सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ५१

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

तपाईँको आँसु यहोवाको लागि अनमोल छ!

तपाईँको आँसु यहोवाको लागि अनमोल छ!

“बिन्ती छ, मेरो आँसु तपाईँको मशकमा जम्मा गरिदिनुहोस्‌। ती तपाईँको पुस्तकमा लेखिएका छैनन्‌ र?”​—भज. ५६:८.

सिक्न सकिने कुरा

यहोवा हाम्रो मनको पीडा बुझ्नुहुन्छ र हामीलाई सान्त्वना दिनुहुन्छ।

१-२. के-कस्ता कारणहरूले गर्दा हाम्रो आँखाबाट आँसु झर्छ?

 हामी सबैले कुनै न कुनै समयमा आँसु झारेका छौँ। असाध्यै खुसी हुँदा हाम्रो आँखाबाट खुसीको आँसु झर्छ। सायद तपाईँले आफ्नो जीवनको कुनै महत्त्वपूर्ण र विशेष क्षणमा आँसु झार्नुभएको थियो होला। जस्तै: आफ्नो बच्चा जन्मँदा, कुनै रमाइलो पल सम्झँदा वा वर्षौँ नभेटेको मिल्ने साथीलाई फेरि भेट्‌न पाउँदा।

तर प्रायजसो हाम्रो आँखाबाट दुःखको आँसु झर्छ। जस्तै: कसैले हाम्रो चित्त दुखाउँदा, गम्भीर रोगले गर्दा असह्‍य दुखाइ हुँदा र आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा हामी रुन्छौँ। त्यस्तो बेला हामीले पनि भविष्यवक्‍ता यर्मियाले जस्तै महसुस गर्न सक्छौँ। बेबिलोनीहरूले यरुसलेम विनाश गर्दा तिनी असाध्यै दुःखी भए। तिनले आफ्नो भावना यसरी व्यक्‍त गरे: “मेरो आँखाबाट आँसुको धारा बगेको छ। मेरो आँखाबाट धरधरी आँसु बगिरहन्छ; त्यो . . . थामिँदैन।”—विला. ३:४८, ४९.

३. आफ्ना सेवकहरूले दुःख भोगेको देख्दा यहोवालाई कस्तो लाग्छ? (यसैया ६३:९)

हामीले कत्ति धेरै आँसु बगाएका छौँ भन्‍ने कुरा यहोवालाई थाह छ। उहाँ हामीले भोगिरहेको पीडा देख्नुहुन्छ र हाम्रो गुहार सुन्‍नुहुन्छ भनेर बाइबलले आश्‍वासन दिन्छ। (भज. ३४:१५) तर यहोवा केवल हाम्रो पीडा हेरेर वा हाम्रो गुहार सुनेर मात्र बस्नुहुन्‍न। उहाँ हाम्रो मायालु बुबा हुनुहुन्छ। त्यसैले आफ्नो प्यारो छोराछोरी रोएको देख्दा उहाँको मन दुख्छ र तिनीहरूलाई मदत गर्न अघि सरिहाल्नुहुन्छ।यसैया ६३:९ पढ्‌नुहोस्‌।

४. हामी कुन-कुन बाइबल पात्रहरूबारे छलफल गर्नेछौँ र तिनीहरूको उदाहरणबाट हामी यहोवाबारे के सिक्नेछौँ?

विगतमा पनि यहोवाका केही सेवकहरूले आँसु बगाएका थिए। जस्तै: हन्‍ना, दाउद र राजा हिजकियाह। तिनीहरूले किन आँसु बगाए? तिनीहरूले आँसु बगाएको देख्दा यहोवाले कस्तो महसुस गर्नुभयो? उहाँले तिनीहरूलाई कसरी मदत गर्नुभयो? तिनीहरूको उदाहरण राम्ररी केलायौँ भने दुःख, धोका वा निराशाको कारण हाम्रो आँखाबाट आँसु बग्दा यहोवा कसरी सान्त्वना दिनुहुन्छ भनेर बुझ्नेछौँ।

दुःखी हुँदाको आँसु

५. जीवनमा अनेकन्‌ समस्या भोग्नुपर्दा हन्‍नाले कस्तो महसुस गरिन्‌?

हन्‍नाले जीवनमा अनेकन्‌ समस्या झेल्नुपऱ्‍यो, जसले गर्दा उनी अत्यन्तै दुःखी भइन्‌ र आँसु बगाइन्‌। उनी दुःखी हुनुको एउटा कारण भनेको उनका पतिले अर्की पत्नी ल्याएका थिए। तिनको नाम पनिन्‍नाह थियो र तिनी हन्‍नालाई दुःख दिइरहन्थिन्‌। त्यति मात्र नभई हन्‍ना निस्सन्तान थिइन्‌ तर पनिन्‍नाहको भने छोराछोरी थिए। (१ समु. १:१, २) त्यसैले पनि तिनी हन्‍नाको दिनरात खिल्ली उडाउँथिन्‌। तपाईँ हन्‍नाको ठाउँमा हुनुभएको भए कस्तो महसुस गर्नुहुन्थ्यो होला? “हन्‍ना अत्यन्तै लाचार भएकी थिइन्‌” र “उनी केही नखाई रोएर बसिरहन्थिन्‌।”—१ समु. १:६, ७, १०.

६. सान्त्वना पाउन हन्‍नाले के गरिन्‌?

सान्त्वना पाउन हन्‍नाले के गरिन्‌? एउटा कुरा भनेको उनी यहोवाको उपासना गर्न वासस्थानमा गइन्‌। उनी वासस्थानको चोकको प्रवेशद्वारनजिकै उभिएर “धुरुधुरु रुँदै . . . यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न थालिन्‌।” उनले यहोवालाई यस्तो बिन्ती गरिन्‌: ‘आफ्नी दासीको पीडा बुझेर मतर्फ ध्यान दिनुहोस्‌।’ (१ समु. १:१०ख, ११) हन्‍नाले यहोवालाई आफ्नो मनको बह पोखिन्‌। आफ्नी प्यारी छोरी हन्‍नाले आँसु बगाएको देख्दा यहोवालाई पनि कत्ति पीडा भयो होला!

७. यहोवालाई आफ्नो मनको बह पोखाएपछि हन्‍नाले कस्तो महसुस गरिन्‌?

यहोवालाई आफ्नो मनको बह पोखाएपछि र प्रधानपुजारी एलिले आश्‍वासन दिएपछि हन्‍नाले कस्तो महसुस गरिन्‌? बाइबल भन्छ: “उनी त्यहाँबाट गइन्‌ र केही खाइन्‌। त्यसपछि उनी फेरि उदास भइनन्‌।” (१ समु. १:१७, १८) हुनत तिनको परिस्थितिमा कुनै सुधार आएको थिएन। तैपनि तिनको मन हल्का भयो किनभने तिनले आफ्नो मनको बोझ यहोवामा बिसाएकी थिइन्‌। यहोवाले तिनको दुःख देख्नुभयो, तिनको गुहार सुन्‍नुभयो अनि उहाँको आशिष्‌ पाएर तिनले पछि छोराछोरी पनि जन्माइन्‌।—१ समु. १:१९, २०; २:२१.

८-९. हामीले सभाहरूमा जान किन हरप्रयास गर्नुपर्छ? (हिब्रू १०:२४, २५) (चित्र पनि हेर्नुहोस्‌।)

हाम्रो लागि पाठ। सायद तपाईँले कुनै गाह्रो परिस्थितिको सामना गर्नुपरेकोले दुःखको आँसु बगाउँदै हुनुहुन्छ होला। जस्तै: तपाईँ आफ्नो परिवारको सदस्य वा साथीको मृत्युले गर्दा पीडामा हुनुहुन्छ होला। त्यस्तो अवस्थामा तपाईँलाई एक्लै बसूँ जस्तो लाग्न सक्छ। तर याद गर्नुहोस्‌, हन्‍नाले वासस्थानमा जाँदा सान्त्वना र ढाडस पाइन्‌। त्यसरी नै मन भारी भएकोले एक्लै बसूँ जस्तो लागे पनि सभामा उपस्थित हुनुभयो भने तपाईँले सान्त्वना पाउनुहुनेछ। (हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।) सभामा छलफल गरिने बाइबल पदहरूले तपाईँलाई नकारात्मक सोचाइ हटाउन र राम्रो कुरामा ध्यान दिन मदत गर्नेछ। हुनत तपाईँको परिस्थिति तुरुन्तै नसुध्रिएला तैपनि तपाईँले आफ्नो भावनालाई भने काबूमा राख्न सक्नुहुनेछ।

सभाहरूमा हामी भाइबहिनीबाट प्रोत्साहन पाउँछौँ र उहाँहरूको माया महसुस गर्न सक्छौँ। भाइबहिनीमाझ हुँदा हाम्रो मन हल्का हुन्छ। (१ थिस्स. ५:११, १४) मृत्युले गर्दा आफ्नी पत्नी गुमाएका एक विशेष अग्रगामी भाइको अनुभव विचार गरौँ। तिनी यसो भन्छन्‌: “मलाई उसको धेरै याद आउँछ। कहिलेकाहीँ म एउटा कुनामा बसेर धुरुधुरु रुन्छु। तर त्यस्तो बेला पनि सभामा जाँदा मैले निकै प्रोत्साहन पाएको छु। भाइबहिनीको मायालु बोली र टिप्पणीले मलाई ढाडस दिन्छ। सभा जानुअघि मेरो मनमा जति नै पीडा वा चिन्ता भए पनि सभामा हुँदा म सबै दुःख भुल्छु।” हो, गाह्रो भए पनि सभाहरूमा गयौँ भने यहोवाले हामीलाई भाइबहिनीहरू चलाएर मदत दिनुहुन्छ।

हामी भाइबहिनीहरूबाट सान्त्वना पाउन सक्छौँ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)


१०. भावनात्मक रूपमा गाह्रो हुँदा हामी कसरी हन्‍नाको अनुकरण गर्न सक्छौँ?

१० हन्‍नालाई सान्त्वना दिएको अर्को कुरा भनेको तिनले आफ्नो मनको बह यहोवालाई पोखिन्‌। तपाईँ पनि ‘आफ्नो सारा फिक्री उहाँमाथि बिसाउन’ सक्नुहुन्छ र उहाँले तपाईँको पुकारा अवश्‍य सुन्‍नुहुनेछ। (१ पत्रु. ५:७) एउटी बहिनीको अनुभव विचार गरौँ, जसका पतिलाई लुटेराहरूले मारेका थिए। उनी यसो भन्छिन्‌: “मेरो मन छियाछिया भयो र मेरो मनको घाउ कहिल्यै निको हुन सक्दैन जस्तो लाग्यो। तर मायालु बुबा यहोवालाई प्रार्थना गर्दा मेरो मनको घाउमा मलहमपट्टी लगाएको जस्तै महसुस गर्थेँ। कहिलेकाहीँ म प्रार्थनामा आफ्नो भावना व्यक्‍त गर्नै सक्दिनथेँ। तैपनि उहाँ मेरो कुरा बुझ्नुहुन्थ्यो। मन विचलित भएको बेला म यहोवालाई मनोशान्ति दिनुहोस्‌ भनेर प्रार्थना गर्थेँ। त्यसपछि मेरो मन र दिमाग शान्त हुन्थ्यो र म आफ्नो दिनचर्यामा लाग्न सक्थेँ।” तपाईँ पनि भावनात्मक रूपमा असाध्यै गाह्रो भएको बेला आँसुको धारा बगाउँदै यहोवालाई आफ्नो मनको बह पोखाउनुहुन्छ होला। त्यतिबेला उहाँले तपाईँको आँसु देख्नुहुन्छ र तपाईँको मनको पीडा बुझ्नुहुन्छ। हुनत तपाईँलाई चिन्तित बनाइरहेको कुरा तुरुन्तै नहट्‌ला तर यहोवाले तपाईँलाई सान्त्वना र मनोशान्ति भने दिनुहुनेछ। (भज. ९४:१९; फिलि. ४:६, ७) यहोवामाथि भरोसा राखिरहनुभयो भने उहाँले तपाईँलाई इनाम दिनुहुनेछ।—हिब्रू ११:६.

धोका पाउँदाको आँसु

११. कठिन परिस्थितिहरूको सामना गर्नुपर्दा दाउदले कस्तो महसुस गरे?

११ दाउदले आफ्नो जीवनकालमा थुप्रै कठिन परिस्थितिहरूको सामना गर्नुपऱ्‍यो, जसले गर्दा तिनले धेरैचोटि आँसु बगाए। मानिसहरूले तिनलाई खेदो गरे र तिनले निकै भरोसा गरेका व्यक्‍तिहरूले समेत धोका दिए। (१ समु. १९:१०, ११; २ समु. १५:१०-१४, ३०) एकचोटि तिनले यसो भने: “सुस्केरा हाल्दा-हाल्दा म थाकिसकेको छु; रातभरि रुँदा-रुँदा मेरो ओछ्यान भिज्छ; आँसुले मेरो सिरानी भिज्छ।” दाउदले किन त्यस्तो महसुस गरे? किनभने तिनलाई “सताउनेहरू” धेरै थिए। (भज. ६:६, ७) त्यस्तो नराम्रो व्यवहारले गर्दा तिनी असाध्यै निराश भएका थिए र तिनले धेरै आँसु बगाए।

१२. दाउद कुन कुरामा ढुक्क थिए? (भजन ५६:८)

१२ जीवनमा जस्तोसुकै गाह्रो परिस्थिति आए पनि यहोवाले तिनलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा दाउद ढुक्क थिए। तिनले यस्तो लेखे: “यहोवाले मेरो रोदन सुन्‍नुहुनेछ।” (भज. ६:८) तिनले भजन ५६:८ मा एउटा सुन्दर अभिव्यक्‍ति पनि चलाएका छन्‌। (पढ्‌नुहोस्‌।) ती शब्दहरूले यहोवा हामीलाई धेरै माया गर्नुहुन्छ र हामीले कस्तो महसुस गरिरहेका छौँ भन्‍ने कुरा पनि बुझ्नुहुन्छ भनेर देखाउँछ। दाउदले यहोवाले तिनको आँसु मशकमा जम्मा गर्नुभएको र तीबारे पुस्तकमा लेख्नुभएको जस्तै महसुस गरे। यहोवाले आफ्नो पीडा देख्नुभएको छ र त्यो कहिल्यै बिर्सनुहुन्‍न भनेर दाउदलाई राम्ररी थाह थियो। आफू कस्तो अवस्थाबाट गुज्रिरहेको छु भन्‍ने कुरा मात्र होइन तर त्यसले गर्दा आफूले कस्तो महसुस गर्दै छु भन्‍ने कुरा पनि यहोवाले बुझ्नुभएको छ भनेर दाउद ढुक्क थिए।

१३. कसैले धोका दिए पनि तपाईँ कुन कुरामा भने ढुक्क हुन सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१३ हाम्रो लागि पाठ। तपाईँले निकै भरोसा गरेको व्यक्‍तिले तपाईँको चित्त दुखाएकोले वा तपाईँलाई धोका दिएकोले के तपाईँलाई असह्‍य पीडा भइरहेको छ? जस्तै: विवाह गर्ने उद्देश्‍यले भेटघाट गरिरहेको व्यक्‍तिले तपाईँसितको सम्बन्ध टुटाएकोले, तपाईँको जीवनसाथीले त्यागेकोले वा तपाईँले माया गरेको व्यक्‍तिले यहोवाको सेवा गर्न छोडेकोले। एक जना भाइलाई के भयो, विचार गरौँ। तिनकी पत्नीले व्यभिचार गरिन्‌ र तिनलाई त्यागेर गइन्‌। ती भाइले यसो भने: “मैले त्यो कुरा पत्याउनै सकिनँ। म बेकामको छु जस्तो लाग्यो, म असाध्यै निराश भएँ अनि रिस पनि उठ्यो।” कसैले तपाईँलाई धोका दिए पनि वा तपाईँको असाध्यै चित्त दुखाए पनि यहोवाले भने तपाईँलाई कहिल्यै त्याग्नुहुन्‍न भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। ती भाइले यसो पनि भने: “मानिसहरूले तपाईँलाई धोका दिन सक्छन्‌ तर यहोवाले भने कहिल्यै धोका दिनुहुन्‍न। उहाँ हाम्रो चट्टान हुनुहुन्छ र हामीलाई सधैँ साथ दिनुहुन्छ। उहाँले आफ्ना वफादार सेवकहरूलाई कहिल्यै त्याग्नुहुन्‍न।” (भज. ३७:२८) यहोवा तपाईँलाई कुनै मानिसले भन्दा कता हो कता धेरै प्रेम गर्नुहुन्छ भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। कसैले धोका दिँदा असाध्यै पीडा हुन्छ र बेकामको महसुस पनि हुन सक्छ। तर यहोवाले भने तपाईँलाई पहिलाजत्तिकै प्रेम गरिरहनुहुनेछ। तपाईँ उहाँको लागि अनमोल हुनुहुन्छ। (रोमी ८:३८, ३९) निचोडमा भन्‍नुपर्दा कुनै मानिसले तपाईँलाई माया गरोस्‌ वा नगरोस्‌, यहोवाले भने तपाईँलाई सधैँ माया गर्नुहुनेछ।

भजनको किताबले यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ भनेर आश्‍वासन दिन्छ (अनुच्छेद १३ हेर्नुहोस्‌)


१४. भजन ३४:१८ बाट हामी कस्तो सान्त्वना पाउँछौँ?

१४ कसैबाट धोका पाउँदा हामी भजन ३४:१८ मा पाइने दाउदका शब्दहरूबाट सान्त्वना पाउन सक्छौँ। (पढ्‌नुहोस्‌।) निराश हुँदा अब आफ्नो जीवनमा केही पनि राम्रो कुराको आशा गर्न सकिँदैन जस्तो लाग्न सक्छ। त्यस्तो महसुस हुँदा यहोवा कसरी मदत दिनुहुन्छ? मायालु आमाबुबाले रोइरहेको आफ्नो बच्चालाई काखमा लिन्छ र फकाउँछ। त्यसरी नै हामीलाई सान्त्वना र मदत दिन यहोवा हाम्रो नजिक हुनुहुन्छ। कसैबाट धोका पाएकोले वा त्यागिएकोले अब आफ्नो जीवनमा कुनै आशा छैन जस्तो लागे पनि यहोवाले हामीलाई पछि हुने राम्रा कुराहरूमा ध्यान दिन मदत गर्नुहुनेछ, जसले गर्दा हामीले अहिलेको गाह्रो परिस्थिति सहन सक्नेछौँ।—यसै. ६५:१७.

निराश हुँदाको आँसु

१५. हिजकियाह किन रोए?

१५ राजा हिजकियाह ३९ वर्षको छँदा तिनलाई एउटा गम्भीर रोग लाग्यो। यहोवाले भविष्यवक्‍ता यसैयामार्फत तिनलाई यसो भन्‍नुभयो: “अब तिम्रो रोग निको हुनेछैन, तिमी मर्नेछौ।” (२ राजा २०:१) त्यो खबर पाएपछि हिजकियाहलाई अब बाँच्ने आसै छैन जस्तो लागेको हुनुपर्छ। तिनी डाँको छोडेर रोए र यहोवालाई व्यग्र प्रार्थना गरे।—२ राजा २०:२, ३.

१६. यहोवाले हिजकियाहलाई कस्तो आश्‍वासन दिनुभयो?

१६ हिजकियाहले आँसुको धारा बगाउँदै गरेको प्रार्थनालाई यहोवाले बेवास्ता गर्नुभएन। यहोवाले तिनलाई यसैयामार्फत यसो भन्‍नुभयो: “मैले तिम्रो बिन्ती सुनेँ र तिमीले बगाएको आँसु पनि देखेँ। त्यसैले म तिमीलाई निको पार्नेछु।” यहोवाले तिनको आयु लम्ब्याइदिने अनि यरुसलेमलाई अस्सेरियालीहरूको हातबाट जोगाउने प्रतिज्ञा पनि गर्नुभयो।—२ राजा २०:४-६.

१७. गम्भीर स्वास्थ्य समस्या भोग्नुपर्दा यहोवा हामीलाई कसरी सम्हाल्नुहुन्छ? (भजन ४१:३) (चित्र पनि हेर्नुहोस्‌।)

१७ हाम्रो लागि पाठ। के तपाईँ कुनै गम्भीर स्वास्थ्य समस्याले गर्दा निराश हुनुहुन्छ? त्यसो हो भने यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌। धरधरी आँसु बगाउँदै प्रार्थना गर्नुपरे तापनि उहाँले तपाईँको पुकारा सुन्‍नुहुनेछ। बाइबलले यहोवा “कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ” अनि “उहाँले हाम्रा सबै परीक्षामा सान्त्वना दिनुहुन्छ” भनेर आश्‍वासन दिन्छ। (२ कोरि. १:३, ४) यहोवाले हाम्रा सबै समस्याहरू अहिले नै हटाइदिनुभएको हामी आशा गर्दैनौँ तर उहाँले हामीलाई सधैँ सम्हाल्नुहुनेछ भन्‍ने कुरामा चाहिँ ढुक्क छौँ। (भजन ४१:३ पढ्‌नुहोस्‌।) उहाँ हामीलाई आफ्नो पवित्र शक्‍तिमार्फत बल, बुद्धि र मनोशान्ति दिनुहुन्छ। (हितो. १८:१४; फिलि. ४:१३) उहाँले हामीलाई भविष्यमा कोही पनि बिरामी नहुने आशा दिनुभएको छ र त्यसले पनि हामीलाई सम्हाल्छ।—यसै. ३३:२४.

यहोवाले हाम्रो प्रार्थनाको जवाफस्वरूप हामीलाई बल, बुद्धि र मनोशान्ति दिनुहुन्छ (अनुच्छेद १७ हेर्नुहोस्‌)


१८. असाध्यै गाह्रो परिस्थितिको सामना गर्नुपर्दा तपाईँले कुन बाइबल पदबाट सान्त्वना पाउनुभएको छ? (“ हाम्रो आँसु झर्दा हामीलाई सान्त्वना दिने पदहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१८ हिजकियाहले यहोवाले भन्‍नुभएका शब्दहरूबाट सान्त्वना पाए। गाह्रो परिस्थितिको सामना गर्नुपर्दा आज हामी पनि यहोवाले बाइबलमा भन्‍नुभएका कुराहरूबाट सान्त्वना पाउन सक्छौँ र हाम्रो मन हल्का हुन्छ। (रोमी १५:४) पश्‍चिम अफ्रिकामा बस्ने एक बहिनीलाई क्यान्सर भएको पत्ता लागेपछि तिनी छाँगाबाट खसेझैँ भइन्‌। तिनी घरीघरी रोइरहन्थिन्‌। तिनी भन्छिन्‌: “मलाई धेरै सान्त्वना दिएको एउटा बाइबल पद यसैया २६:३ हो। हुनत हामी आफूले भोग्नुपर्ने कतिपय समस्याहरू पूरै हटाउन सक्दैनौँ। तर जस्तोसुकै परीक्षा भोग्नुपरे पनि यहोवाले हामीलाई मनोशान्ति र सहने बल दिनुहुन्छ भनेर यस पदले ढुक्क बनाउँछ।” असाध्यै गाह्रो परिस्थितिको सामना गर्नुपर्दा र कुनै आशा छैन जस्तो लाग्दा तपाईँले कुन बाइबल पदबाट सान्त्वना पाउनुभएको छ?

१९. भविष्यमा के हुनेछ?

१९ हामी यस युगको अन्त हुनै लागेको समयमा बाँचिरहेका छौँ। त्यसैले हामीले अझ धेरै समस्याहरू भोग्नुपर्नेछ र दुःखको आँसु बगाउनुपर्नेछ। तर यस लेखमा छलफल गरिएको हन्‍ना, दाउद र राजा हिजकियाहको उदाहरणबाट यहोवा हाम्रो आँसु देख्नुहुन्छ र त्यो देख्दा उहाँ असाध्यै दुःखी हुनुहुन्छ भनेर बुझ्यौँ। हाम्रो आँसु उहाँको लागि साँच्चै अनमोल छ। त्यसैले गाह्रो परिस्थितिको सामना गर्नुपर्दा प्रार्थना गरेर आफ्नो मनको बह यहोवालाई पोखाऔँ। मण्डलीका मायालु भाइबहिनीहरूको नजिक भइरहौँ अनि परमेश्‍वरको वचनबाट सान्त्वना पाइरहौँ। यहोवामाथि भरोसा राखिरह्‍यौँ भने उहाँले हामीलाई इनाम दिनुहुनेछ। भविष्यमा यहोवाले हाम्रो आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। त्यसपछि हामीले कहिल्यै पनि दुःख, धोका र निराशाको आँसु बगाउनुपर्ने छैन। (प्रका. २१:४) बरु हाम्रो आँखाबाट खुसीको आँसु मात्र बग्नेछ। कत्ति सान्त्वनादायी कुरा!

गीत ४ “यहोवा मेरो गोठालो हुनुहुन्छ”