सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको सोचाइलाई कसले प्रभाव पारिरहेको छ?

तपाईँको सोचाइलाई कसले प्रभाव पारिरहेको छ?

“तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड।”—रोमी १२:२.

गीत: ८८, ४५

१, २. (क) पत्रुसले येसुलाई आफूमाथि दया गर्नुहोस्‌ भनेर बताउँदा येसुले कस्तो जवाफ दिनुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) येसुले किन त्यस्तो जवाफ दिनुभयो?

येसुले बताउनुभएको कुरा उहाँका चेलाहरूलाई पत्याउनै गाह्रो लाग्यो। येसुले इस्राएलको राज्य पुनर्स्थापित गराउनुहुनेछ भनेर चेलाहरूले आशा गरिरहेका थिए तर उहाँले भने अब चाँडै आफूले दुःख भोग्ने अनि आफूलाई मारिने कुरा बताउनुभयो। त्यसपछि प्रेषित पत्रुसले अघि सरेर यसो भने: “प्रभु, आफूमाथि दया गर्नुहोस्‌। तपाईँलाई कुनै हालतमा यस्तो हुनेछैन।” तर तिनको खण्डन गर्दै येसुले यसो भन्‍नुभयो: “ए सैतान, यहाँबाट गइहाल! तिमी मेरो लागि ठेस लाग्ने कारण रहेछौ किनकि तिम्रो सोचाइ परमेश्‍वरको होइन तर मानिसहरूको हो।”—मत्ति १६:२१-२३, फुटनोट; प्रेषि. १:६.

येसुले परमेश्‍वरबाट आएको सोचाइ र सैतानको अधीनमा रहेको संसारबाट आएको सोचाइबीच स्पष्ट भिन्‍नता छ भनेर देखाउनुभयो। (१ युह. ५:१९) आफूलाई बढ्‌तै माया गर्ने संसारको मनोभाव पत्रुसले झल्काइरहेका थिए। तर आफ्नो बुबाको सोचाइ भने फरक छ भनेर येसुलाई थाह थियो। येसुले दुःख भोगेर मर्नुपर्ने समय नजिक आउँदै थियो। त्यसको लागि उहाँ तयार भएको परमेश्‍वर चाहनुहुन्थ्यो भनेर येसुलाई थाह थियो। पत्रुसलाई जवाफ दिँदा येसुले संसारको सोचाइलाई तिरस्कार गरेको अनि परमेश्‍वरको सोचाइलाई स्विकारेको कुरा स्पष्टसित देखाउनुभयो।

३. संसारको सोचाइलाई तिरस्कार गरेर यहोवाको जस्तो सोचाइ राख्न किन सजिलो छैन?

हामी नि? हाम्रो सोचाइ परमेश्‍वरको जस्तो छ कि यस संसारको जस्तो? हुनत हामीले आफ्नो आचरण परमेश्‍वरको स्तरअनुसार ढालेका छौँ होला। तर हाम्रो सोचाइको बारेमा के भन्‍न सक्छौँ? के हामीले आफ्नो सोचाइ र दृष्टिकोण पनि यहोवाको जस्तै बनाइरहेका छौँ? त्यसो गर्न निकै प्रयत्न गर्नुपर्ने हुन्छ। तर अर्कोतर्फ संसारको सोचाइ अपनाउन भने खासै कोसिस गर्नुपर्दैन वा भनौँ, कुनै कोसिस नै चाहिँदैन। किनकि संसारको मनोभाव जताततै फैलिएको छ। (एफि. २:२) त्यसका साथै संसारको मनोभाव अक्सर आफैलाई खुसी बनाउने कुरामा केन्द्रित हुन्छ; त्यसैले मानिसहरूलाई संसारको यस्तो सोचाइ आकर्षक लाग्न सक्छ। हो, यहोवाको जस्तो सोचाइ राख्न सजिलो छैन तर संसारको जस्तो सोचाइ राख्न एकदमै सजिलो छ।

४. (क) हामीले आफ्नो सोचाइमा संसारको प्रभाव पर्न दियौँ भने के हुन्छ? (ख) यस लेखबाट हामीले कस्तो मदत पाउनेछौँ?

तर हामीले आफ्नो सोचाइमा संसारको प्रभाव पर्न दियौँ भने हामी स्वार्थी हुन थाल्नेछौँ अनि आफ्नो लागि के सही हो र के गलत हो भनेर आफै निर्णय गर्ने झुकाव हामीमा उत्पन्‍न हुनेछ। (मर्कु. ७:२१, २२) त्यसकारण हामीले आफ्नो सोचाइलाई “मानिसहरूको” जस्तो होइन बरु “परमेश्‍वरको” जस्तो बनाउनु एकदमै महत्त्वपूर्ण छ। यस लेखले हामीलाई त्यसै गर्न मदत गर्नेछ। आफ्नो सोचाइलाई यहोवाको जस्तै बनाउँदा हामी बन्देजमा पर्दैनौँ बरु त्यसो गर्दा हाम्रै भलाइ हुन्छ भनेर बुझ्नेछौँ। अनि संसारको सोचाइको प्रभावमा नपर्न हामी के गर्न सक्छौँ भनेर पनि विचार गर्नेछौँ। यसपछिको लेखमा हामी जीवनका विभिन्‍न पक्षहरूमा यहोवाको सोचाइ कस्तो छ भनेर थाह पाउने र उहाँको सोचाइलाई आफ्नो सोचाइ बनाउने तरिकाबारे छलफल गर्नेछौँ।

यहोवाको सोचाइ हाम्रो लागि लाभदायी अनि आवश्‍यक छ

५. केही मानिसहरू किन आफ्नो सोचाइमा कसैको प्रभाव पर्न दिन चाहँदैनन्‌?

केही मानिसहरू आफ्नो सोचाइमा कसैको प्रभाव पर्न दिन चाहँदैनन्‌। तिनीहरू यसो भन्छन्‌: “म आफ्नो लागि आफै सोच्न सक्छु।” भनाइको मतलब, तिनीहरू आफ्नो हरेक निर्णय आफै गर्छन्‌ अनि त्यसो गर्नु नै उचित हो भनेर मानिलिन्छन्‌। तिनीहरू कसैको इशारामा चल्न चाहँदैनन्‌ अनि आफ्नो व्यक्‍तिगत पहिचान गुमाउन चाहँदैनन्‌। *

६. (क) यहोवाले हामीलाई कस्तो स्वतन्त्रता दिनुभएको छ? (ख) के त्यो स्वतन्त्रताको कुनै सीमा छैन?

आफ्नो सोचाइलाई यहोवाको सोचाइसित मिलाउनुको मतलब हामीले आफ्नो सोचाइ वा विचार पूर्णतया त्याग्नुपर्ने चाहिँ कदापि होइन। “जहाँ यहोवा परमेश्‍वरको पवित्र शक्‍ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ” भनी २ कोरिन्थी ३:१७ बताउँछ। हामी आफ्नो छुट्टै व्यक्‍तिगत पहिचान बनाउन स्वतन्त्र छौँ। हामी आफ्नो इच्छाअनुसारको छनौट गर्न र आफूलाई चासो लाग्ने कुरा रोज्न सक्छौँ। हुन पनि यहोवाले हामीलाई त्यस्तै तरिकाले बनाउनुभएको थियो। तर हामी आफ्नो स्वतन्त्रता बेलगाम तरिकाले चलाउन भने सक्दैनौँ। (१ पत्रुस २:१६ पढ्‌नुहोस्‌) के सही र के गलत भनेर निर्णय गर्नुपर्दा हामी यहोवाको सोचाइअनुसार चलेको उहाँ चाहनुहुन्छ, जुन सोचाइ उहाँको वचनमा व्यक्‍त गरिएको छ। के त्यसो गर्दा हामी बन्देजमा पर्छौँ? वा त्यसो गर्नु हाम्रो लागि लाभदायी छ?

७, ८. यहोवाको जस्तै सोचाइ विकास गर्दा हामी किन बन्देजमा पर्दैनौँ? उदाहरणसहित बताउनुहोस्‌।

एउटा उदाहरण विचार गरौँ। आमाबुबाहरू आफ्ना छोराछोरीलाई सही मूल्यमान्यता सिकाउन प्रयास गर्छन्‌। तिनीहरू आफ्ना छोराछोरीलाई इमानदार, मेहनती अनि अरूप्रति विचारशील हुन सिकाउँछन्‌। यसो गर्दा छोराछोरी बन्देजमा पर्दैनन्‌। बरु यसले तिनीहरूलाई हुर्किसकेपछि वयस्कको रूपमा सफल जीवन बिताउन मदत गर्छ। छोराछोरी हुर्किएर आफ्नो खुट्टामा आफै उभिने भएपछि तिनीहरू आफ्नो निर्णय आफै गर्न स्वतन्त्र हुन्छन्‌। आफ्ना आमाबुबाले सिकाएका मूल्यमान्यताअनुसार जीवन बिताउने छनौट गरे भने तिनीहरूले राम्रो निर्णय गर्ने सम्भावना धेरै हुन्छ र पछि पछुताउनु पर्नेछैन। आफ्नो गलत निर्णयले गर्दा भोग्नुपर्ने समस्या र चिन्ता-फिक्रीबाट तिनीहरू जोगिनेछन्‌।

असल आमाबुबाले जस्तै यहोवा पनि आफ्ना छोराछोरीले सबैभन्दा सन्तोषजनक जीवन बिताएको चाहनुहुन्छ। (यसै. ४८:१७, १८) त्यसकारण उहाँले नैतिक आचरण र अरूसित गर्नुपर्ने व्यवहारबारे केही आधारभूत सिद्धान्तहरू दिनुभएको छ। त्यस्ता विषयहरूमा उहाँको जस्तै सोचाइ विकास गर्न अनि उहाँको मूल्यमान्यताअनुसार चल्न उहाँ हामीलाई आग्रह गर्नुहुन्छ। यसले हामीलाई पटक्कै बन्देजमा पार्दैन बरु हाम्रो सोच्ने क्षमतालाई विकास गर्न, तिखार्दै लैजान र अझ फराकिलो बनाउन मदत गर्छ। (भज. ९२:५; हितो. २:१-५; यसै. ५५:९) यसले हामीलाई आनन्दित बनाउने निर्णयहरू गर्न मदत गर्छ र साथै हामी आफ्नो छुट्टै पहिचान पनि बनाउँदै लैजान सक्छौँ। (भज. १:२, ३) हो, आफ्नो सोचाइलाई यहोवाको जस्तै बनाउनु लाभदायी अनि आवश्‍यक छ!

यहोवाको सोचाइ उत्कृष्ट छ

९, १०. यहोवाको सोचाइ संसारको भन्दा उत्कृष्ट छ भनेर केले देखाउँछ?

यहोवाका उपासकहरूले आफ्नो सोचाइ यहोवाको जस्तै बनाउन चाहनुको अर्को कारण भनेको यहोवाको सोचाइ यस संसारको सोचाइभन्दा कता हो कता उत्कृष्ट छ। संसारले नैतिक आचरण, पारिवारिक सम्बन्ध, काममा सफलता अनि जीवनका अरू पक्षमा विभिन्‍न सल्लाह दिन्छ। तर तीमध्ये धेरैजसो सल्लाह यहोवाको सोचाइसित बाझिन्छ। उदाहरणको लागि, संसारले प्रायजसो आफ्नै इच्छा पूरा गर्नुलाई महत्त्वपूर्ण ठान्‍न सिकाउँछ अनि यौन अनैतिकतालाई बढावा दिन्छ। चाहे सानोतिनो कारणले गर्दा नै किन नहोस्‌, पति-पत्नी छुट्टिएर बस्दा वा सम्बन्धविच्छेद गर्दा अझै खुसी हुन सकिन्छ भने त्यसो गर्नुपर्छ भनेर पनि कहिलेकाहीँ सल्लाह दिइन्छ। यस्ता सल्लाहहरू धर्मशास्त्रविपरित छन्‌। तर यीमध्ये कुनै सल्लाह अहिले हाम्रो जमानाको लागि अझ व्यावहारिक पो हो कि?

१० येसुले यसो भन्‍नुभयो: “मानिसले गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।” (मत्ति ११:१९) प्रविधिको क्षेत्रमा संसारले ठूलो फड्‌को मारिसकेको छ। तैपनि मानिसको आनन्द खोस्ने युद्ध, जातीय भेदभाव र अपराधजस्ता ठूलठूला समस्याको समाधान संसारले गर्न सकेको छैन। अनि यौन अनैतिकतालाई एकदमै हल्कासित लिने मनोवृत्ति नि? समस्याको समाधान गर्नुको साटो यस्तो मनोवृत्तिले गर्दा परिवार टुक्रने, स्वास्थ्य समस्या हुने अनि अरू समस्याहरू थपिने जस्ता कुराहरू भइरहेका छन्‌ भन्‍ने कुरामा थुप्रै सहमत छन्‌। तर अर्कोतर्फ, परमेश्‍वरको जस्तै सोचाइ राख्ने उहाँका जनहरूले भने पारिवारिक सम्बन्ध अझै बलियो भएको, नैतिक रूपमा स्वच्छ रहँदा अझ स्वस्थ हुन सकेको अनि संसारभरिका सङ्‌गी उपासकहरूसित शान्तिमय सम्बन्धको आनन्द उठाउन सकेको अनुभव गरेका छन्‌। (यसै. २:४; प्रेषि. १०:३४, ३५; १ कोरि. ६:९-११) के यसले यहोवाको सोचाइ संसारको भन्दा उत्कृष्ट छ भनेर देखाउँदैन र?

११. मोसा कसको सोचाइअनुसार चले? अनि नतिजा कस्तो भयो?

११ बाइबलमा उल्लेख गरिएका साँचो उपासकहरूले परमेश्‍वरको सोचाइ कत्ति उत्कृष्ट छ भनेर बुझेका थिए। उदाहरणको लागि, “मिश्रीहरूको सारा विद्यामा मोसा निपुण” भए तापनि तिनले “बुद्धिले भरिएको हृदय” पाउन परमेश्‍वरको खोजी गरे। (प्रेषि. ७:२२; भज. ९०:१२) तिनले यहोवालाई यस्तो बिन्ती पनि गरे: “मलाई तपाईँको मार्ग देखाउनुहोस्‌।” (प्रस्थ. ३३:१३) यहोवाको सोचाइअनुसार चलेकोले गर्दा तिनले उहाँको उद्देश्‍य पूरा गर्ने काममा अर्थपूर्ण भूमिका निभाउने सुअवसर पाए अनि उत्कृष्ट विश्‍वास देखाउने मानिस भनी उल्लेख गरेर बाइबलले तिनको सम्मान गरेको छ।—हिब्रू ११:२४-२७.

१२. प्रेषित पावलले केमा आधारित भएर तर्क गरे?

१२ प्रेषित पावल तीक्ष्ण बुद्धि भएका अनि पढेलेखेका मानिस थिए र तिनलाई कम्तीमा पनि दुई वटा भाषाको ज्ञान थियो। (प्रेषि. ५:३४; २१:३७, ३९; २२:२, ३) तैपनि के सही र के गलत भनेर निर्णय गर्ने सन्दर्भमा तिनले संसारको बुद्धिलाई तिरस्कार गरे। बरु तिनले धर्मशास्त्रमा आधारित भएर मानिसहरूसित तर्क गरे। (प्रेषित १७:२; १ कोरिन्थी २:६, ७, १३ पढ्‌नुहोस्‌) फलस्वरूप तिनी सफल प्रचारक बने र अनन्त इनाम पाउने आशा राख्न सके।—२ तिमो. ४:८.

१३. आफ्नो सोचाइलाई परमेश्‍वरको जस्तै बनाउने जिम्मेवारी कसको हो?

१३ अहिलेको संसारको सोचाइभन्दा परमेश्‍वरको सोचाइ उत्कृष्ट छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। परमेश्‍वरको सोचाइअनुसार जीवन बिताउँदा हामी जति आनन्दित र सफल हुन सक्छौँ, त्यो अरू कुनै पनि कुराले दिन सक्दैन। तर यहोवा हामीलाई उहाँको सोचाइअनुसार चल्न जबरजस्ती गर्नुहुन्‍न। “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले कुनै पनि व्यक्‍तिको सोचाइमाथि नियन्त्रण जमाउँदैन अनि एल्डरहरूले पनि त्यसो गर्दैनन्‌। (मत्ति २४:४५; २ कोरि. १:२४) बरु आफ्नो सोचाइलाई परमेश्‍वरको सोचाइअनुरूप बनाउनु प्रत्येक ख्रिष्टियनको आफ्नै जिम्मेवारी हो। हामी कसरी त्यसो गर्न सक्छौँ?

यस युगको चालढालअनुसार नचल्नुहोस्‌

१४, १५. (क) यहोवाले जस्तै सोच्न हामीले कुन कुराबारे मनन गर्नुपर्छ? (ख) रोमी १२:२ अनुसार हामीले किन संसारको सोचाइ आफ्नो दिमागभित्र छिर्न दिनुहुँदैन? उदाहरण दिनुहोस्‌।

१४ रोमी १२:२ मा हामीलाई यस्तो सल्लाह दिइएको छ: “तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड बरु आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌। तब तिमीहरूले परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।” परमेश्‍वरको प्रेरणा पाएर लेखिएको यस पदले हामी आफ्नो सोचाइलाई परमेश्‍वरको जस्तै बनाउँदै लैजान सक्छौँ भनेर देखाउँछ। सत्य सिक्नुअघि हामी संसारको चालढालअनुसार चलिरहेका थियौँ होला अर्थात्‌ हाम्रो सोचाइलाई संसारले प्रभाव पारिरहेको थियो होला। हुनत हाम्रो सोचाइलाई केही हदसम्म वंशानुगत कुराहरू अनि विगतका तीता-मीठा अनुभवहरूले असर गरेको हुन्छ। तैपनि हाम्रो सोचाइ सधैँ उस्तै रहँदैन; यो परिवर्तन भइरहन्छ। आफ्नो सोचाइलाई कुन कुराले प्रभाव पार्न दिन्छौँ अथवा कुन कुरा हाम्रो मनमा खेलाइरहन्छौँ, यसले धेरै हदसम्म हाम्रो सोचाइ अनि यसमा हुने परिवर्तनलाई असर गर्छ। यहोवाको सोचाइबारे मनन गऱ्‍यौँ अनि ती कुराहरू आफ्नो मनमा खेलाइरह्‍यौँ भने उहाँको दृष्टिकोण सधैँ सही छ भन्‍ने कुरामा पक्का हुन सक्छौँ। त्यसपछि त आफ्नो सोचाइलाई यहोवाको सोचाइजस्तै बनाउन हामी स्वतः उत्प्रेरित हुनेछौँ।

१५ तर आफ्नो सोचाइलाई यहोवाको सोचाइजस्तै बनाउनको लागि हामी सर्वप्रथम ‘यस युगको चालढालअनुसार चल्न छोड्‌नुपर्छ’ भन्‍ने कुरा याद गर्नुहोस्‌। हामीले परमेश्‍वरको सोचाइविपरितका धारणा वा दृष्टिकोणहरू आफ्नो दिमागभित्र छिराउन छोड्‌नुपर्छ। हामीले चाल्नुपर्ने यो पहिलो कदम कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्न खानेकुराको उदाहरण विचार गर्नुहोस्‌। मानौँ, एक जना मानिस पोसिलो खाना खाएर आफ्नो स्वास्थ्य राम्रो बनाउन चाहन्छ। तर पोसिलो खानासँगसँगै उसले दूषित खानेकुरा पनि नियमित रूपमा खाइरहन्छ भने पोसिलो खानेकुरा खाएको कुनै अर्थ हुन्छ र? त्यसैगरि, यदि हामी एकातिर यहोवाको सोचाइ आफ्नो दिमागमा राख्दै अर्कोतिर संसारको दूषित सोचाइ पनि आफ्नो दिमागमा छिराउँछौँ भने यहोवाको सोचाइबाट हामी खासै लाभ उठाउन सक्दैनौँ।

१६. हामीले आफूलाई कुन कुरादेखि जोगाउनुपर्छ?

१६ के हामी संसारको सोचाइको छेउ नै पर्दिनँ भन्‍न सक्छौँ? त्यसो त भन्‍न सक्दैनौँ किनकि त्यसको लागि त हामी यस संसारबाट साँच्चै बाहिर निस्किएर जानुपर्ने हुन्छ। त्यसैले संसारको सोचाइदेखि पूर्णतया अलग रहनु असम्भव छ। (१ कोरि. ५:९, १०) प्रचारकार्यमा भाग लिँदासमेत हामी विभिन्‍न गलत विचारधाराबारे सुन्‍न पुग्छौँ। तर संसारको सोचाइदेखि पूर्णतया अलग रहन सम्भव छैन भन्दैमा त्यसैमा डुबिरहने वा त्यसलाई स्विकार्ने कुरा त पटक्कै आउँदैन। सैतानको उद्देश्‍य पूरा गर्ने सोचाइलाई हामीले पनि येसुले जस्तै तुरुन्तै तिरस्कार गर्नुपर्छ। त्यसका साथै अनावश्‍यक रूपमा संसारको सोचाइको नजिक पर्नदेखि हामी आफैलाई जोगाउन सक्छौँ।हितोपदेश ४:२३ पढ्‌नुहोस्‌।

१७. अनावश्‍यक रूपमा संसारको सोचाइको नजिक पर्नदेखि हामी कसरी जोगिन सक्छौँ?

१७ उदाहरणको लागि, घनिष्ठ साथी कसलाई बनाउने भनेर छनौट गर्ने सन्दर्भमा हामी होसियार हुनुपर्छ। यहोवाको उपासना नगर्ने मानिसहरूसित ज्यादै घनिष्ठ भयौँ भने तिनीहरूको सोचाइले हामीलाई पनि असर गर्न थाल्नेछ भनेर बाइबलले चेतावनी दिएको छ। (हितो. १३:२०; १ कोरि. १५:१२, ३२, ३३) साथै कस्तो मनोरञ्जन गर्ने भनेर छनौट गर्दा पनि हामी होसियार हुनुपर्छ। क्रमविकासको शिक्षा, हिंसा वा यौन अनैतिकताजस्ता कुराहरूको प्रचार-प्रसार गर्ने मनोरञ्जनलाई हामी तिरस्कार गर्छौं। त्यसो गऱ्‍यौँ भने “परमेश्‍वरको ज्ञानविरुद्ध” खडा हुने विषालु कुराहरूले हाम्रो सोचाइलाई असर गर्न पाउँदैन।—२ कोरि. १०:५.

के हामीले आफ्ना छोराछोरीलाई हानिकारक मनोरञ्जन तिरस्कार गर्न मदत गरिरहेका छौँ? (अनुच्छेद १८, १९ हेर्नुहोस्‌)

१८, १९. (क) स्पष्ट नदेखिने तरिकाले फैलाइने सांसारिक विचारधाराहरूदेखि हामी किन होसियार हुनुपर्छ? (ख) हामीले आफैलाई कस्ता प्रश्‍न सोध्नुपर्छ र किन?

१८ कहिलेकाहीँ संसारको सोचाइ भनेर स्पष्ट नदेखिने तरिकाले त्यस्तो सोचाइ प्रस्तुत गरिएको हुन सक्छ। यस्तो अवस्थामा हामीले संसारको सोचाइलाई चिनेर तिरस्कार गर्नु आवश्‍यक छ। उदाहरणको लागि, कुनै राजनैतिक विचारधारालाई नजानिँदो तरिकाले समर्थन गर्ने समाचारहरू प्रस्तुत गरिन सक्छ। मानिसहरूलाई उत्प्रेरणा दिने उद्देश्‍यले तयार पारिएको कार्यक्रमले जीवनको उद्देश्‍य वा सफलताबारे संसारको दृष्टिकोणको गुणगान गाउन सक्छ। कुनै चलचित्र अनि किताबले ‘पहिला आफ्नो बारेमा सोच्नुपर्छ’ अनि ‘आफ्नो परिवारभन्दा ठूलो अरू कुनै कुरा छैन’ भन्‍ने धारणा फैलाउँछन्‌। अनि झट्ट हेर्दा त्यो धारणा हामीलाई व्यावहारिक र आकर्षक लाग्न सक्छ वा त्यो नै सही हो जस्तो समेत लाग्न सक्छ। तर यस्तो धारणाले सबैभन्दा धेरै यहोवालाई प्रेम गऱ्‍यौँ भने मात्र हामी र हाम्रो परिवार साँच्चै खुसी हुन सक्छौँ भन्‍ने बाइबलको शिक्षालाई बेवास्ता गर्न सिकाइरहेको हुन्छ। (मत्ति २२:३६-३९) साथै केटाकेटीका लागि तयार पारिएका कुनै-कुनै कथा, कार्टुन इत्यादि हेर्दा राम्रै जस्तो देखिए पनि त्यसले अनैतिक चालचलन स्विकार्य छ भन्‍ने छाप केटाकेटीहरूमा बिस्तारै पारिदिन सक्छ।

१९ यसको मतलब स्वस्थकर मनोरञ्जन गर्नु गलत हो भन्‍ने त होइन। तैपनि हामीले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु बेस हो: ‘संसारको शिक्षा अप्रत्यक्ष रूपमा प्रस्तुत गरिँदा पनि के म त्यसलाई चिन्‍न सक्छु? के म कुनै खास किसिमका कार्यक्रमहरू वा पढ्‌ने सामग्रीबाट आफ्ना छोराछोरीलाई अनि आफूलाई पनि जोगाउँछु? आफ्ना छोराछोरीले देखेका वा सुनेका सांसारिक विचारधाराहरूको प्रभावलाई हटाउन के म यहोवाको दृष्टिकोणबारे तिनीहरूलाई बताउने गर्छु?’ परमेश्‍वरको सोचाइ र संसारको सोचाइबीचको फरक बुझ्यौँ भने हामी “यस युगको चालढालअनुसार चल्न”-देखि जोगिनेछौँ।

तपाईँको सोचाइलाई अहिले कसले प्रभाव पारिरहेको छ?

२०. हाम्रो सोचाइलाई कसले प्रभाव पारिरहेको छ भनेर हामी कसरी थाह पाउन सक्छौँ?

२० नबिर्सनुहोस्‌, हामीले जानकारी पाउने मुख्य स्रोत दुई वटा मात्रै छन्‌: एउटा यहोवा र अर्को सैतानको अधीनमा रहेको संसार। यीमध्ये कुन स्रोतले हाम्रो सोचाइलाई प्रभाव पारिरहेको छ? सिधै भन्‍नुपर्दा, जुन स्रोतबाट हामी जानकारी लिइरहेका छौँ, त्यही स्रोतले। हामीले संसारको विचारधारालाई आफ्नो दिमागभित्र छिर्न दियौँ भने हाम्रो सोचाइलाई त्यसले प्रभाव पार्नेछ र हामी शारीरिक दृष्टिकोणले सोच्ने अनि त्यसैअनुसार व्यवहार गर्ने व्यक्‍ति बन्‍नेछौँ। त्यसैले हामी कस्ता कुरा मनमा खेलाइरहन्छौँ, त्यसबारे होसियार हुनु निकै महत्त्वपूर्ण छ।

२१. अर्को लेखमा हामी कुन महत्त्वपूर्ण विषय छलफल गर्नेछौँ?

२१ यस लेखमा बताइएझैँ यहोवाको जस्तो सोचाइ राख्न हामीले आफ्नो दिमागलाई खराब प्रभावबाट जोगाएर मात्र पुग्दैन। हामीले परमेश्‍वरको सोचाइलाई आफ्नो सोचाइ बनाउने उद्देश्‍य राख्दै उहाँको सोचाइबारे मनन गरिरहनु नितान्त आवश्‍यक छ। हामी कसरी त्यसो गर्न सक्छौँ भनेर यसपछिको लेखमा छलफल गर्नेछौँ।

^ अनु. 5 वास्तविकता के हो भने, स्वतन्त्र विचारधारा राख्ने मानिसहरू पनि कसै न कसैको प्रभावमा परिरहेकै हुन्छन्‌। जीवनको सुरुवात कसरी भयो भन्‍नेजस्ता गहन विषयहरू होऊन्‌ वा कुन लुगा लगाउने भन्‍नेजस्ता सानातिना निर्णयहरू नै किन नहोऊन्‌, मानिसहरू केही हदसम्म अरूबाट प्रभावित भएकै हुन्छन्‌। तर कोबाट प्रभावित हुने भनेर चाहिँ हामी छनौट गर्न सक्छौँ।