सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २५

“यी सानाहरू”-लाई ठेस नपुऱ्‍याउनुहोस्‌

“यी सानाहरू”-लाई ठेस नपुऱ्‍याउनुहोस्‌

“तिमीहरूले यी सानाहरूमध्ये कसैलाई हेला नगर।”—मत्ति १८:१०.

गीत ११३ शान्ति—हाम्रो सम्पत्ति

परिचय *

१. यहोवाले हामी प्रत्येकलाई के गर्नुभएको छ?

यहोवाले हामी प्रत्येकलाई आफूतर्फ खिच्नुभएको छ। (युह. ६:४४) यसको अर्थ के हो? यहोवाले यस संसारमा भएका करोडौँ मानिसको हृदय जाँच्नुहुँदा तपाईँमा एउटा बहुमूल्य कुरा भेट्टाउनुभयो। हो, तपाईँ निष्कपट हुनुहुन्छ र तपाईँले उहाँलाई राम्ररी चिनेर उहाँलाई प्रेम गर्नुहुनेछ भन्‍ने कुरा उहाँले देख्नुभयो। (१ इति. २८:९) यहोवा तपाईँलाई चिन्‍नुहुन्छ, तपाईँको अवस्था राम्ररी बुझ्नुहुन्छ र तपाईँलाई माया गर्नुहुन्छ। कत्ति आश्‍वासनदायी कुरा!

२. यहोवा आफ्ना प्रत्येक भेडामा चासो राख्नुहुन्छ भनेर देखाउन येसुले कस्तो उदाहरण चलाउनुभयो?

यहोवा तपाईँ र तपाईँका सबै ख्रिष्टियन दाजुभाइ दिदीबहिनीमा गहिरो चासो राख्नुहुन्छ। यो कुरा बुझाउन येसुले यहोवालाई एक जना गोठालोसित तुलना गर्नुभयो। आफ्नो १०० वटा भेडामध्ये एउटा भेडा हरायो भने गोठालोले के गर्छ? ऊ ‘९९ वटालाई डाँडामै छोडेर बाटो बिराउने त्यो एउटा भेडा खोज्न जान्छ।’ गोठालोले त्यो भेडा भेट्टाएपछि त्यसलाई पिट्‌न थाल्दैन बरु ऊ धेरै रमाउँछ। यसबाट हामी के बुझ्न सक्छौँ? यहोवाको लागि आफ्नो प्रत्येक भेडा बहुमूल्य छ। येसुले यसो भन्‍नुभयो: “स्वर्गमा बस्नुहुने मेरा बुबा यी सानाहरूमध्ये एउटाले पनि बाटो बिराएको चाहनुहुन्‍न।”—मत्ति १८:१२-१४.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

हाम्रो कारणले गर्दा हाम्रा कुनै पनि दाजुभाइ दिदीबहिनी निराश भएको हामी चाहँदैनौँ। अरूलाई ठेस पुऱ्‍याउनदेखि हामी कसरी जोगिन सक्छौँ? अनि कसैले हाम्रो चित्त दुखाउँदा हामी के गर्न सक्छौँ? यस लेखमा हामी यी प्रश्‍नहरूको जवाफ पत्ता लगाउनेछौँ। तर सुरुमा मत्ति अध्याय १८ मा उल्लेख गरिएको “यी सानाहरू” को हुन्‌ भन्‍नेबारे थप कुरा बुझौँ।

“यी सानाहरू” को हुन्‌?

४. “यी सानाहरू” को हुन्‌?

“यी सानाहरू” विभिन्‍न उमेर समूहका येसुका चेलाहरू हुन्‌। तिनीहरूको उमेर जति नै भए पनि तिनीहरू “साना केटाकेटी”-जस्तै छन्‌ किनकि तिनीहरू येसुबाट सिक्न इच्छुक छन्‌। (मत्ति १८:३) तिनीहरूको पृष्ठभूमि, रहनसहन, सोचाइ र व्यक्‍तित्व फरक-फरक भए तापनि तिनीहरू सबै येसुमाथि विश्‍वास गर्छन्‌ अनि येसु पनि तिनीहरूलाई धेरै माया गर्नुहुन्छ।—मत्ति १८:६; युह. १:१२.

५. कसैले उहाँको कुनै सेवकलाई ठेस पुऱ्‍यायो वा चित्त दुखायो भने यहोवालाई कस्तो लाग्छ?

“यी सानाहरूमध्ये” सबै जना यहोवाको नजरमा बहुमूल्य छन्‌। उहाँ तिनीहरूप्रति कस्तो महसुस गर्नुहुन्छ भन्‍ने कुरा बुझ्न हामी साना केटाकेटीप्रति कस्तो महसुस गर्छौँ, त्यसबारे विचार गरौँ। हामी साना केटाकेटीलाई धेरै माया गर्छौँ। हामी तिनीहरूलाई सुरक्षा दिन चाहन्छौँ किनकि वयस्कहरूसित जस्तो तिनीहरूसित बल, अनुभव र बुद्धि हुँदैन। हामीलाई एउटा मानिसले अर्को मानिसलाई दुःख दिएको मन पर्दैन। अझ त्यसमाथि कसैले सानो बच्चालाई दुःख दियो भने हामीलाई दुःख लाग्छ र रिस पनि उठ्‌छ। त्यसैगरि यहोवा हामीलाई सुरक्षा दिन चाहनुहुन्छ। कसैले उहाँको कुनै सेवकलाई ठेस पुऱ्‍यायो वा चित्त दुखायो भने उहाँलाई दुःख लाग्छ र रिस पनि उठ्‌छ।—यसै. ६३:९; मर्कु. ९:४२.

६. पहिलो कोरिन्थी १:२६-२९ अनुसार संसारले येसुका चेलाहरूलाई कसरी हेर्छ?

येसुले अर्को कुन अर्थमा पनि चेलाहरूलाई “यी सानाहरू” भन्‍नुभयो? संसारले धनी, प्रख्यात र अख्तियारमा भएको व्यक्‍तिलाई महत्त्वपूर्ण ठान्छ। अर्कोतर्फ संसारले येसुका चेलाहरूलाई भने महत्त्वहीन र तुच्छ ठान्छ। (१ कोरिन्थी १:२६-२९ पढ्‌नुहोस्‌।) तर यहोवा तिनीहरूलाई त्यसरी हेर्नुहुन्‍न।

७. हामीले आफ्ना दाजुभाइ दिदीबहिनीप्रति कस्तो महसुस गरेको यहोवा चाहनुहुन्छ?

यहोवा आफ्ना सबै सेवकलाई माया गर्नुहुन्छ, चाहे तिनीहरूले वर्षौँदेखि उहाँको सेवा गरिरहेको होस्‌ वा भर्खरै सत्यमा आएको। हाम्रा सबै दाजुभाइ दिदीबहिनी यहोवाको नजरमा अनमोल छन्‌। त्यसैले हामीले पनि तिनीहरूलाई अनमोल ठान्‍नुपर्छ। हामी कसै-कसैलाई मात्र होइन, “सबै भाइहरूलाई प्रेम” गर्छौँ। (१ पत्रु. २:१७) उनीहरूको सुरक्षा र भलाइको लागि हामी जे गर्न पनि इच्छुक हुनुपर्छ। हाम्रो कारणले कसैलाई चोट पुग्यो वा कसैको चित्त दुख्यो भने हामीले त्यसलाई बेवास्ता गर्नु हुँदैन। अनि तिनले सानो कुरालाई ‘तिलको पहाड’ बनाउनुको साटो त्यसलाई बिर्सनुपर्छ भन्‍ने सोच्नु हुँदैन। कसै-कसैको किन चित्त दुख्न सक्छ? कसै-कसैमा सायद आफ्नो पृष्ठभूमिले गर्दा अरूले आफूबारे के सोच्लान्‌ भनेर बढ्‌तै चिन्ता गर्ने झुकाव हुन्छ, जसले गर्दा तिनीहरूले सजिलै ठेस खान्छन्‌। कोही-कोही भने भर्खरै सत्यमा आएकोले अरूको कमीकमजोरीलाई बेवास्ता गर्न सिकिसकेका हुँदैनन्‌। कारण जेसुकै भए पनि शान्ति कायम गर्न हामीले सक्दो कोसिस गर्नुपर्छ। साथै सानोतिनो कारणले पनि चित्त दुखाउने भाइ वा बहिनीले त्यो आफ्नो कमजोरी हो र त्यस्तो बानी हटाउन कोसिस गर्नुपर्छ भनेर स्विकार्नुपर्छ। यसो गर्दा तिनी आफै पनि आनन्दित हुन सक्छन्‌ र अरूसित राम्रो सम्बन्ध कायम राख्न सक्छन्‌।

अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍नुहोस्‌

८. येसुको समयका मानिसहरूको कस्तो धारणाले उहाँका चेलाहरूलाई असर गऱ्‍यो?

येसुले “यी सानाहरू”-बारे किन बताउनुभयो? किनभने उहाँका चेलाहरूले उहाँलाई यस्तो प्रश्‍न सोधेका थिए: “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुनेछ?” (मत्ति १८:१) त्यतिबेलाका थुप्रै यहुदीहरू पद र ओहदालाई ज्यादै महत्त्व दिन्थे। एक बाइबलविद्‌ यसो भन्छन्‌: “पुरुषहरू मानसम्मान, प्रतिष्ठा र ख्याति कमाउन अनि अरूबाट अनुमोदन पाउन मरिमेट्‌थे।”

९. येसुका चेलाहरूले के गर्नुपर्ने थियो?

यहुदी समाजमा प्रतिस्पर्धाको भावले गहिरो जरा गाडेको थियो। येसुका चेलाहरूले पनि यस्तो भावनालाई मनबाट जरैसमेत उखेलेर फ्याँक्न कडा मेहनत गर्नुपर्थ्यो। त्यसैले उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ सबैभन्दा सानोजस्तो बनोस्‌ अनि अगुवाको काम गर्नेचाहिँ सेवा गर्नेजस्तो होस्‌।” (लुका २२:२६) हामीले “अरूलाई आफूभन्दा श्रेष्ठ” ठानेर आफूलाई “सबैभन्दा सानो” सम्झेको देखाइरहेका हुन्छौँ। (फिलि. २:३) यस्तो मनोवृत्ति विकास गर्न हामी जति प्रयास गर्छौँ, हामीले अरूलाई ठेस पुऱ्‍याउने सम्भावना त्यति नै कम हुन्छ।

१०. हामीले पावलको कुन सल्लाह मनमा राख्नुपर्छ?

१० हाम्रा प्रत्येक भाइबहिनी कुनै न कुनै तरिकामा हामीभन्दा श्रेष्ठ छन्‌। हामीले उनीहरूको राम्रा गुणहरूमा ध्यान दियौँ भने यो कुरा बुझ्न सजिलो हुनेछ। प्रेषित पावलले कोरिन्थीहरूलाई दिएको यो सल्लाह हामीले मनमा राख्नुपर्छ: “अरूभन्दा फरक बनाउने के कुरा तिमीसित छ र? वास्तवमा कसैले नदिई तिमीले पाएको कुरा के छ र? अब यदि पाएका हौ भने कसैले नदिईकनै पाएजस्तो गरी तिमी किन घमन्ड गर्छौ?” (१ कोरि. ४:७) त्यसैले हामी अरूको ध्यान आफूतर्फ खिच्नदेखि वा आफू अरूभन्दा श्रेष्ठ छु भन्‍ने सोचाइ राख्नदेखि होसियार हुनुपर्छ। कुनै भाइले उत्थानदायी भाषण दिन सक्छन्‌ वा कुनै बहिनी नयाँ बाइबल अध्ययनहरू सुरु गर्न सिपालु छिन्‌ भने ती भाइ वा बहिनीले त्यसको श्रेय यहोवालाई नै दिनुपर्छ।

“मनैदेखि क्षमा” दिनुहोस्‌

११. राजा र तिनको दासको उदाहरणद्वारा येसुले हामीलाई कुन कुरा बुझाउनुभयो?

११ येसुले आफ्ना चेलाहरूलाई अरूलाई ठेस नपुऱ्‍याउन सल्लाह दिनुभएपछि एक जना राजा र तिनको दासबारे एउटा उदाहरण बताउनुभयो। ती राजाले आफ्नो दासले कहिल्यै पनि तिरेर नसक्ने ठूलो ऋण माफ गरिदिए। तर पछि त्यस दासले आफ्नो सङ्‌गी दासको थोरै ऋण माफ गरिदिन इन्कार गरे। कृपा नदेखाउने त्यस दासलाई राजाले झ्यालखानामा हालिदिए। यस उदाहरणबाट हामी कुन कुरा बुझ्न सक्छौँ? येसुले यसो भन्‍नुभयो: “तिमीहरू हरेकले आफ्नो भाइलाई मनैदेखि क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने मेरो बुबाले पनि तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”—मत्ति १८:२१-३५.

१२. क्षमा दिन इन्कार गर्दा हामीले कसरी अरूलाई चोट पुऱ्‍याइरहेका हुन्छौँ?

१२ त्यस दासले गरेको कामले उसलाई मात्र नभई अरूलाई पनि हानि पुऱ्‍यायो। पहिलो, त्यस दासले आफ्नो सङ्‌गी दासलाई “पैसा फिर्ता नगरुन्जेल . . . झ्यालखानामा थुन्‍न” लगाएर त्यसलाई चोट पुऱ्‍यायो। दोस्रो, उसको यस्तो व्यवहार देखेर अरू सङ्‌गी दासहरूलाई पनि चोट पुग्यो। “जब अरू सङ्‌गी दासहरूले यी सब देखे, तब तिनीहरू असाध्यै दुःखी भए।” त्यसैगरि हाम्रो व्यवहारले अरूलाई असर गर्छ। कसैले हामीलाई नराम्रो व्यवहार गर्दा हामीले तिनलाई क्षमा दिएनौँ भने के हुन सक्छ? पहिलो, हामीले तिनलाई क्षमा दिन इन्कार गर्दा तिनलाई बेवास्ता गरिरहेका हुन्छौँ र माया देखाइरहेका पनि हुँदैनौँ र यसले गर्दा तिनलाई चोट पुग्न सक्छ। दोस्रो, हामीबीचको सम्बन्ध चिसिएको कुरा मण्डलीका अरूले याद गरे भने उनीहरूलाई पनि अप्ठ्यारो लाग्न सक्छ।

तपाईँ मनमा रिस पालेर राख्नुहुन्छ कि मनैदेखि क्षमा दिनुहुन्छ? (अनुच्छेद १३-१४ हेर्नुहोस्‌) *

१३. एक अग्रगामी बहिनीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१३ दाजुभाइ दिदीबहिनीलाई क्षमा दिँदा हामी आफैलाई र अरूलाई पनि फाइदा हुन्छ। एक अग्रगामी बहिनी क्रिस्टलले * पनि यस्तै अनुभव गरिन्‌। मण्डलीको एक जना बहिनीको कारण तिनको चित्त दुखेको थियो। क्रिस्टल यसो भन्छिन्‌: “तिनको नमीठो बोलीले मलाई कहिलेकाहीँ तरबारले झैँ घोच्थ्यो। मलाई उनीसित प्रचारमा जान पनि मन लाग्दैनथ्यो। यसले गर्दा प्रचारकार्यप्रतिको मेरो जोस र आनन्द बिस्तारै गुम्न थाल्यो।” क्रिस्टललाई आफू निराश हुनुको जायज कारण छ जस्तो लाग्थ्यो। तर तिनले मनमा रिस पालेर राखिनन्‌ वा आफूलाई कस्तो महसुस भइरहेको छ भन्‍ने कुरामै बढी ध्यान दिइनन्‌। बरु तिनले नम्र हुँदै अक्टोबर १५, १९९९ को प्रहरीधरहरा-मा छापिएको “हृदयदेखि क्षमा गर्नुहोस्‌” भन्‍ने लेखमा दिइएको धर्मशास्त्रीय सल्लाह लागू गरिन्‌। तिनले ती बहिनीलाई क्षमा दिइन्‌। क्रिस्टल यसो भन्छिन्‌: “हामी सबैले नयाँ व्यक्‍तित्व धारण गर्न निकै प्रयास गर्दै छौँ अनि यहोवा हामीलाई हरेक दिन क्षमा गर्न तयार हुनुहुन्छ भन्‍ने कुरा मैले अहिले बुझेकी छु। मलाई आफ्नो काँधबाट ठूलो बोझ हटेको महसुस हुन्छ र म फेरि आनन्दित हुन सकेकी छु।”

१४. मत्ति १८:२१, २२ अनुसार प्रेषित पत्रुसले कस्तो सङ्‌घर्ष गरेका हुन सक्छन्‌ र येसुको जवाफबाट तपाईँले के सिक्नुभयो?

१४ अरूलाई क्षमा दिनुपर्छ भन्‍ने कुरा हामीले बुझेका छौँ र हामीले गर्नुपर्ने कुरा पनि यही नै हो। तर हामीलाई यसो गर्न गाह्रो लाग्न सक्छ। प्रेषित पत्रुसले पनि कहिलेकाहीँ यस्तै महसुस गरेका हुन सक्छन्‌। (मत्ति १८:२१, २२ पढ्‌नुहोस्‌।) क्षमा दिन गाह्रो लाग्दा हामी के गर्न सक्छौँ? पहिलो, यहोवाले तपाईँलाई कति धेरैचोटि क्षमा दिइसक्नुभएको छ भन्‍ने कुरामा मनन गर्नुहोस्‌। (मत्ति १८:३२, ३३) हामी उहाँको क्षमा पाउन लायकको नभए पनि उहाँ हामीलाई क्षमा दिन तयार हुनुहुन्छ। (भज. १०३:८-१०) यसबाहेक “हामीले . . . आपसमा प्रेम गर्नु हाम्रो कर्तव्य हो।” त्यसैले क्षमा दिने कि नदिने, त्यो छनौटको कुरा होइन। हामीले दाजुभाइ दिदीबहिनीलाई क्षमा दिनु हाम्रो कर्तव्य हो। (१ युह. ४:११) दोस्रो, हामीले अरूलाई क्षमा दिँदा नतिजा कस्तो हुन्छ, त्यसमा मनन गर्नुहोस्‌। यसो गर्दा हाम्रो चित्त दुखाउने भाइ वा बहिनीले आफ्नो गल्ती महसुस गर्न सक्छन्‌, मण्डलीमा एकता कायम हुन्छ, यहोवासितको हाम्रो मित्रता जोगिन्छ अनि हाम्रो काँधबाट ठूलो बोझ हट्‌छ। (२ कोरि. २:७; कल. ३:१४) अन्तमा, हामीलाई क्षमा दिन आग्रह गर्नुहुने यहोवा परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। सैतानलाई हाम्रो दाजुभाइ दिदीबहिनीसितको सम्बन्धमा बाधा पुऱ्‍याउन नदिनुहोस्‌। (एफि. ४:२६, २७) सैतानको पासोमा नपर्न हामीलाई यहोवाको मदत नभई हुँदैन।

ठेस खानदेखि जोगिनुहोस्‌

१५. कलस्सी ३:१३ अनुसार कुनै भाइ वा बहिनीको व्यवहारले गाह्रो महसुस भइरहेको छ भने तपाईँ के गर्न सक्नुहुन्छ?

१५ कुनै सङ्‌गी विश्‍वासीको व्यवहारले गर्दा तपाईँलाई अझै गाह्रो महसुस भइरहेको छ भने तपाईँ के गर्न सक्नुहुन्छ? शान्ति कायम गर्न सक्दो गर्नुहोस्‌। यहोवालाई प्रार्थनामा आफ्नो भावना पोखाउनुहोस्‌। तपाईँको चित्त दुखाउने भाइ वा बहिनीलाई मदत दिन यहोवालाई प्रार्थना गर्नुहोस्‌। अनि तिनमा भएका जुन गुणहरू उहाँलाई मन पर्छ, ती गुणहरू आफूले पनि देख्न सकूँ भनी बिन्ती गर्नुहोस्‌। (लुका ६:२८) कसैले तपाईँसित गरेको व्यवहार बिर्सनै सक्नुभएको छैन भने यसबारे तिनीसित कसरी कुरा गर्न सकिन्छ, विचार गर्नुहोस्‌। तिनले जानाजानी तपाईँको चित्त दुखाएका होइनन्‌ भनी सोच्नु राम्रो हो। (मत्ति ५:२३, २४; १ कोरि. १३:७) तिनीसित कुराकानी गर्दा हालको लागि तिनको मनसाय राम्रो छ भन्‍ने कुरा स्विकार्नुहोस्‌। तर तिनी शान्ति कायम गर्न चाहँदैनन्‌ भने नि? त्यस्तो बेला “एकअर्कालाई सहिरहो” भन्‍ने बाइबलको सल्लाह लागू गर्नुहोस्‌। तिनीप्रति धीरजी हुनुहोस्‌। (कलस्सी ३:१३ पढ्‌नुहोस्‌।) सबैभन्दा महत्त्वपूर्ण कुरा, मनमा रिस पालेर नराख्नुहोस्‌ किनकि यसले यहोवासितको तपाईँको सम्बन्धलाई असर गर्न सक्छ। कुनै पनि कुराले आफूलाई ठेस पुऱ्‍याउन नदिनुहोस्‌। यसो गर्नुभयो भने तपाईँ अरू कुनै कुरालाई भन्दा यहोवालाई धेरै माया गर्नुहुन्छ भनेर देखाइरहनुभएको हुनेछ।—भज. ११९:१६५.

१६. हामी प्रत्येकसित कस्तो जिम्मेवारी छ?

१६ “एकै जना गोठालो”-को “एउटै बगालको” रूपमा एकताबद्ध भएर यहोवाको सेवा गर्ने सुअवसरको हामी मोल गर्छौँ। (युह. १०:१६) यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित किताबको पृष्ठ १६५ मा यस्तो लेखिएको छ: “तपाईँ अहिले यस्तो एकताबाट लाभ उठाउँदै हुनुहुन्छ। तर यो एकतालाई कायम राख्ने जिम्मेवारी तपाईँको पनि हो।” उक्‍त किताबमा यस्तो पनि लेखिएको छ: ‘यहोवा मानिसको बाहिरी रूपरङ्‌ग हेर्नुहुन्‍न। हामीले पनि ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई उहाँको नजरले हेर्न सिक्नुपर्छ।’ यहोवाको नजरमा हामी सबै जना बहुमूल्य छौँ। के तपाईँ पनि दाजुभाइ दिदीबहिनीलाई त्यस्तै नजरले हेर्नुहुन्छ? तिनीहरूलाई मदत गर्न र तिनीहरूको ख्याल राख्न तपाईँले गर्नुहुने सबै काम यहोवा देख्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ।—मत्ति १०:४२.

१७. हामीले कस्तो अठोट गर्नुपर्छ?

१७ हामी आफ्ना सङ्‌गी उपासकहरूलाई प्रेम गर्छौँ। त्यसैले हामी “आफ्नो भाइसामु ठेस खाने ढुङ्‌गा वा ठक्कर दिने कुरा नराख्ने अठोट” गर्छौँ। (रोमी १४:१३) हामी दाजुभाइ दिदीबहिनीलाई आफूभन्दा श्रेष्ठ ठान्छौँ र उनीहरूलाई मनैदेखि क्षमा दिन चाहन्छौँ। अरूको कारण ठेस खानदेखि जोगिऔँ अनि “आपसमा शान्ति कायम हुने अनि एकअर्काको उत्थान हुने कुराहरूको पछि लागौँ।”—रोमी १४:१९.

गीत १३० क्षमा दिने गरौँ!

^ अनु. 5 हामी त्रुटिपूर्ण भएकोले हाम्रो बोली र व्यवहारले गर्दा हाम्रा दाजुभाइ दिदीबहिनीलाई चोट पुग्न सक्छ। यस्तो हुँदा हामीले के गर्नुपर्छ? तिनीसितको सम्बन्ध सुधार्न के हामी सक्दो कोसिस गर्छौँ? के हामी तिनीसित तुरुन्तै माफी माग्छौँ? अथवा हाम्रो कारणले तिनको चित्त दुखेको छ भने यो हाम्रो नभई तिनकै समस्या हो भनेर सोच्छौँ कि? अथवा अरूको बोली वा व्यवहारले गर्दा हामी आफै पनि चित्त दुखाउने गर्छौँ कि? के हामी मेरो व्यक्‍तित्व यस्तै हो भनेर सफाइ दिन खोज्छौँ वा यसलाई आफ्नो कमजोरीको रूपमा स्विकारेर आफ्नो बानी सुधार्न प्रयास गर्छौँ?

^ अनु. 13 नाम परिवर्तन गरिएको छ।

^ अनु. 54 तस्बिरको व्याख्या: मण्डलीमा एक जना बहिनी अर्की बहिनीसँग रिसाइरहेकी छिन्‌। तिनीहरूले आपसमा कुरा गरेर समस्या सुल्झाउँछन्‌ अनि पुरानो कुरा बिर्सेर खुसीसाथ सँगै सेवा गर्छन्‌।