पाठकहरूको प्रश्न
के प्रेषित पावलले १ कोरिन्थी १५:२९ मा आफ्नो समयका केही ख्रिष्टियनहरूले मरेकाहरूका निम्ति बप्तिस्मा गरे भन्न खोजेका हुन्?
होइन, बाइबलमा वा अन्य कुनै इतिहासको किताबमा यसको कुनै सङ्केत पाइँदैन।
थुप्रै बाइबलमा यस पदलाई जसरी अनुवाद गरिएको छ, त्यसले गर्दा पावलको समयमा मरेकाहरूका निम्ति पानीको बप्तिस्मा गरिन्थ्यो भन्ने सोचाइ कसै-कसैले राखेका छन्। उदाहरणको लागि, एउटा अनुवादमा यसो भनिएको छ: “मृतकहरू जीवित नपारिने भए ता तिनीहरूका निम्ति मानिसहरूले किन बप्तिस्मा लिन्छन्?”—नयाँ संशोधित संस्करण।
तर दुई जना बाइबलविद्ले के भने, याद गर्नुहोस्। डा. ग्रेगोरी लकवुडका अनुसार बाइबलमा वा अन्य कुनै इतिहासको किताबमा मरेकाहरूका निम्ति बप्तिस्मा गरिन्थ्यो भन्ने कुनै प्रमाण पाइँदैन। त्यसैगरि प्राध्यापक गर्डन डि. फिले यस्तो लेखे: ‘इतिहासको किताबमा वा बाइबलमा यस्तो किसिमको बप्तिस्माको विवरण पाइँदैन। नयाँ नियममा यसबारे कतै उल्लेख गरिएको छैन। सुरु-सुरुका ख्रिष्टियनहरूले वा प्रेषितहरूको मृत्यु भएको केही समयपछि स्थापना भएको कुनै पनि चर्चले यस्तो किसिमको बप्तिस्मा गर्ने गरेको प्रमाण छैन।’
येसुले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभएको थियो: “सबै जातिका मानिसहरूलाई चेला बनाओ; . . . बप्तिस्मा गराओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।” (मत्ति २८:१९, २०) कुनै व्यक्ति बप्तिस्मा गरेर चेला बन्नुअघि तिनले यहोवा र उहाँको छोराबारे सिक्नुपर्थ्यो, उहाँहरूमाथि विश्वास राख्नुपर्थ्यो र उहाँहरूको आज्ञा पालन गर्नुपर्थ्यो। मरेर चिहानमा गइसकेको मानिसले पक्कै पनि यसो गर्न सक्दैनथे न त कोही जीवित ख्रिष्टियनले तिनको लागि यसो गरिदिन सक्थे।—उप. ९:५, १०; युह. ४:१; १ कोरि. १:१४-१६.
त्यसोभए पावल के भन्न खोज्दै थिए?
कोरिन्थका कोही-कोहीले मरेकाहरू फेरि जीवित हुँदैनन् भन्थे। (१ कोरि. १५:१२) पावलले यस्तो विचारधाराको खण्डन गरे। तिनले “म दिनहुँ मृत्युको सामना गर्छु” भने। हुनत तिनी जीवितै थिए। तर तिनले दिनहुँ खतरनाक अवस्थाहरूको सामना गर्नुपरेको थियो। आफू मर्नुपरे पनि येसुजस्तै शक्तिशाली अदृश्य व्यक्तिको रूपमा ब्युँताइनेछु भन्ने कुरामा तिनी विश्वस्त थिए।—१ कोरि. १५:३०-३२, ४२-४४.
अभिषिक्त ख्रिष्टियन हुनुमा स्वर्गमा जीवन पाउनुअघि दिनहुँ परीक्षाहरूको सामना गर्नु र मृत्यु भोग्नु समावेश छ भनेर कोरिन्थीहरूले बुझ्नुपर्थ्यो। “ख्रिष्ट येसुमा बप्तिस्मा” गर्नुको मतलब “उहाँको मृत्युमा पनि बप्तिस्मा” गर्नु थियो। (रोमी ६:३) यस्तो प्रतीकात्मक बप्तिस्मा गरेपछि तिनीहरूले विभिन्न परीक्षाहरूको सामना गर्नुपर्ने थियो अनि मृत्यु भोग्नुपरे तापनि तिनीहरू फेरि जीवित भएर स्वर्ग जाने थिए।
पानीमा बप्तिस्मा गरेको दुई वर्षपछि येसुले आफ्ना दुई जना प्रेषितलाई यसो भन्नुभयो: “मैले गर्न लागेको बप्तिस्मा तिमीहरूले पनि गर्नेछौ।” (मर्कु. १०:३८, ३९) यतिबेला येसुले पानीको बप्तिस्मा गर्न लाग्नुभएको थिएन। सत्यनिष्ठाको मार्गमा चल्दा आफूले पछि गएर मृत्यु भोग्नुपर्नेछ भन्ने कुरा उहाँले बताउन खोज्दै हुनुहुन्थ्यो। अभिषिक्त जनहरूले ‘उहाँसँगै दुःख भोग्छन् भने उहाँसँगै महिमित पनि हुनेछन्’ भनेर पावलले लेखे। (रोमी ८:१६, १७; २ कोरि. ४:१७) त्यसैले स्वर्गमा जीवन पाउन तिनीहरूले पनि येसुले जस्तै मृत्यु भोग्नुपर्ने थियो।
त्यसकारण पावलको भनाइलाई यसरी अनुवाद गर्नु सही छ: “नत्र भने मृत्युको निम्ति बप्तिस्मा भइरहेकाहरूले के गर्ने? मरेकाहरू नब्युँताइने हुन् भने मृत्युको निम्ति तिनीहरूको बप्तिस्मा किन भइरहेको छ त?”