सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २५

एल्डरहरू हो, गिदोनको उदाहरणबाट सिक्नुहोस्‌

एल्डरहरू हो, गिदोनको उदाहरणबाट सिक्नुहोस्‌

“गिदोन[को] . . . विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन।”—हिब्रू ११:३२.

गीत १२४ सधैँ वफादार रहौँ!

परिचय a

१. पहिलो पत्रुस ५:२ अनुसार एल्डरहरूले कस्तो जिम्मेवारी पाएका छन्‌?

 यहोवाले एल्डरहरूलाई उहाँको अनमोल बगालको हेरचाह गर्ने जिम्मेवारी सुम्पनुभएको छ। उहाँले भरोसा गरेर यस्तो जिम्मेवारी दिनुभएकोमा तिनीहरू कृतज्ञ छन्‌। तिनीहरू “साँच्चै ख्याल राख्ने गोठालाहरू” बन्‍न मेहनत गर्छन्‌। (यर्मि. २३:४; १ पत्रुस ५:२ पढ्‌नुहोस्‌।) यस्ता पुरुषहरू पाएकोमा हामी साँच्चै आभारी छौँ!

२. केही एल्डरले कस्ता चुनौतीहरूको सामना गर्न सक्छन्‌?

एल्डरहरूले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा थुप्रै चुनौतीको सामना गर्छन्‌। अमेरिकाका एक एल्डर टोनिले सक्नेजति मात्र जिम्मेवारी स्विकारेर मर्यादामा रहन सिके। उनी भन्छन्‌: “कोभिड-१९ महामारीको सुरुतिर सभा र क्षेत्र सेवाको प्रबन्ध मिलाउन म धेरै खटिएँ। तर जत्ति नै गरे पनि काम कहिल्यै सकिँदैनथ्यो। हुँदाहुँदा पछि मेरो बाइबल पढाइ, व्यक्‍तिगत अध्ययन र प्रार्थना पनि छुट्‌न थाल्यो।” कोसोभोका एक एल्डर इलेरले छुट्टै किसिमको चुनौतीको सामना गरे। तिनी बसिरहेको ठाउँमा युद्ध चलिरहेको थियो। त्यतिबेला सङ्‌गठनले दिएको निर्देशन पालन गर्न तिनलाई गाह्रो भएको थियो। तिनी भन्छन्‌: “शाखा कार्यालयले मलाई खतरनाक इलाकामा रहेका भाइबहिनीलाई मदत गर्ने जिम्मेवारी दियो। त्यतिबेला मेरो साहसको जाँच भयो। मलाई धेरै डर लागेको थियो। अनि सङ्‌गठनको निर्देशन पनि व्यावहारिक छैन जस्तो लागेको थियो।” एसियाका एक मिसनरी टिमलाई दैनिक कामकुरा र आफ्ना जिम्मेवारीहरू पूरा गर्न भ्याई नभ्याई भइरहेको थियो। तिनी भन्छन्‌: “कहिलेकाहीँ म मानसिक र भावनात्मक रूपमा थकित हुन्थेँ।” यस्ता चुनौतीहरूको सामना गर्न एल्डरहरूलाई कुन कुराले मदत गर्न सक्छ?

३. न्यायकर्ता गिदोनको उदाहरणबाट हामी सबैले कस्तो लाभ उठाउन सक्छौँ?

एल्डरहरूले न्यायकर्ता गिदोनको उदाहरणबाट सिक्न सक्छन्‌। (हिब्रू ६:१२; ११:३२) तिनी परमेश्‍वरका मानिसहरूको रक्षक र गोठाला थिए। (न्याय. २:१६; १ इति. १७:६) गिदोनलाई जस्तै यस कठिन समयमा परमेश्‍वरका सेवकहरूको हेरचाह गर्न एल्डरहरूलाई जिम्मा दिइएको छ। (प्रेषि. २०:२८; २ तिमो. ३:१) त्यसैले एल्डरहरूले गिदोनको मर्यादा, नम्रता र आज्ञाकारिताबाट थुप्रै पाठ सिक्न सक्छन्‌। साथै हामीले पनि गिदोनको उदाहरणबाट एल्डरहरूप्रति अझै कृतज्ञ हुन र तिनीहरूलाई पूरापूर साथ दिन सिक्न सक्छौँ।—हिब्रू १३:१७.

तपाईँको मर्यादा र नम्रताको जाँच हुँदा

४. गिदोनले कसरी मर्यादामा रहेको र नम्र भएको देखाए?

गिदोन नम्र र मर्यादामा रहने व्यक्‍ति थिए। b शक्‍तिशाली मिद्यानीहरूको हातबाट इस्राएलीहरूलाई छुटाउन यहोवाले गिदोनलाई रोज्नुभयो। यो कुरा एक जना स्वर्गदूतबाट थाह पाउँदा नम्र गिदोनले यसो भने: “मनस्सेको कुलमा मेरो घराना सबैभन्दा सानो छ र मेरो बुबाको घरानामा पनि म एक साधारण मानिस हुँ।” (न्याय. ६:१५) तिनले यो जिम्मेवारी पूरा गर्न आफू अयोग्य भएको महसुस गरे। तर यहोवालाई तिनले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन्‌ भनेर थाह थियो। उहाँको मदतले गर्दा गिदोनले आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सके।

५. कस्तो अवस्थामा एल्डरहरूलाई नम्र हुन र मर्यादामा रहन गाह्रो हुन सक्छ?

एल्डरहरू मर्यादामा रहन र नम्र हुन सक्दो प्रयास गर्छन्‌। (मिका ६:८; प्रेषि. २०:१८, १९) तिनीहरू आफ्नो योग्यता र उपलब्धिबारे धाक लगाउँदैनन्‌ न त आफ्नो कमीकमजोरी र गल्तीको कारण आफूलाई बेकामको ठान्छन्‌। तर कहिलेकाहीँ यसो गर्न गाह्रो हुन सक्छ। उदाहरणको लागि, कुनै एल्डरले थुप्रै जिम्मेवारी स्विकारेकोले ती सबै भ्याउन तिनलाई धौधौ पर्न सक्छ। अथवा कुनै जिम्मेवारी पूरा गरेकोमा तिनको प्रशंसा गरिन सक्छ। तर अरू कुनै बेला भने तिनको आलोचना गरिन सक्छ। यस सन्दर्भमा एल्डरहरूले गिदोनबाट कस्तो पाठ सिक्न सक्छन्‌?

मर्यादामा रहने एल्डरले गिदोनको उदाहरण अनुकरण गर्दै ट्रली साक्षीकार्यको प्रबन्ध मिलाउन अरूको मदत माग्दै छन्‌ (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. मर्यादामा रहनेबारे एल्डरहरूले गिदोनबाट के सिक्न सक्छन्‌? (तस्बिर पनि हेर्नुहोस्‌।)

मदत माग्नुहोस्‌। मर्यादामा रहने व्यक्‍तिले आफ्नो सीमितता बुझेको हुन्छ। अरूको मदत मागेर गिदोनले आफू मर्यादामा रहेको देखाए। (न्याय. ६:२७, ३५; ७:२४) बुद्धिमान्‌ एल्डरहरू पनि त्यस्तै गर्छन्‌। माथि उल्लेख गरिएका टोनि यसो भन्छन्‌: “सानै बेलादेखि आफूलाई अह्राइएको सबै काम गर्नुपर्छ भनेर सिकेकोले म आफूले सक्नेभन्दा धेरै काम स्विकार्ने गर्थेँ। त्यसैले मर्यादाको विषयमा पारिवारिक उपासनामा छलफल गर्ने निर्णय गरेँ। अनि यस सन्दर्भमा म कस्तो गर्दै छु भनेर श्रीमतीलाई सोधेँ। मैले jw.org मा येशूले जस्तै तालिम दिनुहोस्‌, भरोसा गर्नुहोस्‌ र जिम्मेवारी सुम्पनुहोस्‌ भन्‍ने भिडियो पनि फेरि हेरेँ।” पछि टोनिले अरूको मदत माग्न थाले। नतिजा कस्तो भयो? टोनि भन्छन्‌: “मण्डलीको कामकुरा सबै राम्ररी भइरहेको छ र मैले आध्यात्मिक रूपमा बलियो हुन थप समय पाएको छु।”

७. आलोचना गरिँदा एल्डरहरूले कसरी गिदोनको अनुकरण गर्न सक्छन्‌? (याकुब ३:१३)

आलोचना गरिँदा नरिसाउनुहोस्‌। कसैले एल्डरहरूको आलोचना गर्दा तिनीहरूको नम्रताको जाँच हुन सक्छ। यस सन्दर्भमा पनि एल्डरहरूले गिदोनको उदाहरणबाट सिक्न सक्छन्‌। एप्रैमका मानिसहरूले गिदोनको आलोचना गर्दा तिनी शान्त रहे किनकि आफू त्रुटिपूर्ण छु भनेर तिनलाई थाह थियो। (न्याय. ८:१-३) गिदोनले रिसाउँदै जवाफ दिएनन्‌। तिनले उनीहरूको गुनासो सुने र उनीहरूसित दयालुपूर्वक बोले, जसले गर्दा उनीहरूको रिस शान्त भयो। एल्डरहरू पनि गिदोनको अनुकरण गर्दै कसैले आलोचना गर्दा ध्यान दिएर सुन्छन्‌ अनि दयालुपूर्वक बोल्छन्‌। (याकुब ३:१३ पढ्‌नुहोस्‌।) यसो गर्दा तिनीहरूले मण्डलीको शान्तिमा योगदान पुऱ्‍याइरहेका हुन्छन्‌।

८. नियुक्‍त पुरुषहरूले प्रशंसा पाउँदा के गर्नुपर्छ? एउटा अनुभव बताउनुहोस्‌।

सबै कुराको लागि यहोवालाई श्रेय दिनुहोस्‌। गिदोनले मिद्यानीहरूमाथि विजय हासिल गर्दा अरूले तिनको प्रशंसा गरे। तर तिनले मानिसहरूको ध्यान यहोवातर्फ मोडे। (न्याय. ८:२२, २३) नियुक्‍त पुरुषहरूले कसरी गिदोनको अनुकरण गर्न सक्छन्‌? तिनीहरूले आफ्ना उपलब्धिहरूको लागि यहोवालाई श्रेय दिन सक्छन्‌। (१ कोरि. ४:६, ७) उदाहरणको लागि, कुनै एल्डर पोख्त वक्‍ता भएकोले भाइबहिनीले तिनको प्रशंसा गर्न सक्छन्‌। त्यतिबेला तिनले आफूले सिकाएको कुराको मूल स्रोत परमेश्‍वरको वचन वा यहोवाको सङ्‌गठनबाट पाएको प्रशिक्षणतर्फ भाइबहिनीको ध्यान मोड्‌न सक्छन्‌। एल्डरहरूले भाइबहिनीको ध्यान आफूतर्फ खिचिरहेको छु कि भनेर बेलाबेलामा जाँच्नु बेस हुन्छ। तिमोथि नाम गरेका एल्डरको अनुभव विचार गरौँ। एल्डर भएको सुरु-सुरुतिरको कुरा हो, तिमोथिलाई जनभाषण दिन एकदमै मन पर्थ्यो। तिनी भन्छन्‌: “म आफ्नो भाषणको परिचय र उदाहरणहरूमा बढ्‌तै ध्यान दिन्थेँ। अनि भाइबहिनीहरू पनि मेरो खुब प्रशंसा गर्नुहुन्थ्यो। तर यसले गर्दा श्रोताहरूको ध्यान बाइबल र यहोवातर्फ जानुको सट्टा मतर्फ गइरहेको थियो।” यो कुरा याद गरेपछि तिनले आफ्नो शिक्षणकलामा छाँटकाँट गरे। (हितो. २७:२१) नतिजा कस्तो भयो? तिनी भन्छन्‌: “अहिले भाइबहिनीहरू मेरो भाषण सुनेपछि त्यसले उहाँहरूलाई समस्याहरूको सामना गर्न, परीक्षाहरू सहन र यहोवासित नजिक हुन कसरी मदत गरेको छ भनेर बताउनुहुन्छ। पहिला पनि प्रशंसाहरू नपाएको त होइन तर यस्ता टिप्पणीहरू सुन्‍न पाउँदा अझ धेरै खुसी लाग्छ।”

तपाईँको आज्ञाकारिता र साहसको जाँच हुँदा

आज्ञाकारी गिदोनले आफ्नो सिपाहीको सङ्‌ख्या घटाए र सतर्क रहेका ३०० जना सिपाहीलाई रोजे (अनुच्छेद ९ हेर्नुहोस्‌)

९. गिदोनको आज्ञाकारिता र साहसको जाँच कसरी भयो? (आवरण चित्र हेर्नुहोस्‌।)

गिदोन न्यायकर्ता नियुक्‍त भएपछि तिनको आज्ञाकारिता र साहसको जाँच भयो। तिनलाई आफ्नो बुबाले बनाएको बाआल देवताको वेदी भत्काउने जिम्मेवारी दिइयो। (न्याय. ६:२५, २६) यो काम गर्दा तिनको ज्यानै जान सक्थ्यो। पछि मिद्यानीहरूविरुद्ध लड्‌नुअघि गिदोनलाई दुई-दुई पटक आफ्नो सेनाको सङ्‌ख्या घटाउन भनियो। (न्याय. ७:२-७) त्यसपछि तिनलाई मध्यरातमा शत्रुहरूको छाउनीमा आक्रमण गर्न भनियो।—न्याय. ७:९-११.

१०. एल्डरहरूको आज्ञाकारिताको कसरी जाँच हुन सक्छ?

१० एल्डरहरू “आज्ञाकारी” हुनुपर्छ। (याकु. ३:१७) आज्ञाकारी एल्डरहरू बाइबलमा भनिएको कुरा र सङ्‌गठनबाट आएको निर्देशन पालन गर्छन्‌। यसरी तिनीहरू अरूको लागि राम्रो उदाहरण बसाल्छन्‌। तर कहिलेकाहीँ तिनीहरूको आज्ञाकारिताको जाँच हुन सक्छ। उदाहरणको लागि, थुप्रै निर्देशन पाउँदा वा निर्देशनहरू छिटो-छिटो परिवर्तन हुँदा तिनीहरूलाई ती तुरुन्तै लागू गर्न गाह्रो लाग्न सक्छ। कुनै-कुनै अवस्थामा तिनीहरूलाई केही निर्देशन व्यावहारिक वा बुद्धिमानी छैन जस्तो लाग्न सक्छ अथवा तिनीहरूले पक्राउ पर्न सक्ने असाइनमेन्ट पाउन सक्छन्‌। यस्ता अवस्थाहरूमा एल्डरहरू कसरी गिदोनजस्तै आज्ञाकारी हुन सक्छन्‌?

११. कुन कुराले एल्डरहरूलाई आज्ञाकारी हुन मदत गर्न सक्छ?

११ ध्यान दिएर निर्देशनहरू सुन्‍नुहोस्‌ र ती पालन गर्नुहोस्‌। यहोवाले गिदोनलाई तिनको बुबाले बनाएको वेदी कसरी भत्काउने, उहाँको लागि नयाँ वेदी कहाँ बनाउने र भेटीस्वरूप कुन जनावर चढाउने भनेर निर्देशन दिनुभयो। गिदोनले यहोवाले भन्‍नुभएजस्तै गरे, कुनै प्रश्‍न उठाएनन्‌। आज एल्डरहरूले यहोवाको सङ्‌गठनबाट हाम्रो आध्यात्मिक र शारीरिक सुरक्षाको लागि चिठी, घोषणा र निर्देशनहरू पाउँछन्‌। एल्डरहरूले वफादार भई यी निर्देशनहरू पालन गरेकोमा हामी तिनीहरूलाई माया गर्छौँ। यस्तो आज्ञाकारिताबाट मण्डलीका सबैले लाभ उठाउँछन्‌।—भज. ११९:११२.

१२. कुनै निर्देशनमा छाँटकाँट गरिँदा एल्डरहरूले हिब्रू १३:१७ कसरी लागू गर्न सक्छन्‌?

१२ छाँटकाँट गर्न तयार हुनुहोस्‌। यहोवाले गिदोनलाई झन्डै ९९ प्रतिशत सिपाही घटाउन भन्‍नुभएको कुरा याद गर्नुहोस्‌। (न्याय. ७:८) ‘यति ठूलो सङ्‌ख्यामा सिपाहीहरू घटाएर जित्न सकिन्छ र’ भन्‍ने तिनलाई लागेको हुनुपर्छ। तैपनि गिदोनले यहोवाले भन्‍नुभएजस्तै गरे। आज एल्डरहरू कुनै निर्देशनमा छाँटकाँट हुँदा ती पालन गरेर गिदोनको अनुकरण गर्छन्‌। (हिब्रू १३:१७ पढ्‌नुहोस्‌।) जस्तै: सन्‌ २०१४ मा सभाभवन र सम्मेलनभवन निर्माण परियोजनामा कसले खर्च बेहोर्ने भन्‍ने सन्दर्भमा परिचालक निकायले नयाँ निर्देशन दियो। (२ कोरि. ८:१२-१४) विगतमा सभाभवन निर्माण गर्न सङ्‌गठनले ऋण दिने गर्थ्यो र त्यो ऋण पछि मण्डलीले चुक्‍ता गर्नुपर्थ्यो। तर अहिले संसारभरिबाट प्राप्त हुने अनुदान आवश्‍यक परेका ठाउँहरूमा सभाभवन र सम्मेलनभवनहरू निर्माण गर्न प्रयोग गरिन्छ। यस प्रबन्धबाट थोरै अनुदान दिन सक्ने मण्डलीहरूले पनि लाभ उठाउन सक्छन्‌। होसे भाइलाई यो प्रबन्ध त्यत्ति प्रभावकारी हुँदैन जस्तो लागेको थियो। तिनले यस्तो सोचे: ‘यो नयाँ निर्देशनअनुसार त एउटा पनि सभाभवन बनाउन सकिँदैन। यो निर्देशन हाम्रो ठाउँको लागि उपयुक्‍त छैन।’ होसेलाई यो निर्देशन पालन गर्न कुन कुराले मदत गऱ्‍यो? तिनी भन्छन्‌: “मलाई हितोपदेश ३:५, ६ का शब्दहरूले यहोवामाथि भरोसा राख्न मदत गऱ्‍यो। यो प्रबन्ध साँच्चै प्रभावकारी साबित भएको छ। अहिले हामी थुप्रै सभाभवन बनाइरहेका छौँ। साथै हाम्रो अनुदानलाई नयाँ तरिकामा प्रयोग गरिँदा सबैले लाभ उठाउन सकेका छन्‌।”

प्रतिबन्ध लागेका देशहरूमा समेत हामी साहसी भई प्रभावकारी तरिकामा साक्षी दिन सक्छौँ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. (क) गिदोन कुन कुरामा विश्‍वस्त थिए? (ख) एल्डरहरूले कसरी तिनको अनुकरण गर्न सक्छन्‌? (तस्बिर पनि हेर्नुहोस्‌।)

१३ साहसी भई यहोवाको इच्छाअनुसार गर्नुहोस्‌। आफूलाई डर लागे पनि र ज्यानको खतरा भए पनि गिदोनले यहोवाको आज्ञा पालन गरे। (न्याय. ९:१७) इस्राएलीहरूलाई बचाउन मदत गर्नेछु भनेर यहोवाले गिदोनलाई थुप्रै चोटि आश्‍वासन दिनुभएको थियो। यसबाट तिनी उहाँको साथ पाउने कुरामा विश्‍वस्त भए। साक्षीकार्यमा प्रतिबन्ध लागेका देशहरूमा सेवा गर्ने एल्डरहरू गिदोनको अनुकरण गर्छन्‌। तिनीहरू पक्राउ पर्ने, केरकार गरिने, जागिर गुमाउने वा कुटपिट गरिने खतरा भए पनि सभा र साक्षीकार्यमा साहसी भई नेतृत्व लिन्छन्‌। c महासङ्‌कष्टको दौडान एल्डरहरूलाई सङ्‌गठनबाट आउने निर्देशनहरू पालन गर्न साहस चाहिनेछ। ती निर्देशनहरूमा असिनारूपी सन्देश कसरी सुनाउने र मागोगको गोगको आक्रमणदेखि कसरी जोगिने भन्‍ने जानकारी समावेश हुन सक्छ।—इज. ३८:१८; प्रका. १६:२१.

तपाईँको सहनशीलताको जाँच हुँदा

१४. गिदोनको सहनशीलताको कसरी जाँच भयो?

१४ न्यायकर्ता गिदोन आफ्नो जिम्मेवारी पूरा गर्न धेरै खटिनुपर्थ्यो। मिद्यानीहरू रणभूमिबाट रातको समयमा भाग्दा गिदोनले उनीहरूलाई यिज्रेल बेँसीदेखि यर्दन नदीसम्मै खेदे। (न्याय. ७:२२) यो बाटो बाक्लो झाडीले भरिएको हुन सक्छ। के गिदोन यर्दनमै रोकिए? थकित भए तापनि तिनी र तिनका ३०० जना मानिस यर्दन तरेर पारि गए र शत्रुहरूलाई खेदिनै रहे। अन्तमा तिनीहरूले मिद्यानीहरूलाई भेट्टाए र मारे।—न्याय. ८:४-१२.

१५. कस्तो अवस्थामा एल्डरहरूको सहनशीलताको जाँच हुन सक्छ?

१५ मण्डली र परिवारको हेरचाह गर्दा कहिलेकाहीँ एल्डरहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित हुन सक्छन्‌। यस्तो अवस्थामा एल्डरहरूले कसरी गिदोनको अनुकरण गर्न सक्छन्‌?

मायालु एल्डरहरूले मदत चाहिएका थुप्रै भाइबहिनीलाई हौसला दिन सकेका छन्‌ (अनुच्छेद १६-१७ हेर्नुहोस्‌)

१६-१७. गिदोनलाई सहनशील हुन कुन कुराले मदत गऱ्‍यो र एल्डरहरू कुन कुरामा विश्‍वस्त हुन सक्छन्‌? (यसैया ४०:२८-३१) (तस्बिर पनि हेर्नुहोस्‌।)

१६ यहोवाले बल दिनुहुन्छ भनेर विश्‍वस्त हुनुहोस्‌। गिदोन यहोवाले बल दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिए र उहाँले दिनु पनि भयो। (न्याय. ६:१४, ३४) एकपटक गिदोन र तिनका मानिसहरूले दुई मिद्यानी राजालाई पैदलै खेदिरहेका थिए। ती राजाहरू भने उँटमा भागिरहेका हुन सक्छन्‌। (न्याय. ८:१२, २१) तर यहोवाको मदत पाएर इस्राएलीहरूले उनीहरूलाई पक्रे र युद्ध जिते। त्यसैगरि एल्डरहरू पनि यहोवामा भर पर्नुपर्छ, जो “कहिल्यै थाक्नुहुन्‍न न त कहिल्यै गल्नुहुन्छ।” उहाँले तिनीहरूलाई आवश्‍यक परेको बेला बल दिनुहुनेछ।—यसैया ४०:२८-३१ पढ्‌नुहोस्‌।

१७ अस्पताल सम्पर्क समितिमा सेवा गर्ने म्याथ्युको अनुभव विचार गरौँ। तिनलाई सहनशील हुन केले मदत गरेको छ? म्याथ्यु भन्छन्‌: “फिलिप्पी ४:१३ का शब्दहरू म आफैले अनुभव गरेको छु। मैले थुप्रै चोटि एकदमै थाकेर बल नै नभएको जस्तो महसुस गरेको छु। त्यतिबेला मैले यहोवालाई व्यग्र प्रार्थना गरेँ। उहाँले मलाई भाइबहिनीलाई मदत गर्न शारीरिक र मानसिक तवरमा बल दिनुभयो। यसरी म आफ्नो काममा लागिरहन सकेँ।” सधैँ सजिलो नभए पनि गिदोनले जस्तै यहोवाको बगालको हेरचाह गर्न एल्डरहरू कडा मेहनत गर्छन्‌। हुनत एल्डरहरूले आफ्नो सीमितता राम्ररी बुझ्नुपर्छ र सधैँ आफूले चाहेको कामकुरा गर्न सकिँदैन भनेर स्विकार्नुपर्छ। तर यहोवाले तिनीहरूको बिन्ती सुन्‍नुहुनेछ र सहनशील हुन बल दिनुहुनेछ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त हुन सक्छन्‌।—भज. ११६:१; फिलि. २:१३.

१८. एल्डरहरूले कसरी गिदोनको अनुकरण गर्न सक्छन्‌?

१८ एल्डरहरूले गिदोनको उदाहरणबाट धेरै कुरा सिक्न सक्छन्‌। जिम्मेवारी स्विकार्ने सन्दर्भमा अनि कसैले आलोचना वा प्रशंसा गर्दा एल्डरहरूले आफू मर्यादामा रहेको र नम्र भएको देखाउनुपर्छ। विशेषगरि यस युगको अन्त नजिकिँदै जाँदा तिनीहरू आज्ञाकारी र साहसी हुनुपर्छ। जस्तोसुकै अवरोधहरू आए पनि यहोवाले बल दिनुहुन्छ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त हुनुपर्छ। हो, हामी यी मेहनती गोठालाहरूको कदर गर्छौँ र तिनीहरूलाई ‘अनमोल ठान्छौँ।’—फिलि. २:२९.

गीत १२० ख्रिष्टको नम्रता अनुकरण गरौँ!

a इस्राएलीहरूको इतिहासको एकदमै कठिन समयमा यहोवाले आफ्ना मानिसहरूलाई डोऱ्‍याउन र रक्षा गर्न गिदोनलाई नियुक्‍त गर्नुभयो। गिदोनले झन्डै ४० वर्षसम्म वफादार भई यो जिम्मेवारी पूरा गरे। तर तिनले थुप्रै चुनौतीको सामना गरे। एल्डरहरूलाई तिनको उदाहरणले परीक्षाको बेला कसरी मदत गर्न सक्छ, यस लेखमा छलफल गर्नेछौँ।

b मर्यादामा रहनु र नम्रताबीच नजिकको सम्बन्ध छ। मर्यादामा रहने व्यक्‍तिले आफूबारे बढ्‌तै सोच्दैन र आफ्नो सीमितता स्विकार्छ। नम्र छौँ भने हामी अरूको आदर गर्छौँ र अरूलाई आफूभन्दा श्रेष्ठ ठान्छौँ। (फिलि. २:३) मर्यादामा रहने व्यक्‍ति प्रायजसो नम्र पनि हुन्छ।

c जुलाई २०१९ अङ्‌कको प्रहरीधरहरा-को पृ. १०-११ मा भएको “हाम्रो काममा प्रतिबन्ध लगाइँदा समेत यहोवाको उपासना गरिरहनुहोस्‌” भन्‍ने लेखको अनु. १०-१३ हेर्नुहोस्‌।