सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँलाई थाह थियो?

के तपाईँलाई थाह थियो?

येसुको समयका मानिसहरूले के-कस्ता करहरू तिर्नुपर्थ्यो?

पुरातन समयदेखि नै इस्राएलीहरूले साँचो उपासनालाई सघाउन अनुदान दिँदै आएका थिए। तर येसुको समयका यहुदीहरूले थुप्रै कर तिर्नुपर्थ्यो, जसले गर्दा तिनीहरूको जीवन निकै कष्टकर भएको थियो।

परमेश्‍वरको उपासनास्थलमा हुने गतिविधिलाई सघाउनको निम्ति सबै वयस्क यहुदी पुरुषहरूले आधा शेकेल (दुई ड्राक्मा) कर तिर्नुपर्थ्यो। प्रथम शताब्दीमा त्यो कर हेरोदले बनाएको मन्दिरलाई दुरुस्त राख्न र बलिदानहरूको लागि प्रयोग गरिन्थ्यो। केही यहुदीहरूले यस्तो कर तिर्ने विषयमा येसुको धारणा कस्तो छ भनेर पत्रुसलाई सोधे। येसुले यस्तो कर तिर्ने कुराको विरोध गर्नुभएन। बरु उहाँले पत्रुसलाई माछाको मुखबाट एउटा सिक्का लिएर कर तिर्न अह्राउनुभयो।—मत्ति १७:२४-२७.

त्यतिबेला परमेश्‍वरका जनहरूले दशांश पनि चढाउनुपर्थ्यो। दशांश भनेको बालीको वा कमाइको दस भागको एक भाग हो। (लेवी २७:३०-३२; गन्ती १८:२६-२८) त्यतिबेलाका धर्मगुरुहरूले प्रत्येक सागसब्जीको, यहाँसम्म कि “पुदिना, सुप र जीराको” समेत दशांश चढाउनुपर्छ भन्‍ने कडा नियम बनाएका थिए। येसुले दशांश चढाउनु पर्दैन भन्‍नुभएन तर उहाँले शास्त्री र फरिसीहरूको यस्तो कपटको पर्दाफास गर्नुभयो।—मत्ति २३:२३.

त्यतिबेला यहुदीहरूले रोमी सरकारलाई पनि थुप्रै कर तिर्नुपर्थ्यो। जस्तै, जमिन हुनेले करस्वरूप पैसा वा फसल दिनुपर्थ्यो। तिनीहरूले आफ्नो उब्जनीको २० देखि २५ प्रतिशत सरकारलाई बुझाउनुपर्थ्यो। यसबाहेक प्रत्येक यहुदीले सिजरलाई कर तिर्नुपर्थ्यो। त्यही करको विषयमा फरिसीहरूले येसुलाई प्रश्‍न सोधेका थिए। यस्तो कर तिर्नुपर्ने सन्दर्भमा चेलाहरूले राख्नुपर्ने सही दृष्टिकोणबारे उहाँले यसो भन्‍नुभयो: “जे-जे सिजरका हुन्‌, सिजरलाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”—मत्ति २२:१५-२२.

सामानहरू आयात-निर्यात गर्दा पनि विभिन्‍न ठाउँमा कर तिर्नुपर्थ्यो। बन्दरगाह, पुल, सडक अनि सहर वा बजार छिर्ने नाकामा त्यस्तो कर उठाइन्थ्यो।

मानिसहरूले रोमी सरकारलाई निकै चर्को कर तिर्नुपर्ने भएकोले त्यो तिनीहरूको लागि बोझ भएको थियो। रोमी इतिहासकार ट्यासिटसका अनुसार सिजर टाइबेरियसको शासनकालमा येसु यसै पृथ्वीमा हुनुहुँदा “सिरिया र यहुदियाका मानिसहरूले निकै चर्को कर तिर्नुपरेकोले त्यो कर घटाइदिन आग्रह गरेका थिए।”

कर उठाउने तरिकाले गर्दा पनि मानिसहरूले निकै सास्ती भोग्नुपरेको थियो। कर उठाउने कामको लागि जसले धेरै पैसा हाल्थ्यो, उसले नै यो काम पाउँथ्यो। त्यसपछि उसले अरू मानिसहरूलाई कर उठाउने काममा लगाउँथ्यो र तिनीहरूले पनि त्यसबाट आफ्नो लागि नाफा निकाल्थे। जक्कैले पनि आफ्नो लागि कर उठाउने मानिसहरू राखेका थिए जस्तो देखिन्छ। (लुका १९:१, २) त्यतिबेला सर्वसाधारणले कर उठाउने मानिसहरूलाई किन तुच्छ नजरले हेर्थे, त्यो हामी बुझ्न सक्छौँ।