सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवामा भरोसा राख्नुहोस्‌ र जिउनुहोस्‌!

यहोवामा भरोसा राख्नुहोस्‌ र जिउनुहोस्‌!

“आफ्नो सारा हृदयले यहोवामा भरोसा राख, आफ्नै बुद्धिमा भर नपर।”—हितो. ३:५.

गीत: ३, 

१. हामी सबैलाई किन सान्त्वना चाहिन्छ?

हामी सबैलाई सान्त्वना चाहिन्छ। सायद हाम्रो जीवन चिन्ता, निराशा अनि दुःखकष्टले भरिएको छ। ढल्कँदो उमेर, रोगबिमारले गर्दा हामी निराश भएका हुन सक्छौँ अथवा आफूले माया गरेको व्यक्‍तिको मृत्युले गर्दा हाम्रो मन छियाछिया भएको हुन सक्छ। हामीमध्ये कसै-कसैले विरोधको सामना गर्नुपरेको छ। जताततै हिंसा बढिरहेको छ। अहिले “अन्तको दिन” भएकोले हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ अनि यस्तो कठिन समयमा एक दिन बिताउनु भनेको नयाँ संसारको एक दिन नजिक पुग्नु हो भनेर हामीलाई थाह छ। (२ तिमो. ३:१) तैपनि यहोवाका प्रतिज्ञाहरू पूरा भएको हेर्न हामीले लामो समयदेखि कुरिरहेका हुन सक्छौँ अनि हाम्रो समस्या भने झन्‌झन्‌ बढ्‌दै गइरहेको हुन सक्छ। त्यसोभए हामीले कहाँ सान्त्वना पाउन सक्छौँ?

२, ३. (क) हबकुकको विषयमा हामीलाई के थाह छ? (ख) हबकुकको किताबबारे हामी किन छलफल गर्नेछौँ?

यसको जवाफ थाह पाउन हामी हबकुकको किताबलाई केलाऔँ। बाइबलमा हबकुकको जीवन अनि तिनले गरेका कामबारे खासै धेरै कुरा बताइएको छैन तैपनि तिनले लेखेको किताबबाट हामी प्रोत्साहन पाउन सक्छौँ। हबकुक नामको अर्थ “मायाले अङ्‌कमाल गर्नु” हुन सक्छ। यसले यहोवाले आफ्नो जनहरूलाई सान्त्वना दिएर अङ्‌गालो हाल्नुभएको कुरालाई वा यहोवाका उपासकहरूले उहाँलाई च्याप्प समात्ने कुरालाई सङ्‌केत गरेको हुन सक्छ। हबकुकले परमेश्‍वरलाई गहन प्रश्‍नहरू सोध्दै उहाँसित कुरा गरे। हबकुकले हाम्रो तर्फबाट यहोवालाई प्रश्‍न सोधे पनि भन्‍न सक्छौँ किनभने यहोवाले हबकुकलाई त्यो कुराकानी लेख्न उत्प्रेरित गर्नुभयो।—हब. २:२.

बाइबलमा हबकुकबारे पाइने एक मात्र विवरण भनेको यहोवा र परमेश्‍वरको यस निराश भविष्यवक्‍ताबीच भएको यही कुराकानी हो। परमेश्‍वरको वचन बाइबलमा “पहिले लेखिएका” र जोगाएर राखिएका “सबै कुरा”-मध्ये हबकुकको किताब पनि पर्छ अनि “हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा” पाउन सकौँ भनेर ती लेखिएका हुन्‌। (रोमी १५:४) हबकुकको किताबबाट हामी व्यक्‍तिगत तवरमा कसरी लाभ उठाउन सक्छौँ? यस किताबले यहोवामा भरोसा गर्नु भनेको के हो, त्यो बुझ्न मदत गर्छ। हबकुकको भविष्यवाणीले हाम्रो समस्या अनि दुःखकष्टको बाबजुद मनोशान्ति पाउन र त्यो नगुमाउन सम्भव छ भन्‍ने कुराको आश्‍वासन पनि दिन्छ। यो कुरा मनमा राख्दै आउनुहोस्‌, हबकुकको किताबलाई अझ राम्ररी केलाऔँ।

यहोवालाई पुकार्नुहोस्‌

४. हबकुक किन दुःखी थिए?

हबकुक १:२, ३ पढ्‌नुहोस्‌। हबकुक साह्रै गाह्रो र चुनौतीपूर्ण समयमा बाँचिरहेका थिए। वरिपरि दुष्ट र हिंस्रक मानिसहरू भएकोले तिनी साह्रै दुःखी थिए। ती मानिसहरूको दुष्टताको अन्त कहिले हुने थियो? यहोवाले कदम चाल्न किन यति ढिलो गर्नुभएको? जताततै आफ्ना देशवासीहरूले अन्याय गरेको अनि एकअर्कालाई दमन गरेको हबकुकले देखेका थिए। यी सबै देख्दा तिनले असहाय महसुस गरे। त्यसैले कुनै कदम चाल्नुहोस्‌ भनेर तिनले यो अन्धकारमय समयमा यहोवालाई पुकारे। यहोवालाई यस विषयमा चासो छैन भनेर पनि तिनले सोच्न थालिसकेका थिए होलान्‌। परमेश्‍वरले छिट्टै कदम चाल्नुहोला जस्तो देखिँदैन थियो। परमेश्‍वरका यी प्रिय सेवकको जस्तै भावना तपाईँको मनमा पनि कहिल्यै आएको थियो कि?

५. हबकुकको किताबबाट कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

के हबकुकले यहोवामाथिको भरोसा गुमाइसकेका थिए? परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा तिनको विश्‍वास कमजोर भएको थियो कि? अहँ थिएन! आफ्नो समस्या अनि चिन्ताको विषय कुनै मानिसलाई नभई यहोवालाई पोखाएको कुरा विचार गर्दा तिनले यहोवामा भरोसा राखेका थिए अनि हरेस खाएका थिएनन्‌ भन्‍ने कुरा थाह पाउन सक्छौँ। परमेश्‍वरले कदम चाल्नुहुने समय थाह नभएकोले अथवा परमेश्‍वरले तिनलाई यस्तो गाह्रो अवस्थामा रहन दिनुभएको कारण बुझ्न नसकेकोले तिनी चिन्तित थिए। हबकुकलाई तिनका चिन्ताहरू बाइबलमा लेख्न उत्प्रेरित गराउनुभएर यहोवाले हामी सबैलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउनुभएको छ: आफ्नो चिन्ता अनि आफूलाई शङ्‌का लागेका कुराहरू यहोवालाई भन्‍नदेखि हामी डराउनु पर्दैन। वास्तवमा उहाँ हामीलाई आफ्नो मनका कुराहरू प्रार्थनामा पोखाउन मायालु आग्रह गर्नुहुन्छ। (भज. ५०:१५; ६२:८) हितोपदेश ३:५ ले हामी सबैलाई ‘आफ्नो सारा हृदयले यहोवामा भरोसा राख्न’ र ‘आफ्नै बुद्धिमा भर नपर्न’ प्रोत्साहन दिएको छ। सायद हबकुकलाई बाइबलका यी शब्दहरू थाह थियो र तिनले यो कुरा आफ्नो मनमा राखेका थिए।

६. प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ?

हबकुक यहोवासँग नजिक हुन अग्रसर भए, जो तिनका भरोसायोग्य साथी र बुबा हुनुहुन्थ्यो। हबकुक आफ्नै अवस्थामा मात्र घोरिएर बसेनन्‌ अनि आफ्नै बुद्धिमा भर परेनन्‌। बरु तिनले आफ्ना भावना अनि चिन्ताका कुराहरू प्रार्थनामा पोखाए। यसरी तिनले हाम्रो लागि राम्रो उदाहरण बसाले। प्रार्थना सुन्‍नुहुने परमेश्‍वर यहोवाले हामीलाई आफ्नो चिन्ताको कुरा उहाँलाई बताएर उहाँमाथि भरोसा राख्न आग्रह गर्नुभएको छ। (भज. ६५:२) यसो गऱ्‍यौँ भने यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिनुभएको अनुभव गर्न सक्नेछौँ; उहाँले मायालु सल्लाह दिएर हामीलाई डोऱ्‍याउनुहुँदा उहाँको न्यानो अङ्‌गालो महसुस गर्न सक्नेछौँ। (भज. ७३:२३, २४) जस्तोसुकै कुराले हामीलाई चिन्तित बनाए पनि त्यसप्रति उहाँको सोचाइ बुझ्न उहाँले मदत गर्नुहुनेछ। हामीले मनैदेखि गरेको प्रार्थनाले उहाँमाथि पूरा भरोसा राखेका छौँ भन्‍ने कुरा देखाउँछ।

यहोवाको कुरा सुन्‍नुहोस्‌

७. हबकुकले आफ्नो चिन्ता यहोवामा बिसाउँदा उहाँले कस्तो प्रतिक्रिया देखाउनुभयो?

हबकुक १:५-७ पढ्‌नुहोस्‌। आफ्नो सबै चिन्ता अनि भावना यहोवाको हातमा छोडेपछि उहाँले कस्तो प्रतिक्रिया देखाउनुहोला भनेर सायद हबकुकले सोचे। यहोवा समानुभूति देखाउने अनि मनको कुरा राम्ररी बुझ्ने बुबा हुनुहुन्छ। त्यसैले हबकुकले गरेको जायज गुनासोको लागि उहाँले तिनलाई हप्काउनुभएन। हबकुकले असाध्यै दुःखी र विचलित महसुस गरेर पुकारेको कुरा यहोवालाई थाह थियो। यहोवाले अविश्‍वासी यहुदीहरूलाई भन्‍नुभएको कुराबाट अब छिट्टै के हुनेछ भन्‍ने कुराको जानकारी हबकुकलाई दिनुभयो। हिंसाले भरिएको त्यस युगको अन्त नजिकै छ भन्‍ने कुराको जानकारी यहोवाले सबैभन्दा पहिला हबकुकलाई नै दिनुभएको हुन सक्छ।

८. यहोवाको जवाफले हबकुकलाई किन अलमल्लमा पाऱ्‍यो?

यहोवाले आफू कदम चाल्नको लागि तयार छु भन्‍ने कुरा हबकुकलाई देखाउनुभयो। हिंसा र दुष्टताले भरिएको त्यस पुस्ताले दण्ड पाउने समय नजिकै थियो। “तिमीहरूको पालामा” भन्‍ने शब्दबाट हबकुक जीवितै छँदा वा तिनको समयका इस्राएलीहरूको पालामै यहोवाले सजाय दिनुहुने कुराको सङ्‌केत दिनुभयो। हबकुकले यहोवाबाट यस्तो जवाफ आउला भनेर पटक्कै आशा गरेका थिएनन्‌। के तिनले विचलित हुँदै गरेको प्रार्थनाको जवाफ यही थियो त? यहोवाले दिनुभएको जवाफबाट यहुदाका सबै देशवासीहरूको दुःख बढ्‌ने कुरा देखियो। कल्दियालीहरू (बेबिलोनीहरू) उग्र र क्रूर जाति थिए, तिनीहरू इस्राएलीहरूको तुलनामा झनै हिंस्रक थिए। तर इस्राएलीहरूलाई कम से कम यहोवाको स्तर थाह थियो। तैपनि यहोवाले यस क्रूर मूर्तिपूजक राष्ट्रलाई चलाएर किन आफ्ना जनलाई सजाय दिनुहुने थियो? परमेश्‍वरको यस्तो जवाफ सुनेपछि हबकुकको ठाउँमा तपाईँ हुनुभएको भए कस्तो प्रतिक्रिया देखाउनुहुने थियो?

९. हबकुकको मनमा कस्ता प्रश्‍नहरू आएका हुन सक्छन्‌?

हबकुक १:१२-१४, १७ पढ्‌नुहोस्‌। आफ्नो वरिपरि भएका दुष्ट मानिसहरूको न्याय गर्न र तिनीहरूलाई सजाय दिन यहोवाले बेबिलोनलाई प्रयोग गर्नुहुने थियो भन्‍ने कुरा हबकुकले बुझे। तैपनि तिनी अझै अलमल्ल परेका थिए। तर तिनी नम्र थिए अनि यहोवामा भरोसा देखाइरहे। त्यसैले तिनले यहोवा आफ्नो “चट्टान” हुन नछोड्‌नुभएको कुरा बताए। (व्यव. ३२:४; यसै. २६:४) यहोवा दयालु अनि प्रेमको परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा हबकुकले धीरजी भई भरोसा देखाइरहने थिए। यहोवामाथिको भरोसाले गर्दा ती भविष्यवक्‍ताले यहोवासित फेरि प्रश्‍न सोध्न सके। यहोवाले किन यहुदाको अवस्था अझै बिग्रन दिनुहुने थियो? उहाँले किन तुरुन्तै कदम चाल्नुहुने थिएन? सर्वशक्‍तिमान्‌ परमेश्‍वरले आफ्ना जनहरूलाई किन अझ धेरै दुःख भोग्न दिनुहुने थियो? जताततै दुष्टता बढ्‌दा उहाँ किन ‘चुप लागिरहनुहुने’ थियो? यहोवा “पवित्र परमेश्‍वर” हुनुहुन्छ अनि उहाँको “आँखाले दुष्ट कुरा हेर्न सक्दैनन्‌ किनकि ती अत्यन्तै पवित्र छन्‌।”

१०. हबकुकले जस्तै कहिलेकाहीँ हामी कस्तो महसुस गर्न सक्छौँ?

१० कहिलेकाहीँ हामीले पनि हबकुकले जस्तै महसुस गर्न सक्छौँ। हामी यहोवाको कुरा सुन्छौँ। पूर्ण भरोसा राख्दै उहाँको वचन पढ्‌छौँ र अध्ययन गर्छौँ अनि त्यसले हामीलाई आशा दिन्छ। उहाँको सङ्‌गठनले दिने निर्देशनबाट हामी उहाँका प्रतिज्ञाहरूबारे थाह पाउँछौँ। तर ‘हाम्रो दुःखकष्ट कहिले अन्त हुन्छ?’ भन्‍ने प्रश्‍न हाम्रो मनमा अझै पनि आइरहन सक्छ। त्यसोभए हबकुकले त्यसपछि जे गरे, त्यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

यहोवालाई पर्खनुहोस्‌

११. यहोवाको कुरा सुनेपछि हबकुकले कस्तो सङ्‌कल्प गरे?

११ हबकुक २:१ पढ्‌नुहोस्‌। यहोवासित गरेको कुराकानीबाट हबकुकले मनोशान्ति पाए। यहोवाले कदम चाल्नुहुनेछ भन्‍ने कुरामा ढुक्क भई तिनले यहोवालाई पर्खने सङ्‌कल्प गरे। यो हबकुकले केही सोचविचार नै नगरी पलभरमा देखाएको प्रतिक्रिया थिएन किनभने तिनले आफ्नो सङ्‌कल्प पछि फेरि दोहोऱ्‍याए। तिनले भने, “म विनाशको दिनलाई चुपचाप पर्खिरहन्छु।” (हब. ३:१६) यहोवाका अरू विश्‍वासी सेवकहरूले पनि धीरजी भई त्यस्तै भरोसा देखाएका छन्‌। तिनीहरूको उदाहरणबाट यहोवाले कदम चाल्नुहुने समय नआउन्जेल हरेस नखाई उहाँलाई पर्खन प्रोत्साहन पाउँछौँ।—मिका ७:७; याकु. ५:७, ८.

१२. हबकुकबाट हामीले सिक्न सक्ने केही पाठहरू के-के हुन्‌?

१२ हबकुकको सङ्‌कल्पबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? पहिलो, जस्तोसुकै परीक्षाको सामना गर्नुपरे तापनि हामीले यहोवालाई प्रार्थना गर्न कहिल्यै छोड्‌नु हुँदैन। दोस्रो, आफ्नो वचन अनि सङ्‌गठनबाट यहोवाले हामीलाई बताउनुहुने कुरा सुन्‍नुपर्छ। तेस्रो, हामीले धीरजी भई यहोवालाई पर्खनुपर्छ र उहाँले उचित समयमा हाम्रो पीडा हटाइदिनुहुनेछ भन्‍ने कुरामा पूरा भरोसा राख्नुपर्छ। हबकुकले जस्तै यहोवालाई आफ्नो मनको सबै कुरा बताउने अनि पर्खने मनोवृत्ति राख्दै उहाँको कुरा सुन्‍ने गरिरह्‍यौँ भने हामीले पनि मनोशान्ति पाउन सक्छौँ र यसले हामीलाई सहने बल दिन्छ। हाम्रो आशाले हामीलाई अझ धीरजी हुन मदत गर्छ अनि जस्तोसुकै दुःखकष्ट भोग्नुपरे तापनि हामी आनन्दित भइरहन सक्नेछौँ। यस आशाले स्वर्गमा बस्नुहुने हाम्रो बुबाले कदम चाल्नुहुनेछ भन्‍ने कुरामा हामीलाई विश्‍वस्त बनाउँछ।—रोमी १२:१२.

१३. हबकुक २:३ मा हामी कस्तो मायालु आश्‍वासन पाउन सक्छौँ?

१३ हबकुक २:३ पढ्‌नुहोस्‌। हबकुकको पर्खने निर्णय देखेर यहोवा पक्कै खुसी हुनुहुन्थ्यो। सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा हबकुकले भोग्नुपरेको अवस्था राम्ररी बुझ्नुहुन्थ्यो। हबकुकले सोझो मनले सोधेका ती प्रश्‍नहरूको जवाफ पक्कै पाउनेछन्‌ भनेर उहाँले तिनलाई मायालु आश्‍वासन दिनुभयो र यसबाट तिनले सान्त्वना पाए। तिनको चिन्ता-फिक्री चाँडै हट्‌ने थियो। वास्तवमा यहोवाले हबकुकलाई यसो भन्दै हुनुहुन्थ्यो: “धीरजी होऊ, ममाथि भरोसा गर। तिमीलाई ढिलोजस्तो लागे पनि म तिम्रो प्रार्थनाको जवाफ दिनेछु!” आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने समय तोकिसकेको कुरा यहोवाले हबकुकलाई सम्झाउनुभयो। यहोवाले आफ्ना उद्देश्‍यहरू पूरा हुने समय पर्खन हबकुकलाई सल्लाह दिनुभयो। अन्तमा ती भविष्यवक्‍ता निराश हुनुपर्ने थिएन, तिनको आशा पक्कै साकार हुनेथियो।

हामीले किन आफ्नो क्षमताले भ्याएजति यहोवाको सेवा गर्ने सङ्‌कल्प गरेका छौँ? (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. दुःखकष्ट आइपर्दा हाम्रो सङ्‌कल्प कस्तो हुनुपर्छ?

१४ धीरजी भई यहोवालाई पर्खियौँ अनि उहाँले भन्‍नुभएको कुरा ध्यान दिएर सुन्यौँ भने जस्तोसुकै दुःखकष्ट र गाह्रो परिस्थिति आइपरे पनि यहोवामा पूर्ण भरोसा राख्न सक्नेछौँ अनि मनोशान्ति पाउन सक्नेछौँ। यहोवाले अहिलेसम्म प्रकट नगर्नुभएको “समय”-मा ध्यान दिनुको सट्टा आफ्ना प्रतिज्ञाहरू सधैँ ठीक समयमा पूरा गर्नुहुने परमेश्‍वरमा पूर्ण भरोसा राख्न येसुले प्रोत्साहन दिनुभयो। (प्रेषि. १:७) त्यसैले हामी कहिल्यै पनि हरेस नखाऔँ। बरु नम्रता, विश्‍वास र धीरज देखाउँदै यहोवालाई पर्खिरहौँ अनि हामीसित भएको समयको पूर्ण सदुपयोग गर्दै हाम्रो क्षमताले भ्याएजति उहाँको सेवा गरौँ।—मर्कु. १३:३५-३७; गला. ६:९.

यहोवामा भरोसा राख्दा जीवन अनि उज्ज्वल भविष्य पाइन्छ

१५, १६. (क) हबकुकको किताबमा कस्ता आश्‍वासनदायी प्रतिज्ञाहरू पाउन सक्छौँ? (ख) यी प्रतिज्ञाहरूबाट हामी के सिक्न सक्छौँ?

१५ यहोवामा भरोसा राख्ने धर्मी मानिसहरूको लागि उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “धर्मी मानिस आफ्नो विश्‍वासद्वारा जिउनेछ” अनि “समुद्र पानीले भरिएझैँ पृथ्वी यहोवाको महिमाको ज्ञानले भरिनेछ।” (हब. २:४, १४) हो, धीरजी भई यहोवामा भरोसा राख्नेहरूलाई उहाँले जीवनको इनाम दिनुहुन्छ।

१६ सरसरती हेर्दा हबकुक २:४ मा लेखिएको प्रतिज्ञा साधारण भनाइजस्तो लाग्न सक्छ। तर यहोवाले दिनुभएको यो आश्‍वासन प्रेषित पावलको लागि यति महत्त्वपूर्ण थियो कि तिनले यो पद तीन पटक उद्धरण गरे! (रोमी १:१७; गला. ३:११; हिब्रू १०:३८) धर्मी मानिसले जस्तोसुकै गाह्रो-साह्रो अवस्था झेल्नुपऱ्‍यो भने पनि ऊ आफ्नो विश्‍वास र भरोसाले गर्दा जिउनेछ अनि परमेश्‍वरका उद्देश्‍यहरू पूरा भएको देख्नेछ। त्यसैले हामीले अहिलेको कुरामा मात्र नभई पछि हुने कुरामा पनि ध्यान दिएको यहोवा चाहनुहुन्छ।

१७. हबकुकको किताबमा हामी कस्ता आश्‍वासनहरू पाउँछौँ?

१७ अन्तको दिनमा बाँचिरहेका हामी सबैले हबकुकको किताबबाट सशक्‍त पाठ सिक्न सक्छौँ। यहोवाप्रति विश्‍वास देखाउने र उहाँमा भरोसा राख्ने सबै धर्मी मानिसलाई उहाँले जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। जस्तोसुकै दुःखकष्ट अनि चिन्ता-फिक्रीको सामना गर्नुपरे तापनि यहोवाप्रतिको विश्‍वास र भरोसा बलियो बनाउँदै जाऔँ। यहोवाले हामीलाई मदत गर्नुहुनेछ र हाम्रो उद्धार गर्नुहुनेछ भन्‍ने कुराको आश्‍वासन हबकुकद्वारा दिनुभएको छ। यहोवाले तोक्नुभएकै समयमा परमेश्‍वरको राज्यले पृथ्वीमाथि शासन गर्न थाल्नेछ र त्यतिबेला उहाँका आनन्दित र कोमल उपासकहरूले पृथ्वी भरिनेछ। त्यसैले यहोवा हामीलाई उहाँमाथि भरोसा गर्न अनि धीरजी भई उहाँले तोक्नुभएको समय पर्खन मायालु आग्रह गर्नुहुन्छ।—मत्ति ५:५; हिब्रू १०:३६-३९.

आनन्दित भई यहोवामा भरोसा राख्नुहोस्‌

१८. यहोवाले भन्‍नुभएका कुराहरूले हबकुकमा कस्तो प्रभाव पाऱ्‍यो?

१८ हबकुक ३:१६-१९ पढ्‌नुहोस्‌। यहोवाले भन्‍नुभएका कुराहरूले हबकुकमा गहिरो असर पाऱ्‍यो। यहोवाले आफ्ना जनहरूको लागि विगतमा चाल्नुभएका उदेकलाग्दा कदममा तिनले मनन गरे। यसले गर्दा तिनले यहोवामाथिको आफ्नो भरोसा अझ बढाउन सके। यहोवाले छिट्टै कदम चाल्नुहुनेछ भन्‍ने कुरा तिनलाई थाह थियो। यसले गर्दा आफूले अझ केही समय दुःखकष्ट भोग्नुपर्नेछ भनेर थाह भए तापनि तिनले सान्त्वना पाए। हबकुकको मनमा सुरुमा केही शङ्‌का भए तापनि यहोवाले बचाउनुहुनेछ भन्‍ने कुरामा पछि तिनले आनन्दित भई अटल भरोसा देखाउन सके। तिनले यहोवामाथिको आफ्नो भरोसा यति जोडदार तरिकामा व्यक्‍त गरे कि यस्तो अभिव्यक्‍ति सायद अरू कुनै पनि मानिसले व्यक्‍त गरेको छैन होला। केही शास्त्रविद्‌अनुसार पद १८ को शाब्दिक अर्थ यस्तो हुन्छ, “म प्रभुमा रमाहटले उफ्रनेछु; म परमेश्‍वरमा आनन्दित भई फनफनी घुम्नेछु।” हामी सबैको लागि कस्तो जोडदार आश्‍वासन! यहोवाले हामीलाई भविष्यको लागि सुन्दर आशा मात्र होइन बरु आफ्नो महान्‌ उद्देश्‍य पूरा गर्न उहाँ द्रुत गतिमा काम गर्दै हुनुहुन्छ भन्‍ने कुराको आश्‍वासन पनि दिनुभएको छ।

१९. हामी कसरी हबकुकले जस्तै सान्त्वना पाउन सक्छौँ?

१९ हबकुकको किताबमा पाइने मुख्य सन्देश भनेको यहोवामा भरोसा राख्नु हो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (हब. २:४) त्यस्तै भरोसा विकास गर्न र त्यसलाई कायम राख्न चाहन्छौँ भने हामीले यहोवासितको सम्बन्धलाई बलियो बनाउनुपर्छ। हामी कसरी यसो गर्न सक्छौँ? (१) प्रार्थनामा लागिरहेर, यहोवालाई आफ्नो चिन्ता-फिक्री अनि दुःखको कुरा सबै पोखेर; (२) यहोवाको वचनलाई ध्यान दिएर अनि उहाँको सङ्‌गठनबाट आउने कुनै पनि निर्देशन पालन गरेर; (३) यहोवामा विश्‍वास राख्दै र धीरजी हुँदै उहाँलाई पर्खेर। हबकुकले यस्तै गरे। तिनले दुःख व्यक्‍त गर्दै आफ्नो किताब सुरु गरे तापनि किताबको अन्तमा भने पूर्ण भरोसा र आनन्द व्यक्‍त गरे। हामी पनि हबकुकको राम्रो उदाहरणको अनुकरण गरौँ। यसो गऱ्‍यौँ भने हामीले पनि यहोवाको न्यानो अङ्‌गालो महसुस गर्न सक्नेछौँ! यस अन्धकार संसारमा योभन्दा ठूलो सान्त्वना अरू कहाँ पाइएला र?