सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ५०

हामी विश्‍वास र कामद्वारा धर्मी ठहरिन सक्छौँ

हामी विश्‍वास र कामद्वारा धर्मी ठहरिन सक्छौँ

‘हाम्रा बुबा अब्राहामसित जुन विश्‍वास थियो, त्यसको पदचिन्हमा हिँड्‌नुहोस्‌।’—रोमी ४:१२.

गीत ११९ साँचो विश्‍वास हुनै पर्छ

परिचय a

१. अब्राहामको विश्‍वासबारे सोच्दा हाम्रो मनमा कस्तो प्रश्‍न आउन सक्छ?

 संसारका थुप्रै मानिसले अब्राहामबारे सुनेका छन्‌। तर धेरैजसोलाई तिनीबारे थोरै कुरा मात्र थाह छ। तपाईँलाई अब्राहामबारे थुप्रै कुरा थाह छ होला। जस्तै: बाइबलमा अब्राहामलाई “विश्‍वासले गर्दा धर्मी ठहरिएकाहरू सबैको बुबा” भनिएको छ। (रोमी ४:११) तर तपाईँलाई लाग्ला: ‘के म अब्राहामको पदचिन्हमा हिँड्‌न र तिनको जस्तै बलियो विश्‍वास विकास गर्न सक्छु?’ पक्कै सक्नुहुन्छ।

२. अब्राहामबारे अध्ययन गर्नु किन महत्त्वपूर्ण छ? (याकुब २:२२, २३)

अब्राहामको जस्तै विश्‍वास विकास गर्ने एउटा तरिका तिनको जीवनी अध्ययन गरेर हो। परमेश्‍वरले आज्ञा दिनुभएअनुसारै अब्राहाम टाढाको देशमा सरे, दशकौँसम्म पालमा जीवन बिताए र आफ्नो प्यारो छोरा इसहाकलाई बलि चढाउन समेत तयार भए। यस्ता कामहरूबाट तिनको विश्‍वास बलियो छ भन्‍ने कुरा देखियो। अब्राहामको विश्‍वास र त्यसबमोजिमको कामले गर्दा तिनले परमेश्‍वरको अनुमोदन पाए र उहाँको मित्र कहलाइए। (याकुब २:२२, २३ पढ्‌नुहोस्‌।) यहोवा तपाईँलगायत हामी सबैले उहाँको अनुमोदन पाएको अनि उहाँसित मित्रता गाँसेको चाहनुहुन्छ। त्यसैले उहाँले पावल र याकुबलाई अब्राहामबारे लेख्न उत्प्रेरित गर्नुभयो। अब हामी रोमी अध्याय ४ र याकुब अध्याय २ छलफल गरौँ। यी दुइटै अध्यायमा अब्राहामबारे महत्त्वपूर्ण कुरा बताइएको छ।

३. पावल र याकुबले कुन बाइबल पद उद्धरण गरे?

पावल र याकुब दुवैले उत्पत्ति १५:६ उद्धरण गरे, जहाँ यस्तो लेखिएको छ: “अब्रामले यहोवा परमेश्‍वरमाथि विश्‍वास गरे। त्यसैले परमेश्‍वरले तिनलाई आफ्नो नजरमा धर्मी ठहराउनुभयो।” यहोवा उहाँलाई खुसी तुल्याउने व्यक्‍तिलाई धर्मी वा खोटरहित ठान्‍नुहुन्छ। हामीजस्तो त्रुटिपूर्ण अनि पापी मानिस परमेश्‍वरको नजरमा खोटरहित ठहरिन सक्छौँ भन्‍ने कुरा कत्ति अचम्मलाग्दो छ नि, होइन? तपाईँ पक्कै पनि परमेश्‍वरको नजरमा धर्मी ठहरिन चाहनुहुन्छ र यो सम्भव पनि छ। कसरी? यो कुरा बुझ्न सुरुमा परमेश्‍वरले अब्राहामलाई कसरी धर्मी ठहराउनुभयो, विचार गरौँ।

धर्मी ठहरिन विश्‍वास अत्यावश्‍यक

४. मानिसलाई धर्मी हुनदेखि कुन कुराले रोक्छ?

रोमीहरूलाई लेखेको पत्रमा पावलले सबै मानिस पापी छन्‌ भने। (रोमी ३:२३) त्यसोभए कुनै व्यक्‍ति परमेश्‍वरको नजरमा कसरी धर्मी ठहरिन र उहाँको अनुमोदन पाउन सक्छन्‌? यो कुरा बुझाउन पावलले अब्राहामको उदाहरण चलाए।

५. यहोवाले अब्राहामलाई केको आधारमा धर्मी ठहराउनुभयो? (रोमी ४:२-४)

अब्राहाम कनानमा छँदा यहोवाले तिनलाई धर्मी ठहराउनुभयो। केको आधारमा? के तिनले मोसाको व्यवस्था पालन गरेकोले हो? होइन। (रोमी ४:१३) परमेश्‍वरले तिनलाई धर्मी ठहराउनुभएको ४०० वर्षपछि मात्रै इस्राएल राष्ट्रलाई मोसाको व्यवस्था दिइएको थियो। त्यसोभए परमेश्‍वरले अब्राहामलाई केको आधारमा धर्मी ठहराउनुभयो? उहाँले तिनलाई असीम अनुग्रह देखाउनुभयो र तिनको विश्‍वासको आधारमा तिनलाई धर्मी ठहराउनुभयो।—रोमी ४:२-४ पढ्‌नुहोस्‌।

६. यहोवा पापी मानिसलाई कसरी धर्मी ठहराउनुहुन्छ?

परमेश्‍वरमाथि विश्‍वास राख्ने व्यक्‍तिलाई ‘उसको विश्‍वासले धर्मी ठहराउँछ’ भनेर पावलले बताए। (रोमी ४:५) तिनले यसो पनि भने: “दाउदले पनि यस्तो मानिसको आनन्दबारे चर्चा गरेका छन्‌, जसलाई कामविना पनि परमेश्‍वरले धर्मी ठहराउनुहुन्छ: ‘आनन्दित हुन्‌ तिनीहरू, जसका कुकर्महरू क्षमा भएका छन्‌ र जसका पापहरू ढाकिएका छन्‌। आनन्दित हो त्यो मानिस, जसको पापको लेखा यहोवा परमेश्‍वरले कुनै हालतमा राख्नुहुनेछैन।’” (रोमी ४:६-८; भज. ३२:१, २) परमेश्‍वरमाथि विश्‍वास राख्नेहरूको पापलाई उहाँले ढाक्नुहुन्छ अर्थात्‌ क्षमा गर्नुहुन्छ। उहाँ तिनीहरूलाई पूर्णतया क्षमा दिनुहुन्छ र तिनीहरूको पापको लेखा राख्नुहुन्‍न। यहोवा त्यस्ता व्यक्‍तिहरूलाई तिनीहरूको विश्‍वासको आधारमा खोटरहित र धर्मी ठहराउनुहुन्छ।

७. विगतका वफादार उपासकहरू कसरी धर्मी ठहरिन सके?

अब्राहाम, दाउद र अरू वफादार उपासकहरू धर्मी ठहरिए तापनि त्रुटिपूर्ण र पापी नै थिए। तर तिनीहरूको विश्‍वासले गर्दा परमेश्‍वरको उपासना नगर्ने मानिसहरूको तुलनामा तिनीहरूलाई परमेश्‍वरले खोटरहित व्यक्‍तिको रूपमा हेर्नुभयो। (एफि. २:१२) रोमीहरूलाई लेखेको पत्रमा पावलले परमेश्‍वरको मित्र बन्‍न विश्‍वास हुनै पर्छ भनेर बताए। अब्राहाम र दाउद परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले उहाँको मित्र बन्‍न सके। हामी पनि परमेश्‍वरमाथि विश्‍वास गरेर उहाँको मित्र बन्‍न सक्छौँ।

विश्‍वास र काम कसरी सम्बन्धित छ?

८-९. पावल र याकुबले लेखेका कुराहरूबाट कसै-कसैले कस्तो गलत निष्कर्ष निकालेका छन्‌ र किन?

चर्चजगत्‌मा शताब्दीऔँदेखि विश्‍वास र कामबीच कस्तो सम्बन्ध छ भन्‍नेबारे चर्को विवाद हुँदै आएको छ। केही पास्टर उद्धार पाउन प्रभु येसुमा विश्‍वास मात्र गरे पुग्छ भनेर सिकाउँछन्‌। तिनीहरूले यसो भनेको तपाईँले सुन्‍नुभएको होला: “प्रभु येसुमा विश्‍वास गर्नुहोस्‌ र उद्धार पाउनुहोस्‌।” आफ्नो कुरा सही साबित गर्न तिनीहरू पावलका यी शब्दहरू पनि उद्धरण गर्छन्‌: “कामविना पनि परमेश्‍वरले धर्मी ठहराउनुहुन्छ।” (रोमी ४:६) तर “उद्धार पाउनको लागि” चर्चले पवित्र ठान्‍ने ठाउँमा जानुपर्छ र तिनीहरूले भनेअनुसारका असल कामहरू गर्नुपर्छ भनेर कोही-कोही भन्छन्‌। तिनीहरू यस कुरालाई सही साबित गर्न याकुब २:२४ पनि उद्धरण गर्छन्‌: “मानिसलाई उसको विश्‍वासद्वारा मात्र होइन तर कामहरूद्वारा धर्मी ठहराइनेछ।”

पास्टरहरूको यस्तो फरक-फरक धारणा भएकोले केही बाइबलविद्‌ले विश्‍वास र कामबारे पावल र याकुबको विचार मिल्दैन भन्‍ने निष्कर्ष निकाले। पास्टरहरूका अनुसार पावल परमेश्‍वरको अनुमोदन पाउन विश्‍वास मात्र गरे पुग्छ भन्थे अनि याकुबचाहिँ असल कामहरू मात्र गरे पुग्छ भन्थे। यसबारे धर्मसम्बन्धी एक प्राध्यापकले यसो भने: “पावलले कुनै व्यक्‍ति [धर्मी ठहरिन] विश्‍वास मात्र गरे पुग्छ भनेर बताउनुको कारण याकुबले बुझेनन्‌। त्यसैले याकुब पावलको भनाइसित सहमत भएनन्‌।” तर यहोवाले नै तिनीहरू दुवैलाई ती कुराहरू लेख्न प्रेरणा दिनुभएको थियो। (२ तिमो. ३:१६) त्यसैले पावल र याकुबले भनेको कुरा आपसमा बाझिँदैन भन्‍न सक्छौँ। यो कुरा बुझ्न तिनीहरूले आफ्ना पत्रहरूमा अरू के-कस्ता कुराहरू लेखे भनेर विचार गर्नुपर्छ।

पावलले रोमका यहुदी ख्रिष्टियनहरूलाई मोसाको व्यवस्था अनुसारको काम होइन, विश्‍वास जरुरी छ भनेर बताए (अनुच्छेद १० हेर्नुहोस्‌) b

१०. पावलले मुख्यतः कस्तो “काम”-बारे कुरा गरिरहेका थिए? (रोमी ३:२१, २८) (चित्र पनि हेर्नुहोस्‌।)

१० पावलले रोमी अध्याय ३ र मा कस्तो “काम”-बारे बताइरहेका थिए? तिनले मुख्यतः “व्यवस्था अनुसारको काम”-बारे बताइरहेका थिए, जुन व्यवस्था इस्राएलीहरूलाई सिनै पर्वतमा दिइएको थियो। (रोमी ३:२१, २८ पढ्‌नुहोस्‌।) पावलको समयका केही यहुदी ख्रिष्टियनलाई मोसाको व्यवस्था रद्द भइसक्यो र त्यसबमोजिमका कामहरू गर्नुपर्दैन भनेर स्विकार्न गाह्रो भइरहेको थियो जस्तो देखिन्छ। त्यसैले पावलले परमेश्‍वरको नजरमा धर्मी ठहरिन “व्यवस्था अनुसारको काम” गर्नुपर्दैन बरु विश्‍वास गर्नुपर्छ भनेर बुझाउन अब्राहामको उदाहरण बताए। यो निकै प्रोत्साहनदायी छ किनकि परमेश्‍वर र ख्रिष्टमा विश्‍वास गर्छौँ भने हामीले परमेश्‍वरको अनुमोदन पाउन सक्छौँ।

याकुबले ख्रिष्टियनहरूलाई आफ्नो विश्‍वास “कामद्वारा” देखाउन आग्रह गरे। जस्तै: कसैलाई भेदभाव नगरी दयालु कामहरू गर्ने (अनुच्छेद ११-१२ हेर्नुहोस्‌) c

११. याकुबले बताएको “काम”-ले केलाई बुझाउँछ?

११ अर्कोतर्फ, याकुब अध्याय २ मा बताइएको “काम” पावलले बताएको “व्यवस्था अनुसारको काम”-भन्दा फरक छ। याकुबले बताएको कामले ख्रिष्टियनहरूले दैनिक जीवनमा गर्ने कामकुरालाई बुझाउँछ। त्यस्ता कामकुराले कुनै ख्रिष्टियनसित परमेश्‍वरमाथि साँचो विश्‍वास छ कि छैन भनेर देखाउँछ। आउनुहोस्‌, याकुबले बताएको दुइटा उदाहरण विचार गरौँ।

१२. याकुबले बताएअनुसार विश्‍वास र काम कसरी सम्बन्धित छ? (चित्र पनि हेर्नुहोस्‌।)

१२ पहिलो उदाहरणमा ख्रिष्टियनहरूले अरूसित व्यवहार गर्दा पक्षपात गर्नु हुँदैन भनेर याकुबले बताए। त्यस उदाहरणमा एक जना मानिसले धनी मानिसलाई इज्जत गर्छन्‌ तर गरिब मानिसलाई भने तुच्छ ठान्छन्‌। त्यस मानिसले आफूसित विश्‍वास भएको दाबी गरे तापनि के तिनको कामबाट तिनीसित विश्‍वास भएको देखिन्छ? (याकु. २:१-५, ९) दोस्रो उदाहरणमा याकुबले एक जना मानिसबारे बताए, जसले ‘कुनै भाइ वा बहिनीसित लुगा वा दिनभरि खान पुग्ने भोजन नभएको’ देख्छन्‌ तर मदत भने गर्दैनन्‌। तिनले आफूसित विश्‍वास भएको दाबी गरे तापनि कामबाट नदेखाएकोले तिनको विश्‍वास बेकारको थियो। याकुबले यस्तो लेखे: “विश्‍वास . . . कामबाट प्रकट हुँदैन भने त्यो मरेको हुन्छ।”—याकु. २:१४-१७.

१३. याकुबले विश्‍वास कामद्वारा देखाउनुको महत्त्व कसरी बुझाए? (याकुब २:२५, २६)

१३ याकुबले विश्‍वास कामद्वारा देखाउने सन्दर्भमा राहाबको उदाहरण बताए। (याकुब २:२५, २६ पढ्‌नुहोस्‌।) राहाबले यहोवा र उहाँले इस्राएलीहरूलाई साथ दिनुभएको कुराबारे सुनेकी थिइन्‌। (यहो. २:९-११) उनले आफ्नो विश्‍वास कामद्वारा प्रकट गरिन्‌। एकचोटि दुई जना इस्राएली जासुसको ज्यान खतरामा पर्दा उनले तिनीहरूलाई बचाइन्‌। नतिजास्वरूप उनी त्रुटिपूर्ण र गैर-इस्राएली भए तापनि अब्राहामजस्तै धर्मी ठहरिन्‌। राहाबको उदाहरणबाट विश्‍वास कामद्वारा देखाउनुको महत्त्व बुझ्न सक्छौँ।

१४. पावल र याकुबको कुरा आपसमा बाझिँदैन भनेर किन भन्‍न सक्छौँ?

१४ पावल र याकुबले विश्‍वास अनि कामबारे फरक-फरक दृष्टिकोणबाट व्याख्या गरिरहेका थिए। पावलले यहुदी ख्रिष्टियनहरूलाई मोसाको व्यवस्थाबमोजिमका कामहरू मात्र गरेर कहिल्यै यहोवाको अनुमोदन पाउन सकिँदैन भनेर बताइरहेका थिए। याकुबले भने सबै ख्रिष्टियनले आफ्नो विश्‍वास असल कामहरूबाट प्रकट गर्नुपर्छ भन्‍ने कुरामा जोड दिइरहेका थिए।

के तपाईँको विश्‍वासले तपाईँलाई यहोवाले स्विकार्नुहुने कामहरू गर्न उत्प्रेरित गरिरहेको छ? (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. विश्‍वास कामबाट देखाउन सकिने केही तरिका के-के हुन्‌? (तस्बिरहरू पनि हेर्नुहोस्‌।)

१५ हामी धर्मी ठहरिन चाहन्छौँ भने अब्राहामले जे गरे, त्यही गर्नुपर्छ भनेर यहोवाले भन्‍नुभएको छैन। वास्तवमा आफ्नो विश्‍वास कामबाट प्रकट गर्ने थुप्रै तरिका छन्‌। जस्तै: हामी मण्डलीमा पहिलो चोटि आएका मानिसहरूलाई अनि अर्को मण्डलीबाट सरेर आएका भाइबहिनीलाई स्वागत गर्न सक्छौँ, खाँचोमा परेका भाइबहिनीलाई मदत गर्न सक्छौँ अनि परिवारका सदस्यहरूको लागि असल कामहरू गर्न सक्छौँ। यस्ता कामहरू गर्ने व्यक्‍तिलाई परमेश्‍वर स्विकार्नुहुन्छ र आशिष्‌ दिनुहुन्छ। (रोमी १५:७; १ तिमो. ५:४, ८; १ युह. ३:१८) हाम्रो विश्‍वास प्रकट गर्ने सबैभन्दा महत्त्वपूर्ण तरिका मानिसहरूलाई जोसका साथ सुसमाचार सुनाउनु हो। (१ तिमो. ४:१६) यहोवाका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ र उहाँको तौरतरिका सबैभन्दा उत्कृष्ट छ भनेर विश्‍वास गरेको कुरा आफ्नो कामबाट देखाउन सक्छौँ। त्यसो गऱ्‍यौँ भने परमेश्‍वरले हामीलाई धर्मी ठहराउनुहुनेछ र आफ्नो मित्र बनाउनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।

बलियो विश्‍वासको लागि आशा अत्यावश्‍यक

१६. आशाले अब्राहामको विश्‍वासलाई कसरी बलियो बनायो?

१६ रोमी अध्याय ४ मा अब्राहामबाट सिक्न सकिने अर्को महत्त्वपूर्ण पाठबारे बताइएको छ। त्यो हो, आशाको महत्त्व। अब्राहाममार्फत “थुप्रै जाति”-ले आशिष्‌ पाउनेछन्‌ भनेर यहोवाले प्रतिज्ञा गर्नुभयो। अब्राहामले कत्ति सुन्दर आशा पाएका थिए, कल्पना गर्नुहोस्‌ त। (उत्प. १२:३; १५:५; १७:४; रोमी ४:१७) तर अब्राहाम १०० वर्ष अनि सारा ९० वर्ष पुगिसक्दा पनि तिनीहरूको कुनै सन्तान थिएन। मानिसको नजरबाट हेर्दा तिनीहरूले सन्तान जन्माउनु असम्भवजस्तो देखिन्थ्यो। यसले गर्दा अब्राहामको विश्‍वासको जाँच भयो। तैपनि आफूलाई “भनिएबमोजिमै थुप्रै जातिको बुबा हुनेछु भनेर आशा गर्दै तिनले विश्‍वास गरे।” (रोमी ४:१८, १९) अन्ततः तिनले लामो समयदेखि आशा गरेको कुरा पूरा भयो। अब्राहामले इसहाकलाई जन्माए।—रोमी ४:२०-२२.

१७. हामी परमेश्‍वरको मित्रको रूपमा धर्मी ठहरिन सक्छौँ भनेर किन भन्‍न सकिन्छ?

१७ हामी अब्राहामजस्तै परमेश्‍वरको अनुमोदन पाउन र उहाँको मित्रको रूपमा धर्मी ठहरिन सक्छौँ। यही कुरालाई जोड दिँदै पावलले यस्तो लेखे: “‘तिनी उहाँको नजरमा धर्मी ठहरिए’ भनेर [अब्राहामको] लागि मात्र लेखिएको थिएन तर हाम्रो लागि पनि थियो किनकि हाम्रा प्रभु येसुलाई मृत्युबाट ब्युँताउनुहुनेमाथि विश्‍वास राखेको हुनाले हामी पनि धर्मी ठहरिनेछौँ।” (रोमी ४:२३, २४) अब्राहामसित जस्तै हामीसित पनि विश्‍वास हुनुपर्छ र त्यसबमोजिमको काम गर्नुपर्छ। त्यति मात्र होइन, हामीसित आशा पनि हुनुपर्छ। पावलले रोमी अध्याय ५ मा हाम्रो आशाबारे चर्चा गरेका छन्‌, जुन हामी अर्को लेखमा छलफल गर्नेछौँ।

गीत २८ यहोवाको मित्र बनौँ

a हामी परमेश्‍वरको अनुमोदन पाउन र उहाँको नजरमा धर्मी ठहरिन चाहन्छौँ। यो कसरी सम्भव छ? अनि यहोवाको अनुमोदन पाउन विश्‍वास र काम दुवै किन आवश्‍यक छ? यस लेखमा पावल र याकुबले लेखेका कुराहरूबाट यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ।

b चित्रको व्याख्या: लुगाको किनारामा निलो धागो हुनुपर्ने, निस्तार चाड मनाउनुपर्ने र रीतिअनुसार हात धुनुपर्नेजस्ता “व्यवस्था अनुसारको काम”-मा होइन, विश्‍वासमा ध्यान केन्द्रित गर्न पावलले यहुदी ख्रिष्टियनहरूलाई प्रोत्साहन दिए।

c चित्रको व्याख्या: गरिबलाई मदत गर्नेजस्ता असल कामहरू गरेर विश्‍वास देखाउन याकुबले प्रोत्साहन दिए।