सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

सैतानले हव्वालाई उनले असल र खराबको ज्ञान दिने रूखको फल खाइन्‌ भने मर्नेछैनन्‌ भन्यो। के सैतानले आत्मा अमर रहन्छ भन्‍ने आज संसारमा व्याप्त धारणाको सुरुवात गरेको थियो?

थिएन। परमेश्‍वरले खान निषेध गर्नुभएको फल खाएमा हव्वा अरूको नजरमा मरेसरह हुनेछिन्‌ तर उनमा भएको अदृश्‍य भागचाहिँ (जसलाई आज कसै-कसैले अमर आत्मा भन्छन्‌) कतै जीवित रहनेछ भनेर सैतानले उनलाई भनेको थिएन। सर्पमार्फत बोल्दा सैतानले के दाबी गर्दै थियो भने त्यो रूखको फल खाएमा हव्वा ‘कदापि मर्ने थिइनन्‌।’ मतलब, सैतानले उनी बाँचिरहनेछिन्‌ अनि परमेश्‍वरबाट स्वतन्त्र भएर पृथ्वीमा अझ सुखमय जीवन बिताउन सक्नेछिन्‌ भन्‍न खोज्दै थियो।—उत्प. २:१७; ३:३-५.

आत्मा अमर रहन्छ भनेर अहिले सिकाइने झूटो शिक्षाको सुरुवात यदि अदनको बगैँचाबाट भएको थिएन भने कहाँबाट भयो त? हामी यकिनका साथ भन्‍न सक्दैनौँ। नुहको समयको जलप्रलयमा सबै प्रकारको झूटो उपासनाको नामोनिसान मेटियो भनेर हामीलाई थाह छ। नुह र तिनका परिवार मात्र जलप्रलयबाट बचेका थिए र तिनीहरू सबै साँचो उपासकहरू थिए। त्यसैले त्यतिबेला झूटा धार्मिक शिक्षाहरू सिकाउने कोही पनि थिएन।

स्पष्ट छ, अहिले अमर आत्माबारे सिकाइने शिक्षा जलप्रलयपछि मात्र सुरु भएको हुनुपर्छ। परमेश्‍वरले बाबेलमा भाषा गोलमाल पार्नुहुँदा अनि मानिसहरूलाई “पृथ्वीभरि” तितरबितर पार्नुहुँदा तिनीहरूले आत्मा अमर हुन्छ भन्‍ने धारणा पनि आफूसितै लगे भन्‍न सक्छौँ। (उत्प. ११:८, ९) यस्तो गलत धारणा ठ्याक्क कहिलेदेखि सुरु भयो भनेर थाह नभए तापनि यसको पछाडि “झूटको बुबा” दियाबलको हात थियो अनि त्यस्तो शिक्षा चारैतिर फैलिएको देख्दा त्यो खुसी भयो भनेर चाहिँ हामी यकिनका साथ भन्‍न सक्छौँ।—युह. ८:४४.