सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंले पाउनुपर्ने इनाम कुनै कुराले खोस्न नपाओस्‌

तपाईंले पाउनुपर्ने इनाम कुनै कुराले खोस्न नपाओस्‌

“मानिसले तिमीहरूले पाउनुपर्ने इनाम खोस्न नपाओस्‌।”—कल. २:१८.

गीत: १२२, १३९

१, २. (क) परमेश्‍वरका सेवकहरू कस्तो इनामको प्रतीक्षा गर्दै छन्‌? (ख) इनाममा ध्यान दिन हामीलाई केले मदत गर्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

प्रेषित पावलले जस्तै आज अभिषिक्‍त ख्रीष्टियनहरूले पनि “परमेश्‍वरबाट पाएको माथिको बोलावटको पुरस्कार” पाउने अनमोल आशा पाएका छन्‌। (फिलि. ३:१४) तिनीहरू येशू ख्रीष्टसितै उहाँको राज्यमा शासन गर्ने र उहाँसँगै मिलेर मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउने समयको प्रतीक्षा गर्दै छन्‌। (प्रका. २०:६) परमेश्‍वरले तिनीहरूलाई कत्ति सुन्दर आशा दिनुभएको छ! अरू भेडासँग भने बेग्लै आशा छ। उनीहरू पृथ्वीमा सधैंभरि बाँच्ने जीवन पाउने इनामको प्रतीक्षा गर्दै छन्‌। कस्तो सुन्दर आशा!—२ पत्रु. ३:१३.

प्रेषित पावल सङ्‌गी अभिषिक्‍त ख्रीष्टियनहरूलाई वफादार रहन र इनाम प्राप्त गर्न मदत दिन चाहन्थे। त्यसैले तिनले उनीहरूलाई यस्तो आग्रह गरे: “तिमीहरू माथिका कुराहरूमा ध्यान देओ।” (कल. ३:२) उनीहरूले स्वर्गमा पाइने इनाममा ध्यान दिनुपर्थ्यो। (कल. १:४, ५) हो, यहोवाका सेवकहरूले चाहे स्वर्गमा जाने आशा पाएका हुन्‌ या पृथ्वीमा जीवन बिताउने, उनीहरू सबैले यहोवाले दिनुहुने आशिष्‌मा मनन गर्दा इनाममा ध्यान दिन मदत पाउनेछन्‌।—१ कोरि. ९:२४.

३. पावलले ख्रीष्टियनहरूलाई कस्ता खतराहरूबारे सजग गराए?

पावलले सङ्‌गी ख्रीष्टियनहरूलाई तिनीहरूको इनाम खोस्न सक्ने खतराहरूबारे पनि सजग गराए। उदाहरणको लागि, तिनले कलस्सीको मण्डलीलाई येशूमा विश्‍वास गरेर नभई मोशाको व्यवस्था पालन गरेर परमेश्‍वरको अनुमोदन पाउन खोजिरहेका झूटा ख्रीष्टियनहरूबारे लेखे। (कल. २:१६-१८) साथै, पावलले अहिलेको समयमा पनि हाम्रो इनाम खोस्न सक्ने खतराहरूबारे बताए। उदाहरणको लागि, तिनले अनैतिक इच्छाहरूको कसरी प्रतिरोध गर्ने, सङ्‌गी ख्रीष्टियनहरूसित खटपट पर्दा त्यसलाई कसरी सुल्झाउने अनि पारिवारिक समस्याहरू कसरी समाधान गर्ने भन्‍नेबारे पनि सल्लाह दिए। तिनले यी विषयहरूमा दिएका सल्लाहहरू हाम्रो समयको लागि पनि त्यत्तिकै उपयोगी छन्‌। त्यसैले पावलले कलस्सीको मण्डलीलाई दिएका केही मायालु चेतावनी सँगै विचार गरौं।

अनैतिक इच्छाहरूलाई मार्नुहोस्‌

४. अनैतिक इच्छाहरूले किन हाम्रो इनाम खोस्न सक्छ?

पावलले सङ्‌गी ख्रीष्टियनहरूलाई उनीहरूको सुन्दर आशाबारे सम्झना गराएपछि यस्तो लेखे: “त्यसकारण, पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध, अशुद्धपन, कामवासना, खराब इच्छा अनि लालच।” (कल. ३:५) अनैतिक इच्छा निकै प्रबल हुन सक्छ र यसले परमेश्‍वरसितको हाम्रो सम्बन्ध बिगार्न र भविष्यको आशा खोस्न सक्छ। अवैध यौनसम्बन्ध राखेका एक भाइले पछि मण्डलीमा फर्किसकेपछि यसो भने: “त्यस्ता अनैतिक इच्छाहरू यत्ति प्रबल थिए कि मैले आफूलाई रोक्नै सकिनँ। होस खुल्ने बेलासम्म त साह्रै ढिलो भइसकेको थियो।”

५. यहोवाका स्तरहरू तोड्‌न लगाउन सक्ने अवस्थामा पर्दा आफूलाई कसरी जोगाउन सक्छौं?

यहोवाले तोक्नुभएका नैतिक स्तरहरू तोड्‌न लगाउन सक्ने अवस्थामा पर्दा हामी अझ धेरै होसियार हुनुपर्छ। उदाहरणको लागि, विवाह गर्ने उद्देश्‍यले भेटघाट गरिरहेका जोडीहरूले एक-अर्कालाई छुने, चुम्बन गर्ने वा दुई जना मात्र हुने अवस्थाजस्ता कुराहरूमा सुरुदेखि नै स्पष्ट सीमा तोक्नु बुद्धिमानी हो। (हितो. २२:३) कामको सिलसिलामा कुनै ख्रीष्टियन घरबाट टाढा गएको बेलामा वा विपरीत लिङ्‌गका व्यक्‍तिसँगै काम गर्नुपर्ने अवस्थामा पनि अनैतिक कुराहरूमा मुछिन सक्ने खतरा हुन सक्छ। (हितो. २:१०-१२, १६) यदि तपाईं पनि यस्तो अवस्थामा पर्नुभयो भने आफूलाई यहोवाको साक्षीको रूपमा चिनाउनुहोस्‌ र आदरपूर्ण ढङ्‌गमा व्यवहार गर्नुहोस्‌। यो कुरा नबिर्सनुहोस्‌, विपरीत लिङ्‌गका व्यक्‍तिसित अनावश्‍यक रूपमा ठट्टा गर्नुभयो भने नतिजा साह्रै नराम्रो हुन सक्छ। साथै, निराश वा एक्लो महसुस गर्दै हुनुहुन्छ भने अनैतिक कुराहरूमा मुछिन सक्ने खतरा अझ धेरै हुन सक्छ। यस्तो बेला हामी कसैबाट प्रेम पाउन लालायित हुन्छौं होला। कसैले आफ्नो भावना बुझिदेओस्‌ भन्‍ने तीव्र चाहनाले गर्दा हामी जो कोहीले चासो देखाए पनि फुरुङ्‌ङ हुन्छौं होला। तपाईंलाई पनि कहिल्यै यस्तो भयो भने तुरुन्तै यहोवा र उहाँका सेवकहरूको मदत माग्नुहोस्‌। यसो गर्नुभयो भने कुनै पनि कुराले तपाईंको इनाम खोस्न पाउनेछैन।भजन ३४:१८; हितोपदेश १३:२० पढ्‌नुहोस्‌।

६. मनोरञ्जन छान्‍ने सन्दर्भमा हामीले कुन कुरा विचार गर्नुपर्छ?

अनैतिक इच्छाहरूलाई मार्न हामीले अनैतिक मनोरञ्जनलाई तिरस्कार गर्नुपर्छ। अहिले मनोरञ्जन जगत्‌मा पाइने धेरैजसो कुराले हामीलाई पुरातन समयको सदोम र गमोरामा व्याप्त पतित कुराहरूको सम्झना गराउँछ। (यहू. ७) त्यस्ता मनोरञ्जन बनाउनेहरूले अवैध यौनसम्बन्धलाई सामान्य र कुनै हानि नगर्ने कुराको रूपमा देखाउँछन्‌। त्यसकारण हामी सधैं होसियार हुनुपर्छ; जुनसुकै प्रकारको मनोरञ्जनलाई सोचविचारै नगरी स्विकार्नु हुँदैन। हामीलाई इनाममा ध्यान दिनदेखि नरोक्ने किसिमको मनोरञ्जन छान्‍नुपर्छ।—हितो. ४:२३.

प्रेम र दया ‘धारण गर्नुहोस्‌’

७. मण्डलीमा कस्ता समस्याहरू खडा हुन सक्छन्‌?

ख्रीष्टियन मण्डलीको भाग हुन पाउनु आशिष्‌को कुरा हो भन्‍ने कुरामा हामी सबै सहमत छौं। सभाहरूमा परमेश्‍वरको वचन अध्ययन गर्दा र एक-अर्कालाई मायालु साथ दिंदा इनाममा आफ्नो ध्यान राख्न मदत पाउँछौं। तर कहिलेकाहीं मण्डलीका सदस्यहरूबीच मतभेद हुँदा भाइबहिनीसितको सम्बन्ध चिसिन सक्छ। बेलैमा समस्या सुल्झाएन भने एकअर्काप्रति द्वेषको भावना जाग्न धेरै समय लाग्दैन।१ पत्रुस ३:८, ९ पढ्‌नुहोस्‌।

८, ९. (क) कस्ता गुणहरूले हामीलाई इनाम पाउन मदत गर्छ? (ख) सङ्‌गी ख्रीष्टियनले हाम्रो चित्त दुखाउँदा शान्ति कायम गर्न केले मदत गर्छ?

कसैप्रति द्वेष भाव राख्दा हाम्रो इनाम गुम्ने खतरा हुन सक्छ। त्यसो हुन नदिन के गर्न सक्छौं? पावलले कलस्सीका भाइबहिनीहरूलाई यस्तो आग्रह गरे: “परमेश्‍वरका चुनिएका, पवित्र अनि प्यारा जनहरूको रूपमा कोमल करुणा, दया, विनम्रता, कोमलता र धीरज धारण गर। यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवाले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर। तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर, किनकि यो मानिसहरूलाई पूर्ण एकतामा गाँस्ने बन्धन हो।”—कल. ३:१२-१४.

प्रेम र दया धारण गऱ्‍यौं भने एकअर्कालाई क्षमा दिन सजिलो हुन्छ। उदाहरणको लागि, कुनै भाइ वा बहिनीले आफ्नो बोली वा कामद्वारा हाम्रो चित्त दुखाए भने हामी आफूले पनि कत्ति पटक अरूको चित्त दुखाएका छौं भनेर सम्झन सक्छौं। त्यतिखेर भाइबहिनीले हाम्रो गल्तीमा ध्यान नदिएकोमा के हामी उनीहरूप्रति धन्यवादी छैनौं र? (उपदेशक ७:२१, २२ पढ्‌नुहोस्‌) साथै, ख्रीष्टले दया देखाउँदै साँचो उपासकहरूलाई एकतामा बाँध्नुभएकोमा हामी अत्यन्तै कृतज्ञ छौं। (कल. ३:१५) हामी सबै जना एउटै परमेश्‍वरलाई प्रेम गर्छौं, एउटै सन्देश सुनाउँछौं र हामीले भोग्ने धेरैजसो समस्या पनि एउटै प्रकारको छ। त्यसैले दयालु भयौं र मायालु भई एकअर्कालाई क्षमा दियौं भने ख्रीष्टियन एकतामा टेवा पुऱ्‍याइहेका हुनेछौं र आफ्नो ध्यान इनाममा राख्न मदत पाउँछौं।

१०, ११. (क) ईर्ष्या गर्नु किन खतरनाक हुन सक्छ? (ख) ईर्ष्याको कारण आफ्नो इनाम गुम्न नदिन हामी के गर्न सक्छौं?

१० अरूको ईर्ष्या गर्दा इनाम गुम्न सक्छ भनेर सम्झाउने थुप्रै चेतावनीमूलक उदाहरण बाइबलमा उल्लेख गरिएका छन्‌। उदाहरणको लागि, कयिनले आफ्नै भाइ हाबिलको ईर्ष्या गरे र तिनलाई मारे। कोरह, दातान र अबिरामले मोशाको ईर्ष्या गरे र उनको विरोध गरे। राजा शाऊलले पनि दाऊदको सफलताको ईर्ष्या गरे र तिनलाई मार्न खोजे। परमेश्‍वरको वचनले भनेको यो कुरा कत्ति सत्य छ: “जहाँ ईर्ष्या अनि वैमनस्यता हुन्छ, त्यहाँ गोलमाल र हरकिसिमका खराब कुराहरू हुन्छन्‌।”—याकू. ३:१६.

११ प्रेम र दया विकास गऱ्‍यौं भने तुरुन्तै ईर्ष्यालु भइहाल्ने छैनौं। परमेश्‍वरको वचन भन्छ: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन।” (१ कोरि. १३:४) डाहलाई हाम्रो मनमा जरा गाड्‌न नदिन हामीले हर कुरामा यहोवाको जस्तै दृष्टिकोण राख्न कोसिस गर्नुपर्छ। हाम्रा भाइबहिनी एउटै शरीरका भाग हुन्‌ भनेर सम्झनु आवश्‍यक छ। यसो गर्दा भाइबहिनीप्रति डाही होइन, दयालु हुन मदत पाउँछौं। यो कुरा बाइबलको यस सल्लाहसित मेल खान्छ: “एउटा अङ्‌गले इज्जत पायो भने अरू सबै अङ्‌ग पनि सँगसँगै खुसी हुन्छन्‌।” (१ कोरि. १२:१६-१८, २६) अरूले आशिष्‌ पाउँदा उनीहरूको ईर्ष्या गर्नुको साटो हामी उनीहरूसँगै रमाउनेछौं। राजा शाऊलको छोरा जोनाथनको उदाहरण विचार गर्नुहोस्‌। दाऊद राजा नियुक्‍त हुँदा जोनाथनले तिनको डाह गरेनन्‌। बरु उनले दाऊदलाई प्रोत्साहन दिए। (१ शमू. २३:१६-१८) हामी पनि जोनाथनजस्तै दयालु र मायालु हुन सक्छौं कि?

पूरै परिवारले इनाम पाउनुहोस्‌

१२. कस्ता धर्मशास्त्रीय सल्लाह पालन गऱ्‍यौं भने पूरै परिवारले इनाम पाउन सक्छौं?

१२ बाइबल सिद्धान्तहरू लागू गर्दा यसले परिवारमा शान्ति र आनन्द ल्याउँछ अनि उनीहरूलाई इनाम पाउन मदत दिन्छ। पावलले कलस्सीका ख्रीष्टियनहरूलाई कस्ता धर्मशास्त्रीय सल्लाह दिए? तिनले परिवारका सदस्यहरूलाई यसो भने: “हे पत्नीहरू हो, आ-आफ्नो पतिको अधीनमा बस, किनकि ख्रीष्टका चेलाहरूले यसै गर्नु उचित हो। हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो अनि तिनीसित रिसले चूर नहोओ। हे छोराछोरीहरू हो, सबै कुरामा आफ्ना आमाबाबुप्रति आज्ञाकारी होओ, किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ। हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ, ताकि तिनीहरू हताश नहोऊन्‌।” (कल. ३:१८-२१) परमेश्‍वरको प्रेरणा पाएर पावलले दिएको सल्लाह लागू गर्दा अहिले पनि पति, पत्नी र छोराछोरीले लाभ उठाउन सक्छन्‌ भन्‍ने कुरामा तपाईं सहमत हुनुहुन्छ होला।

१३. बेग्लै धर्म मान्‍ने पतिलाई ख्रीष्टियन पत्नीले कसरी साँचो उपासनातर्फ आकर्षित गर्न सक्छिन्‌?

१३ तपाईं ख्रीष्टियन पत्नी हुनुहुन्छ र बेग्लै धर्म मान्‍ने पतिले तपाईंसित राम्रो व्यवहार गर्दैनन्‌ जस्तो लाग्छ भने नि? उनले गरेको व्यवहार ठिक भएन भनेर रिसाएर कराउँदैमा के अवस्था सुध्रन्छ र? उनलाई तपाईंले भनेजस्तै गराउन सफल हुनुभए तापनि के उनी यहोवाको उपासना गर्न इच्छुक होलान्‌ र? हुँदैनन्‌ होला। तर आफ्नो पतिलाई परिवारको शिरको रूपमा आदर गर्नुभयो भने तपाईंले परिवारको शान्तिमा टेवा पुऱ्‍याउनुहुनेछ, यहोवाको महिमा गरिरहनुभएको हुनेछ र सायद आफ्नो पतिलाई साँचो उपासनातर्फ आकर्षित गर्न सक्नुहुनेछ। यसो गर्दा तपाईंहरू दुवैले इनाम पाउन सक्नुहुनेछ।१ पत्रुस ३:१, २ पढ्‌नुहोस्‌।

१४. बेग्लै धर्म मान्‍ने पत्नीले आदर नगर्दा ख्रीष्टियन पतिले के गर्नुपर्छ?

१४ तपाईं ख्रीष्टियन पति हुनुहुन्छ र बेग्लै धर्म मान्‍ने पत्नीले तपाईंको आदर गर्दिनन्‌ जस्तो लाग्छ भने नि? घरको मुली मै हो भनेर देखाउन उनीसित कराउनुहुन्छ भने के तपाईंले उनीबाट आदर पाउनुहुनेछ? पक्कै पाउनुहुनेछैन! तपाईंले येशूको अनुकरण गर्दै मायालुपूर्वक शिरको भूमिका पूरा गरेको परमेश्‍वर आशा गर्नुहुन्छ। (एफि. ५:२३) येशू आफ्नो मण्डलीप्रति धीरजी भई शिरको भूमिका पूरा गर्नुहुन्छ। (लूका ९:४६-४८) पतिले येशूको उदाहरण अनुकरण गर्दा पत्नी साँचो उपासनातर्फ आकर्षित हुन सक्नेछिन्‌।

१५. ख्रीष्टियन पतिले आफ्नी पत्नीलाई प्रेम गरेको कसरी देखाउन सक्छन्‌?

१५ पतिहरूलाई यस्तो सल्लाह दिइएको छ: “आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो अनि तिनीसित रिसले चूर नहोओ।” (कल. ३:१९) मायालु पतिले आफ्नी पत्नीले दिने सुझावहरू सुनेर र उनले भनेको कुराहरूको मोल गरेको देखाएर पत्नीलाई आदर गर्छन्‌। (१ पत्रु. ३:७) हुन त पतिले सधैं पत्नीले भनेजसो गर्न सक्दैनन्‌ तर पत्नीसित सल्लाह गरेपछि पतिले अक्सर अझ व्यावहारिक निर्णय गर्न सक्छन्‌। (हितो. १५:२२) मायालु पतिले पत्नीबाट आदरको माग गर्दैनन्‌ बरु त्यस्तो आदर कमाउन कोसिस गर्छन्‌। पतिले आफ्नी पत्नी र छोराछोरीलाई प्रेम गर्दा पूरै परिवारले खुसीसित यहोवाको उपासना गर्ने र इनाम पाउने सम्भावना धेरै हुन्छ।

परिवारमा आउने समस्याहरूले हाम्रो इनाम खोस्न नदिन के गर्न सक्छौं? (अनुच्छेद १३-१५ हेर्नुहोस्‌)

किशोरकिशोरी हो—कुनै कुराले तपाईंको इनाम खोस्न नपाओस्‌!

१६, १७. आमाबुबाले सल्लाह दिंदा दिक्क नमान्‍न तपाईं के गर्न सक्नुहुन्छ?

१६ तपाईं किशोरावस्थामा हुनुहुन्छ र तपाईंको ख्रीष्टियन आमाबुबाले तपाईंको कुरा नबुझेको र तपाईंलाई रोकटोक लगाएको जस्तो लाग्छ भने नि? यसरी दिक्क महसुस गर्नुभयो भने तपाईंलाई यहोवाको सेवा गर्नु नै जीवनको सर्वोत्तम मार्ग हो भन्‍ने कुरामा समेत शङ्‌का लाग्न सक्छ। तर यसरी चित्त नबुझेर यहोवाको सेवा गर्न छोड्‌नुभयो भने के होला, विचार गर्नुहोस्‌ त! परमेश्‍वरको डर राख्ने तपाईंको आमाबुबा र तपाईंको मण्डलीले जत्तिको साँचो प्रेम र ख्याल त अरू कसैले गर्दैन भनेर छिट्टै महसुस गर्नुहुनेछ।

१७ आमाबुबाले तपाईंलाई कहिल्यै अनुशासन दिएनन्‌ भने उनीहरूले साँच्चै तपाईंको ख्याल राखेको कसरी देखिन्छ र? (हिब्रू १२:८) तर सायद तपाईंलाई आफ्नो आमाबुबाले अनुशासन दिएको तरिका चित्त नबुझेको हुन सक्छ। उनीहरूले कसरी अनुशासन दिए भन्‍ने कुरामा बढी ध्यान दिनुको सट्टा उनीहरूले किन त्यसो गरे भनेर बुझ्ने कोसिस गर्नुहोस्‌। शान्त रहनुहोस्‌ र आमाबुबाले सल्लाह दिंदा आवेगमा नआउनुहोस्‌। परमेश्‍वरको वचन भन्छ: “अनुभवीले थोरै शब्द मात्र बोल्छ, समझशक्‍ति भएकोले ठण्डा मिजास राख्छ।” (हितो. १७:२७) शान्तपूर्वक सल्लाह स्विकार्न सक्ने परिपक्व व्यक्‍ति बन्‍न कोसिस गर्नुहोस्‌ र कसरी सल्लाह दिइएको थियो भन्‍ने कुरामा अचाक्ली ध्यान दिनुको साटो त्यसबाट लाभ उठाउनुहोस्‌। (हितो. १:८) यहोवालाई साँच्चै प्रेम गर्ने ख्रीष्टियन आमाबुबा पाउनु आशिष्‌को कुरा हो। तपाईंले इनाम पाओस्‌ भनेर उनीहरू तपाईंलाई मदत गर्न चाहन्छन्‌।

१८. तपाईं किन ध्यान इनाममा दिन कटिबद्ध हुनुहुन्छ?

१८ हाम्रो इनाम स्वर्गमा अमर जीवन पाउने होस्‌ या पृथ्वीमा सधैंभरि बाँच्ने, त्यसको हामी उत्कटतासाथ प्रतीक्षा गर्छौं। हाम्रो आशा पक्कै पूरा हुनेछ किनभने सृष्टिकर्ता स्वयम्‌ले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशै. ११:९) त्यतिखेर प्रमोदवनमा बाँच्ने जति सबै जना परमेश्‍वरबाट सिकाइनेछन्‌। यो इनाम हासिल गर्न हामीले गरेको प्रयास खेर जाने छैन। त्यसैले यहोवाले के प्रतिज्ञा गर्नुभएको छ भनेर कहिल्यै नबिर्सनुहोस्‌ अनि त्यो इनामलाई कुनै कुराले खोस्न नदिनुहोस्‌!