सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४९

काम र आरामको लागि “उचित समय छ”

काम र आरामको लागि “उचित समय छ”

“तिमीहरू . . . एकान्तमा आओ र केहीबेर आराम गर।”—मर्कु. ६:३१.

गीत १४३ हार नमानी यहोवाको दिनको प्रतीक्षा गरौँ!

परिचय *

१. कामप्रति धेरैजसो मानिसको दृष्टिकोण कस्तो छ?

तपाईँ बस्ने ठाउँका धेरैजसो मानिसको कामप्रति कस्तो दृष्टिकोण छ? धेरै देशका मानिसहरू पहिलाभन्दा अझै घोटिएर काम गर्छन्‌ अनि काममा धेरै समय बिताउँछन्‌। धेरै काम गर्ने मानिसहरूसित आराम गर्ने, परिवारसित समय बिताउने अथवा आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्ने फुर्सद समेत हुँदैन। (उप. २:२३) अर्कोतर्फ, केही मानिसलाई काम गर्न पटक्कै मन पर्दैन अनि तिनीहरू काम नगर्न अनेक बहाना बनाउँछन्‌।—हितो. २६:१३, १४.

२-३. काम गर्ने सन्दर्भमा यहोवा र येसुले कस्तो उदाहरण बसाल्नुभयो?

यहोवा र येसुको कामप्रतिको दृष्टिकोण संसारको असन्तुलित दृष्टिकोणभन्दा बिलकुलै फरक छ। उहाँहरूको दृष्टिकोण कस्तो छ? येसुले यसो भन्‍नुभयो: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ र म पनि गर्दै छु।” (युह. ५:१७) यहोवालाई काम गर्न मन पर्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। उहाँले अनगिन्ती स्वर्गदूतहरू र विशाल ब्रह्‍माण्ड सृष्टि गर्नुहुँदा धेरै काम गर्नुभयो। यो सुन्दर पृथ्वीमा पनि यहोवाले गर्नुभएको सृष्टिका असङ्‌ख्य कामहरू देख्छौँ। त्यसैकारण भजनहारले यसो भन्‍नु धेरै उपयुक्‍त छ: “हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्‌! ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो। पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ।”—भज. १०४:२४.

येसुले आफ्नो बुबाको अनुकरण गर्नुभयो। बुद्धिको मूर्तरूप येसुले परमेश्‍वरले ‘आकाश बनाउनुहुँदा’ उहाँलाई मदत गर्नुभयो। उहाँले “मुख्य कारिगरको रूपमा” यहोवासँगै काम गर्नुभयो। (हितो. ८:२७-३१) धेरै समयपछि पृथ्वीमा आउनुभएको बेलामा पनि येसुले ठूलठूला कामहरू गर्नुभयो। यस्तो काम उहाँको लागि भोजनसरह थियो अनि ती कामहरूले उहाँलाई परमेश्‍वरले नै पठाउनुभएको हो भनेर प्रमाणित गर्थ्यो।—युह. ४:३४; ५:३६; १४:१०.

४. आराम गर्ने सन्दर्भमा हामी यहोवा र येसुबाट के सिक्न सक्छौँ?

यहोवा र येसुले काम गर्ने सन्दर्भमा बसाल्नुभएको उदाहरण विचार गर्दा हामीले आराम नै नगरी काम गरेको गऱ्‍यै गर्नुपर्छ भन्‍ने निष्कर्षमा पुग्नुपर्छ र? अहँ, पर्दैन। यहोवालाई कहिल्यै थकाइ लाग्दैन, त्यसैले उहाँलाई आराम चाहिँदैन। तैपनि आकाश र पृथ्वी सृष्टि गर्नुभएपछि यहोवाले “काम गर्नुभएन; उहाँले विश्राम लिनुभयो” भनेर चाहिँ बाइबलमा बताइएको छ। (प्रस्थ. ३१:१७) त्यसको मतलब, यहोवाले सृष्टिको काम रोक्नुभयो अनि आफूले गरेको सृष्टि हेरेर त्यसबाट आनन्द लिनुभयो। हुनत पृथ्वीमा हुनुहुँदा येसुले कडा परिश्रम गर्नुभयो तैपनि उहाँले आराम गर्न समय निकाल्नुभयो अनि साथीहरूसित बसेर खाना खानुभयो।—मत्ति १४:१३; लुका ७:३४.

५. धेरैलाई के गर्न गाह्रो भइरहेको छ र किन?

बाइबलले परमेश्‍वरका सेवकहरूलाई कामबाट आनन्द उठाउन प्रोत्साहन दिन्छ। तिनीहरू अल्छी होइन, मेहनती हुनुपर्छ। (हितो. १५:१९) सायद तपाईँ आफ्नो परिवारको पालनपोषण गर्न काम गर्नुहुन्छ। साथै सुसमाचार प्रचार गर्ने काममा भाग लिनु ख्रिष्टका सबै चेलाको जिम्मेवारी हो। तर तपाईँले पर्याप्त आराम पनि गर्नुपर्छ। के तपाईँलाई कहिलेकाहीँ काम, प्रचार र आराम गर्ने सन्दर्भमा सन्तुलन कायम गर्न गाह्रो भइरहेको छ? हामीले कति काम गर्नुपर्छ र कति आराम गर्नुपर्छ भनेर कसरी थाह पाउन सक्छौँ?

सन्तुलित दृष्टिकोण कसरी राख्न सक्छौँ?

६. मर्कुस ६:३०-३४ ले काम र आरामप्रति येसुले सन्तुलित दृष्टिकोण राख्नुभएको थियो भनेर कसरी देखाउँछ?

हामीले कामको सन्दर्भमा सन्तुलित दृष्टिकोण राख्नुपर्छ। राजा सुलेमानले परमेश्‍वरको प्रेरणा पाएर यस्तो लेखे: “सबै कामको लागि उचित समय छ।” तिनले रोप्ने, बनाउने, रुने, हाँस्ने, नाँच्ने र अरू कामबारे उल्लेख गरे। (उप. ३:१-८) स्पष्ट छ, जीवनको दुइटा महत्त्वपूर्ण पाटो काम र आराम हो। काम र आरामप्रति येसुले सन्तुलित दृष्टिकोण राख्नुभएको थियो। एकपटक प्रेषितहरू प्रचारकार्यमा यत्ति व्यस्त भएका थिए कि तिनीहरूसित “खाने फुर्सतसमेत” थिएन। त्यसैले येसुले यसो भन्‍नुभयो: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र केहीबेर आराम गर।” (मर्कुस ६:३०-३४ पढ्‌नुहोस्‌) हुनत येसु र उहाँका चेलाहरू कुनै-कुनै बेला पटक्कै आराम गर्न पाउनुहुन्‍न थियो तर सबैलाई आराम चाहिन्छ भनेर येसुलाई थाह थियो।

७. विश्रामदिनको नियमलाई विचार गरेर हामी के लाभ उठाउन सक्छौँ?

कहिलेकाहीँ हामीलाई आराम चाहिन्छ अथवा आफ्नो दिनचर्यामा केही फेरबदल गर्नुपर्ने हुन सक्छ। यो कुरा यहोवाले पहिले-पहिलेका आफ्ना सेवकहरूको लागि गरिदिनुभएको एउटा प्रबन्धबाट बुझ्न सक्छौँ। त्यो थियो, साप्ताहिक विश्रामदिन। हामीले मोसाको व्यवस्था पालन गर्नुपर्दैन तैपनि व्यवस्थामा विश्रामदिनबारे बताइएको कुरा विचार गरेर लाभ उठाउन सक्छौँ। हामीले त्यसबाट सिक्ने कुराले काम र आरामप्रतिको हाम्रो दृष्टिकोण केलाउन मदत गर्न सक्छ।

विश्रामदिन—आराम र उपासना गर्ने दिन

८. प्रस्थान ३१:१२-१५ अनुसार विश्रामदिन के गर्ने दिन थियो?

परमेश्‍वरको वचनले बताएअनुसार छ “दिन”-सम्म सृष्टि गर्नुभएपछि परमेश्‍वरले पृथ्वीमा सृष्टिको कामबाट विश्राम लिनुभयो। (उत्प. २:२) तर यहोवालाई काम गर्न मन पर्छ अनि उहाँ अरू “काम गर्दै हुनुहुन्छ।” (युह. ५:१७) उत्पत्तिको किताबमा यहोवाले छ दिन काम गर्नुभएपछि सातौँ दिनमा विश्राम लिनुभयो भनी लेखिएको छ। साप्ताहिक विश्रामदिनको प्रबन्ध त्यससित मिल्दोजुल्दो छ। विश्रामदिन यहोवा र इस्राएलबीच रहिरहने चिन्ह थियो भनेर उहाँले बताउनुभयो। यो “पूरै आराम गर्ने दिन” थियो र ‘यो दिनलाई यहोवा परमेश्‍वर पवित्र ठान्‍नुहुन्थ्यो।’ (प्रस्थान ३१:१२-१५ पढ्‌नुहोस्‌) विश्रामदिनमा काम नगर्नू भनेर दिइएको निषेधाज्ञा सबैलाई लागू हुन्थ्यो, चाहे तिनीहरू केटाकेटी, दास अथवा घरपालुवा जनावर नै किन नहोऊन्‌। (प्रस्थ. २०:१०) विश्रामदिनको प्रबन्धले मानिसहरूलाई आध्यात्मिक कुराहरूमा अझ ध्यान दिन मदत गर्थ्यो।

९. येसुको समयमा विश्रामदिनबारे कसै-कसैले कस्तो गलत धारणा राखेका थिए?

विश्रामदिनको प्रबन्ध परमेश्‍वरका सेवकहरूको भलाइको लागि थियो। तर येसुको समयका थुप्रै धर्मगुरुले विश्रामदिनसम्बन्धी एकदमै कडा नियमहरू बनाएका थिए। तिनीहरूले विश्रामदिनमा गहुँको बाला टिप्दा वा बिरामीलाई निको पार्दा विश्रामदिनको नियम उल्लङ्‌घन भएको दाबी गर्थे। (मर्कु. २:२३-२७; ३:२-५) त्यस्तो सोचाइ परमेश्‍वरको सोचाइसित मेल खाँदैनथ्यो र यो कुरा येसुले उहाँको कुरा सुन्‍न चाहनेहरूलाई प्रस्ट पार्नुभयो।

येसुको परिवारले आध्यात्मिक गतिविधिमा भाग लिएर विश्रामदिन बिताउँथ्यो (अनुच्छेद १० हेर्नुहोस्‌) *

१०. मत्ति १२:९-१२ को विवरणबाट विश्रामदिनप्रति येसुको दृष्टिकोणबारे के सिक्न सक्छौँ?

१० येसु र उहाँका यहुदी अनुयायीहरू विश्रामदिन मान्थे किनभने तिनीहरू मोसाको व्यवस्थाको * अधीनमा थिए। तर विश्रामदिन मान्‍नु भनेको अव्यावहारिक हुनु होइन अनि त्यस दिन अरूलाई दया देखाउने र मदत गर्ने काम गर्नु गलत होइन भनेर येसुले आफ्नो बोली र व्यवहारद्वारा देखाउनुभयो। उहाँले यसरी प्रस्ट पार्नुभयो: “विश्रामदिनमा असल काम गर्दा नियम उल्लङ्‌घन हुँदैन।” (मत्ति १२:९-१२ पढ्‌नुहोस्‌) उहाँले विश्रामदिनमा अरूलाई दया देखाउने र मदत गर्ने काम गर्दा विश्रामदिनको उल्लङ्‌घन हुन्छ भन्‍ने दृष्टिकोण राख्नुभएन। येसुले आफ्नो व्यवहारद्वारा विश्रामदिन मान्‍नुपर्ने एउटा महत्त्वपूर्ण कारण प्रस्ट पार्नुभयो। परमेश्‍वरका सेवकहरूले जीविकोपार्जन गर्ने कामबाट त्यस दिन विश्राम लिने भएकाले तिनीहरू आध्यात्मिक कुरामा ध्यान केन्द्रित गर्न सक्थे। येसु जुन परिवारमा हुर्कनुभयो, त्यो परिवारमा विश्रामदिनलाई पक्कै पनि परमेश्‍वरको उपासना गर्ने दिनको रूपमा हेर्ने गरिएको हुन सक्छ। यो कुरा येसुले आफ्नो गृहनगर नासरतमा छँदा जे गर्नुभयो, त्यसबाट थाह पाउन सक्छौँ: “[येसु] आफ्नो बानीअनुसार विश्रामदिनमा सभाघरभित्र पस्नुभयो र धर्मशास्त्र पढ्‌नलाई उभिनुभयो।”—लुका ४:१५-१९.

तपाईँ कामप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

११. येसुले कसलाई हेरेर मेहनत गर्न सिक्नुभयो?

११ युसुफले कामप्रति पक्कै पनि परमेश्‍वरको जस्तै दृष्टिकोण राखेको हुनुपर्छ। तिनले आफ्नो धर्मपुत्र येसुलाई सिकर्मीको काम सिकाउँदा त्यस्तै दृष्टिकोण राख्न सिकाएको हुनुपर्छ। (मत्ति १३:५५, ५६) साथै युसुफले आफ्नो ठूलो परिवारको लालनपालन गर्न दिनदिनै मेहनत गरेको पनि येसुले देख्नुभएको हुनुपर्छ। रोचक कुरा, येसुले पछि आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “कामदार आफ्नो ज्याला पाउन योग्यको हुन्छ।” (लुका १०:७) हो, मेहनत गर्नु भनेको के हो, येसुलाई राम्ररी थाह थियो।

१२. बाइबलले पावल मेहनती थिए भनेर कसरी देखाउँछ?

१२ प्रेषित पावल पनि मेहनती थिए। येसुको नाम र शिक्षाको साक्षी दिनु तिनको मुख्य काम थियो। तर तिनले आफ्नो गर्जो टार्न काम पनि गरे। तिनी “कसैको निम्ति खर्चिलो बोझ” नबन्‍न “मेहनत र कडा परिश्रम गरेर दिनरात काम” गर्थे भनेर थिस्सलोनिकीहरूलाई थाह थियो। (२ थिस्स. ३:८; प्रेषि. २०:३४, ३५) पावलले यहाँ पाल सिलाउने आफ्नो पेसालाई सङ्‌केत गरेका हुन सक्छन्‌। तिनी कोरिन्थमा छँदा अक्विला र प्रिस्किलासित बसे अनि “सँगै काम गरे किनकि तिनीहरूको पेसा पाल सिलाउने थियो।” पावलले “दिनरात” काम गरे भन्‍नुको अर्थ तिनले आराम नै नगरी काम गरिरहे भन्‍ने होइन। तिनी पाल सिलाउने कामबाट विश्राम लिन्थे, जस्तै: विश्रामदिनमा। त्यस दिन तिनी यहुदीहरूलाई साक्षी दिने मौका पाउँथे किनभने उनीहरू पनि विश्रामदिनमा काम गर्दैनथे।—प्रेषि. १३:१४-१६, ४२-४४; १६:१३; १८:१-४.

१३. हामी पावलको उदाहरणबाट के सिक्न सक्छौँ?

१३ प्रेषित पावलले राम्रो उदाहरण बसाले। तिनले आफ्नो गर्जो टार्न काम गर्नुपर्थ्यो। तैपनि तिनी “परमेश्‍वरको सुसमाचार घोषणा गर्ने पवित्र काममा” नियमित रूपमा भाग लिन्थे। (रोमी १५:१६; २ कोरि. ११:२३) तिनले अरूलाई पनि त्यसै गर्न आग्रह गरे। अक्विला र प्रिस्किला ‘ख्रिष्ट येसुमा तिनका सहकर्मीहरू’ थिए। (रोमी १२:११; १६:३) पावलले कोरिन्थका भाइबहिनीलाई “प्रभुको काममा सधैँ व्यस्त” हुन आग्रह गरे। (१ कोरि. १५:५८; २ कोरि. ९:८) यहोवाको प्रेरणा पाएर प्रेषित पावलले यस्तो पनि लेखे: “काम गर्न नचाहनेले खाँदा पनि नखाओस्‌।”—२ थिस्स. ३:१०.

१४. युहन्‍ना १४:१२ मा येसुले भन्‍नुभएको कुराको अर्थ के हो?

१४ यस अन्तको दिनमा प्रचार गर्नु र चेला बनाउनु नै सबैभन्दा महत्त्वपूर्ण काम हो। वास्तवमा चेलाहरूले आफूले भन्दा पनि ठूला कामहरू गर्नेछन्‌ भनेर येसुले भविष्यवाणी गर्नुभयो। (युहन्‍ना १४:१२ पढ्‌नुहोस्‌) उहाँको भनाइको अर्थ हामीले पनि उहाँले जस्तै चमत्कारहरू गर्नेछौँ भन्‍ने त थिएन। बरु आफूले भन्दा चेलाहरूले अझ धेरै ठाउँमा, धेरै मानिसलाई अनि धेरै समयसम्म प्रचार गर्ने र सिकाउने काम गर्नेछन्‌ भनेर येसुले बताउँदै हुनुहुन्थ्यो।

१५. हामीले आफैलाई कुन-कुन प्रश्‍नहरू सोध्न सक्छौँ? किन?

१५ तपाईँ जागिर खानुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘के म काम गर्ने ठाउँमा मेहनती कामदार भनेर चिनिन्छु? के म आफ्नो काम समयमै अनि राम्ररी सिध्याउँछु?’ यदि यी प्रश्‍नहरूको सकारात्मक जवाफ दिन सक्नुहुन्छ भने तपाईँले आफ्नो हाकिमको भरोसा कमाउन सक्नुहुन्छ। साथै तपाईँका सहकर्मीहरू सायद सुसमाचार सुन्‍न इच्छुक हुनेछन्‌। प्रचार गर्ने र सिकाउने काम गर्दा आफैलाई सोध्नुहोस्‌: ‘के म जोसिलो प्रचारक भनेर चिनिन्छु? के म पहिलो भेटको लागि राम्ररी तयार गर्छु? चासो देखाएका मानिसहरूलाई के म तुरुन्तै भेट्‌न जान्छु? प्रचारकार्यको विभिन्‍न पक्षमा के म नियमित रूपमा भाग लिन्छु?’ यदि यी प्रश्‍नहरूको सकारात्मक जवाफ दिन सक्नुहुन्छ भने तपाईँ प्रचारकार्यमा रमाउनुभएको प्रस्टै देखिन्छ।

तपाईँ आरामप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

१६. आरामप्रति येसु र प्रेषितहरूको दृष्टिकोण अनि आज धेरैजसो मानिसको दृष्टिकोणबीच कस्तो भिन्‍नता छ?

१६ आफू र आफ्ना चेलाहरूलाई कहिलेकाहीँ आराम चाहिन्छ भनेर येसुलाई थाह थियो। तर त्यतिबेला अनि अहिले धेरैजसो मानिस येसुले बताउनुभएको उदाहरणको धनी मानिसजस्तै छन्‌। त्यस मानिसले निष्फिक्री हुँदै यसो भन्यो: “आरामसित बसेर खा, पि अनि मोज गर्‌।” (लुका १२:१९; २ तिमो. ३:४) उसले आफ्नो मन सुखविलासमा लगायो। अर्कोतर्फ, येसु र प्रेषितहरूले सुखविलासलाई महत्त्वपूर्ण ठान्‍नुभएन।

काम र आरामप्रति हाम्रो दृष्टिकोण सन्तुलित छ भने राम्रो काममा ध्यान दिन सक्नेछौँ (अनुच्छेद १७ हेर्नुहोस्‌) *

१७. आराम गर्ने समयलाई हामी कसरी सदुपयोग गर्छौँ?

१७ आज हामी बिदाको दिनमा आराम गर्नुका साथै मानिसहरूलाई राज्यको सुसमाचार सुनाएर, ख्रिष्टियन सभाहरूमा उपस्थित भएर त्यसको सदुपयोग गर्छौँ। यसरी आराम गर्ने समयको सदुपयोग गरेर हामी येसुको अनुकरण गर्छौँ। वास्तवमा हामी चेला बनाउने कामलाई अनि सभामा उपस्थित हुनुलाई धेरै महत्त्वपूर्ण ठान्छौँ। त्यसैले ती पवित्र गतिविधिमा भाग लिन हरप्रयास गर्छौँ। (हिब्रू १०:२४, २५) बिदा मनाउन कतै गएको बेलामा समेत सभा छुटाउँदैनौँ। साथै आफूले भेट्‌ने मानिसहरूसित बाइबलको विषयमा कुराकानी गर्ने मौका खोज्छौँ।—२ तिमो. ४:२.

१८. हाम्रा राजा येसु ख्रिष्ट हामीले के गरेको चाहनुहुन्छ?

१८ हाम्रा राजा येसु ख्रिष्ट काम र आरामको सन्दर्भमा व्यावहारिक हुनुहुन्छ र हामीलाई पनि त्यस्तै सन्तुलित दृष्टिकोण राख्न मदत गर्नुहुन्छ। (हिब्रू ४:१५) हामीलाई आराम चाहिएको बेला आराम गरेको पनि उहाँ चाहनुहुन्छ। साथै हामीले आफ्नो जीविका चलाउन मेहनत गरेर काम गरेको अनि चेला बनाउने स्फूर्तिदायी काममा भाग लिएको उहाँ चाहनुहुन्छ। अर्को लेखमा येसुले हामीलाई एक प्रकारको क्रूर दासत्वबाट छुटाउन कस्तो भूमिका निर्वाह गर्नुभयो, त्यसबारे छलफल गर्नेछौँ।

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

^ अनु. 5 धर्मशास्त्रले हामीलाई काम र आरामप्रति सन्तुलित दृष्टिकोण राख्न सिकाउँछ। यस लेखले इस्राएलीहरूको लागि गरिएको साप्ताहिक विश्रामदिनको प्रबन्धलाई उदाहरणको रूपमा प्रयोग गरेर काम र आरामप्रति हामीले राख्नुपर्ने दृष्टिकोणबारे बुझ्न मदत गर्छ।

^ अनु. 10 येसुका चेलाहरूको मनमा विश्रामदिनप्रति यत्ति गहिरो आदरभाव थियो कि तिनीहरूले येसुको शव गाड्‌ने तयारी रोके अनि विश्रामदिनपछि मात्र त्यो काम फेरि गरे।—लुका २३:५५, ५६.

^ अनु. 55 चित्रको व्याख्या: युसुफ आफ्नो परिवारलाई विश्रामदिनमा सभाघर लैजान्छन्‌।

^ अनु. 57 चित्रको व्याख्या: परिवारको लालनपालनको लागि काम गर्ने बुबा परिवारसँगै बिदा मनाउन जाँदा पनि परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिमा भाग लिन्छन्‌।