सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४५

पवित्र शक्‍तिले हामीलाई कसरी मदत गर्छ?

पवित्र शक्‍तिले हामीलाई कसरी मदत गर्छ?

“किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलि. ४:१३.

गीत १०४ पवित्र शक्‍ति—परमेश्‍वरको वरदान

परिचय *

१-२. (क) कठिनाइ आइपर्दा प्रत्येक दिन काट्‌न हामीलाई केले मदत गर्छ? व्याख्या गर्नुहोस्‌। (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

“आफूले सामना गरेको परीक्षाबारे सोच्दा त्यो आफ्नै बलबर्कतले पार गर्न सक्ने थिइनँ भनेर मलाई थाह छ।” के तपाईँले पनि यस्तै कुरा कहिल्यै व्यक्‍त गर्नुभएको छ? हामीमध्ये धेरैजसोले यसो भनेका छौँ। सायद तपाईँले कुनै गम्भीर रोगको सामना गर्नुपर्दा वा आफ्नो प्रियजनको मृत्यु हुँदा यस्तो भावना व्यक्‍त गर्नुभएको थियो होला। त्यस्तो गाह्रो अवस्थालाई सम्झँदा यहोवा परमेश्‍वरले दिनुभएको पवित्र शक्‍तिले गर्दा मात्र प्रत्येक दिन काट्‌न सम्भव भएको महसुस गर्नुभयो होला किनकि त्यसले तपाईँलाई “असाधारण शक्‍ति” दिएको थियो।—२ कोरि. ४:७-९.

यस दुष्ट संसारको प्रतिरोध गर्न पनि हामी पवित्र शक्‍तिमा भर पर्छौँ। (१ युह. ५:१९) साथै हामीले “दुष्ट दूतहरूका दलहरूसित” पनि सङ्‌घर्ष गर्नुपर्छ। (एफि. ६:१२) पवित्र शक्‍तिले हामीलाई यी सबै कठिनाइहरूको सामना गर्न कसरी मदत गर्छ, दुइटा तरिका विचार गरौँ। त्यसपछि पवित्र शक्‍तिबाट पूरापूर लाभ उठाउन हामी के गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ।

पवित्र शक्‍तिले हामीलाई बल दिन्छ

३. परीक्षाहरू सहन यहोवाले हामीलाई मदत गर्नुहुने एउटा तरिका के हो?

यहोवाको पवित्र शक्‍तिले हामीलाई परीक्षाहरूको बाबजुद आफ्नो जिम्मेवारी पूरा गर्न बल अर्थात्‌ तागत दिन्छ। प्रेषित पावलले परीक्षाहरूको बाबजुद यहोवाको सेवा गरिरहन सकेको महसुस गरे किनभने तिनी “ख्रिष्टको शक्‍ति”-मा भर परे। (२ कोरि. १२:९) दोस्रो मिसनरी यात्राको दौडान पावल प्रचारकार्यमा निकै खटिए र आफ्नो खर्च बेहोर्न तिनले काम पनि गरे। तिनी कोरिन्थमा अक्विला र प्रिस्किलाको घरमा बसे। तिनीहरू पाल सिलाउने काम गर्थे। पावलले पनि पाल सिलाउने काम गर्ने भएकोले कुनै-कुनै दिन तिनीहरूसित काम गरे। (प्रेषि. १८:१-४) पवित्र शक्‍तिले तिनलाई आफ्नो खर्च बेहोर्नको लागि काम गर्न र आफ्नो सेवाको काम पूरा गर्न बल दियो।

४. दोस्रो कोरिन्थी १२:७ख-९ अनुसार पावलले कस्तो कठिन अवस्था भोग्नुपरेको थियो?

दोस्रो कोरिन्थी १२:७ख-९ पढ्‌नुहोस्‌। यी पदहरूमा पावलले आफ्नो “शरीरमा एउटा छेस्को”-ले पीडा दिएको कुरा बताउँदा के भन्‍न खोज्दै थिए? तपाईँको शरीरमा छेस्को पस्यो भने तपाईँलाई असाध्यै पीडा हुन्छ। त्यसैले पावलले आफूले भोगेको एक प्रकारको परीक्षाबारे बताउँदै थिए। तिनले त्यस परीक्षालाई आफूलाई ‘झापड हानिरहने’ (‘पिटिरहने,’ फुटनोट) “सैतानको स्वर्गदूत” भने। सैतान वा त्यसका दुष्ट स्वर्गदूतहरूले प्रत्यक्ष रूपमा पावललाई कठिन अवस्थामा पारेनन्‌ होला, जुन तिनको शरीरमा छेस्कोले घोच्नुजस्तै हुने थियो। तर ती दुष्ट दूतहरूले पावलले भोगिरहेको कठिन अवस्था देख्दा त्यसलाई अझ गाह्रो बनाइदिन चाहे होलान्‌, जुन तिनको शरीरमा भएको “छेस्को”-लाई अझै भित्र घोचिदिएसरह हुने थियो। त्यस अवस्थामा पावलले के गरे?

५. पावलले प्रार्थना गर्दा यहोवाले कस्तो जवाफ दिनुभयो?

सुरुमा, पावल त्यो “छेस्को” हटेको चाहन्थे। तिनी यसो भन्छन्‌: “यो छेस्को मबाट हटोस्‌ भनेर मैले प्रभुलाई [यहोवालाई] तीन चोटि बिन्ती गरेँ।” पावलले प्रार्थना गरे तापनि त्यो छेस्को हटेन। के यसको मतलब यहोवाले पावलका प्रार्थनाहरूको जवाफ दिनुभएन? त्यसो त पटक्कै होइन। उहाँले अवश्‍य जवाफ दिनुभयो। उहाँले पावलको त्यो समस्या हटाइदिनुभएन तर त्यसलाई सहने शक्‍तिचाहिँ दिनुभयो। यहोवाले यसो भन्‍नुभयो: “कमजोर हुँदा तिमीले मेरो पूरा शक्‍ति पाउँछौ।” (२ कोरि. १२:८, ९) परमेश्‍वरको मदत पाएकोले पावलले आफ्नो आनन्द र मनोशान्ति गुमाएनन्‌।—फिलि. ४:४-७.

६. (क) यहोवाले हाम्रा प्रार्थनाहरूको जवाफ कसरी दिन सक्नुहुन्छ? (ख) अनुच्छेदमा उल्लिखित शास्त्रपदहरूमा पाइने कस्ता आश्‍वासनले तपाईँलाई बल दिन्छ?

पावलले जस्तै के तपाईँले पनि आफूले भोगिरहेको परीक्षा हटाइदिनुहोस्‌ भनेर यहोवालाई कहिल्यै बिन्ती गर्नुभएको छ? व्यग्र बिन्ती गर्दा पनि समस्या नहट्‌दा वा झनै गाह्रो हुँदा कतै यहोवा तपाईँसित अप्रसन्‍न हुनुभयो कि भनेर चिन्ता पो गर्नुभएको थियो कि? त्यसो हो भने पावलको उदाहरण सम्झनुहोस्‌। यहोवाले पावलका प्रार्थनाहरूको जवाफ दिनुभएझैँ तपाईँका प्रार्थनाहरूको पनि अवश्‍य जवाफ दिनुहुनेछ! यहोवाले तपाईँको समस्या नहटाउनुहोला तर पवित्र शक्‍तिद्वारा उहाँले त्यो परीक्षा सहन आवश्‍यक बलचाहिँ दिनुहुनेछ। (भज. ६१:३, ४) तपाईँ ‘पछारिनुहोला’ तर यहोवाले तपाईँलाई त्याग्नुहुनेछैन।—२ कोरि. ४:८, ९; फिलि. ४:१३.

पवित्र शक्‍तिले हामीलाई अघि बढिरहन उत्प्रेरित गर्छ

७-८. (क) पवित्र शक्‍तिलाई कुन अर्थमा बताससित तुलना गर्न सकिन्छ? (ख) पवित्र शक्‍तिले काम गर्ने तरिकाबारे पत्रुसले कसरी वर्णन गरे?

पवित्र शक्‍तिले हामीलाई अर्को कुन तरिकामा मदत गर्छ? हामी पवित्र शक्‍तिलाई बताससित तुलना गर्न सक्छौँ। आँधीबेहरी चलेको समुद्रमा पनि सही दिशातिर बहिरहेको बतासले जहाजलाई सकुशल आफ्नो गन्तव्यसम्म पुग्न मदत गर्छ। त्यसरी नै पवित्र शक्‍तिले हामीलाई आँधीबेहरीरूपी परीक्षाहरू छिचोल्दै परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारतर्फ अघि बढिरहन मदत गर्छ।

जलारी भएकोले प्रेषित पत्रुसलाई समुद्री यात्राबारे धेरै कुरा थाह थियो। त्यसैले पवित्र शक्‍तिले काम गर्ने तरिकालाई बुझाउन तिनले मौलिक भाषामा समुद्री यात्रासितै सम्बन्धित अभिव्यक्‍ति प्रयोग गरेजस्तो देखिन्छ। तिनले यस्तो लेखे: “कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन तर पवित्र शक्‍तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।” यहाँ “उत्प्रेरित” भनेर अनुवाद गरिएको ग्रीक शब्दको शाब्दिक अर्थ हो, “सँगसँगै लैजानु; बहन दिनु।”—२ पत्रु. १:२१.

९. पत्रुसले “बहन दिनु” भन्‍ने अभिव्यक्‍तिको अर्थ बुझाउन कस्तो उदाहरण चलाए?

पत्रुसले “बहन दिनु” भन्‍ने अभिव्यक्‍तिको अर्थ बुझाउन कस्तो उदाहरण चलाए? प्रेषितको किताबको लेखक लुकाले पनि बतासले गर्दा ‘आफै बहने’ जहाजबारे बताउँदा यस्तै अर्थ दिने ग्रीक शब्द प्रयोग गरे। (प्रेषि. २७:१७) त्यसैले पत्रुसले बाइबल लेखकहरू “उत्प्रेरित” भए अर्थात्‌ तिनीहरूले आफूलाई “बहन दिए” भनेर लेख्दा तिनले समुद्री यात्रासित सम्बन्धित अभिव्यक्‍ति प्रयोग गरे भनेर एक बाइबलविद्‌ बताउँछन्‌। पत्रुसले वास्तवमा के भन्दै थिए भने जसरी जहाजलाई आफ्नो यात्रा पूरा गर्न बतासले बहन मदत गर्छ, त्यसरी नै बाइबलका भविष्यवक्‍ताहरू र लेखकहरूलाई आफ्नो काम पूरा गर्न पवित्र शक्‍तिले उत्प्रेरित गऱ्‍यो अर्थात्‌ बहन मदत गऱ्‍यो। माथि उल्लिखित बाइबलविद्‌ले यसो पनि भने: “मानौँ, भविष्यवक्‍ताहरूले आफ्नो पाल उठाए।” त्यसपछि यहोवाले जे गर्नु आवश्‍यक थियो, त्यो गर्नुभयो। उहाँले “बतास” चलाउनुभयो अर्थात्‌ पवित्र शक्‍ति दिनुभयो। अनि बाइबल लेखकहरूले पनि जे गर्नु आवश्‍यक थियो, त्यो गरे। तिनीहरू पवित्र शक्‍तिको डोऱ्‍याइअनुरूप चले।

पहिलो कदम: आध्यात्मिक गतिविधिहरूमा नियमित रूपमा भाग लिनुहोस्‌

दोस्रो कदम: ती आध्यात्मिक गतिविधिहरूमा आफ्नो क्षमताले भ्याएसम्म पूरापूर भाग लिनुहोस्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌) *

१०-११. पवित्र शक्‍तिद्वारा उत्प्रेरित हुन हामीले कुन दुइटा कदम चाल्नै पर्छ? उदाहरणसहित बताउनुहोस्‌।

१० हुनत अहिले यहोवाले आफ्ना जनहरूलाई बाइबलका किताबहरू लेख्न उत्प्रेरित गर्नुहुन्‍न तर तिनीहरूलाई डोऱ्‍याउन उहाँले अहिले पनि पवित्र शक्‍ति चलाइरहनुभएको छ। यहोवाले अझै पनि आफ्नो काम गरिरहनुभएको छ। हामी कसरी परमेश्‍वरको पवित्र शक्‍तिबाट लाभ उठाउन सक्छौँ? हामीले आफ्नो भूमिका पूरा गर्नै पर्छ। हामी कसरी यसो गर्न सक्छौँ?

११ यो उदाहरण विचार गर्नुहोस्‌। समुद्री बतासको फाइदा उठाउन नाविकले दुइटा काम गर्नै पर्छ। पहिलो, उसले आफ्नो जहाजलाई बतास बहने दिशामा राख्नुपर्छ। किनभने उसले आफ्नो जहाज बतास बहेको ठाउँमा नलगी बन्दरगाहमै राखिरह्‍यो भने जहाज अघि बढ्‌न सक्दैन। दोस्रो, उसले आफ्नो पाल उठाउनुपर्छ र सकेसम्म फिँजाउनुपर्छ। कुरा स्पष्ट छ, बतास चलिरहेको भए तापनि पालमा बतास लाग्यो भने मात्र उसको जहाज अघि बढ्‌नेछ। त्यसरी नै हामीले पवित्र शक्‍तिको मदत पाएका छौँ भने मात्र यहोवाको सेवामा अघि बढिरहन सक्नेछौँ। त्यस पवित्र शक्‍तिबाट लाभ उठाउन हामीले दुइटा कदम चाल्नै पर्छ। एउटा, पवित्र शक्‍तिको प्रभावमा पर्ने गतिविधिहरूमा भाग लिएर हामी पवित्र शक्‍ति बहने दिशामै रहनुपर्छ। दोस्रो, हामीले यथासक्दो “आफ्नो पाल उठाउनुपर्छ,” मतलब आफ्नो क्षमताले भ्याएसम्म ती गतिविधिहरूमा पूरापूर भाग लिनुपर्छ। (भज. ११९:३२) यी कदमहरू चाल्यौँ भने पवित्र शक्‍तिले हामीलाई विरोध र परीक्षारूपी छालहरू छिचोल्दै अघि बढ्‌न अनि परमेश्‍वरको नयाँ संसारतर्फ लैजाने बाटोमा वफादार भई लागिरहन मदत गर्नेछ।

१२. अब हामी के विचार गर्नेछौँ?

१२ यहाँसम्म हामीले पवित्र शक्‍तिले मदत गर्ने दुइटा तरिकाबारे छलफल गऱ्‍यौँ। पवित्र शक्‍तिले हामीलाई बल दिन्छ र परीक्षाहरू सामना गर्नुपर्दा वफादार रहिरहन मदत गर्छ। पवित्र शक्‍तिले हामीलाई अघि बढिरहन उत्प्रेरित गर्छ र अनन्त जीवनतर्फ लैजाने बाटोमा हिँडिरहन पनि मदत गर्छ। पवित्र शक्‍तिबाट पूरापूर लाभ उठाउन गर्नुपर्ने चार वटा कुरा अब हामी विचार गर्नेछौँ।

पवित्र शक्‍तिबाट पूरापूर लाभ उठाउन हामीले के गर्नुपर्छ?

१३. दोस्रो तिमोथि ३:१६, १७ अनुसार धर्मशास्त्रले हामीलाई के गर्न मदत गर्छ तर हामीले पनि के गर्नुपर्छ?

१३ पहिलो, हामीले परमेश्‍वरको वचन अध्ययन गर्नुपर्छ। (२ तिमोथि ३:१६, १७ पढ्‌नुहोस्‌) “परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको” भनी अनुवाद गरिएको ग्रीक शब्दको शाब्दिक अर्थ “परमेश्‍वरले सास हालिदिनुभएको” भन्‍ने हुन्छ। परमेश्‍वरले पवित्र शक्‍ति चलाएर बाइबल लेखकहरूको दिमागमा आफ्नो सोचाइ “हालिदिनुभयो।” बाइबल पढ्‌दा र पढेको कुरामा मनन गर्दा परमेश्‍वरका निर्देशनहरू हाम्रो दिमाग र हृदयमा पस्छ। परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका ती सोचाइहरूले हामीलाई आफ्नो जीवन उहाँको इच्छाअनुरूप ढाल्न उत्प्रेरित गर्छ। (हिब्रू ४:१२) तर पवित्र शक्‍तिबाट पूरापूर लाभ उठाउन हामीले नियमित रूपमा बाइबल अध्ययन गर्न र पढेको कुराबारे गहिरो चिन्तन गर्न समय छुट्ट्याउनुपर्छ। तब मात्र हामीले भन्‍ने र गर्ने सबै कुरामा परमेश्‍वरको वचनले प्रभाव पार्नेछ।

१४. (क) हाम्रा सभाहरूलाई किन “बतास बहिरहेको” ठाउँसित तुलना गर्न सकिन्छ? (ख) हामी कसरी “फिँजिएको पालसहित” सभामा उपस्थित हुन सक्छौँ?

१४ दोस्रो, एकसाथ परमेश्‍वरको उपासना गर्नुहोस्‌। (भज. २२:२२) एक अर्थमा हाम्रा ख्रिष्टियन सभाहरूलाई “बतास बहिरहेको” ठाउँसित तुलना गर्न सकिन्छ। सभाहरूमा यहोवाको पवित्र शक्‍ति हुन्छ। (प्रका. २:२९) हामी किन यसो भन्‍न सक्छौँ? किनभने हामी सङ्‌गी ख्रिष्टियनहरूसित उपासना गर्न भेला हुँदा पवित्र शक्‍तिको लागि प्रार्थना गर्छौँ, परमेश्‍वरको वचनमा आधारित राज्य गीतहरू गाउँछौँ अनि पवित्र शक्‍तिद्वारा नियुक्‍त भाइहरूले प्रस्तुत गर्ने बाइबलआधारित निर्देशनहरू सुन्छौँ। अनि त्यही पवित्र शक्‍तिले बहिनीहरूलाई आफ्नो भाग तयार गर्न र प्रस्तुत गर्न मदत गर्छ। तर हामी सभाहरूमा भाग लिनको लागि तयारीसाथ आयौँ भने मात्र पवित्र शक्‍तिबाट पूरापूर लाभ उठाउन सक्नेछौँ। त्यसो गऱ्‍यौँ भने हामी “फिँजिएको पालसहित” सभामा उपस्थित भइरहेका हुनेछौँ।

१५. प्रचारकार्यमा पवित्र शक्‍तिले हामीलाई कसरी मदत गर्छ?

१५ तेस्रो, प्रचारकार्यमा भाग लिनुहोस्‌। प्रचार गर्ने र सिकाउने काममा बाइबल प्रयोग गर्दा हामीले प्रचारकार्यमा पवित्र शक्‍तिलाई काम गर्न दिइरहेका हुन्छौँ। (रोमी १५:१८, १९) तर परमेश्‍वरको पवित्र शक्‍तिबाट पूरापूर लाभ उठाउन तपाईँले प्रचारकार्यमा नियमित रूपमा भाग लिनुपर्छ र सम्भव भएमा बाइबल प्रयोग गर्नुपर्छ। तपाईँले आफ्नो सेवाको काम अझ अर्थपूर्ण बनाउने एउटा तरिका जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-मा दिइएका नमुना कुराकानीहरू प्रयोग गरेर हो।

१६. पवित्र शक्‍ति प्राप्त गर्ने सबैभन्दा सीधा तरिका के हो?

१६ चौथो, यहोवालाई प्रार्थना गर्नुहोस्‌। (मत्ति ७:७-११; लुका ११:१३) पवित्र शक्‍ति प्राप्त गर्ने सबैभन्दा सीधा तरिका प्रार्थना गरेर यहोवासित माग्नु हो। हाम्रा प्रार्थनाहरू यहोवासम्म पुग्न वा उहाँको पवित्र शक्‍तिको असल वरदान हामीकहाँ पुग्नदेखि कुनै पनि कुराले रोक्न सक्दैन, न झ्यालखानाले न त सैतानले। (याकु. १:१७) पवित्र शक्‍तिबाट पूरापूर लाभ उठाउन हामीले कसरी प्रार्थना गर्नुपर्छ? यसको जवाफको लागि लुकाले लेखेको सुसमाचारको किताबमा पाइने एउटा उदाहरण केलाउँदै प्रार्थनाबारे अझ विस्तृत तवरमा बुझौँ। *

खुरन्धार प्रार्थना गरिरहनुहोस्‌

१७. लुका ११:५-९, १३ मा येसुले बताउनुभएको उदाहरणबाट हामी प्रार्थनाबारे कस्तो पाठ सिक्न सक्छौँ?

१७ लुका ११:५-९, १३ पढ्‌नुहोस्‌। येसुले बताउनुभएको उदाहरणले पवित्र शक्‍ति पाउनको लागि हामीले कसरी प्रार्थना गर्नुपर्छ भनेर देखाउँछ। त्यस उदाहरणमा बताइएको व्यक्‍तिले आफूलाई चाहिएको कुरा पायो किनभने उसले ‘खुरन्धार बिन्ती गरिरह्‍यो।’ रात धेरै छिप्पिसकेको भए तापनि ऊ आफ्नो साथीसित मदत माग्न हिचकिचाएन। * येसुले यो उदाहरण प्रार्थनाको सन्दर्भमा कसरी लागू गर्नुभयो? उहाँले यसो भन्‍नुभयो: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।” यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? पवित्र शक्‍ति प्राप्त गर्न हामीले त्यसको लागि खुरन्धार प्रार्थना गरिरहनुपर्छ।

१८. येसुले दिनुभएको उदाहरणबाट यहोवाले हामीलाई पवित्र शक्‍ति दिनुहुनेछ भनेर किन ढुक्क हुन सक्छौँ?

१८ येसुले दिनुभएको उदाहरणले यहोवाले हामीलाई किन पवित्र शक्‍ति दिनुहुनेछ भनेर बुझ्न पनि मदत गर्छ। त्यस उदाहरणमा बताइएको व्यक्‍ति आफ्नो पाहुनाको राम्रो सत्कार गर्न चाहन्थ्यो। त्यसैले मध्यरातमा आएको पाहुनालाई खानेकुरा दिन उसले बाध्य महसुस गऱ्‍यो तर ऊसित केही पनि थिएन। त्यस व्यक्‍तिले रोटीको लागि खुरन्धार बिन्ती गरेकोले उसको साथीले रोटी दियो भनेर येसुले बताउनुभयो। यसबाट उहाँले के सिकाउन खोज्दै हुनुहुन्थ्यो? त्रुटिपूर्ण मानिस त खुरन्धार बिन्ती गर्ने साथीलाई मदत गर्न इच्छुक हुन्छ भने स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा उहाँसित खुरन्धार बिन्ती गर्नेलाई पवित्र शक्‍ति दिन झन्‌ कत्ति धेरै इच्छुक हुनुहुन्छ! त्यसैले पवित्र शक्‍तिको लागि व्यग्र बिन्ती गर्दा यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ भनेर ढुक्क हुन सक्छौँ।—भज. १०:१७; ६६:१९.

१९. हामी विजयी हुनेछौँ भनेर किन ढुक्क हुन सक्छौँ?

१९ सैतानले हामीलाई परास्त गर्न जति प्रयास गरे तापनि हामी विजयी हुनेछौँ भनेर ढुक्क हुन सक्छौँ। किन? किनभने पवित्र शक्‍तिले हामीलाई दुइटा तरिकामा मदत गर्छ। पहिलो, यसले हामीलाई परीक्षाहरू सहन चाहिने बल दिन्छ। दोस्रो, यही शक्‍तिले “हाम्रा पालहरूमा बतास लगाउँछ,” जसले गर्दा हामी यहोवाको नयाँ संसारतर्फ ध्यान केन्द्रित गर्दै उहाँको सेवामा अघि बढिरहन सक्छौँ। त्यसैले पवित्र शक्‍तिबाट पूरापूर लाभ उठाउन दृढ सङ्‌कल्प गरौँ!

गीत ४१ मेरो बिन्ती सुनिदिनुहोस्‌

^ अनु. 5 पवित्र शक्‍तिले हामीलाई समस्याको सामना गर्न कसरी मदत गर्न सक्छ भनेर यस लेखमा छलफल गरिएको छ। पवित्र शक्‍तिबाट पूरापूर लाभ उठाउन हामीले के गर्नुपर्छ, यसबारे पनि विचार गर्नेछौँ।

^ अनु. 16 येसुको जीवनमा प्रार्थनाले प्रमुख भूमिका खेलेको थियो भनेर सुसमाचारका अरू लेखकहरूले भन्दा लुकाले धेरै जोड दिएका छन्‌।—लुका ३:२१; ५:१६; ६:१२; ९:१८, २८, २९; १८:१; २२:४१, ४४.

^ अनु. 17 जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री, जुलाई २०१८, पृष्ठ ४ मा “खुरन्धार बिन्ती गरिरहेकोले” विषयको अध्ययन नोट हेर्नुहोस्‌।

^ अनु. 60 चित्रको व्याख्या: पहिलो कदम: एक जना भाइ र बहिनी राज्यभवन आउँछन्‌। सङ्‌गी उपासकहरूसित एकसाथ भेला भएर तिनीहरू यहोवाको पवित्र शक्‍ति बहिरहने गतिविधिमा भाग लिन्छन्‌। दोस्रो कदम: तिनीहरू सभामा भाग लिन तयारीसाथ आएका छन्‌। यस लेखमा छलफल गरिएका दुइटा कदम अन्य गतिविधिमा भाग लिँदा पनि लागू हुन्छ: परमेश्‍वरको वचन अध्ययन गर्दा, प्रचारकार्यमा भाग लिँदा अनि यहोवालाई प्रार्थना गर्दा।