सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४८

गीत ९७ यहोवाको वचन—हाम्रो जीवन

रोटीको चमत्कारबाट हामी के सिक्न सक्छौँ?

रोटीको चमत्कारबाट हामी के सिक्न सक्छौँ?

“जीवन दिने रोटी मै हुँ। जो मकहाँ आउँछ, ऊ कहिल्यै भोकाउनेछैन।”​—युह. ६:३५.

सिक्न सकिने कुरा

युहन्‍ना अध्याय ६ मा येसुले केही रोटी र माछा प्रयोग गरेर चमत्कारपूर्ण ढङ्‌गमा हजारौँलाई खुवाउनुभएको विवरणबाट हामी के सिक्न सक्छौँ?

१. बाइबलकालीन समयका मानिसहरूको लागि रोटी कत्तिको महत्त्वपूर्ण थियो?

 रोटी बाइबलकालीन समयका मानिसहरूको मुख्य खाना थियो। (उत्प. १४:१८; लुका ४:४) त्यसैले बाइबलका कुनै-कुनै पदमा भोजनलाई बुझाउन “रोटी” शब्द प्रयोग गरिएको छ। (मत्ति ६:११, फुटनोट) येसुले आफ्नो दुई वटा चमत्कारमा पनि रोटी नै प्रयोग गर्नुभएको थियो। (मत्ति १६:९, १०) तीमध्ये एउटा विवरण हामी युहन्‍ना अध्याय ६ मा पाउँछौँ। यस लेखमा हामी त्यो विवरण छलफल गर्नेछौँ र त्यसबाट के-कस्ता पाठहरू सिक्न सक्छौँ भनेर विचार गर्नेछौँ।

२. हजारौँको लागि किन खानेकुराको प्रबन्ध मिलाउनुपरेको थियो?

एकचोटिको कुरा हो, येसु र उहाँका प्रेषितहरू साक्षीकार्यमा व्यस्त भएकोले निकै थाक्नुभएको थियो। त्यसैले केहीबेर आराम गर्न येसु आफ्ना चेलाहरूसँगै गालिल समुद्रपारि बेथसेदा भन्‍ने ठाउँमा जानुभयो। (मर्कु. ६:७, ३०-३२; लुका ९:१०) त्यो एकान्त ठाउँ भए पनि केही बेरमै हजारौँ मानिसहरू त्यहाँ आइपुगे। तर थकित हुनुभए तापनि येसुले ती मानिसहरूलाई राज्यको सुसमाचार सुनाउन थाल्नुभयो र बिरामीहरूलाई निको पार्नुभयो। रात पर्न लागिसकेकोले चेलाहरूले यति धेरै मानिसहरूको लागि खानेकुराको प्रबन्ध कसरी मिलाउने होला भनेर चिन्ता गर्न थाले। भीडमा भएका कसै-कसैसित केही खानेकुरा थियो होला। तर धेरै जनाले भने नजिकैका गाउँहरूमा गएर खानेकुरा किन्‍नुपर्ने थियो। (मत्ति १४:१५; युह. ६:४, ५) अब येसुले के गर्नुहुने थियो?

रोटीको चमत्कार

३. येसुले प्रेषितहरूलाई के भन्‍नुभयो? ( चित्र पनि हेर्नुहोस्‌।)

येसुले प्रेषितहरूलाई यसो भन्‍नुभयो: “उनीहरू जानु आवश्‍यक छैन, तिमीहरूले नै उनीहरूलाई केही खान देऊ।” (मत्ति १४:१६) अब चेलाहरूलाई आपत्‌ पऱ्‍यो किनभने त्यहाँ लगभग ५ हजार पुरुषहरू थिए। अनि स्त्री र केटाकेटी पनि गन्‍ने हो भने त १५ हजारजति थिए होलान्‌। (मत्ति १४:२१) अन्द्रियासले यसो भने, “यहाँ एक जना केटोसित जौका पाँच वटा रोटी र दुई वटा साना माछा छन्‌। तर यत्तिका मानिसलाई यसले कसरी पुऱ्‍याउने?” (युह. ६:९) त्यतिबेला मानिसहरूले प्रायजसो जौबाट बनेको रोटी खाने गर्थे अनि ती साना माछा चाहिँ नुन हालेर सुकाइएको माछा थिए होलान्‌। तर त्यो केटोसित भएको रोटी र माछाले हजारौँ मानिसहरूलाई खुवाउन असम्भव नै थियो।

येसुले मानिसहरूको आध्यात्मिक र भौतिक आवश्‍यकता पूरा गर्नुभयो (अनुच्छेद ३ हेर्नुहोस्‌)


४. युहन्‍ना ६:११-१३ बाट हामी के सिक्न सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

येसु भोकाएका ती मानिसहरूलाई खुवाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँले मानिसहरूलाई समूह-समूह बनाएर बस्न अह्राउनुभयो। (मर्कु. ६:३९, ४०; युहन्‍ना ६:११-१३ पढ्‌नुहोस्‌।) त्यसपछि येसुले रोटी र माछाको लागि आफ्नो बुबालाई धन्यवाद दिनुभयो। परमेश्‍वरलाई धन्यवाद दिनु उपयुक्‍त थियो किनभने वास्तवमा त्यो खानेकुराको स्रोत उहाँ नै हुनुहुन्थ्यो। हाम्रो लागि कत्ति राम्रो उदाहरण नि, होइन र? एक्लै हुँदा होस्‌ वा वरपर मानिसहरू भएको बेला, हामी पनि खाना खानुअघि परमेश्‍वरलाई प्रार्थनामा धन्यवाद दिन सक्छौँ। त्यसपछि येसुले चेलाहरूलाई खानेकुरा बाँड्‌न लगाउनुभयो अनि मानिसहरूले अघाउन्जेल खाए। सबैले खाइसकेपछि केही खानेकुरा उब्रियो। तर येसु त्यो खानेकुरा खेर गएको चाहनुहुन्‍न थियो। त्यसैले सायद पछि खानको लागि भनेर येसुले चेलाहरूलाई उब्रेको टुक्राटाक्री बटुल्न लगाउनुभयो। हामीले पनि आफूसित भएका कुराहरू बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ भनेर यसबाट सिक्न सक्छौँ। तपाईँ आमाबुबा हुनुहुन्छ भने आफ्ना छोराछोरीसँगै यो विवरण पढ्‌नुहोस्‌। अनि यस विवरणबाट प्रार्थना गर्ने, अतिथि-सत्कार गर्ने र उदार हुनेबारे कस्ता पाठहरू सिक्न सकिन्छ भनेर छलफल गर्नुहोस्‌।

आफैलाई सोध्नुहोस्‌, ‘के म खाना खानुअघि येसुले जस्तै यहोवालाई धन्यवाद दिन्छु?’ (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. मानिसहरू के चाहन्थे तर येसुले के गर्नुभयो?

येसुको सिकाउने तरिका र उहाँले गर्नुभएका चमत्कारहरू देखेर मानिसहरू दङ्‌ग परे। परमेश्‍वरले एक जना महान्‌ भविष्यवक्‍ता पठाउनुहुनेछ भनेर मोसाले गरेको भविष्यवाणी सायद ती मानिसहरूलाई थाह थियो। त्यसैले तिनीहरूलाई ‘कतै येसु नै ती भविष्यवक्‍ता हुन्‌ कि’ जस्तो लागेको हुनुपर्छ। (व्यव. १८:१५-१८) यदि त्यसो हो भने उहाँ राम्रो शासक बन्‍न सक्नुहुन्छ र पूरै राष्ट्रको लागि खानेकुराको प्रबन्ध मिलाइदिन सक्नुहुन्छ जस्तो तिनीहरूलाई लागेको हुनुपर्छ। त्यसैले तिनीहरू ‘येसुलाई राजा बनाउन चाहन्थे।’ (युह. ६:१४, १५) मानिसहरूको दबाबमा परेर राजा बन्‍न मान्‍नुभएको भए येसुले यहुदीहरूको पक्ष लिइरहनुभएको हुने थियो, जो त्यतिबेला रोमी शासनको अधीनमा थिए। यसरी उहाँ राजनीतिमा मुछिरहनुभएको हुने थियो। तर के येसु राजा बन्‍न मान्‍नुभयो? अहँ, मान्‍नुभएन! बरु उहाँ त्यो कुरा थाह पाउनेबित्तिकै “डाँडातिर लाग्नुभयो।” यसबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ।

६. हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

हुनत अहिले मानिसहरूले हामीलाई चमत्कार गरेर खानेकुराको प्रबन्ध गरिदिन वा रोगबिमार निको पारिदिन नभन्लान्‌ अथवा हामीलाई राजा वा नेता बनाउन पनि नखोज्लान्‌। तर तिनीहरूलाई राम्रो लागेको नेतालाई भोट दिन वा तिनको पक्षमा बोल्न भन्‍न सक्छन्‌। त्यतिबेला हामी के गर्न सक्छौँ? यस सन्दर्भमा येसुले हाम्रो लागि उदाहरण बसाल्नुभएको छ। उहाँले राजनैतिक गतिविधिहरूमा भाग लिन इन्कार गर्नुभयो। उहाँले यस्तो समेत भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन।” (युह. १७:१४; १८:३६) आज हामी पनि येसुको जस्तै सोचाइ राख्छौँ र उहाँको उदाहरण अनुकरण गर्छौँ। हामी परमेश्‍वरको राज्यलाई मात्र समर्थन गर्छौँ, त्यसबारे साक्षी दिन्छौँ र त्यो राज्य आओस्‌ भनेर प्रार्थना गर्छौँ। (मत्ति ६:१०) आउनुहोस्‌, येसुले चमत्कारपूर्ण ढङ्‌गमा रोटीको प्रबन्ध गरिदिनुभएको विवरणबाट हामी अरू के-कस्ता पाठहरू सिक्न सक्छौँ, विचार गरौँ।

येसुले राजनैतिक गतिविधिहरूमा भाग लिन इन्कार गर्नुभएर हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभयो (अनुच्छेद ६ हेर्नुहोस्‌)


“रोटीको चमत्कारबाट पाठ”

७. येसुले के गर्नुभयो र त्यो देखेर चेलाहरूले कस्तो प्रतिक्रिया देखाए? (युहन्‍ना ६:१६-२०)

भीडले उहाँलाई राजा बनाउन खोजेपछि येसु डाँडातिर लाग्नुभयो। तर उहाँले प्रेषितहरूलाई भने कफर्नहुम जान भन्‍नुभयो। (युहन्‍ना ६:१६-२० पढ्‌नुहोस्‌।) प्रेषितहरू डुङ्‌गा चढेर कफर्नहुमतर्फ जाँदै गर्दा समुद्रमा अचानक आँधी चल्यो र छाल उठ्‌न थाल्यो। त्यसपछि तिनीहरूले येसु पानीमाथि हिँडेर डुङ्‌गा भएतिर आइरहनुभएको देखे। उहाँले प्रेषित पत्रुसलाई पनि पानीमाथि हिँड्‌न भन्‍नुभयो। (मत्ति १४:२२-३१) तिनी केहीबेर हिँडे तर डुब्न थालेपछि येसुले तिनलाई समाउनुभयो। उहाँहरू दुवै जना डुङ्‌गामा चढेपछि आँधी थामियो। यो देखेर चेलाहरूले अचम्म मान्दै यसो भने: “तपाईँ साँच्चै परमेश्‍वरको छोरा हुनुहुँदो रहेछ।” a (मत्ति १४:३३) याद गर्नुहोस्‌, तिनीहरूले रोटीको चमत्कार देखेपछि नभई येसु पानीमाथि हिँड्‌नुभएको देखेपछि मात्र यसो भने। पानीमाथि हिँड्‌नुभएको घटनाबारे उल्लेख गर्दा मर्कुसले यसो पनि भनेका छन्‌: “यो देखेर [प्रेषितहरूले] साह्रै अचम्म माने। किनकि रोटीको चमत्कार देखेर पनि तिनीहरूले त्यसबाट पाठ सिक्न सकेका थिएनन्‌; तिनीहरूको हृदय अझै बोधो थियो।” (मर्कु. ६:५०-५२) कुरा स्पष्ट छ, यहोवाले येसुलाई रोटीको चमत्कार मात्र होइन, त्योभन्दा अझ ठूलठूलो चमत्कार गर्ने शक्‍ति दिनुभएको छ भनेर तिनीहरूले बुझेका थिएनन्‌। पछि फेरि येसुले रोटीको चमत्कारबारे नै उल्लेख गर्दै चेलाहरूलाई अर्को महत्त्वपूर्ण पाठ सिकाउनुभयो।

८-९. भीडले येसुलाई खोज्नुको कारण के थियो? (युहन्‍ना ६:२६, २७)

येसुले चमत्कार गरेर खुवाउनुभएका मानिसहरूको मुख्य चासो भनेको आफ्नो भौतिक आवश्‍यकता र चाहना पूरा गर्नु थियो। हामी किन त्यसो भन्‍न सक्छौँ? भोलिपल्ट ती मानिसहरू येसुले तिनीहरूलाई खुवाउनुभएको ठाउँमा फेरि आए। तर येसु र उहाँका प्रेषितहरू त्यहाँबाट गइसक्नुभएको थियो। त्यसैले ती मानिसहरू टाइबेरियसबाट आएका डुङ्‌गाहरूमा चढेर येसुलाई खोज्न कफर्नहुमतिर लागे। (युह. ६:२२-२४) के तिनीहरूले परमेश्‍वरको राज्यबारे अझ धेरै सुन्‍न चाहेकोले येसुलाई खोजिरहेका थिए? त्यस्तो त होइन। तिनीहरूको मुख्य ध्यान खानेकुरामै थियो। हामी किन त्यसो भन्‍न सक्छौँ?

भीडले येसुलाई कफर्नहुमनजिकै भेट्टाएपछि के भयो, याद गर्नुहोस्‌। येसुले ती मानिसहरू खानेकुरा पाउने आसले मात्र आएका हुन्‌ भनेर स्पष्ट रूपमा बताइदिनुभयो। हुनत ती मानिसहरू ‘रोटी खाएर तृप्त भए।’ तर त्यो “नाश भएर जाने खानेकुरा” हो भनेर येसुले बताउनुभयो। उहाँले तिनीहरूलाई ‘सधैँभरि रहिरहने र अनन्त जीवन दिने खानेकुराका लागि परिश्रम गर्न’ आग्रह गर्नुभयो। (युहन्‍ना ६:२६, २७ पढ्‌नुहोस्‌।) साथै त्यस्तो खानेकुरा परमेश्‍वरले दिनुहुन्छ भनेर पनि उहाँले बताउनुभयो। ‘सधैँभरि रहिरहने र अनन्त जीवन दिने खानेकुराबारे’ सुन्दा ती मानिसहरूलाई अचम्म लागेको हुनुपर्छ। त्यो कस्तो खानेकुरा थियो र मानिसहरूले त्यो कसरी पाउन सक्थे?

१०. अनन्त जीवन पाउन मानिसहरूले गर्नुपर्ने “काम” के थियो?

१० ती यहुदीहरूलाई यस्तो खानेकुरा पाउन आफूले केही काम गर्नुपर्छ भन्‍ने लागेको हुनुपर्छ। तिनीहरूले मोसाको व्यवस्थाले माग गरेका कामहरूबारे सोचेका हुन सक्छन्‌। तर येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “परमेश्‍वरको अनुमोदन पाउन गर्नुपर्ने काम यही हो: उहाँले जसलाई पठाउनुभएको छ, ऊमाथि तिमीहरूले विश्‍वास गर।” (युह. ६:२८, २९) “अनन्त जीवन” पाउन परमेश्‍वरले पठाउनुभएको व्यक्‍तिमाथि विश्‍वास गर्नुपर्छ भनेर येसुले पहिला पनि बताउनुभएको थियो। (युह. ३:१६-१८, ३६) अनि अनन्त जीवन पाउन के गर्नुपर्छ भनेर उहाँले पछि पनि बताउनुभयो।—युह. १७:३.

११. ती यहुदीहरूको ध्यान अझै पनि भौतिक खानेकुरामै थियो भनेर कसरी देखियो? (भजन ७८:२४, २५)

११ ती यहुदीहरूले अनन्त जीवन पाउन येसुमाथि विश्‍वास गर्नुपर्छ भन्‍ने कुरा स्विकारेनन्‌। त्यसैले तिनीहरूले येसुलाई यस्तो सोधे: “त्यसोभए तपाईँ हामीलाई के चिन्ह देखाउनुहुन्छ र त्यो देखेर हामी तपाईँमाथि विश्‍वास गरौँ?” (युह. ६:३०) तिनीहरूले मोसाको समयमा परमेश्‍वरले तिनीहरूका पुर्खाहरूलाई मन्‍न दिनुभएको कुरा उल्लेख गरे। (नहे. ९:१५; भजन ७८:२४, २५ पढ्‌नुहोस्‌।) तिनीहरूको ध्यान अझै पनि भौतिक खानेकुरामै थियो भनेर यसबाट देखियो। त्यसपछि येसुले “मेरो बुबाले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ” भनेर बताउनुभयो, जसले तिनीहरूलाई अनन्त जीवन दिन सक्थ्यो। (युह. ६:३२) तर तिनीहरूले आफ्नो भौतिक आवश्‍यकता पूरा गर्नमै ध्यान दिएकोले येसुले तिनीहरूलाई सिकाउन खोज्नुभएको आध्यात्मिक कुराहरू बुझ्ने प्रयासै गरेनन्‌। यस विवरणबाट हामी के सिक्न सक्छौँ?

हाम्रो मुख्य ध्यान केमा हुनुपर्छ?

१२. हाम्रो मुख्य ध्यान केमा हुनुपर्छ भनेर येसुले बताउनुभयो?

१२ हामी युहन्‍ना अध्याय ६ बाट एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। त्यो हो, हाम्रो मुख्य ध्यान आध्यात्मिक आवश्‍यकता पूरा गर्नुमा हुनुपर्छ। सैतानले प्रलोभन ल्याउँदा पनि येसुले यही कुरालाई प्रस्ट पार्नुभयो। (मत्ति ४:३, ४) अनि डाँडाको उपदेशमा उहाँले आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुनुपर्छ भन्‍ने कुरालाई जोड दिनुभयो। (मत्ति ५:३) त्यसैले हामी आफैलाई यो प्रश्‍न सोध्न सक्छौँ, ‘के मेरो जीवनशैलीबाट मैले भौतिक चाहनाहरू पूरा गर्नुभन्दा आध्यात्मिक आवश्‍यकता पूरा गर्नुलाई महत्त्वपूर्ण ठानेको देखिन्छ?’

१३. (क) खानेकुराबाट आनन्द उठाउनु किन गलत होइन? (ख) हामीले कुन चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्छ? (१ कोरिन्थी १०:६, ७, ११)

१३ हामीले आफ्नो भौतिक आवश्‍यकताहरूको लागि प्रार्थना गर्नु र ती कुराहरूबाट आनन्द उठाउनु आफैमा खराब कुरा त होइन। (लुका ११:३) किन? किनभने “मानिसको लागि खानु, पिउनु र आफ्नो कामबाट सन्तुष्टि पाउनु” उत्तम कुरा हो अनि यो “साँचो परमेश्‍वरकै देन हो” भनेर बाइबलमा बताइएको छ। (उप. २:२४; ८:१५; याकु. १:१७) तर हामी भौतिक कुराहरूलाई नै आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा बनाउनदेखि भने होसियार हुनुपर्छ। पावलले इस्वी संवत्‌ ७० मा यरुसलेम विनाश हुनै लागेको समयमा बाँचिरहेका ख्रिष्टियनहरूलाई पनि यही कुरा बताएका थिए। तिनले विगतमा इस्राएलीहरूले बसालेको नराम्रो उदाहरणबारे उल्लेख गरे। जस्तै, निर्जनभूमिमा यहोवाले इस्राएलीहरूको लागि चमत्कारपूर्ण ढङ्‌गमा खानेकुराको प्रबन्ध गरिदिनुभएको थियो। तर तिनीहरूले खानेकुराको साह्रै लालसा गरेकोले त्यो नै तिनीहरूको लागि ‘हानिकारक कुरा’ बन्‍न पुग्यो। (गन्ती ११:४-६, ३१-३४) त्यसैगरि सिनै डाँडाको फेदमा बाछोको मूर्तिलाई पुज्दा तिनीहरू खान, पिउन र रमाइलो गर्नमै तल्लीन भए। (प्रस्थ. ३२:४-६) इस्राएलीहरूको यस्तो उदाहरणबारे उल्लेख गरेपछि पावलले ख्रिष्टियनहरूलाई “तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू” नबन्‍न चेतावनी दिए। (१ कोरिन्थी १०:६, ७, ११ पढ्‌नुहोस्‌।) आज हामीले पनि पावलको यो सल्लाहलाई गम्भीरतापूर्वक लिनुपर्छ। किनकि हामी पनि यस युगको अन्त हुनै लागेको समयमा बाँचिरहेका छौँ।

१४. खानेकुराबारे बाइबलमा कस्तो प्रतिज्ञा गरिएको छ?

१४ येसुले “आजको लागि भोजन दिनुहोस्‌” भनेर प्रार्थना गर्न सिकाउनुहुँदा परमेश्‍वरको इच्छा “जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌” भनेर बिन्ती गर्न पनि सिकाउनुभयो। (मत्ति ६:९-११) परमेश्‍वरको इच्छा पूरा हुँदा पूरै पृथ्वीको अवस्था कस्तो होला, कल्पना गर्नुहोस्‌ त! त्यतिबेला सबैले मीठामीठा खानेकुरा खान पाउनेछन्‌। यसैया २५:६-८ अनुसार परमेश्‍वरको राज्यमा प्रशस्त खानेकुरा हुनेछ। भजन ७२:१६ मा पनि यसो भनिएको छ: “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ; पहाडका टाकुराहरूमा समेत अन्‍नको कुनै कमी हुनेछैन।” के तपाईँ नयाँ संसारमा ती अनाजहरूबाट आफूलाई मनपर्ने वा नयाँ-नयाँ परिकार बनाउन चाहनुहुन्छ? कल्पना गर्नुहोस्‌ त, कत्ति रमाइलो होला! साथै तपाईँ आफैले अङ्‌गुर बगान लगाउन र त्यसको फल खान पाउनुहुनेछ। (यसै. ६५:२१, २२) त्यतिबेला पृथ्वीका सबैले यस्ता कुराहरूबाट आनन्द उठाउन सक्नेछन्‌।

१५. नयाँ संसारमा फेरि जीवित भएकाहरूले कस्ता कुराहरू सिक्नुपर्नेछ? (युहन्‍ना ६:३५)

१५ युहन्‍ना ६:३५ पढ्‌नुहोस्‌। येसुले चमत्कारपूर्ण ढङ्‌गमा रोटी र माछा खुवाउनुभएका मानिसहरूबारे फेरि एकचोटि विचार गरौँ। नयाँ संसारमा सायद तपाईँले तिनीहरूमध्ये कसै-कसैलाई भेट्‌न पाउनुहुनेछ। तिनीहरूले येसुमाथि विश्‍वास नगरेको भए तापनि तिनीहरू फेरि जीवित हुन सक्छन्‌। (युह. ५:२८, २९) त्यतिबेला तिनीहरूले येसुका यी शब्दहरूको अर्थ बुझ्नुपर्नेछ: “जीवन दिने रोटी मै हुँ। जो मकहाँ आउँछ, ऊ कहिल्यै भोकाउनेछैन।” तिनीहरूले येसुले तिनीहरूको लागि आफ्नो जीवन फिरौतीस्वरूप दिनुभयो भन्‍ने कुरामाथि विश्‍वास गर्नुपर्नेछ। साथै त्यतिबेला फेरि जीवित भएका मानिसहरू र नयाँ संसारमा जन्मेका केटाकेटीहरूले यहोवा र उहाँको उद्देश्‍यबारे सिक्नुपर्नेछ। तिनीहरूलाई सिकाउन पाउँदा र परमेश्‍वरसित मित्रता गाँस्न मदत दिन पाउँदा हामी कत्ति आनन्दित हुनेछौँ! त्यो आनन्दलाई कुनै पनि भौतिक खानेकुराले दिने आनन्दसित तुलना गर्न सकिँदैन।

१६. हामी अर्को लेखमा के छलफल गर्नेछौँ?

१६ हामीले यस लेखमा युहन्‍ना अध्याय ६ का केही भाग छलफल गऱ्‍यौँ। तर येसुले “अनन्त जीवन”-बारे अरू पनि थुप्रै कुरा सिकाउनुभएको छ। ती यहुदीहरूले येसुले सिकाउनुभएका कुराहरू ध्यान दिएर सुन्‍नुपर्थ्यो र हामीले पनि सुन्‍नुपर्छ। हामी अर्को लेखमा पनि युहन्‍ना अध्याय ६ बारे नै छलफल गर्नेछौँ।

गीत २० एक मात्र प्यारो छोरा दियौ