आफ्नो देश फर्केकाहरूले प्रशस्त आशिष् पाए
विगतमा विकासोन्मुख देशबाट पश्चिमी मुलुकहरूमा बसाइँ सरेका थुप्रै दाजुभाइ दिदीबहिनी अहिले आफ्नो देश फर्केका छन्। यहोवा र मानिसहरूप्रतिको प्रेमले गर्दा तिनीहरू राज्य प्रचारकहरूको धेरै आवश्यकता भएको ठाउँमा सरेका छन्। (मत्ति २२:३७-३९) तिनीहरूले कस्ता त्यागहरू गरे र कस्ता आशिष्हरू पाए? यसको जवाफ पाउन हामी पश्चिमी अफ्रिकाको एउटा देश क्यामरून जाऔँ।
“‘जाल हान्न’ एकदमै उपयुक्त ठाउँ”
सन् १९९८ मा ओनेसिम नाम गरेका एक भाइ आफ्नो देश क्यामरूनबाट बसाइँ सरेका थिए। तिनी १४ वर्ष विदेशमा बसे। एक दिन सभामा तिनले प्रचारकार्यबारे एउटा उदाहरण सुने। वक्ताले यसो भने: “दुई जना साथी फरक-फरक ठाउँमा जाल हान्दै छन्। एक जनाले अर्कोले भन्दा धेरै माछा समातिरहेका छन्। त्यसोभए थोरै माछा समातिरहेको साथी धेरै माछा समातिरहेको साथी भएको ठाउँमा जाँदैन होला र?”
यो उदाहरण सुनेपछि ओनेसिमले आवश्यकता धेरै भएको आफ्नो देश क्यामरून फर्केर त्यहाँका प्रचारकहरूलाई मदत गर्नेबारे सोच्न थाले। तर तिनलाई चिन्ता पनि लागेको थियो। लामो समय विदेशमा बसेकोले के तिनी आफ्नो देश फर्केर फेरि त्यहाँको रहनसहनमा घुलमिल हुन सक्ने थिए? यो कुरा थाह पाउन ओनेसिम छ महिनाको लागि क्यामरून गए। पछि २०१२ मा तिनी सधैँको लागि त्यहाँ फर्के।
ओनेसिम भन्छन्: “मैले यहाँको गर्मी मौसम र रहनसहनअनुसार जीवन बिताउन सिक्नुपऱ्यो। मैले सभाभवनमा बेन्चमा बस्ने बानी फेरि बसाल्नुपऱ्यो।” तिनी मुस्कुराउँदै यसो भन्छन्: “तर मैले कार्यक्रममा जत्ति धेरै ध्यान दिन थालेँ, विदेशको सभाभवनको आरामदायी सिटहरू बिर्सँदै गएँ।”
सन् २०१३ मा ओनेसिमले जेराल्डिनसँग विवाह गरे। उनी नौ वर्ष फ्रान्स बसेर क्यामरून फर्केकी थिइन्। यस दम्पतीले ईश्वरतान्त्रिक गतिविधिलाई प्रथम स्थान दिँदा कस्ता आशिष्हरू पाए? ओनेसिम भन्छन्: “विवाहपछि हामी राज्य प्रचारकहरूका लागि स्कुलमा गयौँ र अहिले बेथेल सेवा गर्दै छौँ। हालै एक वर्षभित्रै हाम्रो मण्डलीका २० जना बाइबल विद्यार्थीले बप्तिस्मा गरे। अहिले मलाई आफू ‘जाल हान्न’ एकदमै उपयुक्त ठाउँमा छु जस्तो लाग्छ।” (मर्कु. १:१७, १८) जेराल्डिन पनि यसो भन्छिन्: “मैले सोचेको भन्दा कता हो कता धेरै आशिष् पाएकी छु।”
आध्यात्मिक छोराछोरी पाउँदाको आनन्द
जुडिथ र साम-कास्टल
जुडिथ अमेरिकामा बसाइँ सरेकी थिइन् तर तिनलाई आफ्नो सेवा विस्तार गर्ने ठूलो धोको थियो। तिनी भन्छिन्: “हरेक चोटि क्यामरूनमा परिवारलाई भेटेर फर्किने बेला म रुन्थेँ किनभने मैले भर्खरै बाइबल अध्ययन सुरु गरेका व्यक्तिहरूलाई छोडेर जानुपर्थ्यो।” तर जुडिथ क्यामरून फर्किन हिचकिचाइरहेकी थिइन्।
तिनको राम्रो तलब आउने जागिर थियो, जसले गर्दा तिनले क्यामरूनमा आफ्नो बुबाको उपचार खर्च बेहोर्न सकिरहेकी थिइन्। तैपनि यहोवामा भरोसा राख्दै जुडिथ क्यामरून फर्किन्। विदेशमा छँदा आफूले उपभोग गरिरहेको सुखसुविधाको कमी खट्किन्थ्यो भनेर तिनी स्विकार्छिन्। त्यहाँको रहनसहनमा भिज्न मदतको लागि तिनले यहोवालाई प्रार्थना गरिन्। क्षेत्रीय निरीक्षक र तिनकी पत्नीबाट पाएको प्रोत्साहनले तिनलाई मदत गऱ्यो।विगतलाई सम्झँदै जुडिथ यसो भन्छिन्: “तीन वर्षभित्रै मैले चार जना आध्यात्मिक छोराछोरी पाउन सकेँ।” जुडिथले विशेष अग्रगामीको रूपमा सेवा गर्न थालिन्। अहिले तिनी आफ्नो पति साम-कास्टलसँगै क्षेत्रीय भ्रमणहरूमा जान्छिन्। अहिले जुडिथको बुबाको अवस्था कस्तो छ? तिनी र तिनको परिवारले विदेशमा तिनको बुबाको निश्शुल्क शल्यक्रिया गर्न तयार एउटा अस्पताल भेट्टाए। खुसीको कुरा, शल्यक्रिया सफल भयो।
यहोवाको साथ अनुभव गर्दै
क्यारोलिन र भिक्टर
भिक्टर नाम गरेका भाइ क्यानाडामा बसाइँ सरेका थिए। प्रहरीधरहरा-मा उच्च शिक्षाको विषयमा एउटा लेख पढेपछि तिनले आफूले लिइरहेको शिक्षाबारे सोच्न थाले। तिनी विश्वविद्यालय जान छोडे अनि छोटो अवधिको प्राविधिक तालिम लिए। तिनी भन्छन्: “यो तालिमले गर्दा मैले तुरुन्तै काम पाएँ र लामो समयदेखि गर्न चाहेको अग्रगामी सेवा सुरु गर्न सकेँ।” पछि भिक्टरले क्यारोलिनसँग विवाह गरे र तिनीहरू क्यामरून घुम्न गए। तिनीहरू त्यहाँको शाखा कार्यालय घुम्न जाँदा केही भाइहरूले तिनीहरूलाई क्यामरूनमा सेवा गर्नेबारे सोच्न प्रोत्साहन दिए। भिक्टर भन्छन्: “हामीसित त्यो प्रस्ताव अस्वीकार गर्ने कुनै कारण थिएन अनि हामीले सरल जीवन बिताइरहेकोले त्यो निम्तो स्विकार्न सजिलो भयो।” हुनत क्यारोलिनको केही स्वास्थ्य समस्या थिए। तैपनि तिनीहरूले क्यामरून सर्ने निर्णय गरे।
क्षेत्रमा बाइबल सत्यप्रति चासो देखाउने धेरै मानिस भएकोले तिनीहरूलाई मदत गर्न भिक्टर र क्यारोलिनले नियमित अग्रगामी सेवा सुरु गरे। तिनीहरूले पैसा जोगाइराखेकोले सुरुमा त काम गर्नुपरेन। त्यसपछि भने तिनीहरूले क्यानाडा गएर केही महिना काम गरे, जसले गर्दा क्यामरून फर्केर अग्रगामी सेवालाई निरन्तरता दिन सके। तिनीहरूले कस्ता आशिष्हरू पाए? तिनीहरू राज्य प्रचारकहरूका लागि स्कुलमा गए, विशेष अग्रगामीको रूपमा सेवा गरे र अहिले निर्माण सेवकको रूपमा काम गर्दै छन्। भिक्टर भन्छन्: “आफ्नो आरामदायी जीवनशैली त्याग्दा हामीले यहोवाको साथ पाएको अनुभव गर्न सकेका छौँ।”
मानिसहरूलाई यहोवामा जीवन समर्पण गर्न मदत गर्दा पाइने आनन्द
स्टेफनी र एलन
सन् २००२ मा जर्मनीको एउटा विश्वविद्यालयमा पढ्दै गरेका एक भाइ एलनले युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ? भन्ने पर्चा पढे। त्यहाँ दिइएका जानकारीहरूले तिनलाई नयाँ लक्ष्यहरू राख्न उत्प्रेरित गऱ्यो। सन् २००६ मा तिनले मिनिस्टेरियल ट्रेनिङ स्कुलमा भाग लिए र तिनलाई आफ्नो जन्मथलो क्यामरूनमै खटाइयो।
क्यामरूनमा एलनले पार्ट-टाइम काम पाए। पछि तिनले अझ राम्रो तलब आउने जागिर पाए तर तिनलाई त्यो जागिर स्विकारेँ भने प्रचारकार्यमा धेरै समय बिताउन नसकिएला कि भनेर चिन्ता लागेको थियो। पछि तिनले विशेष अग्रगामीको रूपमा सेवा गर्ने निम्तो पाए र त्यो निम्तो तुरुन्तै स्विकारे। तिनको हाकिमले तलब बढाइदिने प्रस्ताव राखे तर एलन आफ्नो निर्णयमा अडिग रहे। पछि एलनले स्टेफनीसँग विवाह गरे। उनी धेरै वर्ष फ्रान्समा बसेकी थिइन्। क्यामरून फर्केपछि उनले कस्ता कठिनाइहरू झेल्नुपऱ्यो?
स्टेफनी भन्छिन्: “मलाई सानातिना स्वास्थ्य समस्या र एलर्जीहरू भए। तर मैले नियमित रूपमा उपचार
गराएँ र निको भएँ।” यस दम्पतीले धैर्य गरेकोले इनाम पाए। एलन भन्छन्: “केट भन्ने एउटा दुर्गम गाउँमा प्रचार गर्न जाँदा हामीले बाइबल अध्ययन गर्न इच्छुक थुप्रै व्यक्ति भेट्टायौँ। पछि हामीले फोनद्वारा तिनीहरूलाई बाइबल अध्ययन गरायौँ। तिनीहरूमध्ये दुई जना बाइबल विद्यार्थीले बप्तिस्मा गरे अनि त्यहाँ प्रकाशकहरूको एउटा समूह बन्यो।” स्टेफनी अझ यसो भन्छिन्: “मानिसहरूलाई यहोवामा आफ्नो जीवन समर्पण गर्न मदत दिँदा पाइने आनन्दलाई अरू कुनै कुरासित तुलना गर्न सकिँदैन। यहाँ सेवा गर्दा हामीले त्यस्तो आनन्द थुप्रै चोटि अनुभव गर्न सकेका छौँ।” अहिले एलन र स्टेफनी परिभ्रमण कार्यमा सक्रिय छन्।“हामीले जे गर्नुपर्ने थियो, त्यही गऱ्यौँ”
लियोन्स र जिजेल
जिजेलले इटालीको मेडिकल स्कुलमा पढ्दै गर्दा बप्तिस्मा गरिन्। तिनलाई बाइबल अध्ययन गराउने अग्रगामी दम्पतीको सरल जीवनशैली देखेर तिनी प्रभावित भइन्। तिनी प्रचारकार्यमा अझ धेरै भाग लिन चाहन्थिन्। त्यसैले तिनले आफ्नो पढाइ नसकिँदै नियमित अग्रगामी सेवा सुरु गरिन्।
जिजेललाई क्यामरून फर्केर यहोवाको सेवामा अझ धेरै गर्ने इच्छा थियो तर तिनलाई चिन्ता पनि लागेको थियो। तिनी भन्छिन्: “मैले इटालीमा बसोबास गर्ने अनुमतिपत्र त्याग्नुपर्ने थियो र त्यहाँ बस्ने परिवार र साथीभाइसँग पनि छुट्टिनुपर्ने थियो।” तैपनि मे २०१६ मा जिजेल क्यामरून फर्किन्। केही समयपछि तिनले लियोन्ससँग विवाह गरिन् अनि क्यामरून शाखा कार्यालयले यस दम्पतीलाई राज्य प्रचारकहरूको आवश्यकता धेरै भएको सहर आयोसमा सर्न सल्लाह दियो।
आयोसमा जीवन कस्तो थियो? जिजेल भन्छिन्: “त्यहाँ अक्सर हप्तौँसम्म बिजुली हुँदैनथ्यो र हामी मोबाइल चार्ज गर्न सक्दैनथ्यौँ। त्यसैले धेरैजसो समय मोबाइलको कामै हुँदैनथ्यो। मैले दाउरा बालेर खाना पकाउन सिकेँ। रात परेपछि पँधेरोमा त्यत्ति भीडभाड नहुने भएकोले हामी टर्चलाइट बालेर पँधेरोमा जान्थ्यौँ अनि गाडामा पानी ओसार्थ्यौँ।” यस दम्पतीले यी सब कसरी सहन सके? जिजेल भन्छिन्: “यहोवाको पवित्र शक्ति, साथ दिने जीवनसाथी, परिवार र साथीभाइको प्रोत्साहन अनि बेलाबेलामा उहाँहरूले दिनुभएको आर्थिक सहयोगले गर्दा हामीले यी सब सहन सक्यौँ।”
के जिजेल आफ्नो देश फर्केकोमा खुसी छिन्? उनी भन्छिन्: “एकदमै खुसी छु। सुरु-सुरुमा त हामीलाई गाह्रो थियो र निरुत्साहित पनि भयौँ तर हामीले ती कुराहरू पार गरिसकेपछि म र मेरो पतिलाई हामीले जे गर्नुपर्ने थियो, त्यही गऱ्यौँ जस्तो लाग्यो। हामी यहोवामा भरोसा राख्छौँ र उहाँसित अझ नजिक भएको महसुस गरिरहेका छौँ।” लियोन्स र जिजेलले राज्य प्रचारकहरूका लागि स्कुलमा भाग लिए र अहिले तिनीहरू अस्थायी विशेष अग्रगामीको रूपमा सेवा गरिरहेका छन्।
प्रशस्त माछा समात्न विभिन्न अवस्थाहरूसित जुझ्ने साहसी जलारीहरूजस्तै आफ्नो देश फर्केकाहरू पनि राज्य सन्देशप्रति चासो देखाउने असल हृदय भएका मानिसहरूलाई मदत गर्न राजीखुसीले त्यागहरू गर्छन्। यहोवाको नामको निम्ति प्रेम देखाएका ती मेहनती प्रचारकहरूलाई यहोवाले कहिल्यै बिर्सनुहुनेछैन। (नहे. ५:१९; हिब्रू ६:१०) तपाईँ विदेशमा बस्दै हुनुहुन्छ र तपाईँको आफ्नो देशमा राज्य प्रचारकहरूको आवश्यकता धेरै छ भने के तपाईँ फर्कन तयार हुनुहुन्छ? फर्कनुभयो भने तपाईँले प्रशस्त आशिष् पाउनुहुनेछ।—हितो. १०:२२.