सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जोडतोडले यहोवाको खोजी गर्नेहरूलाई उहाँ इनाम दिनुहुन्छ

जोडतोडले यहोवाको खोजी गर्नेहरूलाई उहाँ इनाम दिनुहुन्छ

“जो परमेश्वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।”—हिब्रू ११:६.

गीत: ८५, १३४

१, २. (क) प्रेम र विश्वासबीच कस्तो सम्बन्ध छ? (ख) हामी कस्ता प्रश्नहरू छलफल गर्नेछौं?

हामी यहोवालाई प्रेम गर्छौं “किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।” (१ यूह. ४:१९) यहोवाले आफ्ना वफादार सेवकहरूप्रति कोमल स्नेह देखाउने एउटा तरिका हो, इनाम दिने प्रतिज्ञा गरेर। हामी जति धेरै परमेश्वरलाई प्रेम गर्छौं, त्यति नै उहाँ हुनुहुन्छ भन्ने कुरामा हाम्रो विश्वास बलियो हुनेछ। यति मात्र होइन, उहाँ जसलाई माया गर्नुहुन्छ, तिनीहरूलाई पक्कै इनाम दिनुहुन्छ भन्ने कुरामा पनि हाम्रो विश्वास अझै बढ्‌नेछ।हिब्रू ११:६ पढ्‌नुहोस्।

यहोवा इनाम दिने परमेश्वर हुनुहुन्छ। यो उहाँको व्यक्तित्वको अभिन्न भाग हो। जोडतोडले परमेश्वरको खोजी गर्नेहरूलाई उहाँ इनाम दिनुहुन्छ भन्ने कुरामा विश्वस्त नहोउन्जेल हाम्रो विश्वास अपूरो रहन्छ। किनभने “विश्वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु” हो। (हिब्रू ११:१) विश्वासको एउटा पक्ष परमेश्वरले प्रतिज्ञा गर्नुभएका आशिष्‌हरू पक्कै पूरा हुनेछन्‌ भनेर आशा गर्नु हो। तर इनामको आशा गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? यहोवाले आफ्ना सेवकहरूलाई विगतमा अनि अहिले कसरी इनाम दिनुभएको छ? आउनुहोस्, हेरौं।

यहोवा आफ्ना सेवकहरूलाई आशिष्‌ दिने प्रतिज्ञा गर्नुहुन्छ

३. मलाकी ३:१० मा कस्तो प्रतिज्ञा गरिएको छ?

यहोवा परमेश्वरले आफ्ना वफादार सेवकहरूलाई इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। त्यसैले उहाँ हामीलाई त्यो इनाम पाउन सक्दो कोसिस गर्न आग्रह गर्नुहुन्छ। सेनाहरूका परमप्रभु यहोवा यसो भन्नुहुन्छ: “मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष्‌ तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ।” (मला. ३:१०) यहोवाको यो निम्तो स्विकारेर हामी उहाँप्रति कृतज्ञ भएको देखाउँछौं।

४. हामी किन मत्ती ६:३३ मा पाइने येशूको प्रतिज्ञामा ढुक्क हुन सक्छौं?

परमेश्वरको राज्यलाई पहिलो स्थान दियौं भने यहोवाले मदत गर्नुहुनेछ भनेर येशूले आफ्ना चेलाहरूलाई आश्वासन दिनुभयो। (मत्ती ६:३३ पढ्‌नुहोस्) परमेश्वरले गर्नुभएका प्रतिज्ञाहरू कहिल्यै विफल हुँदैनन्‌ भनेर येशूलाई थाह थियो। (यशै. ५५:११) त्यसैले उहाँले त्यस्तो आश्वासन दिन सक्नुभयो। त्यस्तै गरी हामीले पनि यहोवालाई मनैदेखि विश्वास गऱ्यौं भने उहाँले यो प्रतिज्ञा पक्कै पूरा गर्नुहुनेछ भनेर ढुक्क हुन सक्छौं: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।” (हिब्रू १३:५) यहोवाको यस प्रतिज्ञाले गर्दा मत्ती ६:३३ मा पाइने येशूका शब्दहरूमा हामी ढुक्क हुन सक्छौं।

आफूले गरेका त्यागहरूको लागि इनाम पाउनेछन्‌ भनेर येशूले चेलाहरूलाई बताउनुभयो (अनुच्छेद ५ हेर्नुहोस्)

५. येशूले पत्रुसलाई दिनुभएको जवाफले हाम्रो विश्वासलाई कसरी बलियो बनाउँछ?

एक चोटि प्रेषित पत्रुसले येशूलाई यस्तो प्रश्न सोधे: “सबै कुरा छोडेर हामी तपाईंको पछि लागेका छौं। त्यसोभए हामीले के पाउनेछौं त?” (मत्ती १९:२७) यस्तो प्रश्न सोधेकोमा पत्रुसलाई हप्काउनुको सट्टा येशूले चेलाहरूलाई तिनीहरूले त्यस्ता त्यागहरू गरेबापत इनाम पाउनेछन्‌ भनेर बताउनुभयो। ती वफादार प्रेषितहरू र अरूले भविष्यमा येशूसँगै स्वर्गमा राज्य गर्नेछन्‌। तर अहिले पनि हामी इनाम पाउन सक्छौं। येशूले यसो भन्नुभयो: “जसले मेरो नामको कारण घर वा दाजुभाइ वा दिदीबहिनी वा बुबा वा आमा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ, उसले कैयौं गुणा यी कुरा र अनन्त जीवन पाउनेछ।” (मत्ती १९:२९) उहाँका चेलाहरूले जे-जति त्याग गर्छन्‌, त्योभन्दा कैयौं गुणा आशिष्‌ पाउनेछन्‌। हामीले परमेश्वरको राज्यको लागि जे-जति त्याग गऱ्यौं, त्यसको बदलामा कति धेरै आध्यात्मिक बुबा, आमा, दाजुभाइ, दिदीबहिनी र छोराछोरी पाएका छौं। के यो साँच्चै आशिष्‌ होइन र?

“हाम्रो जीवनको लङ्‌गर”

६. यहोवा आफ्ना उपासकहरूलाई किन इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ?

यहोवाले आफ्ना उपासकहरूलाई इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। यस प्रतिज्ञाले हामीलाई परीक्षा आइपर्दा निष्ठा कायम गर्न मदत गर्छ। अहिले हामीले प्रशस्त आशिष्‌ पाएका छौं र भविष्यमा पाइने अझ ठूलठूला आशिष्‌हरूको उत्सुकतासाथ प्रतीक्षा गर्छौं। (१ तिमो. ४:८) “जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई” यहोवा “इनाम दिनुहुन्छ” भनेर पूर्णतया विश्वस्त भयौं भने परीक्षा आइपर्दा हाम्रो विश्वास ढलपल हुनेछैन।—हिब्रू ११:६.

७. आशालाई किन लङ्‌गरसित तुलना गर्न मिल्छ?

डाँडाको उपदेशमा येशूले यसो भन्नुभयो: “रमाओ र खुसीले उफ्र, किनकि स्वर्गमा तिमीहरूका लागि ठूलो इनाम छ; तिमीहरूअघिका भविष्यवक्ताहरूलाई पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।” (मत्ती ५:१२) परमेश्वरका केही उपासकले स्वर्गमा इनाम पाउनेछन्‌ अनि अरूले भने प्रमोदवनमा अनन्त जीवनको इनाम पाउने आशा राखेका छन्‌। यो तिनीहरूको लागि ‘रमाउने र खुसीले उफ्रने’ कारण हो। (भज. ३७:११; लूका १८:३०) चाहे हाम्रो आशा स्वर्ग जाने होस् वा पृथ्वीमा रहने, यो आशा “हाम्रो जीवनको लङ्‌गर हो, अनि यो पक्का र अटल छ।” (हिब्रू ६:१७-२०) जसरी लङ्‌गरले आँधीहुरी चल्दा जहाजलाई यताउता हुर्रिन दिंदैन, त्यसरी नै इनाम पाउने आशाले हामीलाई भावनात्मक, मानसिक र आध्यात्मिक रूपमा स्थिर रहन मदत गर्छ। साथै यसले कठिनाइहरू सहने बल दिन्छ।

८. आशाले कसरी हाम्रो चिन्ता कम गर्न सक्छ?

बाइबलमा पाइने आशाले हाम्रो चिन्ता कम गर्न सक्छ। मलहमले घाउलाई सन्चो पारेझैं परमेश्वरका प्रतिज्ञाहरूले हाम्रो चिन्तित मनलाई शान्त बनाउँछ। हामी यहोवामा ‘आफ्नो भारी राख्न सक्छौं र उहाँले हामीलाई सह्माल्नुहुनेछ’ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी! (भज. ५५:२२) परमेश्वरले “हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ” भन्ने कुरामा हामी पूर्णतया विश्वस्त हुन सक्छौं। (एफि. ३:२०) कल्पना गर्नुहोस् त, उहाँले हामीले मागे वा सोचेभन्दा धेरै मात्र होइन, “कता हो कता धेरै गर्न सक्नुहुन्छ!”

९. यहोवाले हामीलाई आशिष्‌ दिनुहुन्छ भनेर कसरी पक्का हुन सक्छौं?

इनाम पाउन हामीले यहोवामाथि पूरा विश्वास गर्नुपर्छ र उहाँका निर्देशनहरू पालन गर्नुपर्छ। मोशाले इस्राएल राष्ट्रलाई यसो भने: “मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्वरका वचन तिमीहरूले होशियारीसाथ पालन गऱ्यौ भने . . . तिमीहरूको अधिकारमा दिनुभएको देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ। आफ्ना प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।” (व्यव. १५:४-६) वफादार भई यहोवाको सेवा गरिरहनुभयो भने उहाँले आशिष्‌ दिनुहुन्छ भन्ने कुरामा के तपाईं पूर्णरूपमा विश्वस्त हुनुहुन्छ? हो, हामी विश्वस्त हुने ठोस कारण छ।

यहोवाले तिनीहरूलाई इनाम दिनुभयो

१०, ११. यहोवाले यूसुफलाई कसरी इनाम दिनुभयो?

१० बाइबल हाम्रो शिक्षाको लागि लेखिएको हो। यसमा परमेश्वरले वफादार सेवकहरूलाई इनाम दिनुभएको थुप्रै विवरण पाइन्छ। (रोमी १५:४) यस सन्दर्भमा यूसुफको उदाहरण उल्लेखनीय छ। आफ्नै दाइहरूले षड्‌यन्त्र गरेर तिनलाई दासको रूपमा बेचे। पछि मिश्रमा छँदा मालिककी पत्नीले झूटो आरोप लगाएर तिनलाई झ्यालखानामा हालिन्‌। के यसले गर्दा तिनी यहोवादेखि टाढा भए? अहँ, पटक्कै भएनन्‌! “परमप्रभु यूसुफका साथ हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठाउनुभयो। . . . परमप्रभु यूसुफका साथमा हुनुहुन्थ्यो। यूसुफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनुहुन्थ्यो।” (उत्प. ३९:२१-२३) ती कठिन अवस्थाहरूमा यूसुफले परमेश्वरमाथि भरोसा गर्दै उहाँको बाटो हेरिरहे।

११ वर्षौंपछि फिरऊनले यूसुफलाई झ्यालखानाबाट मुक्त गरे अनि यी नम्र दासलाई मिश्रको दोस्रो शक्तिशाली शासक बनाए। (उत्प. ४१:१, ३७-४३) यूसुफकी पत्नीले दुई जना छोरा जन्माउँदा “जेठाको नाउँ यूसुफले मनश्शे राखे। किनभने तिनी भन्थे, ‘परमेश्वरले मेरा सबै कष्ट र मेरा बाबुको घरको सम्झना बिर्साउनुभएको छ।’ अर्काको नाउँ तिनले एप्रैम, फलिफाप बनाउने, राखे। तिनले भने, ‘परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनुभयो।’” (उत्प. ४१:५१, ५२) परमेश्वरप्रति वफादार रहेकोले उहाँले यूसुफलाई आशिष्‌ दिनुभयो; तिनले अनिकालको बेला इस्राएलीहरू र मिश्रीहरूको जीवन जोगाउन सके। यसरी आफूलाई इनाम दिने र आशिष्‌ दिने यहोवा नै हुनुहुन्थ्यो भनेर यूसुफलाई पक्का भयो।—उत्प. ४५:५-९.

१२. परीक्षाको बेला येशू कसरी वफादार रहनुभयो?

१२ येशू ख्रीष्ट पनि जस्तोसुकै परीक्षा आउँदा परमेश्वरप्रति आज्ञाकारी रहनुभयो र उहाँले इनाम पाउनुभयो। परीक्षाहरू सहन उहाँलाई केले मदत गऱ्यो? परमेश्वरको वचन यसो भन्छ: “उहाँले आफ्नो अगाडि राखिएको आनन्दका लागि बेइज्जतीको समेत वास्ता नगरेर यातनाको खम्बामा मृत्यु सहनुभयो।” (हिब्रू १२:२) परमेश्वरको नाम पवित्र पार्न सक्दा येशू आनन्दित हुनुभयो। यति मात्र होइन, उहाँले आफ्नो बुबाको अनुमोदन र अनमोल सुअवसरहरू पनि पाउनुभयो। बाइबल भन्छ: “उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” अर्को पदमा यस्तो लेखिएको छ: “परमेश्वरले उहाँलाई अझ उच्च पद दिनुभयो र दयालु भई अरू सबै नामहरूभन्दा उत्तम नाम दिनुभयो।”—फिलि. २:९.

यहोवा हाम्रो काम बिर्सनुहुन्न

१३, १४. यहोवाको सेवा गर्न हामीले गरेको प्रयासलाई उहाँ कस्तो ठान्नुहुन्छ?

१३ हामीले यहोवाको सेवा गर्न जे-जति प्रयास गर्छौं, त्यसको उहाँ कदर गर्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। हामीलाई कस्तो कुराले चिन्तित बनाइरहेको छ अनि हाम्रो मनमा कस्ता शङ्‌का-उपशङ्‌का खेलिरहेका छन्‌, त्यो उहाँ बुझ्नुहुन्छ। आर्थिक समस्याको कारण चिन्तित हुँदा उहाँ हाम्रो ख्याल राख्नुहुन्छ। हाम्रो स्वास्थ्य वा निराशाले गर्दा चाहेजति यहोवाको सेवा गर्न सकिरहेका छैनौं भने त्यो पनि उहाँ बुझ्नुहुन्छ। विभिन्न चुनौतीको बाबजुद यहोवाप्रति वफादार रहन आफ्ना सेवकहरूले गरिरहेको प्रयासको उहाँ कदर गर्नुहुन्छ भन्ने कुरामा हामी पूर्णतया विश्वस्त हुन सक्छौं।हिब्रू ६:१०, ११ पढ्‌नुहोस्।

१४ बिर्सन नहुने अर्को कुरा, यहोवा “प्रार्थना सुन्नुहुने” परमेश्वर हुनुहुन्छ। त्यसैले हामीले आफ्नो चिन्ता पोख्दा उहाँ ध्यान दिएर सुन्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। (भज. ६५:२) “कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्वर”-ले हामीलाई चाहिने भावनात्मक र आध्यात्मिक मदत कुनै कन्जुस्याइँ नगरी दिनुहुन्छ। कहिलेकाहीं सङ्‌गी दाजुभाइ दिदीबहिनीलाई चलाएर उहाँले यस्तो मदत दिनुहुन्छ। (२ कोरि. १:३) हामीले अरूको दुःख बुझेर मदत गर्दा यहोवा खुसी हुनुहुन्छ। “गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।” (हितो. १९:१७, NRV; मत्ती ६:३, ४) त्यसकारण हामीले गाह्रो अवस्थामा परेको कुनै व्यक्तिलाई निःस्वार्थ भई मदत गऱ्यौं भने त्यसलाई यहोवा आफूले सापट लिएको सरह ठान्नुहुन्छ। अनि उहाँले हाम्रो असल कामको लागि इनाम दिने प्रतिज्ञा गर्नुभएको छ।

अहिले र सधैंभरिको लागि इनाम

१५. तपाईं कस्ता इनामहरू पाउने आशा गर्दै हुनुहुन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

१५ अभिषिक्त ख्रीष्टियनहरूको लागि “परमेश्वरको स्तरबमोजिम असल काम गर्दा पाइने मुकुट . . . साँचेर राखिएको छ।” तिनीहरूलाई त्यो मुकुट “असल न्यायाधीश, प्रभुले न्यायको दिनमा इनामस्वरूप” दिनुहुनेछ। (२ तिमो. ४:७, ८) तर परमेश्वरले तपाईंलाई भिन्नै आशा दिनुभएको छ भने आफूमाथि अन्याय भएको महसुस गर्नुपर्दैन। येशूका लाखौं “अरू भेडा” प्रमोदवनमा अनन्त जीवनको इनाम पाउने समयको उत्सुकतासाथ प्रतीक्षा गर्छन्‌। त्यहाँ तिनीहरूले “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—यूह. १०:१६; भज. ३७:११.

१६. हामी १ यूहन्ना ३:१९, २० मा कस्तो सान्त्वना पाउँछौं?

१६ कहिलेकाहीं, हामीलाई यहोवाको सेवामा केही गर्न सकिरहेका छैनौं जस्तो लाग्न सक्छ अथवा उहाँको सेवामा जे गरिरहेका छौं, त्यो देखेर उहाँ खुसी हुनुहुन्छ कि हुनुहुन्न भनेर शङ्‌का लाग्न सक्छ। हामी इनामै पाउन लायकका छैनौं जस्तो पनि लाग्न सक्छ। तर “यो कुरा नबिर्सौं, कि परमेश्वर हाम्रो मनभन्दा महान्‌ हुनुहुन्छ र उहाँलाई सबै कुरा थाह छ।” (१ यूहन्ना ३:१९, २० पढ्‌नुहोस्) यहोवामाथिको विश्वास र प्रेमद्वारा उत्प्रेरित भएर हामीले चढाउने सेवा, चाहे त्यो हाम्रो नजरमा जति नै सानोजस्तो किन नदेखियोस्, उहाँ हामीलाई इनाम दिनुहुन्छ।—मर्कू. १२:४१-४४.

१७. आज हामीले के-कस्ता इनाम पाएका छौं?

१७ सैतानको दुष्ट युगको यस आखिरी समयमा पनि यहोवाले आफ्ना सेवकहरूलाई आशिष्‌ दिंदै हुनुहुन्छ। उहाँले आफ्ना साँचो उपासकहरूलाई प्रचुर मात्रामा ज्ञान र आनन्द दिएर आध्यात्मिक प्रमोदवनमा राख्नुभएको छ। (यशै. ५४:१३) येशूले प्रतिज्ञा गर्नुभएझैं आज यहोवाले हामीलाई संसारभरिका दाजुभाइ दिदीबहिनीको मायालु परिवारको सदस्य हुने सुअवसर दिनुभएको छ। (मर्कू. १०:२९, ३०) साथै जोडतोडले परमेश्वरको खोजी गर्नेहरूलाई उहाँले इनामस्वरूप अपार मनोशान्ति, सन्तुष्टि र आनन्द दिनुभएको छ।—फिलि. ४:४-७.

१८, १९. आफूले पाएका इनामहरूबारे यहोवाका सेवकहरू कस्तो महसुस गर्छन्‌?

१८ संसारभरिका यहोवाका सेवकहरूले उहाँबाट इनाम पाएको अनुभव गरेका छन्‌। उदाहरणको लागि, जर्मनीकी बियाङ्‌का यसो भन्छिन्‌: “यहोवाले मलाई कहिल्यै दुःखमा साथ दिन छोड्‌नुभएन। उहाँ दिनदिनै मसँगै रहेको महसुस गरें। यसको लागि उहाँलाई जति धन्यवाद दिए पनि पुग्दैन। अहिलेको संसार भद्रगोल र आशाविहीन छ। तर यहोवामा भर परेर हिंड्‌दा उहाँको बलवान्‌ बाहुलीमा सुरक्षित महसुस गर्छु। उहाँको सेवामा मैले जति नै त्याग गर्नुपरे तापनि उहाँ मलाई त्योभन्दा सयौं गुणा आशिष्‌ दिनुहुन्छ।”

१९ क्यानाडाकी ७० वर्षीया पलाको अनुभव पनि विचार गर्नुहोस्। तिनलाई मेरुदण्डसम्बन्धी गम्भीर रोग (स्पाइना बिफिडा) लागेकोले चलहल गर्न गाह्रो छ। तिनी भन्छिन्‌: “चलहल गर्न गाह्रो हुँदैमा प्रचारकार्य पनि कम हुन्छ भन्ने छैन। प्रचार गर्ने विभिन्न तरिका छ। म टेलिफोनबाट अनि अनौपचारिक रूपमा साक्षी दिन्छु। मैले हाम्रा प्रकाशनहरूबाट बाइबल पदहरू र भनाइहरू एउटा नोटबुकमा सारेर राखेकी छु। मलाई प्रोत्साहन चाहिंदा बेला-बेलामा त्यो हेर्ने गर्छु। त्यसैले यो नोटबुकको नाम नै ‘मलाई सँभाल्ने नोटबुक’ राखेकी छु। यहोवाका प्रतिज्ञाहरूमा ध्यान दियौं भने हामी लामो समयसम्म निराश हुनेछैनौं। हाम्रो परिस्थिति जस्तोसुकै भए पनि यहोवाले हाम्रो साथ कहिल्यै छोड्‌नुहुनेछैन।” हुन त तपाईंको परिस्थिति बियाङ्‌का र पलाको भन्दा फरक होला। तैपनि यहोवाले तपाईं, तपाईंको परिवार, साथीभाइ अनि चिनजानलाई कसरी इनाम दिनुभएको छ, सायद याद गर्नुभएको होला। यहोवाले अहिले तपाईंलाई कस्तो इनाम दिंदै हुनुहुन्छ र भविष्यमा कस्तो इनाम दिनुहुनेछ भनेर सोच्नु राम्रो हो!

२०. तनमनले यहोवाको सेवा गरिरह्यौं भने हामीले के पाउनेछौं?

२० तपाईंले मनैदेखि निष्कपट प्रार्थना गर्नुभयो भने ‘ठूलो इनाम पाउनुहुनेछ’ भनेर कहिल्यै नबिर्सनुहोस्। तपाईं यस कुरामा ढुक्क हुन सक्नुहुन्छ: “परमेश्वरको इच्छा पूरा गरिसकेपछि तब तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ।” (हिब्रू १०:३५, ३६) त्यसैले आफ्नो विश्वासलाई बलियो बनाइरहौं र तनमनले यहोवाको सेवा गरिरहौं। किनभने हामी विश्वस्त छौं, यहोवाले हामीलाई पक्कै इनाम दिनुहुनेछ!कलस्सी ३:२३, २४ पढ्‌नुहोस्।