सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ”

“उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ”

बलिदान चढाउनु पुरातन समयदेखि नै साँचो उपासनाको अभिन्‍न भाग बन्दै आएको छ। इस्राएलीहरू जनावरको बलिदान चढाउँथे; ख्रीष्टियनहरू पनि “प्रशंसाको बलिदान” चढाउने व्यक्‍ति भनेर चिनिंदै आएका छन्‌। तर यहोवालाई खुसी बनाउन हामीले चढाउन सक्ने अरू बलिदानहरू पनि छन्‌। (हिब्रू १३:१५, १६) यस्ता बलिदान चढाउँदा हामी आनन्दित हुन्छौं अनि यहोवाबाट आशिष्‌ पनि पाउँछौं। यो कुरा निम्न उदाहरणहरूबाट बुझ्न सक्छौं।

यहोवाप्रति वफादार स्त्री हन्‍नालाई विचार गरौं। उनी एउटा छोरा चाहन्थिन्‌ तर उनी बाँझी थिइन्‌। यहोवालाई प्रार्थना गर्दा उनले आफ्नो छोरा भएमा “त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु” भनेर भाकल गरिन्‌। (१ शमू. १:१०, ११) पछि हन्‍ना गर्भवती भइन्‌ अनि शमूएललाई जन्माइन्‌। शमूएललाई दूध छुटाएपछि हन्‍नाले आफूले भाकल गरेअनुसारै बासस्थानमा लगिन्‌। उनको आत्मत्यागी मनोवृत्ति देखेर यहोवाले उनलाई आशिष्‌ दिनुभयो। उनले अरू पाँच जना छोराछोरी पनि जन्माइन्‌। पछि गएर शमूएल एक भविष्यवक्‍ता भए अनि उनले बाइबलका केही पुस्तक पनि लेखे।—१ शमू. २:२१.

हन्‍ना अनि शमूएलजस्तै आज ख्रीष्टियनहरूले पनि सृष्टिकर्ता यहोवाको सेवा गर्ने सुअवसर पाएका छन्‌। यहोवाको उपासना गर्न हामी जे-जति त्याग गर्छौं, त्यसको लागि प्रशस्तै आशिष्‌ पाउनेछौं भनेर येशूले प्रतिज्ञा गर्नुभयो।—मर्कू. १०:२८-३०.

प्रथम शताब्दीकी तबीतालाई विचार गरौं। उनी मण्डलीका सदस्यहरूलाई मदत गर्न “थुप्रै असल काम र दानपुण्य गर्थिन्‌।” तर दुःखको कुरा, “उनी बिरामी परिन्‌ र मरिन्‌,” जसले गर्दा मण्डलीका सबै जना शोकमा परे। पत्रुस त्यही इलाकामा छन्‌ भन्‍ने सुनेपछि चेलाहरूले तिनलाई झट्टै आइहाल्न बिन्ती गरे। पत्रुसले आएर तबीतालाई पुनर्जीवित गरेपछि सबै जना कत्ति आनन्दित भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! कुनै प्रेषितले कसैलाई पुनर्जीवित गरेको यो पहिलो पटक थियो। (प्रेषि. ९:३६-४१) परमेश्‍वरले तबीताले चढाएका बलिदानहरू बिर्सनुभएको थिएन। (हिब्रू ६:१०) हामीले उनको राम्रो उदाहरण पछ्याउन सकोस्‌ भनेर यहोवाले उनले देखाएको उदारताको विवरण आफ्नो वचन बाइबलमा लेख्न लगाउनुभएको छ।

उदार मनको भएर अरूलाई चासो देखाउने अनि समय दिने सन्दर्भमा प्रेषित पावलले पनि एकदम राम्रो उदाहरण बसालेका छन्‌। तिनले कोरिन्थका ख्रीष्टियनहरूलाई यस्तो लेखे: “म तिमीहरूका निम्ति हाँसी-खुसी खर्च गर्छु र आफू पनि पूरै खर्चिन्छु।” (२ कोरि. १२:१५) अरूको खातिर त्यागहरू गर्दा आफू सन्तुष्ट हुने मात्र होइन तर अझ महत्त्वपूर्ण कुरा, यहोवाको अनुमोदन अनि आशिष्‌ पनि पाउँछौं। यो कुरा पावल आफैले अनुभव गरेका थिए।—प्रेषि. २०:२४, ३५.

हो, हामीले आफ्नो समय अनि शक्‍ति राज्य गतिविधिलाई अघि बढाउन र भाइबहिनीलाई मदत गर्न प्रयोग गर्दा यहोवा खुसी हुनुहुन्छ। राज्यको सुसमाचार सुनाउने काममा सघाउन हामीले गर्न सक्ने अरू कुरा पनि छन्‌ कि? पक्कै छन्‌! यहोवाको सेवामा आफ्नो समय र शक्‍ति खर्च गर्नुको अलावा हामी स्वैच्छिक अनुदान दिएर पनि परमेश्‍वरको महिमा गर्न सक्छौं। ती अनुदान विश्‍वव्यापी प्रचारकार्यको लागि प्रयोग गरिन्छ। यसमा मिसनरीलगायत अरू विशेष पूर्ण-समय सेवकहरूको आवश्‍यकता पूरा गर्नु समावेश छ। साथै, प्रकाशन तथा भिडियोहरू तयार पार्न अनि अनुवाद गर्न, प्राकृतिक प्रकोप आइपर्दा राहतकार्यको प्रबन्ध गर्न अनि राज्यभवनहरू बनाउन पनि ती अनुदानहरू प्रयोग गरिन्छ। “उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ” भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। त्यति मात्र होइन, आफ्नो धन-सम्पत्ति यहोवाको सेवामा अर्पण गर्दा हामीले उहाँको महिमा गरिरहेका हुन्छौं।—हितो. ३:९; २२:९, NRV.