सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

केटाकेटी हो—“आफ्नो उद्धारको निम्ति . . . प्रयत्न गरिरहो”

केटाकेटी हो—“आफ्नो उद्धारको निम्ति . . . प्रयत्न गरिरहो”

“तिमीहरूले सधैं आज्ञा पालन गर्दै आएका छौ। . . . आफ्नो उद्धारको निम्ति पनि त्यसरी नै डर र कम्पसहित प्रयत्न गरिरहो।”—फिलि. २:१२.

गीत: १३३, १३५

१. बप्तिस्मा किन महत्त्वपूर्ण कदम हो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

हरेक वर्ष हजारौं बाइबल विद्यार्थी बप्तिस्मा गर्छन्‌। त्यसमा किशोरकिशोरी र त्योभन्दा सानो उमेरका केटाकेटी पनि पर्छन्‌। उनीहरूले आफ्नो आमाबुबाबाट सत्य सिकेका हुन सक्छन्‌। के तपाईं पनि यीमध्ये एक हुनुहुन्छ? त्यसो हो भने तपाईं प्रशंसायोग्य हुनुहुन्छ! ख्रीष्टियन हुनको लागि बप्तिस्मा गर्नै पर्छ र यो उद्धारको लागि चाल्नै पर्ने कदम हो।—मत्ती २८:१९, २०; १ पत्रु. ३:२१.

२. बप्तिस्मा गर्नदेखि किन डराउनु वा पछि हट्‌नुपर्दैन?

हुन त बप्तिस्माले थुप्रै आशिष्‌को ढोका खोल्छ तर योसँगै जिम्मेवारी पनि आउँछ। कुन अर्थमा? बप्तिस्माको दिन तपाईंलाई यस्तो प्रश्‍न सोधिएको थियो, “येशू ख्रीष्टले चढाउनुभएको बलिदानको आधारमा के तपाईंले आफ्नो पापको प्रायश्‍चित गरेर यहोवाको इच्छा गर्न आफ्नो जीवन उहाँलाई समर्पण गरिसक्नुभएको छ?” अनि तपाईंले यसको सकारात्मक जवाफ दिनुभएको थियो। बप्तिस्माद्वारा तपाईंले आफ्नो समर्पण जनसमक्ष प्रकट गर्नुभयो। बप्तिस्मा गर्दा तपाईंले यहोवालाई प्रेम गर्ने र कुनै पनि कुरालाई भन्दा उहाँको इच्छालाई प्राथमिकता दिने गम्भीर वाचा बाँध्नुभयो। यो वाचालाई हल्कासित लिनु हुँदैन। के यस्तो वाचा बाँधेकोमा तपाईं पछुताउनुपर्छ? कदापि पर्दैन। आफूलाई यहोवाको हातमा सुम्पन तपाईंले चाल्नुभएको कदम गलत हुनै सक्दैन। अर्कोतर्फ, यहोवालाई नचिन्‍ने व्यक्‍ति सैतानको संसारको भाग भइरहेको हुन्छ। तपाईंले उद्धार पाए पनि नपाए पनि सैतानलाई कुनै मतलब छैन। वास्तवमा सैतान तपाईंले यहोवाको सार्वभौमिकताको विरुद्धमा खडा भई उसको पक्ष लिएको र सधैंभरि बाँच्ने जीवन गुमाएको चाहन्छ।

३. यहोवामा जीवन समर्पण गर्दा कस्ता आशिष्‌ पाउन सक्नुहुन्छ?

तपाईंले सैतानलाई साथ दिनुको साटो यहोवामा आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्नुभएको छ। यसो गर्दा यहोवाले कसरी आशिष्‌ दिनुभएको छ, विचार गर्नुहोस्‌। आफ्नो जीवन यहोवाको हातमा सुम्पनुभएकोले तपाईं अझ निर्धक्क भई यसो भन्‍न सक्नुहुन्छ: “परमप्रभु मतर्फ हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ र?” (भज. ११८:६) परमेश्‍वरको पक्षमा खडा हुनु र उहाँको अनुमोदन पाउनुभन्दा ठूलो सुअवसर अरू हुन सक्दैन!

एउटा व्यक्‍तिगत जिम्मेवारी

४, ५. (क) यहोवासितको सम्बन्ध बलियो बनाउनु किन व्यक्‍तिगत जिम्मेवारी हो? (ख) हामी सबैले कस्तो अवस्थाको सामना गर्नुपर्छ?

बप्तिस्मा गरिसक्नुभएको छ भने यहोवासितको आफ्नो सम्बन्ध बलियो बनाउनु तपाईंको व्यक्‍तिगत जिम्मेवारी हो। यो भनेको आमाबुबाबाट पुर्ख्यौली सम्पत्ति स्वत: पाउने कुराजस्तो होइन। आफ्नो आमाबुबासँगै बस्दै हुनुहुन्छ भने पनि आफ्नो उद्धारको लागि तपाईं आफै जिम्मेवार हुनुहुन्छ। यो कुरा सम्झनु किन महत्त्वपूर्ण छ? किनभने तपाईंले भविष्यमा कस्ता चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ भनेर पहिल्यै अड्‌कल काट्‌न सधैं सम्भव हुँदैन। उदाहरणको लागि, तपाईंले किशोरावस्था नपुग्दै बप्तिस्मा गर्नुभएको थियो होला। तर अहिले किशोरावस्थाको दौडान भने पहिला कहिल्यै अनुभव नगरेका भावनाहरू मनमा आउन सक्छन्‌ र तपाईंले नयाँ चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। एक किशोरीले यसो भनिन्‌: “कसैको जन्मदिनमा केक खान पाएन भन्दैमा बच्चाहरूले आफू यहोवाको साक्षी नभएको भए हुन्थ्यो भनेर त सोच्दैनन्‌ होला। तर केही वर्षपछि यौनसम्बन्ध राख्ने इच्छा प्रबल हुन सक्छ। त्यतिबेला तिनी यहोवाको आज्ञा पालन गर्दा सधैं हाम्रो हित हुन्छ भन्‍ने कुरामा पूर्णतया विश्‍वस्त छन्‌ भने मात्र त्यस्तो यौन इच्छाको प्रतिरोध गर्न सक्छन्‌।”

हुन त हो, केटाकेटीले मात्र नयाँ चुनौतीको सामना गर्नुपर्ने होइन। वयस्क भइसकेपछि बप्तिस्मा गर्नेहरूले पनि आफूले सोच्दै नसोचेका चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ। तिनीहरूले वैवाहिक सम्बन्ध, स्वास्थ्य समस्या वा जागिरजस्ता क्षेत्रमा चुनौतीहरू सामना गर्नुपर्ने हुन सक्छ। हो, हाम्रो उमेर जतिसुकै होस्‌, यहोवाप्रतिको वफादारीको जाँच हुने अवस्थाहरू हामी सबैले सामना गर्नुपर्छ।—याकू. १:१२-१४.

६. (क) जस्तोसुकै अवस्था आइपरे पनि यहोवाप्रति वफादार रहनुको अर्थ के हो? (ख) फिलिप्पी ४:११-१३ बाट तपाईं के सिक्न सक्नुहुन्छ?

तपाईं जस्तोसुकै अवस्थामा पनि यहोवाप्रति वफादार रहिरहन चाहनुहुन्छ भने आफूले उहाँसित गरेको प्रतिज्ञा कहिल्यै नबिर्सनुहोस्‌। तपाईंले यस ब्रह्‍माण्डको सर्वोच्च परमेश्‍वरप्रति सधैं वफादार रहनेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो। यसको मतलब, आफ्ना साथीहरू वा आमाबुबाले उहाँको सेवा गर्न छोडे तापनि तपाईंले चाहिं कहिल्यै छोड्‌नुहुनेछैन। (भज. २७:१०) जस्तोसुकै अवस्थामा पनि आफ्नो समर्पणअनुरूप जिउन सधैं यहोवाको मदत माग्नुहोस्‌।फिलिप्पी ४:११-१३ पढ्‌नुहोस्‌।

७. “डर र कम्पसहित” आफ्नो उद्धारको निम्ति प्रयत्न गर्नुको अर्थ के हो?

यहोवा तपाईंलाई आफ्नो साथी बनाउन चाहनुहुन्छ। तर त्यो मित्रता कायम राख्न र उद्धार पाउन तपाईंले प्रयत्न गरिरहनुपर्छ। फिलिप्पी २:१२ मा यसो भनिएको छ: “उद्धारको निम्ति . . . डर र कम्पसहित प्रयत्न गरिरहो।” त्यसैले यहोवासितको मित्रता कसरी प्रगाढ बनाइराख्ने अनि जस्तोसुकै चुनौती आइपरे पनि कसरी उहाँप्रति वफादार भइरहने भनेर विचार गर्नु महत्त्वपूर्ण छ। यसो गर्न सकिहाल्छु नि भनेर अतिविश्‍वस्त हुनु हुँदैन। लामो समयदेखि परमेश्‍वरको सेवा गरेका कोही-कोही सेवकसमेत उहाँको मार्गबाट तर्केका छन्‌। त्यसोभए तपाईं आफ्नो उद्धारको निम्ति प्रयत्न गर्न कस्ता कदमहरू चाल्न सक्नुहुन्छ?

बाइबल अध्ययन महत्त्वपूर्ण छ

८. व्यक्‍तिगत अध्ययन गर्नुमा के समावेश छ र यो किन महत्त्वपूर्ण छ?

यहोवाको मित्र बन्‍न दुईतर्फी कुराकानी हुनु आवश्‍यक छ—उहाँको कुरा सुन्‍ने र आफ्नो कुरा बताउने। यहोवाको कुरा सुन्‍ने एउटा प्रमुख तरिका भनेको व्यक्‍तिगत बाइबल अध्ययन गर्नु हो। यसमा बाइबल र बाइबलआधारित प्रकाशन पढेर ज्ञान लिनु अनि मनन गर्नु समावेश छ। बाइबल अध्ययन गर्नुलाई स्कुलको किताब पढेजस्तै नसोच्नुहोस्‌। बाइबल अध्ययन गर्नुको उद्देश्‍य स्कुलको जाँच पास गर्नको लागि विभिन्‍न जानकारी कण्ठ गरेको जस्तो हुनु हुँदैन। फलदायी बाइबल अध्ययन भनेको कतै रमाइलो यात्रा गर्नुजस्तै हो। यस्तो यात्रा गर्दा तपाईंले यहोवाको व्यक्‍तित्वको मनमोहक पक्षहरू पत्ता लगाउन सक्नुहुनेछ। यसले तपाईंलाई यहोवासित नजिक हुन मदत गर्नेछ र उहाँ पनि तपाईंसित नजिक हुनुहुनेछ।—याकू. ४:८.

तपाईं यहोवासित कत्तिको राम्ररी कुराकानी गर्दै हुनुहुन्छ? (अनुच्छेद ८-११ हेर्नुहोस्‌)

९. तपाईंलाई व्यक्‍तिगत अध्ययन गर्न कस्ता सामग्रीले मदत गरेको छ?

प्रभावकारी तरिकामा अध्ययन गर्न मदत मिलोस्‌ भनेर यहोवाको सङ्‌गठनले थुप्रै सामग्री उपलब्ध गराएको छ। उदाहरणको लागि, बाइबलबाट व्यावहारिक मदत पाउन यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-मा विभिन्‍न विषय हेर्न सक्नुहुन्छ। साथै jw.org/ne को “किशोरकिशोरी” भन्‍ने खण्डमा “बाइबलले वास्तवमा के सिकाउँछ? (अध्ययन निर्देशिका)” अन्तर्गत थुप्रै विषयवस्तु छन्‌। त्यसले पनि तपाईंको विश्‍वास बलियो बनाउन मदत गर्छ। यी अध्ययन निर्देशिकाले आफ्नो विश्‍वासबारे अरूलाई बताउने तरिकाहरू पनि सिकाउँछ। अध्ययन गर्ने अरू तरिकाहरू प्रहरीधरहरा-को जनसंस्करण सङ्‌ख्या १, २०१७ को आवरण लेखमा पाउन सक्नुहुनेछ। यसको विषय छ: “पवित्र शास्त्रबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ?” आफ्नो उद्धारको निम्ति प्रयत्न गर्न तपाईंले अध्ययन र मनन गर्नु धेरै महत्त्वपूर्ण छ।भजन ११९:१०५ पढ्‌नुहोस्‌।

प्रार्थना जरुरी छ

१०. बप्तिस्मा गरेका ख्रीष्टियनहरूले प्रार्थना गर्नु किन जरुरी छ?

१० व्यक्‍तिगत अध्ययन गरेर हामी यहोवाको कुरा सुन्‍न सक्छौं अनि प्रार्थनाद्वारा हामी उहाँलाई आफ्नो कुरा बताउन सक्छौं। प्रार्थना गर्नु भनेको मन्त्र जप्नु जस्तो होइन। अथवा काममा सफलता मिलोस्‌ भनेर कुनै जन्तर वा बुटी बाँध्नु जस्तो पनि होइन। प्रार्थना भनेको हाम्रो सृष्टिकर्तासित गरिने साँच्चैको कुराकानी हो। यहोवा तपाईंको कुरा सुन्‍न चाहनुहुन्छ। (फिलिप्पी ४:६ पढ्‌नुहोस्‌) कुनै कुराले चिन्तित बनाउँदा बाइबलको यो सल्लाह पालन गर्नु बुद्धिमानी हो: “तेरो भारी परमप्रभुमा राख्‌।” (भज. ५५:२२) तर यसो गर्नु साँच्चै बुद्धिमानी हो भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ? प्रार्थना गर्दा आफूले मदत पाएको कुरा लाखौं भाइबहिनीले तपाईंलाई बताउन सक्छन्‌। हो, प्रार्थना गर्दा तपाईंले पनि मदत पाउन सक्नुहुन्छ।

११. तपाईंले किन यहोवालाई सधैं धन्यवाद दिनुपर्छ?

११ प्रार्थना गर्दा तपाईंले यहोवासित मदत माग्ने मात्र नभई अन्य कुरा पनि बताउन सक्नुहुन्छ। बाइबल भन्छ: “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।” (कल. ३:१५) कहिलेकाहीं हामी आफ्ना समस्याहरूमा यति अलमलिन सक्छौं कि आफूले कत्ति धेरै आशिष्‌ पाएका छौं भनेर यादै नहुन सक्छ। त्यसैले यहोवालाई धन्यवाद दिन हरेक दिन कम्तीमा तीन वटा कुरा सम्झने अठोट गर्नुभए कसो होला? अनि ती आशिष्‌हरूको लागि प्रार्थनामा यहोवालाई धन्यवाद दिनुहोस्‌। बाह्र वर्षको उमेरमा बप्तिस्मा गरेकी अबीगेल यसो भन्छिन्‌, “यस ब्रह्‍माण्डमा धन्यवाद पाउन योग्य व्यक्‍ति यहोवा जत्तिको अरू कोही छैन। उहाँले हामीलाई दिनुभएका उपहारहरूको लागि मौका पाउनेबित्तिकै धन्यवाद दिइहाल्नुपर्छ। मैले एक पटक यस्तो कुरा सुनेकी थिएँ: तपाईंले आज यहोवालाई जुन-जुन कुराको लागि धन्यवाद दिनुभयो, मानौं भोलि यहोवाले ती कुरा मात्र तपाईंलाई दिनुभयो भने के होला?”

व्यक्‍तिगत तवरमा अनुभव गर्नुको महत्त्व

१२, १३. तपाईंले आफ्नो जीवनमा कसरी यहोवाको भलाइ अनुभव गर्नुभएको छ? त्यसबारे सोच्नु किन महत्त्वपूर्ण छ?

१२ थुप्रै कठिन अवस्थामा यहोवाबाट मदत पाएका पुरातन समयका राजा दाऊदले यस्तो भजन गाए: “पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो।” (भज. ३४:८) यो पदले यहोवा भला हुनुहुन्छ भनेर तपाईंले व्यक्‍तिगत तवरमा अनुभव गर्नुको महत्त्वबारे बुझाउँछ। तपाईंले बाइबल र बाइबलआधारित प्रकाशनहरू पढ्‌दा अनि सभाहरूमा उपस्थित हुँदा यहोवाले अरूलाई वफादार रहन कसरी मदत गर्नुभयो भन्‍नेबारे प्रोत्साहनदायी अनुभवहरू सुन्‍न सक्नुहुन्छ। तर आध्यात्मिक रूपमा परिपक्व हुँदै जाँदा तपाईं आफैले पनि यहोवाको मदत महसुस गर्नु आवश्‍यक छ। तपाईंले आफ्नो जीवनमा कसरी यहोवाको भलाइ अनुभव गर्नुभएको छ?

१३ सबै ख्रीष्टियनले एउटा विशेष तरिकामा यहोवाको भलाइ पारख गरेका अर्थात्‌ चाखेका छन्‌। उहाँले हामी सबैलाई आफ्नो र आफ्नो छोराको नजिक आउन निम्तो दिनुभएको छ। येशूले भन्‍नुभयो: “मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन।” (यूह. ६:४४) के यहोवाले तपाईंलाई पनि खिच्नुभएको छ जस्तो लाग्छ? अथवा यस्तो पो लाग्छ कि, ‘यहोवाले मेरो आमाबुबालाई खिच्नुभयो अनि मचाहिं उहाँहरूको पछि लागें।’ यहोवामा आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्दा तपाईं आफैले पनि यहोवासित विशेष सम्बन्ध गाँसेको देखाउनुभयो। त्यसैले अहिले उहाँ तपाईंलाई साँच्चै चिन्‍नुहुन्छ। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने परमेश्‍वरले उसलाई चिन्‍नुहुन्छ।” (१ कोरि. ८:३) यहोवाको सङ्‌गठनमा आफ्नो स्थानको सधैं मोल गर्न अनि त्यसको कदर गर्न कोसिस गर्नुहोस्‌।

१४, १५. प्रचार गर्दा तपाईंको विश्‍वास कसरी बलियो हुन्छ?

१४ यहोवा भला हुनुहुन्छ भनेर व्यक्‍तिगत तवरमा चाख्न सक्ने अर्को तरिका भनेको आफ्नो विश्‍वासबारे अरूलाई बताउँदा उहाँको डोऱ्‍याइ अनुभव गरेर हो। यो कुरा तपाईं प्रचार जाँदा वा स्कुलमा साक्षी दिंदा अनुभव गर्न सक्नुहुन्छ। कसै-कसैलाई स्कुलमा आफ्ना साथीहरूलाई साक्षी दिन अप्ठ्यारो लाग्न सक्छ। तपाईंले पनि त्यस्तै अनुभव गर्नुभएको छ होला। साथीहरूले कस्तो प्रतिक्रिया देखाउलान्‌ भनेर तपाईंलाई चिन्ता लाग्न सक्छ। स्कुलको कोही एक जना साथीलाई साक्षी दिन जति गाह्रो हुन्छ, त्यसको तुलनामा साथीहरूको ठूलो समूहको अगाडि आफ्नो विश्‍वासबारे बताउन झनै गाह्रो हुन सक्छ। त्यसो हो भने तपाईंलाई केले मदत गर्न सक्छ?

१५ सर्वप्रथम, तपाईं किन आफूले विश्‍वास गरेका कुराबारे पक्का हुनुहुन्छ, विचार गर्नुहोस्‌। हाम्रो jw.org वेबसाइटमा पाइने अध्ययन निर्देशिका के तपाईंको भाषामा उपलब्ध छ? तपाईंलाई त्यसबारे थाह छैन भने एक चोटि वेबसाइटमा गएर पक्का गर्नुहोस्‌। ती अध्ययन निर्देशिकाले तपाईंलाई आफूले विश्‍वास गरेका कुरा, ती विश्‍वास गर्नुको कारण र आफ्नो विश्‍वासबारे अरूलाई बताउने तरिकाबारे सोच्न मदत गर्नेछ। तपाईंको विश्‍वास बलियो छ र त्यसबारे अरूलाई कसरी बताउने भनेर राम्ररी तयारी गरिसक्नुभएको छ भने तपाईं यहोवाबारे साक्षी नदिई बस्नै सक्नुहुन्‍न।—यर्मि. २०:८, ९.

१६. आफ्नो विश्‍वासबारे बताउन अप्ठ्यारो लाग्छ भने तपाईं के गर्न सक्नुहुन्छ?

१६ हुन त तपाईंले राम्रो तयारी गर्नुभएको छ होला तैपनि तपाईंलाई आफ्नो विश्‍वासबारे बताउन अप्ठ्यारो लाग्न सक्छ। तेह्र वर्षको उमेरमा बप्तिस्मा गरेकी एक १८ वर्षीया किशोरी यसो भन्छिन्‌: “म के विश्‍वास गर्छु भनेर मलाई थाह छ तर कहिलेकाहीं आफूले विश्‍वास गरेको कुरा अरूलाई बुझाउन गाह्रो लाग्छ।” यस्तो अवस्थामा उनी के गर्छिन्‌? उनी भन्छिन्‌: “साथीहरूसित अरू बेलाजस्तै कुरा गर्न थाल्छु। मेरा साथीहरू आफूले ‘यो गरें, त्यो गरें’ भनेर कुनै अप्ठ्यारो नमानी कुरा गर्छन्‌। मचाहिं किन अप्ठ्यारो मान्‍ने? त्यसैले कुरै-कुरामा म तिनीहरूलाई यसो भन्छु ‘म अस्ति बाइबलको कुरा सिकाउँदै थिएँ अनि . . .।’ त्यसपछि मैले भन्‍न खोजेको खास कुरा बताउँछु। हुन त मैले भन्‍न खोजेको कुरा बाइबलकै विषयमा त होइन तर यसरी कुरा गर्दा अक्सर साथीहरू म अरूलाई बाइबलबारे सिकाउँदा के गर्छु भनेर जान्‍न इच्छुक हुन्छन्‌। कहिलेकाहीं तिनीहरू बाइबलसम्बन्धी प्रश्‍न पनि सोध्छन्‌। यसरी कुराकानी गर्न थाल्दा मलाई झन्‌झन्‌ सजिलो भएको छ अनि आनन्द पनि लाग्छ!”

१७. अरूलाई आफ्नो विश्‍वासबारे बताउन तपाईं अरू के गर्न सक्नुहुन्छ?

१७ अरूको आदर गर्नुभयो र उनीहरूलाई व्यक्‍तिगत चासो देखाउनुभयो भने उनीहरूलाई पनि तपाईंसित त्यस्तै व्यवहार गर्न सजिलो लाग्न सक्छ। किशोरावस्था पुग्नुअघि नै बप्तिस्मा गरेकी १७ वर्षीया अलिभिया यसो भन्छिन्‌: “कुराकानी गर्दा बाइबलको कुरा घुसाएँ भने साथीहरूले मलाई कस्तो धर्ममा लग्गू व्यक्‍ति भन्ठान्छन्‌ होला भनेर डर लाग्थ्यो।” तर तिनले आफ्नो दृष्टिकोण परिवर्तन गर्न थालिन्‌। अरूले के भन्लान्‌ भनेर अचाक्ली चिन्ता गर्नुको साटो तिनले यसरी सोच्न थालिन्‌: “थुप्रै जवानलाई यहोवाका साक्षीहरूबारे केही थाह छैन। उनीहरूले चिनेको यहोवाको साक्षी भनेको हामी नै हौं। त्यसकारण हामी कस्तो व्यवहार गर्छौं, त्यसले उनीहरूले देखाउने प्रतिक्रियामा फरक पार्छ। हामी लजालु वा डरछेरुवा छौं, आफ्नो विश्‍वासबारे अरूलाई बताउन गाह्रो मान्छौं अथवा अप्ठ्यारो मानीमानी बताउँछौं भने के होला? उनीहरूलाई हामी यहोवाको साक्षी भएकोमा गर्व गर्दैनौं जस्तो लाग्न सक्छ। हाम्रो आत्म-विश्‍वासको कमी देखेर उनीहरूले हामीसँग रुखो व्यवहारसमेत गर्न सक्छन्‌। तर हामी आफ्नो विश्‍वासबारे ढुक्क अनि विश्‍वस्त भई सामान्य कुराकानी गरे जसरी बताउँछौं भने उनीहरूले हामीलाई आदर गर्ने सम्भावना बढी हुन्छ।”

आफ्नो उद्धारको निम्ति प्रयत्न गरिरहनुहोस्‌

१८. आफ्नो उद्धारको निम्ति प्रयत्न गरिरहनुमा के-के समावेश छ?

१८ आफ्नो उद्धारको निम्ति प्रयत्न गरिरहनु भनेको गम्भीर जिम्मेवारी हो भनेर हामीले यस लेखबाट बुझ्यौं। त्यसरी प्रयत्न गर्नुमा परमेश्‍वरको वचन पढ्‌ने र मनन गर्ने, यहोवालाई प्रार्थना गर्ने र व्यक्‍तिगत तवरमा यहोवाबाट पाएका आशिष्‌हरू विचार गर्नेजस्ता कुराहरू समावेश छन्‌। यसो गर्नुभयो भने यहोवा तपाईंको साथी हुनुहुन्छ भन्‍ने कुरामा तपाईंको विश्‍वास अझ बढ्‌नेछ। यसले तपाईंलाई आफूले विश्‍वास गरेका कुराहरूबारे अरूलाई बताउन जुरमुऱ्‍याउनेछ।भजन ७३:२८ पढ्‌नुहोस्‌।

१९. आफ्नो उद्धारको निम्ति तपाईंले गर्ने प्रयत्न किन खेर जानेछैन?

१९ येशूले यसो भन्‍नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌, आफ्नो यातनाको खम्बा उठाओस्‌ र निरन्तर मेरो पछि लागोस्‌।” (मत्ती १६:२४) उहाँको चेला बन्‍नुमा समर्पण र बप्तिस्मा गर्नु समावेश छ अनि यो ख्रीष्टियन बन्‍नको लागि चाल्नै पर्ने कदम हो। यो कदम चालेपछि अहिले पनि थुप्रै आशिष्‌ पाउन सक्छौं। साथै परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारमा सधैंभरि बाँच्न पाउनेछौं। त्यसैले आफ्नो उद्धारको निम्ति प्रयत्न गरिरहनुहोस्‌!