सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४६

के तपाईँले आफ्नो “विश्‍वासको ठूलो ढाल” ठीक अवस्थामा राखिरहनुभएको छ?

के तपाईँले आफ्नो “विश्‍वासको ठूलो ढाल” ठीक अवस्थामा राखिरहनुभएको छ?

“विश्‍वासको ठूलो ढाल उठाओ।”—एफि. ६:१६.

गीत ११९ साँचो विश्‍वास हुनै पर्छ

परिचय *

१-२. (क) एफिसी ६:१६ अनुसार हामीलाई “विश्‍वासको ठूलो ढाल” किन चाहिन्छ? (ख) हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

के तपाईँसित “विश्‍वासको ठूलो ढाल” छ? (एफिसी ६:१६ पढ्‌नुहोस्‌) अवश्‍य छ। ठूलो ढालले शरीरको अधिकांश भागलाई जोगाएझैँ तपाईँको विश्‍वासले तपाईँलाई यस भ्रष्ट संसारको अनैतिकता, हिंसा र भक्‍तिहीन कुराहरूको कुप्रभावबाट जोगाउँछ।

हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ र हाम्रो विश्‍वासको जाँच भइरहनेछ। (२ तिमो. ३:१) तपाईँको विश्‍वासको ढाल बलियो छ कि छैन भनेर कसरी जाँच्न सक्नुहुन्छ? तपाईँ कसरी आफ्नो विश्‍वासको ढाल बलियोगरि पक्रिराख्न सक्नुहुन्छ? आउनुहोस्‌, यी प्रश्‍नहरूबारे छलफल गरौँ।

आफ्नो ढाल राम्ररी जाँच्नुहोस्‌

युद्धपछि सैनिकहरू आफ्नो ढाल मर्मत गरेर ठीक अवस्थामा राख्थे (अनुच्छेद ३ हेर्नुहोस्‌)

३. सैनिकहरूले आफ्नो ढाललाई कसरी ठीक अवस्थामा राख्थे? किन?

बाइबलकालीन समयका सैनिकहरूको ढाल अक्सर छालाले ढाकिएको हुन्थ्यो। तिनीहरूले छालालाई जोगाउन र धातुले बनिएको भागमा खिया लाग्न नदिन ढालमा तेल दल्थे। यदि सैनिकले आफ्नो ढाल बिग्रेको देख्यो भने उसले त्यो मर्मत गरिहाल्थ्यो, जसले गर्दा ऊ अर्को युद्धको लागि सधैँ तयार अवस्थामा रहन सक्थ्यो। यो उदाहरण तपाईँको विश्‍वासको सन्दर्भमा कसरी लागू हुन्छ?

४. तपाईँले किन आफ्नो विश्‍वासको ढाल जाँच्नुपर्छ? त्यसको लागि के गर्नुपर्छ?

प्राचीन समयका सैनिकहरूले जस्तै तपाईँले पनि आफ्नो विश्‍वासको ढाल नियमित रूपमा जाँच्नुपर्छ र ठीक अवस्थामा राख्नुपर्छ। यसो गर्नुभयो भने तपाईँ सधैँ युद्धको लागि तयार अवस्थामा रहन सक्नुहुन्छ। हामी ख्रिष्टियनहरू आध्यात्मिक युद्ध लडिरहेका छौँ र हाम्रा शत्रुहरूमा स्वर्गका दुष्ट दूतहरू पनि पर्छन्‌। (एफि. ६:१०-१२) तपाईँको विश्‍वासको ढाल तपाईँ आफैले ठीक अवस्थामा राख्नुपर्छ, अरू कसैले राखिदिन सक्दैन। विश्‍वासको जाँच हुँदा स्थिर रहन तपाईँले के गर्नुपर्छ? पहिला, तपाईँले प्रार्थना गरेर परमेश्‍वरसित मदत माग्नुपर्छ। त्यसपछि आफ्नो विश्‍वास परमेश्‍वरको इच्छाअनुरूप छ कि छैन भनेर जाँच्न उहाँको वचन प्रयोग गर्नुपर्छ। (हिब्रू ४:१२) बाइबल भन्छ: “आफ्नो सारा हृदयले यहोवामा भरोसा राख, आफ्नै बुद्धिमा भर नपर।” (हितो. ३:५, ६) यो कुरा मनमा राख्दै तपाईँले हालसालै गर्नुभएका केही निर्णयहरू केलाउनुभए कसो होला? उदाहरणको लागि, के तपाईँले चरम आर्थिक सङ्‌कटको सामना गर्नुपरेको थियो? त्यतिबेला हिब्रू १३:५ मा यहोवाले गर्नुभएको यो प्रतिज्ञा सम्झनुभएको थियो कि: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ”? यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ भनेर के यस प्रतिज्ञाले तपाईँलाई विश्‍वस्त बनाएको थियो? यस्तो महसुस गर्नुभएको थियो भने तपाईँले आफ्नो विश्‍वासको ढाल ठीक अवस्थामा राखिरहनुभएको छ भन्‍ने देखिन्छ।

५. तपाईँले आफ्नो विश्‍वास जाँच्नुहुँदा के पत्ता लाग्न सक्छ?

आफ्नो विश्‍वास कस्तो छ भनेर राम्ररी जाँच्नुभयो भने त्यसबाट पत्ता लागेको कुराले तपाईँलाई छक्कै पार्ला। तपाईँले खासै याद नगर्नुभएको कमीकमजोरी पत्ता लाग्न सक्छ। उदाहरणको लागि, अचाक्ली चिन्ता, झूट र निरुत्साहले तपाईँको विश्‍वासलाई हानि पुऱ्‍याइरहेको हुन सक्छ। यदि यस्तो अवस्थाको सामना गर्दै हुनुहुन्छ भने तपाईँको विश्‍वासलाई अझै हानि पुग्नदेखि कसरी जोगाउन सक्नुहुन्छ?

अचाक्ली चिन्ता, झूट र निरुत्साहदेखि आफूलाई जोगाउनुहोस्‌

६. कस्ता विषयहरूमा चिन्ता गर्नु उचित हो?

कुनै-कुनै विषयमा चिन्ता गर्नु राम्रो हो। उदाहरणको लागि, यहोवा र येसुलाई कसरी खुसी पार्ने भनेर चिन्ता गर्नु उचित हो। (१ कोरि. ७:३२) गम्भीर पाप गर्दा परमेश्‍वरसितको मित्रतालाई फेरि कसरी सुमधुर बनाउने भनेर हामी चिन्ता गर्छौँ। (भज. ३८:१८) हामी आफ्नो जीवनसाथीलाई खुसी बनाउने अनि परिवारका सदस्य र सङ्‌गी ख्रिष्टियनहरूको भलो हुने काम गर्ने विषयमा पनि चिन्ता गर्छौँ।—१ कोरि. ७:३३; २ कोरि. ११:२८.

७. हितोपदेश २९:२५ अनुसार हामी किन मानिसहरूदेखि डराउनुपर्दैन?

अर्कोतर्फ, अचाक्ली चिन्ताले हाम्रो विश्‍वासलाई हानि पुऱ्‍याउन सक्छ। उदाहरणको लागि, आफूसित प्रशस्त खानेकुरा र लुगाफाटा होस्‌ भनेर हामी सधैँ चिन्ता गरिरहेका हुन सक्छौँ। (मत्ति ६:३१, ३२) त्यसैले हामी भौतिक कुराहरू हासिल गर्नमै मन लगाउँछौँ होला। त्यति मात्र होइन, पैसाप्रति प्रेमसमेत विकास हुन सक्छ। त्यसो हुन दियौँ भने यहोवामाथिको हाम्रो विश्‍वास कमजोर हुनेछ अनि हामीले आध्यात्मिक रूपमा ठूलो हानि बेहोर्नुपर्ने हुन्छ। (मर्कु. ४:१९; १ तिमो. ६:१०) अथवा हामी अर्कै किसिमको चिन्ता गर्ने पासोमा पर्न सक्छौँ। त्यो हो, अरूले हामीबारे के सोच्छन्‌ भनेर अचाक्ली चिन्ता गर्नु। त्यसपछि यहोवालाई दुःखी पार्ने हो कि भनेर चिन्ता लाग्नुको साटो मानिसहरूबाट अपमान वा खेदो भोग्नुपर्ला भनेर डर लाग्न सक्छ। यस्तो डरको पासोमा नपर्न हामीले यहोवासित विश्‍वास र साहस माग्नुपर्छ, जसले गर्दा यस्तो अवस्थाको सामना गर्न सक्नेछौँ।हितोपदेश २९:२५ पढ्‌नुहोस्‌; लुका १७:५.

(अनुच्छेद ८ हेर्नुहोस्‌) *

८. झूटो कुरा सुन्दा हामीले के गर्नुपर्छ?

“झूटको बुबा” सैतानले आफ्नो नियन्त्रणमा भएकाहरूलाई चलाएर यहोवा र हाम्रा दाजुभाइ दिदीबहिनीबारे झूट फैलाउँछ। (युह. ८:४४) उदाहरणको लागि, धर्मत्यागीहरूले वेबसाइट, टेलिभिजन र अन्य माध्यमद्वारा यहोवाको सङ्‌गठनबारे झूट फैलाउँछन्‌ अनि सङ्‌गठनको सही जानकारीलाई बङ्‌ग्याउँछन्‌। ती झूटहरू पनि सैतानको “अग्निबाण” हुन्‌। (एफि. ६:१६) यदि कसैले हामीलाई त्यस्ता झूटा कुराहरू सुनाउँछन्‌ भने हामीले के गर्नुपर्छ? हामीले तिनीहरूको कुरा सुन्‍न इन्कार गर्नुपर्छ। किन? किनभने हामी यहोवामा विश्‍वास गर्छौँ अनि हाम्रा दाजुभाइ दिदीबहिनीलाई भरोसा गर्छौँ। वास्तवमा हामी धर्मत्यागीहरूसित कुनै किसिमको सम्पर्क राख्दैनौँ। हामी तिनीहरूसित कुनै पनि विषयमा अथवा कुनै कारणले तर्कवितर्क गर्दैनौँ; तिनीहरू के भन्दा रहेछन्‌ भनेर जान्‍न चाहेकोले मात्र भए पनि त्यसो गर्दैनौँ।

९. निरुत्साहले हामीमा कस्तो असर पार्न सक्छ?

निरुत्साहले हाम्रो विश्‍वास कमजोर बनाइदिन सक्छ। हामीले आफ्ना समस्याहरूलाई बेवास्ता गर्न सक्दैनौँ। वास्तवमा त्यसो गऱ्‍यौँ भने हामी गैरजिम्मेवार भइरहेका हुन्छौँ। कहिलेकाहीँ हामी निरुत्साहित हुन सक्छौँ। तर हरसमय आफ्ना समस्याहरूबारे मात्र सोचिरहनु हुँदैन। यसो गऱ्‍यौँ भने यहोवाले हामीलाई दिनुभएको अद्‌भुत आशामा ध्यान केन्द्रित गर्नबाट चुक्न सक्छौँ। (प्रका. २१:३, ४) निरुत्साहको भावनाले हाम्रो बल घटाइदिन सक्छ अनि यहोवाको सेवा गर्न छोड्‌न सक्छौँ। (हितो. २४:१०) तर हामी त्यो हदसम्म पुग्नुपर्ने कुनै कारण छैन।

१०. एक बहिनीले लेखेको चिठीबाट तपाईँले के सिक्नुभयो?

१० अमेरिकाकी एक बहिनीले असाध्यै बिरामी पतिको ख्याल राख्दै कसरी आफ्नो विश्‍वास बलियो बनाइराख्न सकेकी छिन्‌, विचार गर्नुहोस्‌। तिनले मुख्यालयलाई पठाएको चिठीमा यस्तो लेखिन्‌: “कहिलेकाहीँ हाम्रो परिस्थिति तनावपूर्ण र निराशाजनक हुन्छ तैपनि हाम्रो आशा ढलपल भएको छैन। यहोवाले हाम्रो विश्‍वास बलियो पार्न र मनोबल बढाउन चाहिने सबै कुरा दिनुभएकोमा म असाध्यै धन्यवादी छु। हामीलाई यस्तो सल्लाह र प्रोत्साहन नभई हुँदैन। यसले हामीलाई यहोवाको सेवामा लागिरहन र हामीलाई कमजोर बनाउन सैतानले ल्याउने परीक्षाहरूको सामना गर्न मदत गरेको छ।” हामी निरुत्साहमाथि विजयी हुन सक्छौँ भनेर यस बहिनीले भन्‍नुभएको कुराबाट सिक्न सक्छौँ। कसरी? तपाईँमाथि आइपर्ने समस्याहरू सैतानले ल्याएको परीक्षा सम्झनुहोस्‌। यहोवा सान्त्वनाको स्रोत हुनुहुन्छ भन्‍ने कुरामा भरोसा गर्नुहोस्‌। अनि उहाँले प्रबन्ध गर्नुभएको आध्यात्मिक भोजनको कदर गर्नुहोस्‌।

के तपाईँले आफ्नो “विश्‍वासको ठूलो ढाल” ठीक अवस्थामा राखिरहनुभएको छ? (अनुच्छेद ११ हेर्नुहोस्‌) *

११. हाम्रो विश्‍वासको अवस्था जाँच्न आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

११ के तपाईँले आफ्नो विश्‍वासको ढालमा कतै मर्मत गर्नुपर्ने देख्नुभएको छ? बितेका केही महिनाहरूमा तपाईँ अचाक्ली चिन्तित नहुन सफल हुनुभएको छ कि? धर्मत्यागीहरूले फैलाएका झूटहरू सुन्‍न र तिनीहरूसित तर्क गर्न इन्कार गर्नुभएको छ कि? अनि के तपाईँले निरुत्साहको सामना गर्न सक्नुभएको छ? यी सबै प्रश्‍नको सकारात्मक जवाफ आउँछ भने तपाईँको विश्‍वास ठीक अवस्थामा छ। तर हामी होसियार रहनुपर्छ किनभने सैतानसित हामीविरुद्ध चलाउने अरू हतियार पनि छन्‌। आउनुहोस्‌, तीमध्ये एउटा छलफल गरौँ।

भौतिकवादी हुनदेखि जोगिनुहोस्‌

१२. भौतिकवादी हुँदा के हुन सक्छ?

१२ भौतिकवादी भयौँ भने हामी अलमलिन सक्छौँ अनि हाम्रो विश्‍वासको ढाललाई बेवास्ता गर्न पुग्छौँ। प्रेषित पावलले यसो भने: “सैन्य सेवामा लाग्ने कुनै पनि मानिसले व्यापारमा हात हाल्दैन किनकि ऊ आफूलाई सैन्य सेवामा भर्ती गराउने व्यक्‍तिको अनुमोदन पाउन चाहन्छ।” (२ तिमो. २:४) खासमा रोमी सैनिकहरू कुनै किसिमको व्यापार-व्यवसायमा संलग्न हुन पाउँदैन थिए। कुनै सैनिकले यो नियम पालन नगरेको खण्डमा के हुन सक्थ्यो?

१३. सैनिकहरू किन व्यापार-व्यवसायमा संलग्न हुँदैन थिए?

१३ यो दृश्‍य कल्पना गर्नुहोस्‌: सेनाको एउटा टुकडी बिहान तरबार चलाउने तालिम लिँदै छ तर एक जना सैनिक त्यहाँ उपस्थित छैन। त्यो सैनिक बजारमा खानेकुरा बेच्न व्यस्त छ। साँझ सैनिकहरू आफ्नो हातहतियारको अवस्था जाँच्दै छन्‌ अनि तरबारमा धार लगाउँदै छन्‌। तर त्यो सैनिक भोलिपल्ट बेच्नको लागि खानेकुरा तयार पार्ने काममा व्यस्त छ। शत्रुहरूले भोलिपल्ट बिहान अचानक हमला गर्छन्‌। यस्तो बेला कुन सैनिक युद्धको लागि तयार हुनेछ अनि आफ्नो सेनापतिको अनुमोदन पाउनेछ? यदि तपाईँ रणभूमिमा हुनुहुन्छ भने तपाईँको छेउमा को होस्‌ भन्‍ने चाहनुहुन्छ? युद्धको लागि राम्ररी तयारी गरेको सैनिक कि अरू कुरामा अलमलिएको सैनिक?

१४. ख्रिष्टका सैनिकहरू भएकोले हामी कुन कुरालाई अनमोल ठान्छौँ?

१४ असल सैनिकजस्तै हामी आफ्नो मुख्य लक्ष्यमा ध्यान केन्द्रित गर्छौँ अर्थात्‌ हाम्रा सेनापतिहरू—यहोवा र येसुको अनुमोदन पाउन चाहन्छौँ। हामी सैतानको संसारले दिने जुनसुकै कुरालाई भन्दा उहाँहरूको अनुमोदन पाउने कुरालाई अनमोल ठान्छौँ। यहोवाको सेवा गर्न अनि विश्‍वासको ढाल र अन्य आध्यात्मिक हातहतियारलाई ठीक अवस्थामा राख्न हामीसित समय र शक्‍ति छ भन्‍ने कुरा पक्का गर्छौँ।

१५. पावलले हामीलाई कस्तो चेतावनी दिए? किन?

१५ हामी सधैँ होसियार रहनुपर्छ। किन? “जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌,” तिनीहरू ‘विश्‍वासबाट तर्कनेछन्‌’ भनेर प्रेषित पावलले चेतावनी दिए। (१ तिमो. ६:९, १०) “तर्कने” भन्‍ने अभिव्यक्‍तिले अनावश्‍यक धनसम्पत्ति थुपार्ने काममा लाग्दा हामी सजिलै अलमलिन सक्छौँ भन्‍ने कुरालाई सङ्‌केत गर्छ। त्यसपछि हामीमा “अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरू” पलाउन थाल्छ। तर सैतानले त्यस्ता कुइच्छाहरूलाई हतियारको रूपमा प्रयोग गरेर हाम्रो विश्‍वासलाई कमजोर बनाउन खोज्छ भनेर कहिल्यै बिर्सनु हुँदैन।

१६. मर्कुस १०:१७-२२ मा उल्लिखित विवरण विचार गर्दा हामी आफूलाई कस्ता प्रश्‍नहरू सोध्न उत्प्रेरित हुन्छौँ?

१६ मानिलिनुहोस्‌, हामीसित थुप्रै भौतिक कुरा किन्‍ने पैसा छ। खासै आवश्‍यक नभएको तर मन परेको सामान किन्दा के हामीले गल्ती गरिरहेका हुन्छौँ? त्यसो भन्‍न त मिल्दैन। तर यी प्रश्‍नहरूबारे विचार गर्नुहोस्‌: कुनै सामान किन्‍ने पैसा छ भन्दैमा के त्यो सामान प्रयोग गर्ने र त्यसलाई ठीक अवस्थामा राख्ने समय र शक्‍ति हामीसित छ? कतै हामीमा भौतिक कुराहरूप्रतिको मोह विकास हुने हो कि? भौतिक कुराहरूप्रतिको मोहले हामीलाई सेवाको काम विस्तार गर्न येसुले दिनुभएको निम्तो अस्वीकार गरेको जवान मानिसजस्तै बनाउन सक्छ कि? (मर्कुस १०:१७-२२ पढ्‌नुहोस्‌) सरल जीवन बिताउनु र आफ्नो अनमोल समय र शक्‍ति परमेश्‍वरको इच्छा पूरा गर्नुमा खर्च गर्नु हाम्रो लागि साँच्चै कत्ति उपयुक्‍त छ!

विश्‍वासको ढाल बलियोगरि पक्रिराख्नुहोस्‌

१७. हामीले कुन कुरा कहिल्यै बिर्सनु हुँदैन?

१७ हामी रणभूमिमा छौँ र हरेक दिन युद्ध लड्‌न तयार हुनुपर्छ भनेर कहिल्यै बिर्सनु हुँदैन। (प्रका. १२:१७) हाम्रो विश्‍वासको ढाल हाम्रा दाजुभाइ दिदीबहिनीले बोकिदिन सक्दैनन्‌। हामी आफैले बलियोगरि पक्रिराख्नुपर्छ।

१८. प्राचीन समयका सैनिकहरू किन आफ्नो ढाल बलियोगरि पक्रिराख्थे?

१८ प्राचीन समयका सैनिकले रणभूमिमा देखाएको वीरताको लागि सम्मान पाउँथ्यो। तर आफ्नो ढालविनै घर फर्किनु पऱ्‍यो भने उसले अपमानित महसुस गर्थ्यो। यसबारे रोमी इतिहासकार ट्यासिटसले यस्तो लेखे: “यदि कुनै सैनिकले आफ्नो ढाल छोडेर आयो भने त्योभन्दा घोर बेइज्जत अरू केही हुँदैनथ्यो।” सैनिकहरूले हरहालतमा आफ्नो ढाल बलियोगरि पक्रिराख्नुको एउटा कारण यही थियो।

एक जना ख्रिष्टियन बहिनी विश्‍वासको ठूलो ढाल बलियोगरि पक्रिराख्न प्रार्थनापूर्वक परमेश्‍वरको वचन पढ्‌छिन्‌, नियमित रूपमा सभाहरूमा उपस्थित हुन्छिन्‌ अनि प्रचारकार्यमा पूरापूर भाग लिन्छिन्‌ (अनुच्छेद १९ हेर्नुहोस्‌)

१९. हामी कसरी विश्‍वासको ढाल बलियोगरि पक्रिराख्न सक्छौँ?

१९ विश्‍वासको ढाल बलियोगरि पक्रिराख्न हामी नियमित रूपमा ख्रिष्टियन सभाहरूमा उपस्थित हुन्छौँ अनि यहोवाको नामबारे र उहाँको राज्यबारे कुरा गर्छौँ। (हिब्रू १०:२३-२५) साथै प्रार्थनापूर्वक हरेक दिन परमेश्‍वरको वचन पढ्‌छौँ अनि त्यसमा भएका सल्लाह र निर्देशनहरू आफूले गर्ने हरेक काममा लागू गर्छौँ। (२ तिमो. ३:१६, १७) यसो गऱ्‍यौँ भने सैतानले हामीविरुद्ध उठाउने जुनसुकै हतियारले हामीलाई सदाको लागि हानि पुऱ्‍याउनेछैन। (यसै. ५४:१७) “विश्‍वासको ठूलो ढाल”-ले हाम्रो रक्षा गर्नेछ। हामी दाजुभाइ दिदीबहिनीसित काँधमा काँध मिलाएर स्थिर भई खडा रहनेछौँ। अनि हामी हरेक दिन सामना गर्नुपर्ने चुनौतिहरूमाथि विजयी हुनेछौँ। त्यति मात्र होइन, सैतान र त्यसका समर्थकहरूविरुद्धको युद्धमा येसु विजयी हुनुहुँदा हामीले उहाँको पक्षमा खडा हुने सम्मान पनि पाउनेछौँ।—प्रका. १७:१४; २०:१०.

गीत ११८ “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

^ अनु. 5 सैनिकहरूले आफूलाई हानिबाट जोगाउन ढाल प्रयोग गर्थे। हाम्रो विश्‍वासले पनि ढालले जस्तै काम गर्छ। सैनिकले ढाललाई ठीक अवस्थामा राखेझैँ हामीले पनि आफ्नो विश्‍वासलाई ठीक अवस्थामा राखिरहनुपर्छ। हाम्रो “विश्‍वासको ठूलो ढाल” ठीक अवस्थामा छ कि छैन भनेर कसरी पत्ता लगाउन सक्छौँ, त्यसबारे यस लेखमा छलफल गरिनेछ।

^ अनु. 58 चित्रको व्याख्या: यहोवाका साक्षीहरूबारे झूट फैलाउने धर्मत्यागीहरूको रिपोर्ट टिभीमा आउँदा एउटा साक्षी परिवारले तुरुन्तै टिभी बन्द गर्छ।

^ अनु. 60 चित्रको व्याख्या: पछि पारिवारिक उपासनामा बुबाले परिवारको विश्‍वास बलियो बनाउन बाइबलको एउटा विवरण चलाउँछन्‌।