सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“यो काम महान्‌ छ”

“यो काम महान्‌ छ”

यरूशलेममा एउटा महत्त्वपूर्ण सभा आयोजना गरिएको छ। राजा दाऊदले सबै राजकुमार, अफिसर र वीर पुरुषहरूलाई भेला गराएका छन्‌। एउटा विशेष घोषणा सुनेर तिनीहरू सबै खुसीले गद्‌गद छन्‌। यहोवाले दाऊदको छोरा सुलेमानलाई एउटा अत्यन्तै भव्य भवन निर्माण गर्न अह्राउनुभएको छ। त्यो भवन साँचो परमेश्वरको उपासनाको लागि समर्पित हुनेछ। उमेर ढल्किसकेका इस्राएलका राजा दाऊदलाई यहोवाले नै त्यस भवनको नक्सा दिनुभएको छ। अनि त्यो नक्सा दाऊदले सुलेमानलाई दिएका छन्‌। दाऊद यसो भन्छन्‌, “यो काम महान्‌ छ। किनभने यो भवन मानिसको निम्ति होइन तर परमप्रभु परमेश्वरको निम्ति हो।”—१ इति. २८:१, २, ६, ११, १२; २९:१.

त्यसपछि दाऊद यो प्रश्न सोध्छन्‌: “अब मुठी खोलिकन आज परमप्रभुलाई दिन को राजी छ?” (१ इति. २९:५) तपाईं त्यहाँ भएको भए के गर्नुहुने थियो? के तपाईं त्यस महान्‌ कामलाई सघाउन अघि सर्नु हुनेथियो? इस्राएलीहरूले तुरुन्तै कदम चाले। “मानिसहरूले यसरी राजीखुशीसित दिएकोमा आनन्द मनाए। किनभने आफ्ना हृदयको भक्तिसाथ परमप्रभुको निम्ति तिनीहरूले राजीखुशीसित ती दिएका थिए।”—१ इति. २९:९.

सयौं वर्षपछि यहोवाले त्यस भव्य मन्दिरभन्दा अझ ठूलो कुरा अर्थात्‌ उहाँको महान्‌ आध्यात्मिक मन्दिर स्थापना गर्नुभयो। यो मन्दिर भनेको येशूको बलिदानको आधारमा यहोवालाई उपासना गर्ने प्रबन्ध हो। (हिब्रू ९:११, १२) आज यहोवाले कसरी मानिसहरूलाई आफूसित मिलाप गराउँदै हुनुहुन्छ? चेला बनाउने कामद्वारा। (मत्ती २८:१९, २०) यस कामले गर्दा वर्षेनी लाखौंले बाइबल अध्ययन गरिरहेका छन्‌, हजारौंले बप्तिस्मा गरिरहेका छन्‌ र सयौं नयाँ मण्डलीहरू स्थापना भइरहेका छन्‌।

यस्तो वृद्धिले गर्दा बाइबलआधारित प्रकाशनहरू अझ धेरै छाप्नु परेको छ, राज्यभवनको निर्माण र मर्मतसम्भार गर्नु परेको छ। अनि सम्मेलन र अधिवेशन स्थलहरूको आवश्यकता अझै बढेको छ। सुसमाचार प्रचार गर्ने यो काम के साँच्चै विशाल र इनामदायी छैन र?—मत्ती २४:१४.

यहोवा र छिमेकीप्रतिको प्रेम अनि राज्य प्रचारकार्यको महत्त्व बुझेकोले गर्दा परमेश्वरका सेवकहरू राजीखुसीसित अनुदान दिन्छन्‌, तिनीहरू ‘मुठी खोलेर परमप्रभुलाई दिन’ अग्रसर भएका छन्‌। यसरी “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर” गर्न पाउनु अत्यन्तै खुसीको कुरा हो। मानव इतिहासमा भइरहेको सबैभन्दा महान्‌ काम सम्पन्न गर्न यी अनुदानहरू सही तरिकाले प्रयोग गरिएको देख्न पाउँदा हामी रमाउँछौं!—हितो. ३:९.