सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

मालिक ख्रीष्टको पछि लाग्न मैले विभिन्‍न कुरा छोडें

मालिक ख्रीष्टको पछि लाग्न मैले विभिन्‍न कुरा छोडें

“प्रचार जाने भए घरमा फर्केर नआए हुन्छ। फर्केर आइस्‌ भने खुट्टा-सुट्टा भाँच्दिन्छु।” बुबाले त्यसरी धम्क्याउनुभएपछि मैले घर छोड्‌ने निर्णय गरें। मालिक ख्रीष्टको पछि लाग्न मैले छोडेको विभिन्‍न कुरामध्ये पहिलो कुरा यही थियो। त्यतिबेला म भर्खर १६ वर्ष पुगेको थिएँ।

मैले किन त्यसरी गाली खानुपऱ्‍यो? त्यसको जवाफ दिनुअघि म तपाईंहरूलाई आफ्नो बारेमा केही बताउँछु। मेरो जन्म सन्‌ १९२९ जुलाई २९ मा भएको थियो। म फिलिपिन्सको बुलाकान प्रान्तको एउटा गाउँमा हुर्किएँ। आर्थिक मन्दी छाएकोले त्यहाँ सबै जनाको जीवन सरल नै थियो। जापानी सेनाहरूले आक्रमण गरेपछि फिलिपिन्समा युद्ध मच्चियो। त्यतिबेला म सानै थिएँ। तर हाम्रो गाउँ सशस्त्र द्वन्द्व चर्किएको ठाउँभन्दा अलि टाढै भएकोले हामीलाई सिधै असरचाहिं गरेन। हामीसित रेडियो, टिभी र अखबारहरू केही थिएन। त्यसैले मानिसहरूले युद्धबारे जति कुरा सुनाए, हामीलाई त्यति मात्र थाह हुन्थ्यो।

हामी आठ सन्तानमध्ये म माइलो हुँ। म आठ वर्षको छँदा मामाघरको बाजेबज्यैसित बस्न गएँ। हुन त हामी क्याथोलिक धर्म मान्थ्यौं तर हजुरबुबा खुला विचारधारा राख्नुहुन्थ्यो। उहाँले साथीहरूले दिएको केही धार्मिक किताब जम्मा गरेर राख्नुभएको थियो। उहाँले झूटो धर्मको पर्दाफास गरिएका केही पुस्तिका देखाउनुभएको मलाई अझै याद छ। ती पुस्तिका टगालोग भाषामा लेखिएका थिए। उहाँले मलाई बाइबल पनि देखाउनुभएको थियो। मलाई बाइबल पढ्‌न साह्रै मन पर्थ्यो, अझ विशेषगरि सुसमाचारका चार पुस्तक पढ्‌दा त साह्रै आनन्द आउँथ्यो। त्यसपछि म येशूको उदाहरण अनुकरण गर्न उत्प्रेरित भएँ।—यूह. १०:२७.

मालिक ख्रीष्टको पछि लाग्न सिक्दै

सन्‌ १९४५ मा जापानी सेनाहरू फिलिपिन्स छोडेर गए। त्यतिबेलातिर आमाबुबाले मलाई घर फर्कन भन्‍नुभयो। हजुरबुबाले पनि ‘हुन्छ, जाऊ’ भन्‍नुभयो। त्यसैले म घर फर्कें।

त्यसको केही समयपछि १९४५ को डिसेम्बरतिर अङ्‌गत सहरबाट यहोवाका साक्षीहरूको एउटा समूह हाम्रो गाउँमा प्रचार गर्न आयो। एक जना पाको उमेरका साक्षी हाम्रो घरमा आउनुभयो अनि “अन्तको दिन”-बारे बाइबलले सिकाउने कुरा बताउनुभयो। (२ तिमो. ३:१-५) उहाँले हामीलाई नजिकैको गाउँमा हुने बाइबल अध्ययन कार्यक्रममा आउन निम्तो दिनुभयो। मेरो आमाबुबा जानुभएन तर मचाहिं गएँ। त्यहाँ २० जना जति भेला भएका थिए। केहीले त बाइबलसम्बन्धी प्रश्‍न पनि सोधे।

सबै जना के विषयमा कुरा गर्दै छन्‌ भनेर मैले बुझ्नै सकिनँ। त्यसैले त्यहाँबाट निस्कने विचार गरें। निस्कन लागेकै बेलामा सबैले राज्यगीत गाउन थाले। त्यो गीत मलाई असाध्यै मन पऱ्‍यो। त्यसैले म त्यहीं बसें। गीत अनि प्रार्थनापछि उहाँहरूले हामीलाई आइतबार अङ्‌गत सहरमा हुने सभामा आउन निम्तो दिनुभयो।

हामी आठ किलोमिटरजति हिंडेर सभामा गयौं। त्यतिबेला क्रुज परिवारको घरमा सभा हुन्थ्यो। त्यहाँ जम्मा ५० जना उपस्थित भएका थिए। साना केटाकेटी पनि थिए। तिनीहरूले बाइबलको गहिरो विषयहरूमा टिप्पणी गरेको सुनेर म त दङ्‌गै परें। म सभामा जान थालेको केही समयपछि पाको उमेरका अग्रगामी डामियन सान्टोसले मलाई आफ्नो घरमा एक रात बस्न बोलाउनुभयो। उहाँ पहिला मेयर हुनुहुन्थ्यो। हामीले रातभरिजसो बाइबलबारे कुरा गऱ्‍यौं।

ती दिनहरूमा हामीमध्ये धेरैजसोले बाइबलको आधारभूत सत्यहरू सिकेपछि तुरुन्तै कदम चालिहाल्यौं। सभामा उपस्थित हुन थालेको धेरै समय नबित्दै भाइहरू अनि अरूले पनि मलाई यस्तो प्रश्‍न सोधे, “तपाईं बप्तिस्मा गर्न चाहनुहुन्छ?” मैले “चाहन्छु” भनेर जवाफ दिएँ। म “मालिक ख्रीष्टको दास” हुन चाहन्थें। (कल. ३:२४) हामी नजिकैको खोलामा गयौं अनि बप्तिस्मा गऱ्‍यौं। त्यतिबेला बप्तिस्मा गर्ने हामी दुई जना थियौं। यो कुरा सन्‌ १९४६ को फेब्रुअरी १५ तारिखको हो।

बप्तिस्मा गरिसकेका ख्रीष्टियनहरूले येशूको अनुकरण गर्दै नियमित रूपमा प्रचारकार्यमा भाग लिनुपर्छ भनेर हामीले बुझ्यौं। तर म प्रचारमा गएको बुबालाई मन परेन। उहाँले यसो भन्‍नुभयो, “प्रचार गर्ने तिम्रो अहिले बेला भएको छैन। अनि पानीमा डुबेर निस्कँदैमा तिमी कहाँ प्रचारक हुन्छौ त?” तर हामीले राज्यको सुसमाचार प्रचार गरेको परमेश्‍वर चाहनुहुन्छ भनेर मैले उहाँलाई बुझाउन खोजें। (मत्ती २४:१४) मैले यसो पनि भनें, “मैले परमेश्‍वरसित गरेको वाचा पूरा गर्नै पर्छ।” त्यसपछि बुबाले मलाई असाध्यै गाली गर्नुभयो। मैले सुरुमा बताएको घटना यही बेलाको हो। उहाँ मलाई प्रचारमा जानै नदिने सुरमा हुनुहुन्थ्यो। त्यसैले आध्यात्मिक लक्ष्य हासिल गर्न मैले घर छोडें। मालिकको पछि लाग्न मैले छोडेको विभिन्‍न कुरामध्ये पहिलो यही थियो।

क्रुज परिवारले मलाई अङ्‌गत सहरमा उहाँहरूसित बस्न बोलाउनुभयो। उहाँहरूले मलाई अनि उहाँहरूकी कान्छी छोरी नोरालाई अग्रगामी सेवा सुरु गर्न प्रोत्साहन दिनुभयो। हामी दुवै जनाले सन्‌ १९४७ नोभेम्बर १ देखि अग्रगामी सेवा सुरु गऱ्‍यौं। नोरा अर्को सहरमा सेवा गर्न गइन्‌; मचाहिं अङ्‌गत सहरमै प्रचार गर्न बसें।

अर्को एउटा कुरा पनि छोडें

मैले अग्रगामी सेवा सुरु गरेको तेस्रो वर्षको कुरा हो, शाखा कार्यालयबाट भाइ अर्ल स्टिवर्ट अङ्‌गत सहरमा आउनुभयो। उहाँले एउटा भाषण दिनुभयो र त्यो भाषण सुन्‍न ५०० भन्दा धेरै मानिस आए। उहाँले अङ्‌ग्रेजीमा भाषण दिनुभयो; अनि मैले पछि टगालोग भाषामा उहाँको भाषणको सारांश बताइदिएँ। हुन त मैले स्कुलमा सात वर्ष मात्र पढेको थिएँ तर शिक्षक-शिक्षिकाहरू निकै अङ्‌ग्रेजी बोल्नुहुन्थ्यो। त्यसैले अलि-अलि अङ्‌ग्रेजी जानेको थिएँ। साथै टगालोग भाषामा थोरै प्रकाशनहरू मात्र उपलब्ध भएकोले म प्रायजसो प्रकाशन अङ्‌ग्रेजी भाषामै अध्ययन गर्थें। त्यसले पनि मलाई अङ्‌ग्रेजी भाषाको ज्ञान बढाउन मदत गरेको थियो। त्यसैले भाइ स्टिवर्टको भाषण अनि पछि अरू भाषणहरू टगालोग भाषामा अनुवाद गर्न सकें।

मैले भाइ स्टिवर्टको भाषण अनुवाद गरेको दिन एउटा खबर पाएँ। भाइ स्टिवर्टले शाखा कार्यालयमा सेवा गर्नको लागि एक-दुई जना अग्रगामी भाइको खाँचो परेको कुरा स्थानीय मण्डलीलाई बताउनुभयो। फिलिपिन्समा मिसनरी सेवा गरिरहेकाहरू सन्‌ १९५० मा अमेरिकाको न्यु योर्क सहरमा आयोजना हुन लागेको ईश्‍वरतन्त्रको वृद्धि सम्मेलनमा जाने भएकोले बेथेलमा काम गर्नको लागि भाइहरू बोलाइएको रहेछ। त्यसमध्ये म पनि एक जना थिएँ। त्यसैले बेथेलमा काम गर्न मैले आफ्नो सहर अनि साथीभाइ छोडेर गएँ।

म सन्‌ १९५० जून १९ तारिख बेथेल आइपुगें र आफ्नो नयाँ असाइनमेन्ट सुरु गरें। चारैतिर ठूला-ठूला रूख भएको साढे दुई एकड जग्गाको बीचमा एउटा पुरानो घर थियो। त्यो ठूलो घरलाई बेथेलको रूपमा प्रयोग गरिएको थियो। त्यहाँ १२ जना जति अविवाहित भाइहरू सेवा गर्दै थिए। बिहानपख म भान्छामा सघाउँथें। त्यसपछि नौ बजेदेखि चाहिं लुगा धुने र आइरन गर्ने काम गर्थें। दिउँसो पनि मेरो तालिका यस्तै थियो। मिसनरीहरू अमेरिकाबाट फर्किसकेपछि पनि मैले बेथेलमा सेवा गरिरहें। मैले पत्रिकाहरू पोको पार्ने अनि ग्राहक बनेकाहरूको लागि हुलाकमार्फत पत्रिका पठाउन तयारी गर्ने काम गरें। साथै मैले रिसेप्सनमा पनि काम गरें। मलाई जे-जे गर्न भनिन्थ्यो, म त्यै-त्यै गर्थें।

गिलियड स्कुलमा भाग लिन फिलिपिन्स छोडें

सन्‌ १९५२ मा मलगायत छ जना भाइले गिलियड स्कुलको २० औं कक्षामा उपस्थित हुने निम्तो पाउँदा म असाध्यै खुसी भएँ। अमेरिकामा देखेका अनि भोगेका थुप्रै कुरा हाम्रो लागि नयाँ र अनौठा थिए। त्यहाँको माहोल मैले आफ्नो गाउँमा देखेको र जानेको भन्दा निकै फरक थियो।

गिलियड स्कुलमा साथीहरूसित

उदाहरणको लागि, हामीले कहिल्यै नचलाएका सामानहरू चलाउन सिक्नुपर्ने भयो। अनि अर्को कुरा, त्यहाँको मौसम पनि साह्रै फरक थियो। एक दिन बिहानको कुरा हो, मैले बाहिर पूरै सेताम्मे देखें। मैले हिउँ देखेको यो पहिलो पटक थियो। कत्ति सुन्दर! तर बाहिर निस्केपछि थाह भयो, ओहो! असाध्यै चिसो पो रहेछ!

हुन त नयाँ कुरा सिक्न र नयाँ ठाउँमा घुलमिल हुन त्यति सजिलो थिएन। तर गिलियड स्कुलमा पाएको राम्रो तालिमको तुलनामा त्यो त केही पनि थिएन। प्रशिक्षकहरूले निकै प्रभावकारी तरिकामा सिकाउनुभयो। हामीले अर्थपूर्ण ढङ्‌गमा अनुसन्धान अनि अध्ययन गर्न सिक्यौं। साँच्चै, आफ्नो आध्यात्मिकता बलियो बनाउन गिलियड स्कुलले मलाई धेरै मदत गऱ्‍यो।

गिलियड स्कुलबाट स्नातक गरेपछि मलाई केही समयको लागि न्यु योर्क सहरको ब्रोंक्स भन्‍ने ठाउँमा विशेष अग्रगामीको रूपमा सेवा गर्न खटाइयो। त्यसैले म सन्‌ १९५३ जुलाईमा न्यु योर्क सहरमा आयोजना गरिएको नयाँ संसार समाज सम्मेलनमा उपस्थित हुन सकें। सम्मेलन सकिएपछि मलाई फिलिपिन्समै खटाइयो।

सहरको सुखसुविधा छोडें

मलाई फिलिपिन्स शाखा कार्यालयका भाइहरूले यसो भन्‍नुभयो, “अबदेखि तपाईंले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्नुहुनेछ।” यसरी सेवा गर्दा म साँच्चै येशूको पदचिन्ह पछ्याउन सक्ने थिएँ। यहोवाका भेडाहरूलाई मदत गर्न येशूजस्तै म पनि टाढा-टाढाका सहर अनि गाउँहरूमा जाने थिएँ। (१ पत्रु. २:२१) मलाई लुजन टापुको ठूलो इलाकामा सेवा गर्न खटाइयो। लुजन फिलिपिन्सको सबैभन्दा ठूलो टापु हो। त्यो टापुमा बुलाकान, नुएभा आसेहा, टार्लाक अनि जाम्बालास प्रान्तहरू पर्छन्‌। कुनै-कुनै गाउँमा पुग्न मैले सियरा माथ्रा पर्वत हुँदो निकै कठिन यात्रा गर्नुपर्थ्यो। त्यस्ता ठाउँहरूमा पुग्न कुनै सार्वजनिक यातायातको व्यवस्था थिएन। त्यसैले म काठका ठूला-ठूला मुढा ढुवानी गर्ने ट्रकका ड्राइभरहरूलाई आग्रह गरेर ती काठका मुढाहरूमाथि बसेर जान्थें। तिनीहरू अक्सर मलाई त्यसरी जान दिन्थे तर त्यस्तो यात्रा सजिलो चाहिं पटक्कै थिएन।

धेरैजसो मण्डली भर्खरै स्थापना भएका थिए अनि प्रकाशकहरू पनि थोरै थिए। त्यसैले मैले अझ राम्ररी सभा सञ्चालन गर्न अनि प्रचारकार्यलाई व्यवस्थित पार्न मदत दिंदा उहाँहरू निकै खुसी हुनुहुन्थ्यो।

मलाई पछि बिकोल भन्‍ने ठाउँमा खटाइयो। त्यो ठाउँमा धेरैजसो पृथक समूह मात्र थिए अनि विशेष अग्रगामीहरू नयाँ इलाकाहरूमा प्रचार गर्दै थिए। एउटा घरमा जाँदाको कुरा हो, त्यहाँ जमिनमा खाल्डो बनाएर माथि दुइटा काठको मुढा राखेर शौचालय बनाइएको रहेछ। शौचालय प्रयोग गर्न भनेर ती मुढामा टेकेको मात्र के थिएँ, मुढा सँगसँगै म पनि खाल्डोमा खसें। सफा गर्न अनि नास्ताको लागि तयार हुन मलाई कम्ती समय लागेन!

बिकोलमा सेवा गरिरहेको बेलातिर मैले नोराको बारेमा सोच्न थालें। तिनले बुलाकानमा अग्रगामी सेवा सुरु गरेकी थिइन्‌। तिनी अहिले डुमागेटे सहरमा विशेष अग्रगामीको रूपमा सेवा गर्दै थिइन्‌। म तिनलाई भेट्‌न गएँ। त्यसपछि हामीले केही समय एक-अर्कालाई चिठ्ठी लेख्न थाल्यौं। अनि सन्‌ १९५६ मा विवाह गऱ्‍यौं। विवाह गरेपछिको पहिलो हप्ता हामी रापु रापु भनिने टापुको एउटा मण्डलीमा भ्रमण गर्न गयौं। हामीले त्यहाँ पहाडहरू चढ्‌नुपर्थ्यो अनि निकै हिंड्‌नुपर्थ्यो। तर विवाहित दम्पतीको रूपमा ती इलाकामा गएर भाइबहिनीको सेवा गर्न पाउनु कत्ति खुसीको कुरा थियो!

फेरि बेथेलमा बोलाइयो

परिभ्रमण कार्यमा लागेको झन्डै ४ वर्षपछि हामीलाई शाखा कार्यालयमा सेवा गर्न बोलाइयो। त्यसैले सन्‌ १९६० जनवरीदेखि हामीले बेथेल सेवा सुरु गऱ्‍यौं। गम्भीर जिम्मेवारी सँभालिरहेका भाइहरूसित सेवा गर्दा मैले वर्षौंको दौडान थुप्रै कुरा सिक्न सकेको छु। नोराले पनि बेथेलमा विभिन्‍न कामहरू गरेकी छिन्‌।

मैले अधिवेशनमा दिएको भाषण सेबुआनो भाषामा अनुवाद गरिंदै

बेथेलमा सेवा गर्न पाएकोले मैले फिलिपिन्समा भएको आध्यात्मिक वृद्धि आफ्नै आँखाले देख्न पाएको छु। म जवान अनि अविवाहित छँदा सुरुमा बेथेल आएको बेला फिलिपिन्सभरि लगभग १० हजार प्रकाशक थिए। अहिले त्यो सङ्‌ख्या बढेर २ लाखभन्दा धेरै भइसक्यो। अनि सयौं बेथेल सेवकले फिलिपिन्सभरि भइरहेको महत्त्वपूर्ण प्रचारकार्यमा टेवा पुऱ्‍याइरहेका छन्‌।

फिलिपिन्समा प्रचारको काम बढ्‌दै गएपछि बेथेलको पहिलाको भवनहरूले मात्र पुगेन। परिचालक निकायले हामीलाई नयाँ भवन बनाउनको लागि ठूलो जग्गा खोज्न भन्यो। छापाखानाको निरीक्षक र म शाखा कार्यालयको वरपरका घर-घरमा गयौं अनि जग्गा बेच्न चाहने कोही छ कि भनेर खोज्न थाल्यौं। तर कसैले बेच्न मानेन। एक जना जग्गाधनीले त हामीलाई यसो समेत भन्यो: “चाइनिजहरू जग्गा बेच्दैनन्‌। हामी त किन्छौं मात्रै।”

भाइ अल्बर्ट श्रोडरको भाषण अनुवाद गर्दै

तर एक दिनको कुरा हो, एक जना जग्गाधनीले हामीलाई उनको जग्गा किन्‍ने हो कि भनेर सोधे। त्यस्तो होला भनेर हामीले आसै गरेका थिएनौं। उनी अमेरिकामा बसाइँ सर्न लागेका रहेछन्‌। त्यसपछि घटेका घटनाहरू अहिले सम्झँदा हामीलाई पत्याउनै गाह्रो लाग्छ। अर्को एक जना छिमेकी पनि हामीलाई आफ्नो जग्गा बेच्न तयार भए अनि उनले अरू छिमेकीलाई पनि उनीहरूको जग्गा हामीलाई बेच्न प्रोत्साहन दिए। हामीले “चाइनिजहरू जग्गा बेच्दैनन्‌” भन्‍ने मान्छेको जग्गा पनि किन्‍न सक्यौं। यसरी थोरै समयभित्र हाम्रो शाखा कार्यालय पहिलेको भन्दा तीन गुणा ठूलो भयो। यसरी विस्तार हुनुको पछाडि यहोवाकै हात थियो भन्‍ने कुरामा म पक्का छु।

सन्‌ १९५० मा बेथेल सेवा गर्दा म बेथेल परिवारको सबैभन्दा कान्छो सदस्य थिएँ। अहिले सबैभन्दा जेठो भनेकै म र मेरी श्रीमती हौं। मालिक येशूले मलाई जे-जे गर्न भन्‍नुभयो, त्यही गरेकोमा मलाई कुनै पछुतो छैन। हो, मलाई आमाबुबाले घरबाट निकालिदिनुभयो। तर यहोवाले मलाई सङ्‌गी उपासकहरूको ठूलो परिवार दिनुभएको छ। हामीले जस्तोसुकै असाइनमेन्ट पाएका होऔं, यहोवाले हामीलाई चाहिने कुरा सबै दिनुहुन्छ भन्‍ने कुरामा म विश्‍वस्त छु। यहोवाले हाम्रो लागि प्रबन्ध गरिदिनुभएको सबै कुराको लागि म र नोरा उहाँप्रति साँच्चै आभारी छौं। हामी अरूलाई पनि यहोवाको भलाइ चाखेर हेर्न प्रोत्साहन दिन्छौं।—मला. ३:१०.

येशूले एक पटक कर उठाउने मत्तीलाई यसो भन्‍नुभएको थियो: “मेरो पछि लाग।” अनि तिनले के गरे? “सब कुरा छोडेर तिनी उठे र [येशूको] पछि लागे।” (लूका ५:२७, २८) मैले पनि विभिन्‍न कुरा छोडेर येशूको पछि लाग्ने मौका पाएँ। म अरूलाई पनि त्यसै गर्नुहोस्‌ र यहोवाबाट प्रशस्त आशिष्‌ पाउनुहोस्‌ भनेर मनैदेखि आग्रह गर्न चाहन्छु।

फिलिपिन्सको वृद्धिमा भाग लिइरहन पाएकोमा खुसी छु