सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

बाइबलले बताएअनुसार कुनै मामिलाको छिनोफानो गर्न कम्तीमा दुई जना साक्षी चाहिन्थ्यो। (गन्ती ३५:३०; व्यव. १७:६; १९:१५; मत्ति १८:१६; १ तिमो. ५:१९) तर व्यवस्थाले बताएअनुसार यदि कुनै पुरुषले मगनी भइसकेकी केटीलाई “सहरबाहिर” बलात्कार गऱ्‍यो र ती केटी चिच्याइन्‌ भने अवैध यौनसम्बन्ध राखेकोमा त्यो पुरुषलाई दोषी ठहराइन्थ्यो तर केटीचाहिँ निर्दोष हुन्थिन्‌। त्यस मामिलामा अरूले साक्षी नदिए तापनि ती केटी कसरी निर्दोष हुन सक्थिन्‌, जबकि त्यो पुरुषचाहिँ दोषी हुन्थ्यो?

व्यवस्था २२:२५-२७ मा उल्लेख गरिएको नियम पुरुषको अपराध पुष्टि गर्नको लागि थिएन किनभने यस घटनामा त्यो पुरुष नै दोषी थियो भनेर स्पष्ट थियो। बरु यो नियम केटीको निर्दोषतालाई जोड दिनको लागि थियो। कसरी? यसको प्रसङ्‌ग विचार गर्नुहोस्‌।

यसअघिका पदहरूमा मगनी भइसकेकी केटीसित “सहरभित्र” यौनसम्बन्ध राख्ने पुरुषबारे उल्लेख गरिएको छ। त्यस्तो काम गर्ने पुरुष अवैध यौनसम्बन्ध राखेकोमा दोषी हुन्थ्यो किनभने मगनी भइसकेकी केटीलाई विवाहित केटीसरह ठानिन्थ्यो। ती केटीबारे चाहिँ के भन्‍न सकिन्छ? “सहरभित्र भएर पनि ती केटी चिच्याइनन्‌।” यदि उनी चिच्याएकी भए अरूले उनको स्वर सुन्‍ने थिए र उनलाई बचाउने थिए। तर उनी चिच्याइनन्‌। त्यसैले उनले पनि अवैध यौनसम्बन्ध राखेको मानिन्थ्यो अनि दुवै जनालाई दोषी ठहराइन्थ्यो।—व्यव. २२:२३, २४.

व्यवस्थाको यो नियमचाहिँ फरक थियो: “तर कुनै पुरुषले अर्को पुरुषसित मगनी भइसकेकी केटीलाई सहरबाहिर भेट्‌छ र हातपात गरेर ऊसित जबरजस्ती सम्बन्ध राख्छ भने तिमीहरूले त्यस पुरुषलाई मात्र मार्नू। तर केटीलाई चाहिँ केही नगर्नू। किनकि त्यस केटीले मृत्युदण्ड पाउन लायकको पाप गरेकी छैन। यो मामिलाचाहिँ कुनै निर्दोष व्यक्‍तिलाई आक्रमण गरेर मारेको मामिलाजस्तै हो। त्यस केटीलाई नमार्नू किनभने सहरबाहिर भएकोले ऊ चिच्याउँदा उसलाई बचाउने कोही थिएन।”—व्यव. २२:२५-२७.

यस मामिलामा त्यो केटी “चिच्याउँदा उसलाई बचाउने कोही थिएन” भनेर न्यायकर्ताहरू मानिलिन्थे। त्यसैले उसले अवैध यौनसम्बन्ध राखेकी हुँदिन थिई। तर त्यो पुरुषचाहिँ बलात्कार गरेको र अवैध यौनसम्बन्ध राखेकोमा दोषी हुन्थ्यो किनभने त्यस पुरुषले “हातपात गरेर ऊसित [अर्थात्‌ मगनी भइसकेकी केटीसित] जबरजस्ती सम्बन्ध” राख्यो।

स्पष्ट छ, यस नियमले स्त्रीको निर्दोषतालाई जोड दिनुका साथै त्यो पुरुषले बलात्कार गरेको र अवैध यौनसम्बन्ध राखेकोमा उसलाई दोषी पनि ठहराउँथ्यो। त्यस्ता मामिलाहरूमा न्यायकर्ताहरूले “राम्ररी छानबिन” गर्थे अनि परमेश्‍वरले पटक-पटक उल्लेख गर्नुभएको स्तरबमोजिम निर्णय गर्थे भनेर हामी ढुक्क हुन सक्छौँ।—व्यव. १३:१४; १७:४; प्रस्थ. २०:१४.