सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्

आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्

“आफ्नो सारा फिक्री [यहोवामाथि] बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रु. ५:७.

गीत: ६०, २३

१, २. (क) कहिलेकाहीं हामीलाई चिन्ताले सताउँदा किन अचम्म मान्नुपर्दैन? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्) (ख) हामी यस लेखमा के छलफल गर्नेछौं?

हामी एकदमै तनावग्रस्त समयमा बाँचिरहेका छौं। सैतान अर्थात्‌ दियाबल रिसले चूर भएको छ र “कसलाई निलूँ भनेर गर्जने सिंहझैं” घुमेर हिंडिरहेको छ। (१ पत्रु. ५:८; प्रका. १२:१७) त्यसकारण परमेश्वरका सेवकहरूलाई पनि कहिलेकाहीं चिन्ताले सताउँदा हामी अचम्म मान्दैनौं। विगतमा पनि परमेश्वरको डर मान्ने सेवकहरूलाई चिन्ताले सताएको थियो। जस्तै: दाऊदलाई कहिलेकाहीं “चिन्ता”-ले पिरोलेको थियो। (भज. १३:२) साथै पावललाई पनि “सबै मण्डलीको चिन्ताले” सताएको थियो। (२ कोरि. ११:२८) तर चिन्ताले व्याकुल हुँदा हामी के गर्न सक्छौं?

स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा यहोवाले विगतमा आफ्ना सेवकहरूलाई मदत गर्नुभयो। त्यसरी नै, उहाँले हामीलाई पनि धेरै हदसम्म हाम्रो पीडा वा चिन्ता कम गर्न मदत गर्नुहुन्छ। बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।” (१ पत्रु. ५:७) तर तपाईं उहाँमाथि आफ्नो फिक्री कसरी बिसाउन सक्नुहुन्छ? त्यसो गर्न सक्ने चार वटा तरिका अब हामी विचार गरौं—मनैदेखि प्रार्थना गरेर, परमेश्वरको वचन पढेर अनि मनन गरेर, यहोवाको पवित्र शक्तिको मदत मागेर र भरोसायोग्य साथीलाई आफ्नो भावना पोखेर। यी चार वटा तरिका केलाउँदा तपाईं कुनचाहिं बुँदा लागू गर्न चाहनुहुन्छ, त्यो पत्ता लगाउने कोसिस गर्नुहोस्।

“तेरो भारी परमप्रभुमा राख्”

३. प्रार्थना गरेर तपाईं कसरी ‘आफ्नो भारी परमप्रभुमा राख्न’ सक्नुहुन्छ?

हामीले चाल्न सक्ने पहिलो कदम हो, यहोवालाई मनैदेखि प्रार्थना गर्नु। तपाईंले भोगिरहनुभएको कुनै परिस्थितिले गर्दा उकुसमुकुस, डर वा चिन्ता भइरहेको छ भने स्वर्गमा बस्नुहुने मायालु बुबालाई आफ्नो मनको बह पोखाउनुहोस्। भजनरचयिता दाऊदले यहोवालाई यसरी बिन्ती गरे: “मेरो प्रार्थनातिर कान लगाउनुहोस्, हे परमेश्वर।” त्यही भजनमा तिनले यसो पनि भने: “तेरो भारी परमप्रभुमा राख्, र उहाँले तँलाई सह्माल्नुहुनेछ।” (भज. ५५:१, २२) समस्या समाधान गर्न आफूले सकेजति सबै गरेपछि अझै चिन्ता गरिरहनुभन्दा मनैदेखि प्रार्थना गर्दा तपाईंले हल्का महसुस गर्नुहुनेछ। तर अचाक्ली फिक्री र पीडाले व्याकुल नहुन प्रार्थनाले तपाईंलाई कसरी मदत गर्न सक्छ?—भज. ९४:१८, १९.

४. चिन्तित हुँदा प्रार्थना गर्नु किन अत्यन्तै महत्त्वपूर्ण छ?

फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्। हामीले व्यग्रतासाथ मनैदेखि र निरन्तर उत्कट बिन्ती गऱ्यौं भने यहोवाले हामीलाई जवाफ दिनुहुन्छ। कसरी? हामीलाई मनोशान्ति दिएर। यस्तो मनोशान्तिले हाम्रो मन र दिमागलाई विचलित हुन दिंदैन। धेरै जनाले यो कुरा आफैले अनुभव गरेका छन्‌। पछि के होला कसो होला भनेर अचाक्ली चिन्ता गर्नुको सट्टा परमेश्वरले दिनुभएको गहिरो शान्ति तिनीहरूले महसुस गरेका छन्‌, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ। तपाईंले पनि त्यस्तै शान्ति अनुभव गर्न सक्नुहुन्छ। जस्तोसुकै समस्या भोग्नुपर्दा पनि “परमेश्वरको शान्ति”-ले तपाईंलाई सँभाल्न सक्छ। तपाईं यहोवाको यस मायालु प्रतिज्ञामाथि पूर्णरूपमा भरोसा गर्न सक्नुहुन्छ: “निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु।”—यशै. ४१:१०.

परमेश्वरको वचनले दिने मनोशान्ति

५. परमेश्वरको वचनले हामीलाई कसरी मनोशान्ति दिन सक्छ?

मनोशान्ति पाउन हामीले चाल्नुपर्ने दोस्रो कदम हो, बाइबल पढ्‌नु र त्यसमा मनन गर्नु। यसो गर्नु किन महत्त्वपूर्ण छ? चिन्ता नगर्न, चिन्ता कम गर्न वा चिन्तामा नडुब्न चाहिने व्यावहारिक डोऱ्याइ बाइबलमा पाइन्छ। बाइबलमा सृष्टिकर्ताका बुद्धिमानी सल्लाहहरू पाइन्छ। त्यसैले परमेश्वरको वचनले साँच्चै मदत र स्फूर्ति दिन सक्छ भन्ने कुरालाई हल्कासित नलिनुहोस्। परमेश्वरको सोचाइ कस्तो छ भनेर दिनरात विचार गर्नुभयो र बाइबलमा पाइने व्यावहारिक सल्लाह कसरी लागू गर्ने भनेर सोच्नुभयो भने तपाईंले निकै बल पाउनुहुनेछ। “बलियो र खूबै साहसी” हुन अनि ‘नडराउन र निराश नहुन’ परमेश्वरको वचन पढ्‌नै पर्छ भनेर यहोवाले तोकेरै बताउनुभएको छ।—यहो. १:७-९.

६. येशूका शब्दहरूले तपाईंलाई कसरी मदत गर्न सक्छ?

परमेश्वरको वचनमा येशूका सान्त्वनादायी शब्दहरू पाउन सक्छौं। उहाँका शब्द र शिक्षाहरूबाट मानिसहरूले स्फूर्ति पाए। धेरै मानिस उहाँतर्फ आकर्षित भए किनभने उहाँले व्याकुल भएकाहरूलाई शान्त पार्नुभयो, कमजोरहरूलाई बलियो बनाउनुभयो अनि निराश भएकाहरूलाई सान्त्वना दिनुभयो। (मत्ती ११:२८-३० पढ्‌नुहोस्) उहाँले अरूको आध्यात्मिक, भावनात्मक र शारीरिक आवश्यकताप्रति मायालु चासो देखाउनुभयो। (मर्कू. ६:३०-३२) अहिले पनि येशूले हामीलाई साथ दिने प्रतिज्ञा गर्नुभएको छ। हुन त येशू अहिले हाम्रो माझ हुनुहुन्न। तर उहाँसँगै हिंडेका प्रेषितहरूले जस्तै तपाईंले पनि उहाँबाट स्फूर्ति पाउन सक्नुहुन्छ। उहाँ स्वर्गमा राजा भइसक्नुभयो र उहाँले हामीलाई समानुभूति देखाउन छोड्‌नुभएको छैन। त्यसैले चिन्तित हुँदा ‘तपाईंलाई मदत गर्न उहाँ सक्षम हुनुहुन्छ’ र ‘चाहिएकै बेला मदत’ दिन सक्नुहुन्छ। हो, दुःख आइपर्दा त्यसको सामना गर्न कृपालु येशूले तपाईंलाई मदत गर्न अनि तपाईंको मनमा आशा र साहस भरिदिन सक्नुहुन्छ।—हिब्रू २:१७, १८; ४:१६.

परमेश्वरको पवित्र शक्तिले फलाउने गुणहरू

७. परमेश्वरले पवित्र शक्ति दिनुहुँदा तपाईंलाई कस्तो लाभ हुनेछ?

स्वर्गमा बस्नुहुने हाम्रो बुबासित पवित्र शक्ति माग्नेहरूलाई उहाँले कहिल्यै निराश पार्नुहुनेछैन भनेर येशूले प्रतिज्ञा गर्नुभयो। (लूका ११:१०-१३) अब हामी चिन्ता कम गर्ने तेस्रो महत्त्वपूर्ण बुँदामा आइपुग्यौं। त्यो हो, पवित्र शक्तिको फलका पक्षहरू। परमेश्वरको सक्रिय शक्तिले फलाउने यी राम्रा गुणहरूले हाम्रो सर्वशक्तिमान्‌ परमेश्वरको व्यक्तित्व झल्काउँछ। (गलाती ५:२२, २३ पढ्‌नुहोस्; कल. ३:१०) पवित्र शक्तिको फल फलाउँदै जाँदा अरूसित तपाईंको सम्बन्ध राम्रो हुनेछ। अनि चिन्तित बनाउन सक्ने धेरैजसो परिस्थिति सृजना हुन पाउँदैन। पवित्र शक्तिको फलका विभिन्न पक्षले तपाईंलाई कसरी मदत गर्न सक्छ, एकछिन विचार गरौं।

८-१२. तनावपूर्ण अवस्थाको सामना गर्न वा त्यस्तो अवस्थामा नपर्न पवित्र शक्तिको फलका विभिन्न पक्षले तपाईंलाई कसरी मदत गर्न सक्छ?

“प्रेम, आनन्द, शान्ति।” मानिसहरूसित आदरपूर्वक व्यवहार गर्ने कोसिस गर्नुभयो भने रिस, निराशाजस्ता भावनालाई केही हदसम्म काबूमा राख्न सक्नुहुन्छ। कसरी? एक-दोस्रोप्रति भ्रातृप्रेम, कोमल स्नेह र आदर देखाउनुभयो भने रिस, निराशाजस्ता भावना उत्पन्न हुने अवस्था आउनेछैन। यसले गर्दा अरूसितको सम्बन्ध बिग्रन पाउँदैन।—रोमी १२:१०.

“धीरज, दया, भलाइ।” एकअर्कासित शान्तिमय सम्बन्ध कायम गर्न हामीले यो सल्लाह पालन गर्नुपर्छ: “एक-अर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा देखाओ। . . . एक-अर्कालाई खुला मनले क्षमा गर।” (एफि. ४:३२) यसो गर्नुभयो भने अरूसितको सम्बन्ध बिग्रँदैन र मनमा अशान्ति हुने अवस्था सृजना हुँदैन। साथै त्रुटिपूर्ण अवस्थाले गर्दा हुने समस्याहरूलाई नियन्त्रणबाहिर जान दिनदेखि रोक्न सक्नुहुनेछ।

१० “विश्वास।” हामी अक्सर पैसा र भौतिक चिजबिजको चिन्ता गर्छौं। (हितो. १८:११) त्यसैले यहोवाको मायालु हेरचाहमा बलियो विश्वास राख्नुभयो भने यस्तो चिन्तामा नडुब्न वा यस्तो कुराको चिन्ता नगर्न मदत पाउनुहुनेछ। कसरी? “अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ” भन्ने प्रेषित पावलको सल्लाह पालन गरेर। तिनले यसो पनि भने: “किनकि [परमेश्वरले] यसो भन्नुभएको छ: ‘म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।’ यसप्रकार हामी असाध्यै साहसी भएर यसो भन्न सकौं: ‘यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैन। मानिसले मलाई के गर्न सक्छ र?’”—हिब्रू १३:५, ६.

११ “नम्रता, आत्मसंयम।” यी गुणहरू देखाउनु कत्तिको व्यावहारिक र प्रभावकारी छ, सोच्नुहोस् त। यस्ता गुणहरू देखाउनुभयो भने पछि पछुताउनुपर्ने कुनै कुरा भन्नुहुनेछैन वा गर्नुहुनेछैन। अनि तपाईंले “कटुता” देखाउने अनि “रिसाउने, क्रोध गर्ने, चिच्याउने र दुर्वचन बोल्ने” गर्नुहुनेछैन।—एफि. ४:३१.

१२ तपाईं नम्र हुनुहुन्छ भने मात्र “परमेश्वरको बलवान्‌ बाहुलीमुनि आफूलाई” सुम्पनुहुनेछ र ‘आफ्नो सारा फिक्री उहाँमाथि बिसाउनुहुनेछ।’ (१ पत्रु. ५:६, ७) नम्रता विकास गर्नुभयो भने परमेश्वरको अनुमोदन र कृपा पाउनुहुनेछ। (मीका ६:८) आफ्नो शारीरिक, मानसिक र भावनात्मक क्षमता बुझेर त्यसैअनुसार गर्नुभयो भने अचाक्ली चिन्तित हुने सम्भावना कम हुनेछ। किनभने तपाईंले आफूमाथि होइन, परमेश्वरमाथि भरोसा राखिरहनुभएको हुनेछ।

“चिन्ता कहिल्यै नगर”

१३. येशूले “चिन्ता कहिल्यै नगर” भन्नुको अर्थ के थियो?

१३ मत्ती ६:३४ मा (पढ्‌नुहोस्) येशूले यस्तो बुद्धिमानी सल्लाह दिनुभएको छ: “चिन्ता कहिल्यै नगर।” तर यो सल्लाह व्यवहारमा उतार्नु गाह्रोजस्तो लाग्न सक्छ। येशूले “चिन्ता कहिल्यै नगर” भन्नुको अर्थ के थियो? उहाँले परमेश्वरको सेवकको जीवनमा चिन्ता गर्नुपर्ने अवस्था कहिल्यै आउनेछैन भन्न खोजिरहनुभएको थिएन। किनभने चिन्ताको विषयमा दाऊद र पावलले भनेको कुरा हामीले पढिसक्यौं। तर येशूले अनावश्यक वा अचाक्ली चिन्ता गर्दैमा समस्या समाधान हुँदैन भनेर आफ्ना चेलाहरूलाई बुझाउन खोज्दै हुनुहुन्थ्यो। हरेक दिन हामी विभिन्न किसिमका चुनौती सामना गर्छौं। त्यसैले अहिले भइरहेको चिन्तामाथि विगत वा भविष्यको चिन्ता थपिरहनु आवश्यक छैन। तपाईं येशूको सल्लाह कसरी लागू गर्न सक्नुहुन्छ र अचाक्ली चिन्ताबाट मुक्त हुन सक्नुहुन्छ?

१४. विगतमा गरेको कुनै कुराले गर्दा मन अशान्त हुँदा तपाईं के गर्न सक्नुहुन्छ?

१४ विगतमा गरेको कुनै काम वा गल्तीले गर्दा पनि कहिलेकाहीं मानिसहरूको मनमा अशान्ति हुन सक्छ। वर्षौंअघि कुनै गलत काम गरेको भए तापनि दोषी भावनाले अहिलेसम्म सताइरहेको हुन सक्छ। राजा दाऊदले कहिलेकाहीं ‘आफ्ना अधर्महरू शिरसम्म पुगेको’ महसुस गरे। ‘आफ्नो हृदयको बेचैनीले गर्दा’ तिनले सुस्केरा हाले। (भज. ३८:३, ४, ८, १८) त्यस्तो अवस्थामा दाऊदले के गर्नु बुद्धिमानी हुने थियो? तिनले के गरे? तिनले यहोवाले देखाउनुहुने दया र क्षमामा भरोसा राखे। ढुक्क हुँदै तिनले यसो भने: “त्यो धन्यको हो, जसको अपराध क्षमा भएको छ।”—भजन ३२:१-३,  पढ्‌नुहोस्।

१५. (क) अहिलेको आफ्नो अवस्थाबारे तपाईं किन चिन्तित हुनुपर्दैन? (ख) चिन्ता कम गर्न तपाईं कस्ता व्यावहारिक कदम चाल्न सक्नुहुन्छ? (“ चिन्ता कम गर्ने व्यावहारिक तरिकाहरू” भन्ने पेटी हेर्नुहोस्)

१५ कहिलेकाहीं भने तपाईंको अहिलेको अवस्थाले गर्दा चिन्ता लाग्न सक्छ। उदाहरणको लागि, दाऊदले भजन ५५ अध्याय लेख्दा तिनको ज्यान खतरामा थियो। (भज. ५५:२-५) तैपनि चिन्तामा डुबेर तिनले यहोवामाथि भरोसा गर्न छोडेनन्‌। दाऊदले आफ्ना समस्याहरूबारे व्यग्र प्रार्थना गरे। तर चिन्ता कम गर्न व्यावहारिक कदम पनि चाल्नुपर्छ भनेर तिनले बुझेका थिए। (२ शमू. १५:३०-३४) त्यसैले दाऊदबाट पाठ सिक्नुहोस्। चिन्तामा डुबेर बेचैन हुनुको साटो आफ्नो अवस्था सुधार्न जे-जति गर्न सकिन्छ, गर्नुहोस्। त्यसपछि बाँकी कुरा यहोवाको हातमा सुम्पनुहोस् र चिन्ता गर्न छोड्‌नुहोस्।

१६. परमेश्वरको नामको अर्थ बुझ्नुभयो भने तपाईंको विश्वास कसरी बलियो हुन्छ?

१६ ‘के होला कसो होला’ भनेर सोचिरह्यौं भने पनि अचाक्ली चिन्ता लाग्न सक्छ। आफूलाई थाहै नभएको विषयमा अचाक्ली चिन्ता गरिरहनु आवश्यक छैन। किन? किनभने प्रायजसो अवस्थामा आफूले जस्तो नराम्रो होला भन्ठानेको थियो, त्यस्तो हुँदैन। तर महत्त्वपूर्ण कुरा के हो भने कुनै पनि कुरा परमेश्वरको नियन्त्रणबाहिर छैन। त्यसैले तपाईं आफ्नो सारा फिक्री उहाँमाथि बिसाउन सक्नुहुन्छ। उहाँको नामको अर्थ नै “उहाँले गराउनुहुन्छ” हो। (प्रस्थ. ३:१४) परमेश्वरको नामको गहन अर्थ विचार गऱ्यौं भने उहाँ आफ्ना सेवकहरूको खातिर आफ्ना सबै उद्देश्य जसरी पनि पूरा गर्नुहुनेछ भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ। परमेश्वरले आफ्ना वफादार सेवकहरूलाई इनाम दिनुहुनेछ अनि विगत, वर्तमान र भविष्यसित सम्बन्धित सबै चिन्ता कम गर्न मदत गर्नुहुनेछ भनेर पक्का हुन सक्नुहुन्छ।

मन खोलेर कुराकानी गर्नुहोस्

१७, १८. खुलस्त कुराकानी गर्नुभयो भने कसरी चिन्ता कम गर्न सक्नुहुन्छ?

१७ चिन्ता कम गर्ने चौथो तरिका खुलस्त कुराकानी हो। भरपर्दो साथीसित मन खोलेर कुरा गर्नुहोस्। चिन्ताले गर्दा विचलित नहुन तपाईंको पति वा पत्नी, घनिष्ठ साथी वा मण्डलीको एल्डरले तपाईंलाई मदत गर्न सक्छन्‌। “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” (हितो. १२:२५) कुरा नलुकाई खुलस्त कुराकानी गर्दा आफ्नो चिन्ताको कारण बुझ्न र त्यसलाई कम गर्न मदत पाउन सक्नुहुन्छ। बाइबल हामीलाई यसो भन्छ: “परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्‌, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्‌।”—हितो. १५:२२, NRV.

१८ हरेक हप्ता हुने मण्डलीका सभाहरूद्वारा पनि यहोवा ख्रीष्टियनहरूलाई चिन्ता कम गर्न मदत गर्नुहुन्छ। सभामा जाँदा तपाईंको चासो राख्ने र प्रोत्साहन दिन चाहने दाजुभाइ दिदीबहिनीसित सरसङ्‌गत गर्ने मौका पाउनुहुन्छ। (हिब्रू १०:२४, २५) त्यसरी “एकअर्कालाई प्रोत्साहन” दिंदा आध्यात्मिक बल पाउनुहुन्छ र चिन्ता कम गर्न सजिलो हुनेछ।—रोमी १:१२.

तपाईंलाई बल दिने सबैभन्दा ठूलो कुरा परमेश्वरसितको सम्बन्ध हो

१९. परमेश्वरसितको सम्बन्धबाट बल पाउन सकिन्छ भनेर तपाईं किन ढुक्क हुन सक्नुहुन्छ?

१९ यहोवालाई आफ्नो सारा फिक्री बिसाउनुको महत्त्व क्यानाडाका एक जना एल्डरले कसरी बुझे, सो विचार गर्नुहोस्। तिनी स्कुलमा पढाउँथे र विद्यार्थीहरूको सल्लाहकारको रूपमा पनि काम गर्थे। आफ्नो जागिरले गर्दा तिनलाई अत्यन्तै तनाव हुन्थ्यो। साथै तिनलाई आत्तिने, डर लाग्ने र झस्किने रोग (एङ्‌जाइटि डिस्अर्डर) लागेको थियो। तिनले यस्तो अवस्थाको सामना कसरी गरे? तिनी भन्छन्‌: “यहोवासितको सम्बन्ध अझ बलियो बनाउने प्रयास गर्दा म सबैभन्दा बल पाउँछु र भावनात्मक समस्याहरूसित लड्‌न सक्छु। एकदमै तनाव भएको बेला साँचो मित्रहरू अनि मण्डलीका भाइबहिनीहरू धेरै मदत गर्नुहुन्छ। म आफ्नी श्रीमतीलाई केही पनि नलुकाई मनको कुरा बताउँछु। अरू एल्डरहरू अनि क्षेत्रीय निरीक्षकले पनि आफ्नो अवस्थालाई यहोवाको दृष्टिकोणले हेर्न मदत गर्नुभयो। म डाक्टरकहाँ पनि गएँ। आफ्नो तालिकामा छाँटकाँट गरें; आराम र व्यायाम गर्न पनि समय छुट्टयाएँ। मैले बिस्तारै आफ्ना भावनाहरू र परिस्थितिलाई काबूमा राख्न सिकें। त्यसैले आफ्नो नियन्त्रणबाहिरको कुरा म यहोवाको हातमा सुम्पन्छु।”

२०. (क) हामी कसरी परमेश्वरमाथि आफ्नो सारा फिक्री बिसाउन सक्छौं? (ख) यसपछिको लेखमा हामी कुन कुरा छलफल गर्नेछौं

२० निष्कर्षमा भन्नुपर्दा, मनैदेखि प्रार्थना गरेर अनि परमेश्वरको वचन पढ्‌नुका साथै त्यसमा मनन गरेर उहाँमाथि आफ्नो सारा फिक्री बिसाउनुको महत्त्वबारे हामीले बुझ्यौं। साथै पवित्र शक्तिको फलका पक्षहरू विकास गर्नु, भरपर्दो साथीसित मनको कुरा गर्नु र उत्थानदायी ख्रीष्टियन सरसङ्‌गतबाट बल प्राप्त गर्नुको महत्त्वबारे पनि छलफल गऱ्यौं। यसपछिको लेखमा इनामको आशा दिएर यहोवा हामीलाई कसरी सँभाल्नुहुन्छ भनेर छलफल गर्नेछौं।—हिब्रू ११:६.