सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन्‌”

“धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन्‌”

डायनाको उमेर ८० वर्ष नाघिसक्यो र तिनको पतिको मृत्यु भइसक्यो। तिनको पतिलाई अल्जाइमर रोग (सुद्धी हराउने रोग) लागेको थियो र मृत्यु हुनुअघि केही वर्ष उनलाई स्याहार-केन्द्रमा राख्नुपरेको थियो। तिनको दुई जना छोराको पनि मृत्यु भयो र तिनी आफैलाई स्तन क्यान्सर भएकोले त्यसको पीडा पनि सहनुपरेको थियो। तैपनि डायनाको मण्डलीका अरू सदस्यहरूले तिनलाई सभा वा प्रचारमा देख्दा तिनी सधैँ आनन्दित भएको कुरा याद गर्छन्‌।

जोनले ४३ वर्षभन्दा लामो समयसम्म परिभ्रमण निरीक्षकको रूपमा सेवा गरे। तिनलाई आफ्नो असाइनमेन्ट मन पर्थ्यो। त्यो तिनको जीवनको अभिन्‍न भाग थियो। तर आफ्नो बिरामी नातेदारको स्याहारसुसार गर्न तिनले परिभ्रमण निरीक्षकको असाइनमेन्ट छोड्‌नुपऱ्‍यो र अहिले तिनी स्थानीय मण्डलीमा सेवा गर्छन्‌। जोनलाई पहिल्यैदेखि चिनेका भाइबहिनीहरूले अहिले तिनलाई सम्मेलन वा अधिवेशनमा भेट्‌दा तिनी पटक्कै परिवर्तन नभएको कुरा याद गर्छन्‌। तिनको मुहारमा पहिलाको जस्तै आनन्द झल्किन्छ।

डायना र जोन आनन्दित रहन सक्नुको कारण के हो? भावनात्मक र शारीरिक पीडाको बाबजुद कसरी आनन्दित हुन सकिन्छ? आफूलाई मन पर्ने अनि गरिरहेको असाइनमेन्ट छोड्‌नुपर्दा पनि कसरी आनन्दित भइरहन सक्छौँ? यसको जवाफ बाइबलको यो भनाइमा पाइन्छ: “धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन्‌।” (भज. ६४:१०) मनैदेखि आनन्दित बनाउने कुरा के हो र के होइन भनेर बुझ्यौँ भने उक्‍त भनाइको सत्यता छर्लङ्‌गै हुनेछ।

अस्थायी किसिमको आनन्द

जीवनमा कतिपय कुरा यस्ता छन्‌, जसले हामीलाई पक्कै आनन्दित बनाउँछ। एकअर्कालाई माया गर्ने केटा र केटीबारे कल्पना गर्नुहोस्‌, जो विवाह गर्न लागेका छन्‌। अथवा कसैले पहिलो सन्तान जन्माएको वा कुनै ईश्‍वरतान्त्रिक सुअवसर पाएको कल्पना गर्नुहोस्‌। के यस्ता कुराहरूले आनन्द दिँदैन र? पक्कै पनि दिन्छ। किनकि यस्ता कुराहरूको स्रोत यहोवा नै हुनुहुन्छ। यहोवा विवाहको सुरुवातकर्ता हुनुहुन्छ र उहाँले नै छोराछोरी जन्माउने क्षमता दिनुभयो। अनि ख्रिष्टियन मण्डलीद्वारा हामीलाई विभिन्‍न असाइनमेन्ट दिने पनि यहोवा नै हुनुहुन्छ।—उत्प. २:१८, २२; भज. १२७:३; १ तिमो. ३:१.

तर कुनै-कुनै कुराले दिने आनन्द अस्थायी हुन सक्छ। जस्तै, आफ्नो श्रीमान्‌ वा श्रीमती अवफादार हुन सक्छ अथवा तिनको मृत्यु हुन सक्छ। (इज. २४:१८; होसे ३:१) कोही-कोही छोराछोरी आफ्ना आमाबुबा अनि परमेश्‍वरप्रति अनाज्ञाकारी हुन्छन्‌ अनि तिनीहरू बहिष्कार पनि हुन सक्छन्‌। समुएलका छोराहरूले यहोवालाई स्वीकार्य तरिकामा उपासना गरेनन्‌; दाउदको गल्तीले गर्दा तिनको आफ्नै घरानाबाट तिनीमाथि विपत्ति आइलाग्यो। (१ समु. ८:१-३; २ समु. १२:११) यस्ता घटनाहरूले मानिसहरूलाई शोक र पीडा दिन्छ। यसले कदापि आनन्द दिँदैन।

त्यस्तैगरि स्वास्थ्य समस्या, पारिवारिक जिम्मेवारी वा ईश्‍वरतान्त्रिक छाँटकाँटजस्ता कारणले परमेश्‍वरका जनहरूले आफूले पाएको सुअवसर छोड्‌नुपर्ने हुन सक्छ। यस्तै परिवर्तनबाट गुज्रेका थुप्रै भाइबहिनी पहिला आफूले सम्हालिरहेको असाइनमेन्टमा असाध्यै आनन्दित थिए अनि त्यसको झलझली याद आउँछ भनेर मानिलिन्छन्‌।

त्यसैले कुनै-कुनै कुराले दिने आनन्द केही हदसम्म परिस्थितिमा भर पर्छ अथवा अस्थायी हुन्छ। त्यसोभए के अर्को किसिमको आनन्द पनि छ, जुन आनन्द परिस्थितिमा निर्भर हुँदैन? पक्कै हुनुपर्छ किनभने समुएल, दाउद र अरूले परीक्षाहरूको सामना गर्नुपरे तापनि आफ्नो आनन्द नगुमाएको विवरण बाइबलमा पाउँछौँ।

स्थायी किसिमको आनन्द

आनन्द भनेको वास्तवमा के हो भनेर येसुलाई थाह थियो। उहाँ स्वर्गमा छँदा परिस्थिति राम्रो थियो अनि ‘[यहोवासामु] रहन पाएकोले उहाँ सधैँ खुसीले गद्‌गद हुनुहुन्थ्यो।’ (हितो. ८:३०) तर पृथ्वीमा छँदा भने उहाँले कहिलेकाहीँ असाध्यै कठिन अवस्था भोग्नुपऱ्‍यो। त्यतिबेला पनि यहोवाको इच्छाअनुसार गर्न उहाँ खुसी हुनुहुन्थ्यो। (युह. ४:३४) अनि आफ्नो जीवनको अन्तिम घडीमा असह्‍य पीडा भोग्नुपर्दा नि? बाइबल भन्छ: “उहाँले आफ्नो अगाडि राखिएको आनन्दका लागि . . . यातनाको खम्बामा मृत्यु सहनुभयो।” (हिब्रू १२:२) त्यसैले येसुले साँचो आनन्दबारे बताउनुभएका कुराहरू विचार गर्नु उपयुक्‍त छ। आउनुहोस्‌, येसुले भन्‍नुभएका दुइटा कुरा विचार गरौँ।

एकपटकको कुरा हो, येसुका ७० जना चेलाहरू प्रचार गरेर उहाँकहाँ फर्किए। तिनीहरूले शक्‍तिशाली कामहरू गरेका थिए, यहाँसम्म कि तिनीहरूले प्रेतहरूलाई समेत निकाल्न सकेका थिए। यस्ता शक्‍तिशाली कामहरू गर्न सकेकोले तिनीहरू रमाएका थिए। तर येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “प्रेतहरू तिमीहरूको वशमा आए भनी नरमाओ बरु तिमीहरूको नाम स्वर्गमा लेखियो भनेर रमाओ।” (लुका १०:१-९, १७, २०) हो, कुनै विशेष सुअवसर पाउनु भन्दा यहोवाको अनुमोदन पाउनु धेरै महत्त्वपूर्ण छ। येसुका विश्‍वासी चेलाहरूले यहोवाबाट अनुमोदन पाएका थिए। यो नै तिनीहरूको लागि ठूलो आनन्दको स्रोत थियो।

अर्कोपटक, येसु भीडसित कुरा गर्दै हुनुहुन्थ्यो। एउटी यहुदी स्त्रीले येसुजस्तो महान्‌ शिक्षकको आमा त पक्कै आनन्दित हुनुपर्छ भनिन्‌। तर येसुले भन्‍नुभयो: “त्यसो होइन। आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!” (लुका ११:२७, २८) छोराछोरीमा गर्व गर्न पाउनु आमाबुबाको लागि खुसीको कुरा हो तर त्योभन्दा महत्त्वपूर्ण कुरा यहोवासितको सम्बन्ध हो किनकि उहाँप्रति आज्ञाकारी हुँदा अझै आनन्दित हुन सकिन्छ।

हो, यहोवाको अनुमोदन पाएको महसुस गर्दा हामी गहिरो आनन्द पाउँछौँ। अनि परीक्षा भोग्नु भनेको यहोवाको अनुमोदन गुमाएको सङ्‌केत होइन। हुनत परीक्षाले आनन्द दिँदैन, तैपनि सत्यनिष्ठ भई ती सहनु भनेको जित हासिल गर्नुजस्तै हो, जसबाट हामी गहिरो आनन्द महसुस गर्छौँ। (रोमी ५:३-५) अनि यहोवामाथि भरोसा राख्नेहरूलाई उहाँ पवित्र शक्‍ति दिनुहुन्छ र यसको फलको एउटा पक्ष आनन्द हो। (गला ५:२२) यी कुराहरू विचार गर्दा भजन ६४:१० को यो कुरा अझ राम्ररी बुझ्न सक्छौँ: “धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन्‌।”

गहिरो आनन्द कायम राख्न जोनलाई केले मदत गरेको छ?

यो कुरा विचार गर्दा लेखको सुरुतिर उल्लेख गरिएका डायना र जोनले गाह्रो परिस्थितिको बाबजुद आनन्द कायम राखिराख्न सक्नुको कारण बुझ्न सक्छौँ। डायना भन्छिन्‌, “सानो बालकले आमाबुबामा शरण लिएझैँ मैले पनि यहोवामा शरण लिएकी छु।” तिनी परमेश्‍वरको अनुमोदन पाएको कसरी महसुस गर्छिन्‌? तिनी भन्छिन्‌: “हँसिलो अनुहारका साथ नियमित तवरमा प्रचार गर्न सक्ने क्षमता दिएर यहोवाले मलाई आशिष्‌ दिनुभएको जस्तो लाग्छ।” जोनले आफूलाई मन परेको परिभ्रमण निरीक्षकको असाइनमेन्ट छोड्‌नुपऱ्‍यो तैपनि प्रचारकार्यमा व्यस्त रहिरहन र आनन्दित भइरहन तिनलाई केले मदत गऱ्‍यो? तिनी भन्छन्‌: “सन्‌ १९९८ देखि मैले मिनिस्टेरियल ट्रेनिङ स्कुलमा सिकाउने असाइनमेन्ट पाएँ। त्यसदेखि यता पहिलाभन्दा धेरै व्यक्‍तिगत अध्ययन गर्छु।” आफू र आफ्नो पत्नीको कुरा तिनी यसरी बताउँछन्‌: “जुनसुकै असाइनमेन्ट पाए पनि यहोवाको सेवा गरिरहने मनोवृत्ति राख्दै आएको हुँदा हामीलाई यो छाँटकाँट स्विकार्न त्यति गाह्रो भएन। यस्तो छाँटकाँट गर्नुपरेकोमा हामीलाई कुनै पछुतो छैन।”

अरू थुप्रैले पनि भजन ६४:१० मा बताइएको कुरा अनुभव गरेका छन्‌। अमेरिकाको बेथेलमा ३० वर्षभन्दा लामो समय सेवा गरेका दम्पतीको उदाहरण विचार गर्नुहोस्‌। तिनीहरूको असाइनमेन्ट परिवर्तन भयो र विशेष अग्रगामीको रूपमा खटाइयो। तिनीहरूले यो कुरा मानिलिए: “आफूलाई मन परेको कुरा छोड्‌नुपर्दा दुःख त लाग्छ। तर सधैँ दुःख मानेर बस्न सम्भव छैन।” तिनीहरूले छिट्टै मण्डलीको प्रचारकार्यमा भाग लिन थाले। तिनीहरूले यसो पनि भने: “हामीले कुनै-कुनै कुराको लागि तोकेरै प्रार्थना गऱ्‍यौँ। हाम्रो प्रार्थनाको जवाफ पाउँदा हामीले प्रोत्साहन पायौँ र आनन्दित पनि भयौँ। हामी आएको केही समय नबित्दै मण्डलीका अरू सदस्यहरूले पनि अग्रगामी सेवा सुरु गर्नुभयो र हामीले दुई वटा प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न पायौँ। यो हाम्रो लागि साँच्चै आशिष्‌ थियो।”

“सधैँभरि हर्ष”

हुनत आनन्दित भइरहन सजिलो हुँदैन र जीवनमा उतारचढाव आइरहन्छन्‌। तर यहोवाको प्रेरणा पाएर लेखिएको भजन ६४:१० का शब्दहरूले हामीलाई आश्‍वासन दिन्छ। कहिलेकाहीँ हामी निरुत्साहित हुन सक्छौँ तर परिस्थितिले जस्तोसुकै मोड लिए पनि वफादार भइरहने “धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन्‌” भनेर ढुक्क हुन सक्छौँ। साथै हामी यहोवाले प्रतिज्ञा गर्नुभएको “नयाँ आकाश र नयाँ पृथ्वी”-को उत्सुकतासाथ बाटो हेर्न सक्छौँ, जब सबै मानिस त्रुटिरहित हुनेछन्‌। परमेश्‍वरका सबै सेवक उहाँले सृष्टि गर्नुहुने र प्रबन्ध गर्नुहुने कुरामा ‘खुसी हुनेछन्‌ र सधैँभरि हर्ष मनाउनेछन्‌।’—यसै. ६५:१७, १८.

त्यतिबेलाको जीवन कस्तो हुनेछ, कल्पना गर्नुहोस्‌: स्वस्थ शरीर र नयाँ जोस-जाँगरका साथ दिनको सुरुवात गर्नेछौँ। विगतमा जस्तोसुकै भावनात्मक पीडा भोग्नुपरेको भए तापनि त्यसको याद आउनेछैन। त्यसबेला ‘पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्‌; ती कुराहरू हामीले फेरि कहिल्यै मनमा खेलाउनेछैनौँ’ भन्‍ने कुरामा ढुक्क छौँ। मरेका व्यक्‍तिहरू चमत्कारपूर्ण ढङ्‌गमा फेरि जीवित हुनेछन्‌ र आफ्ना प्रियजनहरूलाई भेट्‌न पाउनेछन्‌। येसुले १२ वर्षे केटीलाई फेरि जीवित पार्नुहुँदा उसको आमाबुबाको “खुसीको सीमा रहेन।” (मर्कु. ५:४२) भविष्यमा लाखौँ मानिसले यस्तै महसुस गर्नेछन्‌। अन्ततः पृथ्वीमा जीवित सबै जना साँचो अर्थमा “धर्मी मानिस” हुनेछन्‌ र तिनीहरू “यहोवाको साथ पाएकोमा” सधैँभरि “रमाउनेछन्‌।”