अध्ययन लेख ५०
गीत १३५ यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान् होऊ”
आमाबुबा हो, छोराछोरीलाई विश्वास बलियो बनाउन मदत गर्नुहोस्
“तिमीहरूले परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।”—रोमी १२:२.
सिक्न सकिने कुरा
यस लेखमा आमाबुबाले आफ्ना छोराछोरीसित यहोवा र बाइबलबारे कसरी कुरा गर्न सक्छन् र तिनीहरूलाई विश्वास बलियो बनाउन कसरी मदत गर्न सक्छन् भनेर छलफल गर्नेछौँ।
१-२. छोराछोरीले हाम्रो विश्वासबारे प्रश्न गर्दा आमाबुबाले के गर्नुपर्छ?
छोराछोरी हुर्काउनु भनेको सजिलो काम होइन। तपाईँका साना छोराछोरी छन् भने तिनीहरूको विश्वास बलियो बनाउन तपाईँ निकै मेहनत गर्दै हुनुहुन्छ होला। (व्यव. ६:६, ७) यो देखेर यहोवा खुसी हुनुहुन्छ। तर हुर्कँदै जाँदा तिनीहरूले हाम्रो बाइबलआधारित विश्वास र बाइबलका नैतिक स्तरहरूबारे प्रश्नहरू सोध्न सक्छन्।
२ छोराछोरीले त्यस्ता प्रश्नहरू सोध्दा तपाईँलाई चिन्ता लाग्न सक्छ। सायद तपाईँलाई यहोवा र बाइबलमाथि तिनीहरूको विश्वास कमजोर भयो कि जस्तो पनि लाग्ला। तर चिन्ता नगर्नुहोस्! छोराछोरी हुर्कँदै जाँदा तिनीहरूले आफ्नो विश्वास बलियो बनाउन त्यस्ता प्रश्नहरू सोध्नु राम्रो हो। (१ कोरि. १३:११) छोराछोरीले प्रश्न सोध्दा त्यसलाई तिनीहरूको विश्वास अझ बलियो बनाउने मौकाको रूपमा हेर्नुहोस्। त्यतिबेला तपाईँ तिनीहरूलाई बाइबल अनि परमेश्वरबारे अझ गहिरिएर सोच्न मदत दिन सक्नुहुन्छ।
३. यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ यस लेखमा आमाबुबाले छोराछोरीलाई यी तीन वटा क्षेत्रमा कसरी मदत गर्न सक्छन् भनेर विचार गर्नेछौँ: (१) विश्वास बलियो बनाउन, (२) बाइबलका नैतिक स्तरहरू पालन गर्दा आफ्नै हित हुन्छ भनेर बुझ्न र (३) आफ्नो विश्वासको पक्षमा बोल्न। साथै छोराछोरीले प्रश्न सोध्नु किन राम्रो हो भनेर विचार गर्नेछौँ। अनि पूरै परिवार मिलेर के-कस्ता गतिविधिमा भाग लिँदा यहोवा र बाइबलबारे कुरा गर्ने मौका मिल्न सक्छ, त्यसबारे पनि बुझ्नेछौँ।
छोराछोरीलाई विश्वास बलियो बनाउन मदत गर्नुहोस्
४. छोराछोरीको मनमा कस्ता प्रश्नहरू आउन सक्छन् र किन?
४ तपाईँ यहोवामा विश्वास गर्नुहुन्छ भन्दैमा छोराछोरीले पनि गर्छन् भन्ने छैन। तपाईँले आफ्नो विश्वास बलियो बनाउँदै लैजानुपरेको थियो र तपाईँका छोराछोरीले पनि त्यसै गर्नुपर्छ। हुर्कँदै जाँदा छोराछोरीको मनमा यस्ता प्रश्नहरू आउन सक्छन्: ‘के परमेश्वर साँच्चै हुनुहुन्छ? के बाइबलले भनेका कुराहरू सही हुन्?’ हुन पनि बाइबलले हामीलाई ‘आफ्नो सोचविचार गर्ने क्षमता चलाउन’ र ‘सबै कुरा जाँच्न’ प्रोत्साहन दिन्छ। (रोमी १२:१; १ थिस्स. ५:२१) त्यसोभए तपाईँ आफ्नो छोराछोरीलाई विश्वास बलियो बनाउन कसरी मदत गर्न सक्नुहुन्छ?
५. बाइबलमाथिको विश्वास बलियो बनाउन आमाबुबाले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्? (रोमी १२:२)
५ छोराछोरीलाई प्रमाण केलाउन प्रोत्साहन दिनुहोस्। यसो गर्दा तिनीहरूले बाइबलले भनेका कुराहरू सही हुन् भनेर राम्ररी थाह पाउन सक्नेछन्। (रोमी १२:२ पढ्नुहोस्।) तपाईँका छोराछोरीले प्रश्न सोध्दा तिनलाई अनुसन्धान गर्ने तरिका सिकाइदिनुहोस्। यसको लागि तपाईँ यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-जस्ता सामग्रीहरू प्रयोग गर्न सक्नुहुन्छ। अनुसन्धान सहयोगी-मा “बाइबल” भन्ने विषयअन्तर्गत “परमेश्वरबाट प्रेरित” शीर्षक हेऱ्यौँ भने बाइबल मानिसहरूले लेखेको एउटा राम्रो किताब मात्र होइन बरु यो ‘परमेश्वरकै वचन हो’ भनेर देखाउने प्रमाणहरू पाउन सकिन्छ। (१ थिस्स. २:१३) तपाईँका छोराछोरीले हाम्रा प्रकाशनहरूमा पुरातन अस्सेरियाली सहर निनवेबारे पनि अनुसन्धान गर्न सक्छन्। विगतमा केही बाइबलविद्हरूले निनवे भन्ने सहर अस्तित्वमै थिएन भनेर दाबी गरेका थिए। तर १८५० को दशकतिर निनवे सहरका भग्नावशेषहरू भेटियो। यसले गर्दा बाइबलको विवरण सही हो भनेर प्रमाणित भयो। (सप. २:१३-१५) निनवेको विनाशबारे बाइबलमा गरिएको भविष्यवाणी कसरी पूरा भयो भनेर बुझ्न तपाईँका छोराछोरीले नोभेम्बर २०२१ को प्रहरीधरहरा-मा छापिएको “के तपाईँलाई थाह थियो?” भन्ने लेख हेर्न सक्छन्। तिनलाई हाम्रा प्रकाशनहरूमा पाइने जानकारी र बाहिरका भरपर्दा स्रोत-सामग्रीहरूमा पाइने जानकारी तुलना गरेर हेर्न प्रोत्साहन दिनुहोस्। यसो गर्दा तिनी बाइबलमा बताइएका कुराहरू सही हुन भनेर अझ विश्वस्त हुन सक्नेछन्।
६. आमाबुबाले छोराछोरीलाई सोचविचार गर्ने क्षमता चलाउन कसरी मदत दिन सक्छन्? एउटा उदाहरण दिनुहोस्। (चित्र पनि हेर्नुहोस्।)
६ छोराछोरीलाई सोचविचार गर्ने क्षमता चलाउन मदत दिनुहोस्। तपाईँ विभिन्न मौकामा आफ्ना छोराछोरीसित बाइबल र परमेश्वरबारे कुराकानी गर्न सक्नुहुन्छ। तपाईँ तिनीहरूसँगै म्युजियम, पार्क वा यहोवाका साक्षीहरूको शाखा कार्यालयमा भएका प्रदर्शनीहरू हेर्न जान सक्नुहुन्छ। साथै कुनै किताब वा भिडियोमा ऐतिहासिक घटना वा पुरातात्त्विक चिजबिजहरू देख्दा ती कुराहरू कसरी बाइबलसित मेल खान्छन् भनेर बताउन सक्नुहुन्छ। यसो गर्दा तपाईँको छोराछोरी आफैले बाइबलमा बताइएको कुरा सही रहेछ भनेर बुझ्न सक्नेछन्। जस्तै: तपाईँ आफ्ना छोराछोरीलाई ‘मोआबी शिलालेख’-बारे बताउन सक्नुहुन्छ। यो शिलालेख ३ हजार वर्ष पुरानो हो र यसमा यहोवाको नाम कुँदिएको छ। अहिले यो शिलालेख फ्रान्सको लुभ्र म्युजियममा राखिएको छ। हामी यस शिलालेखको चित्र इन्टरनेटमा वा हाम्रा प्रकाशनहरूमा पनि हेर्न सक्छौँ। यस शिलालेखको दुरुस्त नक्कल यहोवाका साक्षीहरूको विश्व मुख्यालयमा “बाइबल र परमेश्वरको नाम” भन्ने प्रदर्शनीमा पनि राखिएको छ। त्यस शिलालेखमा मोआबका राजा मेसाले इस्राएलको विद्रोह गरेको विषयमा लेखिएको छ। यो कुरा बाइबल विवरणमा पनि पाउन सकिन्छ। (२ राजा ३:४, ५) तपाईँको छोराछोरीले बाइबलमा बताइएको कुरा सही छ भन्ने प्रमाण आफ्नै आँखाले देखेपछि तिनको विश्वास अझ बलियो हुनेछ।—२ इतिहास ९:६ तुलना गर्नुहोस्।
७-८. (क) सृष्टिमा देखिने डिजाइनबाट हामी के सिक्न सक्छौँ? एउटा उदाहरण दिनुहोस्। (चित्र पनि हेर्नुहोस्।) (ख) सृष्टिकर्तामाथिको विश्वास बलियो बनाउन तपाईँ छोराछोरीलाई कस्ता प्रश्न सोध्न सक्नुहुन्छ?
७ छोराछोरीलाई सृष्टिलाई नियाल्न प्रोत्साहन दिनुहोस्। कुनै रमणीय ठाउँमा घुम्न जाँदा वा बगैँचामा काम गर्दा सृष्टिमा देखिने अचम्मलाग्दा डिजाइनहरूमा छोराछोरीको ध्यान खिच्नुहोस्। ती डिजाइनहरूले यी सबै बनाउनुहुने एक जना बुद्धिमान् व्यक्ति हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ। उदाहरणको लागि, सृष्टिका विभिन्न कुराहरूमा चक्रजस्तो आकारको डिजाइन देख्न सकिन्छ। यसबारे वैज्ञानिकहरूले निकै अध्ययन-अनुसन्धान गरेका छन्। ती चक्रहरूको सङ्ख्या गन्दा एउटा निश्चित क्रम देखिन्छ भनेर एक जना वैज्ञानिक निकोला फ्यामेलीले बताएका छन्। ती सङ्ख्याहरूको क्रमलाई नै फिबोनाची अनुक्रम भनिन्छ। यस्ता चक्राकार डिजाइनहरू थुप्रै कुरामा देख्न सकिन्छ। जस्तै: तारापुञ्ज, शङ्खेकिराको खपटा, बोटबिरुवाका पातहरू अनि सूर्यमुखी फूल। a
८ छोराछोरीले स्कुलमा प्रकृतिका नियमहरूबारे पनि सिक्छन्। उदाहरणको लागि, गुरुत्वाकर्षणको नियम। यसले पृथ्वीको चारैतिर रहेको वायुमण्डललाई आफ्नो ठाउँमा राख्छ। साथै समुद्र र यसको उर्लँदो छाललाई नियन्त्रणमा राख्छ। यस्तो भौतिक तालमेलले गर्दा पृथ्वीमा जीवन सम्भव भएको छ। प्रकृतिमा भएको यस्तो नियम बनाउने को हुनुहुन्छ होला? छोराछोरीले सृष्टिमा भएका यस्ता अचम्मलाग्दा कुराहरूबारे विचार गर्दा यहोवाले नै ती सबै बनाउनुभएको हो भनेर तिनीहरूको विश्वास अझ बलियो हुन सक्छ। (हिब्रू ३:४) छोराछोरी हुर्कँदै जाँदा तिनलाई बाइबलका नैतिक स्तरहरू पालन गर्दा हाम्रै हित हुन्छ भनेर बुझ्न मदत दिनु पनि महत्त्वपूर्ण छ। त्यसैले तपाईँ तिनलाई यस्तो प्रश्न सोध्न सक्नुहुन्छ: “यदि यहोवाले हामीलाई बनाउनुभएको हो भने हामीले कसरी जीवन बिताउनुपर्छ भन्ने कुरा पनि उहाँले नै बताउनुभएको हुनुपर्छ नि, हैन र?” त्यसपछि तपाईँ त्यस्तो भरपर्दो डोऱ्याइ बाइबलमा पाइन्छ भनेर बताउन सक्नुहुन्छ।
बाइबलका नैतिक स्तरहरू पालन गर्दा आफ्नै हित हुन्छ भनेर बुझ्न मदत दिनुहोस्
९. छोराछोरीले बाइबलको नैतिक स्तरबारे किन प्रश्न उठाउन सक्छन्?
९ कहिलेकाहीँ तपाईँका छोराछोरीले बाइबलका नैतिक स्तरहरूबारे प्रश्न उठाउन सक्छन्। त्यतिबेला तिनले त्यस्तो प्रश्न सोध्नुको कारण के हो भनेर बुझ्ने प्रयास गर्नुहोस्। तिनलाई बाइबलका नैतिक स्तरहरू चित्त नबुझेकोले हो कि? अथवा आफ्नो विश्वासबारे अरूलाई बताउन नसकेकोले मात्र हो? कारण जे भए पनि तिनलाई बाइबलका नैतिक स्तरहरू पालन गर्दा आफ्नै हित हुन्छ भनेर बुझ्न मदत दिनुहोस्। यसको लागि तपाईँ तिनलाई सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबबाट अध्ययन गराउन सक्नुहुन्छ। b
१०. तपाईँ आफ्ना छोराछोरीलाई यहोवासितको सम्बन्धलाई मोल गर्न कसरी मदत दिन सक्नुहुन्छ?
१० तपाईँका छोराछोरीलाई यहोवासितको सम्बन्धलाई मोल गर्न प्रोत्साहन दिनुहोस्। तिनीसित बाइबल अध्ययन गर्दा तिनको मनको कुरा निकाल्न सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबमा दिइएका प्रश्नहरू र उदाहरणहरू चलाउनुहोस्। (हितो. २०:५) उदाहरणको लागि, पाठ ८ मा यहोवालाई एक जना मायालु साथीसित तुलना गरिएको छ, जसले हाम्रो सुरक्षा र हितको लागि आज्ञाहरू दिनुहुन्छ। तिनीसित १ युहन्ना ५:३ छलफल गरिसकेपछि यस्तो प्रश्न सोध्न सक्नुहुन्छ: “यहोवा एक जना असल साथी हुनुहुन्छ भने उहाँले दिनुभएका आज्ञाहरूलाई हामीले कस्तो ठान्नुपर्छ?” हुनत यो प्रश्न साधारणजस्तो देखिएला तर यस्तो प्रश्न सोध्दा तपाईँका छोराछोरीले यहोवाका आज्ञाहरू उहाँको प्रेमको प्रमाण हुन् भनेर बुझ्नेछन्।—यसै. ४८:१७, १८.
११. बाइबलका सिद्धान्तहरू लागू गर्दा हाम्रै फाइदा हुन्छ भनेर बुझ्न तपाईँ छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ? (हितोपदेश २:१०, ११)
११ बाइबलका सिद्धान्तहरू लागू गर्दा हाम्रै फाइदा हुन्छ भनेर छलफल गर्नुहोस्। छोराछोरीसित बाइबल वा दैनिक पद पढ्दा बाइबलका सिद्धान्तहरूले तपाईँको परिवारलाई कस्तो फाइदा पुऱ्याएको छ भनेर छलफल गर्नुहोस्। उदाहरणको लागि, के तपाईँका छोराछोरीले लगनशील र इमानदार हुनुका फाइदाहरू बुझेका छन्? (हिब्रू १३:१८) बाइबलका सिद्धान्तहरू लागू गर्दा हामी स्वस्थ हुन्छौँ र अझ खुसी हुन सक्छौँ भनेर पनि तिनलाई बताउन सक्नुहुन्छ। (हितो. १४:२९, ३०) तपाईँका छोराछोरीले बाइबलका सिद्धान्तहरू लागू गर्दा आफ्नै फाइदा हुन्छ भनेर बुझेका छन् भने तिनले ती खुसीसाथ लागू पनि गर्नेछन्।—हितोपदेश २:१०, ११ पढ्नुहोस्।
१२. एक जना बुबाले आफ्नो छोरालाई बाइबलका सिद्धान्तहरू लागू गर्दा आफ्नै फाइदा हुन्छ भनेर बुझ्न कसरी मदत गरिरहेका छन्?
१२ फ्रान्सका स्टिभ र तिनकी पत्नीले आफ्नो १६ वर्षीय छोरा इथानलाई यहोवाका नैतिक स्तरहरू पालन गर्दा हाम्रै फाइदा हुन्छ भनेर बुझ्न मदत गरिरहेका छन्। यहोवाले हामीलाई प्रेम गर्नुभएकोले नै त्यस्ता स्तरहरू दिनुभएको हो भनेर बुझाउन तिनीहरू छोरालाई यस्ता प्रश्नहरू सोध्ने गर्छन्: ‘यहोवाले हामीलाई यो आज्ञा किन दिनुभएको हो? यसबाट उहाँ हामीलाई प्रेम गर्नुहुन्छ भनेर कसरी देखिन्छ? तिमीले यो आज्ञा पालन गरेनौ भने के हुन्छ?’ यस्तो कुराकानी गर्दा इथानले यहोवाका नैतिक स्तरहरू पालन गर्दा आफ्नै फाइदा हुन्छ भनेर राम्ररी बुझ्न सकेका छन्। स्टिभ भन्छन्: “हाम्रो उद्देश्य भनेको इथानलाई बाइबलमा पाइने बुद्धि मानव बुद्धिभन्दा कता हो कता उत्कृष्ट छ भनेर बुझ्न मदत दिनु हो।”
१३. आमाबुबाले छोराछोरीलाई बाइबलका सिद्धान्तहरू लागू गर्न कसरी तालिम दिन सक्छन्? एउटा उदाहरण दिनुहोस्।
१३ छोराछोरीलाई बाइबलका सिद्धान्तहरू लागू गर्न तालिम दिनुहोस्। तपाईँका छोराछोरीलाई कहिलेकाहीँ स्कुलमा क्लास प्रोजेक्टको रूपमा कुनै एउटा कथा पढ्न लगाइन सक्छ। त्यस कथामा भएका पात्रहरूले यहोवालाई मन नपर्ने कामहरू गरेका हुन सक्छन्। जस्तै: अवैध यौनसम्बन्ध, रिस वा झैझगडा। अनि कथामा ती पात्रहरूलाई राम्रा व्यक्तिहरूजस्तो देखाइन सक्छ। ती पात्रहरूले गरेका कामहरू यहोवालाई कस्तो लाग्छ होला भनेर बुझाउन केही बाइबल सिद्धान्तहरू प्रयोग गर्न सक्नुहुन्छ। (हितो. २२:२४, २५; १ कोरि. १५:३३; फिलि. ४:८) यसो गर्दा तिनले पछि त्यस कथाबारे कक्षामा छलफल हुँदा आफ्नो शिक्षक र साथीहरूलाई बाइबलबाट सिकेका कुराहरू बताउन सक्नेछन्।
छोराछोरीलाई आफ्नो विश्वासको पक्षमा बोल्न सिकाउनुहोस्
१४. केटाकेटीलाई अरूसित कुन विषयमा कुराकानी गर्न डर लाग्न सक्छ र किन?
१४ कहिलेकाहीँ केटाकेटीलाई आफूले विश्वास गरेका कुराहरूबारे अरूलाई बताउन डर लाग्न सक्छ। जस्तै: क्लासमा क्रमविकासबारे सिकाइँदा ‘मचाहिँ सृष्टिकर्तामा विश्वास गर्छु’ भनेर बताउन अप्ठ्यारो लाग्न सक्छ। किनभने शिक्षकहरूले प्रकृतिमा भएका सबै कुरा क्रमविकासबाटै आएका हुन भन्न सक्छन्। तपाईँ छोराछोरीलाई आफूले बाइबलबाट सिकेको कुरामा विश्वस्त हुन कसरी मदत गर्न सक्नुहुन्छ?
१५. केटाकेटीलाई आफूले बाइबलबाट सिकेको कुरामा अझ विश्वस्त हुन केले मदत गर्न सक्छ?
१५ तपाईँका छोराछोरीलाई बाइबलबाट आफूले सिकेको कुरामा अझ विश्वस्त हुन मदत गर्नुहोस्। छोराछोरीलाई आफूले सृष्टिकर्तामा विश्वास गरेकोमा लाज मान्नु पर्दैन भनेर बुझाउनुहोस्। (२ तिमो. १:८) किनभने थुप्रै वैज्ञानिकहरूले समेत प्रकृतिमा भएका कुराहरू आफसेआफ आयो भनेर मानिलिँदैनन्। प्रकृतिमा भएका कुराहरूको डिजाइन कत्ति जटिल छन् भनेर विचार गर्दा ती सबै एक जना बुद्धिमान् व्यक्तिले बनाएको हुनुपर्छ भन्ने निष्कर्षमा तिनीहरू पुगेका छन्। त्यसैले तिनीहरू स्कुलहरूमा सिकाइने क्रमविकासको सिद्धान्त स्विकार्दैनन्। तपाईँका छोराछोरी अरू भाइबहिनीको अनुभव सुनेर पनि सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा अझ विश्वस्त हुन सक्छन्। c
१६. आमाबुबाले छोराछोरीलाई आफ्नो विश्वासको पक्षमा बोल्न कसरी मदत गर्न सक्छन्? (१ पत्रुस ३:१५) (चित्र पनि हेर्नुहोस्।)
१६ छोराछोरीलाई आफ्नो विश्वासको पक्षमा बोल्न मदत गर्नुहोस्। (१ पत्रुस ३:१५ पढ्नुहोस्।) तपाईँ तिनीसित हाम्रो वेबसाइटमा भएका सृष्टि र क्रमविकाससम्बन्धी लेखहरू हेर्न सक्नुहुन्छ। त्यसपछि अरूलाई सृष्टिकर्ता हुनुहुन्छ भनेर बुझाउन ती लेखहरूमा भएको कुनचाहिँ तर्क प्रयोग गर्न चाहन्छन् भनेर सोध्नुहोस्। त्यसपछि साथीसित कसरी कुरा गर्न सकिन्छ भनेर अभ्यास गर्नुहोस्। यदि कोही साथी यस विषयमा कुराकानी गर्न चाहन्छन् भने सरल तर्क चलाएर कुरा गर्न प्रोत्साहन दिनुहोस्। तर ऊसित वादविवादचाहिँ नगर्नू भनेर पनि सम्झाउनुहोस्। उदाहरणको लागि, साथीले यसो भन्न सक्छन्: “म आफ्नो आँखाले देखेको कुरामा मात्र विश्वास गर्छु। भगवान्लाई कसले देखेको छ र?” त्यसपछि तपाईँको छोराछोरीले यस्तो तर्क गर्न सक्छन्: “मानौँ, तिमी जङ्गलमा हिँडिरहेको बेला एउटा चिटिक्क परेको घर देख्यौ। त्यो घर देखेपछि तिमीलाई कस्तो लाग्छ? त्यो कसैले नबनाई आफै आयो होला? त्यसोभए पृथ्वीमा भएका कुराहरू पनि आफसेआफ आएका होलान् त?”
१७. अरूलाई बाइबलको कुरा बताउने मौका खोज्न आमाबुबाले छोराछोरीलाई कसरी प्रोत्साहन दिन सक्छन्? व्याख्या गर्नुहोस्।
१७ अरूलाई बाइबलका कुराहरू बताउने मौका खोज्न छोराछोरीलाई प्रोत्साहन दिनुहोस्। (रोमी १०:१०) तिनलाई बाइबलका कुराहरू अरूलाई बताउनु भनेको बाजा बजाउन सिक्नुजस्तै हो भनेर बुझाउनुहोस्। बाजा बजाउन सिकिरहेको व्यक्तिले सुरुमा सबैभन्दा सजिलो गीत बजाउन सिक्छ। अभ्यास गर्दै जाँदा उसलाई त्यो बाजा बजाउन सजिलो लाग्छ। त्यसरी नै तपाईँका छोराछोरीले सुरुमा सरल तरिका चलाएर आफ्नो विश्वासबारे अरूलाई बताउन सक्छन्। जस्तै: तिनले साथीलाई यसो भन्न सक्छन्: “तिमीलाई थाह छ, इन्जिनियरहरूले प्रकृतिमा भएका डिजाइनहरूको कपी गरेर विभिन्न कुराहरू बनाउँछन्। म तिमीलाई एउटा भिडियो देखाउँछु है!” सृष्टि या संयोग? भन्ने शृङ्खलाबाट कुनै एउटा भिडियो देखाइसकेपछि तिनले साथीसित यस्तो तर्क गर्न सक्छन्: “इन्जिनियरहरूले प्रकृतिमा भएका कुराहरूको कपी गरेर कुनै चिज बनाउँदा त्यसको श्रेय ती इन्जिनियरलाई नै जान्छ। त्यसोभए प्रकृतिमा भएका कुराहरूको श्रेयचाहिँ कसले पाउनुपर्छ होला?” यसरी सरल तरिकामा कुराकानी गर्दा तिनका साथीको चासो जाग्न सक्छ र तिनी अझ धेरै कुरा सिक्न इच्छुक हुन सक्छन्।
छोराछोरीलाई विश्वास बलियो बनाउन मदत गरिरहनुहोस्
१८. आमाबुबाले छोराछोरीको विश्वास अझ बलियो बनाउन के गर्न सक्छन्?
१८ अहिले धेरैजसो मानिस यहोवालाई विश्वास गर्दैनन्। (२ पत्रु. ३:३) त्यसैले आमाबुबा हो, छोराछोरीलाई परमेश्वरको वचन सही छ र उहाँका नैतिक स्तरहरू पालन गर्दा हाम्रै हित हुन्छ भनेर विश्वस्त हुन मदत गर्ने विषयहरूमा अध्ययन गर्न प्रोत्साहन दिनुहोस्। तिनलाई यहोवाको सृष्टिका अद्भुत पक्षहरूबारे गहिरिएर सोच्न मदत गर्नुहोस्। पूरा भइसकेका भविष्यवाणीहरू राम्ररी बुझ्न पनि मदत दिनुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, छोराछोरीसँगै बसेर प्रार्थना गर्नुहोस् र तिनकै लागि पनि प्रार्थना गर्नुहोस्। यसो गर्नुभयो भने तपाईँका छोराछोरीको विश्वास बलियो बनाउन तपाईँले गर्नुभएको प्रयासमा यहोवाले पक्कै आशिष् दिनुहुनेछ।—२ इति. १५:७.
गीत १३३ युवावस्थामै यहोवाको उपासना गरौँ!
a थप जानकारीको लागि jw.org मा सृष्टिका आश्चर्यजनक कुराले परमेश्वरको महिमा प्रकट गर्छ—डिजाइनहरू (अङ्ग्रेजी) भिडियो हेर्नुहोस्।
b तपाईँको छोराछोरीले सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबबाट अध्ययन सिद्ध्याइसकेका छन् भने तिनीसित भाग ३ र ४ का केही पाठहरू दोहोऱ्याउन सक्नुहुन्छ, जहाँ बाइबलका नैतिक स्तरहरूबारे छलफल गरिएको छ।
c अक्टोबर २००६ को ब्यूँझनुहोस्!-मा भएको “सृष्टिकर्तामाथि हामी किन विश्वास गर्छौँ?” लेख र जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्न पुस्तिका हेर्नुहोस्।
d चित्रको व्याख्या: एक साक्षी युवक ड्रोनमा चासो भएको आफ्नो साथीलाई सृष्टि या संयोग? शृङ्खलाबाट एउटा भिडियो देखाउँछन्।