पाठकहरूको प्रश्न
येसुले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो साँझ ‘परोपकारी’ भनेर बताउनुभएका व्यक्तिहरू को थिए र तिनीहरूलाई किन त्यो उपाधि दिइयो?
आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो साँझ येसुले आफ्ना प्रेषितहरूलाई सङ्गी विश्वासीहरूमाझ ठूलो ओहदा नखोज्नू भन्ने सल्लाह दिनुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन् र तिनीहरूमाथि अख्तियार जमाउनेहरूलाई चाहिँ परोपकारी भनिन्छ। तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन।”—लुका २२:२५, २६.
येसुले भन्नुभएका ‘परोपकारीहरू’ को थिए? विभिन्न अभिलेख, सिक्का र लेखोटहरूले देखाएअनुसार ग्रीक र रोमी समाजमा प्रतिष्ठित व्यक्ति तथा शासकहरूलाई युरिजिटिज् अर्थात् ‘परोपकारी’ भन्ने उपाधि दिएर सम्मान गर्ने चलन थियो। ती व्यक्तिहरूले समाजमा कुनै बहुमूल्य सेवा प्रदान गरेको हुँदा तिनीहरूलाई त्यस्तो सम्मान दिइन्थ्यो।
थुप्रै राजाहरूलाई ‘परोपकारी’ भन्ने उपाधि दिइएको थियो। तीमध्ये इजिप्टका शासक टोलेमी तृतीय युरिजिटिज् (करिब इ.पू. २४७-२२२) र टोलेमी आठौँ युरिजिटिज् दोस्रो (करिब इ.पू. १४७-११७) थिए। रोमी शासकहरू जुलियस सिजर (इ.पू. ४८-४४) र अगस्तस (इ.पू. ३१–इ.सं. १४) अनि यहुदियाका राजा महान् हेरोदले पनि त्यो उपाधि पाएका थिए। हेरोदको सन्दर्भमा भन्ने हो भने तिनले आफ्ना प्रजाहरू अनिकालको चपेटामा परेको बेला गहुँ निर्यात गरेकोले र खाँचोमा परेकाहरूलाई लत्ताकपडा वितरण गरेकोले त्यो उपाधि पाएका थिए।
जर्मन बाइबलविद् अडोल्फ डिस्मान्अनुसार ‘परोपकारी’ भन्ने उपाधि व्यापक तवरमा प्रयोग गरिन्थ्यो। तिनले यसो भने: “अभिलेखहरू हेर्दा केही बेरभित्रै एक सयभन्दा बढी पटक [यस उपाधि प्रयोग भएको] पत्ता लगाउन सकिन्छ।”
त्यसोभए येसुले आफ्ना चेलाहरूलाई “तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन” भन्नुको अर्थ के थियो? के येसुले तिनीहरूलाई आम जनताको हितको वास्तै गर्नु पर्दैन भन्न खोजिरहनुभएको थियो? त्यसो त पटक्कै होइन। येसुले तिनीहरूलाई उदार हुनुपछाडिको मनोवृत्ति केलाउन सल्लाह दिइरहनुभएको थियो जस्तो देखिन्छ।
येसुको समयका धनी मानिसहरू रङ्गशालामा भव्य कार्यक्रम र खेलकूद प्रायोजन गरेर, पार्क र मन्दिरहरू निर्माण गरेर अनि यस्तै अन्य गतिविधिहरूलाई समर्थन गरेर राम्रो नाम कमाउन चाहन्थे। तर तिनीहरू अरूको वाहवाही पाउन, लोकप्रिय हुन वा मानिसहरूको भोट पाउन त्यसो गर्थे। एउटा पुस्तक यसो भन्छ, “त्यस्ता दाताहरूमध्ये कोही-कोही साँच्चै उदार मनसायले त्यसो गर्थे तर अक्सर राजनैतिक स्वार्थको लागि त्यसो गर्ने चलन थियो।” यस्तो महत्त्वाकाङ्क्षा र स्वार्थ नराख्नू भनेर येसुले आफ्ना चेलाहरूलाई सल्लाह दिँदै हुनुहुन्थ्यो।
त्यसको केही वर्षपछि प्रेषित पावलले पनि सही मनसायले दिनुको महत्त्वलाई जोड दिए। तिनले कोरिन्थका सङ्गी ख्रिष्टियनहरूलाई यस्तो लेखे: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।”—२ कोरि. ९:७.