सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं यहोवाको वचनको अत्यन्तै कदर गर्नुहुन्छ?

के तपाईं यहोवाको वचनको अत्यन्तै कदर गर्नुहुन्छ?

“तिमीहरूले हामीबाट सुनेको परमेश्वरको वचनलाई . . . परमेश्वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्यौ।”—१थिस्स. २:१३.

गीत: ११४, ११३

१-३. इयोदिया र सिन्तकेबीच कसरी मतभेद उत्पन्न भएको हुन सक्छ? त्यस्ता समस्याहरू हुन नदिन के गर्न सकिन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

यहोवाका सेवकहरू उहाँको पवित्र वचन बाइबलको अत्यन्तै कदर गर्छन्‌। त्रुटिपूर्ण भएकोले कहिलेकाहीं हामी सबैले बाइबलबाट सल्लाह पाउँछौं। सल्लाह पाउँदा हामी के गर्छौं? प्रथम शताब्दीका ख्रीष्टियनहरू इयोदिया र सिन्तकेलाई विचार गर्नुहोस्। यी अभिषिक्त ख्रीष्टियनहरूबीच गम्भीर समस्याहरू भएका थिए। कस्ता समस्याहरू? हुन त त्यसबारे बाइबलमा बताइएको छैन, तैपनि यो एउटा अवस्था कल्पना गरौं:

मानौं, इयोदियाले केही दाजुभाइ दिदीबहिनीलाई खाना खान र रमाइलो कुराकानी गर्न आफ्नो घरमा बोलाइन्‌। तर इयोदियाले सिन्तकेलाई भने बोलाइनन्‌। त्यस जमघटमा रमाइलो भएकोबारे सिन्तकेले पछि सुनिन्‌। सिन्तकेले यसो भनेकी हुन सक्छ: ‘ओहो इयोदिया त कस्ती रहिछे! सबैलाई बोलाएर मलाई चाहिं नबोलाउने। मैले त उसलाई मेरो सबैभन्दा मिल्ने साथी ठानेकी थिएँ।’ सिन्तकेलाई इयोदियाले धोका दिएजस्तो लाग्यो होला। अनि इयोदियाले आफूलाई माया गर्दिनन्‌ अनि आफूलाई पन्छाउन खोजिरहेकी छे जस्तो अनेकन्‌ शङ्‌का-उपशङ्‌का सिन्तकेको मनमा खेल्यो होला। त्यसैले सिन्तकेले पनि आफ्नो घरमा जमघट गर्ने प्रबन्ध मिलाइन्‌। अनि इयोदियाले ज-जसलाई बोलाएकी थिई, उनीहरू सबैलाई सिन्तकेले बोलाइन्‌। तर इयोदियालाई चाहिं निम्तो दिइनन्‌। इयोदिया र सिन्तकेबीच उत्पन्न यस समस्याले पूरै मण्डलीको शान्ति खलबल्याउन सक्थ्यो। त्यसपछि के भयो, बाइबलमा बताइएको छैन। तर यी ख्रीष्टियन दिदीबहिनीले प्रेषित पावलको मायालु सल्लाह पालन गरेको हुनुपर्छ।—फिलि. ४:२, ३.

अहिले हाम्रो समयमा पनि कहिलेकाहीं यस्तै अवस्था उत्पन्न हुन सक्छ र त्यसले मण्डलीमा समस्या खडा गर्छ। तर परमेश्वरको वचन बाइबलमा पाइने सल्लाह लागू गऱ्यौं भने त्यस्ता समस्याहरू सुल्झाउन सकिन्छ। कुनै-कुनै अवस्थामा त त्यस्ता समस्याहरू आउनै नदिन पनि सक्छौं। हामी परमेश्वरको वचनको अत्यन्तै कदर गर्छौं भने त्यसमा दिइएका निर्देशनअनुसार जीवन बिताउनेछौं।—भज. २७:११.

परमेश्वरको वचन र हाम्रा भावनाहरू

४, ५. आफ्ना भावनाहरू काबूमा राख्नेबारे परमेश्वरको वचनले कस्तो सल्लाह दिन्छ?

कसैले हाम्रो चित्त दुखाएको वा हामीसित अन्यायपूर्ण व्यवहार गरेको जस्तो लाग्दा आफ्ना भावनाहरू काबूमा राख्न सजिलो हुँदैन। हाम्रो जातीय पृष्ठभूमि, छालाको रङ वा अन्य कुनै शारीरिक बनोटले गर्दा कसैले हामीसित दुर्व्यवहार गऱ्यो भने हाम्रो मुटु छियाछिया हुन सक्छ। सङ्‌गी ख्रीष्टियनले यस्तो व्यवहार गऱ्यो भने त्यो चोट झन्‌ कत्ति असह्य होला! त्रुटिपूर्ण मानिसहरूबाट हुने यस्तो नराम्रो व्यवहारको सिकार भयौं भने के परमेश्वरको वचनमा पाइने सल्लाहले हामीलाई मदत गर्न सक्छ?

मानिसहरूबीचको सम्बन्ध कस्तो हुन्छ भनेर यहोवाले मानिसजातिको सुरुदेखि नै नियालिरहनुभएको छ। उहाँलाई हाम्रा भावना र व्यवहारबारे राम्ररी थाह छ। हामीले आवेगमा आएर केही कुरा भन्यौं वा गऱ्यौं भने पछि पछुताउनुपर्ने हुन सक्छ। त्यसैले आफ्नो रिस काबूमा राख्न र झनक्क नरिसाउन बाइबलको सल्लाह पालन गर्नु कत्ति बुद्धिमानी हो! (हितोपदेश १६:३२; उपदेशक ७:९ पढ्‌नुहोस्) अरूले केही भन्नेबित्तिकै चित्त नदुखाउन र क्षमाशील हुन हामी सबैले प्रयास गर्नुपर्छ। एकअर्कालाई क्षमा दिने कुरालाई हामीले हलकासित लिएको यहोवा र येशू चाहनुहुन्न। (मत्ती ६:१४, १५) अरूलाई क्षमा दिन तपाईंले अझै प्रयास गर्नुपर्छ कि? अथवा आफ्ना भावनाहरू काबूमा राख्न अझै कोसिस गर्नुपर्ने हो कि?

६. रिस पाल्नदेखि हामी किन होसियार हुनुपर्छ?

आफ्ना भावनाहरू काबूमा राख्न नसक्ने मानिसहरूले अक्सर मनमनै रिस पालिरहेका हुन्छन्‌। त्यस्तो व्यक्तिसित मानिसहरू नजिक हुन चाहँदैनन्‌। सधैं रिसाइरहने व्यक्तिले मण्डलीका अरू सदस्यहरूलाई पनि नराम्रो प्रभाव पार्न सक्छ। तिनले आफ्नो रिस वा अरूप्रतिको घृणा लुकाउने प्रयास गर्लान्‌ तर तिनको मनमा खेलिरहेका नकारात्मक भावनाहरू “सभामा” अर्थात्‌ मण्डलीमा “प्रकट हुन्छ।” (हितो. २६:२४-२६) रिस, घृणा र द्वेषजस्ता दुर्गुणहरूको लागि मण्डलीमा कुनै ठाउँ छैन भनेर एल्डरहरूले त्यस्ता व्यक्तिहरूलाई सम्झाउने प्रयास गर्नेछन्‌। यस विषयमा यहोवाको सोचाइ कस्तो छ भनेर उहाँको अनमोल वचनमा स्पष्टसित बताइएको छ। (लेवी १९:१७, १८; रोमी ३:११-१८) के तपाईं यससित सहमत हुनुहुन्छ?

हामीलाई कसले डोऱ्याउँदै हुनुहुन्छ, त्यो नबिर्सनुहोस्

७, ८. (क) यहोवाले आफ्नो सङ्‌गठनको पृथ्वीमा भएको भागलाई कसरी डोऱ्याउनुहुन्छ? (ख) परमेश्वरको वचनमा कस्ता निर्देशनहरू दिइएका छन्‌ र हामीले किन ती पालन गर्नुपर्छ?

अहिले यहोवाले आफ्नो सङ्‌गठनको पृथ्वीमा भएको भागलाई डोऱ्याउनुहुन्छ र खुवाउनुहुन्छ। यो काम गर्न उहाँले “मण्डलीको शिर” ख्रीष्टलाई नियुक्त गर्नुभएको छ र येशू ख्रीष्टले “विश्वासी र बुद्धिमान्‌ दास”-मार्फत डोऱ्याउनुहुन्छ र खुवाउनुहुन्छ। (मत्ती २४:४५-४७; एफि. ५:२३) यस दासले प्रथम शताब्दीको परिचालक निकायले जस्तै परमेश्वरको प्रेरित वचन अर्थात्‌ सन्देशलाई स्वीकार्छ र त्यसको अत्यन्तै कदर गर्छ। (१ थिस्सलोनिकी २:१३ पढ्‌नुहोस्) हाम्रो फाइदाको लागि बाइबलमा कस्ता निर्देशनहरू दिइएका छन्‌?

बाइबलले हामीलाई नियमित तवरमा सभाहरूमा उपस्थित हुन निर्देशन दिन्छ। (हिब्रू १०:२४, २५) साथै परमेश्वरबाट आएको शिक्षामा फूट नहोस् भन्ने आग्रह पनि गर्छ। (१ कोरि. १:१०) परमेश्वरको वचनले हामीलाई उहाँको राज्यलाई पहिलो स्थान देओ भन्छ। (मत्ती ६:३३) धर्मशास्त्रले घर-घरमा, सार्वजनिक ठाउँमा अनि अनौपचारिक तवरमा प्रचार गर्ने हाम्रो दायित्व र सुअवसरलाई पनि जोड दिन्छ। (मत्ती २८:१९, २०; प्रेषि. ५:४२; १७:१७; २०:२०) परमेश्वरको वचनले एल्डरहरूलाई उहाँको सङ्‌गठनलाई स्वच्छ राख्न निर्देशन दिन्छ। (१ कोरि. ५:१-५, १३; १ तिमो. ५:१९-२१) अनि यहोवाले आफ्नो सङ्‌गठनका सबै जना शारीरिक र आध्यात्मिक तवरमा स्वच्छ हुनै पर्छ भन्ने आज्ञा दिनुभएको छ।—२ कोरि. ७:१.

९. आज हामीलाई परमेश्वरको वचनको अर्थ बुझाउने एक मात्र माध्यम कुन हो?

कसै-कसैलाई बाइबलको अर्थ आफैले खुलाउन सक्छु जस्तो लाग्न सक्छ। तर येशूले आध्यात्मिक भोजन दिने एक मात्र माध्यमको रूपमा ‘विश्वासी दासलाई’ नियुक्त गर्नुभएको छ। महिमित येशू ख्रीष्टले सन्‌ १९१९ देखि त्यही दासलाई चलाएर आफ्ना मानिसहरूलाई परमेश्वरको वचनको अर्थ बुझ्न र त्यसमा दिइएका निर्देशनहरू पालन गर्न मदत गरिरहनुभएको छ। बाइबलमा पाइने निर्देशनहरू पालन गऱ्यौं भने हामीले मण्डलीको स्वच्छता, शान्ति र एकता बढाइरहेका हुन्छौं। प्रत्येकले आफूलाई यो प्रश्न सोध्नु बेस हो, ‘आज येशूले प्रयोग गरिरहनुभएको माध्यमप्रति के म वफादार छु?’

यहोवाको रथ अघि बढ्‌दै छ!

१०. यहोवाको सङ्‌गठनको स्वर्गमा भएको भागलाई इजकिएलको किताबमा कसरी वर्णन गरिएको छ?

१० परमेश्वरको वचन बाइबलले हामीलाई उहाँको सङ्‌गठनको स्वर्गमा भएको भागबारे बताउँछ। उदाहरणको लागि, भविष्यवक्ता इजकिएलले एउटा दर्शन देखे। तिनले त्यस दर्शनमा एउटा रथ देखे, जसले परमेश्वरको सङ्‌गठनको स्वर्गको भागलाई चित्रण गर्छ। (इज. १:४-२८) यहोवा त्यस रथमा सवार हुनुहुन्छ र उहाँको पवित्र शक्तिले त्यसलाई जताजता डोऱ्याउँछ, त्यतैतिर जान्छ। परमेश्वरको सङ्‌गठनको पृथ्वीमा भएको भाग उहाँको सङ्‌गठनको स्वर्गमा भएको भागको डोऱ्याइअनुसार चल्छ। यो रथ अघि बढिरहेको छ भन्ने कुरामा कुनै शङ्‌का छैन! विगत १० वर्षको दौडान यस सङ्‌गठनमा भएका थुप्रै परिवर्तनहरूलाई विचार गर्नुहोस्। यो कुरा पनि नबिर्सनुहोस्, यी सबै परिवर्तनको पछाडि यहोवाको हात छ! येशू ख्रीष्ट र पवित्र स्वर्गदूतहरूले यस दुष्ट संसारलाई चाँडै नाश गर्नुहुनेछ। त्यसैले यहोवाको सार्वभौमिकता उच्च पार्न र उहाँको पवित्र नाममा लागेको कलङ्‌क हटाउन उहाँको रथ तेज रफ्तारमा अघि बढिरहेको छ।

निर्माणकार्यमा दिनरात नभनी खटिरहेका थुप्रै स्वयंसेवकहरूप्रति हामी साँच्चै आभारी छौं! (अनुच्छेद ११ हेर्नुहोस्)

११, १२. यहोवाको सङ्‌गठनले कस्ता ठूलठूला कामहरू गरिरहेको छ?

११ हामी बाँचिरहेको अन्तको दिनमा परमेश्वरको सङ्‌गठनको पृथ्वीमा भएको भागले कस्ता ठूलठूला कामहरू गरिरहेको छ, एकछिन विचार गर्नुहोस्! तीमध्ये एउटा हो, निर्माणकार्य। अमेरिकाको न्यु योर्कको वारविकमा यहोवाका साक्षीहरूको नयाँ मुख्यालय निर्माण गर्न सयौं साक्षीहरू असाध्यै व्यस्त थिए। विश्वव्यापी डिजाइन/निर्माण विभागले दिएको निर्देशन पालन गर्दै संसारभरि हजारौं स्वयंसेवकहरू नयाँ राज्यभवन निर्माण गर्न र शाखा कार्यालयहरू विस्तार गर्न निकै मेहनत गरिरहेका छन्‌। यस्ता परियोजनाहरूमा दिनरात नभनी खटिरहेका थुप्रै इच्छुक स्वयंसेवकहरूप्रति हामी साँच्चै आभारी छौं! यस्ता परियोजनाहरूको लागि संसारभरिका राज्य प्रकाशकहरूले आफूले सकेजति आर्थिक सहयोग गरिरहेका छन्‌। यस्तो नम्रता र वफादारी देखाउने सेवकहरूलाई यहोवाले आशिष्‌ दिइरहनुभएको छ भनेर नबिर्सनुहोस्!—लूका २१:१-४.

१२ शिक्षणकार्य। परमेश्वरको शिक्षा सिकाउने विभिन्न स्कुलहरूलाई विचार गर्नुहोस्। (यशै. २:२, ३) जस्तै: अग्रगामी सेवा स्कुल, राज्य प्रचारकहरूका लागि स्कुल, गिलियड स्कुल, नयाँ बेथेल सेवकका लागि स्कुल, क्षेत्रीय निरीक्षक र तिनीहरूका पत्नीहरूका लागि स्कुल, मण्डलीका एल्डरहरूका लागि स्कुल, राज्य सेवा स्कुल र शाखा समितिका सदस्य र तिनीहरूका पत्नीका लागि स्कुल। आफ्ना मानिसहरूलाई सिकाउन यहोवा साँच्चै रमाउनुहुन्छ! बाइबलले दिने शिक्षा jw.org मा पनि पाइन्छ। यस वेबसाइटमा सयौं भाषामा हाम्रा प्रकाशनहरू पाइन्छ। यस वेबसाइटमा साना केटाकेटी अनि परिवारहरूका लागि एउटा छुट्टै खण्ड छ। साथै, संसारका विभिन्न ठाउँको समाचार पनि पाइन्छ। के तपाईं प्रचारकार्यमा र पारिवारिक उपासनामा jw.org चलाउँदै हुनुहुन्छ?

यहोवाप्रति वफादार हुनुहोस् र उहाँको सङ्‌गठनलाई समर्थन गर्नुहोस्

१३. यहोवाका वफादार उपासकहरूले कुन जिम्मेवारी पूरा गर्नुपर्छ?

१३ यहोवाको सङ्‌गठनको भाग हुन पाउनु कस्तो ठूलो सम्मान हो! परमेश्वर हामीबाट के चाहनुहुन्छ अनि उहाँका स्तरहरू के हुन्‌ भनेर बुझेपछि सही कुरा गर्ने अनि उहाँको सार्वभौमिकताको पक्षमा खडा हुने जिम्मेवारी पनि हामीमाथि आउँछ। यो संसार दुराचारको दलदलमा झन्‌झन्‌ धस्सिंदै गइरहेको छ। त्यसैले यहोवाले जस्तै हामीले पनि ‘खराबीलाई घृणा गर्नुपर्छ।’ (भज. ९७:१०) परमेश्वरको कुनै वास्ता नराखी “खराबलाई असल र असललाई खराब” भन्ने मानिसहरूजस्तो हामी बन्न चाहँदैनौं। (यशै. ५:२०, NRV) हामी परमेश्वरलाई खुसी बनाउन चाहन्छौं। त्यसैले शारीरिक, नैतिक र आध्यात्मिक तवरमा सफा रहन हर प्रयास गर्छौं। (१ कोरि. ६:९-११) हामी यहोवालाई प्रेम गर्छौं अनि उहाँमाथि भरोसा राख्छौं। त्यसैले उहाँको अनमोल वचनमा स्पष्टसित बताइएका स्तरहरू पालन गरेर उहाँप्रति वफादार रहन्छौं। अनि घरमा, मण्डलीमा, काम गर्ने ठाउँमा, स्कुलमा—भनौं भने, जहाँ भए पनि उहाँको स्तरअनुसार चल्न सक्दो प्रयास गर्छौं। (हितो. १५:३) परमेश्वरप्रति वफादारी देखाउने अरू क्षेत्रहरू पनि छन्‌, त्यसबारे विचार गरौं।

१४. ख्रीष्टियन आमाबाबुले परमेश्वरप्रति कसरी वफादारी देखाउन सक्छन्‌?

१४ छोराछोरी हुर्काउँदा। यहोवाको वचनमा पाइने निर्देशनअनुसार छोराछोरीलाई सिकाएर आमाबाबुले उहाँप्रति वफादारी देखाउँछन्‌। त्यसैले परमेश्वरको डर मान्ने आमाबाबुहरू छोराछोरी हुर्काउने सन्दर्भमा स्थानीय चलनहरूबाट अचाक्ली प्रभावित हुँदैनन्‌। यहोवाका उपासकहरूको घरपरिवारमा संसारको मनोभाव पटक्कै छिर्न दिनु हुँदैन। (एफि. २:२) बप्तिस्मा लिइसकेका बुबाले यस्तो सोच्नेछैनन्‌, ‘हाम्रो देशमा त छोराछोरीलाई सिकाउने काम आमाको हो।’ छोराछोरीलाई सिकाउने जिम्मा कसको हो भन्नेबारे बाइबल स्पष्टसित यसो भन्छ: “हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई . . . यहोवाको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।” (एफि. ६:४) परमेश्वरको डर मान्ने बुबा र आमा आफ्ना छोराछोरी शमूएलजस्तै भएको चाहन्छन्‌, किनभने तिनी बढ्‌दै गर्दा यहोवा तिनीसँग हुनुहुन्थ्यो।—१ शमू. ३:१९.

१५. ठूलठूला निर्णयहरू गर्नुपर्दा हामी कसरी यहोवाप्रति वफादारी देखाउँछौं?

१५ निर्णयहरू गर्दा। जीवनमा ठूलठूला निर्णयहरू गर्नुपर्दा परमेश्वरप्रति वफादारी देखाउने एउटा तरिका उहाँको वचन र सङ्‌गठनले दिने सल्लाह खोज्नु हो। यसो गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर बुझाउन धेरै आमाबाबुलाई असर गर्ने एउटा अत्यन्तै संवेदनशील विषयबारे विचार गरौं। विदेशमा काम गर्ने कतिपय आमाबाबुले आफ्नो भर्खरै जन्मेको शिशुको हेरचाह गर्ने जिम्मा स्वदेशमा भएका आफन्तहरूलाई दिने गरेको पाइन्छ। यसो गर्दा तिनीहरूले बच्चाको स्याहारसुसार गर्नुपर्दैन र काममा गएर पैसा कमाइरहन सक्छन्‌। हुन त यो व्यक्तिगत निर्णयको कुरा हो। तर यो कुरा बिर्सनु हुँदैन, हामी जे निर्णय गर्छौं, त्यसको लागि परमेश्वर हामीलाई जबाफदेही ठान्नुहुन्छ। (रोमी १४:१२ पढ्‌नुहोस्) आफ्नो परिवारको हेरचाह र आफ्नो जीविका चलाउनेजस्ता महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा बाइबलको सल्लाह नखोजी आफै निर्णय गर्नु बुद्धिमानी हुन्छ र? पटक्कै हुँदैन! हामी आफ्नो पाइलालाई ठीक बाटोमा हिंडाउन सक्दैनौं, त्यसैले हामीलाई स्वर्गमा बस्नुहुने बुबाको मदत नभई हुँदैन।—यर्मि. १०:२३.

१६. छोरा जन्मिएपछि एउटी आमाले कस्तो निर्णय गर्नुपऱ्यो? सही निर्णय गर्न उनलाई केले मदत गऱ्यो?

१६ विदेशमा काम गरिरहेकी एउटी स्त्रीले विदेशमै छोरा जन्माइन्‌। उनी छोरालाई सासूससुराकहाँ आफ्नै देशमा पठाउने विचार गर्दै थिइन्‌। तर छोरा जन्मिने समयतिर उनले यहोवाको साक्षीसित अध्ययन गर्न थालिन्‌। उनले राम्रो प्रगति गरिन्‌ अनि छोरालाई यहोवाको उपासना गर्न सिकाउने दायित्व उनको आफ्नै हो भनेर पनि बुझिन्‌। (भज. १२७:३; हितो. २२:६) त्यस स्त्रीले यहोवालाई आफ्नो मनको सारा बह पोखिन्‌, किनभने बाइबलले हामीलाई त्यसै गर्ने सल्लाह दिन्छ। (भज. ६२:७, ८) उनले यसबारे आफ्नो बाइबल अध्ययन सञ्चालक र मण्डलीका अरू साथीहरूलाई पनि सबै कुरा बताइन्‌। छोरालाई बाजेबज्यैकहाँ पठाउन उनका आफन्त र साथीहरूले असाध्यै दबाब दिए। तैपनि उनी त्यसो गर्नु ठीक होइन भन्ने निष्कर्षमा पुगिन्‌। मण्डलीले आफ्नी पत्नी र छोरालाई देखाएको माया देखेर श्रीमान्‌ निकै प्रभावित भए। त्यसपछि तिनले पनि बाइबल अध्ययन सुरु गरे अनि पत्नी र छोरासँगै सभामा जान थाले। के यहोवाले यस आमाले गरेको हृदयस्पर्शी प्रार्थनाको जवाफ दिनुभयो? तपाईंलाई कस्तो लाग्छ? यहोवाले प्रार्थनाको जवाफ दिनुभएको उनले पक्कै पनि महसुस गरिन्‌ होली!

१७. बाइबल विद्यार्थीहरूको सन्दर्भमा हामीले कस्तो निर्देशन पाएका छौं?

१७ निर्देशन पालन गर्दा। हामीले परमेश्वरप्रति वफादारी देखाउने एउटा महत्त्वपूर्ण तरिका उहाँको सङ्‌गठनबाट आउने निर्देशन पालन गर्नु हो। उदाहरणको लागि, बाइबल विद्यार्थीहरूको सन्दर्भमा हामीले कस्ता सुझावहरू पाएका छौं, त्यो विचार गर्नुहोस्। कुनै व्यक्तिसित बाइबलले वास्तवमा के सिकाउँछ? किताबबाट अध्ययन थाल्नेबित्तिकै हरेक पटक अध्ययनपछि हाम्रो सङ्‌गठनबारे बताउन केही मिनेट छुट्टयाउन सुझाव दिइएको छ। राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भन्ने भिडियोबाट र आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌? भन्ने पुस्तिकाबाट त्यसो गर्न सक्छौं। राम्रो प्रगति गरिरहेका विद्यार्थीसित बाइबलले सिकाउँछ किताब अध्ययन गर्न सिद्धिएपछि आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराखभन्ने किताब पनि अध्ययन गर्न सुझाव दिइएको छ। तिनले बप्तिस्मा लिइसकेका छन्‌ भने पनि परमेश्वरको प्रेम किताबबाट अध्ययन गर्ने सुझाव दिइएको छ। नयाँ चेलाहरू “विश्वासमा अटल हुँदै” जाऊन्‌ भनेर सङ्‌गठनले हामीलाई यस्तो निर्देशन दिएको हो। (कल. २:७) के तपाईं यहोवाको सङ्‌गठनबाट आउने यस्ता सुझावहरू पालन गर्दै हुनुहुन्छ?

१८, १९. हामी यहोवाप्रति धन्यवादी हुनुपर्ने कस्ता कारणहरू छन्‌?

१८ हामीले यहोवालाई धन्यवाद चढाउनुपर्ने थुप्रै कारण छन्‌। उहाँले गर्दा हामीले जीवन पाएका छौं, किनभने उहाँविना हामी चलहल गर्न वा अस्तित्वमा रहन सक्दैनौं। (प्रेषि. १७:२७, २८) उहाँले हामीलाई अत्यन्तै अनमोल उपहार दिनुभएको छ। त्यो हो, उहाँको वचन बाइबल। थिस्सलोनिकाका ख्रीष्टियनहरूले परमेश्वरको वचनलाई खुसीसित ग्रहण गरे। त्यसरी नै हामी पनि यस उपहारको लागि परमेश्वरलाई धन्यवाद दिन्छौं र उहाँको सन्देशको रूपमा स्वीकार्छौं।—१ थिस्स. २:१३.

१९ हामीसित परमेश्वरको लिखित वचन छ। त्यसैले हामी यहोवासित नजिक हुन सकेका छौं र उहाँ पनि हामीसित नजिक हुनुभएको छ। (याकू. ४:८) स्वर्गमा बस्नुहुने बुबाले हामीलाई उहाँको सङ्‌गठनको भाग हुने ठूलो सम्मान दिनुभएको छ। यस्ता आशिष्‌हरूको हामी कत्ति धेरै मोल गर्छौं! भजनहारले अत्यन्तै सुन्दर शब्दमा यस्तो भजन गाए: “परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्छ। किनभने उहाँको करुणा सदासर्वदै रहिरहन्छ।” (भज. १३६:१) भजन १३६ अध्यायमा “उहाँको करुणा सदासर्वदै रहिरहन्छ” अर्थात्‌ उहाँको वफादार प्रेम सधैं रहिरहन्छ भन्ने अभिव्यक्ति २६ चोटि दोहोऱ्याइएको छ। यहोवा र उहाँको सङ्‌गठनप्रति वफादार रहिरह्यौं भने त्यस मनमोहक अभिव्यक्तिको सत्यता अनुभव गर्नेछौं, किनभने हामी सधैंभरि बाँच्नेछौं!