सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

के विवाहित ख्रीष्टियनहरूले जन्म निरोधको लागि आई यु डी प्रयोग गर्नु धर्मशास्त्रअनुसार उचित हो?

यस विषयमा विवाहित ख्रीष्टियनहरूले विभिन्‍न जानकारी अनि बाइबलका सिद्धान्तहरू केलाउनुपर्छ। अनि प्रत्येक दम्पतीले परमेश्‍वरसामु सफा अन्तस्करण राख्न सक्ने गरी निर्णय गर्नुपर्छ।

यहोवाले आदम र हव्वालाई (र जलप्रलयपछि आठ जनालाई) यस्तो आज्ञा दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै . . . जाओ।” (उत्प. १:२८; ९:१) त्यो आज्ञा अहिले ख्रीष्टियनहरूलाई पनि लागू हुन्छ भनी बाइबलमा बताइएको छैन। त्यसैले छोराछोरी जन्माउने कि नजन्माउने, कति जना जन्माउने अनि कहिले जन्माउने भनेर प्रत्येक दम्पती आफैले निर्णय गर्न सक्छन्‌ अनि त्यसको लागि जन्म निरोधका कस्ता उपाय अपनाउने भन्‍ने निर्णय पनि तिनीहरूकै हो। यस्तो निर्णय गर्नुअघि तिनीहरूले कस्ता कुराहरूमा विचार पुऱ्‍याउनुपर्छ?

जन्म निरोधको लागि कस्तो उपाय अपनाउने भनेर निर्णय गर्दा साँचो ख्रीष्टियनहरूले बाइबलका सिद्धान्तहरूलाई पनि ध्यान दिनुपर्छ। त्यसैले तिनीहरू जन्म निरोधको लागि गर्भपतन गराउँदैनन्‌। बाइबलले जीवनको आदर गर्नुपर्छ भनी बताउँछ तर गर्भपतन गराउनु बाइबलको सल्लाहसित मेल खाँदैन। गर्भ बसेपछि अर्को एउटा जीवन सुरु हुन्छ। त्यसैले तिनीहरू गर्भपतन गराएर कसैको हत्या गर्दैनन्‌। (प्रस्थ. २०:१३; २१:२२, २३; भज. १३९:१६; यर्मि. १:५) त्यसोभए आई यु डी प्रयोग गर्नेबारे के भन्‍न सकिन्छ?

यसबारे मे १५, १९७९ को प्रहरीधरहरा, पृष्ठ ३०-३१ मा (अङ्‌ग्रेजी) छलफल गरिएको थियो। त्यतिबेला उपलब्ध प्रायजसो आई यु डी प्लास्टिकले बनेका हुन्थे र गर्भ बस्न नदिन त्यसलाई पाठेघरमा घुसाइन्थ्यो। त्यस्ता आई यु डी-ले कसरी गर्भ बस्नदेखि रोक्छ भनेर सबै जानकारी थाह नभएको कुरा त्यस लेखमा बताइएको थियो। त्यतिबेलाका थुप्रै विशेषज्ञले बताएअनुसार पाठेघरमा आई यु डी राखेपछि एक प्रकारको रासायनिक प्रतिक्रिया हुन्छ र त्यसले पुरुषको शुक्रकीट र महिलाको अण्डालाई निषेचन हुनदेखि रोक्छ। अनि अण्डा निषेचन भएन भने नयाँ जीवन सुरु हुने थिएन।

तर केही प्रमाणले देखाएअनुसार आई यु डी राखेपछि पनि कहिलेकाहीं अण्डा निषेचन हुन सक्थ्यो। भर्खरै निषेचन भएको अण्डा डिम्बबाहिनी नलीमा बढ्‌न (एक्टोपिक गर्भावस्था अर्थात्‌ पाठेघरबाहिर गर्भ बस्ने) वा पाठेघरमा जान सक्थ्यो। निषेचित अण्डा पाठेघरमा गयो भने त्यहाँ राखिएको आई यु डी-ले गर्दा गर्भ बस्न र सामान्य अवस्थामा जसरी बच्चा हुर्कन सक्दैनथ्यो। निषेचन भइसकेको अण्डालाई बढ्‌न नदिनु भनेको गर्भपतन गराउनु जस्तै हो। त्यही लेखको अन्तमा यसो भनिएको थियो: “साँचो ख्रीष्टियनले आई यु डी प्रयोग गर्नु उचित होला कि नहोला भनेर निर्णय गर्नुअघि बाइबलको सिद्धान्त गम्भीरतापूर्वक विचार गर्नुपर्छ किनभने जीवन पवित्र छ।”—भज. ३६:९.

सन्‌ १९७९ मा त्यो लेख छापिएदेखि यता वैज्ञानिक वा चिकित्सा क्षेत्रमा थुप्रै प्रगति भएका छन्‌।

अहिले दुई प्रकारका आई यु डी उपलब्ध छन्‌। एउटा प्रकारको आई यु डी-मा कपर (तामा) प्रयोग गरिन्छ र यो सन्‌ १९८८ सम्म त अमेरिकामा धेरै उपलब्ध हुन थालिसकेको थियो। पछि सन्‌ २००१ मा भने हर्मोन भएको आई यु डी बजारमा आउन थाल्यो। यी दुई प्रकारका आई यु डी-ले कसरी काम गर्छन्‌?

कपर टी: यस्तो आई यु डी-ले शुक्रकीटलाई पाठेघरमा पुगेर अण्डासित निषेचन गर्न गाह्रो बनाइदिन्छ। त्यति मात्र होइन, कपर निकाल्ने आई यु डी-ले शुक्रकीटलाई मार्छ किनभने कपर शुक्रकीटको लागि विषसरह हुन्छ। * अनि कपर टी-ले पाठेघरको भित्री झिल्लीमा पनि केही असर पुऱ्‍याउँछ।

हर्मोन भएको आई यु डी: यस्तो आई यु डी-मा गर्भ निरोध चक्कीमा पाइने जस्तै खालको हर्मोन पाइन्छ। यस्तो आई यु डी-ले पाठेघरमा हर्मोन निकाल्छ। यसले केही महिलामा अण्डा निकाल्ने प्रक्रियालाई नै रोक्छ जस्तो देखिन्छ। त्यसैले अण्डा नै निस्केन भने निषेचन हुने कुरै आउँदैन। यसमा हुने हर्मोनले पाठेघरको भित्री झिल्लीलाई पातलो बनाउँछ भन्‍ने धारणा पनि छ। * यसले पाठेघरको मुखमा हुने चिल्लो पदार्थलाई बाक्लो पनि बनाउँछ, जसले गर्दा शुक्रकीट योनिबाट पाठेघरसम्म पुग्न सक्दैन। पहिला-पहिला प्रयोग गरिने आई यु डी-ले यस्ता कामहरू गर्न सक्दैनथ्यो।

भर्खर छलफल गरेअनुसार दुवै प्रकारका आई यु डी -ले पाठेघरको भित्री झिल्लीलाई असर गर्छ जस्तो देखिन्छ। तैपनि महिलाको डिम्बाशयबाट अण्डा निस्क्यो र त्यो निषेचन भयो भने नि? त्यो पाठेघरमा पुगे तापनि भित्रको पातलो झिल्लीले गर्दा गर्भ बसेको केही समय नबित्दै गर्भ तुहिन सक्छ। तर यस्तो घटना विरलै मात्र हुने गर्छ। गर्भ निरोध चक्की प्रयोग गर्दा पनि कहिलेकाहीं यस्तो हुने गर्छ।

त्यसैले कपर टी वा हर्मोन भएको आई यु डी प्रयोग गर्दा अण्डा कुनै हालतमा निषेचन हुँदैन भनेर ठोकुवा गर्न सकिंदैन। आई यु डी-ले कसरी काम गर्छ भनेर हामीले यस लेखमा विभिन्‍न कुरा छलफल गऱ्‍यौं र त्यसले देखाएअनुसार आई यु डी प्रयोग गर्दा गर्भ बस्ने सम्भावना विरलै हुन्छ।

आई यु डी प्रयोग गर्ने विचार गरिरहेका दम्पतीले उपलब्ध आई यु डी-बारे दक्ष डाक्टर वा चिकित्सा पेसासित सम्बन्धित व्यक्‍तिहरूसित यसको फाइदा र बेफाइदाबारे परामर्श गर्लान्‌। तर आई यु डी प्रयोग गर्नेबारे तिनीहरूले अरू कसैले निर्णय गरिदिएको आशा गर्नु हुँदैन अनि अरूलाई निर्णय गर्न दिनु पनि हुँदैन, चाहे त्यो व्यक्‍ति डाक्टर नै किन नहोस्‌। (रोमी १४:१२; गला. ६:४, ५) यो प्रत्येक दम्पतीको व्यक्‍तिगत निर्णय हो। तिनीहरूले आपसमा सरसल्लाह गरेर परमेश्‍वरलाई खुसी तुल्याउने अनि उहाँसामु सफा अन्तस्करण राख्न सक्ने गरी निर्णय गर्नुपर्छ।—१ तिमो. १:१८, १९; २ तिमो. १:३ तुलना गर्नुहोस्‌।

^ अनु. 4 इङ्‌गल्याण्डको राष्ट्रिय स्वास्थ्य सेवा रिपोर्ट यसो भन्छ: “कपर धेरै भएको आई यु डी ९९ प्रतिशतभन्दा बढी प्रभावकारी हुन्छ। यसको मतलब आई यु डी प्रयोग गर्ने १०० जना महिलामध्ये प्रति वर्ष एक जनाभन्दा कम मात्र गर्भवती हुने गर्छन्‌। कपर थोरै भएको आई यु डी कम प्रभावकारी हुन्छ।”

^ अनु. 5 हर्मोन भएको आई यु डी-ले पाठेघरको भित्री झिल्लीलाई पातलो बनाउँछ। त्यसैले महिनावारी हुँदा अत्यधिक रक्‍तस्राव कम गर्न विवाहित वा अविवाहित महिलाहरूलाई डाक्टरहरू कहिलेकाहीं यस्तो आई यु डी राख्ने सुझाव दिन्छन्‌।