सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २५

“म आफै मेरा भेडाहरूलाई खोज्नेछु”

“म आफै मेरा भेडाहरूलाई खोज्नेछु”

“म आफै मेरा भेडाहरूलाई खोज्नेछु। म आफै तिनीहरूको हेरचाह गर्नेछु।”—इज. ३४:११.

गीत १०५ “परमेश्‍वर प्रेम हुनुहुन्छ”

परिचय *

१. यहोवाले किन आफूलाई दूधेबालकको आमासित तुलना गर्नुभयो?

“के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र?” यो प्रश्‍न यहोवाले भविष्यवक्‍ता यसैयाको समयमा सोध्नुभएको थियो। त्यो प्रश्‍न सोधेपछि उहाँले आफ्ना जनहरूलाई यसो भन्‍नुभयो: “तिनीहरूले बिर्सेलान्‌ तर म तिमीलाई कहिल्यै बिर्सनेछैनँ।” (यसै. ४९:१५) हुनत बाइबलमा यहोवाले आफूलाई एक जना आमासित तुलना गर्नुभएको विवरण त्यत्ति पाइँदैन। तर यस पदमा भने उहाँले आफूलाई एउटी आमासित तुलना गर्नुभएको छ। आफ्ना जनहरूलाई कत्ति धेरै माया गर्छु भनी देखाउन यहोवाले एउटी आमा र बच्चाबीचको बन्धनबारे बताउनुभयो। थुप्रै आमाले ज्यास्मिन नाम गरेकी बहिनीले जस्तै महसुस गर्छन्‌। तिनी यसो भन्छिन्‌: “आफ्नो बच्चालाई दूध खुवाउँदा ऊसित एकदमै विशेष बन्धन गाँसिन्छ, जुन जिन्दगीभर रहन्छ।”

२. आफ्नो कुनै छोरा वा छोरी मण्डलीबाट टाढिँदा यहोवालाई कस्तो लाग्छ?

यहोवा आफ्नो कुनै छोरा वा छोरीले ख्रिष्टियन मण्डलीसित सङ्‌गत गर्न अनि प्रचारकार्यमा भाग लिन छोड्‌दा त्यो याद गर्नुहुन्छ। त्यसैले हरेक वर्ष आफ्ना हजारौँ सेवक निष्क्रिय * भएको देख्दा उहाँलाई कत्ति दुःख लाग्छ होला, सोच्नुहोस्‌ त!

३. यहोवा के चाहनुहुन्छ?

निष्क्रिय भएका हाम्रा यी प्यारा दाजुभाइ दिदीबहिनीमध्ये धेरै जना मण्डलीमा फर्केर आउँछन्‌ अनि हामी तिनीहरूलाई न्यानो स्वागत गर्छौँ। तिनीहरू फर्केर आएको यहोवा चाहनुहुन्छ र हामी पनि त्यही चाहन्छौँ। (१ पत्रु. २:२५) हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ? यस प्रश्‍नको जवाफ पाउनुअघि कोही-कोही किन सभामा आउन अनि प्रचारकार्यमा भाग लिन छोड्‌छन्‌, त्यो बुझ्नु राम्रो हो।

कोही-कोही किन यहोवाको सेवा गर्न छोड्‌छन्‌?

४. कोही-कोहीलाई आफ्नो कामले गर्दा के हुन्छ?

कोही-कोही आफ्नो काममै चुर्लुम्म डुबेका छन्‌। एसियामा बस्ने हुङ * नाम गरेका भाइ यसो भन्छन्‌: “मैले आफ्नो काममा बढ्‌तै समय र शक्‍ति खर्च गर्न थालेँ। धेरै पैसा कमाएँ भने मात्रै यहोवाको सेवा राम्रोसित गर्न सक्छु भन्‍ने मूर्ख सोचाइ राखेको थिएँ। त्यसैले मैले झन्‌झन्‌ धेरै समय काममा बिताएँ। मैले धेरै चोटि सभाहरू छुटाएँ र पछि मण्डलीसित सङ्‌गतै गर्न छोडेँ। यो संसारको दाउ नै परमेश्‍वरका जनहरूलाई अलि-अलि गर्दै उहाँदेखि टाढा लैजान खोज्ने हो जस्तो लाग्छ।”

५. एकपछि अर्को समस्याले गर्दा एउटी बहिनीलाई के भयो?

केही भाइबहिनी आफूमाथि आइपरेका समस्याहरूले गर्दा हताश हुन्छन्‌। बेलायतकी आन नाम गरेकी बहिनीको पाँच छोराछोरी छन्‌। तिनी यसो भन्छिन्‌: “मेरो एक जना छोरामा जन्मँदै गम्भीर स्वास्थ्य समस्या थियो। पछि एउटी छोरी बहिष्कार भई र अर्को छोरा मानसिक रोगी भयो। त्यसैले म असाध्यै निराश भएँ अनि सभा र प्रचारमा जानै छोडेँ। पछि म निष्क्रिय भएँ।” आन र तिनको परिवार अनि तिनले जस्तै समस्या भोगिरहेकाहरूलाई देख्दा हाम्रो मन छियाछिया हुन्छ।

६. कलस्सी ३:१३ को सल्लाह लागू नगर्दा कोही-कोही कसरी यहोवाका जनहरूदेखि टाढिन सक्छन्‌?

कलस्सी ३:१३ पढ्‌नुहोस्‌। यहोवाका केही सेवकलाई कुनै भाइ वा बहिनीले गर्दा चित्त दुख्न सक्छ। कहिलेकाहीँ कुनै भाइ वा बहिनीको “विरुद्धमा केही गुनासो” गर्ने जायज कारण हुन सक्छ भनी प्रेषित पावलले मानिलिए। हामी अन्यायपूर्ण व्यवहारको सिकारसमेत भएका हुन सक्छौँ। हामीले आफूलाई काबूमा राखेनौँ भने मनमा तीतोपना बढ्‌दै जान सक्छ। अनि यस्तो तीतो भावनाले गर्दा हामी बिस्तारै यहोवाका जनहरूदेखि टाढिन सक्छौँ। दक्षिण अमेरिकामा बस्ने पाब्लो भाइको अनुभव विचार गर्नुहोस्‌। तिनलाई गलत काम गरेको झूटो आरोप लगाइएको थियो। त्यसैले तिनले मण्डलीमा पाइरहेको सुअवसर गुमाए। त्यसपछि तिनले के गरे? पाब्लो भन्छन्‌: “मलाई एकदमै रिस उठ्यो अनि म मण्डलीबाट बिस्तारै टाढिन थालेँ।”

७. दोषी अन्तस्करणले गर्दा कोही-कोहीले के गर्न सक्छन्‌?

विगतमा परमेश्‍वरको नियम उल्लङ्‌घन गरेका कोही-कोहीलाई भने दोषी अन्तस्करणले पिरोल्न सक्छ र आफू परमेश्‍वरको प्रेम पाउन लायक छैनँ जस्तो लाग्न सक्छ। त्यस्तो व्यक्‍तिले पश्‍चात्ताप गरेर क्षमा पाइसकेको भए तापनि तिनलाई आफू परमेश्‍वरको जन भइरहन योग्य छैनँ जस्तो लाग्न सक्छ। फ्रान्सिस्को नाम गरेका भाइले त्यस्तै महसुस गरे। तिनी यसो भन्छन्‌: “अवैध यौनसम्बन्ध राखेकोले मलाई न्यायिक सुधार गरिएको थियो। सुरु-सुरुमा म सभामा जान्थेँ। तर म निराश भएँ र यहोवाका सेवकहरूमाझ रहन योग्य छैनँ जस्तो लाग्यो। मेरो अन्तस्करणले मलाई घोचिरहन्थ्यो र यहोवाले मलाई क्षमा दिनुभएको छैन जस्तो लाग्थ्यो। बिस्तारै मैले मण्डलीसित सङ्‌गतै गर्न छोडेँ।” हामीले अहिलेसम्म छलफल गरेका भाइबहिनीको जस्तै अवस्था भोगिरहेकाहरूप्रति तपाईँ कस्तो महसुस गर्नुहुन्छ? के तपाईँ तिनीहरूप्रति समानुभूति देखाउनुहुन्छ? अझ महत्त्वपूर्ण कुरा, यहोवा तिनीहरूप्रति कस्तो महसुस गर्नुहुन्छ?

यहोवा आफ्नो भेडालाई माया गर्नुहुन्छ

इस्राएली गोठालो आफ्नो हराएको भेडाको निकै चिन्ता गर्थे (अनुच्छेद ८-९ हेर्नुहोस्‌) *

८. पहिला यहोवाको सेवा गरेकाहरूलाई के उहाँ बिर्सनुहुन्छ? व्याख्या गर्नुहोस्‌।

पहिला यहोवाको सेवा गरेका तर केही समयको लागि उहाँका जनहरूसित सङ्‌गत गर्न छोडेकाहरूलाई उहाँ बिर्सनुहुन्‍न न त तिनीहरूले गरेको काम नै बिर्सनुहुन्छ। (हिब्रू ६:१०) यहोवा आफ्ना सेवकहरूको कसरी हेरचाह गर्नुहुन्छ भनेर बुझाउन भविष्यवक्‍ता यसैयाले एउटा सुन्दर उदाहरण चलाए। तिनले यस्तो लेखे: “गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ। आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछ र तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।” (यसै. ४०:११) कुनै एउटा भेडाले बाटो बिराउँदा महान्‌ गोठालो यहोवा कस्तो महसुस गर्नुहुन्छ? येसुले यहोवाको भावना झल्काउँदै आफ्ना चेलाहरूलाई यस्तो प्रश्‍न सोध्नुभयो: “तिमीहरूलाई कस्तो लाग्छ? यदि कुनै मानिसको १०० वटा भेडा छन्‌ र तीमध्ये एउटाले बाटो बिरायो भने ९९ वटालाई डाँडामै छोडेर के ऊ बाटो बिराउने त्यो एउटा भेडा खोज्न जाँदैन र? अनि उसले त्यसलाई केही गरी भेट्टाइहाल्यो भने म तिमीहरूलाई साँच्चै भन्छु, बाटो नबिराएका ९९ वटाका लागि भन्दा त्यो एउटाको लागि ऊ धेरै रमाउनेछ।”—मत्ति १८:१२, १३.

९. बाइबलकालीन समयमा असल गोठालाहरूले कसरी आफ्नो भेडाको हेरचाह गर्थे? (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌)

यहोवालाई गोठालोसित तुलना गर्न किन सुहाउँछ? किनभने बाइबलकालीन समयमा असल गोठालोले आफ्नो भेडाको निकै हेरचाह गर्थे। उदाहरणको लागि, दाउदले आफ्नो बगाललाई जोगाउन एकपटक सिंहसित अनि अर्को पटक भालुसित लडे। (१ समु. १७:३४, ३५) एउटा मात्रै भेडा हराएको किन नहोस्‌, असल गोठालोले त्यो याद गरिहाल्छन्‌। (युह. १०:३, १४) त्यस्तो गोठालो आफ्नो ९९ वटा भेडालाई गोठमा राखेर वा अरू गोठालाहरूको जिम्मा लगाएर हराएको एउटा भेडा खोज्न जान्छ। यो उदाहरण चलाएर येसुले हामीलाई एउटा महत्त्वपूर्ण सत्य सिकाउनुभयो: “स्वर्गमा बस्नुहुने मेरा बुबा यी सानाहरूमध्ये एउटाले पनि बाटो बिराएको चाहनुहुन्‍न।”—मत्ति १८:१४.

इस्राएली गोठालो आफ्नो हराएको भेडाको निकै चिन्ता गर्थे (अनुच्छेद ९ हेर्नुहोस्‌)

यहोवा आफ्नो भेडालाई खोज्नुहुन्छ

१०. इजकिएल ३४:११-१६ अनुसार यहोवाले हराएको भेडालाई के गर्नेछु भनेर वाचा गर्नुभएको छ?

१० यहोवा हामी प्रत्येकलाई माया गर्नुहुन्छ, बगालबाट बाटो बिराएका “सानाहरू”-लाई समेत। आफ्ना हराएका भेडाहरूलाई खोज्नेछु र तिनीहरूलाई आध्यात्मिक तवरमा बलियो पार्न मदत गर्नेछु भनेर यहोवाले भविष्यवक्‍ता इजकिएलमार्फत वाचा गर्नुभयो। तिनीहरूलाई बगालमा फर्काउन आफूले चाल्ने खास कदमहरू उहाँले उल्लेख गर्नुभयो। इस्राएली गोठालोले आफ्नो हराएको भेडा खोज्न पनि यी नै कदमहरू चाल्थे। (इजकिएल ३४:११-१६ पढ्‌नुहोस्‌) सबैभन्दा पहिला गोठालोले भेडालाई खोज्थे अनि यसो गर्न निकै समय लाग्थ्यो र मेहनत गर्नुपर्ने हुन्थ्यो। बाटो बिराएको भेडा भेट्टाएपछि गोठालोले त्यसलाई बगालमा फर्काएर ल्याउँथे। अनि यदि भेडालाई चोटपटक लागेको छ वा भोकाएको छ भने गोठालोले त्यस कमजोर भेडालाई माया गरेर मलहमपट्टी लगाइदिन्थे, बोक्थे अनि खुवाउँथे। “परमेश्‍वरको बगाल”-को गोठालोको रूपमा सेवा गर्ने एल्डरहरूले मण्डलीबाट टाढिएकाहरूलाई मदत गर्न यी नै कदम चाल्नुपर्छ। (१ पत्रु. ५:२, ३) एल्डरहरू तिनीहरूलाई खोज्छन्‌, मण्डलीमा फर्कन मदत गर्छन्‌ र आवश्‍यक आध्यात्मिक मदत दिएर तिनीहरूलाई प्रेम गरेको देखाउँछन्‌। *

११. असल गोठालोले कुन कुरा बुझेका हुन्थे?

११ असल गोठालोले आफ्नो भेडा हराउन सक्छ भनेर बुझेका हुन्थे। भेडा आफ्नो बगालबाट बाटो बिराएर गए तापनि गोठालोले त्यससित कठोर व्यवहार गर्दैनथे। केही समयको लागि आफूबाट टाढिएका सेवकहरूलाई मदत गर्न यहोवाले बसाल्नुभएको उदाहरण विचार गर्नुहोस्‌।

१२. यहोवाले योनासित कस्तो व्यवहार गर्नुभयो?

१२ भविष्यवक्‍ता योना आफ्नो असाइनमेन्टदेखि भागे। तैपनि यहोवाले योनालाई उत्तिखेरै त्याग्नुभएन। असल गोठालोले जस्तै यहोवाले तिनलाई फर्काएर ल्याउनुभयो र तिनलाई आफ्नो असाइनमेन्ट पूरा गर्न चाहिने बल प्राप्त गर्न मदत गर्नुभयो। (योना २:७; ३:१, २) पछि यहोवाले लौकाको बोटको उदाहरण चलाउनुभएर योनालाई प्रत्येक मानिसको जीवन अनमोल छ भनेर बुझाउनुभयो। (योना ४:१०, ११) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? एल्डरहरूले निष्क्रिय भएकाहरू फर्केर आउँदैनन्‌ भनेर तुरुन्तै हार मान्‍नु हुँदैन। बरु तिनीहरू त्यो भेडा बगालबाट टाढिनुको कारण के हो भनेर बुझ्ने प्रयास गर्छन्‌। अनि त्यो भेडा यहोवाकहाँ फर्केर आएपछि एल्डरहरू तिनलाई मायालु चासो देखाइरहन्छन्‌।

१३. यहोवाले भजन ७३ का लेखकलाई देखाउनुभएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौँ?

१३ दुष्टहरूको फलिफाप भएको देखेर भजन ७३ का लेखक निराश भए। परमेश्‍वरको इच्छाअनुसार गर्नु बेकार हो जस्तो तिनलाई लाग्यो। (भज. ७३:१२, १३, १६) यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले तिनलाई दोषी ठहराउनुभएन। वास्तवमा उहाँले तिनका शब्दहरू बाइबलमा रेकर्ड गर्न लगाउनुभयो। पछि ती भजनहारले यहोवासित राम्रो सम्बन्ध गाँस्नुभन्दा उत्तम कुरा जीवनमा अरू केही छैन भनी बुझे। (भज. ७३:२३, २४, २६, २८) यसबाट कस्तो पाठ सिक्न सक्छौँ? ‘यहोवाको सेवा गर्दा कुनै फाइदा छ र?’ भनेर कसैले शङ्‌का गरेमा एल्डरहरूले तिनलाई दोषी ठहराइहाल्नु हुँदैन। बरु तिनले त्यसो भन्‍नु र त्यस्तो व्यवहार गर्नुको कारण एल्डरहरूले बुझ्ने कोसिस गर्नुपर्छ। तब मात्र एल्डरहरूले तिनलाई बाइबलबाट आवश्‍यक प्रोत्साहन दिन सक्छन्‌।

१४. एलियालाई किन मदत चाहिएको थियो? यहोवाले तिनलाई कसरी मदत गर्नुभयो?

१४ भविष्यवक्‍ता एलिया रानी ईजेबेलदेखि भागे। (१ राजा १९:१-३) तिनलाई यहोवाको भविष्यवक्‍ताको रूपमा सेवा गर्ने आफूबाहेक अरू कोही पनि छैन र आफूले गरिरहेको काम बेकार छ जस्तो लाग्यो। तिनी यत्ति निराश भए कि तिनी मर्न चाहन्थे। (१ राजा १९:४, १०) यहोवाले एलियालाई दोषी ठहराउनुको साटो तिनी एक्लो छैनन्‌, तिनले परमेश्‍वरको शक्‍तिमाथि भरोसा राख्न सक्छन्‌ र तिनले गर्नुपर्ने काम अझै बाँकी छ भनेर तिनलाई आश्‍वासन दिनुभयो। एलियाले चिन्ता व्यक्‍त गर्दा यहोवाले दयालु भई सुन्‍नुभयो र तिनलाई नयाँ असाइनमेन्टहरू दिनुभयो। (१ राजा १९:११-१६, १८) यसबाट कस्तो पाठ सिक्न सक्छौँ? हामी सबैले, अझ विशेषगरि एल्डरहरूले यहोवाको भेडासित दयालु व्यवहार गर्नुपर्छ। कुनै व्यक्‍तिले जीवनमा तीतोपना महसुस गर्दा वा यहोवाको कृपा पाउन योग्य छैनँ जस्तो लागेकोले मनको बह पोख्दा एल्डरहरूले तिनको कुरा ध्यान दिएर सुन्‍नेछन्‌। त्यसपछि एल्डरहरूले ती हराएको भेडालाई तिनी यहोवाको नजरमा बहुमूल्य छन्‌ भनेर ढुक्क बनाउने कोसिस गर्नेछन्‌।

परमेश्‍वरको हराएको भेडाप्रति हामीले कस्तो महसुस गर्नुपर्छ?

१५. युहन्‍ना ६:३९ अनुसार आफ्नो बुबाको भेडाप्रति येसुले कस्तो महसुस गर्नुभयो?

१५ हराएको भेडाप्रति हामीले कस्तो महसुस गरेको यहोवा चाहनुहुन्छ? येसुले हाम्रो निम्ति नमुना बसाल्नुभएको छ। यहोवाको नजरमा सबै भेडा बहुमूल्य छन्‌ भनेर येसुलाई थाह थियो। त्यसैले “इस्राएलको घरानाका . . . हराएका भेडाहरू”-लाई यहोवाकहाँ फर्काउन येसुले सक्दो मदत गर्नुभयो। (मत्ति १५:२४; लुका १९:९, १०) असल गोठालो येसुले पनि यहोवाको एउटै भेडा नहराऊन्‌ भनेर सक्दो कोसिस गर्नुभयो।युहन्‍ना ६:३९ पढ्‌नुहोस्‌।

१६-१७. यहोवाबाट टाढिएकाहरूलाई मदत गर्ने जिम्मेवारीलाई एल्डरहरूले कसरी हेर्नुपर्छ? (“ हराएको भेडाले कस्तो महसुस गरिरहेका हुन सक्छन्‌?” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१६ प्रेषित पावलले एफिससको मण्डलीका एल्डरहरूलाई येसुको उदाहरण अनुकरण गर्न यसरी आग्रह गरे: “तपाईँहरूले . . . कमजोरहरूलाई मदत गर्नुपर्छ अनि ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ’ भनेर प्रभु येसु आफैले भन्‍नुभएको वचन सधैँ सम्झनुपर्छ।” (प्रेषि. २०:१७, ३५) स्पष्ट छ, आज एल्डरहरूले यहोवाका सेवकहरूको हेरचाह गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्‌। स्पेनका साल्भाडोर नाम गरेका एल्डर यसो भन्छन्‌: “यहोवा आफ्नो हराएको भेडाको कत्ति धेरै हेरचाह गर्नुहुन्छ भनेर सोच्दा तिनीहरूलाई सक्दो मदत गर्न उत्प्रेरित हुन्छु। आध्यात्मिक गोठालो भएकोले मैले ती हराएको भेडाको हेरचाह गरेको यहोवा चाहनुहुन्छ भन्‍ने कुरामा म विश्‍वस्त छु।”

१७ यस लेखमा चर्चा गरिएका व्यक्‍तिहरू, जो यहोवाबाट टाढिएका थिए तिनीहरू सबैले उहाँकहाँ फर्कन मदत पाए। अहिल्यै पनि त्यस्ता थुप्रै व्यक्‍तिहरू यहोवाकहाँ फर्कन चाहन्छन्‌। यसपछिको लेखमा तिनीहरूलाई यहोवाकहाँ फर्काउन हामी के गर्न सक्छौँ भनेर अझ विस्तृत तवरमा छलफल गरिनेछ।

गीत १३९ नयाँ संसारको जीवन कल्पना गरौँ!

^ अनु. 5 वर्षौँसम्म वफादार भई यहोवाको सेवा गरेका कोही-कोही किन मण्डलीबाट टाढिन्छन्‌? तिनीहरूबारे परमेश्‍वर कस्तो महसुस गर्नुहुन्छ? यस लेखमा हामी यी प्रश्‍नहरू विचार गर्नेछौँ। साथै बाइबलकालीन समयमा यहोवाले आफूबाट केही समयको लागि टाढिएका सेवकहरूलाई मदत गर्नुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ भनेर पनि छलफल गर्नेछौँ।

^ अनु. 2 थप व्याख्या: कुनै प्रकाशकले छ महिना वा त्योभन्दा लामो समयसम्म प्रचार गर्ने वा चेला बनाउने काममा पटक्कै भाग लिएका छैनन्‌ भने तिनलाई निष्क्रिय प्रकाशक भनिन्छ। तैपनि ती निष्क्रिय प्रकाशकहरू हाम्रा दाजुभाइ दिदीबहिनी नै हुन्‌ र हामी तिनीहरूलाई माया गर्छौँ।

^ अनु. 4 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 10 यसपछिको लेखमा एल्डरहरूले यी कदमहरू चाल्न सक्ने खास तरिकाहरू छलफल गरिनेछ।

^ अनु. 60 चित्रको व्याख्या: एक इस्राएली गोठालो आफ्नो हराएको भेडाको चिन्ता गर्छन्‌ र त्यसलाई खोज्छन्‌ अनि बगालमा फर्काएर ल्याउन सक्दो गर्छन्‌। अहिले आध्यात्मिक गोठालोहरू पनि त्यस्तै गर्छन्‌।

^ अनु. 63 चित्रको व्याख्या: बस छुट्‌नुअघि एक निष्क्रिय बहिनी दुई साक्षीले खुसी हुँदै सार्वजनिक साक्षीकार्यमा भाग लिएको हेरिरहन्छिन्‌।