सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हर्षोल्लासका साथ गाउनुहोस्‌!

हर्षोल्लासका साथ गाउनुहोस्‌!

“हाम्रा परमेश्‍वरको स्तुतिगान गाउनु असल कुरा हो।”—भज. १४७:१.

गीत: १०, 

१. गीतद्वारा हामी के गर्न सक्छौं?

एक जना प्रख्यात गीतकारले एक पटक यसो भने: “शब्दले हामीलाई सोच्न लगाउँछ। सङ्‌गीतले हाम्रो मनमा भावना जगाउँछ। तर जब शब्द र सङ्‌गीत मिलेर गीत बन्छ, त्यसले हाम्रो मन छुन्छ।” गीतद्वारा स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवाको प्रशंसा गर्नु अनि उहाँप्रतिको प्रेम प्रकट गर्नु कत्ति राम्रो कुरा! त्यसैले एक्लै हुँदा होस्‌ या मण्डलीमा भाइबहिनीसित मिलेर, गीत गाउनु साँचो उपासनाको महत्त्वपूर्ण भाग हो।

२, ३. (क) मण्डलीमा ठूलो स्वरले राज्यगीत गाउनेबारे कसै-कसैले कस्तो सोचाइ राख्न सक्छन्‌? (ख) हामी कस्ता प्रश्‍न विचार गर्नेछौं?

तर मण्डलीमा सबैसित मिलेर ठूलो स्वरमा राज्यगीत गाउन तपाईंलाई कस्तो लाग्छ? के तपाईंलाई लाज लाग्छ? कुनै-कुनै समाजमा पुरुषहरू अरूको अगाडि गीत गाउन अप्ठ्यारो मान्‍न सक्छन्‌। यस्तो सोचाइले मण्डलीमा पनि असर गर्न सक्छ। अझ विशेषगरि एल्डरहरू नै गीत गाउन अप्ठ्यारो मान्छन्‌ वा सबैले गीत गाइरहेको बेलामा आफू भने अरू नै कामकुरा गरिरहन्छन्‌ भने त्यसले पूरै मण्डलीमा नकारात्मक असर पार्न सक्छ।—भज. ३०:१२.

यदि हामी राज्यगीत गाउनुलाई साँच्चै हाम्रो उपासनाको अभिन्‍न भाग ठान्छौं भने गीत गाउने समयमा बाहिर निस्कनेछैनौं वा गीत गाउने भाग छुटाउनेछैनौं। त्यसैले हामी प्रत्येकले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ: ‘सभामा गीत गाउने कुरालाई म कस्तो ठान्छु? हर्षोल्लासका साथ गीत गाउन मलाई अप्ठ्यारो लाग्छ भने म के गर्न सक्छु? अनि भावसहित गीत गाउन म के गर्न सक्छु?’

गीत गाउनु साँचो उपासनाको अभिन्‍न भाग हो

४, ५. प्राचीन इस्राएलमा मन्दिरमा गीत गाउन कस्तो प्रबन्ध मिलाइएको थियो?

यहोवाका वफादार उपासकहरूले यहोवालाई प्रशंसा चढाउन धेरै पहिलेदेखि सङ्‌गीतको प्रयोग गर्दै आएका छन्‌। प्राचीन समयमा जब इस्राएलीहरूले वफादार भई यहोवाको सेवा गरिरहेका हुन्थे, त्यतिबेला तिनीहरूको उपासनामा गीत गाउनुले महत्त्वपूर्ण स्थान ओगटेको हुन्थ्यो। उदाहरणको लागि, मन्दिरको कामसम्बन्धी विभिन्‍न तयारी गर्दा राजा दाऊदले परमप्रभुको स्तुतिगान गर्न चार हजार लेवीलाई नियुक्‍त गरे। तिनीहरूमध्ये “परमप्रभुका निम्ति गीत गाउनलाई तालिम पाएका . . . , जो सबै निपुण थिए, उनीहरूको सङ्‌ख्या दुई सय अठासी थियो।”—१ इति. २३:५; २५:७, TBS.

मन्दिर समर्पण गर्ने दिनमा बाजागाजा अनि गीतहरूले ठूलो भूमिका खेलेको थियो। बाइबल यसो भन्छ: “तुरही बजाउनेहरू र गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक सोर गरी आवाज निकाले। औ तुरही, झ्याम्टा र बाजाहरूसित परमप्रभुको प्रशंसा गर्नलाई गीतको आवाज निस्क्यो, . . . परमेश्‍वरको भवन परमप्रभुको महिमाले भरिएको थियो।” त्यस अवसरमा उपस्थित हुँदा मानिसहरूको विश्‍वास कत्ति बलियो भयो होला!—२ इति. ५:१३, १४; ७:६.

६. यरूशलेमका राज्यपाल नहेम्याहले गीत गाउनको लागि कस्तो विशेष प्रबन्ध मिलाएका थिए? व्याख्या गर्नुहोस्‌।

नहेम्याहले यरूशलेमको पर्खाल पुनर्निर्माण गर्ने काममा इस्राएलीहरूको नेतृत्व लिएका थिए। साथै तिनले बाजा बजाउन अनि गीत गाउन लेवी गायकहरूको दल पनि तयार गरेका थिए। त्यस विशेष प्रबन्धले पर्खाल समर्पण गर्ने दिनको माहोललाई अझ हर्षमय बनाइदिएको थियो। त्यस अवसरको लागि तिनले “धन्यवाद दिन दुई वटा ठूला स्तुति गाउनेहरूका दल नियुक्‍त” गरेका थिए। एउटा दल दायाँबाट र अर्को दल बायाँबाट बाजा बजाउँदै अनि गीत गाउँदै आए र मन्दिर नजिकैको पर्खालमा एकअर्कालाई भेटे। तिनीहरूको आवाज यत्ति ठूलो थियो कि, त्यो टाढा-टाढासम्म पनि सुनिन्थ्यो। (नहे. १२:२७, २८, ३१, ३८, ४०, ४३) आफ्ना उपासकहरूले त्यसरी हर्षोल्लासका साथ स्तुतिगान गाएको देख्दा यहोवालाई कत्ति खुसी लाग्यो होला!

७. ख्रीष्टियनहरूको उपासनामा गीत गाउनुको महत्त्वपूर्ण भूमिकालाई येशूले कसरी जोड दिनुभयो?

पछि ख्रीष्टियन मण्डली स्थापना भइसकेपछि पनि गीत गाउनु साँचो उपासनाको अभिन्‍न भाग रहिरह्‍यो। मानव इतिहासकै सबैभन्दा महत्त्वपूर्ण रातमा के भएको थियो, याद गर्नुहोस्‌। प्रभुको साँझको भोज स्थापना गर्नुभएपछि येशूले आफ्ना चेलाहरूसित स्तुतिगान गाउनुभएको थियो।मत्ती २६:३० पढ्‌नुहोस्‌।

८. उपासनाको लागि गीत गाउने सन्दर्भमा प्रथम शताब्दीका ख्रीष्टियनहरूले कस्तो उदाहरण बसाले?

एकसाथ गीत गाएर यहोवाको प्रशंसा गर्ने सन्दर्भमा प्रथम शताब्दीका ख्रीष्टियनहरूले राम्रो उदाहरण बसाले। तिनीहरू उपासनाको लागि प्रायजसो निजी घरहरूमा भेला हुन्थे तर ती साधारण ठाउँहरूमा पनि तिनीहरू हर्षोल्लासका साथ यहोवाको स्तुतिगान गाउँथे। परमेश्‍वरबाट प्रेरणा पाएर प्रेषित पावलले ख्रीष्टियनहरूलाई यस्तो निर्देशन दिए: “तिमीहरू भजन, परमेश्‍वरको स्तुतिगान र उपासनाका मन छुने गीतहरू गाएर एक-अर्कालाई सिकाउँदै र सम्झाउँदै गर अनि मनमनै यहोवाको निम्ति गाइरहो।” (कल. ३:१६) हाम्रो गीतिपुस्तकमा भएका गीतहरू साँच्चै “मन छुने” किसिमका छन्‌ र ती गीतहरू गाएर हामी आफ्नो कृतज्ञता व्यक्‍त गर्न सक्छौं। ती गीतहरू पनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले प्रबन्ध गरेको आध्यात्मिक भोजन नै हुन्‌।—मत्ती २४:४५.

गीत गाउन अप्ठ्यारो लाग्छ भने के गर्न सक्नुहुन्छ?

९. (क) कोही-कोही किन सभा-सम्मेलनहरूमा हर्षोल्लासका साथ गाउन अप्ठ्यारो मान्छन्‌? (ख) हामीले कसरी यहोवाको स्तुतिगान गाउनुपर्छ अनि त्यसमा कसले नेतृत्व लिनुपर्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

तपाईंको परिवार, समाज, साथीभाइ वा नातागोतामा गीत गाउने चलन त्यति छैन होला। वा टिभी, रेडियो इत्यादिमा सिपालु गायकहरूको आवाज सुन्दा आफ्नो आवाजचाहिं कत्ति नराम्रो छ जस्तो लाग्छ होला। त्यसले गर्दा गीत गाउन लाज लाग्न सक्छ वा गीतै नगाऊँ जस्तो लाग्न सक्छ। त्यसो हो भने पनि गीत गाउनदेखि पछि नहट्‌नुहोस्‌ किनभने गीत गाएर यहोवाको प्रशंसा गर्नु हामी सबैको जिम्मेवारी हो। त्यसैले आफ्नो गीतिपुस्तकलाई माथि उठाउनुहोस्‌, शिर ठाडो पार्नुहोस्‌ अनि मन खोलेर गाउनुहोस्‌! (एज्रा ३:११; भजन १४७:१ पढ्‌नुहोस्‌) आजकल थुप्रै राज्यभवनमा गीतका शब्दहरू स्क्रीनमा देखाइने भएकोले हामी मजाले गाउन सक्छौं। रोचक कुरा, एल्डरहरूको लागि तयार पारिएको राज्य सेवा स्कुलको पाठ्यक्रममा राज्यगीत गाउने भाग पनि समावेश गरिएको छ। यसबाट एल्डरहरूले मण्डलीमा गीत गाउन नेतृत्व लिनु कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुरा स्पष्ट हुन्छ।

१०. ठूलो स्वरले गाउन डर लाग्छ भने हामीले कुन कुरा विचार गर्नुपर्छ?

१० धेरैलाई ठूलो स्वरले गाउनदेखि रोक्ने एउटा कुरा डर हो। आफ्नै आवाज मात्र ठूलो होला वा आफ्नो आवाज अरूलाई नराम्रो लाग्ला भनेर कोही-कोही डराउँछन्‌। विचार गर्नुहोस्‌ त, हामी बोल्दा पनि “धेरै चोटि चुक्छौं।” (याकू. ३:२) तर के त्यसले गर्दा हामी बोल्नै छोड्‌छौं र? त्यसैले आफ्नो आवाज नराम्रो छ भनेर यहोवाको प्रशंसा गर्नदेखि किन पछि हट्‌ने?

११, १२. राम्रोसँग गीत गाउन हामी के गर्न सक्छौं?

११ कसरी गाउने भनेर थाह नभएकोले पनि हामीलाई अप्ठ्यारो लाग्न सक्छ। तर केही सरल सुझाव लागू गऱ्‍यौं भने अझ राम्रोसँग गीत गाउन मदत पाउन सक्नेछौं। *

१२ राम्रोसँग सास फेर्नुभयो भने ठूलो र दमदार आवाजका साथ गाउन सक्नुहुन्छ। बिजुलीको शक्‍तिले बत्ती बलेजस्तै राम्ररी सास फेऱ्‍यौं भने बोल्दा वा गीत गाउँदा ठूलो आवाज निकाल्न सक्छौं। बोल्दा तपाईंको स्वर जति ठूलो हुन्छ, गीत गाउँदा पनि त्यति नै वा त्योभन्दा ठूलो स्वर निकाल्नुपर्छ। (ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌ किताबको पृष्ठ १८१-१८४ मा दिइएको “ठीकसित सास फेर्नुहोस्‌” भन्‍ने उपशीर्षक अन्तर्गत हेर्नुहोस्‌।) बाइबलले यहोवाका उपासकहरूलाई ठूलो स्वरले “आनन्दसित भजन गाओ” भनेर निर्देशन दिएको छ।—भज. ३३:१-३, NRV.

१३. निर्धक्क भएर गीत गाउन हामी के गर्न सक्छौं?

१३ पारिवारिक उपासनाको बेला वा आफू एक्लैले भए पनि यसो गर्नुहोस्‌: आफूलाई मन पर्ने कुनै एउटा राज्यगीत छान्‍नुहोस्‌। गीतका पूरै शब्दहरू ठूलो स्वरमा अनि निर्धक्क भएर पढ्‌नुहोस्‌। अनि त्यति नै ठूलो स्वरमा एउटा वाक्यांशका सबै शब्द एकै सासमा भन्‍नुहोस्‌। त्यसपछि त्यस्तै ठूलो आवाज निकालेर त्यो पूरै वाक्यांश गाउनुहोस्‌। (यशै. २४:१४) त्यसो गर्नुभयो भने तपाईंले ठूलो आवाजमा गाउन सक्नुहुनेछ अनि यो राम्रो कुरा हो। आफ्नो आवाज ठूलो भएको देखेर नआत्तिनुहोस्‌ वा अप्ठ्यारो नमान्‍नुहोस्‌।

१४. (क) मजाले मुख खोलर गाउँदा हामीलाई कस्तो फाइदा हुन्छ? (“ तपाईं कसरी राम्ररी गीत गाउन सक्नुहुन्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌) (ख) आवाज राम्रो बनाउने सन्दर्भमा तपाईंलाई कस्ता सल्लाह व्यावहारिक लाग्यो?

१४ मजाले मुख खोल्नुभएको छैन भने ठूलो स्वरले गीत गाउन सक्नुहुन्‍न। त्यसैले सामान्यतया बोल्ने बेलामा भन्दा अझ मुख खोलेर गाउने गर्नुहोस्‌। आफ्नो आवाज मधुरो छ वा असाध्यै तीखो छ जस्तो लागेमा तपाईं के गर्न सक्नुहुन्छ? आवाज राम्रो बनाउने सन्दर्भमा केही व्यावहारिक सल्लाह ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌ किताबको पृष्ठ १८४ मा भएको “खास समस्याहरूलाई जित्ने” भन्‍ने पेटीमा पाउन सक्नुहुन्छ।

मनैदेखि स्तुतिगान गाउनुहोस्‌

१५. (क) सन्‌ २०१६ को वार्षिक सभामा कस्तो घोषणा गरियो? (ख) नयाँ गीतिपुस्तक बनाउनुको केही कारण के हुन्‌?

१५ वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाको सन्‌ २०१६ को वार्षिक सभामा भाइ स्टिफन लेट्‌ले यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’ (अङ्‌ग्रेजी) भन्‍ने नयाँ गीतिपुस्तक विमोचन गर्नुभएको थियो। सभामा प्रयोग गर्न यो पुस्तक चाँडै उपलब्ध हुनेछ भनेर घोषणा हुँदा सबैजना खुसीले गद्‌गद भएका थिए। गीतिपुस्तकलाई संशोधन गर्नुको कारणबारे भाइ लेट्‌ले बताउनुभएको थियो। उहाँले गीतिपुस्तकलाई २०१३ मा संशोधन गरिएको पवित्र बाइबल—नयाँ संसार अनुवाद अनुसार (अङ्‌ग्रेजी) मिलाउनु परेको कुरा बताउनुभएको थियो। संशोधित नयाँ संसार अनुवाद बाइबलबाट हटाइएका विभिन्‍न पदावलीहरूलाई नयाँ गीतिपुस्तकमा पनि हटाउनुपरेको वा मिलाउनुपरेको थियो। यस गीतिपुस्तकमा हाम्रो प्रचारकार्यको महत्त्व बुझाउने अनि फिरौतीको बलिदानप्रति कृतज्ञता व्यक्‍त गर्ने नयाँ गीतहरू पनि थपिएका छन्‌। साथै गीत गाउनु हाम्रो उपासनाको अभिन्‍न भाग भएकोले परिचालक निकाय गीतिपुस्तकलाई गुणस्तरीय बनाउन चाहन्थ्यो। त्यसैले नयाँ गीतिपुस्तकको गाता पनि संशोधित नयाँ संसार अनुवाद बाइबलको जस्तै छ।

१६, १७. नयाँ गीतिपुस्तकमा के-कस्ता छाँटकाँट गरिएका छन्‌?

१६ यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’ पुस्तक प्रयोग गर्न सजिलो होस्‌ भनेर गीतहरू विषयवस्तुअनुसार मिलाएर राखिएका छन्‌। जस्तै, सुरुको १२ वटा गीत यहोवासित सम्बन्धित छन्‌, त्यसपछिको ८ वटा गीत येशू र फिरौतीको बलिदानसित सम्बन्धित छन्‌ र यसरी नै अरू गीतहरू पनि मिलाएर राखिएका छन्‌। जनभाषणको लागि गीत छान्‍न भाइहरूलाई सजिलो होस्‌ भनेर विषयसूची पनि राखिएको छ।

१७ सबैले मन खोलेर गीत गाउन सकून्‌ भनेर गीतका केही शब्दहरू छाँटकाँट गरिएका छन्‌। दैनिक जीवनमा त्यति प्रयोग नगरिने शब्दहरू हटाइएका छन्‌ अनि गीतको भावलाई अझ प्रस्ट पारिएको छ। जस्तै, “हृदय सुरक्षित राख्नुहोस्‌” भन्‍ने गीतको शीर्षकलाई परिवर्तन गरेर “हामी हृदय सुरक्षित राख्छौं” गरिएको छ। किन? सभा, सम्मेलन अनि अधिवेशनहरूमा थुप्रै नयाँ साक्षी, चासो देखाउने व्यक्‍ति, केटाकेटी अनि दिदीबहिनी उपस्थित हुन्छन्‌। अरूलाई ‘यसो गर, उसो गर’ भनेर अर्ती दिएको जसरी गीत गाउन तिनीहरूलाई अप्ठ्यारो लाग्न सक्छ। त्यसैले त्यो गीतको शीर्षक अनि केही शब्द परिवर्तन गरिएका छन्‌।

पारिवारिक उपासनाको दौडान गीत गाउन अभ्यास गर्नुहोस्‌ (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८. नयाँ गीतिपुस्तकका गीतहरूसित हामी किन परिचित हुनुपर्छ? (फुटनोट हेर्नुहोस्‌)

१८ यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’ पुस्तकको धेरैजसो गीतहरू प्रार्थनाको ढाँचामा तयार पारिएका छन्‌। यी गीत गाउँदा तपाईं आफ्नो मनको भावना यहोवासामु जाहेर गर्न सक्नुहुन्छ। अन्य गीतहरूले भने हामीलाई “प्रेम र सुकर्म गर्न उत्साहित” बनाउनेछ। (हिब्रू १०:२४) तपाईं पक्कै गीतको धुन, लय अनि शब्दहरूसित परिचित हुन चाहनुहुन्छ होला। गीत गाउन घरमा अभ्यास गर्नुभयो भने तपाईं अझ निर्धक्क भएर अनि मन खोलेर गाउन सक्नुहुनेछ। *

१९. मण्डलीका सबै जनाले यहोवाको उपासना गर्न के गर्न सक्छन्‌?

१९ नबिर्सनुहोस्‌, गीत गाउनु हाम्रो उपासनाको अभिन्‍न भाग हो। यो यहोवाप्रतिको कृतज्ञता जाहेर गर्ने अनि प्रेम प्रकट गर्ने प्रभावकारी तरिका हो। (यशैया १२:५ पढ्‌नुहोस्‌) हर्षोल्लासका साथ गीत गाउँदा तपाईंले अरूलाई पनि विश्‍वस्त हुँदै गाउन प्रोत्साहन दिन सक्नुहुनेछ। साँच्चै भन्‍ने हो भने, मण्डलीका जवान, वृद्ध तथा नयाँ व्यक्‍तिहरू सबैले स्तुतिगान गाएर यहोवाको उपासना गर्न सक्छन्‌। त्यसैले गीतमार्फत आफ्नो मनको भावना यहोवासामु जाहेर गर्न अप्ठ्यारो नमान्‍नुहोस्‌। बरु भजनहारले दिएको यस निर्देशन पालन गर्नुहोस्‌, जसले परमेश्‍वरको प्रेरणा पाएर यस्तो लेखे: “परमप्रभुकै निम्ति गाओ।” हो, हर्षोल्लासका साथ गाउनुहोस्‌!—भज. ९६:१.

^ अनु. 11 अझ राम्रोसँग गीत गाउन मदत गर्ने अन्य थप जानकारी डिसेम्बर २०१४ को JW ब्रोडकास्टिङमा (अङ्‌ग्रेजी) पाउन सक्नुहुन्छ (भिडियो अन्तर्गत हाम्रो स्टुडियोबाट)।

^ अनु. 18 गीत गाउन हामी अझै उत्साहित होस्‌ भनेर हरेक सम्मेलन अनि अधिवेशनको बिहानको अनि दिउँसोको कार्यक्रम सुरु गर्नुअघि १० मिनेट मीठो धुन बजाइन्छ। साङ्‌गीतिक वाद्यटोलीले यी धुनहरू कार्यक्रमको लागि हाम्रो मन अनि दिमाग तयार पार्ने किसिमले बनाएको हुन्छ। त्यसैले हामीलाई धुन सुरु हुनुअघि नै आ-आफ्नो सीटमा बस्न अनि धुनको पुरापुर आनन्द उठाउन प्रोत्साहन दिइएको छ।