अध्ययन लेख २७
हामीले किन यहोवाको डर मान्नुपर्छ?
“यहोवाको डर मान्नेहरू मात्र उहाँको घनिष्ठ मित्र बन्न पाउँछन्।”—भज. २५:१४.
गीत ८ यहोवा हाम्रो शरण
परिचय a
१-२. भजन २५:१४ अनुसार यहोवाको घनिष्ठ मित्र बन्न हामीले के गर्नुपर्छ?
कसैसित घनिष्ठ मित्रता कायम राख्न तपाईँलाई कस्ता गुणहरू नभई हुँदैन जस्तो लाग्छ? सायद तपाईँ तिनीहरूसित प्रेम र सहयोगी मनोभाव हुनुपर्छ भन्नुहुन्छ होला। एकअर्काको डर हुनुपर्छ भनेर त पक्कै भन्नुहुन्न होला। तर यस लेखको मूल शास्त्रपदमा यहोवाको घनिष्ठ मित्र बन्न उहाँको ‘डर मान्नुपर्छ’ भनिएको छ।—भजन २५:१४ पढ्नुहोस्।
२ यहोवाको सेवा गरेको जत्ति नै लामो समय भए पनि हामीले उहाँप्रतिको डरलाई कायम राख्नुपर्छ। तर परमेश्वरको डर मान्नु भनेको के हो? यहोवाको डर मान्न हामी कसरी सिक्न सक्छौँ? अनि परमेश्वरको डर मान्ने सन्दर्भमा भण्डारे ओबदियाह, प्रधानपुजारी यहोयादा र राजा यहोआसबाट के सिक्न सक्छौँ?
परमेश्वरको डर मान्नु भनेको के हो?
३. डर हाम्रो निम्ति कसरी सुरक्षा हुन सक्छ, बताउनुहोस्।
३ परमेश्वरको डर मान्नुको अर्थ हामी उहाँलाई अप्रसन्न तुल्याउने कुनै कुरा गर्नदेखि डराउनु हो। हुनत डर शब्द नकारात्मक सुनिन्छ तर यसले हामीलाई बुद्धिमानी कदम चाल्न उत्प्रेरित गर्छ। जस्तै: भीरबाट खस्ला भन्ने डरले हामी त्यसको छेउबाट हिँड्दैनौँ। घाइते होला भन्ने डरले गर्दा हामी खतरनाक अवस्थाहरूमा पर्नदेखि जोगिन्छौँ। आफूले माया गर्ने व्यक्तिसितको मित्रता टुट्ला भन्ने डरले हामी तिनको चित्त दुखाउने कुराहरू भन्दैनौँ वा गर्दैनौँ।
४. यहोवाप्रति कस्तो किसिमको डर राखेको सैतान चाहन्छ?
४ मानिसहरू यहोवादेखि त्रसित भएको सैतान चाहन्छ। त्यसले यहोवा क्रोधित, बदलाभाव राख्नुहुने परमेश्वर हुनुहुन्छ र उहाँलाई कहिल्यै खुसी पार्न सकिँदैन भन्ने भान पार्न खोज्छ। (अय्यु. ४:१८, १९) यहोवासित एकदमै त्रसित भएर उहाँको सेवा गर्न छोडेको त्यो चाहन्छ। यस्तो पासोदेखि जोगिन हामीले परमेश्वरप्रतिको डर विकास गर्नुपर्छ।
५. परमेश्वरको डर मान्नु भनेको के हो?
५ यहोवाको डर मान्ने व्यक्तिले उहाँलाई प्रेम गर्छ र उहाँसितको सम्बन्धलाई बिगार्न सक्ने कुनै पनि काम गर्न चाहँदैन। येसु “परमेश्वरको डर मान्नुहुन्थ्यो।” (हिब्रू ५:७) उहाँ परमेश्वरदेखि कहिल्यै त्रसित हुनुभएन। (यसै. ११:२, ३) बरु उहाँ परमेश्वरलाई धेरै प्रेम गर्नुहुन्थ्यो र उहाँको आज्ञा पालन गर्न चाहनुहुन्थ्यो। (युह. १४:२१, ३१) येसुजस्तै हामी यहोवाको गहिरो आदर र श्रद्धा गर्छौँ किनभने उहाँ मायालु, बुद्धिमान्, न्यायी र शक्तिशाली हुनुहुन्छ। यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ र उहाँको डोऱ्याइअनुसार चल्छौँ कि चल्दैनौँ भन्ने कुरामा उहाँ चासो लिनुहुन्छ भनेर पनि हामीलाई थाह छ। हामी आफ्नो व्यवहारबाट यहोवालाई या दुःखी या त खुसी बनाउन सक्छौँ।—भज. ७८:४१; हितो. २७:११.
परमेश्वरको डर मान्न सिक्नुहोस्
६. यहोवाको डर मान्न सिक्न हामी के गर्न सक्छौँ? (भजन ३४:११)
६ यहोवाप्रतिको डर आफसेआफ आउने कुरा होइन, हामीले यो विकास गर्न सिक्नुपर्छ। (भजन ३४:११ पढ्नुहोस्।) यसो गर्ने एउटा तरिका सृष्टिका कुराहरू नियाल्नु हो। “उहाँले बनाउनुभएका कुराहरू”-मा उहाँको बुद्धि, शक्ति र हामीप्रतिको उहाँको गहिरो प्रेम जत्ति धेरै याद गर्छौँ, उहाँप्रतिको आदर र प्रेम त्यत्ति नै बढ्नेछ। (रोमी १:२०) एड्रियन बहिनी यसो भन्छिन्: “सृष्टिका कुराहरूमा यहोवाको बुद्धि झल्किएको कुरा याद गर्दा म दङ्ग पर्छु। यसले मलाई उहाँ मेरो भलो चाहनुहुन्छ भनेर बुझ्न मदत गरेको छ।” यसरी सोच्दा तिनी यस्तो निष्कर्षमा पुगिन्: “मेरो जीवनको स्रोत यहोवासितको सम्बन्ध बिगार्न सक्ने कुनै कुरा म गर्न चाहन्नँ।” यो हप्ता सृष्टिको कुनै कुराबारे सोच्न केही समय निकाल्नुभए कसो होला? यसो गर्दा यहोवाप्रतिको आदर र प्रेम झनै बढ्नेछ।—भज. १११:२, ३.
७. प्रार्थनाले यहोवाप्रति डर विकास गर्न कसरी मदत गर्न सक्छ?
७ यहोवाप्रतिको डर विकास गर्ने अर्को तरिका नियमित रूपमा प्रार्थना गर्नु हो। हामी जत्ति धेरै प्रार्थना गर्छौँ, यहोवा हामीलाई त्यत्ति नै वास्तविक लाग्नेछ। प्रत्येक चोटि परीक्षा सहन बल माग्दा हामी उहाँसित अथाह शक्ति छ भनेर सम्झन्छौँ। आफ्नो छोरा हाम्रो लागि पठाउनुभएकोमा धन्यवाद व्यक्त गर्दा यहोवा हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भनेर सम्झन्छौँ। कुनै समस्या परेको बेला व्यग्र प्रार्थना गर्दा यहोवा कत्ति बुद्धिमान् हुनुहुन्छ भनेर सम्झन्छौँ। यस्ता प्रार्थनाहरूले यहोवाप्रतिको हाम्रो आदरलाई अझ बढाउँछ। साथै उहाँसितको मित्रतालाई बिगार्न सक्ने कुराहरूदेखि अलग रहने हाम्रो सङ्कल्पलाई अझै बलियो बनाउँछ।
८. परमेश्वरप्रतिको डर कायम राख्न हामी के गर्न सक्छौँ?
८ बाइबलका असल र खराब पात्रहरूबाट सिक्ने उद्देश्यसहित बाइबल पढ्यौँ भने हामीले परमेश्वरप्रतिको डरलाई कायम राख्न सक्छौँ। आउनुहोस्, हामी यहोवाका दुई वफादार सेवक—राजा आहाबका भण्डारे ओबदियाह र प्रधानपुजारी यहोयादाबारे छलफल गरौँ। त्यसपछि यहुदाका राजा यहोआसबारे छलफल गर्नेछौँ, जो सुरुमा त असल थिए तर पछि तिनले यहोवालाई त्यागे।
परमेश्वरको डर मान्ने ओबदियाहजस्तै साहसी हुनुहोस्
९. ओबदियाहलाई परमेश्वरको डरले कस्ता गुणहरू विकास गर्न मदत गऱ्यो? (१ राजा १८:३, १२)
९ बाइबलमा ओबदियाहको b परिचय यसरी दिइएको छ: “ओबदियाह यहोवा परमेश्वरको असाध्यै डर मान्थे।” (१ राजा १८:३, १२ पढ्नुहोस्।) ओबदियाहलाई परमेश्वरको डरले कस्ता गुणहरू विकास गर्न मदत गऱ्यो? यसले तिनलाई इमानदार र भरोसायोग्य बन्न मदत गऱ्यो। यी गुणहरू देखेर राजाले तिनलाई आफ्नो घरानाको रेखदेख गर्ने जिम्मा दिए। (नहेम्याह ७:२ तुलना गर्नुहोस्।) परमेश्वरको डरले ओबदियाहलाई असाधारण साहस देखाउन पनि मदत गऱ्यो, जुन तिनलाई निकै खाँचो थियो। तिनी राजा आहाबका शासनकालको समयका मानिस थिए। “आहाब यहोवा परमेश्वरको नजरमा तिनका पूर्वजभन्दा खराब थिए।” (१ राजा १६:३०) साथै बाआलको उपासना गर्ने आहाबकी पत्नी ईजेबेलले यहोवालाई यत्ति धेरै घृणा गर्थिन् कि उनले दस गोत्रे राज्यबाट साँचो उपासना नामेट पार्न खोजिन्। उनले परमेश्वरका थुप्रै भविष्यवक्ताको समेत हत्या गरिन्। (१ राजा १८:४) साँच्चै, ओबदियाहले एकदमै गाह्रो समयमा यहोवाको उपासना गरेका थिए।
१०. ओबदियाहले कसरी असाधारण साहस देखाए?
१० ओबदियाहले कसरी असाधारण साहस देखाए? ईजेबेलले परमेश्वरका भविष्यवक्ताहरूलाई खोजी-खोजी मार्न थाल्दा ओबदियाहले १०० जना भविष्यवक्तालाई ‘५०-५० जनाको समूह बनाएर दुई वटा ओडारमा लुकाएर राखे। अनि उनीहरूको लागि रोटी र पानीको बन्दोबस्त पनि मिलाइदिए।’ (१ राजा १८:१३, १४) ईजेबेलले यो कुरा थाह पाएको भए ओबदियाहलाई पक्कै पनि मार्न लगाउने थिइन्। ओबदियाह पनि हामीजस्तै साधारण मानिस भएकोले तिनी डराएका हुन सक्छन्। तर तिनलाई आफ्नो ज्यानभन्दा यहोवा र उहाँका सेवकहरू प्यारो थियो।
११. आज यहोवाका सेवकहरूले कसरी ओबदियाहले जस्तै साहस देखाएका छन्? (तस्बिर पनि हेर्नुहोस्।)
११ आज यहोवाका थुप्रै सेवक हाम्रो काममा प्रतिबन्ध लगाइएका देशहरूमा बस्छन्। तिनीहरू सरकारी अख्तियारवालाहरूको आदर गर्छन् तर ओबदियाहले जस्तै यहोवालाई दिनुपर्ने भक्ति अरूलाई दिँदैनन्। (मत्ति २२:२१) मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मानेर तिनीहरू परमेश्वरको डर मानेको देखाउँछन्। (प्रेषि. ५:२९) तिनीहरू साक्षीकार्यमा लागिरहेर र गोप्य रूपमा सभाहरूको लागि भेला भएर यस्तो डर देखाउँछन्। (मत्ति १०:१६, २८) दाजुभाइ दिदीबहिनीले पर्याप्त आध्यात्मिक भोजन पाइरहेका छन् कि छैनन् भन्ने कुरामा पनि तिनीहरू चासो लिन्छन्। केही समयको लागि हाम्रो काममा प्रतिबन्ध लगाइएको एउटा अफ्रिकी देशमा बस्ने आन्रीको उदाहरण विचार गरौँ। प्रतिबन्धको बेला आन्रीले भाइबहिनीकहाँ हाम्रा प्रकाशनहरू पुऱ्याउने काम गरे। तिनले यस्तो लेखे: “म लजालु स्वभावको छु। तर यहोवाप्रतिको गहिरो आदरले गर्दा नै म यस्तो साहसी हुन सकेको हुँ।” के तपाईँ पनि आन्रीजस्तै साहसी हुन सक्नुहुन्छ? परमेश्वरप्रतिको डर विकास गर्नुभयो भने पक्कै सक्नुहुन्छ।
परमेश्वरको डर मान्ने प्रधानपुजारी यहोयादाजस्तै वफादार हुनुहोस्
१२. प्रधानपुजारी यहोयादा र तिनकी पत्नीले कसरी यहोवाप्रति वफादार भएको देखाए?
१२ प्रधानपुजारी यहोयादा यहोवाको डर मान्थे र यस्तो डरले तिनलाई वफादार रहन र साँचो उपासनाको समर्थन गर्न उत्प्रेरित गऱ्यो। यो कुरा ईजेबेलकी छोरी अथल्याहले यहुदाको राजगद्दी हडप्दा स्पष्ट भयो। त्यतिबेला मानिसहरू अथल्याहसँग डराउँथे। उनी यत्ति क्रूर र सत्ताको भोको थिइन् कि उनले आफ्ना नातिहरूलगायत सम्पूर्ण राजघरानालाई नामेट पार्न खोजिन्। (२ इति. २२:१०, ११) ती नातिहरूमध्ये एक जना यहोआस थिए। तर यहोयादाकी पत्नी यहोसेबाले तिनलाई बचाए। यहोसेबा र उनका पति यहोयादाले यहोआस लुकाए र तिनको ख्याल राखे। यसरी यहोयादा र यहोसेबाले दाउदको वंशलाई जोगाउन मदत गरे। तर वृद्ध यहोयादा यहोवाप्रति वफादार रहे र अथल्याहको डरले गर्दा सही कुरा गर्नदेखि पछि हटेनन्।—हितो. २९:२५.
१३. यहोआस सात वर्षको हुँदा यहोयादाले कसरी यहोवाप्रतिको वफादारीको प्रमाण दिए?
१३ यहोआस सात वर्षको हुँदा यहोयादाले फेरि एकचोटि यहोवाप्रतिको वफादारीको प्रमाण दिए। तिनले एउटा योजना बनाए। यो योजना सफल भएमा यहोआस राजा हुने थिए, जो दाउदको सिंहासनको असली हकदार थिए। तर योजना विफल भएको खण्डमा यहोयादाले आफ्नो ज्यान गुमाउन सक्थे। यहोवाको आशिष्ले गर्दा त्यो योजना सफल भयो। कप्तानहरू र लेवीहरूको समर्थन पाएर यहोयादाले यहोआसलाई राजा बनाए र अथल्याहलाई मारे। (२ इति. २३:१-५, ११, १२, १५; २४:१) “त्यसपछि यहोयादाले यहोवा परमेश्वर, राजा र मानिसहरूबीच करार गरे, जुन करारअनुसार उनीहरू सधैँ यहोवा परमेश्वरको प्रजा रहनुपर्थ्यो।” (२ राजा ११:१७) “कुनै पनि कारणले अशुद्ध भएका मानिसहरू यहोवा परमेश्वरको भवनमा छिर्न नपाऊन् भनेर यहोयादाले भवनका ढोकाहरूमा ढोकेहरू पनि खटाए।”—२ इति. २३:१९.
१४. यहोवाको आदर गरेकोले यहोयादाको कसरी आदर गरियो?
१४ यहोवाले यसो भन्नुभएको थियो: “ज-जसले मलाई आदर गर्छन्, म तिनीहरूलाई आदर गर्नेछु।” उहाँले भन्नुभएजस्तै यहोयादालाई इनाम दिनुभयो। (१ समु. २:३०) जस्तै: यी प्रधानपुजारीका असल कामहरू हाम्रो शिक्षाको लागि बाइबलमा लेख्न लगाउनुभयो। (रोमी १५:४) अनि यहोयादाको मृत्यु हुँदा तिनलाई विशेष सम्मान दिइयो। “तिनलाई दाउदनगरमा राजाहरूको चिहानमा गाडियो किनभने तिनले इस्राएलमा साँचो परमेश्वर र उहाँको भवनको निम्ति असल कामहरू गरेका थिए।”—२ इति. २४:१५, १६.
१५. यहोयादाको विवरणबाट हामी के सिक्न सक्छौँ? (तस्बिर पनि हेर्नुहोस्।)
१५ यहोयादाको विवरणले हामीलाई परमेश्वरप्रतिको डर विकास गर्न मदत गर्छ। ख्रिष्टियन निरीक्षकहरू यहोयादाको अनुकरण गर्दै सचेत रहन्छन् र परमेश्वरको बगालको रक्षा गर्छन्। (प्रेषि. २०:२८) वृद्ध ख्रिष्टियनहरूले यहोयादाबाट के सिक्न सक्छन्? तिनीहरूले यहोवाको डर माने र वफादार रहे भने परमेश्वरले तिनीहरूलाई आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गर्नुहुनेछ। उहाँले तिनीहरूलाई त्याग्नुहुनेछैन। अनि युवाहरूले यहोवाले यहोयादासित कस्तो व्यवहार गर्नुभयो, याद गर्न सक्छन्। तिनीहरूले विशेषगरि लामो समयदेखि यहोवाको सेवा गरिरहेका वृद्धहरूको आदर गरेर उहाँको अनुकरण गर्न सक्छन्। (हितो. १६:३१) यहोयादालाई साथ दिने कप्तानहरू र लेवीहरूबाट पनि हामीले पाठ सिक्न सक्छौँ। हामी पनि ‘अगुवाइ लिइरहेकाहरूप्रति आज्ञाकारी’ भएर तिनीहरूलाई साथ दिइरहौँ।—हिब्रू १३:१७.
राजा यहोआसजस्तो नहुनुहोस्
१६. राजा यहोआसले यहोवाको डर नमानेको कसरी देखाए?
१६ यहोयादा जीवित होउन्जेल तिनको डोऱ्याइ पाएर राजा यहोआसले परमेश्वरको नजरमा जे सही छ, त्यही गरे। (२ राजा १२:२) तर यहोयादाको मृत्युपछि जवान राजा यहोआसले धर्मत्यागी भारदारहरूको कुरा सुने। नतिजा कस्तो भयो? तिनी र तिनका प्रजाले “पवित्र खामाहरू र मूर्तिहरू पुज्न थाले।” (२ इति. २४:४, १७, १८) यसले गर्दा यहोवाको असाध्यै मन दुख्यो। तैपनि उहाँले “तिनीहरूलाई आफूकहाँ फर्काएर ल्याउन थुप्रै भविष्यवक्तालाई पठाइरहनुभयो . . . तर तिनीहरूले उनीहरूको कुरा सुन्न इन्कार गरे।” तिनीहरूले यहोयादाका छोरा जकरियाको c कुरासमेत सुनेनन्। जकरिया यहोवाको भविष्यवक्ता र पुजारी मात्र थिएनन् तर यहोआसको आफन्त पनि थिए। राजा यहोआसले जकरियाको परिवारले लगाएको गुण बिर्सेर तिनलाई मार्न लगाए।—२ इति. २२:११; २४:१९-२२.
१७. यहोआसले कस्तो नतिजा भोग्नुपऱ्यो?
१७ यहोआसले यहोवाप्रतिको डर कायम राखेनन् र नराम्रो नतिजा भोग्नुपऱ्यो। यहोवाले यसो भन्नुभएको थियो: “ज-जसले मेरो अपमान गर्छन्, तिनीहरू अपमानित हुनेछन्।” (१ समु. २:३०) सिरियाली सैनिकहरू थोरै भए पनि यहोआसको “विशाल सेनालाई” हराए र तिनलाई “गम्भीर घाइते” बनाए। सिरियालीहरू फर्केपछि यहोआसका आफ्नै सेवकहरूले तिनको हत्या गरे किनकि तिनले जकरियालाई मारेका थिए। यस दुष्ट राजालाई तिनका सेवकहरूले “राजाहरूको चिहानमा” गाड्न समेत योग्य ठानेनन्।—२ इति. २४:२३-२५.
१८. यर्मिया १७:७, ८ अनुसार यहोआस जस्तो नहुन हामी के गर्न सक्छौँ?
१८ यहोआसको उदाहरणबाट हामी के सिक्न सक्छौँ? तिनी राम्ररी जरा नगाडिएको रूखजस्तै थिए, जसलाई अडिन टेको चाहिन्छ। टेको अर्थात् यहोयादाको मृत्युपछि जब धर्मत्यागीहरूको बतास चल्न थाल्यो, तब यहोआस ढले। यसबाट हामी एउटा सशक्त पाठ सिक्न सक्छौँ: मण्डलीका भाइबहिनीहरू र परिवारका सदस्यहरूले परमेश्वरको डर मानेकोले मात्र आफूले पनि परमेश्वरको डर मान्नु सही होइन। आध्यात्मिक तवरमा बलियो रहिरहन हामीले नियमित रूपमा अध्ययन, मनन र प्रार्थना गरेर आफ्नो भक्ति र डरलाई कायम राख्नुपर्छ।—यर्मिया १७:७, ८ पढ्नुहोस्; कल. २:६, ७.
१९. यहोवा हामीबाट के चाहनुहुन्छ?
१९ यहोवा हामीबाट बढ्तै माग गर्नुहुन्न। उहाँले हामीबाट चाहनुहुने कुराबारे उपदेशक १२:१३ मा यसो भनिएको छ: “साँचो परमेश्वरको भय मान र उहाँको आज्ञा पालन गर। यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो। “ जस्तोसुकै परीक्षाको सामना गर्नुपरे तापनि यदि हामी परमेश्वरको डर मान्छौँ भने ओबदियाह र यहोयादाजस्तै वफादार रहन सक्नेछौँ। अनि कुनै पनि कुराले यहोवासितको हाम्रो मित्रतालाई बिगार्न सक्नेछैन।
गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा
a बाइबलमा हामीलाई परमेश्वरको डर मान्न भनिएको छ। यस लेखले परमेश्वरको डर मान्नु भनेको के हो र हामी त्यो कसरी विकास गर्न सक्छौँ भनेर बुझ्न मदत गर्नेछ। साथै यस्तो डरले उहाँको सेवामा साहसी र वफादार हुन कसरी मदत गर्छ भनेर पनि बुझ्न मदत गर्नेछ।
b यी ओबदियाह भविष्यवक्ता ओबदियाह होइनन्। भविष्यवक्ता ओबदियाह सयौँ वर्षपछि जन्मिएका थिए र तिनले आफ्नै नाममा बाइबलको एउटा किताब पनि लेखे।
c मत्ति २३:३५ मा जकरिया बरखियाका छोरा थिए भनेर बताइएको छ। बाइबलका कतिपय पात्रहरूको जस्तै यहोयादाको पनि दुइटा नाम थियो जस्तो देखिन्छ (मत्ति ९:९ सित मर्कु. २:१४ तुलना गर्नुहोस्।) अथवा बरखिया जकरियाका बाजे वा तिनका पुर्खा हुन सक्छन्।
d तस्बिरको व्याख्या: यस पुनःअभिनयमा एक जना भाइले प्रतिबन्धको बेला आध्यात्मिक भोजन वितरण गर्दै छन्।
e तस्बिरको व्याख्या: टेलिफोनमार्फत कसरी साक्षी दिने भनेर जवान बहिनीले वृद्ध बहिनीबाट सिक्दै छिन्; सार्वजनिक साक्षीकार्यमा एक वृद्ध भाइ साहसी भई साक्षी दिँदै छन्; एक अनुभवी भाइ सभाभवन मर्मतसम्भार गर्न तालिम दिँदै छन्।