सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २६

“मकहाँ फर्क”

“मकहाँ फर्क”

“मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु।”—मला. ३:७.

गीत १०२ ‘कमजोरहरूलाई मदत गर’

परिचय *

१. यहोवाबाट टाढिएको भेडा फर्कँदा उहाँ कस्तो महसुस गर्नुहुन्छ?

अघिल्लो लेखमा छलफल गरिएझैँ यहोवाले आफूलाई एक जना असल गोठालोको रूपमा चित्रण गर्नुभएको छ, जसले आफ्नो प्रत्येक भेडाको कोमलतासाथ हेरचाह गर्छ। त्यस्तो असल गोठालोले बरालिएको भेडालाई खोज्छ। यहोवालाई त्यागेका इस्राएलीहरूलाई उहाँले यसो भन्‍नुभयो: “मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु।” उहाँ अहिले पनि त्यस्तै महसुस गर्नुहुन्छ भनेर हामी पक्का छौँ किनभने उहाँ यसो भन्‍नुहुन्छ: “म कहिल्यै परिवर्तन हुन्‍नँ।” (मला. ३:६, ७) यहोवाबाट टाढिएको एक जना मात्रै उहाँकहाँ फर्कँदा पनि यहोवा र उहाँका दूतहरूमाझ निकै रमाहट हुन्छ भनेर येसुले बताउनुभयो।—लुका १५:१०, ३२.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यहोवाबाट टाढिएकाहरूलाई कसरी मदत गर्ने भन्‍नेबारे येसुले बताउनुभएको तीन वटा उदाहरण विचार गरौँ। हराएको भेडालाई यहोवाकहाँ फर्कन मदत गर्न हामीसित कुन-कुन गुण हुनुपर्छ भनेर छलफल गर्नेछौँ। अनि निष्क्रियहरूलाई मदत गर्न हामीले गरेको प्रयास किन खेर जानेछैन भनेर पनि बुझ्नेछौँ।

हराएको सिक्का खोज्नुहोस्‌

३-४. लुका १५:८-१० मा उल्लेख गरिएकी स्त्रीले हराएको सिक्का किन धुइँधुइँती खोजिन्‌?

यहोवाकहाँ फर्कन चाहनेहरूलाई खोज्न हामीले निकै प्रयास गर्नुपर्ने हुन्छ। लुकाले लेखेको सुसमाचारको किताबमा रेकर्ड गरिएको उदाहरणमा एउटी स्त्रीले आफ्नो बहुमूल्य कुरा अर्थात्‌ सिक्का कसरी खोजिन्‌ भनेर येसुले बताउनुभयो। यस उदाहरणबाट हामीले खोज्ने काम कसरी गर्नुपर्छ भनेर थाह पाउन सक्छौँ।—लुका १५:८-१० पढ्‌नुहोस्‌।

एउटी स्त्रीले आफ्नो हराएको सिक्का भेट्टाएपछि कस्तो महसुस गरिन्‌ भनेर येसुले बताउनुभयो। येसुको समयमा केही यहुदी आमाले छोरीको विवाहको दिन तिनलाई दस वटा सिक्का दिन्थे जस्तो देखिन्छ। ती स्त्रीले सायद त्यस्तै सिक्कामध्ये एउटा हराएकी हुनुपर्छ। तिनलाई सिक्का भुईँमा खस्यो होला जस्तो लाग्छ। त्यसैले दियो बालेर तिनले वरपर खोज्न थाल्छिन्‌ तर भेट्टाउँदिनन्‌। दियोको मधुरो उज्यालोमा तिनले चाँदीको सानो सिक्का देख्दिनन्‌। अन्तमा तिनी पूरै घर बढार्दै धुइँधुइँती खोज्छिन्‌। घर बढारेर निस्केको धुलोमा तिनी आफ्नो बहुमूल्य सिक्का टलटल टल्किरहेको देख्छिन्‌। तिनले कत्ति ढुक्क महसुस गरी होलिन्‌! तिनी आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछिन्‌ र सिक्का भेटिएको खबर सुनाउँछिन्‌।

५. निष्क्रियहरूलाई खोज्न किन निकै प्रयास गर्नुपर्ने हुन सक्छ?

येसुले बताउनुभएको उदाहरणबाट हराएको केही चिज भेट्टाउन निकै प्रयास गर्नुपर्छ भनेर थाह पाउन सक्छौँ। त्यसैगरि निष्क्रियहरूलाई भेट्टाउन पनि हामीले निकै प्रयास गर्नुपर्ने हुन सक्छ। तिनीहरूले हामीसित सङ्‌गत गर्न छोडेको वर्षौँ भइसक्यो होला। तिनीहरू सायद नयाँ इलाकामा बसाइँ सरे होलान्‌ र त्यहाँका भाइहरूले तिनीहरूलाई चिन्दैनन्‌। तर अहिल्यै पनि यहोवाकहाँ साँच्चै फर्कन चाहने निष्क्रिय व्यक्‍तिहरू छन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। यहोवाका साँचो उपासकहरू मिलेर बनेको परिवारसँगै तिनीहरू यहोवाको सेवा गर्न चाहन्छन्‌ तर तिनीहरूलाई हाम्रो मदतको खाँचो छ।

६. निष्क्रियहरूलाई खोज्ने काममा मण्डलीका सबैले कसरी भाग लिन सक्छन्‌?

निष्क्रियहरूलाई खोज्ने काममा क-कसले भाग लिन सक्छन्‌? सबैले—एल्डरहरू, अग्रगामीहरू, परिवारका सदस्यहरू र मण्डलीका प्रकाशकहरूले निष्क्रियहरूलाई भेट्टाउन मदत गर्न सक्छन्‌। तपाईँको साथी वा नातेदार कोही निष्क्रिय भएका छन्‌ कि? घरघरको प्रचारकार्य वा सार्वजनिक साक्षीकार्यमा भाग लिँदा तपाईँले निष्क्रिय भएको कसैलाई भेट्‌नुभएको छ कि? यदि तिनी आफूलाई भेट्‌न कोही आएको चाहन्छन्‌ भने तिनको सम्पर्क ठेगाना वा फोन नम्बर मण्डलीका एल्डरहरूलाई दिनेछु भनेर बताउनुहोस्‌।

७. थोमस नाम गरेका एल्डरले भनेको कुराबाट तपाईँले के सिक्नुभयो?

यहोवाकहाँ फर्कन चाहनेहरूलाई खोज्न एल्डरहरूले कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छन्‌? थोमस * नाम गरेका एल्डरले भनेको कुरा याद गर्नुहोस्‌। तिनी स्पेनमा बस्छन्‌ र तिनले ४० जना भन्दा धेरैलाई मण्डलीमा फर्कन मदत गरेका छन्‌। थोमस भन्छन्‌: “सुरुमा म विभिन्‍न भाइबहिनीलाई निष्क्रिय भएका कुनै भाइ वा बहिनी अहिले कहाँ बस्छन्‌ भनेर थाह छ कि भनेर सोध्छु। वा सभामा आउन छोडेका कोही याद छ कि भनेर प्रकाशकहरूलाई सोध्छु। यसरी सोध्दा भाइबहिनीहरू मदत गर्न अग्रसर हुन्छन्‌ किनकि उहाँहरू हराएको भेडा खोज्ने काममा आफूले पनि केही योगदान पुऱ्‍याउन सकेको महसुस गर्नुहुन्छ। अनि निष्क्रिय भाइबहिनीलाई भेट्‌न जाँदा म उहाँहरूको छोराछोरी र अरू नातेदारबारे पनि सोध्छु। अहिले निष्क्रिय भएका कोही-कोहीले पहिला आफ्ना छोराछोरीलाई सभामा ल्याउँथे र ती छोराछोरीमध्ये कोही-कोही प्रकाशक पनि भएका हुन सक्छन्‌। तिनीहरूलाई पनि यहोवाकहाँ फर्कन मदत गर्न सकिन्छ।”

यहोवाको हराएको छोराछोरीलाई उहाँकहाँ फर्काउनुहोस्‌

८. लुका १५:१७-२४ मा पाइने उदाहरणमा बुबाले पश्‍चात्तापी छोरासित कस्तो व्यवहार गरे?

यहोवाकहाँ फर्कन चाहनेहरूलाई मदत गर्न हामीसित कस्ता गुणहरू हुनुपर्छ? घर छोडेर गएको छोराबारे येसुले बताउनुभएको उदाहरणबाट कस्ता पाठहरू सिक्न सक्छौँ, याद गर्नुहोस्‌। (लुका १५:१७-२४ पढ्‌नुहोस्‌) पछि त्यस छोराको होस खुल्यो र उसले घर फर्कने निर्णय गऱ्‍यो। छोरालाई देखेपछि बुबा दौडेर गए र उसलाई अङ्‌गालो हले। यसरी ती बुबाले आफ्नो छोरालाई अझै पनि माया गरेको देखाए। छोरालाई अन्तस्करणले पिरोलिरहेको थियो र आफू छोरा भनिन लायकको छैनँ जस्तो लागिरहेको थियो। छोराले आफ्नो मनको बह पोख्दा बुबाले ऊप्रति समानुभूति देखाए। अनि छोरालाई ज्यालादारी कामदारको रूपमा नभई परिवारको प्यारो सदस्यको रूपमा स्विकारेको आफ्नो व्यवहारबाट देखाए। बुबाले पश्‍चात्ताप गर्ने त्यो छोराको लागि भोज दिए र उसलाई सबैभन्दा राम्रो पोसाक पहिराइदिए।

९. निष्क्रियहरूलाई यहोवाकहाँ फर्कन मदत गर्न हामीसित कस्ता गुणहरू हुनुपर्छ? (“ यहोवाकहाँ फर्कन चाहनेहरूलाई कसरी मदत गर्न सक्छौँ?” भन्‍ने पेटी हेर्नुहोस्‌।)

यहोवा उक्‍त उदाहरणका बुबाजस्तै हुनुहुन्छ। उहाँ निष्क्रिय भएका हाम्रा प्यारा दाजुभाइ दिदीबहिनीलाई माया गर्नुहुन्छ र तिनीहरू आफूकहाँ फर्केको चाहनुहुन्छ। यहोवाको उदाहरण अनुकरण गर्दै हामी तिनीहरूलाई उहाँकहाँ फर्कन मदत गर्न सक्छौँ। यसो गर्न हामीसित धीरज, समानुभूति र प्रेम हुनुपर्छ। हामीले किन यी गुणहरू देखाउनुपर्छ र कसरी यी गुणहरू देखाउन सक्छौँ?

१०. निष्क्रिय भएकाहरूलाई यहोवाकहाँ फर्कन मदत दिँदा धीरजी हुनु किन आवश्‍यक छ?

१० हामी धीरजी हुनुपर्छ किनभने निष्क्रिय व्यक्‍तिहरूलाई यहोवाकहाँ फर्कन समय लाग्छ। पहिला निष्क्रिय भएका धेरैले एल्डरहरू र मण्डलीका भाइबहिनी पटक-पटक भेट्‌न आएपछि मात्र फेरि यहोवाको सेवा गर्न थालेको कुरा मानिलिएका छन्‌। एसियाकी न्यान्सी नाम गरेकी बहिनीले यस्तो लेखिन्‌: “मण्डलीको एक जना मिल्ने साथीले मलाई धेरै मदत गर्नुभयो। उहाँले मलाई आफ्नै बहिनी ठानेर माया गर्नुभयो। विगतमा हामीले सँगै बिताएका रमाइला पलहरू सम्झाउनुभयो। मैले आफ्ना भावनाहरू पोख्दा धीरजी हुँदै सुन्‍नुभयो र मलाई सल्लाह दिन पनि अप्ठ्यारो मान्‍नुभएन। जुनसुकै बेला पनि मदत गर्न तयार भएर उहाँ मेरो साँचो साथी साबित हुनुभयो।”

११. निष्क्रिय व्यक्‍तिको मनमा लागेको चोट निको पार्न समानुभूति देखाउनु किन आवश्‍यक छ?

११ समानुभूति देखाउनु भनेको घाउमा मलहम लगाउनुजस्तै हो। यो गुण देखाउँदा निष्क्रिय व्यक्‍तिको मनमा लागेको चोट निको हुन सक्छ। निष्क्रिय भएका केहीलाई वर्षौँअघि मण्डलीको कसैले भनेको वा गरेको कुराले अझै पनि चित्त दुखिरहेको र रिस उठिरहेको हुन सक्छ। यस्ता भावनाहरूले तिनीहरूलाई यहोवाकहाँ फर्कन रोकिरहेको हुन सक्छ। तिनीहरूमध्ये कसै-कसैलाई आफूमाथि अन्याय भएको जस्तो लागेको हुन सक्छ। तिनीहरूलाई आफ्नो कुरा सुनिदिने र भावना बुझिदिने व्यक्‍तिको खाँचो परिरहेको हुन सक्छ। (याकु. १:१९) पहिला निष्क्रिय भएकी मारिया यसो भन्छिन्‌: “मलाई मेरो कुरा सुनिदिने, मेरो पीडा बुझिदिने अनि मलाई राम्रो सल्लाह र मदत दिन सक्ने व्यक्‍तिको खाँचो थियो।”

१२. यहोवाको प्रेमले निष्क्रियहरूलाई कसरी उहाँतर्फ खिच्छ, उदाहरणसहित बताउनुहोस्‌।

१२ आफ्ना जनहरूप्रतिको यहोवाको मायालाई बाइबलमा धागो अर्थात्‌ डोरीसित तुलना गरिएको छ। परमेश्‍वरको माया कुन अर्थमा डोरीजस्तै छ? एउटा उदाहरण विचार गर्नुहोस्‌: मानौँ, छालहरू उर्लिएर आएकोले तपाईँ समुद्रमा डुब्न लाग्नुभएको छ। त्यत्तिकैमा कसैले तपाईँतिर लाईफ ज्याकेट फ्याँकिदिन्छ। लाईफ ज्याकेटले गर्दा तैरिरहन अलि सजिलो हुने भएकोले तपाईँ यसको लागि पक्कै पनि धन्यवादी हुनुहुनेछ। तर त्यही लाईफ ज्याकेटको सहाराले मात्र तपाईँ बच्न सक्नुहुन्‍न। पानी चिसो भएकोले डुङ्‌गासम्म पुग्नुभएन भने तपाईँको ज्यान जान सक्छ। कसैले तपाईँ भएतिर डोरी फाल्नुपर्छ र तपाईँलाई डुङ्‌गातिर तान्‍नुपर्छ। यहोवाले आफूबाट टाढिएका इस्राएलीहरूबारे यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई मायाको धागोले मतर्फ खिचेँ।” (होसे ११:४) चिन्ता र समस्याको भुमरीमा फसेर अहिले यहोवाको सेवा गर्न छोडेका सेवकहरूबारे पनि उहाँ यस्तै महसुस गर्नुहुन्छ। आफूले माया गरेको कुरा तिनीहरूले बुझेको यहोवा चाहनुहुन्छ र तिनीहरूलाई आफूकहाँ खिच्न उहाँ इच्छुक हुनुहुन्छ। अनि तिनीहरूलाई यहोवाको यो प्रेम महसुस गराउन उहाँ तपाईँलाई चलाउन सक्नुहुन्छ।

१३. हामीले देखाउने प्रेमले अरूलाई यहोवाकहाँ फर्कन मदत गर्छ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्‌।

१३ यहोवा निष्क्रियहरूलाई माया गर्नुहुन्छ र हामी पनि तिनीहरूलाई माया गर्छौँ भन्‍ने कुरामा ढुक्क बनाउनु आवश्‍यक छ। यसअघिको लेखमा उल्लिखित पाब्लो ३० वर्षभन्दा लामो समय निष्क्रिय भएका थिए। तिनी यसो भन्छन्‌: “एकदिन बिहान म घरबाट निस्कँदै थिएँ। त्यतिबेला एक दयालु दिदीले मलाई भेट्‌नुभयो र मसित मायालु तरिकामा कुरा गर्नुभयो। म बच्चाजस्तै रुन थालेँ। यहोवाले नै उहाँलाई मसित कुरा गर्न पठाउनुभएको जस्तो लाग्यो भनेर मैले उहाँलाई बताएँ। हो, मैले त्यति नै बेला यहोवाकहाँ फर्कने निर्णय गरेँ।”

कमजोरहरूलाई मायालु साथ दिनुहोस्‌

१४. लुका १५:४, ५ मा बताइएको उदाहरणअनुसार हराएको भेडा भेटिएपछि गोठालोले के गरे?

१४ हामीले निष्क्रियहरूलाई निरन्तर साथ दिइरहनुपर्छ। येसुले बताउनुभएको उदाहरणको हराएको छोराले जस्तै तिनीहरूले पनि गहिरो भावनात्मक चोट भोगेका हुन सक्छन्‌। अनि सैतानको संसारमा रुमलिएकोले तिनीहरू आध्यात्मिक तवरमा कमजोर भएका छन्‌ होला। यहोवामाथिको विश्‍वास फेरि बलियो बनाउन हामीले तिनीहरूलाई मदत गर्नुपर्छ। येसुले हराएको भेडाको उदाहरणमा गोठालोले भेडा भेटेपछि त्यसलाई आफ्नो काँधमा राखेर बगालमा फिर्ता ल्याएको कुरा बताउनुभयो। भेडालाई खोज्न गोठालोले निकै समय र शक्‍ति खर्च गरिसकेका थिए। तैपनि त्यस भेडासित बगालमा फर्कने तागतै नभएकोले गोठालोले त्यसलाई बोकेरै बगालमा ल्याउनुपर्ने महसुस गर्छन्‌।लुका १५:४, ५ पढ्‌नुहोस्‌।

१५. यहोवाकहाँ फर्कन चाहने कमजोरहरूलाई हामी कसरी साथ दिन सक्छौँ? (“ एउटा बहुमूल्य साधन” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१५ फेरि यहोवाको सेवा गर्न निष्क्रियहरूलाई कुनै कमीकमजोरीले बाधा पुऱ्‍याइरहेको हुन सक्छ। तिनीहरूलाई ती कमीकमजोरी हटाउन मदत गर्न हामीले निकै समय र शक्‍ति खर्च गर्नुपर्ने हुन सक्छ। तर यहोवाको पवित्र शक्‍ति, उहाँको वचन र सङ्‌गठनमार्फत पाएका प्रकाशनहरूको मदतले हामी तिनीहरूलाई आध्यात्मिक तवरमा फेरि बलियो हुन मदत गर्न सक्छौँ। (रोमी १५:१) हामी कसरी यसो गर्न सक्छौँ? एक अनुभवी एल्डर यसो भन्छन्‌: “फेरि यहोवाको सेवा गर्ने निर्णय गरेका धेरैजसो निष्क्रियहरूलाई बाइबल अध्ययन गराउनुपर्ने हुन्छ।” त्यसैले निष्क्रिय व्यक्‍तिलाई बाइबल अध्ययन गराउन आग्रह गरियो भने त्यो सुअवसर खुसीसाथ स्विकार्नुभए कसो होला? * ती एल्डर यसो पनि भन्छन्‌: “निष्क्रिय व्यक्‍तिलाई अध्ययन गराउने प्रकाशक असल साथी बनिदिनुपर्छ, जसलाई तिनले भरोसा गर्न र तिनीसित खुलेर कुरा गर्न सक्छन्‌।”

स्वर्ग र पृथ्वीमा रमाहट

१६. स्वर्गदूतहरूले मदत गर्छन्‌ भनेर हामी कसरी थाह पाउन सक्छौँ?

१६ यहोवाकहाँ फर्कन चाहने निष्क्रिय व्यक्‍तिहरूलाई भेट्टाउन स्वर्गदूतहरू हामीसँगै काम गर्छन्‌ भनेर धेरै अनुभवले देखाउँछ। (प्रका. १४:६) उदाहरणको लागि, इक्वेडरका सिल्भियोले मण्डलीमा फर्कन मदत गर्नुहोस्‌ भनेर यहोवालाई व्यग्र प्रार्थना गरे। तिनले प्रार्थना गरिरहेकै बेला तिनको घरको घण्टी बज्यो। तिनको ढोकामा दुई जना एल्डर उभिरहेका थिए। त्यही भेटदेखि तिनलाई आवश्‍यक मदत दिन पाएकोमा ती एल्डरहरू औधी खुसी भए।

१७. आध्यात्मिक तवरमा कमजोर भएकाहरूलाई मदत गर्दा हामी कस्तो इनाम पाउँछौँ?

१७ आध्यात्मिक तवरमा कमजोर भएकाहरूलाई यहोवाकहाँ फर्कन मदत गर्दा हामीले अपार आनन्द पाउनेछौँ। निष्क्रियहरूलाई मदत गर्न विशेष प्रयास गर्ने साल्भाडोर नाम गरेका अग्रगामी के भन्छन्‌, याद गर्नुहोस्‌: “कहिलेकाहीँ खुसीको आँसु थाम्नै सक्दिनँ। यहोवाले आफ्नो प्यारो भेडालाई सैतानको संसारबाट जोगाउनुभएको अनि यहोवासितै मिलेर यो काम गर्ने सुअवसर पाएको कुरा सोच्दा खुसीको सीमै रहँदैन।”—प्रेषि. २०:३५.

१८. तपाईँ निष्क्रिय हुनुभएको छ भने कुन कुरामा ढुक्क हुन सक्नुहुन्छ?

१८ तपाईँले यहोवाका सेवकहरूसित सङ्‌गत गर्न छोड्‌नुभएको छ भने पनि यहोवा तपाईँलाई अझै माया गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। तपाईँ यहोवाकहाँ फर्केको उहाँ चाहनुहुन्छ। उहाँकहाँ फर्कन तपाईँले केही कदम चाल्नुपर्ने हुन्छ। तर येसुले बताउनुभएको उदाहरणका बुबाजस्तै यहोवा तपाईँ फर्कनुहुने दिनको प्रतीक्षा गर्दै हुनुहुन्छ अनि उहाँले तपाईँलाई खुसीसाथ स्वागत गर्नुहुनेछ।

गीत १०३ गोठालाहरू—वरदानको रूपमा पुरुषहरू

^ अनु. 5 मण्डलीसित सङ्‌गत गर्न छोडेकाहरू यहोवाकहाँ फर्केको उहाँ चाहनुहुन्छ। “मकहाँ फर्क” भन्‍ने यहोवाको निम्तो स्विकार्न चाहनेहरूलाई प्रोत्साहन दिन हामी धेरै कुरा गर्न सक्छौँ। यस लेखमा हामी तिनीहरूलाई यहोवाकहाँ फर्कन कसरी मदत दिन सक्छौँ भनेर छलफल गर्नेछौँ।

^ अनु. 7 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 15 केही निष्क्रियहरूलाई मदत गर्न परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌ किताबको केही भागबाट अध्ययन गराउन सकिन्छ भने कसै-कसैले यहोवासित नजिक हुनुहोस्‌ (अङ्‌ग्रेजी) किताबको कुनै-कुनै अध्याय छलफल गरेर लाभ उठाएका छन्‌। निष्क्रियहरूलाई अध्ययन गराउन योग्य प्रकाशक छान्‍ने जिम्मेवारी मण्डलीको सेवा समितिको हो।

^ अनु. 68 चित्रको व्याख्या: तीन जना भाइले यहोवाकहाँ फर्कन चाहने भाइलाई मदत गर्दै छन्‌। उनीहरू ती भाइसित सम्पर्क गर्छन्‌, तिनलाई माया गरेको कुरामा तिनलाई ढुक्क बनाउँछन्‌ र तिनको कुरा ध्यान दिएर सुन्छन्‌।