सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँले यहोवाको सोचाइलाई आफ्नो सोचाइ बनाइरहनुभएको छ?

के तपाईँले यहोवाको सोचाइलाई आफ्नो सोचाइ बनाइरहनुभएको छ?

“आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌।”—रोमी १२:२.

गीत: ५६, १२३

१, २. आध्यात्मिक रूपमा हुर्कँदै जाँदा हामी के गर्न सिक्छौँ? उदाहरण दिनुहोस्‌।

सानो बच्चाले एउटा उपहार पाउँछ। अनि आमाबुबाले उसलाई यसो भन्छन्‌: “बाबु, धन्यवाद भन!” बच्चाले त्यो कुरा मान्छ तर उसले त्यसो गर्नुपर्ने कारण खासै बुझेको हुँदैन। हुर्कँदै जाँदा उसले आफ्नो आमाबुबाको सोचाइ बुझ्न थाल्छ अनि अरूप्रति कृतज्ञ हुन पनि सिक्छ। त्यसपछि भने उसले स्वतः अनि मनैदेखि अरूलाई धन्यवाद दिन थाल्छ। किन? किनकि अरूप्रति कृतज्ञ हुनुपर्छ भन्‍ने सोचाइलाई अब उसले आफ्नै सोचाइ बनाएको छ।

त्यसैगरि हामीले सत्य सिक्न थाल्दा यहोवाले आफ्ना जनहरूको लागि तोक्नुभएका आधारभूत स्तरहरू पालन गर्नु महत्त्वपूर्ण छ भनेर सिक्यौँ। तर आध्यात्मिक रूपमा हुर्कँदै जाँदा हामी यहोवाको सोचाइ अर्थात्‌ उहाँलाई के मन पर्छ, के मन पर्दैन अनि विभिन्‍न कुराहरूप्रति उहाँ कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर अझ धेरै बुझ्न थाल्छौँ। यहोवाले जस्तै सोच्न सिकेर अनि त्यहीअनुसारको काम र व्यक्‍तिगत निर्णयहरू गरेर हामी यहोवाको सोचाइलाई आफ्नै सोचाइ बनाएको कुरा देखाउँछौँ।

३. यहोवाको सोचाइलाई आफ्नो सोचाइ बनाउनु किन सधैँ सजिलो नहुन सक्छ?

यहोवाको जस्तै सोचाइ राख्न सिक्नेबारे विचार गर्दा हामीलाई एकदमै खुसी लाग्छ तर त्यसो गर्नु सधैँ सजिलो भने नहुन सक्छ। कहिलेकाहीँ हाम्रो त्रुटिपूर्ण सोचाइले बाधा पुऱ्‍याउन सक्छ। उदाहरणको लागि, नैतिक स्वच्छता, भौतिकवाद, प्रचारकार्य, रगतको दुरुपयोग वा अन्य कुनै विषयबारे यहोवाको सोचाइ बुझ्न हामीलाई गाह्रो लाग्न सक्छ। त्यस्तो बेला हामी के गर्न सक्छौँ? परमेश्‍वरको सोचाइलाई आफ्नै सोचाइ बनाउने सन्दर्भमा हामी कसरी उन्‍नति गर्दै जान सक्छौँ? अनि हामीले अहिले र भविष्यमा चाल्ने कदमहरूलाई त्यसले कसरी असर गर्छ?

यहोवाको सोचाइलाई आफ्नै सोचाइ बनाउनुहोस्‌

४. “आफ्नो सोचाइ नयाँ बनाओ” भन्‍ने पावलको सल्लाह पालन गर्न हामीले के गर्नुपर्छ?

रोमी १२:२ पढ्‌नुहोस्‌। यहोवाले जस्तै सोच्न सिक्नुमा के समावेश छ भनेर प्रेषित पावलले यस पदमा बताएका छन्‌। ‘यस युगको चालढालअनुसार चल्न छोड्‌ने’ हो भने हामीले संसारको विचारधारा र मनोवृत्तिलाई तिरस्कार गर्नुपर्छ भनेर यसअघिको लेखबाट सिक्यौँ। तर हामीले ‘आफ्नो सोचाइ नयाँ बनाउनुपर्छ’ भनेर पनि पावलले बताए। त्यसो गर्न हामीले यहोवाको विचार बुझ्ने, त्यसमा मनन गर्ने अनि आफ्नो सोचाइलाई परमेश्‍वरको जस्तै बनाउने उद्देश्‍य राखेर उहाँको वचन अध्ययन गर्नुपर्छ।

५. सरसरती पढ्‌नु र अध्ययन गर्नुबीचको भिन्‍नता व्याख्या गर्नुहोस्‌।

अध्ययन गर्नु भनेको सरसरती पढ्‌नु मात्र होइन। अनि प्रश्‍नका जवाफहरूमा चिन्ह लगाउँदैमा अध्ययन गरेको भन्‍न मिल्दैन। कुनै पनि कुरा अध्ययन गर्नुमा त्यसले यहोवा, उहाँको तौरतरिका अनि उहाँको सोचाइबारे हामीलाई के सिकाउँछ भनेर विचार गर्नु समावेश छ। यहोवाले कुनै कुरा गर्ने आज्ञा दिनु अनि कुनै कुरा निषेध गर्नुपछाडिको कारण के हो भनेर हामी बुझ्ने कोसिस गर्छौँ। साथै आफ्नो जीवन अनि सोचाइमा कस्तो परिवर्तन ल्याउनु जरुरी छ भनेर पनि हामी विचार गर्छौँ। हुनत हरेक पटक अध्ययन गर्दा यी सबै कुरा विचार गर्ने मौका पाउँदैनौँ होला, तैपनि हुन सक्छ भने अध्ययनको आधाजति समय आफूले पढेको कुरामा मनन गर्न छुट्ट्यायौँ भने हामीले पक्कै लाभ उठाउनेछौँ।—भज. ११९:९७; १ तिमो. ४:१५.

६. यहोवाका सोचाइबारे मनन गऱ्‍यौँ भने के हुनेछ?

परमेश्‍वरको वचनमा नियमित रूपले मनन गऱ्‍यौँ भने हामीमा उल्लेखनीय परिवर्तन आउनेछ। यहोवाको सोचाइ सिद्ध छ भनेर हामीले ‘राम्ररी थाह पाउन सक्नेछौँ’; हो, हामी यस कुरामा विश्‍वस्त हुनेछौँ। हरेक कुरालाई उहाँको जस्तै दृष्टिकोणले हेर्न सिक्नेछौँ र उहाँको दृष्टिकोणसित सहमत हुनेछौँ। यसरी हाम्रो सोचाइमा ‘पूरै परिवर्तन आउनेछ’ र हामी नयाँ तरिकाले सोच्न थाल्नेछौँ। अनि हामीले बिस्तारै यहोवाको सोचाइलाई आफ्नै सोचाइ बनाउनेछौँ।

हाम्रो सोचाइले हाम्रो व्यवहारलाई प्रभाव पार्छ

७, ८. (क) भौतिक कुराप्रति यहोवाको दृष्टिकोण कस्तो छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) यहोवाको जस्तै दृष्टिकोण राख्छौँ भने हामीले सधैँ कुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नेछौँ?

हाम्रो सोचाइ भनेको हाम्रो दिमागभित्र मात्रै सीमित हुन्छ भन्‍ने निष्कर्षमा पुग्नु गलत हो। हाम्रो सोचाइ जस्तो छ, हाम्रो व्यवहार पनि त्यस्तै किसिमको हुन्छ। (मर्कु. ७:२१-२३; याकु. २:१७) यो कुरा राम्ररी बुझ्न आउनुहोस्‌, केही उदाहरण विचार गरौँ। एउटा उदाहरण येसुको जन्मसित सम्बन्धित छ। भौतिक कुराहरूप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ भन्‍ने कुराको स्पष्ट सङ्‌केत हामी सुसमाचारका पुस्तकहरूमा पाउँछौँ। आफ्नो छोरालाई हुर्काउने जिम्मेवारी कसलाई दिने भनेर यहोवा स्वयम्‌ले छनौट गर्नुभएको थियो। उहाँले कसलाई रोज्नुभयो? एउटा यस्तो जोडीलाई, जो भौतिक रूपमा सम्पन्‍न थिएनन्‌। (लेवी १२:८; लुका २:२४) येसु जन्मनुहुँदा मरियमले उहाँलाई “डुँडमा राखिन्‌ किनकि तिनीहरूले पौवामा बास पाउन सकेनन्‌।” (लुका २:७) यहोवाले चाहनुभएको भए कता हो कता राम्रो ठाउँमा आफ्नो छोरा जन्मने प्रबन्ध मिलाउन सक्नुहुन्थ्यो। तर यहोवाको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के थियो? उहाँ येसुको राम्रो लालनपालन हुने आध्यात्मिक वातावरण भएको परिवार चाहनुहुन्थ्यो।

येसुको जन्मसित सम्बन्धित यस बाइबल विवरणबाट यहोवाले भौतिक कुराप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भन्‍ने कुरा हामी बुझ्न सक्छौँ। कोही-कोही आमाबुबाहरू आफ्ना छोराछोरीहरूले सुविधासम्पन्‍न जीवन बिताउन सकून्‌ भन्‍ने चाहन्छन्‌। यसो गर्दा छोराछोरीको आध्यात्मिकतामा हानि पुग्ने भए तापनि ती आमाबुबाहरू भौतिक कुरामा नै जोड दिन्छन्‌। तर कुरा स्पष्ट छ, यहोवा आध्यात्मिक कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुहुन्छ। के तपाईँको सोचाइ पनि यहोवाको जस्तै छ? तपाईँको व्यवहारले के देखाउँछ?—हिब्रू १३:५ पढ्‌नुहोस्‌।

९, १०. अरूलाई ठेस पुऱ्‍याउने कुराप्रति हामी यहोवाको जस्तै सोचाइ राख्छौँ भनेर कसरी देखाउन सक्छौँ?

अर्को उदाहरण विचार गरौँ। यो उदाहरणले अरूलाई ठेस पुऱ्‍याउने कुराप्रति यहोवाको दृष्टिकोण बुझ्न मदत गर्छ। येसुले यसो भन्‍नुभयो: “यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई ठेस पुऱ्‍याउँछ भने त्यस्तालाई त ठूलो जाँतो घाँटीमा झुन्ड्‌याएर समुद्रमा फ्याँकिदिनु नै बेस हो।” (मर्कु. ९:४२) कस्तो कडा अभिव्यक्‍ति! येसुले यहोवाको दुरुस्त अनुकरण गर्नुहुन्थ्यो; त्यसैले यदि कसैले येसुको चेलालाई कस्तो असर पुग्ला भनेर केही वास्तै नगरी ठेस पुऱ्‍याउँछ भने यहोवा पनि त्यसलाई असाध्यै गम्भीर कुरा ठान्‍नुहुन्छ भनेर हामी पक्का हुन सक्छौँ।—युह. १४:९.

१० के हाम्रो दृष्टिकोण पनि यहोवा र येसुको जस्तै छ? के हामीले उहाँहरूको सोचाइलाई आफ्नो सोचाइ बनाएका छौँ? हाम्रो व्यवहारले के देखाउँछ? मानौँ, हामीलाई कुनै एउटा स्टाइलको लुगाफाटा वा कोरीबाटी मन पऱ्‍यो तर त्यसले मण्डलीको कसैलाई ठेस पुऱ्‍याउन सक्छ वा कसैमा अनुचित इच्छा जगाउन सक्छ। त्यस्तो बेला के हामी सङ्‌गी विश्‍वासीहरूप्रतिको मायालु चासोले उत्प्रेरित हुँदै आफ्नो व्यक्‍तिगत छनौटमा भन्दा अरूलाई ठेस नपुऱ्‍याउने कुरामा ध्यान दिन्छौँ?—१ तिमो. २:९, १०.

११, १२. खराब कुराप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्न सिक्दा अनि आत्मसंयम खेती गर्दा हामी गलत काम गर्नदेखि कसरी जोगिन्छौँ?

११ तेस्रो उदाहरण विचार गरौँ। यहोवा अन्यायलाई अर्थात्‌ खराब कुरालाई घृणा गर्नुहुन्छ। (यसै. ६१:८) हुनत हामी जन्मजात त्रुटिपूर्ण भएकोले हामीमा गलत झुकावहरू छन्‌ भनेर यहोवालाई थाह छ तर हामीले पनि उहाँले जस्तै खराब कुरालाई घृणा गरेको उहाँ चाहनुहुन्छ। (भजन ९७:१० पढ्‌नुहोस्‌) यहोवा किन खराब कुरालाई घृणा गर्नुहुन्छ भनेर मनन गऱ्‍यौँ भने हामीलाई पनि यहोवाको जस्तै सोचाइ राख्न सजिलो लाग्नेछ अनि खराब कुरालाई तिरस्कार गर्ने हाम्रो सङ्‌कल्प अझै बलियो हुनेछ।

१२ खराब कुराप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न सिक्यौँ भने उहाँको वचनमा तोकेरै उल्लेख नगरिएका गलत कुराहरू पनि हामी ठम्याउन सक्नेछौँ। उदाहरणको लागि, ल्याप डान्सिङ अहिले संसारमा झन्‌झनै प्रचलित हुँदै गएको एउटा छाडा किसिमको नाच हो। कसै-कसैले यस्तो किसिमको नाचमा भाग लिनु भनेको ‘यौनसम्बन्ध राखे बराबर हो भन्‍न कहाँ मिल्छ र’ भन्‍ने बहाना बनाउन सक्छन्‌। * तर हर किसिमको खराब कुरालाई घृणा गर्नुहुने परमेश्‍वरको सोचाइसित के यस्तो आचरण मेल खान्छ र? त्यसैले आत्मसंयम खेती गरेर अनि यहोवाले घृणा गर्नुहुने कुरालाई घृणा गर्न सिकेर गलत काम गर्नदेखि टाढै रहौँ।—रोमी १२:९.

भविष्यमा गर्ने निर्णयहरूको लागि अहिल्यै सोचविचार गर्नुहोस्‌

१३. भविष्यमा गर्ने निर्णयहरूमा यहोवाको जस्तै सोचाइ झल्काउन हामीले किन अहिल्यै सोचविचार गर्नुपर्छ?

१३ अध्ययन गर्दा भविष्यमा हामीले के-कस्ता परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ अनि त्यस्तो बेला कसरी यहोवाको जस्तै सोचाइ राख्न सक्छौँ भनेर विचार गर्नु राम्रो हो। त्यसो गरेका छौँ भने सोच्दै नसोचेको परिस्थितिमा परेर तुरुन्तै निर्णय गर्नुपर्ने अवस्था आउँदा हामी अलमल्लमा पर्नेछैनौँ। (हितो. २२:३) यस सन्दर्भमा बाइबलमा उल्लेख गरिएका केही उदाहरण विचार गरौँ।

१४. युसुफले पोतिफरकी पत्नीसित अवैध यौनसम्बन्ध राख्न इन्कार गरेको घटनाबाट हामी के सिक्न सक्छौँ?

१४ पोतिफरकी पत्नीले युसुफलाई अवैध यौनसम्बन्ध राख्ने प्रलोभनमा पार्न खोज्दा तिनले त्यसलाई तुरुन्तै तिरस्कार गरे। यसबाट के देखिन्छ भने, आफ्नो जोडीप्रति वफादार हुने सन्दर्भमा यहोवाको सोचाइ कस्तो छ भनेर युसुफले पहिल्यै विचार गरेका थिए। (उत्पत्ति ३९:८, ९ पढ्‌नुहोस्‌) तिनले पोतिफरकी पत्नीलाई यस्तो जवाफ दिए: “यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?” तिनको यस्तो जवाफबाट तिनले परमेश्‍वरको सोचाइलाई आफ्नै सोचाइ बनाएका थिए भनेर हामी थाह पाउन सक्छौँ। हाम्रो सन्दर्भमा के भन्‍न सक्छौँ? मानौँ, सँगै काम गर्ने ठाउँमा कोही तपाईँसित अनुचित तरिकाले जिस्किन थाल्यो। अथवा कसैले तपाईँको मोबाइलमा अश्‍लील किसिमको मेसेज वा अश्‍लील फोटो पठायो। * यस्ता विषयहरूमा यहोवाको सोचाइ कस्तो छ भनेर विचार गर्न अनि त्यसलाई आफ्नो सोचाइ बनाउन हामीले पहिल्यै कदम चालिसकेका छौँ भने यस्तो परिस्थिति आइपर्दा दृढ अडान लिन निकै सजिलो हुन्छ।

१५. तीन हिब्रूहरूले जस्तै हामी पनि कसरी यहोवाप्रतिको वफादारीमा सम्झौता गर्ने दबाबको प्रतिरोध गर्न सक्छौँ?

१५ अब सद्रक, मेसक र अबेद्‌नेगो नामले चिनिने तीन हिब्रूहरूबारे विचार गर्नुहोस्‌। राजा नबुकद्‌नेजरले खडा गरेको सुनको मूर्तिलाई ढोग्न तिनीहरूले दृढ भई इन्कार गरे अनि आफ्नो अडानबारे राजालाई सिधै बताए। यसबाट के देखिन्छ भने, यहोवाप्रति वफादार रहन के-के गर्नुपर्छ अनि के-के गर्नुहुँदैन भनेर तिनीहरूले पहिल्यै विचार गरेका थिए। (प्रस्थ. २०:४, ५; दानि. ३:४-६, १२, १६-१८) मानौँ, तपाईँको हाकिमले झूटो धर्मसित सम्बन्धित कुनै चाड मनाउनको लागि चन्दा दिन तपाईँलाई पनि अनुरोध गर्छन्‌। तपाईँ के गर्नुहुन्छ? त्यस्तो परिस्थिति आएपछि सोचौँला भनेर बस्नुको साटो त्यस्ता मामिलाहरूबारे यहोवाको सोचाइ कस्तो छ भनेर अहिल्यै विचार गरे कसो होला? त्यसो गर्नुभयो भने त्यस्ता परिस्थितिहरू आउँदा ती तीन हिब्रूहरूले जस्तै सही कदम चाल्न अनि सही कुरा बोल्न तपाईँलाई सजिलो हुनेछ।

के तपाईँले अनुसन्धान गर्नुभयो, स्वास्थ्यसम्बन्धी कानुनी कागजात तयार पार्नुभयो अनि आफ्नो डाक्टरसित कुरा गर्नुभयो? (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. यहोवाको सोचाइ राम्ररी बुझेका छौँ भने अचानक स्वास्थ्य समस्या आइपर्दा हामी कसरी तयार रहन सक्छौँ?

१६ यहोवाप्रति वफादार रहने विषयमा पहिल्यै विचार गरेका छौँ भने अचानक स्वास्थ्य समस्या आइपर्दा बुद्धिमानी निर्णय गर्न मदत पुग्नेछ। हुनत हामीले रगत वा रगतका चार मुख्य तत्त्वमध्ये कुनै पनि नलिने दृढ अडान लिएका छौँ। तैपनि रगत समावेश भएका उपचारविधिहरू अपनाउँदा हामीले यहोवाको सोचाइ झल्काउने बाइबल सिद्धान्तहरूलाई विचार गर्दै व्यक्‍तिगत निर्णय गर्नुपर्ने हुन्छ। (प्रेषि. १५:२८, २९) यस्ता कुराहरू विचार गर्ने सबैभन्दा उपयुक्‍त समय भनेको अस्पतालमा पुगेपछि पक्कै होइन। किनकि त्यसबेला हामीलाई निकै पीडा भइरहेको हुन सक्छ अनि तुरुन्तै निर्णय नगरी नहुने दबाब आइपर्न सक्छ। बरु त्यसबारे अनुसन्धान गर्ने, स्थायी अख्तियारनामा कार्डजस्ता स्वास्थ्यसम्बन्धी आफ्ना इच्छाहरू उल्लेख गरिएको कानुनी कागजात तयार पार्ने अनि आफ्नो डाक्टरसित कुरा गर्ने उपयुक्‍त समय अहिल्यै हो। *

१७-१९. विभिन्‍न परिस्थितिबारे यहोवाको सोचाइ कस्तो छ भनेर अहिल्यै विचार गर्नु किन महत्त्वपूर्ण छ? हामी तयार रहनुपर्ने कस्ता परिस्थितिहरू आउन सक्छन्‌, एउटा उदाहरण दिनुहोस्‌।

१७ अन्तमा, पत्रुसले “प्रभु, आफूमाथि दया गर्नुहोस्‌” भनेर येसूलाई गलत सल्लाह दिँदा येसुले तुरुन्तै प्रतिक्रिया देखाउनुभएको कुरा विचार गर्नुहोस्‌। परमेश्‍वर के चाहनुहुन्छ भन्‍ने कुरामा अनि पृथ्वीमा आफ्नो जीवन र मरणबारे धर्मशास्त्रमा लेखिएका कुराहरूमा येसुले पहिल्यै राम्ररी सोचविचार गर्नुभएको हुनुपर्छ। यस्तो ज्ञानले गर्दा परमेश्‍वरको मार्गमा नधरमराई उहाँप्रति सधैँ वफादार रहने र आत्मत्यागी जीवन बिताउने निर्णयमा उहाँ अझै अडिग रहन सक्नुभयो।मत्ति १६:२१-२३ पढ्‌नुहोस्‌।

१८ आज परमेश्‍वर आफ्ना जनहरूले उहाँसित मित्रता गाँसेको अनि उहाँले दिनुभएको काममा सकेजति भाग लिएको चाहनुहुन्छ। (मत्ति ६:३३; २८:१९, २०; याकु. ४:८) येसुलाई जस्तै असल मनसाय राख्ने व्यक्‍तिहरूले हामीलाई पनि परमेश्‍वरको इच्छा पूरा गर्नदेखि तर्काउने कुरा गर्न सक्छन्‌। उदाहरणको लागि, तपाईँको हाकिमले तपाईँको प्रमोसन गरिदिने अनि तलब पनि निकै बढाइदिने कुरा गरे तर नयाँ पद स्विकार्दा आध्यात्मिक गतिविधिमा बाधा पुग्छ भने नि? अथवा तपाईँ विद्यार्थी हुनुहुन्छ अनि तपाईँले घरदेखि टाढा बसाइँ सरेर थप शिक्षा लिने मौका पाउनुभयो भने नि? यस्तो अवस्थामा निर्णय गर्नुअघि तपाईँले प्रार्थनापूर्वक अनुसन्धान गर्नुपर्ने, परिवारसित अनि एल्डरहरूसित सल्लाह गर्नुपर्ने हुन सक्छ। यस्ता परिस्थितिहरूबारे यहोवाको सोचाइ कस्तो छ भनेर अहिल्यै सोचविचार गरेर उहाँको सोचाइलाई आफ्नै सोचाइ बनाउने प्रयास गर्नुभए कसो होला? त्यसो गर्नुभयो भने भविष्यमा त्यस्तो प्रस्ताव आइहाल्यो भने तपाईँलाई त्यो प्रलोभनजस्तो नै लाग्नेछैन। किनभने तपाईँले आफ्नो आध्यात्मिक लक्ष्य तोकिसक्नुभएको हुनेछ अनि मनमा दृढ अडान लिइसक्नुभएको हुनेछ। अनि आफूले पहिल्यै गरिसकेको निर्णयअनुसार कदम चाल्न तपाईँलाई गाह्रो लाग्नेछैन।

१९ आफूले आसै नगरेको बेलामा अचानक आइपर्न सक्ने अन्य परिस्थितिहरू पनि सायद तपाईँ कल्पना गर्न सक्नुहुन्छ। हुनत हामी सबै सम्भाव्य परिस्थितिको लागि तयार रहन सक्दैनौँ। तर व्यक्‍तिगत अध्ययन गर्दा यहोवाको सोचाइबारे मनन गऱ्‍यौँ भने कुनै खास परिस्थिति आइपर्दा आफूले अध्ययन गरेको कुरा सम्झन अनि त्यसैअनुसार कदम चाल्न हामीलाई सजिलो हुनेछ। त्यसैले हामी यो कुरा सधैँ मनमा राखौँ: विभिन्‍न परिस्थितिबारे यहोवाको सोचाइ कस्तो छ भनेर मनन गर्नु, यहोवाको सोचाइलाई आफ्नो सोचाइ बनाउनु अनि परमेश्‍वरको जस्तै सोचाइ राख्दा त्यसले अहिले र भविष्यमा हामीले चाल्ने कदमलाई कसरी असर गर्छ भनेर विचार गर्नु एकदमै महत्त्वपूर्ण छ।

यहोवाको जस्तै सोचाइ राख्दा तपाईँको भविष्य कस्तो हुनेछ?

२०, २१. (क) नयाँ संसारमा हामीले कस्तो स्वतन्त्रता पाउनेछौँ? (ख) हामी कसरी अहिले पनि केही हदसम्म त्यो आनन्द महसुस गर्न सक्छौँ?

२० हामी सबै नै नयाँ संसारको उत्कट प्रतीक्षा गरिरहेका छौँ। हामीमध्ये धेरैजसो सुन्दर बगैँचामा परिणत हुने यसै पृथ्वीमा सधैँभरि बाँच्ने आशा राख्छौँ। परमेश्‍वरको राज्यको शासनअन्तर्गत मानिसजातिले अहिलेको संसारमा भोगिरहेका दुःखकष्टबाट छुटकारा पाउनेछ। त्यसपछि पनि मानिसहरूले छनौट गर्ने स्वतन्त्रता पाइरहनेछन्‌। त्यसबेला प्रत्येक मानिसले आफ्नो रोजाइअनुसारको अनि आफ्नो चाहनाअनुसारको निर्णय गर्नेछन्‌।

२१ त्यसबेला पाइने स्वतन्त्रताको पनि पक्कै सीमा हुनेछ। के सही र के गलत भनेर निर्णय गर्ने सन्दर्भमा नम्र मानिसहरू यहोवाका नियमहरू अनि उहाँको सोचाइअनुसार चल्नेछन्‌। यसले तिनीहरूलाई आनन्द दिनेछ अनि तिनीहरू मनैदेखि खुसी हुनेछन्‌ र तिनीहरूमाझ अपार शान्ति छाउनेछ। (भज. ३७:११) तर त्यतिन्जेल यहोवाको सोचाइलाई आफ्नो सोचाइ बनाउँदा अहिले पनि केही हदसम्म हामी त्यो आनन्द महसुस गर्न सक्छौँ।

^ अनु. 12 ल्याप डान्सिङ भनेको “सामान्यतया अर्धनग्न व्यक्‍तिले ग्राहकको काखमा बसेर गरिने कामुक नृत्य” हो। ल्याप डान्सिङको बेला जे-जे भएको थियो, ती कुराहरूको आधारमा यो यौन अनैतिकतामा मुछिएको साबित हुने घटना पनि हुन सक्छ र न्यायिक कारबाही गर्नुपर्ने हुन सक्छ। यदि कुनै ख्रिष्टियनले यस्तो गतिविधिमा भाग लिएका छन्‌ भने तिनले एल्डरहरूबाट मदत लिनुपर्छ।—याकु. ५:१४, १५.

^ अनु. 14 मोबाइलमार्फत अश्‍लील मेसेज, फोटो अथवा भिडियो पठाउनुलाई सेक्सटिङ भनिन्छ। वास्तवमा के भएको थियो, त्यसको आधारमा न्यायिक कारबाही गर्नुपर्ने हुन सक्छ। कुनै-कुनै अवस्थामा त्यसरी अश्‍लील सामग्री पठाउने नाबालिगमाथि यौन अपराधीको अभियोग लगाइएको छ। थप जानकारीको लागि jw.org/ne वेबसाइटमा गएर “युवाहरू सोध्छन्‌—सेक्सटिङबारे मैले के कुरा थाह पाउनुपर्छ?” भन्‍ने अनलाइन लेख पढ्‌नुहोस्‌। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌) अथवा ब्यूँझनुहोस्‌! जनवरी २०१४ को पृष्ठ ४-५ मा भएको “अश्‍लील मेसेजबारे किशोरावस्थाका छोराछोरीसित कसरी कुरा गर्ने?” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 16 हाम्रा प्रकाशनहरूमा यस्तो अवस्थासित सम्बन्धित सिद्धान्तहरूबारे छलफल गरिएको छ। उदाहरणको लागि, “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” किताबको पृष्ठ २४६-२४९ हेर्नुहोस्‌।