सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ५२

तपाईँका छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनुहोस्‌

तपाईँका छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनुहोस्‌

“छोराछोरी यहोवाका वरदान हुन्‌।”—भज. १२७:३, फुटनोट।

गीत १३४ छोराछोरी—यहोवाको नासो

परिचय *

१. यहोवाले आमाबुबालाई कस्तो जिम्मेवारी सुम्पनुभएको छ?

यहोवाले प्रथम दम्पतीलाई छोराछोरी जन्माउने चाहनासहित सृष्टि गर्नुभएको थियो। त्यसैले त बाइबलमा यसो भनिएको छ: “छोराछोरी यहोवाका वरदान हुन्‌।” (भज. १२७:३, फुटनोट) तर यसको अर्थ के हो? मानौँ, तपाईँको एक जना मिल्ने साथीले ऊसँग भएको ठूलो रकम तपाईँलाई राख्न दिन्छ। तपाईँलाई कस्तो लाग्छ? उसको तपाईँमाथिको भरोसा देखेर गर्व लाग्छ होला। तर तपाईँलाई त्यो पैसा कसरी सुरक्षित राख्ने भनेर चिन्ता पनि लाग्छ होला। त्यसैगरि हाम्रो सबैभन्दा मिल्ने साथी यहोवाले आमाबुबालाई एउटा कुराको हेरविचार गर्ने जिम्मा दिनुभएको छ, जुन पैसाभन्दा कैयौँ गुणा मूल्यवान्‌ छ। उहाँले आमाबुबालाई छोराछोरीको राम्ररी हेरविचार गर्ने र उनीहरूको खुसीको ख्याल राख्ने जिम्मेवारी सुम्पनुभएको छ।

२. हामी के छलफल गर्नेछौँ?

छोराछोरी जन्माउने कि नजन्माउने अनि जन्माउने हो भने कहिले जन्माउने, त्यो निर्णय गर्ने जिम्मेवारी कसको हो? अनि छोराछोरी सुखी होऊन्‌ भनेर आमाबुबाले के गर्न सक्छन्‌? ख्रिष्टियन दम्पतीहरूलाई सही निर्णय गर्न मदत गर्ने बाइबलका केही सिद्धान्तहरू अब विचार गरौँ।

दम्पतीको निर्णयको कदर गर्नुहोस्‌

३. (क) छोराछोरी जन्माउने कि नजन्माउने भनेर निर्णय गर्ने जिम्मेवारी कसको हो? (ख) दम्पतीको साथीभाइ र परिवारले बाइबलको कुन सिद्धान्त मनमा राख्नुपर्छ?

कुनै-कुनै समाजमा नवविवाहित दम्पतीहरूले सकेसम्म छिटो छोराछोरी जन्माएको आस गरिन्छ। परिवार र अरूले तिनीहरूलाई दबाब समेत दिन सक्छन्‌। एसियाका एक जना भाइ जेथ्रो यसो भन्छन्‌: “मण्डलीमा छोराछोरी भइसकेका भाइबहिनीले अरू दम्पतीलाई सन्तान जन्माउन दबाब दिन्छन्‌।” एसियाका अर्का एक जना भाइ जेफ्री यसो भन्छन्‌: “कसै-कसैले छोराछोरी बुढेसकालको सहारा हो भनेर बताउने गर्छन्‌।” तर छोराछोरी जन्माउने कि नजन्माउने, त्यो प्रत्येक दम्पतीको आफ्नै निर्णय हो; त्यो तिनीहरूकै जिम्मेवारी हो। (गला. ६:५, फुटनोट) परिवार र साथीभाइले नवविवाहित जोडी सफल भएको चाहनु स्वाभाविकै हो तर छोराछोरी जन्माउने कि नजन्माउने, त्यो निर्णय गर्ने अधिकार भने दम्पतीकै हो भनेर सबैले स्विकार्नुपर्छ।—१ थिस्स. ४:११.

४-५. दम्पतीले कुन दुई विषयमा छलफल गर्नुपर्छ अनि त्यसबारे कहिले छलफल गर्नु बेस हो?

छोराछोरी जन्माउन चाहनेहरूले यी दुई महत्त्वपूर्ण प्रश्‍न छलफल गर्नु बेस हुन्छ: पहिलो, बच्चा कहिले जन्माउने? दोस्रो, कति जना जन्माउने? यसबारे दम्पतीले कहिले छलफल गर्नु उपयुक्‍त हुन्छ? अनि यी दुई विषय किन महत्त्वपूर्ण छन्‌?

साधारणतया विवाह हुनुअघि नै छोराछोरी जन्माउने विषयमा छलफल गर्नु बेस हो। किन? किनभने यसबारे दुवै जनाको सोचाइ एउटै हुनु महत्त्वपूर्ण छ। तिनीहरू त्यो जिम्मेवारी बहन गर्न तयार छन्‌ कि छैनन्‌ भनेर पनि विचार गर्नुपर्छ। कुनै-कुनै दम्पतीले विवाह गरेको एक-दुई वर्षपछि मात्र छोराछोरी जन्माउने निर्णय गरेका छन्‌ किनभने छोराछोरी जन्मेपछि तिनीहरूले आफ्नो धेरै समय र शक्‍ति उनीहरूको लागि खर्च गर्नुपर्ने हुन्छ। तिनीहरूको विचारमा यसो गर्दा वैवाहिक जिम्मेवारी सम्हाल्न पर्याप्त समय पाउँछन्‌ अनि एकअर्कासित घनिष्ठ हुन सक्छन्‌।—एफि. ५:३३.

६. हामी बाँचिरहेको समय असाध्यै कठिन भएकोले कतिपय दम्पतीले कस्तो निर्णय गरेका छन्‌?

अरू ख्रिष्टियनले नुहका तीन छोरा-बुहारीले बसालेको उदाहरणअनुसार चल्ने छनौट गरेका छन्‌। ती तीन दम्पतीले विवाह गर्नेबित्तिकै छोराछोरी जन्माएनन्‌। (उत्प. ६:१८; ९:१८, १९; १०:१; २ पत्रु. २:५) येसुले हाम्रो समयलाई “नुहको दिन”-सित तुलना गर्नुभयो अनि अर्को कुरा, हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ। (मत्ति २४:३७; २ तिमो. ३:१) यी कुराहरू मनमा राख्दै कतिपय दम्पतीले सेवाको काममा अझ धेरै भाग लिन केही समय छोराछोरी नजन्माउने निर्णय गरेका छन्‌।

छोराछोरी जन्माउने कि नजन्माउने अनि जन्माउने हो भने कति जना जन्माउने निर्णय गर्नुअघि बुद्धिमान्‌ दम्पतीहरू “खर्च . . . हिसाब” गर्छन्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌) *

७. दम्पतीहरूले लुका १४:२८-३० र हितोपदेश २१:५ का सिद्धान्तहरूबाट के मदत पाउन सक्छन्‌?

छोराछोरी जन्माउने कि नजन्माउने अनि जन्माउने हो भने कति जना जन्माउने भन्‍नेबारे निर्णय गर्दा समझदार दम्पतीहरू “खर्च . . . हिसाब” गर्छन्‌। (लुका १४:२८-३० पढ्‌नुहोस्‌) अनुभवी आमाबुबालाई छोराछोरी जन्माउन र हुर्काउन खर्चको साथै समय र शक्‍ति चाहिन्छ भनेर थाह छ। त्यसैले दम्पतीहरूले यस्ता प्रश्‍नहरू विचार गर्नु आवश्‍यक छ: ‘परिवारको आधारभूत आवश्‍यकता पूरा गर्न हामी दुवैले काम गर्नुपर्ने हो कि? हाम्रा “आधारभूत आवश्‍यकताहरू” के-के हुन्‌ भन्‍ने कुरामा के हामी दुवै सहमत छौँ? यदि हामी दुवैले काम गर्नुपऱ्‍यो भने छोराछोरीलाई कसले हेर्ने? तिनीहरूलाई तालिम दिने र सिकाउने जिम्मा कसको हातमा छोड्‌ने?’ यस्ता प्रश्‍नहरूबारे राम्ररी छलफल गर्ने दम्पतीहरूले हितोपदेश २१:५ का शब्दहरू लागू गरिरहेका हुन्छन्‌।—पढ्‌नुहोस्‌।

मायालु पतिले छोराछोरीको हेरविचार गरिदिएर पत्नीलाई सजिलो बनाइदिन्छन्‌ (अनुच्छेद ८ हेर्नुहोस्‌)

८. ख्रिष्टियन दम्पतीले कस्ता चुनौतीहरू आइपर्न सक्छ भनेर बिर्सनु हुँदैन? मायालु पतिले के गर्छन्‌?

छोराछोरी हुर्काउन आमाबुबा दुवैले धेरै समय र शक्‍ति खर्च गर्नुपर्ने हुन्छ अनि बच्चा हुर्काउन त्यो दिनै पर्ने कुरा पनि हो। यदि कुनै दम्पतीले धेरै समय फरक नराखी छोराछोरी जन्माएका छन्‌ भने सबै छोराछोरीलाई ध्यान पुऱ्‍याउन गाह्रो हुन सक्छ। साना छोराछोरी धेरै भएको आमाबुबाले आफूहरूलाई हम्मेहम्मे परेको मानिलिएका छन्‌। शारीरिक र मानसिक थकानले गर्दा सायद आमालाई गाह्रो भइरहेको होला। यस्तो बेला नियमित रूपमा अध्ययन गर्ने, प्रार्थना गर्ने र प्रचारकार्यमा भाग लिने उनको तालिकामा असर पर्दैन होला र? उनलाई सभामा ध्यान दिन र त्यसबाट लाभ उठाउन पनि गाह्रो हुन सक्छ। यस्तो बेला मायालु पतिले राज्यभवन र घरमा छोराछोरीको हेरविचार गरिदिएर पत्नीलाई सक्दो सजिलो बनाइदिन्छन्‌। जस्तै: तिनले घरायसी कामकाजमा हात बटाएर पत्नीलाई सहयोग गर्न सक्छन्‌। तिनले परिवारका सबै जनाले पारिवारिक उपासनाबाट लाभ उठाउन पाइरहेका छन्‌ कि छैनन्‌ भनेर पक्का गर्छन्‌। साथै तिनी नियमित रूपमा आफ्नो परिवारसँगै प्रचारकार्यमा भाग लिन्छन्‌।

छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनुहोस्‌

९-१०. छोराछोरीलाई मदत गर्न आमाबुबाले के गर्नुपर्छ?

छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउन आमाबुबाले के-के गर्नुपर्छ? तिनीहरूले छोराछोरीलाई अहिले व्याप्त नैतिक भ्रष्टताबाट कसरी जोगाउन सक्छन्‌? आमाबुबाले गर्न सक्ने केही कुराहरू विचार गर्नुहोस्‌।

१० यहोवालाई प्रार्थना गरेर मदत माग्नुहोस्‌। सिमसोनका आमाबुबालाई याद गर्नुहोस्‌। मानोहले आफू बुबा बन्‍न लागेको कुरा थाह पाएपछि छोरालाई कसरी हुर्काउने भन्‍ने विषयमा यहोवासित डोऱ्‍याइ मागे।

११. न्यायकर्ता १३:८ अनुसार आमाबुबाले कसरी मानोहको अनुकरण गर्न सक्छन्‌?

११ बोस्निया हर्जगोभिनाका निहाद र अल्माले मानोहबाट सिके। तिनीहरू भन्छन्‌: “मानोहले जस्तै हामीले पनि यहोवालाई असल आमाबुबा बन्‍न मदत गर्नुहोस्‌ भनेर बिन्ती गऱ्‍यौँ। उहाँले बाइबल, बाइबलआधारित साहित्यहरू, मण्डलीका सभाहरू अनि अधिवेशनहरूमार्फत हाम्रा प्रार्थनाहरूको जवाफ दिनुभयो।”न्यायकर्ता १३:८ पढ्‌नुहोस्‌।

१२. युसुफ र मरियमले आफ्ना छोराछोरीको लागि कस्तो उदाहरण बसाले?

१२ आफ्नो बोली र व्यवहारबाट सिकाउनुहोस्‌। तपाईँको जे भन्‍नुहुन्छ, छोराछोरीले त्यसबाट सिकिरहेका हुन्छन्‌। तर तपाईँ जे गर्नुहुन्छ, त्यसबाट चाहिँ छोराछोरीले झन्‌ धेरै सिकिरहेका हुन्छन्‌। युसुफ र मरियमले पक्कै पनि येसुलगायत सबै छोराछोरीको लागि असल उदाहरण बसालेका थिए। युसुफ आफ्नो परिवारको लालनपालन गर्न मेहनत गर्थे। साथै तिनले परिवारलाई आध्यात्मिक कुराको कदर गर्न सिकाए। (व्यव. ४:९, १०) मोसाको व्यवस्थाअनुसार परिवारको शिरले “हरेक वर्ष” निस्तार चाड मनाउन जाँदा परिवारलाई आफूसँगै यरुसलेम लैजानै पर्छ भन्‍ने थिएन तैपनि युसुफले आफ्नो परिवारलाई सँगै लाने गर्थे। (लुका २:४१, ४२) त्यतिबेला अरू बुबालाई सपरिवार यात्रा गर्दा कठिन हुन्छ अनि समय र पैसा पनि धेरै खर्च हुन्छ जस्तो लागेको हुन सक्छ। तर युसुफ भने आध्यात्मिक कुराहरूको मोल गर्थे र तिनले छोराछोरीलाई पनि त्यसै गर्न सिकाए। मरियमसित पनि धर्मशास्त्रको राम्रो ज्ञान थियो। त्यसैले उनले आफ्नो बोली र व्यवहारद्वारा छोराछोरीलाई परमेश्‍वरको वचनलाई प्रेम गर्न पक्कै पनि सिकाएकी हुनुपर्छ।

१३. एक दम्पती कसरी युसुफ र मरियमले बसालेका उदाहरणअनुसार चले?

१३ अगाडि उल्लेख गरिएको निहाद र अल्मा युसुफ र मरियमले बसालेको उदाहरणअनुसार चल्न चाहन्थे। तिनीहरूले आफ्नो छोरालाई परमेश्‍वरलाई माया गर्न र उहाँको सेवा गर्न कसरी सिकाए? तिनीहरू भन्छन्‌: “यहोवाले दिनुभएका सिद्धान्तहरूअनुसार चल्नु असल हो भनेर हामीले आफ्नो जीवनशैलीद्वारा देखायौँ।” निहाद अझ यसो भन्छन्‌: “आफ्नो छोरा वा छोरी जस्तो व्यक्‍ति बनेको चाहनुहुन्छ, आफू पनि त्यस्तै व्यक्‍ति बन्‍नुहोस्‌।”

१४. आमाबुबालाई छोराछोरी कोसित सङ्‌गत गर्दै छन्‌ भनेर किन थाह हुनुपर्छ?

१४ छोराछोरीलाई असल सङ्‌गत रोज्न मदत गर्नुहोस्‌। छोराछोरी कोसित सङ्‌गत गर्दै छन्‌ अनि तिनीहरू के गर्दै छन्‌, आमाबुबा दुवैलाई थाह हुनुपर्छ। यसमा छोराछोरीले सामाजिक सञ्जालमा वा मोबाइल फोनमा कोसित कुरा गर्दै छन्‌ भनेर जान्‍नु पनि समावेश छ। यस्तो सङ्‌गतले छोराछोरीको सोचाइ र व्यवहारमा असर गर्न सक्छ।—१ कोरि. १५:३३.

१५. आमाबुबाले जेसिको उदाहरणबाट के सिक्न सक्छन्‌?

१५ यदि आमाबुबालाई कम्प्युटर, मोबाइल, ट्याबलेटजस्ता साधन चलाउन आउँदैन भने नि? फिलिपिन्सको जेसि नाम गरेका बुबा यसो भन्छन्‌: “हामीलाई प्रविधिको त्यत्ति ज्ञान छैन। तैपनि हामीले छोराछोरीलाई इलेक्ट्रोनिक साधनहरूको सम्भावित खतराहरूबारे सजग गरायौँ।” तिनले आफूलाई इलेक्ट्रोनिक साधनहरू चलाउन आउँदैन भन्दैमा छोराछोरीलाई पनि त्यस्ता साधनहरू चलाउनदेखि बन्देज लगाएनन्‌। तिनी भन्छन्‌: “मैले छोराछोरीलाई नयाँ भाषा सिक्न, सभाको तयारी गर्न अनि दिनहुँ बाइबल पढ्‌न आफ्नो इलेक्ट्रोनिक साधन प्रयोग गर्न प्रोत्साहन दिएँ।” तपाईँ आमाबुबा हुनुहुन्छ भने के तपाईँले मेसेज पठाउने र अनलाइन फोटो सेयर गर्नेबारे jw.org® मा “किशोरकिशोरी” अन्तर्गत दिइएको व्यावहारिक सल्लाह छोराछोरीसँगै पढेर छलफल गर्नुभएको छ? के तपाईँले छोराछोरीसित बसेर सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌के तपाईँ इलेक्ट्रोनिक साधनको दास हुनुहुन्छ? भन्‍ने भिडियोहरू हेर्नुभएको छ? * आमाबुबाले छोराछोरीलाई इलेक्ट्रोनिक साधनहरूको सदुपयोग गर्न सिकाउन यस्ता सामग्रीहरू चलाउन सक्छन्‌।—हितो. १३:२०.

१६. धेरैजसो आमाबुबाले के गरेका छन्‌ अनि नतिजा कस्तो भएको छ?

१६ धेरैजसो आमाबुबाले छोराछोरीले यहोवाका जोसिला उपासकहरूसित सङ्‌गत गर्न पाऊन्‌ भनेर विभिन्‍न प्रबन्धहरू मिलाउने गर्छन्‌। उदाहरणको लागि, कोट डे’भ्वामा बस्ने दम्पती एन’डेनी र बोमेनले क्षेत्रीय निरीक्षकलाई आफ्नो घरमा बस्ने निम्तो दिन्थे। एन’डेनी भन्छन्‌: “यसले हाम्रो छोरामा धेरै राम्रो प्रभाव पाऱ्‍यो। उसले अग्रगामी सेवा सुरु गऱ्‍यो अनि ऊ अहिले कार्यवाहक क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्दै छ।” तपाईँ पनि आफ्ना छोराछोरीको लागि यस्तै सङ्‌गति गर्ने वातावरण बनाइदिन सक्नुहुन्छ कि?

१७-१८. आमाबुबाले छोराछोरीलाई कहिलेदेखि सिकाउन थाल्नुपर्छ?

१७ छोराछोरीलाई कलिलै उमेरदेखि सिकाउन थाल्नुहोस्‌। छोराछोरीलाई जति चाँडो सिकाउन थाल्नुहुन्छ, त्यति नै बेस। (हितो. २२:६) तिमोथिबारे विचार गर्नुहोस्‌, जसले पछि प्रेषित पावलसँगै यात्रा गरे। तिमोथिकी आमा युनिस र बज्यै लोइसले तिनलाई “शैशवकालदेखि नै” सिकाए।—२ तिमो. १:५; ३:१५.

१८ कोट डे’भ्वाका अर्को दम्पती झान-क्लोड र पिसले आफ्ना छ जना छोराछोरीलाई राम्ररी हुर्काएकाले अहिले तिनीहरू छ जना नै यहोवालाई माया गर्छन्‌ र उहाँको सेवा गर्छन्‌। ती दम्पती कसरी सफल हुन सके? तिनीहरूले युनिस र लोइसको अनुकरण गरे। तिनीहरू भन्छन्‌: “हामीले छोराछोरी जन्मेको केही समयपछिदेखि नै तिनीहरूलाई परमेश्‍वरको वचन हृदयसम्म पुग्नेगरि सिकायौँ।”—व्यव. ६:६, ७.

१९. छोराछोरीको हृदयमा परमेश्‍वरको वचन राखिदिनु भनेको के हो?

१९ यहोवाको वचन छोराछोरीको ‘हृदयमा राखिदिनु’ भनेको के हो? ‘हृदयमा राखिदिनु’ भन्‍ने अभिव्यक्‍तिको अर्थ “पटकपटक दोहोऱ्‍याएर सिकाउनु र मनमा छापिदिनु” हो। यसो गर्न आमाबुबाले नियमित रूपमा छोराछोरीसित समय बिताउनुपर्छ। छोराछोरीलाई दोहोऱ्‍याइ-तेहऱ्‍याइ सिकाउनुपर्दा आमाबुबाले कहिलेकाहीँ हरेस खान सक्छन्‌। तर यसलाई आमाबुबाले छोराछोरीलाई परमेश्‍वरको वचन बुझ्न र त्यो लागू गर्न मदत गर्ने मौकाको रूपमा हेर्ने कोसिस गर्नुपर्छ।

आमाबुबाले हरेक छोरा वा छोरीलाई कसरी सिकाउने भनेर निर्णय गर्नुपर्छ (अनुच्छेद २० हेर्नुहोस्‌) *

२०. आमाबुबाले छोराछोरी हुर्काउन भजन १२७:४ कसरी लागू गर्न सक्छन्‌?

२० छोराछोरीलाई राम्ररी चिन्‍नुहोस्‌। भजन १२७ मा छोराछोरीलाई काँड अथवा बाणसित तुलना गरिएको छ। (भजन १२७:४ पढ्‌नुहोस्‌) बाण फरक-फरक सामग्रीबाट बनेको हुन्छ अनि साइज पनि फरक-फरक हुन्छ। त्यसैगरि छोराछोरी पनि स्वभावले फरक-फरक हुन्छन्‌। त्यसैले आमाबुबाले हरेकलाई कसरी सिकाउने भनेर विचार गर्नुपर्छ। छोरा र छोरी हुर्काउन सफल भएको इजरायलको एक दम्पती यसो भन्छन्‌: “हामीले छोरा र छोरीसित छुट्टाछुट्टै बाइबल अध्ययन गऱ्‍यौँ।” यसरी अध्ययन गर्नु आवश्‍यक छ कि छैन अथवा सम्भव होला कि नहोला भनेर हरेक परिवारको शिरले निर्णय गर्नेछन्‌।

यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ

२१. आमाबुबाले यहोवाबाट के मदत पाउन सक्छन्‌?

२१ कहिलेकाहीँ विभिन्‍न चुनौतीहरूले गर्दा आमाबुबा हतोत्साहित हुन सक्छन्‌। तर छोराछोरी यहोवाको नासो भएकाले उहाँ मदत गर्न सधैँ तयार हुनुहुन्छ। उहाँ आमाबुबाको प्रार्थना सुन्‍न इच्छुक हुनुहुन्छ। साथै उहाँले बाइबल, हाम्रा प्रकाशनहरू अनि मण्डलीका अरू परिपक्व आमाबुबाको उदाहरण र सल्लाहबाट तिनीहरूका प्रार्थनाहरूको जवाफ दिनुहुन्छ।

२२. आमाबुबाले छोराछोरीलाई दिन सक्ने सर्वोत्तम कुराहरूमा के-के पर्छ?

२२ भनिन्छ, छोराछोरी हुर्काउनु २० वर्षे योजना हो। तर छोराछोरी हुर्किसकेपछि पनि आमाबुबा सधैँ आमाबुबा नै रहन्छन्‌। तिनीहरूले छोराछोरीलाई दिन सक्ने सर्वोत्तम कुराहरूमध्ये माया, समय र बाइबलआधारित तालिम पर्छ। हरेक छोरा वा छोरीले आफूले पाएको तालिमप्रति उस्तै प्रतिक्रिया देखाउनेछन्‌ भन्‍ने छैन। तर यहोवालाई माया गर्ने आमाबुबाले हुर्काएका धेरैजसो छोराछोरीले जोआना मे नाम गरेकी एसियामा बस्ने एउटी ख्रिष्टियन बहिनीले जस्तै महसुस गर्छन्‌। तिनी भन्छिन्‌: “मैले आमाबुबाले दिनुभएको तालिम बिर्सेको छैनँ। उहाँहरूले मलाई अनुशासन दिनुभयो अनि यहोवालाई माया गर्न सिकाउनुभयो। म मेरो आमाबुबालाई यी कुराहरूको लागि मनैदेखि धन्यवाद दिन्छु। उहाँहरूले मलाई जीवन मात्र दिनुभएन, अर्थपूर्ण जीवन बिताउन पनि सिकाउनुभयो।” (हितो. २३:२४, २५) आज लाखौँ ख्रिष्टियन दाजुभाइ दिदीबहिनी जोआनासित सहमत छन्‌ भन्‍ने कुरामा दुई मत छैन।

गीत ५९ यहोवाको गुणगान गाऔँ!

^ अनु. 5 छोराछोरी जन्माउने कि नजन्माउने? जन्माउने हो भने कति जना जन्माउने? अनि छोराछोरीलाई यहोवालाई माया गर्न र उहाँको सेवा गर्न कसरी सिकाउने? यी प्रश्‍नहरूको जवाफ पाउन हामी यस लेखमा आधुनिक समयका केही अनुभवहरू र बाइबल सिद्धान्तहरू छलफल गर्नेछौँ।

^ अनु. 15 युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ (अङ्‌ग्रेजी) खण्ड १, अध्या. ३६ र खण्ड २, अध्या. ११ पनि हेर्नुहोस्‌।

^ अनु. 60 चित्रको व्याख्या: छोराछोरी पाउँदाको खुसी र आइपर्ने चुनौतीहरूबारे विचार गर्दै एक ख्रिष्टियन दम्पती छोराछोरी जन्माउने कि नजन्माउने भन्‍ने विषयमा छलफल गर्छन्‌।

^ अनु. 64 चित्रको व्याख्या: छोराछोरीको उमेर र क्षमता फरक-फरक भएकोले एक दम्पती तिनीहरूसित छुट्टाछुट्टै अध्ययन गर्छन्‌।