जीवनी
यहोवाको सेवामा आशै नगरेका आशिष्हरू
सानो छँदा आकाशमा प्लेन उडेको देख्दा मचाहिँ कहिले प्लेन चढेर सुन्दर देशमा जान पाऊँला भनेर सोच्ने गर्थेँ। तर त्यो सपना पूरा होला जस्तो लाग्दैनथ्यो।
दोस्रो विश्वयुद्धको बेला मेरो आमाबुबा इस्टोनियाबाट जर्मनीमा सर्नुभयो। म त्यहीँ जन्मेको थिएँ। त्यही समयतिर उहाँहरूले क्यानाडामा सर्ने योजना बनाउन थाल्नुभयो। क्यानाडा पुगेपछि हामी सबैभन्दा पहिला ओटावानजिकैको ठाउँमा बस्यौँ। हामी कुखुराको खोरमा बस्थ्यौँ र त्यहाँ कुखुराहरू पनि थिए। हामी असाध्यै गरिब भए पनि दिनदिनै अण्डा भने खान पाउँथ्यौँ।
एकदिनको कुरा हो, यहोवाका साक्षीहरूले आमालाई प्रकाश २१:३, ४ देखाए। त्यस कुराले उहाँको यत्ति मन छोयो कि उहाँ रुन थाल्नुभयो। सत्यको बिउले आमा र बुबाको मनमा जरा गाड्न थाल्यो र छोटो समयमै उन्नति गरेर बप्तिस्मा गर्नुभयो।
आमाबुबालाई अङ्ग्रेजी भाषा राम्ररी आउँदैनथ्यो। तैपनि उहाँहरू यहोवाको सेवामा निकै जोसिलो हुनुहुन्थ्यो। बुबा ओन्टारियोको सद्बरीमा निकल पगाल्ने कारखानामा रातभरि काम गर्नुहुन्थ्यो। तैपनि हरेक शनिबार बुबाले म र बहिनी सिल्भियालाई साक्षीकार्यमा लैजानुहुन्थ्यो। अनि हरेक हप्ता हामी परिवारै मिलेर प्रहरीधरहरा अध्ययन गर्थ्यौँ। आमा र बुबाले मलाई यहोवालाई प्रेम गर्न सिकाउनुभयो। त्यही प्रेमले मलाई १९५६ मा आफ्नो जीवन यहोवालाई समर्पण गर्न उत्प्रेरित गऱ्यो। त्यतिबेला म १० वर्षको थिएँ। उहाँहरूको यहोवाप्रतिको बलियो प्रेमले मलाई अहिलेसम्म यहोवाको सेवामा लागिरहन बल दिएको छ।
स्कुलको पढाइ सकेपछि मेरो जोस सेलाउन थाल्यो। अग्रगामी सेवा गरेँ भने प्लेन चढेर संसार हेर्ने मेरो सपना पूरा गर्न पैसा कमाउन सक्दिनँ जस्तो लाग्यो। मैले स्थानीय रेडियो स्टेसनमा गीत बजाउने काम पाएँ। यो काम मलाई असाध्यै मन पर्थ्यो। म त्यहाँ साँझ-साँझ काम गर्थेँ। त्यसले गर्दा सभाहरू छुट्न थाले र संसारका मानिसहरूसित सङ्गत बढ्न थाल्यो। तर बाइबल प्रशिक्षित अन्तस्करणले मलाई परिवर्तन गर्न उत्प्रेरित गऱ्यो।
म ओन्टारियोको ओसावा सरेँ। त्यहाँ मैले रे नर्मन, उहाँकी बहिनी लेस्ली र अरू अग्रगामीहरूलाई भेटेँ। उहाँहरूले मलाई न्यानो स्वागत गर्नुभयो। उहाँहरूको आनन्दले मलाई आफ्नो लक्ष्य फेरि केलाउन उत्प्रेरित गऱ्यो। उहाँहरूले मलाई अग्रगामी सेवा गर्न प्रोत्साहन दिनुभयो। पछि मैले सेप्टेम्बर १९६६ मा अग्रगामी सेवा गरेँ। म आनन्दित भई यो सेवा गर्दै थिएँ। तर मेरो जीवनमा सोच्दै नसोचेको एउटा परिवर्तन आयो।
यहोवाको निम्तो स्विकार्नुहोस्
हाई स्कुलमै छँदा मैले क्यानाडा बेथेलमा सेवा गर्न आवेदन दिएको थिएँ। तर पछि अग्रगामी सेवा गरिरहेको बेला मलाई बेथेलमा चार वर्षको लागि बोलाइयो। यसबीच मैले लेस्लीलाई मन पराउन थालिसकेको थिएँ। यो निम्तो स्विकारेँ भने उसलाई
फेरि कहिल्यै भेट्न नपाउने हो कि भनेर डर लाग्यो। धेरै चोटि व्यग्र प्रार्थना गरेपछि मैले बेथेलको निम्तो स्विकारेँ र मुटुमाथि ढुङ्गा राखेर लेस्लीलाई बिदाबारी गरेँ।म बेथेलको लन्ड्रिमा काम गर्थेँ र पछि सेक्रेटरीको काम गरेँ। त्यसबीच लेस्लीले क्युबेकको गाटिनाउमा विशेष अग्रगामी सेवा गर्न थाली। ऊ के गर्दै होली र मैले सही निर्णय गरेँ कि गरिनँ भनेर मेरो मनमा कुरा खेलिरहन्थ्यो। त्यसपछि मेरो जीवनमा एउटा रमाइलो घटना घट्यो। लेस्लीको दाइ रेलाई बेथेलमा बोलाइयो। उहाँ मेरो रुममेट हुनुभयो। यसले गर्दा लेस्लीसित फेरि कुराकानी हुन थाल्यो। मेरो बेथेल सेवाको अन्तिम दिन फेब्रुअरी २७, १९७१ मा हामीले विवाह गऱ्यौँ।
हामीलाई क्युबेकको फ्रान्सेली भाषाको मण्डलीमा खटाइयो। त्यसको केही वर्षपछि मलाई क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न निम्तो दिइयो। म छक्कै परेँ किनभने म २८ वर्षको मात्र थिएँ। जवान भएकोले म आफूलाई अयोग्य महसुस गर्थेँ तर यर्मिया १:७, ८ का शब्दहरूले मलाई प्रोत्साहन दियो। तर लेस्लीको अवस्था विचार गर्दा हामी परिभ्रमणकार्यमा जान सक्दैनौँ कि जस्तो लाग्यो। किनकि ऊ कार दुर्घटनाहरूमा परेकी थिई र उसलाई राती निदाउन निकै गाह्रो हुन्थ्यो। तर उसले यसो भनी, “यहोवा हामीलाई केही गर्न निम्तो दिनुहुन्छ भने हामीले त्यसैअनुसार गर्ने कोसिस त गर्नुपऱ्यो नि, होइन र?” हामीले निम्तो स्विकाऱ्यौँ र १७ वर्षसम्म परिभ्रमणकार्य गऱ्यौँ।
क्षेत्रीय निरीक्षक हुँदा म असाध्यै व्यस्त हुन्थेँ। लेस्लीसित समय बिताउन पनि फुर्सत हुँदैनथ्यो। यस सन्दर्भमा मैले एउटा पाठ सिकेँ। एकदिन बिहान सबेरै घरको घण्टी बज्यो। बाहिर हेर्दा कोही थिएन, पिकनिक बास्केट मात्र थियो। त्यसमा टेबुलपोस, फलफूल, चिज, पाउरोटी, वाइनको बोतल, ग्लासहरू अनि नाम नलेखिएको एउटा नोट थियो; जसमा यस्तो लेखिएको थियो, “श्रीमतीलाई पिकनिक लैजानुहोस्।” त्यो दिन निकै घमाइलो थियो। तर मैले लेस्लीलाई भाषणहरू बनाउनुपर्ने भएकोले म जान भ्याउँदिनँ भनेँ। उसले मेरो कुरा बुझी तर उसको अनुहार अलि निन्याउरो देखिन्थ्यो। तयारी गर्न बस्दा मेरो अन्तस्करणले मलाई घोच्यो। मैले एफिसी ५:२५, २८ सम्झेँ। ती बाइबल पदहरूमार्फत यहोवाले मलाई श्रीमतीको भावनाको ख्याल राख्न भनिरहनुभएको जस्तो लाग्यो। प्रार्थना गरेपछि मैले लेस्लीलाई भनेँ: “जाऔँ पिकनिक!” ऊ खुसी भई। हामी नदीछेउको रमाइलो ठाउँमा गयौँ। त्यहाँ टेबलपोस बिछ्यायौँ अनि सँगै रमाइलो गऱ्यौँ। पछि मैले भाषणहरू बनाउन पनि भ्याएँ।
हाम्रो परिभ्रमणकार्य रमाइलो हुँदैथ्यो। हामीलाई खटाइएको क्षेत्र ठूलो थियो—ब्रिटिस कोलम्बियादेखि न्यूफाउन्डल्याण्डसम्म। मेरो देशविदेश घुम्ने इच्छा पनि पूरा हुँदैथ्यो। मैले गिलियड स्कुल जानेबारे पनि सोचेको थिएँ तर विदेशमा सेवा गर्ने इच्छा भने थिएन। मलाई मिसनरीहरू भनेको विशेष मानिसहरू हुन् अनि आफू त्यसको लागि योग्य छैन जस्तो लाग्थ्यो। साथै मलाई रोग अनि युद्धले प्रभावित अफ्रिकाको कुनै देशमा खटाइन्छ कि भन्ने डर थियो। म जहाँ सेवा गर्दै थिएँ, त्यहीँ खुसी थिएँ।
इस्टोनिया र बाल्टिक देशहरूमा सेवा गर्ने निम्तो पाउँदा
सन् १९९२ मा भूतपूर्व सोभियत सङ्घबाट स्वतन्त्र भएका केही देशमा हाम्रो साक्षीकार्यमाथि लगाइएको प्रतिबन्ध हटाइयो। त्यसपछि सङ्गठनले हामीलाई इस्टोनियामा मिसनरी सेवा गर्न इच्छुक हुनुहुन्छ कि भनेर सोध्यो। हामी निकै अचम्ममा पऱ्यौँ तर हामीले त्यसबारे प्रार्थना गऱ्यौँ। हामीले फेरि सोच्यौँ, ‘यहोवा हामीलाई केही गर्न निम्तो दिनुहुन्छ भने हामीले त्यसैअनुसार गर्ने कोसिस त गर्नुपऱ्यो नि, होइन र?’ हामीले त्यो निम्तो स्विकाऱ्यौँ र मैले मनमनै यस्तो सोचेँ, ‘धन्न, अफ्रिकाचाहिँ जानुपरेन।’
हामीले तुरुन्तै इस्टोनियन भाषा सिक्न थाल्यौँ। इस्टोनिया गएको केही महिनापछि हामीलाई परिभ्रमणकार्य गर्न भनियो। हामीले लगभग ४६ वटा मण्डली, तीन वटा बाल्टिक देशका समूहहरू अनि रूसको कलिनिनग्राडमा भ्रमण गर्नुपर्थ्यो। त्यसैले हामीले लाट्भियन, लिथुआनियन र रूसी भाषा पनि सिक्नुपऱ्यो। भाषा सिक्न गाह्रो थियो तर हाम्रो मेहनत देखेर भाइबहिनी निकै खुसी हुनुभयो र हामीलाई मदत गर्नुभयो। सन् १९९९ मा इस्टोनियामा शाखा कार्यालय स्थापना भयो र मलाई शाखा समितिको सदस्य नियुक्त गरियो। शाखा समितिमा टोमास इदुर, लेम्बिट राइले र टोम्मि काउको हुनुहुन्थ्यो।
साइबेरियामा देशनिकाला गरिएका थुप्रै साक्षीलाई पनि हामीले भेट्ने मौका पायौँ। जेलमा कठोर सजाय भोग्नुपरे पनि र परिवारदेखि छुट्टिनुपरे पनि उहाँहरूले कहिल्यै कसैप्रति द्वेषभाव राख्नुभएन। उहाँहरू साक्षीकार्यमा आनन्दित र जोसिलो भई लागिरहनुभयो। उहाँहरूको उदाहरणले हामीलाई गाह्रा परिस्थितिहरूमा सहनशील र आनन्दित हुन मदत गऱ्यो।
हामीले थुप्रै वर्ष खासै छुट्टी लिएनौँ। यसले गर्दा लेस्लीले निकै थकित महसुस गर्न थाली। सुरुमा त यस्तो थकान फाइब्रोमाएलजिया भन्ने रोगको लक्षण हो भनेर थाहै भएन। हामीलाई अब त क्यानाडामै फर्कनुपर्छ जस्तो लाग्न थाल्यो। यसै बेला हामीले प्याटर्सनमा हुने ब्रान्च स्कुलको निम्तो पायौँ। तर जान सकिँदैन कि जस्तो लाग्यो। यसबारे थुप्रै चोटि व्यग्र प्रार्थना गरेपछि हामीले निम्तो स्विकाऱ्यौँ। यहोवाले हाम्रो निर्णयमा आशिष् दिनुभयो। स्कुल चलिरहेकै बेला लेस्लीले सही उपचार पाउन सकी। त्यसपछि हामी पहिलाजस्तै सामान्य दिनचर्यामा लाग्न सक्यौँ।
आशै नगरेको अर्को असाइनमेन्ट
सन् २००८ को कुरा हो, इस्टोनियामा छँदा एक रात मुख्यालयबाट फोन आयो। हामीलाई कङ्गोमा सेवा गर्न चाहनुहुन्छ कि भनेर सोधियो। म स्तब्ध भएँ। त्यसमाथि भोलिपल्टै मैले त्यसको जवाफ दिनुपर्थ्यो। त्यतिखेर मैले यो कुरा लेस्लीलाई भनिनँ। त्यो कुरा सुनेर ऊ निदाउन सक्दिन भनेर मलाई थाह थियो तर म आफैचाहिँ निदाउन सकिनँ। मैले रातभरि अफ्रिकामा आइपर्ने चुनौतीहरूबारे प्रार्थना गरिरहेँ।
भोलिपल्ट मैले लेस्लीलाई सबै कुरा बताएँ। हामीले सोच्यौँ, “यहोवाले हामीलाई अफ्रिका जाने निम्तो दिँदै हुनुहुन्छ। हामीले कोसिस नै गरेनौँ भने त्यो गर्न सक्दैनौँ वा त्यसमा रमाउन सक्दैनौँ भनेर कसरी थाह पाउन सकिन्छ र?” त्यसैले इस्टोनियामा सेवा गरेको १६ वर्षपछि हामी कङ्गोको किन्शासा गयौँ। त्यहाँको शाखा कार्यालयमा सुन्दर बगैँचा थियो अनि वरपरको वातावरण निकै शान्त थियो। बेथेलको हाम्रो कोठामा पुगेपछि लेस्लीले सबैभन्दा पहिला एउटा कार्ड राखिन्। त्यो कार्ड तिनले
क्यानाडा छोडेदेखि सम्हालेर राखेकी थिइन्। त्यसमा “तपाईँहरू जहाँ जानुहुन्छ, त्यहाँ फूलजस्तै फुल्नुहोस्!” भनेर लेखिएको थियो। हामीले कङ्गोका भाइबहिनीलाई भेटेपछि, बाइबल अध्ययनहरू सञ्चालन गरेपछि र मिसनरी सेवा कत्ति रमाइलो हुन्छ भनेर अनुभव गरेपछि हाम्रो आनन्द बढ्दै गयो। पछि हामीले लगभग १३ वटा अफ्रिकी देशमा शाखा भ्रमण गर्ने सुअवसर पायौँ। त्यसले गर्दा हामीले फरक-फरक पृष्ठभूमिका मानिसहरू र उनीहरूका सुन्दर गुणहरू देख्न पायौँ। त्यसपछि अफ्रिकाबारे मेरो जत्ति पनि डर-चिन्ताहरू थिए, ती सबै हराए। हामीले यहोवालाई अफ्रिकामा सेवा गर्न पठाउनुभएकोमा धन्यवाद दियौँ।कङ्गोमा भाइबहिनीले हामीलाई विभिन्न खानेकुरा दिनुहुन्थ्यो। जस्तै: किरा-फट्याङ्ग्रा। हामीलाई त्यो खानै सकिँदैन जस्तो लाग्थ्यो। तर भाइबहिनीले मीठो मानेर खाएको देख्दा हामीले पनि चाखेर हेऱ्यौँ। अचम्मको कुरा, हामीलाई पनि त्यो मीठो लाग्यो।
कङ्गोको पूर्वी क्षेत्रका केही गाउँमा छापामार समूहहरूले आक्रमण गर्दै थिए अनि महिला र केटाकेटीलाई धेरै दुःख दिइरहेका थिए। हामी ती ठाउँका भाइबहिनीलाई आध्यात्मिक र भौतिक मदत दिन गयौँ। हाम्रा धेरैजसो भाइबहिनी निकै गरिब थिए तर पुनर्जीवनमाथिको उहाँहरूको बलियो आशा, यहोवाप्रतिको प्रेम र उहाँहरूले सङ्गठनप्रति देखाएको वफादारीले हाम्रो मनै छोयो। उहाँहरूको उदाहरणले हामीलाई आफ्नो विश्वास फेरि केलाउन र त्यसलाई बलियो बनाउन उत्प्रेरित गऱ्यो। हाम्रा केही भाइबहिनीले आफ्नो घर अनि बालीनाली गुमाएका थिए। यसले मलाई भौतिक कुराहरू गुमाउन कत्तिबेर पनि लाग्दैन र सबैभन्दा बहुमूल्य कुरा भनेको आध्यात्मिक सम्पत्ति हो भनेर सम्झन मदत गऱ्यो। एकदमै कठिन अवस्थाहरूमा पनि हाम्रा भाइबहिनीले कहिल्यै गुनासो गरेनन्। उहाँहरूको यस्तो मनोवृत्तिले हामीलाई साहसका साथ चुनौतीहरू र स्वास्थ्य समस्याहरूको सामना गर्न मदत गऱ्यो।
एसियामा नयाँ असाइनमेन्ट
हामीले फेरि आशै नगरेको असाइनमेन्ट पायौँ। हामीलाई हङकङ शाखामा सर्न सकिन्छ कि भनेर सोधियो। हामीले एसियामा सेवा गर्ने कुरा कहिल्यै सोचेका थिएनौँ तर हरेक असाइनमेन्टमा हामीले यहोवाको मायालु हात देखेकोले यो निम्तो पनि स्विकाऱ्यौँ। सन् २०१३ मा आँखाभरि आँसु लिएर
हामीले आफ्ना प्यारा साथीहरू अनि सुन्दर अफ्रिका छोड्यौँ। अब के हुने हो, हामीलाई केही थाह थिएन।हङकङमा जीवन बिताउनु हाम्रो लागि ठूलो परिवर्तन थियो किनभने त्यो संसारका विभिन्न ठाउँबाट आएका मानिसहरू मिलेर बनेको ठूलो सहर थियो। क्यान्टोनिज भाषा सिक्नु हाम्रो लागि एउटा चुनौती थियो तर भाइबहिनीले हामीलाई न्यानो स्वागत गर्नुभयो। अनि हामीलाई त्यहाँको खानेकुरा पनि निकै मन पऱ्यो। शाखा कार्यालयको काम द्रुत गतिमा अघि बढिरहेकोले थप कार्यालयको आवश्यकता थियो। तर घरजग्गाको भाउ भने आकासिँदै थियो। यस्तो बेला परिचालक निकायले त्यस शाखाको धेरैजसो घरजग्गा बेच्ने बुद्धिमानी निर्णय गऱ्यो। त्यसको केही समयपछि २०१५ मा हामीलाई दक्षिण कोरियामा खटाइयो, जहाँ हामी अहिले पनि सेवा गर्दै छौँ। यहाँ हामीले फेरि अर्को गाह्रो भाषा सिक्नुपऱ्यो। हामीलाई त्यो भाषा राम्ररी बोल्न आउँदैन तर भाइबहिनीले तपाईँहरू कोरियन भाषा राम्ररी बोल्दै हुनुहुन्छ भनेर प्रोत्साहन दिनुहुन्छ।
यहोवाको सेवामा सिकेका पाठहरू
नयाँ साथीहरू बनाउनु सधैँ सजिलो हुँदैन तर अतिथि-सत्कार गर्न अग्रसर हुँदा साथी बनाउन सजिलो हुन्छ भनेर हामीले महसुस गऱ्यौँ। हाम्रा भाइबहिनी फरक-फरक पृष्ठभूमि र देशका भए तापनि हामीले तिनीहरूबीच थुप्रै समान कुरा देख्न सक्यौँ। हो, यहोवाले हामीलाई अचम्मलाग्दो तरिकामा बनाउनुभएको छ, जसले गर्दा हामी ठूलो मनको हुन र साथीहरूलाई माया व्यक्त गर्न सक्छौँ।—२ कोरि. ६:११.
हामीले मानिसहरूलाई यहोवाले जस्तै स्विकार्नुपर्छ अनि उहाँ हामीलाई प्रेम गर्नुहुन्छ र डोऱ्याउँदै हुनुहुन्छ भन्ने कुराका प्रमाणहरू खोज्नुपर्छ भनेर सिक्यौँ। निराश हुँदा वा अरूले मन नपराएको जस्तो लाग्दा हामी साथीहरूले दिएका प्रोत्साहनदायी कार्डहरू र चिठीहरू पढ्ने गर्थ्यौँ। यहोवाले हाम्रा प्रार्थनाहरूको जवाफ दिनुभएको छ; हामीले उहाँको प्रेम पाएको महसुस गर्न सकेका छौँ र सेवामा लागिरहन बल पाएका छौँ।
समयको दौडान जत्ति नै व्यस्त भए पनि हामीले एकअर्काको लागि समय निकाल्नु कत्ति महत्त्वपूर्ण छ भनेर सिक्यौँ। विशेषगरि नयाँ भाषा सिक्ने कोसिस गर्दा कुनै गल्ती भयो भने हाँस्न सिक्नुपर्छ भनेर पनि हामीले बुझ्यौँ। अनि हामी हरेक रात यहोवालाई धन्यवाद दिन सक्ने कुराहरू सोच्ने गर्छौँ।
भनौँ भने मैले मिसनरी हुने र विभिन्न देशमा बस्ने कुरा कहिल्यै पनि सोचेको थिइनँ। तर यहोवाले कसरी सबै कुरा सम्भव तुल्याइदिनुहुन्छ भनेर म आफैले अनुभव गरेँ। म भविष्यवक्ता यर्मियाले भनेका यी शब्दहरू सम्झन्छु: “हे यहोवा, तपाईँले मलाई झुक्क्याउनुभयो।” (यर्मि. २०:७) हो, उहाँले हामीलाई आशै नगरेका आशिष्हरू दिनुभएको छ। प्लेन चढेर देशविदेश घुम्ने मेरो सानो बेलाको सपनासमेत पूरा गरिदिनुभएको छ। भनौँ भने सोचेभन्दा धेरै देशमा जाने मौका पाएका छौँ। हामीले पाँच वटा महादेशमा शाखा भ्रमणहरू गऱ्यौँ। लेस्लीले मलाई सधैँ इच्छुक मनोवृत्ति देखाएर विभिन्न असाइनमेन्ट पूरा गर्न साथ दिएकी छे। त्यसको लागि म ऊप्रति निकै आभारी छु।
हामी यो सब कसको लागि र किन गर्दै छौँ भनेर सधैँ सम्झने कोसिस गर्छौँ। अहिले हामीले पाइरहेका आशिष्हरू नयाँ संसारको पूर्वझलक मात्र हो। त्यतिबेला यहोवाले ‘आफ्नो मुठी खोल्नुहुनेछ अनि सबै जीवको इच्छा पूरा गरिदिनुहुनेछ।’—भज. १४५:१६.