सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २४

तपाईँ सैतानका पासोहरूबाट उम्कन सक्नुहुन्छ!

तपाईँ सैतानका पासोहरूबाट उम्कन सक्नुहुन्छ!

“तिनीहरू [दियाबलको] पासोबाट उम्केर आउनेछन्‌।”—२ तिमो. २:२६.

गीत ३६ हृदय सुरक्षित राखौँ!

परिचय *

१. सैतानलाई किन सिकारीसँग तुलना गर्न सकिन्छ?

सिकारीको एउटै मात्र लक्ष्य भनेको आफ्नो सिकारलाई पक्रनु वा मार्नु हो। त्यसो गर्न उसले विभिन्‍न किसिमका पासोहरू प्रयोग गर्न सक्छ, जसबारे बाइबलमा पनि बताइएको छ। (अय्यु. १८:८-१०) सिकारीले जनावरलाई कसरी पासोमा पार्छ? सुरुमा उसले त्यस जनावरलाई नजिकबाट नियाल्छ। जस्तै: त्यो कहाँ जान्छ, त्यसलाई के मन पर्छ अनि त्यसलाई पक्रन कुन पासो प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ भनेर उसले विचार गर्छ। सैतान पनि त्यो सिकारीजस्तै छ। सुरुमा त्यसले हामीलाई नजिकबाट नियाल्छ। हामी कहाँ जान्छौँ र हामीलाई के मन पर्छ भनेर त्यसले राम्ररी ध्यान दिन्छ। त्यसपछि हामीले सोच्दै नसोचेको समयमा हामीलाई फसाउन त्यसले पासो थाप्छ। तर हामी सैतानको पासोमा पऱ्‍यौँ भने पनि त्यसबाट उम्कन सक्छौँ भनेर बाइबलले आश्‍वासन दिन्छ। साथै बाइबलले हामीलाई त्यसको पासोमा नपर्न के गर्नुपर्छ भनेर पनि सिकाउँछ।

घमन्ड र लोभ सैतानको सबैभन्दा प्रभावकारी पासो साबित भएको छ (अनुच्छेद २ हेर्नुहोस्‌) *

२. सैतानका दुई वटा सबैभन्दा प्रभावकारी पासो के-के हुन्‌?

सैतानका दुई वटा सबैभन्दा प्रभावकारी पासो भनेको घमन्ड लोभ * हो। हजारौँ वर्षदेखि सैतान यी दुर्गुणहरूलाई पासोको रूपमा प्रयोग गर्न सफल भएको छ। त्यो चरा पक्रने सिकारीजस्तै छ, जसले आफ्नो सिकारलाई प्रलोभन देखाएर पासोमा पार्छ। (भज. ९१:३) तर सैतानले हामीलाई सजिलै आफ्नो पासोमा पार्न सक्दैन। किन? किनभने यहोवाले हामीलाई सैतानका युक्‍तिहरूबारे बताउनुभएको छ।—२ कोरि. २:११.

हामी चेतावनीमूलक उदाहरणहरूबाट पाठ सिकेर सैतानका पासोहरूबाट जोगिन वा उम्कन सक्छौँ (अनुच्छेद ३ हेर्नुहोस्‌) *

३. यहोवाले केही खास उदाहरणहरू बाइबलमा किन लेख्न लगाउनुभयो?

यहोवाले आफ्ना केही सेवकहरूको उदाहरणद्वारा घमन्ड र लोभ कत्ति खतरनाक हुन सक्छ भनेर बुझाउनुभएको छ। यहोवाका वफादार सेवकहरूलाई समेत आफ्नो पासोमा फसाउन सैतान कसरी सफल भयो, त्यसबारे हामी यस लेखमा छलफल गर्नेछौँ। तर के यसको अर्थ हामी घमन्ड र लोभको पासोबाट जोगिन सक्दैनौँ भन्‍ने हो? त्यस्तो त होइन। यहोवाले यस्ता उदाहरणहरू हाम्रो “चेतावनीको निम्ति” बाइबलमा लेख्न लगाउनुभयो। (१ कोरि. १०:११) यस्ता चेतावनीमूलक उदाहरणहरूबाट पाठ सिकेर हामी दियाबलका पासोहरूमा नपर्न वा त्यसबाट उम्कन सक्छौँ भनेर यहोवालाई थाह छ।

घमन्डको पासो

अनुच्छेद ४ हेर्नुहोस्‌

४. हामी घमन्डी भयौँ भने नतिजा कस्तो हुन सक्छ?

सैतान हामी घमन्डी भएको चाहन्छ। हामीले अनुचित घमन्डलाई आफूमाथि हाबी हुन दियौँ भने हामी पनि त्योजस्तै हुनेछौँ र अनन्त जीवनको आशा गुमाउनेछौँ भन्‍ने कुरा सैतानलाई थाह छ। (हितो. १६:१८) त्यसैले प्रेषित पावलले हामी ‘घमन्डले फुल्न सक्छौँ र दियाबलले पाएकै जस्तो दण्ड पाउन सक्छौँ’ भनेर चेतावनी दिए। (१ तिमो. ३:६, ७) हामीमध्ये जो-कोही पनि घमन्डको पासोमा पर्न सक्छौँ, चाहे हामीले भर्खरै मात्र यहोवाको सेवा गर्न थालेका हौँ वा वर्षौँदेखि।

५. उपदेशक ७:१६, २० मा सङ्‌केत गरिएअनुसार कुनै व्यक्‍ति कसरी घमन्डी हुन सक्छ?

घमन्डी व्यक्‍ति स्वार्थी हुन्छ। विशेषगरि समस्याहरूको सामना गर्नुपर्दा यहोवाको इच्छामा नभई आफ्नै अवस्थामा बढ्‌तै ध्यान दिन लगाएर सैतानले हामीलाई स्वार्थी बनाउन खोज्छ। उदाहरणको लागि, के कसैले तपाईँलाई गलत आरोप लगाएको छ? अथवा तपाईँलाई अन्यायपूर्ण व्यवहार गरेको छ? यस्तो अवस्थामा पर्दा हामीले यहोवा वा हाम्रा भाइबहिनीमाथि दोष थोपऱ्‍यौँ भने सैतानलाई खुसी बनाइरहेका हुन्छौँ। यहोवाले आफ्नो वचनमार्फत दिनुभएको निर्देशन पछ्याउनुको साटो आफ्नो समस्या आफै समाधान गर्नु नै बेस हो भनेर हामीले सोचेको सैतान चाहन्छ।उपदेशक ७:१६, २० पढ्‌नुहोस्‌।

६. नेदरल्याण्ड्‌समा बस्ने एक जना बहिनीको अनुभवबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

नेदरल्याण्ड्‌समा बस्ने एक जना बहिनीको उदाहरण विचार गर्नुहोस्‌। तिनी अरूको कमीकमजोरी देखेर दिक्क भएकी थिइन्‌ र त्यस्ता भाइबहिनीसित सङ्‌गत नगर्ने निर्णय गरेकी थिइन्‌। तिनी भन्छिन्‌: “मैले असाध्यै एक्लो महसुस गरेँ र मेरो चित्त दुखाउने भाइबहिनीलाई माफी दिनै सकिनँ। मैले आफ्नो श्रीमान्‌लाई अर्कै मण्डलीमा सरौँ समेत भनेँ।” त्यसपछि ती बहिनीले मार्च २०१६ को JW ब्रोडकास्टिङ कार्यक्रम हेरिन्‌। त्यस कार्यक्रममा अरूको कमीकमजोरीलाई कसरी बेवास्ता गर्न सकिन्छ भन्‍नेबारे केही सुझावहरू दिइएको थियो। ती बहिनी यसो भन्छिन्‌: “मण्डलीका भाइबहिनीको मनोवृत्ति परिवर्तन गर्न खोज्नुको साटो नम्र हुँदै आफ्ना गल्तीहरू केलाउनुपर्छ भन्‍ने कुरा मैले महसुस गरेँ। यस कार्यक्रमले मलाई यहोवा र उहाँको सार्वभौमिकतामा ध्यान दिन मदत गऱ्‍यो।” यसबाट तपाईँले के सिक्नुभयो? परीक्षाको सामना गर्नुपर्दा यहोवामा ध्यान दिनुहोस्‌। अरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न उहाँसित मदत माग्नुहोस्‌। स्वर्गमा बस्नुहुने हाम्रो बुबाले तिनीहरूको गल्ती देख्न सक्नुहुन्छ। तैपनि उहाँ तिनीहरूलाई क्षमा दिन इच्छुक हुनुहुन्छ। तपाईँले पनि त्यसै गरेको उहाँ चाहनुहुन्छ।—१ युह. ४:२०.

अनुच्छेद ७ हेर्नुहोस्‌

७. राजा उज्जियाहलाई के भयो?

यहुदाका राजा उज्जियाह घमन्डी भएकोले तिनले अरूको सल्लाह सुनेनन्‌ अनि आफ्नो अधिकारमा नभएको काम गरे। उज्जियाहले थुप्रै राम्रा कामहरू गरेका थिए। तिनले थुप्रै युद्धहरू जिते, सहरहरू अनि धरहराहरू बनाए अनि कृषि क्षेत्रको उन्‍नति हुने थुप्रै काम गरे। परमेश्‍वरले “तिनको फलिफाप गराउनुभयो।” (२ इति. २६:३-७, १०) “तर आफू शक्‍तिशाली हुनेबित्तिकै उज्जियाहको हृदय घमन्डले फुल्यो। अनि यही नै तिनको पतनको कारण बन्‍न पुग्यो” भनी बाइबल बताउँछ। यहोवाले पुजारीहरूले मात्र मन्दिरमा धूप बाल्न सक्छन्‌ भनेर बताउनुभएको थियो। तर राजा उज्जियाह अहङ्‌कारी हुँदै धूप बाल्न मन्दिरभित्र छिरे। यो देखेर यहोवा क्रोधित हुनुभयो र तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो। उज्जियाह जीवनभर कुष्ठरोगी भएर बाँच्नुपऱ्‍यो।—२ इति. २६:१६-२१.

८. पहिलो कोरिन्थी ४:६, ७ अनुसार घमन्डी नहुन हामी के गर्न सक्छौँ?

के हामीले पनि राजा उज्जियाहले जस्तै घमन्डी भएर पाप गर्ने सम्भावना छ? होसे भन्‍ने भाइको उदाहरण विचार गर्नुहोस्‌। तिनी एक जना सफल व्यापारी थिए र मण्डलीमा एल्डरको रूपमा राम्रो नाम कमाएका थिए। तिनी सम्मेलन र अधिवेशनहरूमा भाषण दिन्थे र क्षेत्रीय निरीक्षकहरूले समेत तिनीसित सल्लाह माग्थे। तिनी यसो भन्छन्‌: “म यहोवामा भर पर्नुको साटो आफ्नै क्षमता र अनुभवमा भर परेँ। मलाई आफू आध्यात्मिक रूपमा बलियो छु जस्तो लागेको थियो। त्यसैले यहोवाका चेतावनी र निर्देशनहरूलाई मैले बेवास्ता गरेँ।” पछि होसेले एउटा गम्भीर पाप गरे र तिनी मण्डलीबाट बहिष्कार भए। तर केही वर्षपछि तिनी पुनर्बहाली भए। तिनी अहिले यसो भन्छन्‌: “सबैभन्दा महत्त्वपूर्ण कुरा ओहदा होइन बरु यहोवा जे चाहनुहुन्छ, त्यो गर्नु हो भन्‍ने कुरा उहाँले मलाई सिकाउनुभयो।” हामीसित भएको जस्तोसुकै क्षमता र मण्डलीमा हामीले पाउने जुनसुकै सुअवसर यहोवाले दिनुभएको हो भन्‍ने कुरा कहिल्यै नबिर्सौँ। (१ कोरिन्थी ४:६, ७ पढ्‌नुहोस्‌।) हामी घमन्डी भयौँ भने यहोवाले हामीलाई उहाँको सेवामा प्रयोग गर्नुहुनेछैन।

लोभको पासो

अनुच्छेद ९ हेर्नुहोस्‌

९. लोभले गर्दा सैतान र हव्वाले के गरे?

लोभ भन्‍ने शब्द सुन्‍नेबित्तिकै हामी सैतानलाई सम्झन्छौँ होला। सैतान यहोवाको स्वर्गदूत छँदा त्यसले पक्कै पनि थुप्रै सुअवसर पाएको थियो। तर त्यसले त्यत्तिमै चित्त बुझाएन। त्यसले यहोवाले मात्र पाउनुपर्ने उपासनाको लोभ गऱ्‍यो। सैतान हामी पनि त्योजस्तै भएको चाहन्छ। त्यसले हामीलाई आफूसित भएको भन्दा अझ धेरै कुराहरूको चाह गर्न उक्साउँछ। सैतानले सबैभन्दा पहिला हव्वालाई बहकाएको थियो। यहोवाले हव्वा र तिनको श्रीमान्‌लाई प्रशस्त खानेकुरा दिनुभएको थियो। तिनीहरूले एउटाबाहेक “बगैँचाको हरेक रूखबाट” चाहेजति फल खान सक्थे। (उत्प. २:१६) तर यहोवाले निषेध गर्नुभएको रूखको फल खायो भने तिनकै भलाइ हुन्छ भनेर सैतानले हव्वालाई सोच्न लगायो। हव्वा आफूसित भएको कुरामा सन्तुष्ट भइनन्‌ बरु तिनले अझ धेरै कुरा पाउने चाह गरिन्‌। अनि त्यसको नतिजा के भयो, हामीलाई थाहै छ। हव्वाले पाप गरिन्‌ र अन्ततः तिनी मरिन्‌।—उत्प. ३:६, १९.

अनुच्छेद १० हेर्नुहोस्‌

१०. राजा दाउद कसरी लोभको पासोमा फसे?

१० यहोवाले राजा दाउदलाई धनसम्पत्ति र प्रतिष्ठा दिनुभएको थियो अनि तिनका थुप्रै शत्रुहरूमाथि विजयी तुल्याउनुभएको थियो। दाउद यहोवाप्रति धन्यवादी थिए र उहाँबाट पाएका कुराहरूको “गन्ती नै गर्न सकिँदैन” भन्‍ने कुरा तिनले स्विकारे। (भज. ४०:५) तर पछि तिनी लोभी भए र अझ धेरै पाउने चाह गरे। दाउदका थुप्रै श्रीमतीहरू थिए तर तिनको मनमा अर्काकी श्रीमतीप्रति कुइच्छा जाग्यो। ती स्त्रीको नाम बेतसेबा थियो र तिनका श्रीमान्‌ हित्ती उरियाह थिए। दाउदले आफ्नो स्वार्थ पूरा गर्न बेतसेबासित यौनसम्बन्ध राखे र उनी गर्भवती भइन्‌। तर यसपछि दाउदले झनै घोर पाप गरे। तिनले उरियाहको हत्या गर्न लगाए। (२ समु. ११:२-१५) त्यतिबेला दाउदले आफूले गरिरहेको काम यहोवाले देख्नुहुन्‍न भनेर सोचिरहेका थिए कि? कुनै समय यहोवाप्रति वफादार रहेका दाउद लोभको पासोमा फसे र तिनले ठूलो मोल चुकाउनुपऱ्‍यो। तर खुसीको कुरा, पछि दाउदले आफ्नो गल्ती स्विकारे र पश्‍चात्ताप गरे। फेरि यहोवाको अनुमोदन पाउँदा तिनी उहाँप्रति कत्ति कृतज्ञ भए होलान्‌!—२ समु. १२:७-१३.

११. एफिसी ५:३, ४ अनुसार लोभको पासोमा नफस्न हामीलाई केले मदत गर्छ?

११ दाउदको उदाहरणबाट हामी के सिक्न सक्छौँ? यहोवाले हामीलाई दिनुभएको सबै कुराको लागि उहाँप्रति धन्यवादी भयौँ भने लोभको पासोमा पर्नदेखि जोगिन सक्छौँ। (एफिसी ५:३, ४ पढ्‌नुहोस्‌।) हामी आफूसित भएको कुरामा सन्तुष्ट हुनुपर्छ। हामी नयाँ बाइबल विद्यार्थीहरूलाई यहोवाले दिनुभएको कुनै खास आशिष्‌बारे सोच्न र त्यसको लागि उहाँलाई धन्यवाद दिन प्रोत्साहन दिन्छौँ। यदि ती विद्यार्थीले एक हप्तासम्म यसो गरे भने तिनले एक हप्तामा सात वटा फरक-फरक कुराको लागि यहोवालाई धन्यवाद दिइसकेका हुनेछन्‌। (१ थिस्स. ५:१८) त्यसोभए के तपाईँ आफू पनि त्यसो गर्दै हुनुहुन्छ? यहोवाले तपाईँलाई दिनुभएका सबै कुरामा मनन गर्ने गर्नुभयो भने तपाईँ उहाँप्रति धन्यवादी हुन सक्नुहुनेछ। यसरी धन्यवादी हुँदा तपाईँ आफूसित भएको कुरामा सन्तुष्ट हुन सक्नुहुनेछ। अनि तपाईँ सन्तुष्ट हुनुहुन्छ भने लोभको पासोमा फस्नदेखि जोगिनुहुनेछ।

अनुच्छेद १२ हेर्नुहोस्‌

१२. लोभले गर्दा यहुदा इस्करियोत के गर्ने हदसम्म पुगे?

१२ लोभले गर्दा यहुदा इस्करियोत येसुलाई धोका दिने हदसम्म पुगे। तर यहुदा सुरुदेखि नै खराब मानिस थिएनन्‌। (लुका ६:१३, १६) येसुले तिनलाई आफ्नो प्रेषित हुन रोज्नुभएको थियो। यहुदा सक्षम र भरोसायोग्य थिए जस्तो देखिन्छ किनभने पैसाको कन्तुर बोक्ने जिम्मा तिनलाई नै दिइएको थियो। येसु र उहाँका प्रेषितहरूले ती पैसा सेवाको काममा प्रयोग गर्थे। एक अर्थमा त्यो पैसा विश्‍वव्यापी कार्यको लागि दिइएको अनुदानजस्तै थियो। तर लोभबारे येसुले दिनुभएको चेतावनी बारम्बार सुने पनि यहुदाले त्यो कन्तुरबाट पैसा चोर्न थाले। (मर्कु. ७:२२, २३; लुका ११:३९; १२:१५) हो, यहुदाले ती चेतावनीहरूलाई बेवास्ता गरे।

१३. यहुदा लोभी भइसकेका थिए भन्‍ने कुरा कुन घटनाले देखायो?

१३ येसुलाई मृत्युदण्ड दिनुभन्दा केही समयअघि घटेको घटनाले यहुदा लोभी भइसकेका थिए भन्‍ने कुरा देखायो। एकचोटि येसु र उहाँका चेलाहरू कुष्ठरोगी सिमोनको घरमा खाना खान जानुभएको थियो। मरियम र तिनकी दिदी मार्था पनि त्यही थिए। खाना खाइरहेको बेला मरियम उठिन्‌ र असाध्यै महँगो सुगन्धित तेल ल्याएर येसुको शिरमा खन्याउन थालिन्‌। यहुदा र अरू चेलाहरूलाई यो कुरा चित्त बुझेन। अरू चेलाहरूलाई त्यो पैसा खाँचोमा परेकाहरूलाई दिन सकिन्थ्यो जस्तो लागेको हुनुपर्छ। तर यहुदाको मनसाय अर्कै थियो। तिनी “चोर थिए” र कन्तुरबाट पैसा चोर्ने गर्थे। लोभले गर्दा नै पछि यहुदाले थोरै पैसाको लागि येसुलाई धोका दिए।—युह. १२:२-६; मत्ति २६:६-१६; लुका २२:३-६.

१४. एक दम्पतीले लुका १६:१३ मा येसुले भन्‍नुभएको कुरा कसरी लागू गरे?

१४ येसुले आफ्ना चेलाहरूलाई यो एउटा आधारभूत सत्य बताउनुभएको थियो: “तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।” (लुका १६:१३ पढ्‌नुहोस्‌।) यस भनाइमा आज पनि उत्तिकै सत्यता छ। रोमानियाका एक दम्पतीले येसुको यो सल्लाह कसरी लागू गरे, विचार गरौँ। तिनीहरूलाई एउटा विकसित मुलुकबाट अस्थायी जागिरको प्रस्ताव आएको थियो। तिनीहरू यसो भन्छन्‌: “हामीले बैङ्‌कको ठूलो ऋण तिर्नुपर्ने थियो। त्यसैले हामीलाई सुरुमा त यो जागिर यहोवाकै आशिष्‌जस्तो लागेको थियो। तर एउटा समस्या थियो। त्यो जागिर खायो भने यहोवाको सेवामा बाधा पुग्न सक्थ्यो।” अगस्त १, २००८ अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित “एक चित्तको भएर वफादारिता कायम राख्नुहोस्‌” भन्‍ने लेख पढेपछि तिनीहरूले एउटा निर्णय गरे। तिनीहरू यसो भन्छन्‌: “टन्‍न पैसा कमाउने उद्देश्‍यले अर्को देशमा सरेको भए हामीले यहोवासितको हाम्रो सम्बन्धलाई दोस्रो स्थानमा राखिरहेका हुने थियौँ। अनि हामी आध्यात्मिक रूपमा कमजोर हुने पक्का थियो।” त्यसैले तिनीहरूले त्यो प्रस्ताव अस्वीकार गरे। त्यसपछि के भयो? श्रीमान्‌ले आफ्नै देशमा तिनीहरूको आवश्‍यकता पूरा गर्न सक्ने एउटा जागिर पाए। श्रीमती यसो भन्छिन्‌: “यहोवाले आफ्ना सेवकहरूलाई मदत गर्न कहिल्यै छोड्‌नुहुन्‍न।” पैसालाई नभई यहोवालाई आफ्नो मालिक बनाएकोमा तिनीहरू अहिले धेरै खुसी छन्‌।

सैतानका पासोहरूबाट जोगिनुहोस्‌

१५. सैतानको पासोबाट उम्कन सकिन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

१५ हामीमा घमन्ड र लोभजस्ता दुर्गुणहरू देखा पर्न थालिसकेको छ भने नि? हामी ती पासोहरूबाट उम्कन सक्छौँ। दियाबलले “जिउँदै पक्रेको” मानिसहरू पनि त्यसको पासोबाट उम्कन सक्छन्‌ भनेर पावलले बताए। (२ तिमो. २:२६) दाउदले पनि नातानको सल्लाह सुने, लोभमा फसेर आफूले गरेको गल्तीको पश्‍चात्ताप गरे अनि यहोवासितको आफ्नो सम्बन्ध सुधारे। यहोवा सैतानभन्दा शक्‍तिशाली हुनुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। हामीले यहोवाको मदत स्विकाऱ्‍यौँ भने सैतानले बिछ्याउने जस्तोसुकै पासोबाट पनि उम्कन सक्छौँ।

१६. सैतानको पासोबाट जोगिन हामीलाई केले मदत गर्छ?

१६ हुनत हामी सैतानको पासोमा फसिहाले पनि उम्कन सक्छौँ तर त्यसको पासोमा फस्दै नफस्नु झनै बेस हो। यसको लागि हामीलाई यहोवाको मदत नभई हुँदैन। तर हामी अतिविश्‍वस्त हुनु हुँदैन किनकि लामो समयदेखि यहोवाको सेवा गरेका उहाँका सेवकहरूसमेत घमन्डी र लोभी भएका छन्‌। त्यसैले यस्ता दुर्गुणहरूले हाम्रो सोचाइ र व्यवहारलाई असर गर्न थालिसकेको छ कि भन्‍ने कुरा थाह पाउन हरेक दिन यहोवासित मदत माग्नुहोस्‌। (भज. १३९:२३, २४) घमन्ड र लोभको पासोमा नफस्न सक्दो कोसिस गर्नुहोस्‌।

१७. हाम्रो शत्रु सैतानलाई अब चाँडै के हुनेछ?

१७ सैतानले हजारौँ वर्षदेखि सिकार गर्दै आएको छ। तर अब चाँडै त्यसलाई बाँधेर अगाध खाडलमा हुर्ऱ्याइनेछ अनि अन्ततः त्यो सदाको लागि नाश हुनेछ। (प्रका. २०:१-३, १०) हामी सबै जना त्यस दिनको तीव्र प्रतिक्षामा छौँ। तर त्यतिन्जेल सैतानका पासोहरूदेखि होसियार रहनुहोस्‌। घमन्ड र लोभलाई आफूमाथि हाबी हुन नदिन सक्दो कोसिस गर्नुहोस्‌। “दियाबलको विरोध” गर्ने दृढ सङ्‌कल्प गर्नुहोस्‌ र त्यो तपाईँबाट “भाग्नेछ।”—याकु. ४:७.

गीत १२७ म कस्तो मानिस बनूँ?

^ अनु. 5 सैतान सिपालु सिकारीजस्तै छ। हामीले यहोवाको सेवा गर्न थालेको जति नै लामो समय भए पनि त्यसले हामीलाई आफ्नो पासोमा पार्न खोज्छ। यस लेखमा परमेश्‍वरसितको हाम्रो सम्बन्ध टुटाउन सैतानले घमन्ड र लोभको पासो कसरी प्रयोग गर्छ भनेर बुझ्नेछौँ। घमन्ड र लोभको पासोमा परेका केही व्यक्‍तिहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ र हामी ती पासोहरूबाट कसरी जोगिन सक्छौँ भनेर पनि बुझ्नेछौँ।

^ अनु. 2 थप व्याख्या: यस लेखमा चलाइएको घमन्ड शब्दले अरूभन्दा आफू श्रेष्ठ छु भन्‍ने सोचाइलाई बुझाउँछ। अनि लोभले पैसा, अख्तियार, यौन र यस्तै अरू कुराहरू पाउने औधी चाहनालाई बुझाउँछ।

^ अनु. 53 चित्रको व्याख्या: एक भाइ घमन्डी हुँदै बुद्धिमानी सल्लाह सुन्‍न इन्कार गर्छन्‌। एक बहिनी आफूसित थुप्रै कुरा भए तापनि अझ धेरै किनमेल गर्न खोज्दै छिन्‌।

^ अनु. 55 चित्रको व्याख्या: यहोवाको एक जना स्वर्गदूत र राजा उज्जियाह घमन्डी हुन पुगे। लोभले गर्दा हव्वाले निषेध गरिएको रूखको फल खाइन्‌, दाउदले बेतसेबासित व्यभिचार गरे र यहुदाले पैसा चोरे।