“परमेश्वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो”
“जो पवित्र शक्तिको डोऱ्याइबमोजिम चल्छन्, तिनीहरूले परमेश्वरका कुराहरूमा मन लगाउँछन्।”—रोमी ८:५.
१, २. रोमी अध्याय ८ ले अभिषिक्त ख्रीष्टियनहरूको लागि किन विशेष अर्थ राख्छ?
हरेक वर्ष येशूको मृत्युको सम्झना गर्दा के तपाईंले रोमी ८:१५-१७ पढ्ने गर्नुभएको छ? सायद छ होला। ती पदहरूमा ख्रीष्टियनहरूलाई आफू पवित्र शक्तिले अभिषेक भएको कुरा कसरी थाह हुन्छ भनेर बताइएको छ—पवित्र शक्तिले तिनीहरूको मनलाई बोध गराउँछ। अनि रोमी अध्याय ८ को सुरुको पदले “ख्रीष्ट येशूसँग एक भएका” व्यक्तिहरूबारे बताउँछ। तर रोमी अध्याय ८ अभिषिक्त ख्रीष्टियनहरूलाई मात्र लागू हुन्छ त? अथवा पृथ्वीमा जीवन बिताउने आशा भएकाहरूलाई पनि लागू हुन्छ?
२ त्यस अध्यायमा खास गरी अभिषिक्त ख्रीष्टियनहरूलाई सम्बोधन गरिएको छ। तिनीहरूले “पवित्र शक्ति पाएका” छन् र “परमेश्वरको धर्मपुत्र बन्ने अनि फिरौतीद्वारा . . . [आफ्नो भौतिक] शरीरबाट मुक्त हुने तीव्र प्रतीक्षा” गर्छन्। (रोमी ८:२३) हो, तिनीहरू भविष्यमा परमेश्वरका छोराहरूको रूपमा स्वर्गमा जीवन बिताउने आशा राख्छन्। त्यो सम्भव छ किनभने बप्तिस्मा गरेर तिनीहरू ख्रीष्टियन बने अनि परमेश्वरले फिरौतीको बलिदानको आधारमा तिनीहरूका पापहरू क्षमा गर्नुभयो र तिनीहरूलाई आफ्ना छोराहरूको रूपमा असल ठहराउनुभयो।—रोमी ३:२३-२६; ४:२५; ८:३०.
३. पृथ्वीमा बाँच्ने आशा राखेकाहरूको लागि पनि रोमी अध्याय ८ ले किन खास अर्थ राख्छ?
३ तर रोमी अध्याय ८ ले पृथ्वीमा जीवन बिताउने आशा राखेकाहरूको लागि पनि खास अर्थ राख्छ। किनभने एक अर्थमा परमेश्वरले तिनीहरूलाई पनि असल ठान्नुहुन्छ। पावलले रोमीहरूलाई पत्र लेख्दा सुरु-सुरुका अध्यायहरूमा बताएका कुराहरूले त्यसको सङ्केत दिन्छ। अध्याय ४ मा तिनले अब्राहामबारे लेखे। अब्राहाम विश्वासको भरमा हिंडे। तर त्यतिबेला यहोवाले आफ्नो व्यवस्था दिइसक्नुभएको थिएन। अनि हाम्रा पापहरू क्षमा गर्न येशूले आफ्नो जीवन पनि बलिदान दिइसक्नुभएको थिएन। तैपनि अब्राहामले देखाएको उल्लेखनीय विश्वासलाई यहोवाले याद गर्नुभयो र तिनलाई असल ठहराउनुभयो। (रोमी ४:२०-२२ पढ्नुहोस्) त्यही अर्थमा पृथ्वीमा जीवन बिताउने आशा राखेका अहिलेका विश्वासी ख्रीष्टियनहरूलाई पनि यहोवाले असल ठहराउन सक्नुहुन्छ। हुन त रोमी अध्याय ८ को सल्लाह अभिषिक्त ख्रीष्टियनहरूलाई लागू हुन्छ। तर यसबाट अरू ख्रीष्टियनहरूले पनि लाभ उठाउन सक्छन्।
४. रोमी ८:२१ को प्रतिज्ञाले हामीलाई कस्ता प्रश्नहरूबारे सोच्न लगाउँछ?
४ रोमी ८:२१ मा नयाँ संसार पक्कै आउनेछ भन्ने ग्यारेन्टी पाउँछौं। त्यस पदमा “भ्रष्टताको दासत्वबाट स्वतन्त्र भएर सृष्टि आफैले पनि परमेश्वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछ” भनेर प्रतिज्ञा गरिएको छ। तर प्रश्न उठ्छ: के हामी त्यस नयाँ संसारमा हुनेछौं? के हामीले त्यो इनाम पाउनेछौं? त्यो इनाम पाउने कुरामा के तपाईं विश्वस्त हुनुहुन्छ? यसबारे विश्वस्त हुन रोमी अध्याय ८ मा दिइएको सल्लाहले मदत गर्नेछ।
“शारीरिक इच्छाहरूमा मन लगाउनु”
५. रोमी ८:४-१३ मा पावलले कुन गम्भीर विषयबारे लेखे?
५ रोमी ८:४-१३ पढ्नुहोस्। रोमी अध्याय ८ मा ‘शारीरिक इच्छाअनुसार’ चल्ने र ‘पवित्र शक्तिको डोऱ्याइबमोजिम’ चल्नेहरूबीचको भिन्नता बताइएको छ। कसै-कसैलाई यो तुलना भनेको सत्यमा भएका र नभएकाहरूबीचको अर्थात् ख्रीष्टियनहरू र गैर-ख्रीष्टियनहरूबीचको भिन्नताजस्तो लाग्न सक्छ। तर पावलले ‘रोममा बस्ने सबैलाई, जो परमेश्वरका प्रिय छन् र जसलाई पवित्र जन बन्न बोलाइएको छ,’ तिनीहरूलाई लेख्दै थिए। (रोमी १:७) त्यसकारण पावलले शारीरिक इच्छाअनुसार चल्ने ख्रीष्टियनहरू र पवित्र शक्तिको डोऱ्याइबमोजिम चल्ने ख्रीष्टियनहरूबीच तुलना गर्दै थिए। त्यसोभए भिन्नता के थियो?
६, ७. (क) बाइबलमा “शारीरिक” शब्द कुन-कुन अर्थमा प्रयोग गरिएको छ? (ख) रोमी ८:४-१३ मा प्रयोग गरिएको “शारीरिक” शब्दको अर्थ के हो?
६ “शारीरिक” भन्ने शब्दलाई विचार गर्नुहोस्। पावलले यहाँ कुन कुरा बुझाउन खोज्दै थिए? बाइबलले “शारीरिक” अर्थात् शरीर भन्ने शब्द विभिन्न तरिकामा प्रयोग गर्छ। कहिलेकाहीं यसले हाम्रो रगत र मासुको शरीरलाई बुझाउँछ। (रोमी २:२८; १ कोरि. १५:३९, ५०) यसले रगतको नातालाई पनि बुझाउन सक्छ। येशू “दाऊदको वंशबाट मानिसको रूपमा जन्मिनुभयो।” अनि पावलले यहूदीहरूलाई ‘रगतको नाताले आफ्ना नातेदार’ ठानेका थिए।—रोमी १:३; ९:३.
७ पावलले रोमी अध्याय ७ मा लेखेको कुराले रोमी ८:४-१३ मा प्रयोग गरिएको “शारीरिक” शब्दको अर्थ बुझ्न मदत गर्छ। तिनले रोमी ७:५ मा यस्तो लेखे, “जब हामी शारीरिक इच्छाअनुसार चल्थ्यौं, तब मृत्युको फल फलाउन पापी इच्छाहरूले हाम्रा अङ्गहरूमा काम गर्थे।” यहाँ पावलले ‘शारीरिक इच्छाअनुसार चल्नेहरू’ भनेको आफ्नै पापी इच्छा र झुकावको वशमा पर्ने वा त्यसैमा आफ्नो पूरै ध्यान लगाउने मानिसहरू हुन् भनेर बताउँदै थिए। वास्तवमा भन्ने हो भने तिनीहरू हरहालतमा आफ्नो लालसा, कुइच्छा र चाहना पूरा गर्नतिर लाग्छन्, चाहे ती यौनसम्बन्धी वा अरू कुरा नै किन नहोस्।
८. अभिषिक्त ख्रीष्टियनहरूलाई समेत ‘शारीरिक इच्छाअनुसार चल्नुको’ खतराबारे होसियार गराउनु किन उचित थियो?
८ तर तपाईंको मनमा प्रश्न उठ्न सक्छ, पावलले अभिषिक्त ख्रीष्टियनहरूलाई ‘शारीरिक इच्छाअनुसार चल्नुको’ खतराबारे होसियार गराउनुको कारण के थियो? परमेश्वरले आफ्ना मित्र ठान्नुभएका र असल ठहराउनुभएका अहिलेका ख्रीष्टियनहरूलाई पनि के त्यस्तै खतरा हुन सक्छ? दुःखको कुरा, ख्रीष्टियन भइसकेकाहरू पनि शारीरिक इच्छा पूरा गर्नतिर लाग्न सक्छन्। उदाहरणको लागि, रोम मण्डलीका कोही-कोही पहिले “आफ्नै पेटका दासहरू” थिए भनी पावलले लेखे। यसको मतलब तिनीहरू यौनइच्छा, खानपिन वा अन्य कुराहरूको दास भएका हुन सक्छन्। तिनीहरूमध्ये कसै-कसैले ‘सीधासादाहरूको मन बहकाइरहेका’ थिए। (रोमी १६:१७, १८; फिलि. ३:१८, १९; यहू. ४, ८, १२) कोरिन्थका एक जना भाइले कुनै समय “आफ्नै बुबाकी पत्नीलाई राखेको” घटना पनि थियो। (१ कोरि. ५:१) त्यसैले परमेश्वरले पावलमार्फत ख्रीष्टियनहरूलाई ‘शारीरिक इच्छाअनुसार चल्नुको’ खतराबारे होसियार गराउनुको कारण बुझ्न सक्छौं।—रोमी ८:५, ६.
९. पावलले रोमी ८:६ मा दिएको चेतावनी कस्तो सन्दर्भमा लागू हुँदैन?
९ त्यो चेतावनी अहिले हामीलाई पनि लागू हुन्छ। वर्षौं परमेश्वरको सेवा गरिसकेका ख्रीष्टियनले शारीरिक इच्छाहरूमा आफ्नो मन लगाउन थाल्न सक्छ। कुनै ख्रीष्टियनले कहिलेकाहीं खानेकुरा, जागिर, मनोरञ्जनबारे मात्र नभई रोमान्टिक प्रेमबारे समेत सोच्यो भन्दैमा उसले शारीरिक इच्छाहरूमा मन लगाउन थाल्यो भन्नचाहिं मिल्दैन। किनभने यी कुराहरू परमेश्वरका जो कोही सेवकको जीवनमा हुने सामान्य कुराहरू हुन्। येशूलाई पनि खानेकुरा मन पर्थ्यो र उहाँले अरूलाई खुवाउनुभयो। उहाँले मानिसको जीवनमा मनोरञ्जन पनि आवश्यक छ भनेर बुझ्नुभएको थियो। साथै पावलले विवाहित जोडीहरूबीच माया-प्रीती वा यौनसम्बन्धको उचित ठाउँ छ भनेर लेखे।
१०. रोमी ८:५, ६ मा “मन लगाउनु” भन्ने अभिव्यक्तिको अर्थ के हो?
१० त्यसोभए पावलले “शारीरिक इच्छाहरूमा मन लगाउनु” भनेर के भन्न खोज्दै थिए? यहाँ पावलले प्रयोग गरेको ग्रीक शब्दले “कुनै कुरामा आफ्नो दिमाग वा मन लगाउनु, कुनै योजना बनाउन आफ्नो सम्पूर्ण मानसिक र शारीरिक क्षमता प्रयोग गर्नु” भन्ने बुझाउँछ। शारीरिक इच्छाहरूमा मन लगाउनेहरू आफ्नो पापपूर्ण स्वभावअनुसारै जिउँछन्। रोमी ८:५ मा प्रयोग गरिएको शब्दबारे एक जना शास्त्रविद् यसो भन्छन्: “तिनीहरू शरीरका कुराहरूमा आफ्नो मन लगाउँछन्। तिनीहरू शारीरिक इच्छासित सम्बन्धित विषयहरूमा मात्र कुरा गरिरहन्छन्, त्यस्तै कामकुरामा भाग लिन्छन् अनि त्यसैको वाहवाही गर्छन्।”
११. आफूलाई सबैभन्दा चासो लाग्ने कुरा के हो भनेर थाह पाउन कस्ता प्रश्नहरू सोध्न सक्छौं?
११ रोमका ख्रीष्टियनहरूले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर केलाउनु उचित थियो। के उनीहरूको जीवनमा “शारीरिक इच्छाहरू”-ले प्रभुत्व जमाएको वा उनीहरू त्यसैमा केन्द्रित भएका हुन सक्थे? हामीले पनि आफ्नो जीवन त्यसरी केलाएर हेर्नु उचित छ। हामीलाई सबैभन्दा चासो लाग्ने कुरा के हो? हामी धेरैजसो कुन विषयमा कुरा गरिरहन्छौं? हामी हरबखत कस्ता कुराहरूको पछि लाग्छौं? मानिसहरूलाई अत्यन्तै चासो लाग्ने विषयहरू फरक-फरक हुन्छन्। जस्तै: नयाँ-नयाँ स्वादको रक्सी चाख्ने, घर सजाउने, नयाँ-नयाँ स्टाइलका लुगाहरू खोज्ने, लगानी गर्ने, बिदामा कतै घुम्न जान योजना बनाउने इत्यादि। त्यस्ता कुराहरू आफैमा गलत त होइनन्; ती जीवनका सामान्य कुराहरू हुन्। उदाहरणको लागि, येशूले एक चोटि पानीलाई रक्सी बनाउनुभयो अनि पावलले तिमोथीलाई “अलिअलि दाखमद्य” पिउने गर्नू भने। (१ तिमो. ५:२३; यूह. २:३-११) तर के येशू र पावलले रक्सीबारे मात्र ‘कुरा गरिरहनुभयो, त्यसैसित सम्बन्धित काममा भाग लिइरहनुभयो अनि त्यसैको वाहवाही गरिरहनुभयो?’ के त्यो नै उहाँहरूको सोख थियो? के उहाँहरूले त्यसैबारे मात्र ‘कुरा गरिरहनुभयो?’ अहँ, त्यसो गर्नुभएन। हामी नि? हामीलाई सबैभन्दा चासो लाग्ने कुरा के हो?
१२, १३. हामी जुन कुरामा मन लगाउँछौं, त्यसमा किन होसियार हुनुपर्छ?
१२ हामीले आफूलाई जाँच्नु महत्त्वपूर्ण छ। किन? पावलले यस्तो लेखे: “शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ मृत्यु हो।” (रोमी ८:६) यो गम्भीर कुरा हो किनभने त्यस्तो व्यक्ति अहिले परमेश्वरको नजरमा मरेतुल्य हुन्छ र भविष्यमा साँच्चिकै मर्छ। तैपनि कसैले ‘शारीरिक इच्छाहरूमा मन लगाउन’ थाल्यो भने ऊ हरहालतमा मर्नेछ भनेर पावलले भन्न खोजिरहेका थिएनन्। उसले आफूलाई बदल्न सक्छ। कोरिन्थको मण्डलीका त्यस व्यक्तिलाई सम्झनुहोस्, जसले “शारीरिक इच्छाहरू”-को पछि लागेर अवैध यौनसम्बन्ध राखे र तिनलाई बहिष्कार गर्नुपऱ्यो। तर तिनले परिवर्तन गर्न सक्थे र साँच्चै गरे पनि। तिनी शारीरिक इच्छाहरूको पछि लाग्न छोडे र सही बाटोमा फर्के।—२ कोरि. २:६-८.
१३ आफ्नो शारीरिक इच्छाहरू पूरा गर्न त्यो हदसम्म लागिसकेको व्यक्तिले त परिवर्तन गर्न सके भने आज ख्रीष्टियनहरूले पनि परिवर्तन गर्न सक्छन्। ‘शारीरिक इच्छाहरूमा मन लगाउने’ व्यक्तिले भोग्नुपर्ने सम्भाव्य परिणामबारे पावलको चेतावनीलाई विचार गर्दा ख्रीष्टियनहरू आवश्यक परिवर्तनहरू गर्न जुरमुरिनुपर्ने हो!
“परमेश्वरका कुराहरूमा मन लगाउनु”
१४, १५. (क) “शारीरिक इच्छाहरूमा मन लगाउनु”-को सट्टा हामी के गर्न सक्छौं? (ख) “परमेश्वरका कुराहरूमा मन लगाउनुको अर्थ” के होइन?
१४ प्रेषित पावलले “शारीरिक इच्छाहरूमा मन लगाउनु”-को खतराबारे चेतावनी दिइसकेपछि यस्तो आश्वासन दिए: “परमेश्वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो।” जीवन अनि शान्ति—कस्तो ठूलो इनाम! हामी कसरी त्यो इनाम पाउन सक्छौं?
१५ “परमेश्वरका कुराहरूमा मन लगाउनुको अर्थ” परमेश्वरको कुराबाहेक अरू कुरा सोच्नै हुँदैन भनेको होइन। तिनले चौबीसै घण्टा बाइबल वा परमेश्वरप्रतिको प्रेम अनि भविष्यको आशाबारे सोच्नुपर्छ अनि त्यसैबारे मात्र कुरा गर्नुपर्छ भनेको होइन। सम्झनुहोस् त, परमेश्वरले चाहनुहुने तरिकामा जीवन बिताएका पावल र प्रथम शताब्दीका अरू ख्रीष्टियनहरूले सामान्य जीवन बिताइरहेका थिए। तिनीहरू खानपिन गर्थे। तिनीहरूमध्ये धेरैजसोले विवाह गरेका थिए। तिनीहरूको आ-आफ्नो परिवार थियो र तिनीहरू परिवार पाल्न काम गर्थे।—मर्कू. ६:३; १ थिस्स. २:९.
१६. पावलले सामान्य दिनचर्याका विभिन्न कामकुरामा भाग लिए तापनि तिनको प्रमुख काम के थियो?
१६ परमेश्वरका ती सेवकहरूले सामान्य दिनचर्याका कुराहरूलाई आफ्नो जीवनको प्रमुख कुरा बनाएनन्। बाइबलमा बताइएअनुसार पावल पाल सिलाउने काम गर्थे। तर तिनको जीवनको प्रमुख कामचाहिं नियमित रूपमा प्रचारकार्य र सिकाउने काममा भाग लिनु थियो। (प्रेषित १८:२-४; २०:२०, २१, ३४, ३५ पढ्नुहोस्) पावलले रोमका दाजुभाइ दिदीबहिनीलाई पनि त्यही गतिविधिमा भाग लिन सल्लाह दिए। हो, पावलको जीवन परमेश्वरको कामकुरासित सम्बन्धित गतिविधिमा केन्द्रित थियो। रोमीहरूले तिनको अनुकरण गर्नुपर्थ्यो। आज हामीले पनि तिनको अनुकरण गर्नुपर्छ।—रोमी १५:१५, १६.
१७. ‘परमेश्वरका कुराहरूमा मन लगायौं’ भने कस्तो जीवन बिताउन सक्नेछौं?
१७ परमेश्वरका कुराहरूलाई आफ्नो जीवनको प्रमुख काम बनायौं भने परिणाम कस्तो हुनेछ? रोमी ८:६ ले स्पष्टसित यस्तो जवाफ दिन्छ: “परमेश्वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो।” यसको अर्थ पवित्र शक्तिको डोऱ्याइअनुसार चल्नु र त्यसैको अधीनमा बस्नु अनि परमेश्वर र उहाँको सोचाइअनुसार चल्नु हो। “परमेश्वरका कुराहरू”-लाई आफ्नो जीवनको प्रमुख कुरा बनायौं भने अहिले सन्तोषजनक र अर्थपूर्ण जीवन बिताउन सक्नेछौं। भविष्यमा चाहिं स्वर्गमा वा पृथ्वीमा अनन्त जीवन पाउनेछौं।
१८. ‘परमेश्वरका कुराहरूमा मन लगायौं’ भने कसरी शान्ति हुन्छ?
१८ “परमेश्वरका कुराहरूमा मन लगाउनुको अर्थ . . . शान्ति हो” भन्ने आश्वासनलाई विचार गरौं। धेरैजसो मानिस मनोशान्ति पाउन अनेक प्रयास गर्छन्। तिनीहरूले मनोशान्ति धुइँपत्ता खोजिरहेका छन्। तर हामीले भने पाइसकेका छौं। त्यस्तो मनोशान्ति पाएका छौं भने आफ्नो परिवारका सदस्यहरू र मण्डलीका दाजुभाइ दिदीबहिनीसित सुमधुर सम्बन्ध कायम गर्न कोसिस गर्छौं। हामी र हाम्रा दाजुभाइ दिदीबहिनी सबै त्रुटिपूर्ण छौं भनेर हामीले राम्ररी बुझेका छौं। हामी सबै त्रुटिपूर्ण भएकोले कहिलेकाहीं समस्या हुन सक्छ। तर समस्या भइहालेको खण्डमा येशूको यो सल्लाह पालन गर्छौं: “आफ्नो भाइसित मिलाप गर।” (मत्ती ५:२४) हामीले जुन भाइसित मिलाप गर्नुपर्छ, तिनले पनि “शान्ति दिनुहुने परमेश्वर”-को सेवा गरिरहेका छन् भनेर सम्झ्यौं भने मिलाप गर्न सजिलो हुन्छ।—रोमी १५:३३; १६:२०.
१९. हामी जुन कुरामा मन लगाउँछौं, त्यसको आधारमा कस्तो अनमोल शान्ति पाउनेछौं?
१९ हामीले पाउने अर्को एउटा अनमोल शान्ति पनि छ। ‘परमेश्वरका कुराहरूमा मन लगायौं’ भने सृष्टिकर्तासित मिलाप गर्न सक्छौं। यशैयाले यस्तो लेखे: “जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले [अर्थात् यहोवाले] पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ।” हुन त यशैयाले लेखेका यी शब्दहरू तिनको समयमा पूरा भए तर अहिले हाम्रो समयमा त्यसको अझ महान् पूर्ति भइरहेको छ।—यशै. २६:३; रोमी ५:१ पढ्नुहोस्।
२०. रोमी अध्याय ८ मा दिइएको सल्लाहको लागि तपाईं किन कृतज्ञ हुनुहुन्छ?
२० चाहे हामी अभिषिक्त होऔं या सधैंभरि पृथ्वीमा प्रमोदवनमा बाँच्ने आशा राख्नेहरू, रोमी अध्याय ८ मा परमेश्वरको प्रेरणाद्वारा लेखिएको सल्लाहको लागि कृतज्ञ छौं। “शारीरिक इच्छाहरू”-लाई आफ्नो जीवनको प्रमुख कुरा नबनाउनू भन्ने प्रोत्साहनको लागि पनि हामी साँच्चै धन्यवादी छौं। परमेश्वरको प्रेरणाद्वारा लेखिएको यस सल्लाह पालन गर्नुको महत्त्व हामीले बुझेका छौं: “परमेश्वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो।” यसो गऱ्यौं भने सधैंभरिको लागि इनाम पाउनेछौं। यस इनामबारे पावलले यस्तो लेखे: “पापले तिर्ने ज्याला मृत्यु हो तर परमेश्वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत अनन्त जीवन हो।”—रोमी ६:२३.