अध्ययन लेख ५३
जवान भाइहरू हो, परिपक्व ख्रिष्टियन बन्ने लक्ष्य राख्नुहोस्
‘परिपक्व मानिस भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग।’—एफि. ४:१३, फुटनोट।
गीत १३५ यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान् होऊ”
परिचय a
१. ख्रिष्टियन पुरुषले के गर्न सिक्नुपर्छ?
प्रेषित पावलले एफिससका ख्रिष्टियनहरूलाई यस्तो आग्रह गरे: ‘परिपक्व मानिस भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग।’ (एफि. ४:१३, फुटनोट) सबै ख्रिष्टियन पुरुषले यो सल्लाह पालन गर्नुपर्छ। त्यसको लागि तिनीहरूले परमेश्वरको व्यवस्था पालन गर्न र जीवनको हरेक क्षेत्रमा बाइबल सिद्धान्तहरूअनुसार चल्न सिक्नुपर्छ। (लुका २:५२) जवान भाइहरू परिपक्व ख्रिष्टियन बन्नु किन महत्त्वपूर्ण छ?
२-३. जवान भाइहरू परिपक्व ख्रिष्टियन बन्नु किन महत्त्वपूर्ण छ?
२ ख्रिष्टियन पुरुषहरूले परिवारमा र मण्डलीमा गहन जिम्मेवारीहरू सम्हाल्छन्। जवान भाइहरू हो, तपाईँहरूले भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूबारे सोच्नुभएको होला। तपाईँले अग्रगामी गर्ने, सहायक सेवक बन्ने र पछि गएर एल्डर बन्ने लक्ष्य राख्नुभएको होला। तपाईँ विवाह गर्न अनि छोराछोरी जन्माउन पनि चाहनुहुन्छ होला। (एफि. ६:४; १ तिमो. ३:१) ती लक्ष्यहरूसम्म पुग्न र त्यसमा सफल हुन तपाईँ परिपक्व हुनुपर्छ। b
३ तपाईँ कसरी परिपक्व ख्रिष्टियन बन्न सक्नुहुन्छ? त्यसको लागि तपाईँले केही उपयोगी सीप सिक्नुपर्छ। त्यसोभए भविष्यमा निर्वाह गर्नुपर्ने जुनसुकै भूमिकाको लागि तयार हुन र त्यसमा सफल हुन तपाईँ अहिल्यैदेखि के गर्न सक्नुहुन्छ?
परिपक्व हुन चाल्नुपर्ने कदमहरू
४. अनुकरण गर्न सक्ने असल उदाहरणहरू तपाईँ कहाँ भेट्टाउन सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्।)
४ अनुकरण गर्न सक्ने असल उदाहरणहरूमध्ये केही रोज्नुहोस्। बाइबलमा जवान भाइहरूले अनुकरण गर्न सक्ने थुप्रै असल उदाहरण छन्। पुरातन समयका वफादार पुरुषहरू यहोवालाई प्रेम गर्थे र उहाँका उपासकहरूको ख्याल राख्न विभिन्न जिम्मेवारी सम्हाल्थे। तपाईँ आफ्नै परिवारमा र मण्डलीमा भएका परिपक्व पुरुषहरूको उदाहरण पनि अनुकरण गर्न सक्नुहुन्छ। (हिब्रू १३:७) सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँले येसुको पाइला पछ्याउनुपर्छ। (१ पत्रु. २:२१) यी व्यक्तिहरूबारे गहिरिएर अध्ययन गर्दा तिनीहरूको कुन-कुन गुण मन पऱ्यो, विचार गर्नुहोस्। (हिब्रू १२:१, २) अनि ती पुरुषहरूको कसरी अनुकरण गर्न सक्नुहुन्छ, सोच्नुहोस्।
५. तपाईँ कसरी सोच्ने क्षमता विकास गर्न सक्नुहुन्छ र यसो गर्नु किन महत्त्वपूर्ण छ? (भजन ११९:९)
५ “सोच्ने क्षमता” विकास गर्नुहोस् र त्यसलाई ‘जोगाइराख्नुहोस्।’ (हितो. ३:२१) सोच्ने क्षमता भएको पुरुषले कुनै निर्णय गर्नुअघि आफूसित के-कस्ता विकल्पहरू छन् भनेर राम्ररी विचार गर्छन्। त्यसैले सोच्ने क्षमता विकास गर्न र त्यसलाई कायम राख्न कडा मेहनत गर्नुहोस्। यसो गर्नु किन महत्त्वपूर्ण छ? किनभने अहिले संसारका धेरैजसो जवान आफूलाई जे ठीक लाग्यो, त्यही गर्छन् वा भावनामा बहेर निर्णय गर्छन्। (हितो. ७:७; २९:११) सञ्चार माध्यमले पनि तपाईँको सोचाइ र व्यवहारमा प्रभाव पार्न सक्छ। त्यसोभए तपाईँ कसरी सोच्ने क्षमता विकास गर्न सक्नुहुन्छ? सुरुमा बाइबल सिद्धान्तहरू अध्ययन गर्नुहोस् र ती लागू गर्नु किन लाभदायी छ भनेर विचार गर्नुहोस्। अनि ती सिद्धान्तहरूअनुसारै निर्णय गर्नुहोस्। (भजन ११९:९ पढ्नुहोस्।) यसो गर्दा तपाईँले यहोवालाई खुसी तुल्याइरहनुभएको हुनेछ। सोच्ने क्षमता विकास गर्नुभयो भने तपाईँले परिपक्व ख्रिष्टियन पुरुष बन्न महत्त्वपूर्ण कदम चालिरहनुभएको हुनेछ। (हितो. २:११, १२; हिब्रू ५:१४) त्यसोभए यी दुई अवस्थामा सोच्ने क्षमताले कसरी मदत गर्छ, विचार गरौँ: (१) दिदीबहिनीसित व्यवहार गर्दा र (२) पहिरन र हेयरस्टाइल छनौट गर्दा।
६. सोच्ने क्षमताले जवान भाइहरूलाई बहिनीहरूप्रति आदर देखाउन कसरी मदत गर्छ?
६ सोच्ने क्षमताले पुरुषहरूलाई स्त्रीहरूप्रति आदर देखाउन मदत गर्छ। कुनै जवान भाइले कुनै बहिनीसित विवाह गर्ने उद्देश्य राखेर उनलाई राम्ररी चिन्न खोज्नु स्वाभाविकै हो। अनि त्यसो गर्नुमा कुनै खराबी छैन। तर सोच्ने क्षमता भएका भाइको विवाह गर्ने विचारै छैन भने तिनले कुनै बहिनीलाई मन पराएको सङ्केत दिने कुरा भन्नेछैनन्, लेख्नेछैनन् वा तिनीसित त्यस्तो व्यवहार गर्नेछैनन्। (१ तिमो. ५:१, २) यदि तिनी कुनै बहिनीसित डेटिङ गर्दै छन् भने दुई जना मात्र हुन सक्ने अवस्थामा कुनै परिपक्व व्यक्तिलाई आफूसँगै लैजान्छन्। यसो गर्दा ती भाइले ती बहिनीलाई उनको नाममा कलङ्क लाग्नदेखि जोगाइरहेका हुन्छन्।—१ कोरि. ६:१८.
७. सोच्ने क्षमताले जवान भाइहरूलाई पहिरन र हेयरस्टाइल रोज्ने सन्दर्भमा कसरी मदत गर्छ?
७ सोच्ने क्षमता भएको जवान भाइले पहिरन र हेयरस्टाइल रोज्ने सन्दर्भमा बुद्धिमानी निर्णय गर्छन्। प्रायजसो डिजाइनरहरू र लुगाको विज्ञापन गर्नेहरू यहोवाको आदर गर्दैनन् र अनैतिक जीवनशैली बिताउँछन्। अनि तिनीहरूले डिजाइन गरेका लुगाहरूमा तिनीहरूको अनैतिक सोचाइ झल्किन्छ। जस्तै: तिनीहरू टिमिक्क कसिएको र पुरुषहरू पनि स्त्रीहरूजस्तो देखिने लुगा डिजाइन गर्छन्। त्यसैले कस्तो पहिरन छान्ने भनेर निर्णय गर्नुपर्दा परिपक्वतातर्फ अघि बढिरहेका जवान भाइले बाइबल सिद्धान्तहरूअनुसार निर्णय गर्छन् र उदाहरणीय दाजुभाइको अनुकरण गर्छन्। तिनले आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छन्: ‘के मेरा छनौटहरूबाट मैले सुझबुझ चलाएको र अरूप्रति विचारशील भएको देखिन्छ? के मेरो पहिरनले म परमेश्वरको सेवक हुँ भनेर देखाउँछ?’ (१ कोरि. १०:३१-३३; ति. २:६) सुझबुझ भएका जवान भाइले मण्डलीका दाजुभाइ दिदीबहिनीको मात्र होइन, यहोवाको पनि आदर कमाउँछन्।
८. जवान भाइहरू कसरी भरोसायोग्य हुन सक्छन्?
८ भरोसायोग्य हुनुहोस्। भरोसायोग्य व्यक्तिले आफूलाई सुम्पिइएको जिम्मेवारी लगनशील भई पूरा गर्छन्। (लुका १६:१०) येसुको उदाहरण विचार गरौँ। उहाँले आफूलाई सुम्पिइएको जिम्मेवारीलाई कहिल्यै हल्कासित लिनुभएन। बरु यहोवाले सुम्पनुभएका जिम्मेवारीहरू गाह्रो अवस्थामा समेत पूरा गर्नुभयो। उहाँ मानिसहरूलाई, अझ विशेषगरि आफ्ना चेलाहरूलाई प्रेम गर्नुहुन्थ्यो; त्यसैले उहाँ सबैको लागि आफ्नो जीवन दिन तयार हुनुभयो। (युह. १३:१) येसुको अनुकरण गर्दै आफूलाई सुम्पिइएको जुनसुकै जिम्मेवारी पूरा गर्न कडा मेहनत गर्नुहोस्। त्यो जिम्मेवारी कसरी पूरा गर्ने भनेर पक्का हुनुहुन्न भने नम्र हुँदै परिपक्व दाजुभाइलाई सोध्नुहोस्। आफूलाई दिइएको काम झारा टार्ने किसिमले नगर्नुहोस्। (रोमी १२:११) बरु “मानिसको लागि जस्तैगरि होइन तर यहोवा परमेश्वरको लागि जस्तैगरि तनमनले” गर्नुहोस्। (कल. ३:२३) हो, तपाईँ त्रुटिरहित हुनुहुन्न, त्यसैले गल्ती हुँदा नम्र हुँदै आफ्नो गल्ती स्विकार्नुहोस्।—हितो. ११:२.
उपयोगी सीपहरू सिक्नुहोस्
९. जवान भाइहरूले किन उपयोगी सीपहरू सिक्नुपर्छ?
९ परिपक्व ख्रिष्टियन बन्न तपाईँले उपयोगी सीपहरू सिक्नुपर्छ। यस्ता सीपहरूले तपाईँलाई मण्डलीका जिम्मेवारीहरू सम्हाल्न, आफ्नो अनि परिवारको भौतिक आवश्यकता पूरा गर्न सक्ने काम भेट्टाउन र अरूसित राम्रो सम्बन्ध कायम राख्न मदत गर्नेछ। आउनुहोस्, केही उपयोगी सीपबारे विचार गरौँ।
१०-११. राम्ररी लेखपढ गर्न सिक्दा जवान भाइहरूले कस्तो लाभ उठाउन सक्छन् र मण्डलीलाई पनि कस्तो फाइदा हुन्छ? (भजन १:१-३) (तस्बिर पनि हेर्नुहोस्।)
१० राम्ररी लेखपढ गर्न सिक्नुहोस्। बाइबलमा दिनहुँ परमेश्वरको वचन पढ्ने र त्यसमा मनन गर्ने व्यक्तिलाई आनन्दित र सफल व्यक्ति भनिएको छ। (भजन १:१-३ पढ्नुहोस्।) दिनहुँ बाइबल पढ्ने व्यक्तिले परमेश्वरको सोच्ने तरिका अझ राम्ररी बुझ्न सक्छन्, जसले तिनलाई राम्ररी सोचविचार गर्न र बाइबलको सिद्धान्त लागू गर्ने तरिका बुझ्न मदत गर्नेछ। (हितो. १:३, ४) मण्डलीमा यस्ता भाइहरूको खाँचो छ। किन?
११ किनकि हाम्रा भाइबहिनी बाइबलआधारित निर्देशन र सल्लाह-सुझावको लागि यस्ता भाइहरूको मदत खोज्छन्। (ति. १:९) यदि तपाईँ राम्ररी लेखपढ गर्न सक्नुहुन्छ भने तपाईँले जानकारीमूलक र विश्वासलाई बलियो बनाउने भाषण अनि टिप्पणीहरू तयारी गर्न सक्नुहुनेछ। साथै व्यक्तिगत अध्ययन, सभा, सम्मेलन र अधिवेशनहरूमा अर्थपूर्ण टिपोटहरू लिन सक्नुहुनेछ। यी टिपोटहरूले तपाईँलाई आफ्नो विश्वास बलियो बनाउन र अरूलाई प्रोत्साहन दिन मदत गर्नेछ।
१२. तपाईँ कसरी राम्ररी कुराकानी गर्ने सीप विकास गर्न सक्नुहुन्छ?
१२ राम्ररी कुराकानी गर्ने सीप विकास गर्नुहोस्। ख्रिष्टियन पुरुषले राम्ररी कुराकानी गर्न सिक्नुपर्छ। यस्तो सीप भएको भाइले अरूको कुरा ध्यान दिएर सुन्छन् र तिनीहरूको सोचाइ अनि भावना बुझ्छन्। (हितो. २०:५) साथै अरूको बोल्ने शैली, अनुहारको भाव र शरीरको हाउभाउ हेरेर तिनीहरूले महसुस गरिरहेको कुरा बुझ्ने कोसिस गर्न सक्छन्। तपाईँले मानिसहरूसित समय बिताउनुभएन भने यस्तो सीप विकास गर्न सक्नुहुन्न। यदि तपाईँ जतिखेर पनि इमेल र मेसेजमार्फत मात्र कुराकानी गर्नुहुन्छ भने तपाईँलाई मानिसहरूसित भेटेरै कुराकानी गर्न झन्झनै गाह्रो हुन सक्छ। त्यसैले अरूसित भेटेरै कुराकानी गर्ने मौकाहरू खोज्नुहोस्।—२ युह. १२.
१३. जवान भाइहरूले अरू के पनि सिक्नुपर्छ? (१ तिमोथि ५:८) (तस्बिर पनि हेर्नुहोस्।)
१३ आत्मनिर्भर हुन सिक्नुहोस्। परिपक्व ख्रिष्टियन पुरुषले आफ्नो र आफ्नो घरपरिवारको भौतिक आवश्यकता पूरा गर्नुपर्छ। (१ तिमोथि ५:८ पढ्नुहोस्।) केही देशहरूमा जवानहरूले आफ्नो बुबा वा आफन्तबाट कुनै सीप सिक्छन्। अरू केही ठाउँमा भने जवानहरूलाई स्कुलमै सीपमूलक तालिम दिइन्छ। तपाईँले जोबाट सिक्नुभए पनि काम पाउन सजिलो हुन सक्ने सीप सिक्नु राम्रो हो। (प्रेषि. १८:२, ३; २०:३४; एफि. ४:२८) मेहनती र काम नसिद्धिउन्जेल त्यसमा लागिरहने व्यक्तिको रूपमा नाम कमाउनुहोस्। त्यसो गर्नुभयो भने तपाईँलाई जागिर भेट्टाउन र त्यसमा टिकिराख्न सजिलो हुन सक्छ। यस लेखमा छलफल गरिएका गुण तथा सीपहरू भाइहरूलाई भविष्यमा विभिन्न भूमिका निर्वाह गर्न नभई हुँदैन। तीमध्ये केही भूमिकाबारे विचार गरौँ।
भविष्यका भूमिकाहरूको लागि तयारी गर्नुहोस्
१४. जवान भाइहरू पूर्ण-समय सेवक बन्न कसरी तयार हुन सक्छन्?
१४ पूर्ण-समय सेवक। थुप्रै परिपक्व ख्रिष्टियन पुरुषले जवान छँदै पूर्ण-समय सेवा सुरु गरेका छन्। अग्रगामी सेवा गर्दा जवान पुरुषहरूले थरीथरीका मानिसहरूसित मिलेर काम गर्न सिक्न सक्छन्। यसले तिनीहरूलाई बुद्धिमानीपूर्वक पैसा खर्च गर्न र आम्दानीभन्दा धेरै खर्च नगर्न पनि सिकाउँछ। (फिलि. ४:११-१३) पूर्ण-समय सेवा सुरु गर्नुअघि सहायक अग्रगामी सेवा गर्नु बेस हो। यसरी केही समयको लागि सहायक अग्रगामी सेवा गरेकाहरू नियमित अग्रगामी सेवाको लागि तयार हुन सकेका छन्। अग्रगामी सेवाले पूर्ण-समय सेवाका अरू ढोकाहरू पनि खोल्छ। जस्तै: निर्माण सेवा, बेथेल सेवा।
१५-१६. कुनै जवान भाइ कसरी सहायक सेवक वा एल्डरको रूपमा सेवा गर्न योग्य हुन सक्छन्?
१५ सहायक सेवक वा एल्डर। ख्रिष्टियन पुरुषहरूले एल्डरको रूपमा मण्डलीका दाजुभाइ दिदीबहिनीको सेवा गर्ने लक्ष्य राख्नुपर्छ। एल्डरको रूपमा सेवा गर्न अघि बढिरहेका पुरुषहरूले ‘असल काम गर्न चाहेका हुन्छन्’ भनेर बाइबल बताउँछ। (१ तिमो. ३:१) एल्डरको रूपमा नियुक्त हुनुअघि भाइहरू सहायक सेवकको रूपमा सेवा गर्न योग्य हुनुपर्छ। सहायक सेवकहरूले एल्डरहरूलाई भाइबहिनीको ख्याल राख्न विभिन्न व्यावहारिक तरिकामा सघाउँछन्। एल्डर अनि सहायक सेवकहरू दुवैले नम्र भई मण्डलीका भाइबहिनीको सेवा गर्छन् र जोसका साथ सुसमाचार सुनाउने काममा भाग लिन्छन्। सहायक सेवकको रूपमा सेवा गर्न १७ देखि १९ वर्षका जवान भाइहरू पनि योग्य हुन सक्छन्। अनि योग्य सहायक सेवक २० वर्ष मात्र पुगेका छन् भने पनि तिनी एल्डरको रूपमा सेवा गर्न नियुक्त हुन सक्छन्।
१६ तपाईँ यी भूमिकाहरूको लागि कसरी योग्य हुन सक्नुहुन्छ? बाइबलमा तपाईँले विकास गर्नुपर्ने गुणहरूबारे बताइएको छ अनि ती गुणहरू यहोवा, परिवार र मण्डलीका भाइबहिनीप्रतिको प्रेममा आधारित छन्। (१ तिमो. ३:१-१३; ति. १:६-९; १ पत्रु. ५:२, ३) ती प्रत्येक गुणमा के-के समावेश छ भनेर बुझ्ने कोसिस गर्नुहोस्। अनि ती गुणहरू विकास गर्न मदत माग्दै यहोवालाई प्रार्थना गर्नुहोस्। c
१७. कुनै जवान भाइ कसरी परिवारको शिर र पतिको भूमिका पूरा गर्न तयार हुन सक्छन्? (तस्बिर पनि हेर्नुहोस्।)
१७ परिवारको शिर र पति। येसुले भन्नुभएझैँ केही परिपक्व भाइले अविवाहित रहने छनौट गरेका छन्। (मत्ति १९:१२) तर विवाह गर्ने छनौट गर्नुभयो भने तपाईँले परिवारको शिर र पतिको रूपमा थप भूमिका पूरा गर्नुपर्ने हुन्छ। (१ कोरि. ११:३) पतिले पत्नीलाई प्रेम गरेको अनि पत्नीको शारीरिक, भावनात्मक र आध्यात्मिक आवश्यकताको ख्याल यहोवा राखेको चाहनुहुन्छ। (एफि. ५:२८, २९) यस लेखमा सोच्ने क्षमता विकास गर्ने, स्त्रीहरूको आदर गर्ने र भरोसायोग्य हुनेजस्ता गुण तथा सीपहरूबारे छलफल गऱ्यौँ। यसले तपाईँलाई असल पति हुन मदत गर्नेछ। साथै तपाईँ पति र परिवारको शिरको भूमिका पूरा गर्न तयार हुनुहुनेछ।
१८. भविष्यमा बुबाको भूमिका पूरा गर्न जवान भाइहरूले कसरी तयारी गर्न सक्छन्?
१८ बुबा। विवाह गरेपछि तपाईँको छोराछोरी जन्मिन पनि सक्छ। असल बुबा हुने सन्दर्भमा तपाईँ यहोवाबाट के सिक्न सक्नुहुन्छ? थुप्रै पाठ सिक्न सक्नुहुन्छ। (एफि. ६:४) यहोवाले आफ्नो छोरा येसुलाई प्रेम गरेको र स्विकारेको कुरा खुलस्त बताउनुभयो। (मत्ति ३:१७) तपाईँ बुबा बन्नुभयो भने छोराछोरीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा तिनीहरूलाई विश्वस्त पारिरहनुहोस्। तिनीहरूले गरेका असल कामहरूको खुलेर प्रशंसा गर्नुहोस्। यहोवाको अनुकरण गर्ने बुबाहरूले आफ्ना छोराछोरीलाई परिपक्व बन्न मदत गर्न सक्छन्। परिवारका सदस्यहरू र मण्डलीका भाइबहिनीलाई प्रेम गरेको देखाएर र तिनीहरूको राम्रोसँग हेरविचार गरेर तपाईँ अहिल्यैदेखि असल बुबा बन्ने तयारी गर्न सक्नुहुन्छ। त्यसैले तिनीहरूलाई प्रेम गरेको र अनमोल ठानेको कुरा बताउन सिक्नुहोस्। (युह. १५:९) यसले तपाईँलाई भविष्यमा पति र बुबाको भूमिकाको लागि तयार बनाउनेछ। यी सुझावहरू लागू गर्नुभयो भने तपाईँ यहोवा, परिवार र मण्डलीको लागि बहुमूल्य साबित हुनुहुनेछ।
अब तपाईँ के गर्नुहुन्छ?
१९-२०. जवान भाइहरू कसरी परिपक्व ख्रिष्टियन बन्न सक्छन्? (आवरण तस्बिर हेर्नुहोस्।)
१९ जवान भाइहरू हो, तपाईँहरू आफसेआफ परिपक्व ख्रिष्टियन बन्नुहुन्न। त्यसको लागि अनुकरण गर्न सक्ने असल उदाहरणहरूमध्ये केही रोज्नुपर्छ, सोच्ने क्षमता विकास गर्नुपर्छ, भरोसायोग्य हुनुपर्छ, जीवनमा उपयोगी हुने सीपहरू सिक्नुपर्छ र भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूको लागि तयारी गर्नुपर्छ।
२० आफूले उन्नति गर्नुपर्ने क्षेत्रहरूबारे सोच्दा तपाईँ अत्तालिनुहुन्छ होला। तर तपाईँ सफल हुन सक्नुहुन्छ। यहोवा तपाईँलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ भनेर नबिर्सनुहोस्। (यसै. ४१:१०, १३) अनि मण्डलीका भाइबहिनी पनि तपाईँलाई मदत गर्न तयार छन्। आफ्नो तर्फबाट सक्दो कोसिस गरेर परिपक्व ख्रिष्टियन बनेपछि तपाईँको जीवनमा खुसीयाली छाउनेछ। हामी तपाईँ जवान भाइहरूलाई धेरै माया गर्छौँ। परिपक्व ख्रिष्टियन बन्न तपाईँहरूले गर्नुहुने प्रयासमा यहोवाले प्रचुर मात्रामा आशिष् देऊन्!—हितो. २२:४.
गीत ६५ बढ्दै जाऊ!
a मण्डलीमा परिपक्व पुरुषहरूको खाँचो छ। यस लेखमा जवान भाइहरू कसरी परिपक्व ख्रिष्टियन बन्न सक्छन् भनेर छलफल गर्नेछौँ।
b यसअघिको लेखको “थप व्याख्या” हेर्नुहोस्।
c यहोवाको इच्छाबमोजिम गर्न सङ्गठित, अध्या. ५-६ हेर्नुहोस्।