अध्ययन लेख ५२
जवान बहिनीहरू हो, परिपक्व ख्रिष्टियन बन्ने लक्ष्य राख्नुहोस्
“स्त्रीहरू[को] . . . आनीबानी सन्तुलित हुनुपर्छ अनि तिनीहरू सबै कुरामा विश्वासयोग्य हुनुपर्छ।”—१ तिमो. ३:११.
गीत १३३ युवावस्थामै यहोवाको उपासना गरौँ!
परिचय a
१. परिपक्व ख्रिष्टियन बन्न हामीले के गर्नुपर्छ?
एउटा बच्चा हुर्केर कत्ति छिटो ठूलो हुन्छ; त्यो देख्दा हामीलाई अचम्म लाग्छ। त्यो बच्चा कसैले प्रयासै नगरी आफसेआफ हुर्केको जस्तो देखिन्छ। तर ख्रिष्टियन परिपक्वता भने आफसेआफ हासिल हुने कुरा होइन। b (१ कोरि. १३:११; हिब्रू ६:१) त्यो लक्ष्य हासिल गर्न यहोवासितको सम्बन्ध बलियो हुनुपर्छ। साथै हामीलाई पवित्र शक्ति पनि चाहिन्छ। यसले यहोवालाई खुसी तुल्याउने गुणहरू विकास गर्न, उपयोगी सीपहरू सिक्न र भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूको लागि तयार हुन मदत गर्नेछ।—हितो. १:५.
२. उत्पत्ति १:२७ बाट के सिक्न सक्छौँ र यस लेखमा के छलफल गर्नेछौँ?
२ यहोवाले पुरुष र स्त्री बनाउनुभयो। (उत्पत्ति १:२७ पढ्नुहोस्।) पुरुष र स्त्रीको शारीरिक बनौट फरक हुन्छ। त्यति मात्र होइन, तिनीहरू अरू तरिकामा पनि फरक हुन्छन्। जस्तै: यहोवाले पुरुष र स्त्रीलाई फरक-फरक भूमिका दिनुभएको छ। त्यसैले ती भूमिकाहरू निर्वाह गर्न तिनीहरूलाई फरक-फरक गुण र सीप चाहिन्छ। (उत्प. २:१८) यस लेखमा जवान बहिनीहरूले परिपक्व ख्रिष्टियन बन्न के गर्नुपर्छ भनेर छलफल गर्नेछौँ। अर्को लेखमा भने जवान भाइहरूले परिपक्व ख्रिष्टियन बन्न के गर्नुपर्छ भनेर विचार गर्नेछौँ।
परमेश्वरलाई खुसी तुल्याउने गुणहरू विकास गर्नुहोस्
३-४. जवान बहिनीहरूले अनुकरण गर्न सक्ने असल उदाहरणहरू कहाँ भेट्टाउन सक्छन्? (चित्र पनि हेर्नुहोस्।)
३ बाइबलमा यहोवालाई प्रेम गरेका र उहाँको सेवा गरेका थुप्रै उदाहरणीय स्त्रीको विवरण पाइन्छ। (jw.org मा “बाइबलमा उल्लिखित स्त्रीहरू—हामी उनीहरूबाट के सिक्न सक्छौँ?” भन्ने लेख हेर्नुहोस्।) यस लेखको डोऱ्याउने शास्त्रपदमा बताइएझैँ तिनीहरूको “आनीबानी सन्तुलित” थियो र तिनीहरू “सबै कुरामा विश्वासयोग्य” थिए। साथै जवान बहिनीहरूले आफ्नै मण्डलीका परिपक्व दिदीबहिनीबाट पनि सिक्न सक्छन्।
४ जवान बहिनीहरू हो, के तपाईँ आफूले अनुकरण गर्न सक्ने कुनै परिपक्व दिदीबहिनीलाई चिन्नुहुन्छ? तिनीहरूका सुन्दर गुणहरू याद गर्नुहोस्। अनि ती गुणहरू कसरी देखाउन सकिन्छ, विचार गर्नुहोस्। अबका अनुच्छेदहरूमा जवान बहिनीहरूले परिपक्व हुन विकास गर्नुपर्ने तीन वटा महत्त्वपूर्ण गुणबारे छलफल गर्नेछौँ।
५. परिपक्व ख्रिष्टियन हुनलाई नम्रता किन नभई हुँदैन?
५ परिपक्व ख्रिष्टियन हुनलाई नभई नहुने एउटा गुण नम्रता हो। कुनै स्त्री नम्र छिन् भने यहोवा र अरूसितको तिनको सम्बन्ध राम्रो हुन्छ। (याकु. ४:६) जस्तै: यहोवालाई प्रेम गर्ने स्त्रीले नम्र भई शिरत्वको प्रबन्धको अधीनमा बस्ने छनौट गर्छिन्। (१ कोरि. ११:३) त्यस प्रबन्धमा यहोवाले मण्डली र परिवारमा नेतृत्व लिने जिम्मेवारी कसको हो भनेर बताउनुभएको छ। c
६. नम्र हुने सन्दर्भमा जवान बहिनीहरूले रिबेकाबाट के सिक्न सक्छन्?
६ रिबेकाको उदाहरण विचार गरौँ। तिनी बुद्धिमान् स्त्री थिइन्। तिनी आवश्यक परेको बेला निर्णायक कदम चाल्न पछि पर्दिनथिन्। (उत्प. २४:५८; २७:५-१७) तैपनि तिनी अरूको आदर गर्थिन् र अधीनमा बस्थिन्। (उत्प. २४:१७, १८, ६५) यदि तपाईँले पनि रिबेकाले जस्तै यहोवाका प्रबन्धहरूलाई नम्र भई समर्थन गर्नुभयो भने तपाईँले आफ्नो परिवार र मण्डलीको लागि असल उदाहरण बसालिरहनुभएको हुनेछ।
७. मर्यादामा रहने सन्दर्भमा जवान बहिनीहरूले कसरी एस्तरको अनुकरण गर्न सक्छन्?
७ परिपक्व ख्रिष्टियन हुनलाई नभई नहुने अर्को गुण मर्यादामा रहनु हो। बाइबल भन्छ: “जो मर्यादामा रहन्छ, ऊ बुद्धिमान् हुन्छ।” (हितो. ११:२) एस्तर मर्यादामा रहने वफादार उपासक थिइन्। उनी मर्यादामा रहेकीले रानी भइसकेपछि पनि अहङ्कारी भइनन्। उनले आफ्नो ठूलोबुबाको छोरा मोर्दकैको सल्लाह सुनिन् र त्यसैअनुसार गरिन्। (एस्त. २:१०, २०, २२) तपाईँ पनि अरूसित सल्लाह मागेर अनि त्यसैअनुसार गरेर एस्तरजस्तै मर्यादामा रहन सक्नुहुन्छ।—ति. २:३-५.
८. पहिलो तिमोथी २:९, १० ले बहिनीहरूलाई पहिरन र कोरीबाटीको सन्दर्भमा बुद्धिमानी निर्णय गर्न कसरी मदत गर्छ?
८ एस्तरले अर्को तरिकामा पनि मर्यादामा रहेको देखाइन्। उनी “सुन्दरी थिइन्; उनको रुपरङ्ग असाध्यै राम्रो थियो।” तैपनि उनले अनावश्यक रूपमा अरूको ध्यान आफूतर्फ खिचिनन्। (एस्त. २:७, १५) ख्रिष्टियन दिदीबहिनीले एस्तरको उदाहरणबाट कसरी लाभ उठाउन सक्छन्? एउटा तरिका पहिलो तिमोथि २:९, १० मा बताइएको छ। (पढ्नुहोस्।) प्रेषित पावलले ख्रिष्टियन स्त्रीहरूलाई शालीनतासाथ र सुझबुझ चलाउँदै भद्र पहिरन लगाउन सल्लाह दिए। पद ९ मा प्रयोग गरिएको ग्रीक अभिव्यक्तिले ख्रिष्टियन स्त्रीको पहिरन अरूको आदर गर्ने अनि अरूको भावना र विचारको कदर गर्ने किसिमको हुनुपर्छ भन्ने अर्थ दिन्छ। भद्र पहिरन लगाउने सन्दर्भमा राम्रो उदाहरण बसालेकोमा हामी परिपक्व दिदीबहिनीको प्रशंसा गर्छौँ!
९. हामी अबिगेलबाट के सिक्न सक्छौँ?
९ परिपक्व ख्रिष्टियनले देखाउनुपर्ने अर्को गुण समझशक्ति हो। समझशक्ति भनेको के हो? समझशक्ति भनेको सही र गलत छुट्ट्याउने अनि जे सही छ, त्यही गर्ने क्षमता हो। अबिगेलको उदाहरण विचार गरौँ। तिनको पति नाबालले गलत निर्णय गरे, जसले गर्दा उनको पूरै घरानाको ज्यान जोखिममा पऱ्यो। अबिगेलले तुरुन्तै कदम चालिन्। तिनले समझदारी देखाएकोले थुप्रैको ज्यान जोगियो। (१ समु. २५:१४-२३, ३२-३५) समझशक्तिले हामीलाई कहिले बोल्ने र कहिले चुप लाग्ने भनेर बुझ्न मदत गर्छ। साथै यसले कुराकानी गर्दा अरूको नितान्त व्यक्तिगत कुरा नखोतल्न र असजिलो महसुस गराउने कुरा नसोध्न मदत गर्छ।—१ थिस्स. ४:११.
उपयोगी सीपहरू सिक्नुहोस्
१०-११. राम्ररी लेखपढ गर्न सिक्नुभयो भने तपाईँ आफैलाई अनि अरूलाई कस्तो लाभ हुन्छ? (तस्बिर पनि हेर्नुहोस्।)
१० ख्रिष्टियन बहिनीहरूले उपयोगी सीपहरू सिक्नुपर्छ। तिनीहरूले सानो बेला सिकेका सीपहरू जीवनभरि नै काम लाग्छ। केही उदाहरण विचार गरौँ।
११ राम्ररी लेखपढ गर्न सिक्नुहोस्। कुनै-कुनै समाजमा स्त्रीहरूले लेखपढ गर्न सिक्नुलाई खासै महत्त्व दिइँदैन। तर प्रत्येक ख्रिष्टियनले लेखपढ गर्न सिक्नु महत्त्वपूर्ण छ। d (१ तिमो. ४:१३) त्यसैले जस्तोसुकै चुनौती आइपरे पनि राम्ररी लेखपढ गर्न सिक्नुहोस्। यसो गर्दा तपाईँलाई कस्तो लाभ हुन्छ? यस्तो सीपले तपाईँलाई जागिर भेट्टाउन र त्यसमा टिकिरहन मदत गर्न सक्छ। साथै परमेश्वरको वचनको असल विद्यार्थी अनि शिक्षक बन्न पनि मदत गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, बाइबल पढ्दा र त्यसमा मनन गर्दा तपाईँ यहोवासित अझै नजिक हुनुहुनेछ।—यहो. १:८; १ तिमो. ४:१५.
१२. हितोपदेश ३१:२६ ले तपाईँलाई राम्ररी कुराकानी गर्ने व्यक्ति बन्न कसरी मदत गर्न सक्छ?
१२ राम्ररी कुराकानी गर्न सिक्नुहोस्। ख्रिष्टियनहरूले यो सीप विकास गर्नु महत्त्वपूर्ण छ। यस सन्दर्भमा याकुबले यस्तो व्यावहारिक सल्लाह दिएका छन्: “हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन।” (याकु. १:१९) अरूले बोल्दा ध्यान दिएर सुन्नुभयो भने तपाईँले तिनको “पीडा महसुस” गरिरहनुभएको हुनेछ। (१ पत्रु. ३:८) कसैले भनेको कुरा वा तिनको भावना बुझ्नुभएन भने उपयुक्त प्रश्नहरू सोध्नुहोस्। त्यसपछि बोल्नुअघि एकछिन सोच्नुहोस्। (हितो. १५:२८) आफैलाई सोध्नुहोस्: ‘के मैले भन्न लागेको कुरा साँचो अनि प्रोत्साहनदायी छ? के मैले भन्न लागेको कुराबाट म विचारशील र दयालु भएको देखिन्छ?’ राम्ररी कुराकानी गर्ने परिपक्व दिदीबहिनीबाट सिक्नुहोस्। (हितोपदेश ३१:२६ पढ्नुहोस्।) तिनीहरूले के भन्छन् अनि कसरी बोल्छन्, ध्यान दिनुहोस्। तपाईँले यो सीप जत्ति राम्ररी सिक्नुहुन्छ, अरूसितको तपाईँको सम्बन्ध त्यत्ति नै राम्रो हुनेछ।
१३. तपाईँ कसरी घरव्यवहार चलाउन सिक्न सक्नुहुन्छ? (तस्बिर पनि हेर्नुहोस्।)
१३ घरव्यवहार चलाउन सिक्नुहोस्। थुप्रै ठाउँमा धेरैजसो घरधन्दा स्त्रीहरूले नै गर्छन्। तपाईँकी आमा वा अरू परिपक्व दिदीबहिनीले तपाईँलाई यो सीप सिकाउन सक्छन्। सिन्डी बहिनी यसो भन्छिन्: “कडा मेहनत गर्दा आनन्दित हुन सकिन्छ भनेर ममीले मलाई सिकाउनुभयो। उहाँले दिनुभएको बहुमूल्य उपहारहरूमध्ये यो एउटा हो। पकाउन, सरसफाइ गर्न, सिलाइबुनाइ गर्न र किनमेल गर्न सिकेकीले मलाई दैनिक कामकुरा गर्न धेरै सजिलो भएको छ। अनि यहोवाको सेवामा अझ धेरै गर्न सकेकी छु। ममीले मलाई मित्रैलो हुन र स्वागत-सत्कार गर्न पनि सिकाउनुभयो। यसले गर्दा मैले थुप्रै भाइबहिनीलाई भेट्न पाएकी छु र उहाँहरूको उदाहरणबाट थुप्रै कुरा सिक्न सकेकी छु।” (हितो. ३१:१५, २१, २२) मेहनती, अतिथिसत्कार गर्ने र घरव्यवहार राम्ररी चलाउन सिकेकी स्त्री परिवार र मण्डलीको लागि आशिष् हुन्।—हितो. ३१:१३, १७, २७; प्रेषि. १६:१५.
१४. क्रिस्टलबाट तपाईँले के सिक्नुभयो र तपाईँको ध्यान कुन कुरामा केन्द्रित हुनुपर्छ?
१४ आत्मनिर्भर हुन सिक्नुहोस्। सबै परिपक्व ख्रिष्टियनले आत्मनिर्भर हुन सिक्ने र आफूसित भएको कुरामा सन्तुष्ट हुने लक्ष्य राख्नुपर्छ। (फिलि. ४:११; २ थिस्स. ३:७, ८) क्रिस्टल बहिनी यसो भन्छिन्: “मेरो आमाबुबाले स्कुलमा पछिसम्म काम लाग्ने विषय रोज्न प्रोत्साहन दिनुभयो। बुबाले मलाई एकाउन्ट पढ्ने सुझाव दिनुभयो, जुन मेरो लागि निकै उपयोगी साबित भयो।” काम पाउन सजिलो हुने सीप सिक्नुका साथै आम्दानीभन्दा धेरै खर्च नगर्न र बुद्धिमानीसाथ पैसा प्रयोग गर्न पनि सिक्नुहोस्। (हितो. ३१:१६, १८) अनावश्यक ऋण नलिएर अनि सरल जीवनमा सन्तुष्ट भएर आध्यात्मिक लक्ष्यहरूमा ध्यान केन्द्रित गरिरहनुहोस्।—१ तिमो. ६:८.
भविष्यका भूमिकाहरूको लागि तयारी गर्नुहोस्
१५-१६. अविवाहित दिदीबहिनी किन अनमोल छन्? (मर्कुस १०:२९, ३०)
१५ यहोवालाई खुसी तुल्याउने गुणहरू विकास गर्नुभयो र उपयोगी सीपहरू सिक्नुभयो भने तपाईँ भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूको लागि तयार हुनुहुनेछ। त्यसको लागि तपाईँ के गर्न सक्नुहुन्छ, केही उदाहरण विचार गरौँ।
१६ तपाईँ केही समयको लागि अविवाहित रहन सक्नुहुन्छ। कुनै-कुनै संस्कृतिका मानिसहरू विवाह गर्नै पर्छ भन्ने सोचाइ राख्छन्। तर येसुले अविवाहित रहनुलाई एउटा वरदान भन्नुभयो। (मत्ति १९:१०-१२) यही कुरालाई मनमा राख्दै त्यस्तो संस्कृतिमा हुर्केका केही दिदीबहिनीले समेत विवाह नगर्ने छनौट गरेका छन्। अरू केही दिदीबहिनी भने विभिन्न कारणले गर्दा अविवाहित रहनुपरेको छ। तपाईँ अविवाहित दिदीबहिनीलाई यहोवा र येसु अनमोल ठान्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। हाम्रा अविवाहित दिदीबहिनीहरू भाइबहिनीको लागि प्रोत्साहनका स्रोत हुन्। अरूलाई प्रेम गरेकोले र ख्याल राखेकोले तिनीहरू कसैको लागि आध्यात्मिक दिदीबहिनी अनि कसैको लागि आमा भएका छन्।—मर्कुस १०:२९, ३० पढ्नुहोस्; १ तिमो. ५:२.
१७. जवान बहिनीहरूले पूर्ण-समय सेवा सुरु गर्न अहिल्यैदेखि के गर्न सक्छन्?
१७ तपाईँ पूर्ण-समय सेवक बन्न सक्नुहुन्छ। विश्वव्यापी साक्षीकार्यमा ख्रिष्टियन दिदीबहिनीको भूमिका निकै ठूलो छ। (भज. ६८:११) के तपाईँ पूर्ण-समय सेवा सुरु गर्न अहिल्यैदेखि योजना बनाउन सक्नुहुन्छ? तपाईँ नियमित अग्रगामी, निर्माण स्वयंसेवक वा बेथेल सेवकको रूपमा सेवा गर्न सक्नुहुन्छ। आफ्नो लक्ष्यबारे प्रार्थना गर्नुहोस्। त्यस्तो लक्ष्य हासिल गरेका भाइबहिनीसित कुरा गर्नुहोस् र त्यसको लागि योग्य हुन के गर्नुपर्छ भनेर तिनीहरूलाई सोध्नुहोस्। त्यसपछि व्यावहारिक योजना बनाउनुहोस्। त्यो लक्ष्य हासिल गरेपछि तपाईँले यहोवाको सेवामा अझ धेरै गर्ने मौका पाउनुहुनेछ।
१८. बहिनीहरूले किन होसियारीसाथ जीवनसाथी रोज्नुपर्छ? (तस्बिर पनि हेर्नुहोस्।)
१८ तपाईँ विवाह गर्ने छनौट गर्न सक्नुहुन्छ। हामीले छलफल गरेका गुणहरू र सीपहरूले तपाईँलाई गुणवती पत्नी बन्न मदत गर्नेछ। विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने तपाईँले होसियारीसाथ जीवनसाथी रोज्नुपर्छ। किनकि यो तपाईँले गर्ने सबैभन्दा महत्त्वपूर्ण निर्णयहरूमध्ये एउटा हो। नबिर्सनुहोस्, तपाईँ जोसित विवाह गर्नुहुन्छ, उसैको शिरत्वको अधीनमा बस्नुपर्छ। (रोमी ७:२; एफि. ५:२३, ३३) त्यसैले आफैलाई सोध्नुहोस्: ‘के तिनी परिपक्व ख्रिष्टियन हुन्? के तिनी आध्यात्मिक कुरालाई प्राथमिकता दिन्छन्? के तिनी बुद्धिमानी निर्णयहरू गर्छन्? के तिनी आफ्नो गल्ती स्विकार्छन्? के तिनी स्त्रीहरूको आदर गर्छन्? के तिनी आध्यात्मिक, भौतिक र भावनात्मक रूपमा मेरो ख्याल राख्न सक्छन्? के तिनी आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्छन्? जस्तै: तिनले मण्डलीमा कस्ता जिम्मेवारीहरू पाएका छन् र ती जिम्मेवारीहरू तिनले कसरी सम्हालिरहेका छन्?’ (लुका १६:१०; १ तिमो. ५:८) तपाईँ असल पति पाउन चाहनुहुन्छ भने तपाईँ आफैले पनि असल पत्नीमा हुनुपर्ने गुणहरू विकास गर्नुपर्छ।
१९. “सहयोगी”-को रूपमा पत्नीको भूमिका किन आदरयोग्य छ?
१९ बाइबलमा असल पत्नीलाई पतिको “साथी” र “सहयोगी” भनिएको छ। (उत्प. २:१८) कसै-कसैले बाइबलका यी अभिव्यक्तिहरूलाई गलत तरिकामा बुझेका छन्। तिनीहरूको विचारमा पत्नी पतिलाई सघाउने व्यक्ति मात्र हुन्; त्यसैले पत्नी पतिभन्दा तुच्छ हुन्छिन्। तर याद गर्नुहोस्, बाइबलमा यहोवालाई पनि थुप्रै चोटि “मदतगार” भनिएको छ, जसले सघाउने व्यक्ति भन्ने अर्थ दिन्छ। (भज. ५४:४; हिब्रू १३:६) पत्नीले आफ्नो पतिलाई साथ दिँदा तिनी असल सहयोगी भइरहेकी हुन्छिन्। जस्तै: पतिले परिवारको लागि गरेका निर्णयहरूअनुसार गर्न तिनले पतिलाई सक्दो साथ दिन्छिन्। यहोवालाई प्रेम गर्ने भएकोले तिनी आफ्नो पतिको मान बढाउने कोसिस गर्छिन्। (हितो. ३१:११, १२; १ तिमो. ३:११) यहोवासितको सम्बन्धलाई बलियो बनाएर र परिवार अनि मण्डलीमा अरूलाई सघाएर तपाईँ अहिल्यैदेखि असल पत्नी बन्ने तयारी गर्न सक्नुहुन्छ।
२०. परिवारको वातावरण न्यानो बनाउन आमाले के गर्न सक्छिन्?
२० तपाईँ आमा पनि बन्न सक्नुहुन्छ। विवाह गरेपछि तपाईँको छोराछोरी हुन सक्छ। (भज. १२७:३) त्यसैले असल आमा बन्न के गर्नुपर्छ भनेर पहिल्यै विचार गर्नु बुद्धिमानी हो। हामीले छलफल गरेका गुणहरू र सीपहरूले तपाईँलाई असल पत्नी अनि आमा बन्न मदत गर्नेछ। तपाईँको प्रेम, दया र धीरजले गर्दा परिवारको वातावरण न्यानो हुन्छ। यस्तो वातावरणमा तपाईँका छोराछोरीले सुरक्षित अनि माया पाएको महसुस गर्नेछन्।—हितो. २४:३.
२१. हाम्रा दिदीबहिनीलाई हामी कस्तो ठान्छौँ र किन? (आवरण तस्बिर हेर्नुहोस्।)
२१ हामी तपाईँ दिदीबहिनीलाई धेरै माया गर्छौँ किनकि तपाईँ यहोवा र उहाँका उपासकहरूको लागि धेरै मेहनत गर्नुहुन्छ। (हिब्रू ६:१०) तपाईँ यहोवालाई खुसी तुल्याउने गुणहरू विकास गर्न सक्दो कोसिस गर्दै हुनुहुन्छ। साथै परिवार, भाइबहिनी अनि आफ्नो लागि उपयोगी हुने सीपहरू सिक्दै हुनुहुन्छ। अनि भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूको लागि अहिल्यैदेखि तयारी गर्दै हुनुहुन्छ। साँच्चै, तपाईँ यहोवाको सङ्गठनको बहुमूल्य सम्पत्ति हुनुहुन्छ!
गीत १३७ वफादार बहिनीहरू
a तपाईँ प्यारा जवान बहिनीहरू मण्डलीको लागि बहुमूल्य हुनुहुन्छ। तपाईँ यहोवालाई खुसी तुल्याउने गुणहरू विकास गरेर, उपयोगी सीपहरू सिकेर अनि भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूको लागि तयारी गरेर परिपक्व ख्रिष्टियन बन्न सक्नुहुन्छ। यसो गर्दा तपाईँले यहोवाको सेवामा थुप्रै आशिष् पाउनुहुनेछ।
b थप व्याख्या: परिपक्वता हासिल गरेका ख्रिष्टियन सांसारिक बुद्धिको भरमा होइन, परमेश्वरको पवित्र शक्तिको भरमा चल्छन्। तिनी येसुको उदाहरण अनुकरण गर्छन्, यहोवासितको सम्बन्ध बलियो बनाइराख्न मेहनत गर्छन् र अरूलाई आत्मत्यागी प्रेम देखाउँछन्।
c फेब्रुअरी २०२१, प्रहरीधरहरा, पृ. १४-१९ हेर्नुहोस्।
d पढाइको महत्त्वबारे बुझ्न jw.org मा “छोराछोरीले पढ्ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ—भाग १: किताब पढ्ने कि भिडियो हेर्ने?” भन्ने लेख पढ्नुहोस्।