डी भएर बस्नुभयो कि? अथवा दाजुभाइ दिदीबहिनीसित मिलाप गर्न र यहोवाप्रति वफादार रहन प्रयास गर्नुभयो?भजन ११९:१६५; कलस्सी ३:१३ पढ्‌नुहोस्।

६. पाप गर्ने बानी नै बसाल्यौं भने के हुन सक्छ?

पाप गर्ने बानी नै बसाल्यौं वा गोप्यरूपमा पाप गरिरह्यौं भने यसले हामीलाई परमेश्वरको सल्लाह स्वीकार्न गाह्रो बनाउन सक्छ। पाप दोहोऱ्याइरह्यौं भने पछि गएर हामीलाई त्यो सामान्य लाग्न सक्छ। एक जना भाइको भनाइअनुसार गलत काम गरिरहँदा पछि तिनलाई त्यो पाप सामान्य लाग्न थाल्यो। (उप. ८:११) अश्‍लील सामाग्री हेर्ने बानी परेका अर्का एक जना भाइले पछि यसो भने: “एल्डरहरूले भनेको वा गरेको कुनै पनि कुरा मलाई चित्त बुझ्दैन थियो।” त्यस्तो झुकावले गर्दा तिनी बिस्तारै आध्यात्मिक रूपमा कमजोर हुँदै गए। अन्तमा तिनको कमजोरी अरूलाई पनि थाह भयो र आवश्यक मदत दिनुपऱ्यो। हो, हामी सबै जना त्रुटिपूर्ण छौं। तर यहोवाबाट क्षमा वा मदत खोज्नुको साटो कुनै पनि कुरा चित्त नबुझाउने अनि गलत काम गरिरहने बानी बसाल्यौं भने हाम्रो मन साह्रो बन्न पुग्छ।

७, ८. (क) इस्राएलीहरू अविश्वासी भएको कसरी देखियो? (ख) हामी यसबाट कस्तो पाठ सिक्न सक्छौं?

अविश्वासले गर्दा हृदय कसरी कठोर बन्न पुग्छ, त्यो कुरा मिश्र देशबाट छुटकारा पाएका इस्राएलीहरूको उदाहरणबाट स्पष्ट हुन्छ। परमेश्वरले गर्नुभएका थुप्रै चमत्कारहरू तिनीहरूले आफ्नै आँखाले देखेका थिए। तीमध्ये कुनै-कुनै चमत्कार त साँच्चै अद्‌भुत थिए! तैपनि तिनीहरू प्रतिज्ञा गरिएको देशमा पुग्नै लाग्दा अविश्वासी भए। यहोवामाथि भरोसा राख्नुको सट्टा तिनीहरू डराए अनि मोशा विरुद्ध गनगन गर्न थाले। यहाँसम्म कि तिनीहरू आफू दास भएर बसेको मिश्र देशमा फर्कन चाहे। यहोवालाई कत्ति चित्त दुख्यो होला, सोच्नुहोस् त! यहोवाले यसो भन्नुभयो “यी मानिसहरूले मलाई कतिसम्म तिरस्कार गरिरहन्छन्‌?” (गन्ती १४:१-४, ११; भज. ७८:४०, ४१) तिनीहरूको मन साह्रो भएकोले अनि तिनीहरूले देखाएको अविश्वासको कारण त्यो पुस्ता उजाडस्थानमै नाश हुनुपऱ्यो।

नयाँ संसार नजिकिंदै जाँदा हाम्रो पनि विश्वासको जाँच भइरहेको छ। त्यसैले हाम्रो विश्वास कस्तो छ भनेर जाँच्नुपर्छ। उदाहरणको लागि, मत्ती ६:३३ मा येशूले भन्नुभएका कुराप्रति हाम्रो दृष्टिकोण कस्तो छ भनेर हामी केलाउन सक्छौं। आफैलाई सोध्नुहोस्: ‘के मेरो प्राथमिकता र निर्णयले येशूको कुरामा विश्वास गरेको देखिन्छ? पैसा धेरै कमाउनको लागि के म सभा वा प्रचार छुटाउँछु? संसारबाट एकपछि अर्को दबाब आउँदा म के गर्छु? के म आफूलाई संसारको तौरतरिकामा ढालिन दिन्छु अनि सत्यबाट तर्किने हदसम्म पुग्छु?’

९. हामीले किन निरन्तर रूपमा आफ्नो विश्वास जाँचिरहनुपर्छ र हामी कसरी त्यसो गर्न सक्छौं?

अर्को एउटा अवस्था विचार गरौं। एक जना साक्षीलाई बाइबलको स्तर पालन गर्न गाह्रो लागिरहेको छ; सङ्‌गत छान्ने, बहिष्कारको प्रबन्ध अथवा मनोरञ्जनको सन्दर्भमा बाइबलको स्तर स्वीकार्न तिनलाई गाह्रो भइरहेको छ। अब आफैलाई सोध्नुहोस्, ‘मलाई पनि कतै त्यस्तै लाग्छ कि?’ हृदयलाई साह्रो बनाउने यस्तो छनक मात्र पायौं भने पनि तुरुन्तै हामीले आफ्नो विश्वास जाँच्नुपर्छ। बाइबलले हामीलाई यस्तो सल्लाह दिन्छ “तिमीहरू विश्वासमा छौ कि छैनौ भनी जाँचिरहो, तिमीहरू कस्ता मानिसहरू हौ साबित गरिरहो।” (२ कोरि. १३:५) हामीले इमानदार भएर आफ्नो सोचाइ परमेश्वरको वचन अनुरूप छ कि छैन भनेर निरन्तर रूपमा जाँचिरहनुपर्छ।

आकार दिन मिल्ने नरम माटोजस्तै भइरहनुहोस्

१०. हामीलाई नरम माटोजस्तै बनिरहन कुन-कुन कुराले मदत गर्छ?

१० यहोवा परमेश्वरले आफ्नो वचन, ख्रीष्टियन मण्डली र प्रचारकार्यद्वारा हामीलाई नरम माटोजस्तै बनिरहन मदत गर्नुहुन्छ। जसरी पानीले माटोलाई नरम बनाउँछ त्यसरी नै दिनहुँ बाइबल पढ्‌दा र मनन गर्दा त्यसले हामीलाई यहोवाको हातमा नरम माटोजस्तै बनाउँछ। यहोवाले इस्राएलका राजाहरूलाई अनिवार्य रूपमा व्यवस्थाको नकल उतार्न र दिनहुँ पढ्‌न आज्ञा दिनुभएको थियो। (व्यव. १७:१८, १९) प्रेषितहरूले पनि प्रचारकार्यमा सफल हुन परमेश्वरको वचन पढ्‌नु र मनन गर्नु महत्त्वपूर्ण छ भन्ने कुरा बुझेका थिए। पत्रहरू लेख्दा तिनीहरूले सयौं पटक हिब्रू शास्त्रबाट उद्धरण गरेका थिए, साथै आफूले प्रचार गरेका मानिसहरूलाई पनि त्यसै गर्न तिनीहरूले प्रोत्साहन दिए। (प्रेषि. १७:११) आज हामीले पनि परमेश्वरको वचन दिनहुँ पढ्‌नु र प्रार्थनापूर्वक त्यसबारे मनन गर्नुको महत्त्व बुझेका छौं। (१ तिमो. ४:१५) यसले हामीलाई नम्र हुन अनि यहोवाको हातमा नरम माटोजस्तै बन्न मदत गर्छ।

सजिलै आकार दिन मिल्ने नरम माटोजस्तै हुन परमेश्वरको प्रबन्धमा भर पर्नुहोस् (अनुच्छेद १०-१३ हेर्नुहोस्)

११, १२. यहोवाले ख्रीष्टियन मण्डलीमार्फत हामीलाई कसरी आकार दिनुहुन्छ? उदाहरण दिनुहोस्।

११ यहोवाले ख्रीष्टियन मण्डलीमार्फत हामीलाई हाम्रो व्यक्तिगत आवश्यकताअनुसार आकार दिन सक्नुहुन्छ। माथि चर्चा गरेको जिमलाई एल्डरले मायालु चासो देखाएपछि तिनी बिस्तारै नरम हुन थाले। जिम भन्छन्‌: “ती एल्डरले मलाई पटक्कै दोषी महसुस गराउनुभएन साथै आलोचना पनि गर्नुभएन। मेरो राम्रो कुराहरूमा मात्र ध्यान दिनुभयो अनि मदत गर्न अघि सर्नुभयो।” त्यसको लगभग तीन महिनापछि एल्डरले जिमलाई सभामा बोलाए। जिम यसो भन्छन्‌, “पूरै मण्डलीले न्यानो स्वागत गऱ्यो, उहाँहरूले देखाएको मायाले गर्दा नै म परिवर्तन हुन सकें। मेरो सोचाइ नै सबथोक होइन भनेर बल्ल बुझें। प्यारा दाजुभाइ दिदीबहिनी र विश्वासमा अटल रहेकी मेरी मायालु श्रीमतीको मदतले म फेरि आध्यात्मिक रूपमा बलियो हुन सकें। साथै सन्‌ १९९२ नोभेम्बर १५ को प्रहरीधरहरा-मा छापिएको ‘यहोवालाई दोष लाउनु मिल्दैन’ र ‘वफादारीका साथ यहोवाको सेवा गर्नुहोस्’ जस्ता लेखहरूबाट पनि निकै प्रोत्साहन पाएँ।”

१२ केही समयपछि जिम फेरि एल्डर नियुक्त भए। त्यसबेलादेखि यता तिनले आफ्नो जस्तै अवस्थामा भएकाहरूलाई मदत गरिरहेका छन्‌ र आध्यात्मिक रूपमा बलियो हुन साथ दिइरहेका छन्‌। तिनी यसो भनेर कुरा टुङ्‌ग्याउँछन्‌: “पहिला त यहोवासँग एकदमै घनिष्ठ छु जस्तो लाग्थ्यो, तर वास्तवमा होइन रहेछ! घमन्डले अन्धो भएर महत्त्वपूर्ण कुरा लत्याएकोमा र अरूको कमजोरीहरू कोट्‌याएकोमा मलाई एकदम पछुतो छ।”—१ कोरि. १०:१२.

१३. प्रचारकार्यले हामीलाई कस्तो गुण खेती गर्न मदत गर्छ अनि कस्तो लाभ पुऱ्याउँछ?

१३ प्रचारकार्यले हामीलाई कसरी राम्रो आकार दिन्छ? प्रचारमा भाग लिंदा नम्रता अनि पवित्र शक्तिको फलका अरू विभिन्न पक्षहरू खेती गर्न सक्छौं। (गला. ५:२२, २३) यो काममा भाग लिंदा तपाईंले कस्ता गुणहरू खेती गर्न सक्नुभयो, सोच्नुहोस्। यसबाहेक ख्रीष्टको जस्तो व्यक्तित्व धारण गर्दा हामीले सुनाउने सन्देशको गरिमा बढ्‌छ साथै हामीप्रतिको घरधनीको मनोवृत्ति पनि राम्रो हुन्छ। उदाहरणको लागि, घरधनीले निकै गाली गरे तापनि अस्ट्रेलियाका दुई जना साक्षीले तिनको कुरा आदरपूर्वक सुने। अनि पछि तिनी आफूले त्यस्तो नराम्रो व्यवहार गरेकोमा पछुताए अनि शाखा कार्यालयलाई पत्र लेखे। तिनले पत्रमा यस्तो पनि लेखेका थिए: “धीरजी अनि नम्र हुँदै मेरो कुरा सुन्ने ती दुई जनालाई रूखो व्यवहार गरेकोमा मनदेखि माफी माग्न चाहन्छु। परमेश्वरको वचन लिएर आएकाहरूलाई त्यसरी धपाउनु मेरो मूर्खता थियो।” ती दुई जनाले अलिकता मात्र रिसको छनक दिएको भए के ती घरधनीले यस्तो कुरा लेख्थे होलान्‌ र? पक्कै लेख्दैनथे। हो, त्यसैले हामी भन्न सक्छौं, प्रचारको काम हामी र छिमेकी दुवैको लागि लाभदायी छ।

परमेश्वरको अधीनमा बस्दै छोराछोरीलाई आकार दिनुहोस्

१४. छोराछोरीलाई सही आकार दिने हो भने आमाबाबुले के गर्नुपर्छ?

१४ धेरैजसो केटाकेटी नयाँ कुरा सिक्न इच्छुक हुन्छन्‌; साथै नम्र पनि हुन्छन्‌। (मत्ती १८:१-४) त्यसैले छोराछोरी सानो छँदा नै तिनीहरूको मनमा परमेश्वरको ज्ञान र त्यसप्रतिको प्रेम विकास गर्न बुद्धिमान्‌ आमाबाबुले अथक प्रयास गर्न सक्छन्‌। (२ तिमो. ३:१४, १५) यसमा सफल हुने हो भने सुरुमा आमाबाबु आफैले सत्य कुरा आफ्नो मनमा ठप्प राख्नुपर्छ र त्यसैअनुसार चल्नुपर्छ। त्यसो गरेमा मात्र छोराछोरीले सत्य कुरा सुन्न र त्यसलाई अनुभव गर्न सक्छन्‌। अनि आमाबाबुले दिएको अनुशासनलाई यहोवाको मायाको चिनोको रूपमा लिन सक्छन्‌।

१५, १६. छोरा या छोरी बहिष्कार हुँदा आमाबाबुले परमेश्वरमा भरोसा गरेको कसरी देखाउन सक्छन्‌?

१५ सानैदेखि राम्रो तालिम पाए पनि कुनै-कुनै छोराछोरीले पछि गएर सत्य त्याग्न सक्छन्‌ वा बहिष्कार हुन सक्छन्‌। अनि यसले गर्दा परिवारका सदस्यहरूलाई ठूलो चोट पुग्न सक्छ। दक्षिण अफ्रिकामा बस्ने एउटी बहिनी यसो भन्छिन्‌: “दाइ बहिष्कार हुँदा मनमा साह्रै चोट पऱ्यो; उहाँको मृत्युको खबर सुनेझैं लाग्यो। मन कत्ति छिया-छिया भयो, त्यो त भन्नै सक्दिनँ।” त्यतिबेला ती बहिनी अनि तिनका आमाबाबुले कस्तो प्रतिक्रिया देखाए? तिनीहरूले परमेश्वरको वचनमा पाइने निर्देशन पछ्याए। (१ कोरिन्थी ५:११, १३ पढ्‌नुहोस्) ती बहिनीका आमाबाबु यसो भन्छन्‌: “हामी बाइबलको निर्देशन पछ्याउने कुरामा दृढ थियौं। यहोवाको इच्छाअनुसारै चल्यौं भने नतिजा राम्रो हुन्छ भनेर ढुक्क थियौं। बहिष्कारको प्रबन्ध यहोवाले नै गर्नुभएको हो र आफूले माया गर्नेहरूलाई उहाँले उचित अनुशासन दिनुहुन्छ भनेर हामी विश्वस्त थियौं। त्यसैले हामीले आफ्नो छोरासित एकदम आवश्यक पारिवारिक कामकुराको लागि मात्र सम्पर्क राख्ने निधो गऱ्यौं।”

१६ यो निर्णयले छोरालाई कस्तो असर गऱ्यो? तिनले पछि यसो भने: “मलाई थाह थियो, मेरो परिवारले मलाई घृणा गर्दैन भनेर। उहाँहरू त यहोवा र उहाँको सङ्‌गठनप्रति वफादार रहने कोसिस गर्दै हुनुहुन्थ्यो।” तिनी अझै यसो भन्छन्‌: “यहोवाको मदत र उहाँले दिनुहुने क्षमा आवश्यक छ भनी अरूले बाध्य महसुस नगराएसम्म तपाईंलाई होसै हुँदैन।” यी भाइ पुनर्बहाली हुँदा परिवारमा कत्ति खुसी छायो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ! हो, हरेक मार्गमा यहोवाको वचनले दिने निर्देशनअनुसार चल्दा परिणाम कहिल्यै नराम्रो हुँदैन।—हितो. ३:५, ६; २८:२६.

१७. हामी किन यहोवाको मार्गमा चल्नुपर्छ? यसो गर्दा थप कस्तो फाइदा हुन्छ?

१७ निर्वासनको अन्तमा पश्‍चात्तापी यहूदीहरूले व्यक्त गर्ने मनोभावलाई सङ्‌केत गर्दै अगमवक्ता यशैयाले यसो भने: “हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटा मात्र हौं, र तपाईंचाहिं कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।” त्यसपछि तिनीहरूले यसो भनेर बिन्ती गर्नेथिए: “हे परमप्रभु, ज्यादै क्रोधित नहुनुहोस्, औ न हाम्रा अधर्म सधैंभरि सम्झिरहनुहोस्। बिन्ती छ—विचार गरेर हेर्नुहोस्, हामी सबै तपाईंकै प्रजा हौं।” (यशै. ६४:८, ९) तिनीहरूजस्तै नम्र हुँदै यहोवाको अधीनमा बस्यौं र निरन्तर उहाँकै मार्गमा चल्यौं भने उहाँले हामीलाई दानियललाई जस्तै अति प्रिय ठान्नुहुनेछ। साथै, “परमेश्वरको सन्तानको” रूपमा उहाँको अगाडि खडा हुन सकोस् भनेर आफ्नो वचन, पवित्र शक्ति अनि सङ्‌गठनद्वारा हामीलाई आकार पनि दिइरहनुहुनेछ।—रोमी ८:२१.