सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाहरू हो, तपाईँ आनन्दित भएको सृष्टिकर्ता चाहनुहुन्छ

युवाहरू हो, तपाईँ आनन्दित भएको सृष्टिकर्ता चाहनुहुन्छ

“तिम्रो जीवनभर असल कुराहरू दिएर उहाँले तिमीलाई सन्तुष्ट पार्नुहुन्छ।”—भज. १०३:५.

गीत: १३५, ३९

१, २. जीवनमा कस्तो लक्ष्य राख्ने भनी निर्णय गर्दा सृष्टिकर्ताको सल्लाह सुन्‍नु किन बुद्धिमानी हो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

यदि तपाईँ युवा हुनुहुन्छ भने तपाईँलाई भविष्यबारे थुप्रैले सल्लाह दिएका छन्‌ होला। शिक्षकहरू, स्कुलका सल्लाहकारहरू वा अरूले तपाईँलाई उच्च शिक्षा लिन अनि धेरै पैसा आउने जागिर खान प्रोत्साहन दिएका छन्‌ होला। तर यहोवा भने तपाईँले जीवनमा अर्कै बाटो रोजेको चाहनुहुन्छ। तपाईँले स्कुलको पढाइमा मेहनत गरेको यहोवा अवश्‍य चाहनुहुन्छ, ताकि पढाइ सकिएपछि आफ्नो जीवन धान्‍नको लागि चाहिने पैसा कमाउन सक्नुहोस्‌। (कल. ३:२३) तर जीवनमा कुन कुरालाई प्राथमिकता दिने भनी निर्णय गर्नुपर्दा चाहिँ उहाँ तपाईँलाई सही सिद्धान्तहरूअनुसार चल्न प्रोत्साहन दिनुहुन्छ। ती सिद्धान्तहरूले तपाईँलाई उहाँको उद्देश्‍य र यस अन्तको समयमा उहाँ तपाईँबाट के चाहनुहुन्छ भनेर बुझ्न मदत गर्छन्‌।—मत्ति २४:१४.

यो कुरा पनि मनमा राख्नुहोस्‌: पछि हुने कुरासमेत यहोवा देख्न सक्नुहुन्छ। अहिलेको संसारको भविष्य कस्तो छ अनि त्यसको अन्त कति नजिकै छ भनेर यहोवालाई थाह छ। (यसै. ४६:१०; मत्ति २४:३, ३६) साथै उहाँलाई हामीबारे पनि सबै कुरा थाह छ। मतलब, हामीलाई केले साँचो सन्तुष्टि र आनन्द दिन्छ अनि केले निराश र दुःखी बनाउँछ भनेर पनि उहाँलाई थाह छ। त्यसैले मानिसले दिने सल्लाह जतिसुकै व्यावहारिक देखिए पनि यदि त्यो सल्लाह परमेश्‍वरको वचनमा आधारित भएर दिइएको होइन भने त्यो बुद्धिमानी सल्लाह पटक्कै होइन।—हितो. १९:२१.

‘यहोवाको सामने कसैको बुद्धिको केही लाग्दैन’

३, ४. आदम र हव्वाले गलत सल्लाह सुनेकोले तिनीहरू र तिनीहरूका सन्तानले कस्तो नतिजा भोग्नुपऱ्‍यो?

मानव इतिहासको सुरुतिर सैतान देखा परेदेखि नै गलत सल्लाह दिने कामको सुरुवात भएको थियो। सैतानले अहङ्‌कारी अनि जान्‍ने-सुन्‍ने हुँदै हव्वालाई गलत सल्लाह दियो। हव्वा र तिनको पतिले आफ्नै तरिकाले जीवन बिताउने निर्णय गरे भने तिनीहरू अझ खुसी हुनेछन्‌ भनेर त्यसले बतायो। (उत्प. ३:१-६) तर वास्तवमा त्यस्तो सल्लाह दिनुमा सैतानको स्वार्थ लुकेको थियो। सैतान के चाहन्थ्यो भने, आदम र हव्वा अनि तिनीहरूका भावी सन्तानले यहोवाको नभई त्यसको उपासना गरून्‌ अनि त्यसैको अधीनमा रहून्‌। तर त्यसले आदम र हव्वाको लागि के नै गरेको थियो र! आदम र हव्वाले एकअर्काको साथ पाएका थिए, बस्नको लागि सुन्दर बगैँचा पाएका थिए अनि सधैँभरि बाँच्ने क्षमतासहितको त्रुटिरहित शरीर पाएका थिए। तिनीहरूलाई यी सबै कुरा दिने त यहोवा हुनुहुन्थ्यो।

दुःखको कुरा, आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे अनि उहाँसितको सम्बन्ध तोडे। त्यसको नतिजा एकदमै दुःखलाग्दो भयो। बोटबाट काटिएको फूल ओइलाउन थालेजस्तै तिनीहरू पनि बिस्तारै बूढाबूढी भए र मरे। पापको असर तिनीहरूका छोराछोरीमा पनि सऱ्‍यो। (रोमी ५:१२) तैपनि धेरैजसो मानिसहरू परमेश्‍वरको अधीनमा नबस्ने छनौट गर्छन्‌। तिनीहरू आफ्नै तरिकाले जीवन बिताउन चाहन्छन्‌। (एफि. २:१-३) त्यसले गर्दा आज नतिजा जस्तो भएको छ, त्यसबाट यो कुरा स्पष्ट हुन्छ: ‘यहोवाको सामने कसैको बुद्धिको केही लाग्दैन।’—हितो. २१:३०.

५. आफूले सृष्टि गरेका मानिसहरूले के गर्नेछन्‌ भनेर यहोवा विश्‍वस्त हुनुहुन्थ्यो? के उहाँको यस्तो भरोसा खेर गयो?

तैपनि केही मानिसले यहोवालाई खोज्नेछन्‌ अनि उहाँको सेवा गर्नेछन्‌ भनेर उहाँलाई थाह थियो। त्यसमा थुप्रै असल जवान पनि पर्छन्‌। (भज. १०३:१७, १८; ११०:३) त्यस्ता जवानहरू उहाँको नजरमा कत्ति बहुमूल्य छन्‌! के तपाईँ पनि तिनीहरूमध्ये एक हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाईँले पनि परमेश्‍वरबाट थुप्रै “असल कुरा” पाइरहनुभएको छ अनि त्यसले तपाईँलाई निकै आनन्दित बनाएको छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (भजन १०३:५ पढ्‌नुहोस्‌; हितो. १०:२२) ती “असल कुराहरूमा” प्रशस्त आध्यात्मिक भोजन, असल साथीहरू, अर्थपूर्ण लक्ष्यहरू अनि साँचो स्वतन्त्रता पर्छन्‌। आउनुहोस्‌, यी कुराहरूबारे अब छलफल गरौँ।

यहोवा तपाईँको आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहुन्छ

६. तपाईँले आफ्नो आध्यात्मिक आवश्‍यकता किन पूरा गर्नुपर्छ अनि यहोवाले त्यसको प्रबन्ध कसरी मिलाउनुहुन्छ?

जनावरहरूलाई आध्यात्मिक भोजनको आवश्‍यकता छैन तर तपाईँलाई भने छ। त्यो आवश्‍यकता सृष्टिकर्ताले मात्र पूरा गर्न सक्नुहुन्छ। (मत्ति ४:४) उहाँको कुरा मन लगाएर सुन्‍नुभयो भने तपाईँले अन्तर्दृष्टि, बुद्धि र आनन्द पाउनुहुनेछ। येसुले भन्‍नुभयो, “आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌।” (मत्ति ५:३) परमेश्‍वरले आफ्नो वचन अनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत उपलब्ध प्रशस्त आध्यात्मिक भोजनद्वारा तपाईँको आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहुन्छ। (मत्ति २४:४५) ती भोजनहरू कत्ति पोसिला अनि थरिथरिका छन्‌!—यसै. ६५:१३, १४.

७. परमेश्‍वरले दिनुहुने आध्यात्मिक भोजन लिँदा तपाईँले कस्तो लाभ उठाउनुहुनेछ?

परमेश्‍वरले दिनुहुने आध्यात्मिक भोजनले बुद्धि प्राप्त गर्न र सोच्ने क्षमता विकास गर्न मदत गर्छ, जसले तपाईँलाई थुप्रै हानिबाट जोगाउँछ। (हितोपदेश २:१०-१४ पढ्‌नुहोस्‌) उदाहरणको लागि, यी गुणहरूले सृष्टिकर्ता छैन भन्‍नेजस्ता शिक्षाहरू झूटा हुन्‌ भनेर बुझ्न मदत गर्छ। प्रशस्त धनसम्पत्ति र सरसामान भयो भने मात्रै खुसी हुन सकिन्छ भन्‍ने छली सोचाइबाट त्यसले तपाईँलाई जोगाउँछ। साथै विभिन्‍न कुइच्छा र आफैलाई हानि पुऱ्‍याउन सक्ने खराब बानीहरूदेखि होसियार रहन अनि त्यसलाई तिरस्कार गर्न पनि त्यसले तपाईँलाई मदत गर्छ। त्यसैले परमेश्‍वरले दिनुहुने बुद्धि अनि सोच्ने क्षमताको खोजी गरिरहनुहोस्‌, त्यसलाई एउटा बहुमूल्य धन सम्झनुहोस्‌! यी अनमोल गुणहरू विकास गर्दै जानुभयो भने यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ र तपाईँको लागि सबैभन्दा उत्तम कुरा चाहनुहुन्छ भनेर तपाईँ आफैले अनुभव गर्नुहुनेछ।—भज. ३४:८; यसै. ४८:१७, १८.

८. यहोवासित नजिक हुने समय अहिल्यै हो, किन? त्यसो गर्दा तपाईँले भविष्यमा कस्तो लाभ उठाउनुहुनेछ?

अब चाँडै सैतानको संसारमा भएको सबै कुरा नाश हुनेछ अनि त्यतिबेला यहोवाले मात्र हामीलाई सुरक्षा दिन सक्नुहुनेछ। भनौँ भने, प्रत्येक छाकको लागि हामी यहोवामा भर पर्नुपर्ने समय पनि आउन सक्छ! (हब. ३:२, १२-१९) त्यसैले स्वर्गका बुबासित नजिक हुने र उहाँमाथिको भरोसालाई बलियो बनाउने समय अहिल्यै हो। (२ पत्रु. २:९) त्यसो गर्नुभयो भने वरिपरि जस्तोसुकै घटना घटे पनि तपाईँ भजनहार दाउदले जस्तै महसुस गर्न सक्नुहुनेछ, जसले यस्तो लेखे: “मैले यहोवालाई सदैव मेरो नजरसामु राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, त्यसैले म कहिल्यै डग्नेछैनँ।”—भज. १६:८.

यहोवा तपाईँलाई असल साथीहरू दिनुहुन्छ

९. (क) युहन्‍ना ६:४४ अनुसार यहोवा के गर्नुहुन्छ? (ख) यहोवालाई नचिन्‍ने मानिसलाई र कुनै यहोवाको साक्षीलाई पहिलो चोटि भेट्‌नुबीच कस्तो ठूलो फरक छ?

आफ्नो आध्यात्मिक परिवारको भाग हुन रोज्नुभएका मानिसहरूलाई यहोवा खिच्नुहुन्छ। सोझा मन भएकाहरूलाई उहाँ बिस्तारै साँचो उपासनातर्फ खिच्नुहुन्छ। (युहन्‍ना ६:४४ पढ्‌नुहोस्‌) यहोवाको उपासना नगर्ने कुनै मानिसलाई पहिलो चोटि भेट्‌दा तपाईँलाई तिनीबारे के-के थाह हुन्छ? सायद तिनको नाम अनि बाहिरी रूपरङबाहेक अरू कुरा खासै थाह हुँदैन। तर यहोवालाई चिन्‍ने अनि उहाँलाई प्रेम गर्ने कसैलाई पहिलो चोटि भेट्‌दा नै तपाईँलाई तिनीबारे थुप्रै कुरा थाह भइसकेको हुन्छ। तिनी बेग्लै पृष्ठभूमिका, फरक देश, जाति वा संस्कृतिका हुन्‌ भने पनि तिनीबारे तपाईँलाई थुप्रै कुरा थाह हुन्छ अनि तिनलाई पनि तपाईँबारे थुप्रै कुरा थाह हुन्छ!

यहोवा हामीले असल साथीहरू पाएको अनि आध्यात्मिक लक्ष्यहरू राखेको चाहनुहुन्छ (अनुच्छेद ९-१२ हेर्नुहोस्‌)

१०, ११. यहोवाका सेवकहरूबीच कस्ता समानताहरू छन्‌ अनि यसबाट हामी कस्तो लाभ उठाउँछौँ?

१० उदाहरणको लागि, तपाईँहरू दुवैले सत्यको “शुद्ध भाषा” बोल्ने भएकोले एकअर्काको “भाषा” बुझिहाल्नुहुन्छ। (सप. ३:९) यसले गर्दा एकअर्काको विश्‍वासबारे पनि तपाईँलाई थाह हुन्छ। जस्तै: परमेश्‍वर, नैतिक स्तर, भविष्यको आशा अनि अन्य थुप्रै विषयमा एकअर्काको विश्‍वास कस्तो छ भनेर तपाईँलाई थाह हुन्छ। हुन पनि ती कुराहरू भनेको कुनै मानिसबारे थाह पाउनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्‌ नि, होइन र? किनकि तिनै कुराको आधारमा हामी कसैलाई भरोसा र विश्‍वास गर्न सक्छौँ। अनि ती कुराहरू असल र दिगो मित्रताको जग पनि हुन्‌।

११ यहोवाको उपासक भएकोले तपाईँले असल साथीहरू पाउनुभएको छ भन्‍ने कुरा सत्य हो अनि संसारभरि नै त्यस्ता साथीहरू थुप्रै छन्‌। कुरा यत्ति हो, तिनीहरूमध्ये धेरैलाई तपाईँले भेट्‌न मात्र बाँकी छ! विचार गर्नुहोस्‌ त, यहोवाका जनहरूबाहेक अरू कसले पो यस्तो अमूल्य उपहार पाएका छन्‌ र!

यहोवा तपाईँलाई अर्थपूर्ण लक्ष्यहरू राख्न मदत गर्नुहुन्छ

१२. तपाईँ कस्ता आध्यात्मिक लक्ष्यहरू राख्न सक्नुहुन्छ?

१२ उपदेशक ११:९–१२:१ पढ्‌नुहोस्‌। के तपाईँ अहिले कुनै एउटा वा त्यो भन्दा धेरै आध्यात्मिक लक्ष्यतर्फ अघि बढिरहनुभएको छ? तपाईँ हरेक दिन बाइबल पढ्‌ने कोसिस गरिरहनुभएको छ होला। अथवा आफ्नो बोल्ने र सिकाउने क्षमता उन्‍नति गर्ने प्रयास गर्दै हुनुहुन्छ होला। तपाईँले जस्तोसुकै लक्ष्य राखे पनि त्यसको राम्रो नतिजा आएको देख्दा वा अरूले त्यो याद गरेर प्रशंसा गर्दा तपाईँलाई कस्तो लाग्छ? तपाईँ पक्कै पनि आफूले केही उपलब्धि हासिल गरेको महसुस गर्नुहुन्छ अनि त्यसले तपाईँलाई खुसी बनाउँछ। अनि तपाईँले त्यस्तो महसुस गर्नु एकदमै उचित हो किनकि कुनै आध्यात्मिक लक्ष्यतर्फ अघि बढ्‌दा तपाईँले येसुको अनुकरण गर्दै आफ्नो भन्दा परमेश्‍वरको इच्छालाई पहिलो स्थान दिइरहनुभएको हुन्छ। अनि यो कुनै सानोतिनो उपलब्धि होइन।—भज. ४०:८; हितो. २७:११.

१३. संसारमा नाम-दाम कमाउने लक्ष्य राख्नुभन्दा परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्नु कता हो कता असल हो, किन?

१३ आध्यात्मिक लक्ष्यहरूतर्फ अघि बढ्‌दा तपाईँले त्यसबाट साँचो सन्तुष्टि पाउन सक्नुहुन्छ किनकि त्यसको लागि तपाईँले गरेको प्रयास पटक्कै खेर जाँदैन। प्रेषित पावलले यस्तो लेखे: “अटल र स्थिर होओ, प्रभुको काममा सधैँ व्यस्त भइरहो किनकि तिमीहरूलाई थाह छ, प्रभुमा तिमीहरूले गरेको परिश्रम व्यर्थ हुँदैन।” (१ कोरि. १५:५८) त्यसको तुलनामा संसारमा नाम-दाम कमाउने लक्ष्यहरूको पछि लाग्ने मानिसहरू एकदमै सफलजस्तो देखिए तापनि तिनीहरूले जीवनभर गरेको सबै प्रयास आखिरमा व्यर्थको साबित हुन्छ। (लुका ९:२५) राजा सुलेमानले आफ्नै जीवनमा त्यो अनुभव गरे अनि तिनको अनुभवबाट हामी पनि पाठ सिक्न सक्छौँ।—रोमी १५:४.

१४. सुलेमानको अनुभवबाट कस्तो पाठ सिक्न सक्नुहुन्छ?

१४ सुलेमान अत्यन्तै धनी र शक्‍तिशाली राजा थिए। तिनले मनमनै यसो भने: “अब मोजमस्ती गरेर हेर्छु। अनि हेरौँ, के फाइदा हुँदो रहेछ।” (उप. २:१-१०) तिनले महल, बगैँचा र पार्कहरू बनाए र आफूलाई इच्छा लागेको सबै कुरा गरे। अन्तमा तिनले कस्तो महसुस गरे? के तिनी तृप्त भए? खुसी भए? सन्तुष्ट भए? हामीले अनुमान लगाउनै पर्दैन। तिनी आफैले यसो भने: “मैले आफ्ना सबै काम र कडा परिश्रमलाई विचार गरेँ। ती सबै व्यर्थ रहेछन्‌, . . . जे गरे पनि केही फाइदा हुँदो रहेनछ।” (उप. २:११) कस्तो सशक्‍त पाठ! के तपाईँ बुद्धिमान्‌ हुँदै यो कुरा आफ्नो मनमा राख्नुहुन्छ?

१५. विश्‍वास किन महत्त्वपूर्ण छ अनि भजन ३२:८ अनुसार विश्‍वास बलियो बनाउनुभयो भने तपाईँले कस्तो लाभ उठाउनुहुनेछ?

१५ तपाईँले जीवनमा दुःख भोगेर पाठ सिकेको यहोवा चाहनुहुन्‍न। हुनत परमेश्‍वरको आज्ञा पालन गर्न अनि उहाँको इच्छालाई जीवनमा पहिलो स्थान दिन विश्‍वास चाहिन्छ। त्यस्तो विश्‍वास एकदमै बहुमूल्य हुन्छ अनि त्यसले कहिल्यै निराश बनाउँदैन। हो, तपाईँले “परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम” यहोवा कहिल्यै बिर्सनुहुन्‍न। (हिब्रू ६:१०) त्यसैले आफ्नो विश्‍वास बलियो बनाउन कडा परिश्रम गर्नुहोस्‌। त्यसो गर्नुभयो भने स्वर्गमा हुनुहुने तपाईँको बुबाले तपाईँको लागि सबैभन्दा उत्तम कुरा चाहनुहुन्छ भनेर आफैले अनुभव गर्नुहुनेछ।भजन ३२:८ पढ्‌नुहोस्‌।

परमेश्‍वर तपाईँलाई साँचो स्वतन्त्रता दिनुहुन्छ

१६. हामीले किन आफूले पाएको स्वतन्त्रताको कदर गर्नुपर्छ र त्यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ?

१६ पावलले यस्तो लेखे: “जहाँ यहोवा परमेश्‍वरको पवित्र शक्‍ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरि. ३:१७) हो, यहोवा स्वतन्त्रता मन पराउनुहुन्छ अनि उहाँले तपाईँको मनमा पनि त्यस्तै चाहना राखिदिनुभएको छ। तर तपाईँले आफ्नो स्वतन्त्रताको सही प्रयोग गरेको पनि उहाँ चाहनुहुन्छ अनि त्यसो गर्दा तपाईँको सुरक्षा हुन्छ। सायद तपाईँले यस्ता युवाहरू देख्नुभएको होला, जो अश्‍लील सामग्री हेर्ने गर्छन्‌, यौन अनैतिकतामा मुछिएका छन्‌, ज्यानलाई खतरामा पार्ने खेलकुदमा भाग लिन्छन्‌ वा लागू औषध र रक्सीको दुरुपयोग गर्छन्‌। हुनत तिनीहरूले केही क्षणको लागि रमाइलो महसुस गर्लान्‌। तर तिनीहरूले अक्सर त्यसको ठूलो मोल चुकाउनुपर्ने हुन्छ। तिनीहरूलाई विभिन्‍न किसिमको रोग लाग्न सक्छ, कुलतमा फस्न सक्छन्‌ वा ज्यानै जान पनि सक्छ। (गला. ६:७, ८) त्यस्ता युवाहरूले आफू स्वतन्त्र छु भन्ठान्छन्‌ तर तिनीहरूले आफैलाई झुक्क्याइरहेका हुन्छन्‌।—ति. ३:३.

१७, १८. (क) परमेश्‍वरको आज्ञा पालन गर्दा कसरी स्वतन्त्र हुन्छौँ? (ख) आदम र हव्वाले पाएको स्वतन्त्रताको तुलनामा आज मानिसहरूले पाएको स्वतन्त्रता कस्तो छ?

१७ अर्कोतर्फ, बाइबलको स्तरअनुसार चलेकोले कोही बिरामी परेको के तपाईँले देख्नुभएको छ? यहोवाको आज्ञा पालन गर्दा हाम्रो स्वास्थ्यलाई फाइदा पुग्नुका साथै हामी स्वतन्त्र पनि हुन्छौँ भन्‍ने कुरा स्पष्ट छ। (भज. १९:७-११) त्यति मात्र होइन, आफूले पाएको स्वतन्त्रता बुद्धिमानीपूर्वक अर्थात्‌ परमेश्‍वरका सिद्ध नियम र सिद्धान्तहरूको सीमाभित्र रहेर प्रयोग गर्नुभयो भने तपाईँ अझ धेरै स्वतन्त्रता पाउन योग्य हुनुहुन्छ भनेर परमेश्‍वर र आफ्ना आमाबुबालाई देखाइरहनुभएको हुनेछ। वास्तवमा परमेश्‍वरको उद्देश्‍य पनि अन्ततः आफ्ना वफादार सेवकहरूलाई साँचो स्वतन्त्रता दिनु हो, जसलाई बाइबलले “परमेश्‍वरको सन्तानको रूपमा [पाइने] गौरवशाली स्वतन्त्रता” भनेको छ।—रोमी ८:२१.

१८ आदम र हव्वाले त्यस्तै स्वतन्त्रता पाएका थिए। अदनको बगैँचामा परमेश्‍वरले तिनीहरूलाई कति वटा निषेधाज्ञा दिनुभएको थियो? मात्र एउटा। तिनीहरूले केवल एउटा रूखको फल खानु हुँदैनथ्यो। (उत्प. २:९, १७) के त्यो निषेधाज्ञा कठोर र अन्यायपूर्ण थियो? पटक्कै थिएन! त्यसको तुलनामा मानिसले बनाएका असङ्‌ख्य नियम-कानुन विचार गर्नुहोस्‌ त! मानिसहरू ती नियम-कानुनबारे बुझेर ती पालन गर्न बाध्य छन्‌।

१९. यहोवा र येसुले हामीलाई कसरी स्वतन्त्र मानिस बन्‍न सिकाइरहनुभएको छ?

१९ यहोवा आफ्ना सेवकहरूसित निकै बुद्धिमानीपूर्वक व्यवहार गर्नुहुन्छ। असङ्‌ख्य नियमको बोझ बोकाउनुको साटो उहाँ धीरजी हुँदै हामीलाई प्रेमको व्यवस्थाअनुसार चल्न सिकाउनुहुन्छ। हामीले ईश्‍वरीय सिद्धान्तहरूअनुसार जीवन बिताएको र खराब कुरालाई घृणा गरेको उहाँ चाहनुहुन्छ। (रोमी १२:९) यसको एउटा एकदमै राम्रो उदाहरण येसुले दिनुभएको डाँडाको उपदेशमा पाउँछौँ। गलत कामसम्म पुऱ्‍याउने कुराको मुख्य जड के हो भनेर त्यस उपदेशमा येसुले बताउनुभयो। (मत्ति ५:२७, २८) परमेश्‍वरको राज्यको राजाको रूपमा ख्रिष्टले नयाँ संसारमा पनि हामीलाई सिकाइरहनुहुनेछ ताकि हामीले पनि धार्मिकता अनि दुष्टताप्रति हुबहु येसुको जस्तै दृष्टिकोण राख्न सकौँ। (हिब्रू १:९) उहाँले हामीलाई शारीरिक अनि मानसिक रूपमा पनि त्रुटिरहित अवस्थामा पुऱ्‍याउनुहुनेछ। कल्पना गर्नुहोस्‌ त, तपाईँले फेरि कहिल्यै पापी झुकावको सामना गर्नुपर्नेछैन वा त्यसको भयावह नतिजा भोग्नुपर्नेछैन। अन्ततः तपाईँले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको “गौरवशाली स्वतन्त्रता”-को आनन्द उठाउनुहुनेछ।

२०. (क) यहोवा आफ्नो स्वतन्त्रता कसरी प्रयोग गर्नुहुन्छ? (ख) तपाईँ कसरी उहाँको अनुकरण गर्न सक्नुहुन्छ?

२० हुनत हामीले पाउने स्वतन्त्रताको सधैँ एउटा सीमा हुनेछ। हामीले परमेश्‍वरप्रति र सङ्‌गी मानिसहरूप्रतिको प्रेमले उत्प्रेरित भएर आफ्नो स्वतन्त्रताको प्रयोग गर्नुपर्नेछ। यसो गऱ्‍यौँ भने हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौँ र वास्तवमा उहाँले चाहनुभएको कुरा पनि यही नै हो। उहाँको स्वतन्त्रताको कुनै सीमा छैन तैपनि आफ्नो बौद्धिक सृष्टिसित व्यवहार गर्दा उहाँले प्रेममा आधारित भएर चल्ने छनौट गर्नुभएको छ। (१ युह. ४:७, ८) त्यसकारण परमेश्‍वरको अनुकरण गर्दै प्रेममा आधारित भएर चल्यौँ भने मात्र हामीले साँचो स्वतन्त्रता पाउनेछौँ।

२१. (क) दाउदले यहोवाबारे कस्तो महसुस गरे? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२१ यहोवाले दिनुभएका थुप्रै “असल कुराहरू”-को के तपाईँ मोल गर्नुहुन्छ? जस्तै: प्रशस्त आध्यात्मिक भोजन, असल साथीहरू, अर्थपूर्ण लक्ष्य अनि साँचो स्वतन्त्रता पाउने आशा। (भज. १०३:५) यदि तपाईँ यी कुराहरूको मोल गर्नुहुन्छ भने भजन १६:११ मा दाउदले यहोवालाई प्रार्थनामा बताएको कुरा सायद तपाईँले पनि महसुस गर्न सक्नुहुनेछ: “तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईँको उपस्थितिमा म आनन्दले भरिन्छु। तपाईँको दाहिने बाहुलीमा रहँदा म सदा आनन्दित हुन्छु।” अर्को लेखमा हामी भजन १६ अध्यायमा पाइने अरू बहुमूल्य रत्नहरू केलाउनेछौँ। जीवनमा साँचो सन्तुष्टि पाउने मुख्य तरिकाहरूबारे अझ राम्ररी बुझ्न त्यसले हामीलाई मदत गर्नेछ।