सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आत्मसंयम—यहोवाको अनुमोदन पाउन अत्यावश्‍यक गुण

आत्मसंयम—यहोवाको अनुमोदन पाउन अत्यावश्‍यक गुण

“मेरो एक जना आफन्तले मसित निहुँ खोज्दा मलाई एकदमै रिस उठ्यो। मैले उसको घाँटी निमोठेँ, उसलाई मार्दिउँ जस्तो लाग्यो।”—पल।

“घरमा हुँदा छिस्रिक्क केही भयो कि मलाई एकदमै रिस उठ्‌थ्यो। म फर्निचरहरू, खेलौनाहरू, जे भेट्यो त्यही तोडफोड गर्ने गर्थेँ।”—मार्को।

हामीमध्ये धेरैजसो यतिविघ्न हिंस्रक त नहोऔँला। तर हामी सबैलाई कहिलेकाहीँ आफूलाई काबूमा राख्न गाह्रो हुन्छ। त्यसको मुख्य कारण हो, पहिलो मानव आदमको सन्तान भएकोले हामीसित जन्मजात पापी झुकावहरू छन्‌। (रोमी ५:१२) पल र मार्कोलाई जस्तै कोही-कोहीलाई आफ्नो रिसलाई काबूमा राख्न गाह्रो हुन्छ। अरू कतिपयलाई भने आफ्नो सोचाइलाई काबूमा राख्न गाह्रो लाग्न सक्छ। तिनीहरू आफ्नो डर-चिन्तामा डुबिरहन्छन्‌ वा नकारात्मक सोचाइहरू दिमागमा खेलाइरहन्छन्‌। अनि अरू केहीलाई भने अवैध यौनसम्बन्ध राख्ने, रक्सीको दुरुपयोग गर्ने वा लागूपदार्थ सेवन गर्ने प्रलोभनको प्रतिरोध गर्न गाह्रो हुन सक्छ।

आफ्नो सोचाइ, चाहना र व्यवहारलाई काबूमा राख्न नसक्ने व्यक्‍तिहरूको जीवन भताभुङ्‌ग हुन सक्छ। तर त्यस्तो अवस्थामा पुग्नदेखि हामी जोगिन सक्छौँ। कसरी? आत्मसंयम विकास गरेर। आउनुहोस्‌, हामीलाई आत्मसंयम विकास गर्न मदत गर्ने यी तीन वटा प्रश्‍न विचार गरौँ: (१) आत्मसंयम भनेको के हो? (२) यो किन अत्यावश्‍यक छ? (३) हामी यो गुण कसरी विकास गर्न सक्छौँ, जुन “पवित्र शक्‍तिको फल”-को एउटा पक्ष हो? (गला. ५:२२, २३) त्यसपछि, कहिलेकाहीँ आत्मसंयम देखाउन चुक्दा हामी प्रत्येकले के गर्न सक्छौँ भनेर विचार गर्नेछौँ।

आत्मसंयम भनेको के हो?

आत्मसंयम देखाउने व्यक्‍तिले आवेगमा आएर कदम चालिहाल्दैन। बरु तिनी परमेश्‍वरलाई दुःखी बनाउने कुराहरू बोल्न र गर्नदेखि आफूलाई रोक्छन्‌।

आत्मसंयम भनेको के हो भनेर येसुले देखाउनुभयो

आत्मसंयम भनेको के हो भनेर येसुले देखाउनुभयो। बाइबल भन्छ: “अरूले अपमान गर्दा उहाँले उल्टो अपमान गर्नुभएन। आफूले दुःख भोग्नुपर्दा उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको हातमा आफूलाई सुम्पनुभयो।” (१ पत्रु. २:२३) येसुलाई यातनाको खम्बामा टाँगिएको बेला विरोधीहरूले गिल्ला गर्दा उहाँले त्यस्तो आत्मसंयम देखाउनुभयो। (मत्ति २७:३९-४४) येसुले बोल्नुभएकै कुरामा उहाँलाई फसाउन धर्मगुरुहरूले षड्यन्त्र रच्दा पनि उहाँले आत्मसंयम देखाउनुभएको थियो। (मत्ति २२:१५-२२) अनि रिसले चुर भएका केही यहुदीले येसुलाई हिर्काउन ढुङ्‌गा टिप्दा उहाँले कत्ति राम्रो उदाहरण बसाल्नुभयो! जस्तालाई त्यस्तै गर्नुको साटो “उहाँ लुक्नुभयो र मन्दिरबाट बाहिर निस्कनुभयो।”—युह. ८:५७-५९.

के हामी येसुको उदाहरण अनुकरण गर्न सक्छौँ? केही हदसम्म सक्छौँ। प्रेषित पत्रुसले यस्तो लेखे: “ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्‌नुभयो।” (१ पत्रु. २:२१) त्रुटिपूर्ण भए तापनि हामी येसुले देखाउनुभएको आत्मसंयम राम्ररी अनुकरण गर्न सक्छौँ। यसो गर्नु किन अत्यावश्‍यक छ?

आत्मसंयम देखाउनु किन अत्यावश्‍यक छ?

यहोवाको अनुमोदन पाउन हामीले आत्मसंयम देखाउनै पर्छ। वफादार भई यहोवाको सेवा गरेको लामो समय भए तापनि यदि हामीले आफ्नो बोली र व्यवहारलाई काबूमा राखेनौँ भने यहोवासितको हाम्रो मित्रता टुट्‌न सक्छ।

मोसालाई विचार गरौँ, जो त्यतिबेला “पृथ्वीभरिमा सबैभन्दा नम्र मानिस थिए।” (गन्ती १२:३) मोसाले इस्राएलीहरूको गनगन दशकौँसम्म धैर्य गरेर सहिरहेका थिए तर तिनले पछि आफूलाई काबूमा राख्न सकेनन्‌। इस्राएलीहरूले पानी पिउन नपाएकोले फेरि गनगन गर्दा तिनी रिसले चुर भए। तिनले रुखो स्वरमा मानिसहरूलाई यसो भने: “हे विद्रोहीहरू हो, सुन! के हामीले यस पहराबाट तिमीहरूको लागि पानी निकालिदिनुपऱ्‍यो?”—गन्ती २०:२-११.

मोसाले आफूलाई काबूमा राख्न सकेनन्‌। तिनले चमत्कारपूर्ण तरिकामा पानीको प्रबन्ध गरिदिनुहुने यहोवालाई त्यसको श्रेय दिएनन्‌। (भज. १०६:३२, ३३) त्यसैले यहोवाले तिनलाई प्रतिज्ञा गरिएको देशमा पस्न दिनुभएन। (गन्ती २०:१२) आफ्नो रिस काबूमा राख्न चुकेकोमा सायद मोसा जीवनभर चुकचुकाए होलान्‌।—व्यव. ३:२३-२७.

हामी यसबाट कस्तो पाठ सिक्न सक्छौँ? यहोवाको सेवा गरेको लामो समय भए तापनि हामीलाई रिस उठाउने वा हामीले सच्याउनुपर्ने व्यक्‍तिलाई कहिल्यै हेपेर बोल्नु हुँदैन। (एफि. ४:३२; कल. ३:१२) हुनत उमेर चढ्‌दै जाँदा हामीलाई धीरजी हुन कहिलेकाहीँ गाह्रो हुन सक्छ। तर मोसाको विवरण सधैँ मनमा राख्नुहोस्‌। आत्मसंयम देखाउन चुकेर हामीले यहोवासामु कमाएको राम्रो नामलाई कहिल्यै बदनाम हुन नदेऔँ। यो अत्यावश्‍यक गुण हामी कसरी विकास गर्न सक्छौँ?

आत्मसंयम कसरी विकास गर्न सक्छौँ?

पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌। किन? किनभने आत्मसंयम परमेश्‍वरको पवित्र शक्‍तिको फलको एउटा पक्ष हो र पवित्र शक्‍ति माग्नेहरूलाई उहाँ त्यो दिनुहुन्छ। (लुका ११:१३) आफ्नो पवित्र शक्‍तिमार्फत यहोवा हामीलाई आत्मसंयम देखाउन आवश्‍यक बल दिन सक्नुहुन्छ। (फिलि. ४:१३) उहाँ हामीलाई पवित्र शक्‍तिको फलका अरू पक्षहरू विकास गर्न पनि मदत दिन सक्नुहुन्छ, जस्तै: प्रेम। हामीसित प्रेम छ भने आत्मसंयम देखाउन सजिलो हुन्छ।—१ कोरि. १३:५.

आत्मसंयम देखाउन गाह्रो बनाउने कुराहरूदेखि टाढै रहनुहोस्‌

आत्मसंयम देखाउन गाह्रो बनाउने कुराहरूदेखि टाढै रहनुहोस्‌। उदाहरणको लागि, गलत आचरणलाई बढवा दिने इन्टरनेट वेबसाइट र मनोरञ्जनदेखि टाढै रहनुहोस्‌। (एफि. ५:३, ४) गलत कदम चाल्ने प्रलोभनमा पार्ने जुनसुकै कुरादेखि हामी अलग रहनै पर्छ। (हितो. २२:३; १ कोरि. ६:१२) उदाहरणको लागि, यौन अशुद्धतामा मुछिने प्रलोभनमा सजिलै फस्न सक्ने व्यक्‍ति रोमान्टिक किताबहरू पढ्‌न र फिल्महरू हेर्नदेखि टाढै रहनुपर्ने हुन सक्छ।

यो सल्लाह लागू गर्न हामीलाई गाह्रो लाग्न सक्छ। तर हामीले कोसिस गऱ्‍यौँ भने आफूलाई काबूमा राख्न चाहिने बल यहोवाले दिनुहुनेछ। (२ पत्रु. १:५-८) उहाँले हामीलाई आफ्नो सोचाइ, बोली र व्यवहारलाई काबूमा राख्न मदत गर्नुहुनेछ। जस्तै: माथि उल्लेख गरिएका पल र मार्कोले आफ्नो अनियन्त्रित रिसलाई काबूमा राख्न सिके। अर्को भाइलाई विचार गरौँ, जो गाडी चलाउँदा अक्सर अरू चालकहरूसित रिसाउने र भनाभनसमेत गर्ने गर्थे। आफूलाई काबूमा राख्न तिनले के गरे? तिनी यसो भन्छन्‌: “मैले हरेक दिन व्यग्र प्रार्थना गरेँ। आत्मसंयमबारे लेखिएका लेखहरू अध्ययन गरेँ र उपयुक्‍त बाइबल पदहरू कण्ठ पारेँ। मैले प्रयास गरेको वर्षौँ भइसक्यो तर ‘आज एक दिन पनि आफूलाई काबूमा राख्न सकूँ’ भन्‍ने लक्ष्य राखेर दिन सुरु गर्दा परिणाम राम्रो भएको छ। कुनै कामको लागि निस्कँदा हतार नहोस्‌ भनेर अहिले म छिट्टै निस्कने गर्छु।”

आत्मसंयम देखाउन चुक्दा

कहिलेकाहीँ हामी आत्मसंयम देखाउन चुक्छौँ। त्यतिबेला यहोवालाई प्रार्थना गर्न लाज लाग्न सक्छ। तर हामीले झनै प्रार्थना गर्नुपर्ने यस्तै बेला हो। त्यसैले यहोवालाई तुरुन्तै प्रार्थना गर्नुहोस्‌। उहाँसित क्षमा माग्नुहोस्‌, उहाँको मदत खोज्नुहोस्‌ र फेरि त्यही गल्ती नदोहोऱ्‍याउने अठोट गर्नुहोस्‌। (भज. ५१:९-११) क्षमा पाउन तपाईँले मनैदेखि गर्नुभएको प्रार्थनालाई यहोवाले तुच्छ ठान्‍नुहुनेछैन। (भज. १०२:१७) परमेश्‍वरको छोराको रगतले “हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ” भनी प्रेषित युहन्‍ना हामीलाई सम्झाउँछन्‌। (१ युह. १:७; २:१; भज. ८६:५) नबिर्सनुहोस्‌, यहोवाले आफ्ना सेवकहरूलाई एकअर्कालाई क्षमा दिइरहनू भन्‍नुभएको छ। त्यसकारण उहाँले पनि हामीलाई क्षमा दिनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।—मत्ति १८:२१, २२; कल. ३:१३.

मोसा निर्जनभूमिमा एकचोटि आत्मसंयम देखाउन चुक्दा यहोवा अप्रसन्‍न हुनुभयो। तर यहोवाले तिनलाई क्षमा दिनुभयो। मोसासित उल्लेखनीय विश्‍वास थियो भनेर परमेश्‍वरको वचनमा बताइएको छ। (व्यव. ३४:१०; हिब्रू ११:२४-२८) यहोवाले मोसालाई प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने अनुमति दिनुभएन तर उहाँले तिनलाई प्रमोदवनमा स्वागत गर्नुहुनेछ र तिनी सधैँभरि बाँच्न सक्नेछन्‌। आत्मसंयम देखाउन प्रयास गरिरह्‍यौँ भने हामीले पनि त्यस्तै आशा पाउनेछौँ।—१ कोरि. ९:२५.