सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“प्रमोदवनमा भेटौँला!”

“प्रमोदवनमा भेटौँला!”

“तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लुका २३:४३.

गीत: १४५, १३९

१, २. प्रमोदवनबारे कस्ता फरक-फरक धारणा छन्‌?

सबैको आँखा रसाएको थियो! कोरियाको सियोलमा आयोजना गरिएको अधिवेशन सकिएपछि विदेशबाट आएका प्रतिनिधिहरू रङ्‌गशालाबाट निस्कँदै गर्दा कोरियाका भाइबहिनीहरू तिनीहरूको वरिपरि झुम्मिए। तिनीहरूमध्ये थुप्रैले हात हल्लाउँदै यसरी कराए, “प्रमोदवनमा भेटौँला!” तपाईँलाई तिनीहरूले कुन प्रमोदवनबारे कुरा गर्दै थिए जस्तो लाग्छ?

प्रमोदवनबारे मानिसहरूको फरक-फरक धारणा छ। कसै-कसैलाई प्रमोदवन काल्पनिक कुराजस्तो लाग्छ। कोही-कोही भने जहाँ आनन्द र सन्तुष्टि पाइन्छ, त्यो नै प्रमोदवन हो भन्‍ने गर्छन्‌। असाध्यै भोकाएको मानिसलाई थरीथरीका परिकार भएको भोजमा जान पाउँदा आफू प्रमोदवनमा छु जस्तो लाग्न सक्छ। कुनै सुन्दर प्राकृतिक दृश्‍य, जस्तै, मैदानमा ढकमक्क फूल फुलेको देख्दा कसै-कसैले यसो भन्‍न सक्छन्‌, “आहा! कस्तो सुन्दर प्रमोदवन!” तपाईँको विचारमा प्रमोदवन भनेको के हो? के तपाईँ प्रमोदवन आएको चाहनुहुन्छ?

३. बाइबलमा प्रमोदवनबारे कस्तो कुरा उल्लेख गरिएको पाउँछौँ?

बाइबलमा कुनै समय अस्तित्वमा रहेको प्रमोदवन र भविष्यमा आउने प्रमोदवनबारे बताइएको पाउँछौँ। प्रमोदवनबारे बाइबलको सुरुतिरै उल्लेख गरिएको पाइन्छ। उत्पत्ति २:८ यसो भन्छ: “यहोवा परमेश्‍वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो र आफूले बनाएको मानिसलाई त्यहाँ राख्नुभयो।” “अदन” शब्दले “आनन्द” भन्‍ने अर्थ दिन्छ अनि त्यो बगैँचा वास्तवमै आनन्दमय थियो। त्यहाँ प्रशस्त खानेकुरा, रमणीय दृश्‍य र थुप्रै जनावरहरूसित घुलमिल गर्न सकिने रमाइलो वातावरण थियो।—उत्पत्ति १:२९-३१.

४. हामी किन अदनको बगैँचालाई प्रमोदवन भन्‍न सक्छौँ?

“बगैँचा” अर्थ दिने हिब्रू शब्दलाई ग्रीक भाषामा प्यारादेसोस भनिन्छ र त्यसको अर्थ हो, “प्रमोदवन।” म्याक्लिन्टक र स्ट्रङले लेखेको विश्‍वकोशमा प्यारादेसोस-बारे यसो भनिएको छ: “एउटा ठूलो खुला पार्क, जहाँ कुनै पनि किसिमको हानि हुने डर छैन, प्राकृतिक सौन्दर्य यथावत्‌ छ, विशाल रूखहरू छन्‌, थुप्रै रूखमा फल फलिरहेका छन्‌, कन्चन खोलाहरू बगिरहेका छन्‌, त्यसको किनारामा जरायो वा भेडाका बथानहरू चरिरहेका छन्‌—प्रमोदवनबारे सोच्दा एउटा ग्रीक यात्रीको दिमागमा यस्तै चित्र आउँथ्यो।” यस विवरणबाट अदनको बगैँचा साँच्चै एउटा प्रमोदवन थियो भनेर बुझ्न सक्छौँ।—उत्पत्ति २:१५, १६ तुलना गर्नुहोस्‌।

५, ६. प्रमोदवन कसरी गुम्यो? यसले गर्दा कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

परमेश्‍वरले आदम र हव्वालाई प्रमोदवनमा राख्नुभएको थियो तर तिनीहरू त्यहाँ रहिरहन पाएनन्‌। किन? तिनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भए र त्यहाँ रहन अयोग्य ठहरिए। यसरी तिनीहरू र तिनीहरूका सन्तानको लागि प्रमोदवन गुम्यो। (उत्प. ३:२३, २४) त्यस बगैँचामा मानिसहरू बसोबास नगरे तापनि नुहको जलप्रलय नआउन्जेलसम्म त्यो अस्तित्वमा थियो जस्तो देखिन्छ।

कसै-कसैलाई यस्तो लाग्न सक्छ, ‘के कुनै पुरुष, स्त्री वा बच्चा फेरि प्रमोदवनमा बस्न पाउला?’ प्रमाणहरूले के देखाउँछ? आफूले माया गर्ने व्यक्‍तिहरूसँग प्रमोदवनमा जीवन बिताउने आशा राख्नुभएको छ भने के तपाईँसँग त्यस्तो आशा राख्नुको ठोस आधार छ? प्रमोदवन पक्कै आउनेछ भनेर के तपाईँ बुझाउन सक्नुहुन्छ?

भविष्यमा प्रमोदवन आउनेछ भन्‍ने सङ्‌केतहरू

७, ८. (क) परमेश्‍वरले अब्राहामलाई कस्तो प्रतिज्ञा गर्नुभयो? (ख) परमेश्‍वरको प्रतिज्ञाबारे अब्राहामले के सोचेको हुनुपर्छ?

परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको किताबमा नै यी प्रश्‍नहरूको जवाफ खोज्नु तर्कसङ्‌गत छ किनभने सुरुको प्रमोदवन सृष्टि गर्ने उहाँ नै हुनुहुन्छ। परमेश्‍वरले आफ्नो मित्र अब्राहामलाई के भन्‍नुभयो, विचार गर्नुहोस्‌। उहाँले अब्राहामको सन्तानलाई “समुद्र किनारका बालुवासरी बढाउनेछु” भन्‍नुभयो। अनि यहोवाले तिनलाई यस्तो महत्त्वपूर्ण प्रतिज्ञा पनि गर्नुभयो: “तिम्रै सन्तानमार्फत पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌ किनभने तिमीले मेरो कुरा सुन्यौ।” (उत्प. २२:१७, १८) परमेश्‍वरले यही प्रतिज्ञा अब्राहामको छोरा र नातिलाई पनि दोहोऱ्‍याउनुभयो।उत्पत्ति २६:४; २८:१४ पढ्‌नुहोस्‌।

मानिसहरूले भविष्यमा स्वर्गीय प्रमोदवनमा इनाम पाउनेछन्‌ भनेर अब्राहामले सोचेका थिए भन्‍ने सङ्‌केत बाइबलमा कतै पनि पाइँदैन। त्यसैले परमेश्‍वरले “पृथ्वीका सबै मानिसले” आशिष्‌ पाउने कुरा गर्नुहुँदा अब्राहामले पृथ्वीमै आशिष्‌ पाउने कुरा सोचेको हुनुपर्छ। यो स्वयम्‌ परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा भएकोले “पृथ्वीका सबै जातिले” लाभ उठाउनेछन्‌ भनेर बुझ्न सक्छौँ। के परमेश्‍वरका अरू जनहरूले पनि यस्तै सोचाइ राखेका थिए?

९, १०. अरू कस्ता भविष्यवाणीहरूको आधारमा हामी भविष्यमा प्रमोदवन आउनेछ भनेर आशा गर्न सक्छौँ?

अब्राहामको वंशबाट आएका दाउदले “दुष्टहरू” र ‘गलत काम गर्ने’ मानिसहरू नहुने समय भविष्यमा आउनेछ भनी बताए। त्यतिबेला के हुनेछ? “दुष्टहरूको नामोनिसान मेटिनेछ।” (भज. ३७:१, २, १०) “बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।” परमेश्‍वरको प्रेरणा पाएर दाउदले यस्तो भविष्यवाणी पनि गरे: “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।” (भज. ३७:११, २९; २ समु. २३:२) परमेश्‍वरको इच्छाअनुसार गर्न चाहनेहरूलाई ती आश्‍वासनहरूले कस्तो प्रभाव पाऱ्‍यो होला? धर्मी मानिसहरू मात्र पृथ्वीमा हुने हो भने अदनको बगैँचाजस्तै प्रमोदवन पुनर्स्थापित हुनेछ भनेर तिनीहरूले आशा गर्न सक्ने थिए।

१० समय बित्दै जाँदा, यहोवाको सेवा गरेको दाबी गर्ने धेरैजसो इस्राएलीहरूले यहोवालाई आफ्नो पिठिउँ फर्काए अनि साँचो उपासना पनि त्यागे। त्यसैले परमेश्‍वरले आफ्ना जनहरूलाई परास्त गर्न, तिनीहरूको पूरै देशलाई ध्वस्त पार्न र तिनीहरूमध्ये थुप्रैलाई निर्वासनमा लैजान बेबिलोनीहरूलाई अनुमति दिनुभयो। (२ इति. ३६:१५-२१; यर्मि. ४:२२-२७) त्यसो भए तापनि परमेश्‍वरका भविष्यवक्‍ताहरूले उहाँका जनहरू ७० वर्षपछि आफ्नो मातृभूमिमा फर्कनेछन्‌ भनेर भविष्यवाणी गरे। ती भविष्यवाणीहरू पूरा भए। त्यसले अहिले हाम्रो लागि पनि अर्थ राख्छ। तीमध्ये केही भविष्यवाणीहरू छलफल गर्दा भविष्यमा पृथ्वीमा प्रमोदवन आउनेछ भन्‍ने कुराको आधार कसरी पाउन सक्छौँ, विचार गरौँ।

११. यसैया ११:६-९ कसरी पूरा भयो? तर कस्तो प्रश्‍न उठ्‌छ?

११ यसैया ११:६-९ पढ्‌नुहोस्‌। आफ्ना जनहरू मातृभूमि फर्किएपछि तिनीहरूले कठोर तथा खतरनाक अवस्थाको सामना गर्नुपर्नेछैन; जनावरहरू वा पशुजस्तै मानिसहरूले आक्रमण गर्लान्‌ भनेर पनि डराउनुपर्नेछैन भनेर परमेश्‍वरले यसैयामार्फत भविष्यवाणी गर्नुभयो। त्यतिबेला बालक अनि वृद्ध सबै सुरक्षित हुने थिए। यो कुरा विचार गर्दा तपाईँलाई अदनको बगैँचाको जस्तै शान्तिपूर्ण अवस्थाको सम्झना आउँदैन र? (यसै. ५१:३) यसैयामार्फत परमेश्‍वरले गर्नुभएको यस भविष्यवाणीमा “समुद्र पानीले भरिएझैँ” इस्राएल राष्ट्र मात्र होइन, पूरै पृथ्वी “यहोवाको ज्ञानले भरिनेछ” पनि भनिएको छ। यो कहिले पूरा हुनेछ?

१२. (क) बेबिलोनको निर्वासनबाट फर्केकाहरूले कस्ता आशिष्‌हरू पाए? (ख) यसैया ३५:५-१० को पूर्ति भविष्यमा पनि हुनेछ भनेर केले देखाउँछ?

१२ यसैया ३५:५-१० पढ्‌नुहोस्‌। निर्वासनबाट फर्केका इस्राएलीहरूलाई जनावर वा मानिसहरूको खतरा हुनेछैन भनेर यसैयाले फेरि जोड दिए। प्रशस्त पानी पाएको अदनको बगैँचाजस्तै तिनीहरूको मातृभूमिमा पनि पानीको कुनै अभाव हुने थिएन, जसले गर्दा त्यहाँका रूखहरूले धेरै फल फलाउने थिए। (उत्प. २:१०-१४; यर्मि. ३१:१२) के त्यो भविष्यवाणीको पूर्ति यति मात्र थियो? निर्वासनबाट फर्केकाहरू चमत्कारपूर्ण ढङ्‌गमा निको भए भन्‍ने कुनै प्रमाण छैन। उदाहरणको लागि, अन्धाहरूले दृष्टि पाएनन्‌। त्यसैले आफ्ना जनहरूको सबै अशक्‍ततालाई निको पार्ने काम भविष्यमा हुनेछ भनेर परमेश्‍वरले सङ्‌केत गर्दै हुनुहुन्थ्यो।

१३, १४. निर्वासनबाट फर्केका यहुदीहरूले यसैया ६५:२१-२३ को भविष्यवाणी कसरी पूरा भएको देखे? तर भविष्यवाणीको कुन भाग पूरा हुन अझै बाँकी छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१३ यसैया ६५:२१-२३ पढ्‌नुहोस्‌। निर्वासनबाट फर्केका ती यहुदीहरूले आरामदायी घर, खेतीपाती गरिएको जमिन र अङ्‌गुरको बगान पाएनन्‌। तर परमेश्‍वरको आशिष्‌ पाएपछि भने अवस्था परिवर्तन हुनेथियो। आफैले घर बनाएर त्यहाँ बस्न पाउनु तिनीहरूको लागि कत्ति आनन्दको कुरा हुने थियो! तिनीहरूले खेतीपाती गर्न सक्थे अनि मीठा-मीठा उब्जनीहरू खान सक्थे।

येसुले प्रमोदवनबारे गर्नुभएको प्रतिज्ञा कसरी पूरा हुनेछ? (अनुच्छेद १५, १६ हेर्नुहोस्‌)

१४ यो भविष्यवाणीको एउटा महत्त्वपूर्ण भाग याद गर्नुहोस्‌। के हाम्रो आयु ‘रूखको जस्तै हुने’ समय कहिल्यै आउनेछ? कुनै-कुनै रूख हजारौँ वर्ष बाँच्छन्‌। मानिसहरू स्वस्थ भएको खण्डमा मात्र तिनीहरू त्यति लामो समय बाँच्न सक्छन्‌। यसैयाले भविष्यवाणी गरेजस्तै अवस्थामा मानिसहरू बाँच्न पाए भने तिनीहरूको सपना साकार हुने थियो। त्यो साँच्चै प्रमोदवन हुनेथियो! यो भविष्यवाणी पूरा हुने कुरामा कुनै शङ्‌का छैन!

१५. यसैयाको किताबमा उल्लेख गरिएका केही आशिष्‌हरूबारे सारांशमा बताउनुहोस्‌।

१५ यसअघि छलफल गरिएका प्रतिज्ञाहरूले भविष्यमा प्रमोदवन आउने कुराको सङ्‌केत दिन्छ भनेर किन भन्‍न सक्छौँ? किनकि ती प्रतिज्ञाहरूमा बताइएका कुराहरू प्रमोदवनको अवस्थासित मेल खान्छ: पृथ्वीका सबै मानिसले परमेश्‍वरबाट आशिष्‌ पाउनेछन्‌; जनावरहरू वा पशुजस्तै मानिसहरूको कुनै खतरा हुनेछैन; अन्धा, बहिरा र अपाङ्‌गहरू सबै निको हुनेछन्‌; मानिसहरूले आफ्नै घर बनाउनेछन्‌ अनि स्वस्थकर खानेकुराहरूको उब्जनी गर्नेछन्‌; तिनीहरूको आयु रूखको भन्दा लामो हुनेछ। हो, यस्तो भविष्य आउँदै छ भन्‍ने सङ्‌केत हामी बाइबलमा पाउँछौँ। तर कसै-कसैले भन्लान्‌, ‘यी भविष्यवाणीहरूको मतलब पृथ्वीमा प्रमोदवन साँच्चै आउँछ भन्‍ने कहाँ हो र!’ तपाईँ के भन्‍नुहुन्छ? पृथ्वीमा पक्कै प्रमोदवन आउनेछ भन्‍ने कस्तो ठोस कारण तपाईँसित छ? अहिलेसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुषले यसको ठोस प्रमाण दिनुभयो।

तिमी प्रमोदवनमा हुनेछौ!

१६, १७. येसुले कस्तो अवस्थामा प्रमोदवनको कुरा बताउनुभयो?

१६ येसु निर्दोष हुनुहुन्थ्यो तैपनि उहाँलाई दोषी ठहऱ्‍याइयो अनि खम्बामा झुन्ड्याएर मारियो। खम्बामा झुण्ड्याइँदा उहाँको दायाँ-बायाँ दुई यहुदी अपराधीहरू थिए। एक जना अपराधीले आफ्नो मृत्यु हुनुअघि येसु नै राजा हुनुहुन्छ भन्‍ने कुरा मानिलिए अनि यस्तो बिन्ती गरे: “हे येसु, तपाईँ राजा बन्‍नुभएपछि मलाई सम्झनुहोस्‌।” (लुका २३:३९-४२) त्यसपछि येसुले लुका २३:४३ मा दिनुभएको जवाफमा तपाईँको भविष्य मुछिएको छ। केही आधुनिक बाइबलविद्‌हरूले यसको शाब्दिक अनुवाद यसरी गरेका छन्‌: “साँच्चै म तिमीलाई भन्छु, आज तिमी मसित प्रमोदवनमा हुनेछौ।” यहाँ प्रयोग गरिएको “आज” शब्दलाई ध्यान दिनुहोस्‌। येसुले कुन कुरालाई सङ्‌केत गर्दै हुनुहुन्थ्यो? यसबारे मानिसहरूको फरक-फरक धारणा छ।

१७ थुप्रै आधुनिक भाषाहरूमा वाक्यको अर्थ स्पष्ट पार्न वा त्यसले भन्‍न खोजेको कुरालाई अझ जोड दिन अल्पविराम (,) वा सापेक्षविरामजस्ता (:) चिन्हहरू प्रयोग गरिन्छ अनि कहिलेकाहीँ वाक्यको संरचना नै परिवर्तन गरिन्छ। तर सुरु-सुरुका ग्रीक पाण्डुलिपिहरूमा भने विराम चिन्हहरू एकनासले प्रयोग गरिएको पाइँदैन। त्यसैले प्रश्‍न उठ्‌छ, येसुले यहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो: “म तिमीलाई भन्छु, आज तिमी मसित प्रमोदवनमा हुनेछौ” कि “आज म तिमीलाई भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ”? येसुको यो भनाइलाई अनुवाद गर्दा अनुवादकहरूले आफ्नो बुझाइअनुसार वाक्यको संरचना परिवर्तन गर्न सक्छन्‌ वा विराम चिन्ह प्रयोग गर्न सक्छन्‌। अनि प्रायजसो उपलब्ध बाइबलमा यहाँ दिइएको दुवै खालको अनुवाद पाउन सकिन्छ।

१८, १९. येसुले भन्‍न खोज्नुभएको कुराबारे हामी कसरी सही निष्कर्षमा पुग्न सक्छौँ?

१८ तर येसुले आफ्ना चेलाहरूलाई त्यो घटना घट्‌नुअघि के भन्‍नुभएको थियो, विचार गर्नुहोस्‌: “मानिसको छोरा पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ।” उहाँले यसो पनि भन्‍नुभयो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मार्नेछन्‌ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।” (मत्ति १२:४०; १६:२१; १७:२२, २३; मर्कु. १०:३४) यो घटना साँच्चै घटेको थियो भनेर प्रेषित पत्रुसले बताए। (प्रेषि. १०:३९, ४०) त्यसैले येसुलाई त्यस अपराधीसँगै मारिएको दिन उहाँ प्रमोदवनमा जानुभएन। यहोवाले येसुलाई फेरि जीवित नपारूञ्जेल केही दिनको लागि उहाँ “चिहानमा [अथवा “हेडिज”-मा]” हुनुहुन्थ्यो।—प्रेषि. २:३१, ३२; फुटनोट। *

१९ त्यसैले येसुले त्यस अपराधीसँग गर्नुभएको प्रतिज्ञा यसरी सुरु गर्नुभएको थियो भनेर पक्का हुन सक्छौँ: “आज म तिमीलाई साँच्चै भन्छु।” यसरी बोल्ने शैली मोसाको समयमा पनि चलनचल्तीमा थियो। तिनले यसो भने: “आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू।”—व्यव. ६:६; ७:११; ८:१, १९; ३०:१५.

२०. येसुको जवाफबारे हाम्रो बुझाइलाई केले समर्थन गर्छ?

२० मध्यपूर्वका एक बाइबल अनुवादकले येसुले दिनुभएको जवाफबारे यस्तो टिप्पणी गरे: “यस पदमा ‘आज’ शब्दलाई जोड दिइएको छ अनि यो पदलाई यसरी पढ्‌नुपर्छ, ‘आज म तिमीलाई साँच्चै भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।’ प्रतिज्ञा त्यही दिनमा गरिएको थियो तर भविष्यमा पूरा हुने थियो। यो पूर्वी एसियाको बोल्ने शैलीको एउटा विशेषता हो। यसले कुनै खास दिनमा गरिएको प्रतिज्ञा पछि पक्का पूरा हुनेछ भन्‍ने कुरालाई बुझाउँछ।” त्यस्तैगरि पाँचौँ शताब्दीको सिरियाक संस्करणले येसुको जवाफलाई यसरी अनुवाद गरेको छ: “आमिन, आज म तिमीलाई भन्छु कि तिमी मसित अदनको बगैँचामा हुनेछौ।” यो प्रतिज्ञाबाट हामी सबैले प्रोत्साहन पाउन सक्छौँ।

२१. येसुसँगै झुन्ड्याइएको अपराधीले कहाँ जाने सुअवसर पाएन र किन?

२१ येसुले आफ्ना विश्‍वासी प्रेषितहरूसित स्वर्गको राज्यको करार गर्नुभएको थियो भन्‍ने कुरा मर्न लागेको त्यस अपराधीलाई थाह थिएन। (लुका २२:२९) अनि अर्को कुरा, त्यस अपराधीले बप्तिस्मा पनि गरेको थिएन। (युह. ३:३-६, १२) त्यसैले येसुले त्यस अपराधीसँग पृथ्वीमा आउने प्रमोदवनको प्रतिज्ञा गर्नुभएको थियो भन्‍ने कुरा बुझ्न सक्छौँ। वर्षौँपछि प्रेषित पावलले एक जना मानिसलाई ‘उठाएर प्रमोदवनमा लगिएको’ दर्शनबारे बताए। (२ कोरि. १२:१-४) त्यो मर्न लागेको अपराधीजस्तो नभई पावल र अरू विश्‍वासी प्रेषितहरू परमेश्‍वरको राज्यमा स्वर्गमा जानको लागि छानिएका थिए, जहाँ तिनीहरू येसुसँगै हुने थिए। तर यहाँ पावलले भविष्यमा आउने “प्रमोदवन”-बारे कुरा गर्दै थिए। * के तिनले पृथ्वीमा आउने प्रमोदवनको कुरा गर्दै थिए? के तपाईँ पनि त्यहाँ बस्न सम्भव छ?

तपाईँ कस्तो आशा राख्न सक्नुहुन्छ?

२२, २३. तपाईँ कस्तो आशा राख्न सक्नुहुन्छ?

२२ यो कुरा मनमा राख्नुहोस्‌, भविष्यमा “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌” भनेर दाउदले बताए। (भज. ३७:२९; २ पत्रु. ३:१३) दाउदले पृथ्वीका मानिसहरू परमेश्‍वरको धार्मिक स्तरअनुसार चल्ने समयबारे बताउँदै थिए। यसैया ६५:२२ मा यस्तो भविष्यवाणी गरिएको छ: “मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ।” यसको मतलब मानिसहरू हजारौँ वर्षसम्म बाँच्नेछन्‌। के हामी त्यस्तो आशा राख्न सक्छौँ? सक्छौँ। किनभने प्रकाश २१:१-४ अनुसार परमेश्‍वरले मानिसहरूको लागि प्रतिज्ञा गर्नुभएको एउटा आशिष्‌ के हो भने, नयाँ संसारमा परमेश्‍वरका सेवकहरूको “मृत्यु हुनेछैन।”

२३ त्यसैले कुरा स्पष्ट छ, आदम र हव्वाले प्रमोदवन गुमाए तर त्यो सधैँभरिको लागि गुम्ने थिएन। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ उहाँले पृथ्वीका मानिसहरूलाई आशिष्‌ दिनुहुनेछ। परमेश्‍वरबाट प्रेरणा पाएर दाउदले नम्र र धर्मी मानिसहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र सधैँभरि बाँच्नेछन्‌ भनेर बताए। यसैयाको पुस्तकमा गरिएका भविष्यवाणीहरूले यो पृथ्वी सुन्दर अवस्थामा परिणत भएको हेर्ने हाम्रो चाहनालाई अझ बढाउनुपर्ने हो। यो कहिले पूरा हुनेछ? येसुले त्यस यहुदी अपराधीलाई गर्नुभएको प्रतिज्ञा पूरा हुँदा। तपाईँ पनि त्यस प्रमोदवनमा बस्न सक्नुहुन्छ। त्यतिखेर कोरियाका दाजुभाइ दिदीबहिनीहरूले व्यक्‍त गरेको यो उद्‌गार पूरा हुनेछ: “प्रमोदवनमा भेटौँला!”

^ अनु. 18 प्राध्यापक सि. मार्भिन पेटअनुसार थुप्रै बाइबलविद्‌हरू येसुले भन्‍नुभएको ‘आज’ शब्दले चौबीस घण्टाको समयलाई बुझाउँछ अनि उहाँ त्यही दिन मर्नुभयो र प्रमोदवनमा जानुभयो भनेर मानिलिन्छन्‌। तर यो बुझाइ बाइबलको अन्य ठाउँमा बताइएका कुराहरूसित बाझिन्छ भनेर पनि तिनले बताए। किनकि बाइबलको अन्य पदमा येसु आफ्नो मृत्युपछि सुरुमा हेडिजमा ‘ओर्लिनुभयो’ अनि पछि स्वर्ग जानुभयो भनेर बताइएको छ।—मत्ति १२:४०; प्रेषि. २:३१; रोमी १०:७.

^ अनु. 21 यसै अङ्‌कमा भएको “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।